बालेन सरकार, अब विकासमा चमत्कार गरौ

द एभरेष्ट पोष्ट
१६ चैत २०८२ ४:३२
बालेन सरकार, अब विकासमा चमत्कार गरौ

-प्रेम राज अवस्थी 

हालै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरी नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको सुरुवात गरेको छ। रास्वपाको यो विजय मूल रूपमा नेपाली जनताको तीव्र विकासको चाहना र विगतका असफलता, अव्यवस्था तथा विसङ्गतिप्रति बढ्दै गएको असन्तुष्टि मतपेटिका मार्फत प्रकट भएको हो। सुस्त गतिको विकास, कुशासन र राजनीतिक निराशाहरूका बिच जनताले मत परिवर्तन गरी परिवर्तनको आकाङ्क्षा निर्वाचनमार्फत अभिव्यक्त गरेका छन्।

यो अभूतपूर्व बहुमत केवल रास्वपा लाई सत्तामा पुराउन मात्र होइन। नयाँ सुरुवातको लागि हो। पुरानै ढर्रामा हुने आर्थिक-सामाजिक विकास र कुशासनको अस्वीकृति हो। नयाँ सोच र ऊर्जा सहित तीव्र गतिमा राष्ट्र निर्माणको यात्रामा अघि बढाउनका लागि हो।

निर्वाचन अभियानका क्रममा बालेन शाहले “रास्वपा भोट माग्न आएको होइन, काम माग्न आएको हो” भन्दै जनतासँग गरेको प्रतिबद्धता लाई यथार्थमा उतार्नु पर्दछ। अब बालेन स्वयम् ती बाचा पुरा गर्ने ठाउँमा पुगेका छन्। 

कुरा मात्र गरेर देशले धरै समय खर्चिसक्यो, अब काम गरेर देखाउनु पर्दछ। अनि मात्र जनताले पत्याउँछन्। देशलाई उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढाउने, उद्यम र लगानीको वातावरण सिर्जना गर्ने तथा लाखौँ युवाका लागि स्वदेशमै सम्मानजनक रोजगारीका अवसर निर्माण गर्ने दिशामा ठोस कदम चाल्नु पर्दछ। गफ भन्दा कर्मको मार्गले समृद्ध र आत्मनिर्भर नेपालको आधार निर्माण गर्न सकिन्छ।

पछिल्ला वर्षमा नेपालले जुन गतिमा विकास गर्नुपर्ने थियो, त्यो गर्न सकेन। कुशासन, व्यापक भ्रष्टाचार, नातावाद र कृपावादले जरा गाड्दा जनतामा गहिरो निराशा छाएको थियो। विश्वका धेरै मुलुकहरू जुन कुनै समय नेपालकै अवस्थामा थिए, तिनले आज तीव्र आर्थिक प्रगति हासिल गरिसकेका छन्। नेपाल भने एसिया–प्रशान्त क्षेत्रमा मात्र नभई धेरैजसो अफ्रिकी मुलुकभन्दा पनि पछाडि परेको छ।

यद्यपि, नेपालले हिंसात्मक द्वन्द्व, राजनीतिक अस्थिरता र प्राकृतिक विपद्का बिच पनि गरिबी न्यूनीकरण, स्वास्थ्य पहुँच विस्तार, लैङ्गिक समानता र सामाजिक सुरक्षामा प्रगति गर्‍यो। तर आर्थिक प्रगति, रोजगारी सिर्जना र युवाका आकाङ्क्षा पूरा गर्नेमा भने अपेक्षित सफलता प्राप्त हुन सकेन। फलस्वरूप ठुलो सङ्ख्यामा युवाहरू बिदेसिन बाध्य भए र समाजमा निराशा पनि फैलिँदै गयो । यही असन्तुष्टि २०८२ भदौको जेन–जी आन्दोलनमा प्रस्फुटित भयो। 

जेन–जी आन्दोलनको पृष्ठभूमिमा भएको चुनाव र त्यसबाट आएको नव-निर्वाचित सरकारप्रति आर्थिक तथा सामाजिक क्षेत्रमा गर्ने छ भन्ने ठुलो जनअपेक्षा छ। यो अपेक्षा पूरा गर्न नीतिगत रूपमा स्पष्ट, प्रभावकारी शासन प्रणाली र विकासको नयाँ दृष्टिकोण आवश्यक छ। देशलाई उच्च आर्थिक वृद्धिको मार्गमा लैजाने, उत्पादनशील क्षेत्र सुदृढ गर्ने, लगानी वातावरण सुधार्ने र युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने दिशामा दृढतापूर्वक काम अघि बढाउनुपर्छ।

अब, पुराना विकास मोडलहरूबाट भएका कमजोरीमा अल्झिनु भन्दा भविष्यतर्फ केन्द्रित भएर अघि बढ्नु पर्छ। भाषण र कागजी योजनामा होइन, ठोस र परिणाममुखी कार्यशैली आवश्यक छ। कुनै विकास गर्न समिति बनाउने र लम्बे-तान बहसमा समय बरबाद गर्ने पद्धति लाई थाती राख्दै सम्बन्धित कार्यालय वा व्यक्ति लाई प्रत्यक्ष रूपमा उत्तरदायी र जिम्मेवारी बनाउनु पर्दछ। 

