बयान सकिए पछि शंकर अग्रवाल छुटे

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल बयान पछि छुटेका छन्।

शुक्रबारदेखि उनी सम्पत्ति शुद्धीकरण प्रकरणमा नियन्त्रणमा थिए।

‘उहाँ शुक्रबार २ बजे मात्रै आउनुभयो। बयान नसकिएको कारण छाडिएको थिएन। आज बयान लिएसँगै उहाँ फर्कनु भएको छ,’ विभाग स्रोतले भन्यो।

व्यवसायी दीपक भट्टसँगको कारोबार र सम्पत्ति शुद्धीकरण प्रकरणमा उनको बयान लिइएको विभागले जनाएको छ।

आइतबार शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन्।

उनको अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको छ। शंकर र सुलभको फरक विषय भएकाले शंकरलाई बयानपछि छाडिएको र सुलभलाई भने अनुसन्धान गर्नुपर्ने देखिएको विभाग स्रोतले जानकारी दिएको छ।

महान्यायाधिवक्तामा नारायण कँडेल नियुक्त

काठमाडौं- सरकारले महान्यायाधिवक्तामा डा. नारायण कँडेलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो।

महान्यायाधिवक्ताले सरकारको कानुनी सल्लाहकारको रूपमा काम गर्छ।

राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध

काठमाडौँ- राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध भएकी छन् ।

उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका सहप्रवक्ता अनन्त कोइरालाले जानकारी दिए । सचिवालयले उपाध्यक्षका लागि आइतबार साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि समय छुट्ट्याएको थियो ।

भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल छन् । समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा रहेका सहप्रवक्ता कोइरालाले जानकारी दिए।

सचिवालयले उम्मेदवारीबारे जानकारी आइतबार अपरान्ह ४ बजे सूचना जारी गरेर प्रकशित गर्नेछ । निर्वाचित भएको घोषणा सोमबार सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा हुनेछ ।

चन्द्रमाको रहस्यमय फोटो खिच्ने योजनामा ‘अर्टेमिस-२’

नासाको ‘अर्टेमिस-२’ अभियान अहिले चन्द्रमातर्फको यात्रामा पूर्ण रूपमा सक्रिय छ। चालक दलले ऐतिहासिक चन्द्र परिक्रमा तयारी गरिरहेका छन्।

यसले ‘एपोलो-१३’ को रेकर्ड तोड्ने लक्ष्य राखेको छ, जसले अन्तरिक्ष अन्वेषणमा नयाँ माइलस्टोन तय गर्नेछ। अभियानमा तीन अमेरिकी र एक क्यानाडेली चालक दल छन्, जसले चन्द्रमाको रहस्यमय फोटो खिच्ने योजना बनाएका छन्।

अन्तरिक्ष यानको पाइलट भिक्टर ग्लोभरले यात्राको अनुभव सुनाउदैँ भने,‘पृथ्वी सानो देखिन्छ, र चन्द्रमा निश्चित रूपमा ठूलो हुँदै गएको छ।’

तर, यात्रामा प्राविधिक चुनौतीहरू पनि देखा परेका छन्। अन्तरिक्ष यानको शौचालय लगातार समस्या देखाइरहेको बताइएको छ। जसका कारण मिशन कन्ट्रोलले आकस्मिक रूपमा अतिरिक्त मुठ्ठा–सङ्ग्रह ब्याग प्रयोग गर्न निर्देशन दिएको छ। नासा इन्जिनियरहरूले शौचालयमा बर्फले युरिनको लाइन अवरुद्ध गरिरहेका अनुमान गरेका छन्, जसले ‘फ्लशिङ्ग’ प्रक्रिया पूर्ण रूपमा नभएको बताइएको छ।

शौचालयमा दुर्गन्ध फैलिएको र यसले चालक दललाई असुविधा दिइरहेको बताइएको छ। शौचालय अन्तरिक्ष यानको तल भागमा राखिएको छ, जहाँ गोपनीयताको लागि ढोका र पर्दा पनि छ। नासाको अरीअन कार्यक्रमकी उप-प्रमुख व्यवस्थापक डेबी कोर्थले अन्तरिक्ष शौचालय समस्याहरूमा चुनौती भएको बताइन्। अन्तरिक्ष यानको शौचालय प्रायः अनपेक्षित समस्यामा पर्ने गरेको उल्लेख गरेकी छन्।

