मान्छेको जिन्दगी र नदी उस्तै हुन् । सरल रेखामा न नदी बग्छ । न मान्छेको जीवन । मृत्युमा पुगेर टुंगिने मान्छेको जीवन । र, समुन्द्रमा टुंगिने नदी । नदी र मान्छेमा एउटा फरक छ । हजारौं माईल बग्दा पनि नदी ‘मैलो’ हुदैन् । राजनीतिमा लागेको मान्छे विरलै सङ्लो रहन्छन् ।
मान्छे राजनीतिमा होस, बदनाम नहोस, यो संभव छैन् । छ दशक लामो राजनैतिक यात्रामा ‘भट्टराई सर’ अपवाद बने । जसको निष्ठा माथि औंला उठेन् । बरु उनको सादगी अनुकरणीय बन्यो । लप्पन छप्पन जानेनन्, सायद त्यसैले उनी लाभको पदबाट टाढा रहीरहे ।
अवसर पाएनन्, यसमा ग्लानी छैन् । प्रतिष्ठा गुमाएनन्, यसैमा खुशी छन् ।
बाध्यताले शिक्षक भए । क्रान्ति चेतले नेता । दुई दशक लामो शिक्षण यात्रा । छ दशक लामो राजनैतिक जीवन । शिक्षणमा आर्जेको ‘भट्टराई सर’ को पहिचान । राजनीतिमा त्यही ब्राण्ड बन्यो । हो, सुदूरको राजनीतिमा चन्द्रसिंह भट्टराईलाई विशेषण र उपमा आवश्यक भएनन् । उनलाई चिनाउन ‘भट्टराई सर’ काफि थियो ।
लोक बहादुर भट्टराईले चार बिहा गरे । तेस्रो थिईन्, बसुन्धरा भट्टराई । थाँतथलो दाङ छोडेर जीविकाका लागि भारतको कानपुरमा श्रम गरिरहेका भट्टराई दम्पत्ती । जहाँ, वि.स. १९९९ साल मंसिर २७ बसन्धुराले पहिलो सन्तानलाई जन्म दिईन् । नाम दिए, चन्द्र । उनीपछि दुई बहिनी जन्मिईन् । चौथी आमाबाट तीन भाई र एक बहिनी जन्मिए । कान्छी आमा उनकी आमाकी बहिनी थिईन् ।
बुवा कपडा उद्योगमा काम गर्थे । आमाहरु गृहणी । उनको बाल्यकाल कानपुरमै बित्यो । त्यहीबाट उनले स्कुल तहको पढाई पुरा गरे ।
उनी १७ वर्षका थिए । कामको खोजीमा विहारको धनवाद पुगे । मामा कोईला कम्पनीमा सुरक्षागार्ड थिए । मामाले उनलाई खास कुसुण्डा कोईलरी कम्पनीमा गार्डको काम दिलाए । त्यहाँ उनी राति ड्युटी गर्थे । केही समयपछि नेपालीहरुलाई संगठित गरी उनले नेपाली बन्धु सहाय समितिको स्थापना गरे । उनी आफू सचिव भए । विहार मिलिट्री पुलिसका कम्पाउण्डर बीर बहादुर गुरुङलाई अध्यक्ष बनाए । दुई वर्ष वित्यो । कमाएर पढ्ने सोच । पुरा भएन् । कानपुर फर्किए ।
घरबाट पाँच माईल टाढा डीभी कलेज । त्यही प्रमाण तहमा भर्ना भए । पहिलो वर्षको परीक्षा दिए । पास भए । परिवारको आर्थिक अवस्था कमजोर थियो । बोझ कति बन्नु ? सोचे, केही काम त गर्नै प¥यो । विहान कलेज जान्थे । छुट्टीपछि सीट मुनी किताव राखेर रिक्सा चलाउँथे ।
कानपुरमा नेपाली सेवा समिति थियो । उनी त्यसमा आवद्ध थिए । नेपालीहरुको सम्पर्क स्थान त्यही समिति थियो । त्यही मार्फत हिरालाल भण्डारीसंग भेट भयो । भण्डारी धनगढीबाट शिक्षकको खोजीमा आएका थिए । भण्डारीले सोधे,–जागीर खान्छौ ? विलम्ब नगरी भने,– हुन्छ । उनी भण्डारीसंगै धनगढी पुगे । बडाहाकिम ताराप्रसाद उपाध्यायले उनको अन्तर्वार्ता लिए । पास भए । शिक्षकको नियुक्ति पाए । मासिक तलव ९६ रुपैया थियो ।