नेपालका प्राकृतिक र आर्थिक सम्भावनालाई सही उपयोग गर्न तुलनात्मक लाभका क्षेत्रहरू जस्तै स्वच्छ ऊर्जा, जलाधार–आधारित योजना, दिगो पर्यटन र प्रकृतिमैत्री कृषि हाम्रो लाई प्रवर्द्धन गर्नु पर्दछ। जलविद्युतलाई आधार बनाएर हरित औद्योगिकीकरणको अन्तर्गत विद्युतीय यातायात, ऊर्जा–आधारित कृषि, शीत भण्डारण र ग्रामीण उद्योगको विस्तार गर्नु पर्दछ। पर्यटन क्षेत्रमा इको–ट्रेकिङ र वन क्षेत्रलाई राष्ट्रिय गार्हस्थ्य उत्पादनमा १० प्रतिशत सम्म योगदान पुर्‍याउने गरी ग्रामीण समृद्धिका कार्यक्रम मार्फत गाउँमा आर्थिक अवसर सिर्जना गर्नु पर्दछ ।

तर विकासका यी सम्भावनाहरू लाई साकार पार्न अर्थतन्त्रको संरचनागत कमजोरीलाई सम्बोधन गर्नुपर्छ। नेपालको अर्थतन्त्र अझै रेमिट्यान्समा अत्यधिक निर्भर छ। चीन, भारत, भियतनाम र बङ्गलादेशले उत्पादन र निर्यातमार्फत रोजगारी सिर्जना गरिरहँदा नेपालले भने श्रम निर्यातलाई नै प्रमुख विकल्प बनाइराखेको छ। परिणामस्वरूप युवा विदेश पलायन भए, गाउँहरू रित्तिँदै गए र अर्थतन्त्र कमजोर भयो। यो प्रवृत्ति उल्ट्याउन तत्काल उत्पादन र औद्योगिक विस्तारमा जोड दिनुपर्छ।

जलविद्युतलाई वर्षैभरि ऊर्जा हबका रूपमा विकास गर्ने, पुँजीगत खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २० –३० प्रतिशतसम्म पुर्‍याउने, प्रशासनिक र चालु खर्च कम गर्ने, प्रशासनिक ढिलासुस्ती अन्त्य गर्ने, साना तथा मझौला उद्योगलाई अनावश्यक झन्झट र भ्रष्टाचारबाट मुक्त गर्ने तथा निर्वाहमुखी कृषिलाई व्यावसायिक प्रणालीमा रूपान्तरण गर्ने जस्ता कदम अनिवार्य छन्। किनकि उत्पादनविना दिगो समृद्धि सम्भव छैन ।

यससँगै विकास प्रक्रियामा अर्को गम्भीर समस्या विश्वासको सङ्कट पनि हो। नीतिगत अनिश्चितता, भ्रष्टाचार र राजनीतिक हस्तक्षेपका कारण निजी क्षेत्रको लगानी कमजोर बनेको छ। पारदर्शिता, स्थिर नीति र स्पष्ट उत्तरदायित्वबिना कुनै पनि विकास दिगो हुन सक्दैन। त्यसैले नयाँ सरकारले सहमतिमा आधारित द्रुत विकासका कार्यक्रम लागू गर्दै संस्थागत दोहोरोपनको अन्त्य गर्नुपर्छ। 

वर्षौँदेखि थुप्रिएका निराशा, अपेक्षा र प्रतीक्षालाई चिर्दै जनतामा नयाँ आशा र विश्वास जगाउने निर्णायक क्षण आएको छ। परिवर्तनको यो घडी लाई व्यवहारमा उतार्न विकासको सुरुवात देशको सबैभन्दा पछि पारिएका भूभागबाट हुनुपर्छ। अब, विकासको ढोका पश्चिमबाट खोल्न तिर लाग्नु पर्छ। उदाहरण स्वरूप, सुदूरपश्चिम र कर्णालीबाट व्यापक रूपमा आवास कार्यक्रम सुरु गर्दै दुई वर्षभित्रै सम्पन्न गर्ने स्पष्ट लक्ष्यसहित “नयाँ र सुरक्षित घर, नयाँ जीवनको सुरुवात” अभियान सुरु गर्नु पर्दछ। भूकम्प-प्रतिरोधी र न्यूनतम सुविधा सम्पन्न सुरक्षित आवास का साथै गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र आधारभूत पूर्वाधारको सुदृढीकरणलाई प्राथमिकतामा राख्दै ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने तिर लाग्नु पर्दछ। 

विकासको उज्यालो पश्चिमबाट फैलियो भने यसले केवल भौतिक परिवर्तन मात्र ल्याउने छैन, यसले उपेक्षा र पछौटोपनको लामो इतिहासलाई चिर्दै देशभरि आशा, आत्मविश्वास र समावेशी समृद्धिको नयाँ अध्यायको सुरुवात हुने छ। पश्चिमबाट सुरु हुने परिवर्तनको लहरले सिङ्गो राष्ट्रलाई नयाँ ऊर्जा र विश्वासका साथ अघि बढ्न प्रेरित गर्नेछ।

विकासको यात्रामा बालेन सरकारले चमत्कारिक सफलता हासिल गर्न सकेमा त्यो केवल आर्थिक उन्नतिमा सीमित रहने छैन। यसले वर्षौँदेखि कमजोर हुँदै गएको राष्ट्रिय आत्मविश्वासलाई पुनर्जीवित गर्दै राष्ट्रलाई नयाँ उचाइतर्फ उन्मुख गराउने छ।

यो शक्तिशाली बालेन सरकारले साहस, दूर दृष्टि, अटल दृढ सङ्कल्प र जिम्मेवारीका साथ आर्थिक तथा सामाजिक विकासलाई तीव्र गतिमा अघि बढाउनुपर्छ। यदि यो अभूतपूर्व अवसरलाई उपयोग गर्न सकियो भने ‘समृद्ध नेपाल’ को लक्ष्य केवल सपना नभई यथार्थमा परिणत हुने नै छ।

(संयुक्त राष्ट्र संघमा कार्यरत लेखकका यी निजी विचार हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस