बालेनलाई फिल्म ‘लालिमा’ को पत्र : महिलाको मानवअधिकार सुनिश्चित गर्न आग्रह
काठमाडौं- फिल्म ‘लालिमा’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रस्तावित प्रधानमन्त्री बालेन शाहलाई पत्र लेख्दै यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।
निर्माता कम्पनी आस्था फेथले बनाएको उक्त फिल्मको कथावस्तु पनि यौनकर्मी महिलाको ब्यथा, संघर्ष र मानवअधिकारको कथावस्तुमा केन्द्रित छ ।
उक्त निर्माता कम्पनीले पनि पछिल्लो दुई दशकदेखि यौनकर्मी महिलाहरूको स्वास्थ्य र मानवअधिकारका लागि काम गर्दै आएको जनाइएको छ । मुलुकका ३ हजारभन्दा धेरै यौनकर्मीको अनुभवका आधारमा फिल्म निर्माण गरिएको दाबी उक्त संस्थाको छ । २९ फागुनमा रिलिज भएको उक्त फिल्म अहिले पनि हलमा प्रदर्शनरत छ ।
कार्यकारी प्रमुख रिना लामा भन्छिन्, ‘यौनकर्मीको मानवअधिकार हननको विषय उजागर गर्न हामीले फिल्म बनाएका हौं ।’ पत्रमा लाखौं यौनकर्मी महिलाले हिंसा, दुर्व्यवहार र सामाजिक बहिष्कारको सामना गरिरहेको उल्लेख छ ।
‘यौनकर्मीमध्ये धेरै दैनिक रूपमा दुव्र्यवहार, विभेद र आधारभूत मानवअधिकारबाट वञ्चित हुने गर्दछ । तर उनीहरूको अनुभव नीतिगत बहसमा प्रवेश विरलै पाइन्छ । र जब समायोजित हुन्छन् प्रायः अपराध वा नैतिकताको दृष्टिकोणबाट मात्र गलत रूपमा बुझिने वा प्रस्तुत गरिने गरिन्छ,’ पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा बालेनलाई ती महिलाको मानवअधिकार सुनिश्चित गर्नका लागि संवादको निम्तो दिइएको छ । पत्रमा राज्यले यौनकर्मीलाई मानवका रुपमा सम्मान–सुरक्षा ध्यान दिनुपर्ने र उनीहरूको उत्थानका लागि नीतिगत सुधार आवश्यक रहेको औंल्याइएको छ ।
पत्रमा लेखिएको छ, ‘वास्तवमै समावेशी राष्ट्र निर्माण गर्नु भनेको भेदभाव र सीमान्तकृत जीवन बिताइरहेका नागरिकको समेत सुरक्षा सुनिश्चित गर्नु हो । राष्ट्र तब मात्र बलियो बन्छ जब उसले आफ्ना अति सीमान्तकृत नागरिकहरूको अधिकार र मर्यादाको संरक्षण गर्छ ।’
