सुदूरपश्चिमका डिआईजी पाल र सिंहको एक वर्ष पदावधि थप

काठमाडौं, ४ चैत । सरकारले सशस्त्र प्रहरीका दुई जना नायव महानिरीक्षक (डीआईजी) को पदावधि एक वर्ष थप गरेको छ ।

सरकारले सशस्त्र प्रहरीका डिआईजी प्रदीप कुमार पाल र लक्ष्मणबहादुर सिंहको पदावधि एक वर्ष थप गरेको हो ।

यसअघि सशस्त्र प्रहरी बल मुख्यालयले चार जना डीआईजीको पदावधि थपका लागि गृह मन्त्रालयमार्फत सिफारिस गरेको थियो। चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले भने प्राविधिक समूहका दुई जनाको मात्रै म्याद थप गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज छुटेका अन्य दुई जना—साधारण समूह–साधारण उपसमूहका डीआईजी पाल र सिंहको पनि एक वर्ष पदावधि थप गर्ने निर्णय गरिएको हो। हाल सिंह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत छन् भने पाल सशस्त्र प्रहरी बलको कार्य विभागमा कार्यरत छन्।

चारै जना डीआईजी २०७८ साल चैत ६ गते बढुवा भएका थिए। बढुवा समितिले २०७८ फागुन २७ गते उनीहरूको नाम सिफारिस गरेको थियो। चार वर्षे पदावधि अनुसार उनीहरूको कार्यकाल चैत ५ गते सकिँदै थियो।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ (ग) अनुसार डीआईजी र एआईजीको पदावधि चार वर्षको हुने व्यवस्था छ। सोही दफाको उपनियम (२) मा भने महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले थप एक वर्ष पदावधि बढाउन सक्ने प्रावधान रहेको छ।

पदावधि थपसँगै पाल र सिंह आगामी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका प्रमुख दाबेदारका रूपमा समेत हेरिएका छन्। पाल र सिंह दुबै जना सुदूरपश्चिका बासिन्दा हुन् ।

निर्वाचित सरकारसामु चुनौतीको श्रृंखला

गुणाकर भट्ट ।

विगतका संसदीय निर्वाचनभन्दा फरक इतिहास निर्माण गर्दै फागुन २१ को निर्वाचन सम्पन्न भएको छ । जनस्तरबाट स्वस्फूर्त रूपमा ब्यालेटमार्फत भएको विद्रोहले भन्छ– परिवर्तनका लागि प्रलोभन, धाकधम्की र हिंसा आवश्यक छैन । समाजको चेतनामा भएको वृद्धि, प्राविधिक विकास र जनसंख्याको संरचनामा युवा पुस्ताको वर्चस्वसँगै मुलुकको राजनीति नयाँ बाटोतर्फ हिँडेको छ ।

२३ र २४ भदौको जेन–जी आन्दोलनको जगमा उभिएको यो निर्वाचनले चुनाव जित्न ठूलो धनराशि खर्च गर्नुपर्ने, राज्यका विभिन्न तह एवम् निकायमा भ्रातृ संगठन निर्माण गर्नुपर्ने र सत्तामा बसेर मात्रै चुनाव जित्न सकिने जस्ता भ्रमहरू पनि चिरेको छ ।

कुशासन, भ्रष्टाचार र राज्य संयन्त्रमा दलालतन्त्रको हालीमुहालीविरुद्ध नयाँ जनादेश लक्षित छ । विगतका चुनावमा बिनाप्रश्न मतदान गर्ने जनताले यस पटक राजनीतिक पार्टीका कार्यशैलीमाथि प्रश्न मात्रै तेर्स्याएनन्, आफ्नो मतमार्फत तिनलाई जवाफसमेत दिए । २०१५ सालको आमचुनावमा नेपाली कांग्रेसले ल्याएको दुई तिहाइ बहुमतपछि नेपालमा एउटै राजनीतिक दलले यत्रो ठूलो बहुमत ल्याएको यो पहिलो पटक हो । यो चुनावमा पटक–पटकको सरकार परिवर्तन र सत्तामा जान जुनसुकै हत्कण्डा अपनाउने शैलीविरुद्ध पनि जनमत अभिव्यक्त भएको छ । यति भन्दैगर्दा नयाँ बन्ने सरकार अघि असाध्यै धेरै चुनौतीका चाङ छन् ।

भूराजनीतिक द्वन्द्वले सिर्जना गरेको विश्वव्यापी अनिश्चितता आजको सबैभन्दा ठूलो चुनौती हो । निर्वाचनमार्फत प्रकट भएको जनमतले सर्वसाधारणको उर्लिंदो आकांक्षा व्यक्त गरेको छ । रोजगारी, छरितो एवम् प्रभावकारी सेवा प्रवाह, शासन व्यवस्थामा पारदर्शिता, अवसरको समान पहुँच, देशका सबै भूभाग र क्षेत्रको सन्तुलित विकास एवम् गरिबी न्यूनीकरण आमजनताका दशकौंदेखि थाती रहेका सरोकार हुन् । यस्तो बेला सरकारले तत्काल लिने नीति निम्न विषयमा केन्द्रित हुनुपर्छ :

कूटनीतिक सन्तुलन 

आजको विश्व व्यवस्था दोस्रो विश्वयुद्धपछिको सबैभन्दा बढी कठिन स्थितिमा छ । शीतयुद्धको समयसम्म दुई ध्रुवीय रहेको विश्व व्यवस्था केही दशकसम्म अमेरिकाको वर्चस्वमा रहे पनि आज बहुध्रुवीय बनेको छ । शक्ति राष्ट्रका नीतिहरू अनुमानयोग्य हुन नसक्ने भएका छन् । आणविक होडबाजीले अत्यावश्यक वस्तु सेवामा अत्यधिक परनिर्भरता भएका राष्ट्रहरूलाई अप्ठ्यारो सिर्जना गरिदिएको छ ।

अनिश्चितताबीच पनि विश्व अर्थतन्त्रमा चीनको वर्चस्व बढ्दै गएको छ । युरोपियन युनियनको अर्थतन्त्रकै हाराहारीमा चीनको अर्थतन्त्र पुगेको छ । प्रविधिका क्षेत्रमा चीनले गरेको तरक्कीले सबै चकित छन् । भौगोलिक मात्रै होइन, सांस्कृतिक, सामाजिक र व्यापारिक दृष्टिकोणबाट नेपालनिकट रहेको उदीयमान छिमेकी झारत विश्व व्यवस्थामा आर्थिक एवम् रणनीतिक तवरले जबर्जस्त अगाडि बढ्दै छ । शीतयुद्धकालको महाशक्ति राष्ट्र रुसको युत्रेनसँगको लडाइँलाई उसको शीतयुद्धकालीन चाहना पुनर्जागृत भएको रूपमा अर्थ्याइएको छ ।

यस्तो परिस्थितिमा छिमेकसँगको सम्बन्ध र अन्तरनिर्भरतालाई आर्थिक समुन्नतिमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक सन्तुलन कायम गर्ने पहिलो प्राथमिकता आगामी सरकारको हुनुपर्छ । सन्तुलित र प्रभावकारी कूटनीतिबाट मात्रै उच्च आर्थिक वृद्धि हासिल गर्न र विकास निर्माणका काम अगाडि बढाउन सहज हुनेछ । यस्तो परिस्थितिमा नयाँ बन्ने सरकारले छिमेकीलगायत सबै शक्ति राष्ट्रसँग नेपालको आर्थिक हितको प्रवर्द्धन र सम्प्रभुता अक्षुण्ण राख्ने गरी सम्बन्ध प्रगाढ बनाउने दिशामा काम गर्नुपर्छ ।

विकेन्द्रित अर्थतन्त्रको विकास 

भर्खरैको चुनावमा काठमाडौंबाट भोट हाल्न आ–आफ्नो थातथलोतर्फ हिँडेका नागरिकहरू भोट हालेर फेरि काठमाडौं फर्किसकेका छन् । आर्थिक विकासको एउटा मात्रै केन्द्र काठमाडौं भएकाले नागरिकहरू काठमाडौंमै बस्न बाध्य छन् । काम खोज्न काठमाडौं आउने र भोट हाल्न जिल्ला जानुपर्ने स्थिति सुधार गर्न सकिए मात्रै संघीयताको सही कार्यान्वयन र सन्तुलित आर्थिक विकास सम्भव छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले कुल कर्जाको ५९.५ प्रतिशत र कुल निक्षेपको ६५.८ प्रतिशत बागमती प्रदेशमै केन्द्रित भएको देखाएको छ । यसले पनि आर्थिक गतिविधि काठमाडौं केन्द्रीकृत भएको बुझिन्छ ।

काठमाडौं बाहिर के कस्ता बजारकेन्द्र निर्माण गर्न सकिन्छ ? अर्थतन्त्रलाई कसरी विकेन्द्रित गरी स्थानीय तहमा रोजगारी सिर्जना गर्न सकिन्छ ? स्थानीय श्रम र सीप मात्रै होइन, आधुनिक प्रविधिको हवका रूपमा काठमाडौं बाहिरका सहरलाई पनि कसरी विकास गर्न सकिन्छ ? यस्ता विषयमा तत्काल काम थाल्नुपर्नेछ । सूचना प्रविधिका क्षेत्रमा काम गरेर सेवा निर्यात गर्ने जनशक्ति आजको हाम्रो ठूलो सम्भावना हो ।

