धनगढीमापत्रकारिता अध्ययनरत विद्यार्थीलागि अभिप्रेरणा कार्यक्रम
धनगढी : कैलाली बहुमुखी क्याम्पसमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै सूचना तथा प्रसारण विभागको आयोजनामा अभिप्रेरणा कार्यक्रम सुरु भएको छ। आज देखि (चैत २३ गते) सुरु भएको उक्त कार्यक्रम चैत २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन सत्रको अध्यक्षता सूचना तथा प्रसारण विभागका निर्देशक छविन्द्र पराजुलीले गरेका थिए। कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशी, क्याम्पस प्रमुख प्राध्यापक डा. लोक बहादुर बिष्ट तथा हुलाक कार्यालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।
पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई व्यावसायिक पत्रकारितातर्फ अभिप्रेरित गर्नुका साथै पत्रकारको भूमिका, जिम्मेवारी र कर्तव्यबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको निर्देशक पराजुलीले बताए। उनले सूचना तथा प्रसारण विभागको काम, भूमिका र दायित्वबारे समेत सहभागीहरुलाई जानकारी गराएका थिए।
उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले पत्रकार सबै क्षेत्रको जानकार हुनुपर्नेमा जोड दिए। उनले प्रशासनले समेत नदेखेका विषयलाई उजागर गरेर समाजलाई सचेत गराउने काम पत्रकारको भएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
यसैगरी, नेपाल प्रेस काउन्सिलका सदस्य जोशीले पत्रकारिता अध्ययन गरेका विद्यार्थीहरुलाई यही क्षेत्रमा केही गरौं भन्ने प्रेरणा दिन कार्यक्रम उपयोगी हुने बताए। क्याम्पस प्रमुख डा. बिष्टले क्याम्पसको तर्फबाट आयोजकप्रति आभार व्यक्त गर्दै सञ्चार क्षेत्रका विद्यार्थीहरुलाई आवश्यक सहजीकरण गर्न क्याम्पस सधैं तयार रहने बताए।
कार्यक्रमले पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान र प्रेरणा दिने अपेक्षा गरिएको छ।