अन्तरिक्ष यानको यात्राले वैज्ञानिक र प्राविधिक उद्देश्यहरू पनि पूरा गर्दैछ। चालक दलले चन्द्रमाको तल्लो भाग र रहस्यमय पार्श्वको विस्तृत फोटो खिच्ने बताइएको छ। जसले भविष्यमा अन्तरिक्ष अनुसन्धान र मानवयुक्त अन्वेषणका लागि महत्वपूर्ण डाटा उपलब्ध गराउनेछ।

‘अर्टेमिस–२’ अभियानले नासाको एपोलो कार्यक्रमको परम्परालाई निरन्तरता दिन्छ र भविष्यमा अझ गहिरो अन्तरिक्ष अन्वेषणको मार्ग तय गर्ने उद्देश्य राख्दछ। मिशन कन्ट्रोलले शौचालय समस्या समाधान नभएसम्म आकस्मिक व्यवस्थापन र निगरानी जारी राख्ने योजना बनाएको छ।

यस अभियानले अन्तरिक्ष अन्वेषणमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा राखिएको छ, जसले वैज्ञानिक अनुसन्धान, प्राविधिक विकास र अन्तर्राष्ट्रिय अन्तरिक्ष सहयोगलाई अझ सशक्त बनाउनेछ। -एपी

सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अर्यालले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ लिएका हुन्।

शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल,राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित छन्।

अर्याललाई आइतबार बिहान बसेको प्रतिनिधिसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो। बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननर्सिंह केसीले अर्याललाई प्रतिनिधिसभाको पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। सभामुखमा अर्यालको एकल उम्मे‍दवारी परेको थियो।

सभामुख घोषणा भएसँगै अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन्।

सेयर बजार १०५ अंकले घट्यो

काठमाडौं : नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको छ। यसदिन ३४५ वटा स्क्रिप्सको ३ करोड १२ लाख ६ हजार  १६२ कित्ता सेयर १२ अर्ब ३८ करोड ९ लाख  १४ हजार ५७० रुपैयाँमा खरिदबिक्री भए।

सरकारले व्यवसायीहरूमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएपछि बजारमा त्यसको प्रभाव परेको लगानीकर्ताहरू बताउँछन्।

नेप्से उच्च अंकले घटेपनि ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स,भुजुङ्ग हाइड्रोपावर,रिलायन्स लाइन इनर्जी,होटल फोरेस्ट इन,सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।यस्तै सातवटा कम्पनीको सेयरमा भने नकारात्मक सर्किट ब्रेक लाग्यो।

कारोबारमा आएकामध्ये ७ वटा स्टक्सको मूल्य बढ्दा २६१ वटाको घट्यो।  उच्च अंकले बजार घट्दा १३ वटै समूहको उपसूचक नकारात्मक देखिए।

हेमन्तले ७ विकेट लिएपछि बागमती ४६ मा अलआउट, सुदूरपश्चिमको शानदार जित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी पीएम कपमा बागमती प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले बागमतीलाई १६३ रन अन्तरले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको २१० रनको लक्ष्य पछाएको बागमती ११.२ ओभरमा ४६ रन बनाएर अल आउट भएको थियो ।

बागमतीका लागि सुभ कंसाकारले ३२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । बागमतीको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा सुदूरपश्चिमका हेमन्त धामीले ७ विकेट लिएका थिए भने शेर मल्लले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । सुदूरपश्चिमका नारायण जोशीले सर्बाधिक ७५ रन बनाएका थिए भने दिपक बोहोराले ४० र अभिषेक पलले ३९ रन बनाएका थिए ।

यो जितपछि सुदूरपश्चिमको ६ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बागमती प्रदेशले भने ६ खेलमा चौथो हार बेहोरेको छ ।

शुक्लाफाँटामा बाघ गणना सकियो

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ ।

राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

गत फागुन अन्तिम सातादेखि ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट सुरु गरिएको राष्ट्रिय बाघ गणनाको फिल्डको काम सकिएर क्यामेरा सङ्कलन भइरहेको हो । ‘शुक्लाफाँटा र डिभिजन वनअन्तर्गत राखिएका क्यामेराहरु सङ्कलन भइसकेका छन्,’ उनले भने, ‘सङ्कलन भएका क्यामेराका तस्बिरहरुको विश्लेषण गरेर बाघको सङ्ख्या पत्ता लगाइन्छ ।’