यस क्षेत्रमा समर्पितहरूका लागि काठमाडौं बाहिर धनगढी, भैरहवा, विराटनगर जस्ता सहरमा बसेरै काम गर्न आवश्यक वातावरण र उत्प्रेरणा दिन सकिए काठमाडौंमाथिको निर्भरता कम हुनेछ । काठमाडौंकेन्द्रित जनशक्तिलाई काठमाडौं बाहिर काम दिन पनि राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन द्रुतत्तर गतिमा अघि बढाउन उत्तिकै आवश्यक छ । यसबाहेक स्थानीय अर्थतन्त्र पुनर्जागृत गर्न स्थानीय तहमा भएका सबै धार्मिक स्मारक, मठमन्दिर आदिको निर्माण एवम् पुनर्निर्माणका लागि स्थानीय सामग्री, श्रम, सीप र प्रविधिको प्रयोग हुनैपर्ने अनिवार्य व्यवस्था गर्नुपर्छ । हाम्रा पुरातात्त्विक एवम् ऐतिहासिक सम्पदाको पुनर्निर्माण, संरक्षण र जीर्णोद्धारमा समेत स्थानीय सामग्री, प्रविधि र जनशक्तिको प्रयोग गरिए आयात घटाउन र आन्तरिक अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ ।

निजी क्षेत्रको मनोबल अभिवृद्धि 

नेपालको निजी क्षेत्र केही वर्षयता उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उत्साही छैन । यसैको परिणामस्वरूप कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा घट्दै गएको छ । जग्गाको मूल्यमा भएको अत्यधिक वृद्धि, प्रशासनिक झन्झट, बजारको अनिश्चितता र राजनीतिक संक्रमणले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निजी क्षेत्रको आत्मविश्वास डगमगाएको छ । यद्यपि हालै सम्पन्न निर्वाचनले सर्वसाधारण र व्यवसायी सबैलाई आशावादी भने बनाएको छ । यसर्थ सन् १९९० को दशकमा झैं निजी क्षेत्रको सक्रियतामा औद्योगिक पुनरुत्थान हुन आवश्यक छ ।

व्यावसायिक फर्मको रजिस्ट्रेसन र बहिर्गमन डिजिटल बनाउने, कर चुक्तालगायतका विषयसँग सम्बन्धित प्रशासनिक झन्झट हटाउने, साना मझौला फर्म र स्टार्टअपका लागि स्थानीय तहको ग्यारेन्टीमा परियोजना धितोमा कर्जा उपलब्ध गराउने, किसानको खाद्यजन्य उत्पादन सेना, प्रहरीलगायत सरकारले खडा गरेका खाद्य तथा व्यापार कम्पनी जस्ता संस्थाले खरिद गर्ने ग्यारेन्टी गरिदिने जस्ता व्यवस्थाले निजी क्षेत्र उत्साहित हुने सम्भावना छ । अर्थतन्त्रमा मुख्य योगदानकर्ताका रूपमा रहेको निजी क्षेत्र विभिन्न तह र तप्कामा छ । दर्ता नभएरै काम गरिरहेका साना निजी व्यावसायिक फर्मदेखि मझौला उद्योग र ठूला कम्पनी सबैको मनोबल बढाएर अघि बढ्न सके अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना र राजस्व परिचालनलगायतका क्षेत्रमा सकारात्मक परिणाम आउनेछ ।

सुशासन र सेवा प्रवाह 

हाम्रा सरकारी कार्यालयको सेवा प्रवाह प्रभावकारी बनाउन डिजिटल माध्यमको उपयोग बढाउनुपर्छ । उदाहरणका लागि सवारीसाधन नामसारी गर्न दिनैभर समय बिताउनुपर्ने र त्यसमा पनि प्रणाली बाहिरका व्यक्तिको सहयोग माग्नुपर्ने आजको अवस्थाबाट आमसर्वसाधारणले छुटकारा पाउन खोजिरहेका छन् । कर चुक्ता प्रमाणपत्र लिन, घरजग्गा कर तिर्न, घरबहाल कर तिर्न सरकारी कार्यालय पुग्नैपर्ने व्यवस्थामा आमसर्वसाधारणले परिवर्तन खोजिरहेका छन् । खानेपानीको धाराको मिटर बिग्रेको हुन्छ । सम्बन्धित मिटर रिडरले कार्यालयमै मिटर लिएर आउनु भन्छन् । यसको सट्टा खानेपानी बिक्री वितरणमा संलग्न संस्थाकै प्राविधिक आएर मिटर मर्मत गरिदिने सेवा प्रवाह नागरिकको अपेक्षा हो । सार्वजनिक यातायात क्षेत्रमा पनि सुधारको आवश्यकता र गुञ्जायस उत्तिकै छ ।

विभिन्न ठाउँमा आवश्यकताभन्दा बढी बस रोक्ने र घण्टौं जाम हुने शृंखलाबाट मानिसको समय र दक्षता दुवैमा असर परेको छ । आमसर्वसाधारणले यस्तै प्रकारका सार्वजनिक सेवा प्रवाहमा सुधार खोजेका छन् । सरसर्ती हेर्दा साना–मसिना लाग्ने, तर न्यून लगानीबाट समग्र अर्थतन्त्रको उत्पादकत्वमै प्रभाव पार्ने किसिमका सेवा प्रवाहमा सुधार गर्नु सरकारको आजको प्राथमिक काम हो ।

अत्यावश्यक वस्तुको उत्पादन तथा आपूर्ति व्यवस्थापन 

२०४५/४६ सालमा देशले भोगेको नाकाबन्दी पुरानो विषय हुन सक्छ । त्यसपछि पनि २०७२ सालको भुइँचालो र सिमानाका अवरोधले हामीलाई सुझाएको विषय हो– राष्ट्र्रको सम्प्रभुता अक्षुण्ण राख्न अत्यावश्यक वस्तुमा हाम्रो परनिर्भरता घटाउनै पर्छ । खाद्यान्न, लत्ताकपडादेखि सार्वजनिक यातायात सञ्चालन र घर–घरमा चुलो बाल्न हाम्रो आजको तहको परनिर्भरताले मुलुक जुनसुकै बेला असहज अवस्थामा जान सक्छ । गत आर्थिक वर्षमा मात्रै नेपालले २८८ अर्बको पेट्रोलियम पदार्थ आयात गरेको थियो । यो वस्तु आयातको १६ प्रतिशत हो । यसैगरी नेपालले गत आर्थिक वर्षमा ४० अर्बजतिको चामल र १४ अर्बजतिको तरकारी आयात गरेको थियो ।

वास्तविकता के हो भने प्रतिकूल विश्व परिस्थितिमा हामीले यस्ता वस्तुको उत्पादन र भण्डारण सुरक्षित तहमा गरेर आपूर्ति व्यवस्था सुदृढ बनाउन सकेनौं भने जुनसुकै बेला आमनागरिक तहको प्रतिरोध व्यहोर्नुपर्छ । इरान–अमेरिकाबीच चलिरहेको वर्तमान लडाइँले भरपर्दो आपूर्ति व्यवस्थाको आवश्यकता पुनः पुष्टि गरेको छ । संघीय सरकारले अत्यावश्यक वस्तुमाथिको हाम्रो परनिर्भरता घटाउने र आपूर्ति व्यवस्था मजबुत गर्ने काममा स्थानीय तह र प्रदेश सरकारसँग समेत समन्वय गरे दिगो व्यवस्थापन हुन सक्छ ।

शिक्षा र स्वास्थ्यमाथिको पहुँच 

नेपालमा स्वास्थ्य उपचार र शिक्षा ज्यादै धेरै वर्गीकृत र महँगो छ । विद्यालय शिक्षालाई अझै कसरी देशव्यापी रूपमा सुलभ र सहज बनाउने भन्ने विषयमा सरकारले तत्काल काम थाल्नुपर्छ । कतिपय मुलुकमा विद्यार्थीले आफू बसेकै ठाउँमा शिक्षा लिँदा सस्तो पर्ने र टाढा जाँदा शुल्क तिर्नुपर्ने गरी विद्यालय जोन छुट्याइएको हुन्छ । यातायात खर्च घटाउनेदेखि ट्राफिक जाम कम गर्नसमेत यस प्रकारको व्यवस्था राम्रो मानिन्छ । काठमाडौं बाहिर आवश्यक नभए पनि उपत्यकाका सहरी क्षेत्रमा यस्तो व्यवस्था गर्न सकिए शिक्षाको गुणस्तर बढाउन स्थानीय तहबीच समेत प्रतिस्पर्धा हुने निश्चित छ ।

यसैगरी आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य बिमाको वर्तमान व्यवस्थामा पहुँच, दक्षता र पारदर्शिता प्रवर्द्धन गर्न सकिन्छ । स्वास्थ्य बिमाको दुरुपयोगको विषय आइरहेको भए पनि यसलाई वृद्ध, निम्न आय भएका वर्गका लागि छुट्टाछट्टै स्किम डिजाइन गरेर जानुपर्छ । दुरुपयोग रोक्न र निगरानी बढाउन स्थानीय तहलाई संलग्न गराउनेबारेमा समेत अध्ययन गर्नुपर्छ ।

