अभिनयमा कमब्याक गर्दै कैट्रिना
मुम्बई । बलिउड अभिनेत्री कैट्रिना कैफ अभिनयमा कमब्याक गर्ने भएकी छन् । आमा बनेपछि अभिनयबाट टाढा भएकी उनी अहिले फिल्म तथा अन्य प्रोजेटको स्क्रिप्ट अध्ययन गरिरहेकी छन् ।
बलिउड मिडियाका अनुसार कैट्रिना हतारमा कुनै पनि प्रोजेक्ट साइन गर्ने पक्षमा छैनन् । उनी आफ्नो जीवनको यो नयाँ चरण (मातृत्व)सँग मेल खाने खालको कथा छनोट गर्न चाहन्छिन् । यही कारणले गर्दा उनी प्रत्येक स्क्रिप्टलाई निकै ध्यानपूर्वक अध्ययन गरिरहेकी छन् ।
कैट्रिना अब डिजिटल माध्यम अर्थात् ओटीटी प्लेटफर्ममा पनि काम गर्ने बारे विचार गरिरहेकी छन् । यदि यो योजना सफल भएमा, यो उनको करियरको पहिलो ओटीटी प्रोजेक्ट हुनेछ ।
अचेल धेरै स्थापित कलाकारहरू ओटीटीतर्फ आकर्षित भइरहेका बेला कैट्रिना पनि यो नयाँ प्लेटफर्ममा काम गर्न इच्छुक देखिएकी हुन् । रिपोर्टहरूका अनुसार उनी सन् २०२७ को उत्तरार्ध (दोस्रो हिस्सा)तिर सुटिङमा फर्किन सक्ने सम्भावना छ ।
कैट्रिना कैफ पछिल्लो पटक फिल्म ‘मेरी क्रिसमस’ मा देखिएकी थिइन्, जसमा उनको साथमा दक्षिण भारतीय अभिनेता विजय सेतुपति मुख्य भूमिकामा थिए ।
१२ जनवरी सन् २०२४ मा रिलिज भएको यो फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । दुवैको अभिनय र केमेस्ट्रीको पनि प्रशंसा भएको थियो । यसअघि उनी सलमान खान स्टार फिल्म ‘टाइगर ३’ मा देखिएकी थिइन् ।
कैट्रिनाले डिसेम्बर २०२१ मा अभिनेता विक्की कौशलसँग विवाह गरेकी थिइन् । उनीहरूले राजस्थानमा परिवार र नजिकका साथीहरूको उपस्थितिमा परम्परागत रितिरिवाज अनुसार विवाह गरेका थिए ।
गत वर्ष ७ नोभेम्बरमा उनले छोरालाई जन्म दिएकी थिइन् । जसको नाम ‘बिहान कौशल’ राखिएको छ ।