यहाँ प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ । बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोलीसहित ५२० स्वचालित क्यामेरा जडान गरिएका थिए ।  सन् २०२२ को राष्ट्रिय गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ थिए ।

निकुञ्ज कार्यालयले हरेक वर्ष बाघको आन्तरिक सर्वेक्षण गर्ने गर्दछ । निकुञ्जको आन्तरिक सर्वेक्षणअनुसार यहाँ ४३ वटा बाघ छन् । यस पटकको राष्ट्रिय गणनामा पनि सोही सङ्ख्यामा बाघको सङ्ख्या हुन सक्ने अनुमान संरक्षण अधिकृतहरुको छ । ‘निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन्, एकै वर्षमा धेरै सङ्ख्या नबढेका हुनसक्छन्,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘यसपटकको राष्ट्रिय गणनामा पनि त्यही सङ्ख्या हुनसक्छ ।’

आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने

काठमाडौं । सरकारले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने घोषणा गरेको छ ।

आइतबार (चैत २२) बसेको मन्त्रिपरिषदको बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री बालेन र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

सांसद साम्पाङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच भेटवार्ता भएको थियो ।

हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

सरकारले भोलि (सोमबार)देखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि नै लागू हुनेगरि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए।

राष्ट्रियसभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं- राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ ।

राष्ट्रियसभाको आइतबार (चैत २२) बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेस गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार, सो आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्नुपर्ने हुन्छ ।

राष्ट्रियसभाको अर्को बैठक चैत २३ गते मध्याह्न सवा १२ बजे बस्नेछ । –न्युज एजेन्सी नेपाल

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट लिला भण्डारीलाई अगाडि बढाउने निर्णय

काठ्माण्डौ- राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट राष्ट्रिय सभा सदस्य लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ।

दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो।

राष्ट्रिय सभा बैठक भोलि बस्ने

राष्ट्रिय सभाको बैठक भोलि (चैत २३ गते सोमबार) बस्ने तय भएको छ।

आजको बैठकमा अध्यक्षले विषयगत समितिमा सदस्यहरुलाई मनोनयन तथा हेरफेर गरेका छन्।

बैठकमा प्रत्रानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोेविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेश गरेकी थिइन्।

मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक भर्खरै सुरु भएको हो।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री बालेनको नेतृत्वमा नयाँ सरकार बनेपछि आज तेस्रो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।

व्यवसायी सुलभ अग्रवाल प’क्राउ

काठमाडौँ । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएको हो ।

बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले रातोपाटीलाई बताए ।

अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् । उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रवार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री कप: सुदूरपश्चिमले दियो वागमतीलाई २१० रनको लक्ष्य

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले वागमती प्रदेशलाई २१० रनको लक्ष्य दिएको छ ।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४२.१ ओभरमा २०९ रनमा अलआउट भएको हो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले अर्धशतकीय पारी खेले । उनले ६८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ७५ रन बनाए ।

दिपक बोहराले ४०, अभिषेक पालले ३९ र अशोक धामीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

वागमतीका लागि सन्दीप लामिछाने र प्रतिस जिसीले ४–४ विकेट लिए । सोनु देवकोटा र रिजन ढकालले १–१ विकेट लिए ।

टस जितेर वागमतीले पहिले फिल्डिङ रोजेको हो ।

आइपीएलमा आज दुई खेल हुँदै

इन्डियन प्रिमियर लिग (आइपीएल)मा आज दुई खेल हुँदैछन्।

आइतबारको पहिलो खेलमा सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्ट प्रतिस्पर्धा गर्दैछन्। राजीव गान्धी क्रिकेट रंगशालामा हुन लागेको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेदेखि सुरु हुनेछ।

जारी प्रतियोगितामा सनराइजर्स हैदरावादले २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ। सनराइजर्सले पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा कोलकोतालाई पराजित गरेको थियो। त्यस्तै लखनउले आफ्नो पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।