जनताको सुशासन र समृद्धिको आकांक्षाको परिणामस्वरूप दलालतन्त्र, नातावाद र भ्रष्टाचारविरुद्ध मुखरित भएको जेन–जी आन्दोलनपछि गठन हुने निर्वाचित सरकारले चुनौतीका चाङहरू बीच अघि बढ्नुपर्नेछ । देशभित्र आममान्छेले बोकेका सुधार र विकासका चाहना तथा जटिल अन्तर्राष्ट्रिय परिस्थितिबीच विषयविज्ञको संलग्नतामा बन्ने भनिएको नयाँ सरकारले सकारात्मक परिणाम दिन समर्थ होस् ।

कान्तिपुरबाट ।

बाजुरामा शान्तिपूर्ण निर्वाचन गराउने पाँच इन्स्पेक्टरसहित २६ प्रहरी पुरस्कृत

बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन योगदान पुर्‍याएको भन्दै पाँच जना प्रहरी निरीक्षकसहित २६ जना प्रहरीलाई नगदसहित पुरस्कृत गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराले निर्वाचनका क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनीहरूलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत हुने प्रहरी निरीक्षकहरूमा पुस्कृत हुनेमा इन्स्पेक्टर दिपक धामी, बिक्रम साह, लक्ष्मीराज जोशी, सिताराम विष्ट र मिनबहादुर धामी रहेका छन् । अन्य २१ जना प्रहरी कर्मचारीलाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मिति २०७२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा खटिएका प्रहरी कर्मचारीहरूले आफूलाई दिइएको जिम्मेवारी पूर्ण रूपमा पालना गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनीहरूले उच्च अनुशासनमा रही इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ ढंगले विभागीय आदेशको पालना गर्दै त्रुटिरहित रूपमा काम गरेको भन्दै उनीहरूको लगनशीलता, अनुशासन र उत्कृष्ट कार्यको कदरस्वरूप पुरस्कार प्रदान गरिएको जनाइएको छ। प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत नियम १९७ को देहाय (ग) ले दिएको अधिकार प्रयोग गरी प्रोत्साहनस्वरूप अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।

सुदुरपश्चिम महोत्सवको आम्दानी ३ करोड ७३ लाख  

यशोदा शर्मा, धनगढी ।
सुदुरपश्चिम महोत्सव २०८२ को कुल आय व्यय तथा प्रगति विवरण सार्वजनिक गरिएको छ । आज कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सवको कुल आय व्यय तथा प्रगति विवरण सार्वजनिक गरेको हो ।
महोत्सवमा कुल आम्दानी ३ करोड ७३ लाख  ५८ हजार ३ सय ६७ रुपैया भएको संघले जनाएको छ । यस्तै जम्मा खर्च २ करोड ६३ लाख १ हजार ७ सय ४० रुपैया भएको छ ।

कर अघिको वचत १ करोड १० लाख ५ट हजार ६सयद २८ रुपैया रहेको छ भने कर अन्र्तगत संघिय सरकार आन्तरिक राजस्व कार्यालयलाई करिव २७ लाख ६४हजार १ सय ५७ रुपैया, मुअ कर १३ लाख १८ हजार ९ सय १२ रुपैया कर तिरेको जनाईएको छ । अग्रिम आय कर कलाकार तथा अन्य वस्तु तथा सेवामा १० लाख ६९ हजार ७ सय ७९ रपैया खर्च भएको छ । ५१ लाख ५२ हजार ८ सय ४८ रुपैया संघिय सरकारलाई कर तिरेको संघले जनाएको छ । यस्तै स्थानिय सरकारलाई पनि ९ लाख १ हजार ४ सय ८७ रुपैया कर तिरेको जनाईएको छ ।

संघका अध्यक्ष पुस्कर राज ओझाले सुदुरपश्चिम महोत्सव केवल व्यापारिक मेला मात्र नभई   सुदुरपश्चिमको र बहुआयामिक साझा महोत्सवको रुपमा विकास भईसकेको बताए । उनले सुदुरपश्चिम महोत्सवलाई संघले  यँहाका भेषभूषा, रितिरिवाज,संस्कृति, सम्भावना र व्यवसायको साझा मञ्च सामाजिक उत्तरदायित्व वहन गर्ने थलोको रुपमा हेरेको बताए । महोत्सवबाट प्राप्त आमदानीबाट संघका सम्पुर्ण सदस्यहरुको दुर्घटना विमा गरिएको पनि उनले जानकारी दिए ।

सुदुरपश्मिमा भएका सम्भावना लाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सबै सरोकारवाला आफै छलफल संवाद गर्ने र साझा निष्कर्ष निकाल्ने उद्येश्यले भिज सुदुरपश्चिम कार्यक्रमको थालनि गरिएको छ ।  महोत्सव अवधिभर प्रत्यक्ष रुपमा दुई हजार भन्दा बढि स्थानियहरुले रोजगारी प्राप्त गरेका जनाइएको छ ।

महोत्सव कृषि पर्यटन उद्योग र व्यापार समद्ध सुदुरपश्चिमको आधार भन्ने मुल नाराका साथ मंसिर २२ गतै देखी पौस ६ गतै सम्म सञ्चालन भएको थियो । चुनावका कारण महोत्सबको आय व्यय सार्वजनिक गर्न ढिलाइ भएको संघले जनाएको छ

अहिलेकै गतिमा काम भइरहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुन ४१ वर्ष लाग्ने अनुमान

काठमाण्डाै- नेपालमा पूर्वाधार विकासको सुस्त गतिले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा गम्भीर असर पारेको विश्व बैंकको अध्ययनले देखाएको छ । अध्ययनअनुसार आयोजना छनोटदेखि कार्यान्वयनसम्मका संरचनागत समस्याका कारण पूँजीगत खर्च घट्दो क्रममा रहेको छ ।

सडक, जलविद्युत् र सिँचाइजस्ता ठूला आयोजनामा मुख्य अवरोधका रूपमा जग्गा प्राप्ति र रुख कटान देखिएका छन् । उदाहरणका लागि नागढुङ्गा–नौबीसे–मुग्लिङ सडक आयोजनामा जग्गा अधिग्रहणमै ३५ महिना लागेको थियो । सामान्यतया रुख कटान अनुमति लिन झन्डै २ वर्ष र जग्गा प्राप्त गर्न २–३ वर्ष लाग्ने गरेको छ जसले लागत बढाउने र काममा ढिलाे हुने समस्या निम्त्याएको छ ।

प्रतिवेदनअनुसार पूँजीगत खर्चको हिस्सा आर्थिक वर्ष २०७८ मा २७.१ प्रतिशतबाट घटेर २०८१ मा २०.९ प्रतिशतमा पुगेको छ भने विनियोजित बजेटमध्ये औसतमा ६२ प्रतिशतमात्र खर्च हुने गरेको छ । त्यसमध्ये पनि ४० प्रतिशतभन्दा धेरै खर्च वर्षको अन्तिम महिना (असार) मा हुने ‘असारे विकास’ प्रवृत्ति देखिएको छ ।

अहिलेकै गतिमा काम भइरहे नेपालका १७ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुन झन्डै ४१ वर्ष लाग्ने विश्व बैंकले गरेकाे अध्ययनकाे अनुमान छ । तयारी नपुगेका आयोजना राजनीतिक दबावमा समावेश गर्दा स्रोत छरिने र काम समयमै नसकिने अवस्था बनेको छ ।

विश्व बैंकले समाधानका रूपमा तयार भएका आयोजनालाई मात्र बजेट दिने, जग्गा र वनसम्बन्धी प्रक्रिया डिजिटल बनाउने, वर्षभरि समान रूपमा खर्च गर्ने व्यवस्था लागू गर्ने र गुणस्तरमा आधारित ठेक्का प्रणाली अपनाउने सुझाव दिएको छ । साथै निर्णय प्रक्रिया सरल बनाउँदै अधिकार प्रत्यायोजन बढाउन पनि सिफारिस गरेको छ ।

वन नियमावली संशोधनलाई सकारात्मक मानिए पनि समग्र संरचनागत सुधार नभएसम्म पूर्वाधार विकासले अपेक्षित गति लिन नसक्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

 

१३ अंक बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३ करोडको भयो ।

१३२ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने १७ को स्थिर रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत बढे ।

फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.०३, व्यापार ०.२१ तथा अन्य समूह ०.१० प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् ।

त्यस्तै शिवश्री हाइड्रोपावरको ८.१, लिबर्टी इनर्जीको ७.५३, माहुली लघुवित्तको ६.४४ तथा न्यादी हाइड्रोपावरको ६.१६ प्रतिशत मूल्य बढ्यो । अपरहेवाखोला हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर छन् ।

गैरआवासीय नेपाली नागरिकताका लागि नीतिगत सुधारको माग

काठमाडौं : गैरआवासीय नेपाली संघको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सोमबार राजधानीमा सम्पन्न भएको छ। फागुन ३० देखि चैत २ सम्म चलेको महाधिवेशनले संघभित्रको एकतालाई सुदृढ गर्दै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि कानुनी र नीतिगत सुधारलाई मुख्य एजेन्डा बनाएको छ।

