कैलाली- ५ मा रास्वपा दोब्बरभन्दा बढी मतले अगाडि

यशोदा शर्मा,

कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा रासोपाको अग्रता दोब्बर मतले अगाडि रहेको छ ।

अहिलेसम्म भएको ७,९१६ मतगणना अनुसार रास्वपाका आनन्दबहादुर चन्द ३९४४ मतसहित अग्रस्थानमा छन्। उनलाई पछाइरहेका नेपाली कांग्रेसका नरनारायण शाह भारीमतान्तरले पछाडि छन् । शाहले अहिलेसम्म १ हजार ४७५ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गर्दा नेकपाका प्रेमबहादुर आलेले ७८७ मत प्राप्त गरेका छन्।

यस्तै रापर्पाका रोशन शाहीले २२३ मत, स्वतन्त्र उम्मेदवार प्यारालाल राणाले १०७ र चकिया चुनाव चिन्ह रहेको नागरिक उन्मुक्ति पार्टीले ६३ मत प्राप्त गरेको छ।

कुलमानलाई उछिन्दै राजु पाण्डेको अग्रता

काठमाडौं क्षेत्र नम्बर-३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन्। उनले उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पछि पारेका हुन्।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार पाण्डेले २ हजार ९ सय ६० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका घिसिङले २ हजार ७० मत पाएका छन्।

यस क्षेत्रमा प्रमुख राजनीतिक दलहरू भने निकै पछाडि देखिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याल ५ सय ८३ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ४ सय ५६ मत मात्र प्राप्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुन्दर राम बोहोराले ७३ मत र नेपाली कम्युनिष्ट पार्टीका निरज लामाले ४९ मत प्राप्त गरेका छन्।

कैलाली–३ मा नेकपाको अग्रता

यशोदा शर्मा,

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। हालसम्म १ हजार ५ सय ७२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्राप्त विवरणअनुसार नेपाली कम्युनिष्ट पार्टीका विरमान चौधरीले सबैभन्दा बढी ६ सय ४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । यस्तै काँग्रेसका भिम वड्वालले २ सय १५ मत पाएका  । यो क्षेत्रमा रास्वपाका जगत जोशीले २ सय ७५ मत ल्याएका छन् नेकपा एमालेलेका गौरी शंकर चौधरीले १ सय ३ मत पाएका छन्। चकियाले २ सय ५२ मत प्राप्त गरेको छ।
त्यसैगरी ८३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो क्षेत्रमा कुल मतदाता सङ्ख्या १ लाख ९,१२२ छ भने
खसेको मत ६० हजार २९४ रहेको छ ।

डोटीमा मतगणना सुरु

डोटी : डोटीमा मतगणना सुरू भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर १ सिमचौर, २ केदार अखडा, ३ कानाचौर र ४ सातफरीबाट मतगणना सुरू भएको छ।

चारवटा वडाका मतदान केन्द्रका बाकसहरू खोलिएका छन्। सर्वदलीय बैठकबाट ११ बजेदेखि मतगणना सुरू गर्ने निर्णय भएपनि करिब दुई घण्टा ढीलो गरि सुरू भएको छ।

बोगटान फुड्सिलको वडा नम्बर १ मा ६७१ मत खसेको थियो भने वडा नम्बर २ मा ३५१ मात्रै मत खसेको हो । वडा नम्बर ३ मा ३४५ मत खसेकोमा वडा नम्बर ४ मा ६२६ मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको चार स्थानबाट छुट्टाछुट्टै मतगणना सुरु भएको हो। चार ठाउँबाट मतगणना भइरहेकाले जिल्लाभरीको छिट्टै मतपरिणाम आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। डोटीमा जम्मा ४०.८८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभरी ५२ हजार चार सय ८५ मत खसेको छ ।

डोटीमा महिलाको ३१ हजार नौ सय दुई मत र पुरूषको २० हजार पाँच सय ८३ मत गरि जम्मा ५२ हजार चार सय ८५ मत खसेको छ।