त्यस्तै, आज हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किङसबीच खेल हुदैछ। बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।

रोयल च्यालेन्जर्स बैंगलुरुले पहिलो खेलमा सनराइजर्सलाई पराजित गरेको थियो। त्यस्तै चेन्नईले दुवै खेलमा हार बेहोरेको छ।

सुख्खा पहिरोले बाजुराको रौदीगाड लघुजलविद्युत पावर हाउसमा क्षति

बाजुरा। आइतबार बिहान बाजुराको गौमुल–३ मा आएको सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा क्षति पुर्याएको छ।

बिहान ६ः३० बजे पावर हाउसको माथिबाट आएको पहिरोले पावर हाउस र भित्र रहेका जेनेरेटर, एल्टिभोल्ड लगायतका सबै उपकरण पूर्णरूपमा नष्ट गरेको रौदीगाड लघुजलविद्युत आयोजनाका अध्यक्ष लालबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार पानी नपरेकै बेलामा पनि सुख्खा पहिरोले पावर हाउस पूर्णरूपमा क्षति पुऱ्यायो। यसले आयोजनाबाट लाभान्वित झण्डै तीन सय घरधुरी फेरि अन्धकारमा परेको छ।

यो आयोजना वैकल्पिक उर्जा प्रद्दन केन्द्रको आर्थिक सहयोगमा २०७७ सालदेखि निर्माण सुरु गरी २०७८ चैत २५ गते सम्पन्न भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार, “सुख्खा पहिरोले पावर हाउस पूर्णरूपमा क्षति पुऱ्याएको भए पनि मानवीय क्षति भने भएको छैन। अहिले क्षतिको ठ्याक्कै विवरणका लागि प्रहरी टोली जाँदैछ।”

सभामुख अर्यालको शपथ आजै हुने

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी)को शपथ आजै हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार, आज (चैत २२) दिउँसो २:३० बजे सभामुखको शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई शपथ खुवाउने छन् । अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित

काठमाडौं- प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन ।
उनी शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछानेले प्रस्तावक गरेका थिए । प्रताव गर्दै लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवादसमेत दिए । साथै सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए ।

समर्थक समेत रहेका रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले अर्याललाई शुभकामना दिँदै कार्यपालिका र व्यवस्थापिकाको भूमिकामा अर्याल अनुभवी रहेको विश्वास व्यक्त गरे । अर्याललमा शालिन समन्वयकारी भूमिका रहेकाले अगामी संसद लाभान्वित हुने उनको भनाई छ ।

शुभकामना दिँदै उनले भने-  ‘कार्यपालिका र व्यवस्थापिकाको जुन भूमिका हुन्छ त्यसमा उहाँ अनुभवी हुनुहुन्छ । उहाँले यो गरिमायय पद, संसदको अभिभावको रुपमा बडो जिम्मेवारी पूर्वक भूमिका निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं । शालिन समन्वयकारी भूमिका छ उहाँमा । आगामी संसद लाभान्वित हुनेछ ।’

अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्न लागेको हो ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ ।

शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

ओलीले सम्मानजनक बहिर्गमन नलिए विशेष महाधिवेशन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठुलो धक्का खाएको एमालेभित्र संस्थापनइतर पक्षले अध्यक्ष केपी ओलीको सम्मानजनक बहिर्गमन गराउने पहल सुरु गरेको छ । यो समूहले पार्टीलाई पुनर्जीवित गर्दै पूर्वावस्थामा फर्काउन अध्यक्षको राजीनामा र केन्द्रीय कमिटीदेखि तल्ला तहसम्मको पुनर्गठन आवश्यक ठानेको छ । अध्यक्ष ओलीले राजीनामा नदिए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको विकल्प अघि बढाउने तयारी छ । यसका लागि प्रतिनिधिहरूको हस्ताक्षर संकलन गर्न मागपत्रको मस्यौदासमेत तयार पारिएको छ ।