सम्मेलनले नेपालको संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन यथाशीघ्र संशोधन गर्न सरकारसँग जोडदार माग गरेको छ। गैरआवासीय नेपालीको लगानीलाई सरल र सहज बनाउन एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, तथा विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनमा रहेका जटिलता हटाउनुपर्ने निष्कर्ष सम्मेलनको छ।

‘संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्न कानुनी अड्चनहरू बाधक छन्। गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आवश्यक पर्ने नीतिगत सुधार र ऐन संशोधनको प्रक्रियालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ।

एनआरएनएले नेपाल सरकार र एनआरएनको संयुक्त लगानीमा स्थापित ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मार्फत ८५ प्रतिशत धितोपत्रको सीमा कायम गरी लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएको छ। सम्मेलनले विश्वभर रहेका नेपाली श्रमिकहरूको सुरक्षा र सम्मानजनक रोजगारीका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रवासमा जन्मिएको दोस्रो पुस्ताका युवाहरूलाई नेपालको कला, संस्कृति र इतिहाससँग जोड्न डिजिटल माध्यम र शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने संकल्पसमेत सम्मेलनले गरेको छ। सम्मेलनले हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

मातृभूमिमा लगानी गर्न प्रधानमन्त्री कार्कीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सीप र पुँजी मातृभूमिको विकासमा परिचालन गर्न आह्वान गरेकी छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं विश्व सम्मेलनको समापन सत्रलाई सोमबार सम्बोधन गर्दै उनले नेपालको आर्थिक समृद्धि र पर्यावरणीय संरक्षणका लागि सरकार र प्रवासमा रहेका नेपालीबीच बलियो सहकार्य आवश्यक रहेको बताइन् । उनले संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकताले मातृभूमि र प्रवासी नेपालीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै नयाँ बन्ने सरकारले वैदेशिक लगानी सुरक्षित र पारदर्शी बनाउन प्राथमिकता दिने प्रतिबद्धता जनाइन् ।

समापन समारोहमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, विनोद कुँवर तथा निर्वतमान अध्यक्षहरू डा. बद्री केसी र महेशकुमार श्रेष्ठले समृद्ध नेपाल निर्माणमा रणनीतिक साझेदारी र एकताको महŒवमा जोड दिए ।

नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले संस्थाको पुनर्संरचना, अनलाइन प्रणालीबाट निर्वाचन र वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधानका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने जस्ता योजनाहरू प्रस्तुत गरे ।

नगरपालिकाले चलाएको अस्पतालमा सुदूरपश्चिम सरकारले समिति बनाएपछि विवाद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा छुट्टै विकास समिति गठन गरेपछि विवाद सिर्जना भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पताल विकास समितिका पदाधिकारी र सदस्य नियुक्त गरेको थियो ।

तर, मन्त्रालयले पदाधिकारी र सदस्य नियुुक्त गरेको १५ शैय्याको लम्कीचुहा अस्पताल भने प्रदेश सरकारलाई हस्तान्तरण नभएको पाइएको छ । नगरपालिकाबाट प्रदेशमा हस्तान्तरण नहुँदै विकास समिति गठन गरेपछि विवाद भएको छ । १५ शैय्याको उक्त अस्पताल प्रदेशलाई हस्तान्तरण नभएका कारण अहिले नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा रहेको विकास बोर्ड पनि यथावत छ ।

‘लम्कीचुहा अस्पतालमा मेयर साबको अध्यक्षतामा छुट्टै विकास बोर्ड रहेको छ,’ बोर्डका सदस्य पहल शाहीले भने, ‘आइतबार मात्रै बोर्डको बैठक पनि बसेको थियो । अहिले आएर नगरबाट अस्पताल हस्तान्तरण नगर्दै प्रदेशले विकास समिति गठन गरेको जानकारीमा आएको छ । यो राम्रो कुरा होइन ।’

लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखाले भने अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण भए/नभएको बारेमा थाहा नभएको दाबी गरेको छ । स्वास्थ्य शाखा प्रमुख जयन्ती बीसीले अस्पताल हस्तान्तरण भएको विषयमा आफूलाई जानकारी नरहेको बताउँदै अहिलेसम्म नगरपालिकाकै बजेटबाट अस्पताल सञ्चालन भइरहेको उल्लेख गरिन् ।

लम्कीचुहा नगरपालिकाको सहमतिअनुसार प्रदेश सरकारले अस्पताललाई मातहत ल्याउन संघीय सरकारलाई सिफारिस गरेको थियो । सोही आधारमा केही महिनाअघि संघीय सरकारले लम्कीचुहा अस्पताललाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरिसकेको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले संघीय सरकारले लम्कीचुहा अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको बताए । कानुनी रूपमा अस्पताल प्रदेशलाई हस्तान्तरण भए पनि व्यावहारिक रूपमा नभएको कुरा साँचो भएको उनी बताउँछन् ।

‘नगरपालिकाकै अनुरोधमा लम्कीचुहा अस्पताललाई प्रदेश मातहत ल्याउन संघीय सरकारलाई अनुमति दिन अनुरोध गरेको थियौँ,’ सचिव रेग्मीले भने, ‘संघले जेठमा संघीय मन्त्रिपरिषद् बैठकबाट १५ शैय्याबाट ५० शैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ तर व्यावहारिक रूपमा हस्तान्तरण गर्न मात्रै बाँकी हो ।’

उनका अनुसार कर्मचारी समायोजन लगायतका काम अघि बढाउन लम्कीचुहा नगरपालिकालाई अनुरोध गरिए पनि अहिलेसम्म भएको छैन ।

सामाजिक विकास मन्त्रालयले अस्पतालमा कार्यरत करार कर्मचारीलाई आफ्नो मातहत ल्याउन प्रक्रिया बढाएको थियो । तर नगरपालिकाले नै चासो नदेखाएको मन्त्रालयको दाबी छ । मन्त्रालयले नगरपालिकासँग अस्पताललाई प्रदेश मातहत सञ्चालन गर्न सम्झौता नै तयार पारेको छ । तर नगरपालिकाले चासो नदिएपछि हस्ताक्षर गर्नै बाँकी छ ।

आइतबार सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा अस्पतालको अध्यक्षमा रामबहादुर बिष्टलाई नियुक्त गर्ने निर्णय गरेका थिए । विष्ट पूर्वशिक्षक हुन् । यस्तै अस्पताल समितिको सदस्यमा ससिरा शाही, धीरेन्द्र थापा, भीम थारु र हिमाल स्वाँरलाई नियुक्त गरिएको छ ।

मेरा लागि सरकार छ भन्ने गरी काम गर्नुछ : डीपी अर्याल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले जनताले ‘मेरा लागि सरकार छ’ भन्ने महसुस गर्ने गरी पार्टीले काम गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन् ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट रास्वपाबाट निर्वाचित प्रत्यक्ष र समानुपातिक १८२ सांसदका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले बन्दै गरेको रास्वपाको सरकारले सुशासन र ‘डेलिभरी’ दिनु पर्ने आजको आवश्यकता भएको बताए । उनले रास्वपाको अब बन्ने सरकारले विशेष र फरक उपलब्धी हासिल गर्नैपर्ने बताएका छन् ।

उपसभापति अर्यालले ७० प्रतिशत भन्दा बढी मत एउटै पार्टीले पाएको इतिहास विश्वमा विरलै रहेको र त्यो अवसर रास्वपाले पाएको बताउँदै आफूहरुमाथि गहन जिम्मेवारी काँधमा आएको बताए ।

अबका दिनमा अस्पताल, विद्यालय जाँदा आफ्ना नेता खोज्नु पर्ने, कर तिर्न जाँदा ‘अण्डर टेबुल’ को अवस्था अत्इ गर्नुपर्ने बताए । उनले विविध कारणले विदेशिन वाध्य युवाहरुलाई देशमै फर्किने वातावरण बनाउन लाग्नु पर्ने आजको आवश्यकता भएको बताए ।

उनले विगत लामो समय देशको बागडोर सम्हालेका पार्टी र नेताहरुका कारण जनताले सुशासन महसुस गर्नै नपाएको बताउँदै उनले अब अनुशासित समाज निर्माण गर्नु रास्वपा र रास्वपाका सांसदहरुको काम भएको बताए । अघिल्लो संसदमा रास्वपाले सबै त्याग गर्दा पनि संख्या अपुग भएको बताउँदै उपसभापति अर्यालले अब स्पष्ट खाकासहित अगाडि बढ्नु पर्ने बताए ।

उपसभापति अर्यालले रास्वपाले २०८४ को निर्वाचनको तयारी गरिरहेका बेला फरकरुपमा आएको फागुन २१ को संघीय निर्वाचनले अब उपलब्धी हासिल गर्नैपर्छ भन्ने म्याण्डेट दिएको पनि बताए ।

देशका छोराछोरी, युवाहरुले देशमै बस्ने वातावरण बनाई दिनु पर्‍यो भन्दै आन्दोलनमा उत्रिँदा अघिल्लो सरकारले भदौं २३ र २४ गते दमनसहित क्रुर हत्यामा उत्रिएको आरोप लगाउँदै उपसभापति अर्यालले त्यसपछिको विषम परिस्थितिलाई सम्हाल्दै निर्वाचन गराउने सुशीला कार्की नेतृत्वको सरकार, सुरक्षाकर्मी, निर्वाचन आयोग र उत्साहपूर्वक मतदान गर्दै रास्वपालाई सबै भन्दा ठूलो पार्टी बनाउन भूमिका निर्वाह गर्नेहरुप्रति कृतज्ञता समेत व्यक्त गरे ।

जीडीपीमा ऋणको हिस्सा ४७.१३ प्रतिशत पुग्यो

काठमाडौँ । कुल गार्हस्थ्य उपात्दन (जीडीपी) मा कुल सार्वजनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब लिएसँगै जीडीपीमा ऋणको हिस्सा समेत बढेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा फाल्गुन मसान्तसम्ममा सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ ।

कुल सार्वजनिक ऋणमा फाल्गुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ । कार्यलयकाअनुसार चालु आवको आठ महिनामै सरकारले २ खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ ।

कति भयो परिचालन ?