बैतडीमा मतगणना सुरु

बैतडी- बैतडीमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै १ बजेबाट मतगणना सुरु भएको हो ।

बिहीवार सम्पन्न मतदानमा ७३ हजार १४८ मत खसेको छ । यहाँ एक लाख ५६ हजार ३७२ मतदाता रहेका थिए । जसको ४६ दशमलव ७८ प्रतिशत मात्रै मत खसेको छ ।

डडेलधुरामा रास्वपाका जोशीको प्रारम्भिक अग्रता

 डडेलधुरा। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का मानसिंह मालले २९२ मतसाथ दोस्रो स्थानमा देखिएका छन् ।

नेपाली कांग्रेसका नैनसिंह महर भने २७८ मतसहित तेस्रो स्थानमा रहँदा एमालेका चक्रप्रसाद स्नेहीले १५३ मत मात्रै पाएका छन् ।

यो गणना परशुराम नगरपालिका–१० को नतिजा हो ।

अछाम–१ मा भीम रावलको सुरुवाती अग्रता

अछाम । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार भीम रावलले सुरुवाती अग्रता लिएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार रावलले ३८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दीपक साउदले २१० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली काङ्ग्रेसका भरतकुमार स्वाँरले ४५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमप्रकाश रावलले २९ मत पाएका छन् ।

यस केन्द्रबाट ६७२ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् ।

नेकपा एमालेकी इन्द्र धारा डादु विष्टले १ हजार ८ सय ६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीय चन्द्र थकालीले ७ सय ७९ मत ल्याएका छन् ।

कैलाली -५मा रास्वपाको अग्रता कायमै

कैलाली । कैलाली ५ मा १२:३० सम्म को मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रस्थान कायमै राखेको छ।

१९६० मत गणना हुँदा रासोपाका आनन्दबहादुर चन्दले ९२२ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका नरनारायण शाहले २३२ मत, नेकपा एमालेका एकराज ढुङ्गानाले ४८३ मत र राप्रपाका रोशन शाहीले ३४ मत ल्याएका छन्।

कैलाली ५ सुदूरपश्चिमकै चर्चित निर्वाचन क्षेत्र हो। यो क्षेत्रमा एक लाख १०,५५९ मतदाता छन् भने ६६,११९ मत खसेको छ।

कैलाली –१ रास्वपाकी कोमल ज्ञवालीको अग्रता

कैलाली कैलाली –१ मा मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवालीले सुरुवाती अग्रता लिएकी छिन्।

ज्ञवालीले ४६३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएकी छिन्। उनलाई स्वतन्त्र उम्मेदवार फागु राम थारुले कडा टक्कर दिइरहेका छन्। थारुले ४०५ मत प्राप्त गरेका छन्।

सत्तारुढ दल नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरी ३६९ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपाने १२३ मत सहित चौथो स्थानमा खुम्चिएका छन्। सुरुवाती चरणमा भने यहाँ कांग्रेसका चौधरीले अग्रता लिएका थिए।

सर्लाही ४ :रास्वपाका अमरेशकुमारको अग्रता

काठमाण्डौ – प्रतिनिधि सभा चुनावको मतगणना अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वातन्त्र पार्टी ९रास्वपा०का उम्मदेवार अमरेशकुमार यादवले अग्रता लिएका छन् ।

उनले १९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका अभिनिस रायले ३८९ मत पाएका छन् ।

कैलाली- ३ मा मतगणना सुरु

कैलाली- कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी  दिए ।

उनका अनुसार कैलारी गाउपालिका-३ बाट मतगणना सुरु भएको छ । यहाँ एक लाख नौ हजार एक सय २२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार दुई सय ९४ मत खसेको थियो ।

यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदान स्थल र एक सय ४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