पार्टीले चुनावमा भोगेको पराजयको औपचारिक समीक्षाअगावै उपाध्यक्ष विष्णु पौडेलसहित अन्य नेताहरूको सहयोगमा पुनर्गठनको तयारी अघि बढाइएको हो । पौडेलको यो पहललाई एमालेभित्र अर्थपूर्ण मानिएको छ । अध्यक्ष ओलीले पार्टी पुनर्गठनको बाटो नखुलाए बहुमत प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन बोलाउने दबाब सिर्जना गर्ने रणनीति छ । पराजयको मूल जिम्मेवारी लिएर अध्यक्ष ओलीले पार्टी पुनर्गठनको बाटो नखुलाए विकल्पमा विशेष महाधिवेशन बोलाउनका लागि बहुमत प्रतिनिधिहरूको हस्ताक्षर बुझाउनेसम्मको तयारी छ ।

इतर समूहका नेता पार्टीलाई पुनर्जागृत गर्दै पूर्वावस्थामै फर्काउन अध्यक्ष ओलीको राजीनामासँगै केन्द्रीय कमिटी हुँदै तलैसम्म पुनर्गठन गर्नुपर्ने निष्कर्षमा छन् । उपाध्यक्ष पौडेलसहित इतर पक्षका पदाधिकारी गोकर्ण विष्ट, योगेश भट्टराई, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलगायत केन्द्रीय कमिटीमा रहेका अधिकांश नेता ओलीसहितको उपस्थितिमा आयोजना हुने केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकसम्म पर्खिएर सम्मानजनक बहिर्गमन सुनिश्चित गर्ने पक्षमा छन् । जेन–जी आन्दोलनमा भएको दमन आरोपमा ओली अहिले प्रहरी नियन्त्रणमा छन् । यद्यपि, स्वास्थ्य समस्याका कारण उनलाई अस्पताल राखिएको छ ।

पार्टीले व्यहोरेको अकल्पनीय पराजयको औपचारिक समीक्षाअगावै पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट रहेको इतर पक्षले संस्थापनमा रहेका उपाध्यक्ष विष्णु पौडेलसहित उनीनिकट अधिकांश नेतालाई समेत साथ लिएर पुनर्गठनका लागि तयारी सुरु गरेको हो । यस क्रममा युवा र जनसंगठनका नेताहरूले पनि अप्रत्यक्ष दबाब सिर्जना गर्दै हस्ताक्षर अभियानको प्रारम्भिक तयारी गरिरहेका छन् । पार्टी पुनर्गठनको मुद्दामा महासचिव शंकर पोखरेलले अन्ततः समर्थन दिन सक्ने र सचिवालय तथा केन्द्रीय कमिटीमार्फत निर्णय प्रक्रिया अघि बढाउन सकिने इतर पक्षको विश्वास छ ।

२१ फागुनको आमनिर्वाचनमा एमालेले पराजयको औपचारिक समीक्षा गरेको छैन । चुनावलगत्तै बसेको सचिवालय बैठकले परिणाम स्विकार्दै प्रदेश र जिल्लाहरूलाई समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । तर, अध्यक्ष ओलीको पिताको निधन र त्यसपछिको शोकपछि उनलाई सरकारले हिरासतमा राखेपछि एमालेले १२ वैशाखसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ओलीको गिरफ्तारीका कारण केन्द्रीय कमिटी बैठक बोलाउने भनिए पनि मिति तोकिएको छैन ।

आर्टिमिस–२ ले आधा बाटो पार गर्‍याे : पृथ्वीका सुन्दर तस्वीर सार्वजनिक

झन्डै साढे ५ दशकपछि मानिस लिएर चन्द्रमातर्फ गइरहेको अन्तरिक्षयान आर्टिमिस–२ ले चन्द्रमासम्मको आधा बाटो पार गरेको छ । आज नेपाली समयानुसार बिहान पौने १२ बजेतिर नासाको ड्यासबोर्डमा ओरिअन अन्तरिक्षयान पृथ्वीबाट २ लाख २८ हजार ५ सय किलोमिटर पर पुगेको देखिएको छ ।

त्यहाँबाट चन्द्रमा २ लाख १२ हजार ४ सय किलोमिटरको दूरीमा रहेको देखिन्छ । अन्तरिक्षयात्री क्रिस्टिना कोखले पृथ्वीबाट गएको २ दिन, ५ घण्टा र २४ मिनेटपछि आधा बाटो पुगेको जानकारी पाएपछि यानमा सवार सबैले खुशी अभिव्यक्त गरेको बताउनुभएको नासाले उल्लेख गरेको छ ।