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ६७.३१ र २४.३१ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ५८.९४ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्ममा कूल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।

बालेनलाई फिल्म ‘लालिमा’ को पत्र : महिलाको मानवअधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं- फिल्म ‘लालिमा’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रस्तावित प्रधानमन्त्री बालेन शाहलाई पत्र लेख्दै यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

निर्माता कम्पनी आस्था फेथले बनाएको उक्त फिल्मको कथावस्तु पनि यौनकर्मी महिलाको ब्यथा, संघर्ष र मानवअधिकारको कथावस्तुमा केन्द्रित छ ।

उक्त निर्माता कम्पनीले पनि पछिल्लो दुई दशकदेखि यौनकर्मी महिलाहरूको स्वास्थ्य र मानवअधिकारका लागि काम गर्दै आएको जनाइएको छ । मुलुकका ३ हजारभन्दा धेरै यौनकर्मीको अनुभवका आधारमा फिल्म निर्माण गरिएको दाबी उक्त संस्थाको छ । २९ फागुनमा रिलिज भएको उक्त फिल्म अहिले पनि हलमा प्रदर्शनरत छ ।

कार्यकारी प्रमुख रिना लामा भन्छिन्, ‘यौनकर्मीको मानवअधिकार हननको विषय उजागर गर्न हामीले फिल्म बनाएका हौं ।’ पत्रमा लाखौं यौनकर्मी महिलाले हिंसा, दुर्व्यवहार र सामाजिक बहिष्कारको सामना गरिरहेको उल्लेख छ ।

‘यौनकर्मीमध्ये धेरै दैनिक रूपमा दुव्र्यवहार, विभेद र आधारभूत मानवअधिकारबाट वञ्चित हुने गर्दछ । तर उनीहरूको अनुभव नीतिगत बहसमा प्रवेश विरलै पाइन्छ । र जब समायोजित हुन्छन् प्रायः अपराध वा नैतिकताको दृष्टिकोणबाट मात्र गलत रूपमा बुझिने वा प्रस्तुत गरिने गरिन्छ,’ पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा बालेनलाई ती महिलाको मानवअधिकार सुनिश्चित गर्नका लागि संवादको निम्तो दिइएको छ । पत्रमा राज्यले यौनकर्मीलाई मानवका रुपमा सम्मान–सुरक्षा ध्यान दिनुपर्ने र उनीहरूको उत्थानका लागि नीतिगत सुधार आवश्यक रहेको औंल्याइएको छ ।

पत्रमा लेखिएको छ, ‘वास्तवमै समावेशी राष्ट्र निर्माण गर्नु भनेको भेदभाव र सीमान्तकृत जीवन बिताइरहेका नागरिकको समेत सुरक्षा सुनिश्चित गर्नु हो । राष्ट्र तब मात्र बलियो बन्छ जब उसले आफ्ना अति सीमान्तकृत नागरिकहरूको अधिकार र मर्यादाको संरक्षण गर्छ ।’

शिखर पावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं- काठमाडौं शिखर पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि निष्कासन गरेको ईपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज उक्त बाँडफाँड गरिएको हो।

आइपीओमा कुल २६ लाख ८७ हजार ३४७ जना आवेदन परेकोमा २६ लाख ५० हजार ८४७ जनाले २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ। अर्थात कुल ३६ हजार ५०० जना आवेदको आवेदन नै रद्द भएको छ।

मागभन्दा धेरै मात्रामा आवेदन परेकाले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड गरिएको छ। जसमा  १ लाख ८४ हजार २६० जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी २४ लाख ६६ हजार ५८७ जना आवेदकको हात रित्तिएको छ।

सुरु भयो रास्वपाका सांसदहरूको अभिमुखीकरण

काठमाडौँ- ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यशाला सुरु भएको छ।

दुई दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल (डीपी) र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका छन्। कार्यक्रममा सभापति रवि लामिछाने, उपसभापतिद्वय, महामन्त्री कविन्द्र बुर्लाकोटी र आमन्त्रित प्रशिक्षकहरूले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यसूची रहेको छ।

कार्यशालाको समापनमा सभापति लामिछानेले सम्बोधन गर्नेछन्। कार्यशालाको कार्यसूचीमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नाम छैन। उद्घाटन कार्यक्रममा सभापित लामिछाने पनि देखिएका छैनन्।

दर्शककाे राेजाइमा ‘मायालाई के दिउँ म बैना’

षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई धेरै दर्शकले रुचाएका छन्। उक्त गीतले छोटो समयमै युट्युबमा लाखौं भ्यूज बटुल्न सफल भएका छन्।

गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा सामजिक सञ्जालमा बढिरहेको छ। उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रील्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन्। ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाइमा समेत ‘मायालाई के दिउँ म बैना’ परिरहेको छ।

टिकटकमा हजारौं भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएका शब्दहरू देख्न सकिन्छ। प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन्। उनीहरूले फिल्ममा लोक भाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन्।

अभिनेत्री खड्काले उक्त गीत निर्माणको विषयमा कुराकानी गर्दै गीतको तयारी दृश्यकै छायांकनको बीचबीचमा गरिएको बताइन। उनले भनिन्, ‘हामीले दृश्य छायांकन गर्दा बचेको समयमा नृत्यको प्राक्टिस गर्थ्याैं। हाम्री बालकलाकार समाइराले गजब नृत्य गरेकी छन्, उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो। यी सानी नानीले गजब गरेकी छन्। मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो। हामी सबैको प्रयासले गीत राम्रो बन्यो र अहिले दर्शकले रुचाएको पाउँदा मेहनतको फल पाएको आभाष भएको छ।’

उक्त गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन्। गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर छ। खेम सेन्चुरीकै सङ्गीत रहेको उक्त गीत रमेश बिजीले लेखेका हुन्।

गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको थियो।

फिल्मको प्रदर्शन आउँदाे वर्ष २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ। बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी,प्रदीप ढकाल, जेवी रुवाली, हारुन अली, भूमिका थारु, सागर घिमिरे, झकेन बिसी, कुन्टल लगायतको अभिनय छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। विशाल थियटरमा काम गरिरहेका कलाकार हुन् भने प्रशंसा जेन-जी अभिनायताका रूपमा चर्चित छिन्।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। निर्देशक थापाले कथाको परिवेशअनुसार गीत तयार गरिएको बताए।

‘यो गीत कथासँग जोडिएर आएको छ। हामीले यसलाई कथाभन्दा फरक नबनाएर कथालाई अगाडि बढाउने गरी तयार गरेका छौँ। अहिले गीतलाई दर्शकले दिएको मायाले हामी हर्षित छौँ’, निर्देशक थापाले भने।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको छ।

आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ — आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ६५ रुपैयाँ थियो ।

पृथ्वीराजमार्गः ४१ किमी पूरा

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा भएको छ।

निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ। यो सडक बजार क्षेत्रमा छ र ग्रामीण भेगमा चार ‘लेन’ मा विस्तार भएको छ।

आउँदाे पाँच वर्षसम्म सडकको मर्मत सम्भार निर्मातामा कम्पनीले गर्ने सडक विस्तार आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले बताए। एसियाली विकास बैंकबाट  छ अर्ब ३१ करोड रुपैयाँ ऋण लिएर यो सडक विस्तार गरिएको हो।

म तलब खादिनँ, गाडी पनि चढ्दिनँ : सुधन गुरुङ

रास्वपा सांसद सुधन गुरुङले आफूले सांसद भएवापत पाउने तलब नखाने बताएका छन्।

रास्वपाले आजदेखि सुरु गरेको सांसदहरूका लागि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले यस्तो दाबी गरेका हुन्। साथै उनले आफूले सरकारी गाडी पनि नचढ्ने बताए।

‘म तलब खादिनँ, सरकारी गाडी पनि चढ्दिनँ,’ उनले भने, ‘मेरो आफ्नै गाडी छ। म आफैँ सक्षम छु।’