अछाम क्षेत्र नं. २ मतगणना शुरु

अछाम । अछाम क्षेत्र नं २ को मतगणना प्रारम्भ भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय मंगलसेनमा भएको मतगणना मंगलसेन नगरपालिका वडा नं १२ वान्नातोली, १३ वस्ती र १४ कालागाउँका मत मिलाएर गणना शुरु गरिएको हो ।

क्षेत्र नम्बर १ मा भने मतदानका क्रममा ९० प्रतिशत मत खसेको भन्दै सर्वदलीय बैठकमा विवाद भएपछि हालसम्म मत गणनाको कार्य अघि बढ्न सकेको छैन ।

रवि लामिछाने ६ हजार बढी मतसहित अगाडि

चितवन : चितवन–२ मा जारी मत गणना अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  उम्मेदवार रवि लामिछानेले ३,९६३ सहित अग्रता बनाएका छन् । हालसम्मको मत परिणामअनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार लामिछानेले ६ हजार ७ सय मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २,३२९ मत पाएका छन् । उनी लामिछानेभन्दा ४,३७१ मतले पछि छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २,२२२ मत पाएकी छन् । उनी लामिछानेभन्दा ४ हजार ४ सय ७८ मतले पछि छिन् ।

यस्तै नेकपाका उम्मेदवार टेकप्रसाद गुरुङले १,५५८ मत प्राप्त गरेका छन् । उनी लामिछानेभन्दा ५,१४२ मतले पछाडि परेका छन् । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कैलाली २ मा काँग्रेसका स्वाँरले अग्रता लिए

धनगढी, २२ फागुन ।
कैलाली २ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

४०० मत गणना हुदा काँग्रेसका उम्मेदवार बिजय स्वाँरले १४६ मत सहित अग्रता लिएका छन् ।

दोस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाले ६३ मत ल्याएका छन् । तेस्रोमा रास्वपाका केपी खनालले ४० मत ल्याएका छन् । नेकपाले ५५ र नाउपाले १ मत ल्याएको छ ।

बैतडीमा १२ बजेपछि मात्र मतगणना हुने

बैतडी।  जिल्लाका २१५ मतदान केन्द्रमा भएको ४३८ वटा मतपेटीका रातभरीमा सदरमुकाम आईपुगेपछि शुक्रबार ११ बजे सर्वदलीय बैठक गरी मतगणना गर्ने तयारी भएको छ । सर्वदलीय बैठक आह्वान गरी ११ बजेपछि मतगणना हुने मुख्य निर्वाचन अधिकतृ तीर्थराज भट्टले बताए ।

उनले भने,“ सबै मतपेटीमा बुझिसकेका छौं । मत गणनाका लागि चार वटा कोठामा तारजाली लगाएर तयारी अवस्थामा राखेका छौं । चुनावको नतिजा छिटो सार्वजनिक गर्न चार ठाउँबाट मत गणना हुने छ ।”

यो पटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बैतडीमा ४६.७८ प्रतिशत मत खसेको छ । यो पटकको निर्वाचनमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र अन्य एक जना गरी ७३ हजार १४८ मत खसेको छ ।  जिल्लामा अहिले कुल एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।

२०७९ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ५२ प्रतिशत मत खसेको थियो । २०७९ को निर्वाचनमा कुल १ लाख ५० हजार १५६ मतदाता रहेका थिए । अघिल्लो निर्वाचनमा ७८ हजार ३६९ मत खसेको थियो ।  यो पटक करिब छ हजार मतदाता बढे पनि मतदान भने कम भएको छ ।  जिल्लाका अधिकांश मानिस रोजगारीका लागि विदेश गएको निर्वाचन भन्दा कम मतदान भएको आँकलन गरिएको छ ।

यो पटकको निर्वाचनमा जिल्लाका २१५ मतदान केन्द्र कायम भएका छन् । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा यो पटक १० वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरी ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

रुकुम पूर्वमा प्रचण्डले तेब्बर मतले अगाडि

रुकुम पूर्व, २२ फागुन ।

रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् ।

दाहाल झण्डै तेब्बर मतले प्रतिस्पर्धीभन्दा अगाडि छन् ।

दाहालले २९८९ मत ल्याउदा उनलाई पछ्याईरहेको काँग्रेसले ९१६, एमालेले ५९२, रास्वपाले २८९ र प्रलोपामा ५८ मत ल्याएको छ ।