नैनादेवी मन्दिर छेउमा कच्ची कटेरो र रुखको छहारीमा आजाद मिडिल स्कुल सञ्चालनमा थियो । त्यही परिसरभित्र भाषा पाठशाला । एउटै परिसरमा दुई स्कुल । सरकारले भाषा पाठशालाका लागि छुट्टै बजेट पठाउथ्यो ।
जनताको मुक्ति (आजादी) का लागि लडिरहेका नेपाली काँग्रेसका नेता जनक कर्माचार्यले जेठो छोराको नाम आजाद राखेका थिए । कर्माचार्यले वि.स.२०१२ सालमा त्यो स्कुल खोले । नाम राखे,–आजाद मिडिल स्कुल थिए । वि.स.२०१८ सालमा त्यहीबाट उनको शिक्षण यात्रा शुरु भयो ।
प्रशासकहरुलाई विद्यालयको नाम मन परेको थिएन् । २०१९ सालमा तत्कालिन बडाहाकिमले विद्यालयको नाम मात्र परिवर्तन गरेनन्, स्थान पनि परिवर्तन गरे । लक्ष्मी नारायण मन्दिर छेउमा सारिएको आजाद मिडिल स्कुलले त्रिनगर नाम पायो । धनगढी गाउँमा सारिएको भाषा पाठशालाको नाम पछि धनगढी मावि राखियो ।
कैलाली नाला किनारका रुख र झाडी फाडेर शिक्षकहरुले स्कुल सञ्चालनमा ल्याए । मन्दिरको जग्गा कब्जा गरेको आरोपमा जोगीले स्कुलका सबै कागजात खोलामा फालिदिए । उनले खोलाबाट कागजात उठाएर ल्याए ।
२०१५ सालका सांसद लोकेन्द्र बहादुर शाह संसद बिघटनपछि थापापुरको महादेवलीमा बस्दै आएका थिए शाहको त्यहाँ जन्मिदारी थियो । नेपाली काँग्रेसका नेता सुवर्ण सम्शेर जवराका पीए शरद अमात्य धनगढीमा भूमिगत जीवन बिताईरहेका थिए । उनी अमात्यसंगै शाहलाई भेट्न महादेवली पुगे । भजनीदेखि महादेवलीसम्म घुडासम्म हिलो थियो । त्यहाँ शाहसंग राजनीतिका कुरा भए । त्यो समय पञ्चायतको निगरानीमा भएका काँग्रेसका नेताहरुसंगको भेटघाट र उठबस अपराध मानिन्थ्यो । शाहलाई भेटेको कुरा बडाहाकिम उपाध्यायले थाह पाए । उनी उपाध्यायका छोराछोरी पढाउथे । शाहलाई भेटेको झोकमा उपाध्यायले पढाउन रोक लगाए ।
आजाद मिडिल स्कुलका हेडसर थिए, सत्येन्द्र नाथ चौधरी । चौधरी त्रिनगरको समेत हेडसर भए । कानपुरबाट उनीसंगै पढिरहेका गेहेन्द्र बहादुर शाही सहित तीन जना धनगढी आएका थिए । शाहीले केही समय पढाए । र, काठमाण्डौं गए । अर्का व्यक्ति मले केही दिनै फर्किए । शिवनारायण झा पहिलेदेखि नै त्रिनगरमा पढाउथे । चौधरीपछि माहेश्वरी उप्रेती त्रिनगरको प्रधानअध्यापक भईन् । जयपुरबाट एमए गरेकी उप्रेती सेती अञ्चल अस्पतालका प्रमुख डा. शंकर उप्रेतीकी पत्नी थिईन् ।
त्रिनगरमा ८ कक्षासम्म पढाई हुन्थ्यो । जहाँ धनगढी, मलवारा र बोगटानका ६० जना विद्यार्थी पढ्थे ।
२०१९ सालमा नयाँ बडाहाकिम आए, लिलाराज आङदाम्बे । उनको बडाहाकिम आङदाम्बे र सुरक्षा प्रमुखसंग राम्रो सम्बन्ध थियो । त्योसंगै काँग्रेसका नेताहरुसंग पनि उठबस थियो । यो कुरा आङदाम्बेलाई मन परिरहेको थिएन् ।