नासाले आधा बाटोमा पुगेपछि अन्तरिक्षयात्रीले खिचेको पृथ्वीको उच्च गुणस्तरको तस्वीर पनि सार्वजनिक गरेको छ । नासाका अनुसार त्यो तस्वीर पृथ्वीको सबभन्दा नजिकको खगोलीय छिमेकीतर्फको मार्गमा पुगेपछि यानका कमान्डर रिड वाइजमनले खिचेका हुन् ।

हेलो, वर्ल्ड नाम दिइएको पहिलो फोटोमा विशाल नीलो भाग देखिन्छ जुन आन्ध्र महासागर हो । त्यसमा पृथ्वीले सूर्यलाई छेकिदिँदा वायुमण्डलको तेज र दुई ध्रुवतिर हरिया अरोरा देखिन्छन् ।

फोटोमा पृथ्वी उल्टो जस्तो देखिन्छ, जसमा पश्चिम सहारा र आइबेरियन प्रायद्वीप बायाँपट्टि देखिन्छ भने दक्षिण अमेरिकाको पूर्वी भाग दायाँपट्टि देखिन्छ । दायाँपट्टि तलतिर देखिने चम्किलो ग्रह बुध भएको नासाले जनाएको छ । अन्तरिक्षयात्रीहरूले शुक्रवार ट्रान्स–लुनार इन्जेक्सन बर्न प्रक्रिया सफलतापूर्वक गरेपपछि फोटो खिचेका हुन् ।

अब आर्टिमिस २ ले यात्रीहरूलाई चन्द्रमाको टाढाको भागमा पुर्‍याएर पृथ्वीमै फिर्ता ल्याउनेछ । यो अभियानअन्तर्गत सन् १९७२ पछि पहिलोपटक मानिसले पृथ्वीको कक्षभन्दा पर यात्रा गर्न लागेका छन् । अन्तरिक्षयात्रीहरू अप्रिल ६ मा चन्द्रमाको टाढाको भाग भएर घुम्दै अप्रिल १० मा प्रशान्त महासागरमा अवतरण गर्ने छन् ।

नासाले सन् १९७२ मा अपोलो १७ अभियानका टोलीले खिचेको र अहिले सन् २०२६ मा खिचिएको पृथ्वीको फोटो सँगसँगै राखेर तुलना गरेको छ । नासाले लेखेको छ, ‘५४ वर्षको अन्तरालमा हामीले लामो यात्रा गरेका छौँ तर एउटा चीज चाहिँ बदलिएको छैन : अन्तरिक्षबाट हेर्दा हाम्रो घर सुन्दर देखिन्छ ।’

-एजेन्सी

गण्डकीले कोशीलाई हरायो

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ ।

वीरगंजस्थित नारायणी क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा २२८ रनको लक्ष्य पछ्याएको कोशीले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १८८ रन बनाएको हो । जारी प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो ।

कोशीका लागि दिपेश कंडेलले अर्धशतकीय पारी खेले । ७३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै दिपेश ५२ रनमा नटआउट रहे । तथापि, जितका लागि पर्याप्त हुन सकेन ।

गण्डकीका लागि सिब्रिन श्रेष्ठले ३ विकेट लिए । अप्रजित पौडेल र सुवास भण्डारीले २–२ तथा विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले पूरै ५० ओभरमा ७ विकेटको क्षतिमा २२७ रन बनाएको हो ।

गण्डकीका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनले १४१ बलमा ८ चौका प्रहार गर्दै १०२ रन बनाए । अर्धशतकीय पारी खेलेका विपिन खत्री ७६ रनमा नटआउट रहे । उनले ८६ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

कोशीका लागि दिपेश कंडेलले ४ विकेट लिए । राकेश शाह र सुजन थपलियाले १–१ विकेट लिए ।

जुम्लामा बन्दैछ विश्वकै सातौं ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’

जुम्लाको पातारासीमा निर्माण हुने भनिएको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको बाटो अन्ततः नौ वर्षपछि खुलेको छ।

जग्गा अभावका कारण वर्षौंदेखि कागजमै अल्झिएको परियोजनालाई स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएर गति दिएका हुन्।