उनले संसद्‍मा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि जिकिर गरे।

क्युबामा मैले चाहेको गर्न सक्छु: ट्रम्प

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाप्रति आक्रामक अभिव्यक्ति दिँदै आफूले उक्त देशमा जे चाह्यो त्यही गर्न सक्ने टिप्पणी गरेका छन् । सोमबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले  भविष्यमा क्युबामाथि कडा कदम चाल्न सक्ने संकेत दिए । ‘म त्यसलाई मुक्त गरूँ वा लिऊँ—म जे चाहे त्यही गर्न सक्छु,’ उनले भने ।

अमेरिकी प्रतिबन्धका कारण क्युबा गम्भीर आर्थिक संकट, ऊर्जा अभाव र सामाजिक अस्थिरतासँग जुधिरहेको समयमा ट्रम्पको यो टिप्पणी आएको हो । हालैका महिनाहरूमा क्युबामा इन्धन अभाव, विद्युत् कटौती र आपूर्ति प्रणालीमा समस्या बढ्दै गएको छ, जसले देशभर व्यापक असर पारेको छ । विशेषगरी अमेरिकी प्रतिबन्ध र तेल आपूर्तिमा आएको अवरोधले क्युबाको ऊर्जा संकटलाई झनै गहिरो बनाएको बताइन्छ । केही रिपोर्टहरूका अनुसार, भेनेजुएलासँगको सम्बन्ध कमजोर हुँदै जाँदा क्युबाको इन्धन आपूर्ति प्रभावित भएको छ । यससँगै देशमा पटक–पटक विद्युत् भइरहेका छन्, जसले जनजीवन कष्टकर बनाएको छ ।

यता अमेरिका र क्युबाबीच सम्बन्ध सुधारका लागि वार्ता सुरु भएको भए पनि ट्रम्पको यस्तो कडा अभिव्यक्तिले वार्ताको वातावरण नै प्रभावित हुने संकेत देखिएको छ । क्युबाको वर्तमान नेतृत्वप्रति अमेरिकी पक्षले असन्तुष्टि व्यक्त गर्दै आएको छ । रिपोर्टहरूका अनुसार, अमेरिकाले क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेललाई पदबाट हटाउने विषयलाई वार्ताको प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ । तर यसबारे औपचारिक पुष्टि भने गरिएको छैन ।

क्युबाले भने आफ्नो आन्तरिक मामिलामा बाह्य हस्तक्षेप अस्वीकार्य हुने सधैं स्पष्ट गर्दै आएको छ । कुनै पनि सम्झौताका लागि राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रता अपरिहार्य सर्त भएको उसले बताउँदै आएको छ ।

इतिहास पल्टाएर हेर्ने हो भने अमेरिका–क्युबा सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन १९५९ मा फिडेल कास्ट्रोको नेतृत्वमा भएको क्रान्तिपछि क्युबाले अमेरिकासँग दूरी बढाएको थियो । त्यसयता दुबै देशबिच राजनीतिक, आर्थिक र कूटनीतिक विवाद जारी रहँदै आएका छन् ।

अर्थ मन्त्रालयद्वारा ‘जेन–जी विद्रोह’ प्रतिवेदन सार्वजनिक

काठमाडौं : भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मूल कारण भ्रष्टाचार, जवाफदेहिताको अभाव र परम्परागत राजनीतिक दलप्रति असन्तुष्टि रहेको छ। ‘जेन–जी आन्दोलनको बुझाइ, मूल कारण र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकको अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले वर्तमान राज्य व्यवस्थाले युवाहरूको आकांक्षालाई सम्बोधन गर्न नसक्दा देश गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेको छ।

नेपालमा पछिल्लो समय बढ्दो युवा असन्तुष्टि र ‘जेन–जी’ पुस्ताको सडक विद्रोह केवल राजनीतिक परिवर्तनको चाहना मात्र नभई राज्यको समग्र संयन्त्रप्रतिको चरम अविश्वासको परिणाम भएको एक विशेष अध्ययन प्रतिवेदनले औंल्याएको छ।  नेपाली युवाहरूमा देखिएको छटपटीको मुख्य जड ‘प्रणालीगत भ्रष्टाचार’ र ‘अवसरको असमान वितरण’ हो। दशकौंदेखि चलेको नातावाद र कृपावादका कारण प्रतिभावान युवाहरू पाखा लाग्नुपर्ने र अदक्ष व्यक्तिहरूले राज्यका मुख्य निकायहरू ओगट्ने प्रवृत्तिले गर्दा युवापुस्तामा राज्यप्रति कुनै अपनत्व बाँकी नरहेको प्रतिवेदनले ठहर गरेको छ।

‘बौद्धिक पलायन’को भयावह स्थितिका कारण पनि विद्रोह भएको हो। प्रतिवेदनले भनेको छ, ‘आजका युवाहरूले नेपालमा आफ्नो भविष्य नदेख्नुको कारण आर्थिक अभाव मात्र होइन, बरु यहाँको झन्झटिलो प्रशासनिक प्रक्रिया, पुरानो ढर्राको शिक्षा प्रणाली र उद्यमशीलतामा रहेको तगारो हो।’ ‘जेन–जी’ पुस्ताले सूचना प्रविधिको प्रयोगमार्फत विश्वलाई नियालिरहेको सन्दर्भमा नेपालको कछुवा गतिको विकास र राजनीतिक अस्थिरताले उनीहरूलाई विद्रोह वा देश छोड्ने विकल्पमा पुर्याएको प्रतिवेदनको ठम्याइ छ। प्रतिवेदनले मुलुकलाई सही दिशामा लैजान र युवाहरूको विश्वास जित्नका लागि केही ठोस र कार्यान्वयन योग्य सुझावहरू दिएको छ।

परम्परागत प्रमाणपत्रमुखी शिक्षाको सट्टा बजारको मागअनुसारको प्राविधिक र व्यावसायिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने सुझाव दिइएको छ। ‘लर्न एन्ड अर्न’ (सिक्दै कमाउँदै) मोडेललाई सरकारी स्तरबाटै प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ। यस्तै, सरकारी सेवा लिन हप्तौं कुर्नुपर्ने र घुस खुवाउनुपर्ने परिपाटीको अन्त्य गर्न पूर्णरूपमा ‘डिजिटल गभर्नेन्स’ लागू गर्नुपर्ने सुझाव छ। प्रविधिको प्रयोगले पारदर्शिता बढाउने र बिचौलियाको प्रभाव घटाउने मार्गचित्रमा उल्लेख छ। नवप्रवर्तनमा आधारित स्टार्टअपहरूलाई बिनाधितो सहुलियतपूर्ण ऋण र कर छुटको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। युवाहरूलाई श्रम बजारमा मात्र होइन, उद्यमी बन्न प्रेरित गर्ने नीतिगत सुधारको खाँचो औंल्याइएको छ। राजनीतिक नेतृत्वमा पुस्तान्तरणको माग गर्दै प्रतिवेदनले नीति निर्माण तहमा युवाहरूको अर्थपूर्ण सहभागिताको वकालत गरेको छ। ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा नियुक्ति र पदोन्नति हुने सुनिश्चितताले मात्र युवाहरूलाई स्वदेशमै बस्न प्रेरित गर्ने दाबी गरिएको छ।

प्रतिवेदनको अन्तिम भागमा चेतावनी दिइएको छ कि यदि राज्यले तत्काल यी सुझावहरूलाई मनन गरी ठोस कदम चालेन भने, देशले ठूलो जनसांख्यिकीय क्षति बेहोर्नुपर्नेछ। युवाहरूको ऊर्जालाई निर्माणमा लगाउन नसके त्यो ऊर्जा ध्वंसात्मक विद्रोहमा परिणत हुन सक्ने जोखिमतर्फ सचेत गराउँदै, ‘नेपालमै सम्भव छ’ भन्ने विश्वास दिलाउन राज्यले आफ्ना व्यवहारमा आमूल परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

ग्यासको कृत्रिम अभाव

काठमाडौं । आधा ग्यास भरिएको सिलिन्डर पनि नपाएर उपभोक्ताको भान्सा संकटमा परेका वेला श्रीराम ग्यासको ललितपुर हरिसिद्धिस्थित गोदाममा पूरा भरिएका (१४.२ केजी) ६ हजार ३७७ थान सिलिन्डर स्टक भेटिएको छ । सरकारको अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार दिउँसो अनुगमन गर्दा यति ठुलो परिमाणमा ग्यास फेला पारेको हो ।

सिलिन्डरको यो संख्या काठमाडौं उपत्यकामा रहेका श्रीराम ग्यासको सबै डिलरलाई एक चरण वितरण गर्न पुग्छ । उपत्यकाका ग्यास डिलरमा एकपटकमा ४० देखि ८० सिलिन्डर ग्यास झर्ने गर्छ । श्रीराम ग्यासको उपत्यकामा १३० डिलर छन् । वाणिज्य विभागका निर्देशक नरहरि तिवारीले श्रीराम ग्यासले ठुलो परिमाणमा ग्यास अनावश्यक सञ्चय गरेर कृत्रिम अभावलाई प्रश्रय दिएको पाइएको बताए । उनका अनुसार विभागले उपभोक्ता संरक्षण ऐन, २०५४ अनुसार कारबाहीस्वरूप तीन लाख जरिवाना तिराएको छ ।