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा झण्डै तेब्बर मतले अगाडि

कञ्चनपुर- कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहराले फराकिलो अग्रता बनाएका छन् ।

७ हजार ५६६ मत गन्दा बोहराले ४२६८ मत ल्याएका छन् ।

उनलाई कांग्रेसका एनपी साउदले निकै पछि रहेर पछ्याइरहेका छन् । साउदले १५२५ मत ल्याएका छन् ।

एमालेका बचनबहादुर सिंहले ८३७ मत ल्याएका छन् ।

नेकपाका माधव पन्तले ४२७ मत ल्याएका छन् ।

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । शाहीले एक हजार २४५ मत गणना हुँदा ५४१ मतसहित अग्रता लिइरहेका छन् ।

शाहीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नरेश भण्डारीले ४३५ मतसहित पछ्याइरहेका छन् । यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका शान्तिलाल महतले ७२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की विनीता कठायतले ९ मत मात्रै प्राप्त गरेकी छन् ।

कैलाली ५ मा रास्वपाको अग्रता कायमै

यशोदा शर्मा,

कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्द बहादुर चन्दको अग्रता कायमै रहेको छ । शुरुवाती चरणमा १ हजार मतगणनामा गर्दा चन्दले झण्डै दोव्वर मतले अग्रता कायम गरेका छन् ।
१ हजार मतगणना हुँदा रास्वपाका चन्दले ४९०, नेकपा एमालेका यज्ञराज ढुंगानाले २२९, काँग्रेसका नरनारायन शाहले १२७ र नेकपाका प्रेम आलेले ७० मत ल्याएका छन् ।
कैलाली ५ सुदूरपश्चिमकै  चर्चित निर्वाचन क्षत्र हो । जाहाँ १ लाख १ं० हजार ५ सय ३९ मतदाता छन् । यो क्षेत्रबाट ५९ प्रतिसत अर्थात ६६ हजार १ सय ९१ मत खसेको छ ।

रौतहट-४ मा ३६ सय मत गणना हुँदा ऋषि धमलाले पाए ९ मत

काठ्माण्डौ- तहट-४ मा मतगणना जारी छ।

अहिलेम्म ३६ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो क्षेत्रमा ऋषि धमला उम्मेदवार छन्। उनले अहिलेसम्म ९ मत मात्रै पाएका छन्।

पत्रकारितामा सक्रिय रहेका धमलाले आम जनता पार्टी(आजपा)बाट उमेदवारी दिएका थिए।

यो क्षेत्रमा रास्वपाका गणेश पौडेलले २ हजार २०५ मत ल्याएका छन्।

कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ६९२ मत ल्याएका छन्।

नेकपाका रामकुमार भट्टराईले ६३७ मत ल्याएका छन्।

एमालेका रामजी साहले १ सय २२ मत ल्याएका छन्।

ललितपुर–३ बाट रास्वपाकी तोसिमा कार्की विजयी

ललितपुरः ललितपुर–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। उनले कुल ३१,१३६ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्।

कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का अमृत खड्काभन्दा १८,१७३ मत बढी ल्याएकी छन्। अमृत खड्काले १२,९६३ मत प्राप्त गरेका थिए।त्यस्तै नेकपा ९माओवादी केन्द्र० की पम्फा भुसालले ८,७६९ मत प्राप्त गरेकी छन्।

त्यस्तै नेकपा ९माओवादी केन्द्र० की पम्फा भुसालले ८,७६९ मत प्राप्त गरेकी छन्।

ललितपुर १ मा काँग्रेसका राणा अगाडि

ललितपुर २२ फागुन ।

ललितपुर क्षेत्र नं १ मा नेपाली काँग्रेसका उदय सम्शेर जवराले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतगणना अनुसार राणाले ३१४४ मत सहित अग्रता कायम राखेका हुन् ।