परियोजनाका लागि पातारासी गाउँपालिका-३ लोठचौरका लाउरो बोहोरा, गोरबहादुर बोहोरा र कुम्भ बोहोराले ६ हजार १ सय २० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले उक्त जग्गाको लालपुर्जा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालाई हस्तान्तरण गरिसकेका छन्।

यसअघि एक वर्षअघि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यसहितको टोली निर्माणस्थलमै पुगेर पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको नेतृत्वमा जग्गा व्यवस्थापन समिति बनाएको थियो।सोही पहलले अहिले जग्गा सुनिश्चित भएको हो।

२०७४ पुस ३ गते तत्कालीन खेलकुद मन्त्रालयका सचिव महेश दाहालको नेतृत्वमा यो परियोजनाको सम्भाव्यता अध्ययन भएको थियो। तर, जग्गा यकिन नहुँदा वर्षेनि बजेट विनियोजन हुने र खर्च नभएर फिर्ता जाने अवस्था थियो।

गत आर्थिक वर्षमा मात्रै पाँच करोड ६६ लाख रुपैयाँ फ्रिज भएको थियो। तत्कालीन खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले १० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए पनि जग्गा अभावकै कारण त्यो कार्यान्वयन हुन सकेको थिएन।

परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यसको कुल लागत एक अर्ब ५८ करोड रुपैयाँ अनुमान गरिएको छ। हालसम्म दुई करोड ५० लाख रुपैयाँ खर्च भएको छ भने चालू आर्थिक वर्षका लागि ६ करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ।

जग्गा प्राप्तिसँगै बजेट कार्यान्वयनको बाटो खुलेको भन्दै पातारासी-३ का वडाध्यक्ष गोविन्द रावतले अब पनि काममा ढिलाइ भए आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए।

समुन्द्र सतहबाट २ हजार ८ सय ५० मिटर उचाइमा बन्ने यो प्रशिक्षण केन्द्र निर्माणपछि विश्वकै सातौं हाइअल्टिच्युड ट्रेनिङ सेन्टर हुनेछ।

हालसम्म विश्वभर यस्ता केन्द्र ६ वटा मात्र रहेका छन्। यहाँ भलिबल, फुटबल, कराँते, बक्सिङ, तेक्वान्दो, बास्केटबल र एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढी खेलका लागि पूर्वाधार निर्माण हुनेछन्।

साथै, स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, पाहुनाघर र सुरक्षा संरचनासहितको पूर्ण ‘स्पोर्ट्स कम्प्लेक्स’ बनाउने लक्ष्य राखिएको छ।

यो पूर्वाधार बनेपछि पातारासीको पहिचान नै फेरिने दाबी स्थानीयले गरेका छन्। अहिलेसम्म विश्वको उच्च स्थानमा मार्सीधान फल्ने क्षेत्र (छुमचौर) र हिमशृङ्खलाका कारण चिनिएको पातारासी अब अन्तर्राष्ट्रिय खेलग्राम बन्नेछ।

यद्यपि, यति ठूलो संरचना सफल बनाउन पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन। यसको दिगोपनका लागि सडक पहुँच, स्वास्थ्य सेवा, सञ्चार सुविधा र नियमित हवाई उडान जस्ता बहुआयामिक विकास आवश्यक पर्ने सरोकारवालाहरूले औंल्याएका छन्।

युएइमा ‘ड्रोन’ खस्दा घाइते सबै नेपाली खतरामुक्त

अबुधाबी : युनाइटेड अरब इमिरेट्स (युएई) को अब्जान क्षेत्रमा ‘ड्रोन’ का अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ३ अप्रिल २०२६ मा भएको उक्त घटनामा घाइते भएका ७ जना नेपालीमध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । दूतावासका अनुसार बाँकी एक जना गम्भीर घाइते भने अझै अस्पतालमा उपचाररत छन् । यद्यपि उनको अवस्था पनि खतरामुक्त रहेको र छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको जनाइएको छ ।

दूतावासले सबै घाइतेसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै केहीसँग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएको जनाएको छ । घटनापछि आवश्यक सहयोग र समन्वयका लागि दूतावास निरन्तर सक्रिय रहेको उल्लेख गर्दै युएई सरकारले घाइतेहरूको उपचार व्यवस्थापन गरिरहेको जनाएको छ । साथै मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकलाई स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ ।

खोज्नुहोस