राजनैतिक गतिविधि निषेध थिए । २०१९ सालमा भएको बेलौरी काण्डमा गोपाल बहादुर कर्माचार्यको नाम मुछियो । एक प्रहरीको मृत्यु भएको चौकी आक्रमणमा मुछिएका कर्माचार्यसंग उनी निकट थिए । कर्माचार्य, बिक्रम राज शाही र मदनलाल श्रेष्ठको सशस्त्रको राशनको ठेक्का थियो । शाही बरेली बस्थे । कर्माचार्यले उनलाई शाहीसंग पैसा लिएर आउन बरेली पठाए । शाहीले पैसा छैन भने । रित्तै फर्किदै गरेका उनी मैलानी जक्सनमा थिए । उता लखनउबाट सोही दिन बडाहाकिम आङदाम्बे आए । जक्सनमै रहेका बडाहाकिमलाई भेट्न सहयोगीहरुले सुझ्याए । उनी भेट्न तयार भएनन् । उनी शंकाको घेरामा परे । भोलिपल्ट बडाहाकिमले उनलाई नियन्त्रणमा लिए । र, कागज बनाएर मुक्त भए ।
बेलौरी आक्रमणमा संलग्न मोद नाथ पक्राउ परे । तत्कालीन व्यवस्थाले सर्वस्व हरण गरेका मोदनाथको प्रहरीको कुटाईबाट नेपालगञ्जमा मृत्यु भयो ।
बडाहाकिमको व्यवस्था हट्यो । अञ्चलाधीशको व्यवस्था शुरु भयो । बडाहाकिमको कार्यालयमा अञ्चलाधीश बस्न थाले । २०२० सालमा काशीराज उपाध्याय अञ्चलाधीश भएर आए । उनी कडा स्वभावका थिए । उनले भनेको सबैले मान्नै पर्ने । त्रिभुवन विकास समितिमा लेखापाल थिए, हर्षराज स्वाँर । स्वाँरसंग भट्टराईको मित्रता थियो । स्वाँर अञ्चलाधिश उपाध्यायको सन्देश लिएर आए । भट्टराईलाई उपाध्यायको धम्कीपूर्ण सन्देश थियो, धनगढी बस्ने मन छ भने मैले भनेको मान्नु ।
अञ्चलाधिशले उनलाई राष्ट्रिय समाचार समिति(रासस) मा काम गर्न भने । आदेश नमान्दा धनगढी छोड्नु पर्ने । उनले राससमा काम थाले । उनी सुदूरपश्चिमको पहिलो राससकर्मी भए । राससमा समाचार पठाउनुअघि अञ्चलाधिशले सदर गर्नुपथ्र्यो ।
२०२१ सालमा भूमिसुधार लागु भयो । शंकर प्रसाद शर्मा भूमिसुधार अधिकारी भएर आए । भूमि सुधार अधिकारीको रवाफ बेग्लै । हरेक ठाउँमा उनलाई आफूसंगै लैजान अञ्चलाधीश उपाध्यायले शर्मालाई निर्देशन दिएका थिए । त्यसकारण शर्मा उनलाई आफूसंगै गाडीमा लैजान्थे ।
त्यही बेला बनपालेको कुटाईबाट एक जना चौधरीको मृत्यु भयो । अञ्चलाधिशले समाचार अघि छाप्न बन बिभागको स्वीकृत लिएर आउन निर्देशन दिए । उनले स्वीकृति लिएनन् ।
अञ्चलाधिशको सरुवा भयो । उनले रासस छोडे ।
२०२१ फागुन ७ गते त्रिभुवन जयन्तीमा उनले कविता सुनाए । कवितामा तत्कालीन व्यवस्थाप्रति कटाक्ष गरिएको थियो । अञ्चलाधिश उपाध्यायलाई मन परेन । उनी पक्राउ परे ।
नेपाल सशस्त्र प्रहरी(एनएसी)का को गुल्ममा रातभरी राखिएका उनलाई भोलिपल्ट कागज गराएर एसपी केवी गुरुङले थुनामुक्त गरे । उनीमाथि व्यवस्था विरोधी पर्चा वितरण गरेको आरोप समेत थियो । तर प्रहरीले डेरामा छापा मार्नुअघि नै उनले सबै पर्चा जलाईसकेका थिए । जसका कारण उनी जोगिए ।
काँग्रेसका नेताहरुको संगतमा विद्रोही चेत उनीभित्र हुर्किदै थियो । कविता लेखे वाफत थुनामा परेपछि उनले त्यो व्यवस्थाका विरुद्ध लड्ने प्रण गरे । कुनै राजनैतिक दलमा नजोडिएका उनी काँग्रेसका गतिबिधिमा जोडिए ।
क्रमश :…..