‘खाना पकाउने ग्यासको अभाव हुन थालेपछि आपूर्ति सहज बनाउन भनेर अहिले आधा ग्यास भरिएको सिलिन्डर बजारमा ल्याउन पाइने प्रावधान लागू गरिएको छ । तर, श्रीराम ग्यासको गोदाममा ६ हजारभन्दा बढी सिलिन्डरमा पूरा ग्यास रहेको भेटियो,’ उनले भने, ‘बजारमा ग्यासको यत्रो अभाव भएका वेला डिलरलाई धमाधम वितरण गरेर आपूर्ति सहज बनाउनुपर्नेमा गोदाममै भण्डारण गर्नुमा उचित मनसाय देखिएन । अनावश्यक भण्डारण गरी राखेको कसुरमा ऐनअनुसार जरिवाना गरिएको छ ।’

अनुगमन टोलीले अनावश्यक भण्डारण गरेको ठहर्दै जरिवाना तिराए पनि श्रीराम ग्यास उद्योग सञ्चालकले भने त्यस्तो नियत नभएको दाबी गरेका छन् । उद्योगका प्रबन्धक डिल्ली ढकालले निगमलाई गोदाममा ग्यास भएको विषय पहिल्यै जानकारी दिएको बताउँदै अनुगमन टोलीले जरिवाना तिराएर अन्याय गरेको दाबी गरे । ‘२८ फागुन रातिबाट आधा ग्यास भरिएको सिलिन्डर मात्रै प्रचलनमा ल्याउने निर्णय भयो, जबकि त्यतिवेलासम्म हाम्रो गोदाममा ग्यास भरिएका सिलिन्डर धेरै थिए,’ उनले भने, ‘राति एकाएक आधा ग्यास भरिएको सिलिन्डर मात्रै बजारमा ल्याउने निर्णय भएपछि गोदाममा ग्यास भरिएका सिलिन्डर रहेको र त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर आयल निगमलाई पत्राचार गरेका थियौँ । निगमले त्यसको समाधान दिएन, विभागले अनुगमन गरेर कारबाहीको निर्णय गर्‍यो ।’

जफत गरिएका सिलिन्डर  आयल निगमको टेकुस्थित अस्थायी डिपोबाट वितरण गर्न निर्देशन
वाणिज्य विभागले श्रीराम ग्यासको गोदामबाट फेला पारेको ६ हजार ३७७ थान ग्यास भरिएका सिलिन्डर आयल निगमलाई बिक्री गर्न निर्देशन दिएको छ । विभागका निर्देशक नरहरि तिवारीले निगमको वितरण प्रणालीमा ल्याएर सिलिन्डरहरू उपभोक्तालाई उपलब्ध गराउन निर्देशन दिएको बताए । आयल निगमले ग्यास आपूर्ति सहजताका लागि टेकुस्थित पुरानो कार्यालयबाट नेपाल, एभरेस्ट, सुगम, एचपीलगायत ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिरहेको छ ।

सानो, छरितो र परिणाममुखी मन्त्रिपरिषद् बनाउने : रास्वपा

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ जनादेश हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूले भावी सरकारको ‘मोडालिटी’बारे औपचारिक तथा अनौपचारिक परामर्श सुरु गरेका छन् । सरकार गठनको संरचना, मन्त्रिपरिषद्को आकार, नीतिगत प्राथमिकता र कार्यशैलीलाई कसरी प्रभावकारी तथा परिणाममुखी बनाउने भन्ने विषयमा नेताहरूबिच आन्तरिक छलफल तीव्र पारिएको छ । निर्वाचन आयोगले ५ चैतसम्म राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बुझाएपछि मात्र सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्नेछ ।

निर्वाचनबाट प्राप्त ताजा जनादेशका आधारमा नयाँ सरकार गठनको औपचारिक आह्वान अझै नभए पनि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहसहितका शीर्ष नेताहरूले सम्भावित ‘मोडालिटी’बारे छलफल अघि बढाएका हुन् । ‘नयाँ सरकारको तयारीका विषयमा सभापति र वरिष्ठ नेताहरूबिच निरन्तर संवाद भइरहेको छ, तर प्रक्रिया अझै औपचारिक रूपमा सुरु भएको छैन,’ रास्वपा सहमहामन्त्री विपिन आचार्यले भने ।

छरितो मन्त्रिपरिषद्
जेन–जी आन्दोलनको म्यान्डेट र जनअपेक्षा सम्बोधन गर्न सक्ने सानो, छरितो र परिणाममुखी मन्त्रिपरिषद् बनाउने दिशामा रास्वपाले गृहकार्य अघि बढाएको छ । मन्त्री चयनमा काम गर्ने क्षमता र परिणाम दिने क्षमतालाई प्रमुख मापदण्ड बनाइने बताइएको छ ।आचार्यका अनुसार पार्टीको वाचापत्रमै संघीय सरकारमा १८ मन्त्रालयको संरचनाको कुरा उल्लेख गरिएको छ । ‘औपचारिक छलफल सुरु भइसकेको छैन, तर मन्त्रालयलाई छरितो बनाउने साझा अवधारणाअनुसार काम भइरहेको छ,’ उनले भने ।

आचार्यले जनअपेक्षा सम्बोधन नै सरकार निर्माणको मूल आधार हुने बताए । उनका अनुसार पार्टीको वाचापत्रअनुसार परिणाम दिन सक्ने सक्षम व्यक्तिलाई मात्र मन्त्री बनाइनेछ । ‘राइट पिपुललाई राइट प्रोसेसबाट पठाउँछौँ । सही र डेलिभर गर्न सक्ने सांसद मन्त्री हुन्छन्, अरू साथीहरूले ‘ब्याक’ बसेर काम गर्नुहुन्छ,’ उनले भने ।

आचार्यले वाचापत्रमै संघमा १८ वटा मन्त्रालयको कुरा गरेको भन्दै अब गठन हुने सरकारमा मन्त्रिमण्डल छिटो छरितो हुने बताए । ‘औपचारिक विषय प्रवेश पाएको छैन । तर, वाचापत्रको प्रतिबद्धता पूरा गर्नुपर्छ भन्ने हो । मन्त्रालयहरू छरितो बनाउनुपर्छ भन्ने साझा अवधारणा काम भइरहेको छ,’ उनले भने ।
रास्वपा वरिष्ठ नेता बालेन्द्रको सचिवालयका अनुसार १५ जनाको सानो मन्त्रिमण्डल बनाउने गरी छलफल भइरहेको छ । ‘डेलिभरी दिने मुख्य हो । सकेसम्म समावेशी चरित्रको छरितो मन्त्रिमण्डल बनाउने कुरा चलेको छ,’ सचिवालयका एक सदस्य भन्छन्, ‘औपचारिक रूपमा छलफल भइसकेको छैन । तर, १५ हाराहारी मन्त्रालयबाटै चलाउने भन्ने छ ।’

 

भ्रष्टाचार मुद्दामा पूर्वसांसद चालिसेलाई पाँच लाख धरौटीमा छाड्न आदेश

भ्रष्टाचारको आरोप लागेका नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेलाई विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार विशेष अदालत काठमाडौँमा भएको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि उक्त धरौटी रकम तोकेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको प्रक्रिया अन्तर्गत उनी सोमबार अदालतमा उपस्थित भएका थिए। अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अख्तियारको दाबीअनुसार चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा रहँदा आफ्नो आम्दानीभन्दा धेरै सम्पत्ति आर्जन गरेका थिए। अनुसन्धानमा उनको परिवारको वैधानिक आम्दानीभन्दा करिब तीन करोडभन्दा बढी रकमको स्रोत पुष्टि हुन नसकेको उल्लेख गरिएको छ।

चालिसे २०७४ देखि २०७९ सालसम्म गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। त्यस अवधिमा उनको तथा परिवारका सदस्यहरूको आय–व्ययको विवरण अध्ययन गर्दा ठूलो रकम बराबरको खर्च र लगानी देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ।

यता चालिसेले भने आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै देखाइएको रकममध्ये धेरै हिस्सा ऋण र सापटीबाट आएको दाबी गरेका छन्। उनले त्यससम्बन्धी कागजातसमेत अख्तियारसमक्ष पेस गरेको बताइएको छ।

अदालतको आदेशसँगै चालिसे धरौटी बुझाएर रिहा हुन पाउने भएका छन् भने भ्रष्टाचारसम्बन्धी मुद्दाको थप सुनुवाइ आगामी दिनमा जारी रहनेछ।

माग अनुसारको आपूर्ति नहुँदा ग्यासको अभाव देखिएको हो :उपभोक्ता संरक्षण विभाग

काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको मागअनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको जनाएको छ।

राष्ट्रिय उपभोक्ता मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक नरहरि तिवारीले अनावश्यक सञ्चय भन्दा पनि माग अनुसार आपूर्ति हुन नसक्दा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका हुन्।

उनले दैनिक १३० बुलेट ग्यास आउँदा पर्याप्त हुने भएपनि हाल दैनिक ९० बुलेटमात्रै ग्यास आउने गरेको जानकारी विभागमा प्राप्त भएको उल्लेख गरे। निर्देशक तिवारीले ग्यासका अभाव भएपछि गरिएको बजार अनुगमनका क्रममा समेत व्यापारीले ग्यास लुकाएको नभेटिएको उल्लेख गरे।