राणालाई पछ्याएका एमालेका चेतनाथ सञ्जेल १७५३ मत ल्याएका छन् । त्यस्तै रास्वपाका बुद्धरत्न महर्जन १६५२ मत ल्याएका छन् ।

दार्चुलामा दुर्गम क्षेत्रमा रहेका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी

दार्चुला: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलाका दुर्गम क्षेत्रमा रहेका केही मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम खलंगा ल्याउने काम भइरहेको छ।

अपिहिमाल गाउँपालिकाका सितोला, पाथा, सिती र क्षेत्ती मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी खलंगा ल्याइँदै छ। त्यस्तै, नागु क्षेत्रको मतपेटिका पनि खलंगा ल्याउने क्रममा रहेको जनाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगेपछि सर्वदलीय बैठक बस्नेछ। बैठकपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
सबै मतपेटिका संकलन भइसकेपछि आज दिउँसोसम्म मतगणना प्रक्रिया अघि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काठमाण्डौं १ मा रास्वपाकी रञ्जु दर्शना बिजयी

काठमाडौं २२ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाण्डौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु न्यौपाने (दर्शना) बिजयी भएकी छन् । उनी रास्वपाका तर्फबाट खाता खोल्ने पहिलो उम्मेदवार बनेकी छन् ।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे । राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।

 

डडेल्धुरामा बिहान ११ बजेदेखि सुरु हुने मतगणना

डडेल्धुरा- डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो। बैठकमा मतगणना प्रक्रिया, व्यवस्थापन तथा सुरक्षाका विषयमा छलफल गर्दै बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरिएको मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाले जानकारी दिए। मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत भवनमा गरिने जनाएको छ।

कैलाली ५ मा रास्वपाको अग्रता

धनगढी, २२ फागुन ।
कैलाली क्षेत्र नम्बर ५ मा मत गणना शुरु भएको छ । शुरुवाती मतगणनामा रास्वपा पार्टीले अग्रता लिएको छ ।

५०० मतगणना हुदा रास्वपाका आनन्द चन्दले १६२ मत ल्याएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका नर नारायण शाह मनुले ७३ मत ल्याएका छन् । तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले ६४ मत र नेकपाका प्रेम आलेले ४७ मत ल्याएका छन् ।

शीर्ष नेता : रवि–बालेन र प्रचण्डको अग्रता, ओली पछाडि, गगनकोमा गणना शुरू हुन बाँकी

काठमाण्डौ – प्रतिनिधिसभा चुनावको मतगणना भइरहँदा शीर्ष नेताहरूमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाहेक अरू नेताहरू पछाडि देखिएका छन् ।

देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १ हजार ९३ मतले पछि पारेका छन् । १ हजार ४ सय ७८ मत गणना भइरहँदा बालेनले १ हजार ९३ मत पाएका छन् भने ओलीले ३८५ मत मात्रै प्राप्त गरेका छन् ।

रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले १ हजार ४ सय १५ मतसहित अग्रता लिएका छन् । उनको पछाडि नेकपा एमालेका लिलमणि गौतमले ४ सय ३१ मत प्राप्त गरेका छन् ।

यस्तै चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेले ३२६५ मतसहित अग्रता बनाएका छन् । नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ५ सय १९ मत पाएका छन् ।

अर्को चर्चित निर्वाचन क्षेत्र भक्तपुर २ मा एमालेका सचिव महेश बस्नेतलाई १ हजार ४ सय ८७ मतले पछाडि पार्दै रास्वपाका राजीव खत्री ३ हजार ६ मतले अघि छन्। नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र सर्लाही ४ मा भने मतगणना शुरु हुन बाँकी छ ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपालको रौतहट क्षेत्र नम्बर १ र झलनाथ खनालको इलाम क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी छ । -उज्यालो अनलाइनबाट

खोज्नुहोस