उनले ग्यासको अभाव बढ्ने मनोवैज्ञानिक त्रासले उपभोक्ताले केही सञ्चय गरेको देखिएको धारणा राखे। निर्देशक तिवारीले ग्यासका साथै इन्डक्सन चुलो बिक्री वितरणका विषयमा समेत विभागले आवश्यक अनुगमन गरिरहेको बताए।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाल आयल नियमको अकर्मण्यता र केही व्यापारीहरूले लुकाई कृत्रिम अभाव गरी कालाबजारी गरेका कारण खाना पकाउने ग्यासको अभाव देखिएको बताए।

इजरालय र अमेरिकाको आक्रमणपछि इरानमा कालो वर्षा

अमेरिका र इजरायलको आक्रमणपछि इरानका विभिन्न ठाउँमा कालो वर्षा हुन थालेको छ । इजरायली वायुसेनाले मार्च ८ मा तेहरानको शाहरान तेल प्रशोधन कारखाना र थुप्रै इन्धन भण्डारण केन्द्रहरूमा हवाई आक्रमण गरेपछि उठेको विशाल कालो धुवाँ वायुमण्डलमा फैलिएपछि यो हप्ता कालो वर्षा भएको हो ।

विशेषज्ञहरूका अनुसार तेलमा भएका विषाक्त रसायनहरू वायुमण्डलको पानीका थोपासँग घुलमिल भएपछि एसिडयुक्त वर्षा भएको हो । यो वर्षामा क्यान्सर उत्पन्न गर्न सक्ने बेन्जिन, एसिटोन र मेथिलिन क्लोराइडजस्ता घातक रसायनहरू रहेको पुष्टि भएको छ ।

तेहरानका बासिन्दाहरूले घाँटी दुखेको, आँखामा जलन र सास फेर्न गाह्रो भएको गुनासो गरिरहेका छन् । यो विषाक्त पानीले खानेपानीका जलाशय र नदीहरू दूषित गर्ने खतरा बढेको छ । इरान रेड क्रिसेन्ट सोसाइटीले बासिन्दाहरूलाई घरभित्रै बस्न, झ्यालढोका बन्द गर्न र खुल्ला पानी नपिउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वायुमण्डलमा हाइड्रोकार्बन र सल्फर अक्साइडजस्ता हानिकारक तत्वहरू ठूलो मात्रामा फैलिएको भन्दै चिन्ता व्यक्त गरेको छ । यसबाट जनस्वास्थ्यमा गम्भिर असर गर्ने डब्लूएचओको चेतावनी छ ।

संयुक्त राष्ट्र मानवाधिकार कार्यालयले यो आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेको हुन सक्ने भन्दै अनुसन्धानको माग गरेको छ । यो घटनाले युद्धको मानवीय र वातावरणीय मूल्यबारे अन्तर्राष्ट्रिय समुदायमा नयाँ बहस शुरू भएको छ । -एजेन्सी

 

पौडी खेल्न गएका बालक महाकालीमा बेपत्ता

दार्चुला : दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक डुबेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार व्यास गाउँपालिका–६ का अन्दाजी १५ वर्षीय धीरज धामी महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन्।

धामी महाकाली नगरपालिका–५ बसपार्क क्षेत्र नजिक महाकाली नदीमा साथीहरूसँग पौडी खेल्न गएका थिए। उनी महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो करिब १ बजेतिर साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा धामी बेपत्ता भएका हुन्। उनीसँगै गएका दुईजना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ।

साथीहरूले प्रहरीलाई दिएको जानकारी अनुसार धामीलाई राम्रोसँग पौडी खेल्न आउँदैनथ्यो। पहिलो प्रयासमै साथीहरूको सहयोगमा जसोतसो पौडी खेलेर नदी पार गर्दै भारततर्फ पुगेका उनी नेपालतर्फ फर्किने क्रममा नदीको बीच भागमा डुबेको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ।

बेपत्ता धामीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाहरू मिलेर खोजी कार्य गरिरहेका छन्।

इनिशा विकको न्यायका लागि डडेलधुरामा प्रदर्शन

डडेलधुरा- १६ वर्षीया इनिसा विक मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै सहित हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै डडेलधुरामा प्रदर्शनी गरिएको छ। सोमबार डडेलधुरा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले घटनाका दोषीलाई कारबाहीको माग राख्दै बजार परिक्रमा गरेका हुन।

सोमबार डडेलधुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा क्याम्पस हुँदै जिल्ला प्रशासन कार्यालयसम्म हत्यारालाई कारबाही गर्नुपर्ने तथा फाँसीको सजाय हुनुपर्ने भन्दै नाराबाजी गर्दै परिक्रमा गरे हुन्।

इनिशाको सुर्खेतमा बलात्कारपछि हत्या गरिएको थियो। सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा उनको शव भेटिएको थियो। घटनाको प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्षधरहरूले आन्दोलन गरिरहेका छन्।

अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ ।

बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गर्दै स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाउने तयारी गरेको हो ।

राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत गर्ने तयारी भइरहेको बताए ।

मल्लका अनुसार बोर्डले चैत २५ गतेभित्र नयाँ दर्ता अनलाइनमार्फत गर्ने लक्ष्य राखेर गृहकार्य गरिरहेको छ ।

‘अब स्वास्थ्य बीमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा दिने प्रणालीतर्फ जाने तयारी भइरहेको छ,’ मल्लले अनलाइनखबरसँग भने ।

उनका अनुसार एनआईडी प्रणालीसँग जोडिएपछि स्वास्थ्य बीमासम्बन्धी धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

अहिले देशभरिबाट संकलन भएको राष्ट्रिय परिचयपत्रको डाटाबेससँग स्वास्थ्य बीमा कार्यक्रम जोडिँदा डाटा प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता कम हुने र कार्डको दुरुपयोग घट्ने मल्ल बताउँछन् ।

हाल स्वास्थ्य बीमा कार्यक्रममा करिब एक करोड नागरिक आबद्ध भइसकेका छन् । तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा एउटै व्यक्तिको विवरण दोहोरिने, उमेर वा विवरण नमिल्ने तथा गलत प्रयोग हुने समस्या देखिएको मल्लले बताए ।

‘एनआईडी नम्बरको आधारमा प्रणाली जोडिँदा यस्ता समस्या धेरै हदसम्म नियन्त्रण हुन्छ,’ मल्लले भने ।

उनका अनुसार डिजिटल प्रणाली विस्तार भएसँगै नागरिकले स्वयं अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुने वा नवीकरण गर्ने सुविधा पाउनेछन् । भविष्यमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना रहेको मल्ल बताउँछन् ।

नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्नेछ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् ।

बाँके र कैलालीका १६ औषधि पसल निलम्बनमा

औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच कैलालीका रहेका छन्।

औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्ममा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो। अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, बिना दर्ता औषधि पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि फेला परेको लगायतका कैफियत देखिएपछि ती पसल निलम्बनमा परेका उनले बताए।

अनुगमनपछि १४ मुद्दासमेत अदालतमा दर्ता गरिएको छ। विभागका फार्मेसी सुपरभाइजर निरीक्षक दिनेशराज न्यौपानेका अनुसार बिनाइजाजत औषधि पसल सञ्चालन गर्ने, दर्ता नभएका औषधि बिना अनुमति पैठारी गर्ने, अवैध रूपमा औषधि आयात गर्ने तथा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्ने जस्ता कसुरमा मुद्दा दर्ता भएका हुन्। औषधी ऐन २०३५ बमोजिम दफा १० को अनूसुचि ९ बमोजिम कसुरअनुसार उनीहरुमाथि कारबाही हुनेछ।

यसैगरी, विभागले कार्यालयमा आउने उजुरीको फछ्र्यौटमा पनि सक्रियता देखाएको छ। स्थानीय प्रशासनबाट प्राप्त चारवटै उजुरीको फछ्र्यौट गरिसकिएको छ भने नागरिकबाट आएका ६ वटा उजुरीमध्ये चारवटा उजुरीको टुङ्गो लगाइसकिएको फार्मेसी सुपरभाइजर न्यौपानेले जानकारी दिए। यस अवधिमा शाखा कार्यालय नेपालगन्जले बजार अनुगमनका क्रममा सङ्कलन गरिएका ४५ प्रकारका औषधि गुणस्तर परीक्षणका लागि काठमाडौ पठाएको छ।

औषधि व्यवस्था विभागले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्म ४४१ औषधि पसलको अनुगमन तथा निरीक्षण गरेको थियो। सो शाखाले लुम्बिनी प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्यूठान र रोल्पासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका औषधि पसलको अनुगमन तथा निरीक्षणको जिम्मेवारी सम्हाल्दै आएको छ। कुल २५ जिल्लाको नियमन तथा निरीक्षण गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग नेपालगन्जमा प्राविधिक र अप्राविधिक गरेर कुल आठ जनाको दरबन्दी रहेको छ। रासस

खोज्नुहोस