कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार

काठमाण्डौ- कम्बोडियामा विभिन्न समस्यामा परेका २० जना नेपालीको उद्धार गरिएको छ ।

थाईल्याण्डको बैंककमा रहेको नेपाली दूतावासका अनुसार अवैध काममा लगाइएका र ठगीमा परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फर्काइएको हो । अनलाइन ठगी तथा अवैध काममा संलग्न गराइएका र बिना भिसा अलपत्र परेका २० जनालाई स्वदेश फर्काइएको र समस्या परेका अरु पनि उद्धार गरी फर्काउने पहल भैरहेको दूतावासले जनाएको छ  ।

समस्यामा परेका नेपालीलाई तुरुन्त सम्पर्कमा आउन र सुरक्षित रूपमा नेपाल फर्किन आवश्यक सहजीकरण गरिने दूतावासको भनाइ छ । कम्बोडियामा अवैध रूपमा काममा नलाग्न र प्रलोभनमा नपर्न पनि दूतावासले सबै नेपालीलाई सचेत गराएको छ । आवश्यक परेमा एकतर्फी यात्रा अनुमति (वन–वे ट्राभल डकुमेन्ट) मार्फत स्वदेश फर्किन सहयोग गर्ने पनि दूतावासले जनाएको छ ।

कैलालमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली- कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार ना. ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा ती दम्पती गम्भीर घाइते भएका थिए । घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकामा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकले ठक्कर दिँदा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको प्रनाउ तिमिल्सिनाले बताए । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घट्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ। आज सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घट्दा चाँदी १४० रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार हुँदै छ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै गत मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ र चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन र चाँदीको मूल्य घट्दो क्रममा रहेको छ।

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं,५ चैत ।

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

विशेष महाधिवेशन मार्फत सभापति भएका थापाले गत फागुन २१ सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले पराजय भोगेपछि बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

काँग्रेस पार्टी प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट सहित दोस्रो भएपछि मौनता साँध्दै आएका थापाले बुधवार पदबाट राजिनामा दिएका हुन् ।

तीन पटक काठमाण्डौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहसंग पराजित भएका थिए।

शुक्रबार बोलाइएको केन्द्रीय समितिको बैठकले थापाको राजिनामा बारे निर्णय गर्ने बताईएको छ ।

सभापति लामिछानेको सांसदहरूलाई कडा निर्देशन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिम्मेवारीबोधका साथ काम गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टीले नवनिर्वाचित सांसदहरूलाई आयोजना गरेको दुईदिने अभिमुखीकरणको समापन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास आफूहरूमाथि गरेकाले जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्न निर्देशन दिएका हुन् ।

‘नेतृत्व र जनतासँग ठुलो पर्खाल छ । कैयौँ नेताहरू जनतासँग नजिक हुनै चाहँदैनन् । किनकि उनीहरूलाई आफ्नो मान्छे हो भन्ने नै लाग्दैन । आज हामी घरघर नमस्कार गरेर पुगेका छौँ । भोलि तिनले गरेको नमस्कार नफर्काउने ठाउँमा हामी पुग्छ सक्छौँ, होसियार, त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्,’ उनले भने ।

लामिछानेले अबको पाँच वर्षमा प्रत्येक दिन जनताले खुसियाली मनाउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘यो पाँच वर्षलाई अन्य सामान्य चुनावमा चुनिएजस्तो सोच्नुभयो भने त्यसले अप्ठेरो परिस्थिति सिर्जना गर्छ । राजनीति यस्तै हिसाबले चल्नेवाला छैन । सर्लक्कै काँचुली फेर्ने हो । यसैका लागि जनताले अभिमत दिएका हुन् । हामी कानुन बनाउन आएका हौँ । कानुन बनाउने प्रमुख जिम्मेवारी जनताले दिएका हुन् । कुन दफाले कहाँ अड्काएको छ, थाहा हुनुपर्छ । अध्ययन हुनुपर्छ,’ उनले भने ।

लामिछानेले शक्तिको दौड बन्द गर्न पनि निर्देशन दिए । ‘यसपटक शक्तिको दौड, यताउता, यसलाई भनेर हुन्छ कि, उसलाई भनेर हुन्छ कि, यसो भेटेर फोटो खिचेर हुन्छ कि, यो पसल बन्द गर्नुहोला । यसरी चल्दैन साथीहरू । कानुन निर्माताका रूपमा हाम्रो जिम्मेवारी अत्यन्त गहन छ,’ उनले भने । संविधान निर्माणको लामो समयपछि थुप्रै कानुन बन्न नसकेको, विभिन्न बाधा–अड्चन भएको भन्दै अब नेपाली जनताले कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट लगभग दुईतिहाइ बहुमत दिएकाले काम गर्नुपर्ने उनले बताए ।

लामिछानेले नागरिक सचेत भइसकेकाले आफूहरूलाई विश्वास गरेको बताए । ‘हरेक गतिविधि जनताले हेरेका हुन्छन् । कसैकसैले जनताको चेतनास्तरमा चुनौती दिन्छन्, जनता नै खराब भए भन्छन्, होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लोपटक हामीलाई २०–२१ सिट होइन, एकैपटक दुईतिहाइ दिन सक्थे । तर, जनताले यी नयाँलाई एकपटक हेरौँ, यिनीहरू नमात्तिऊन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी निमिट्यान्न नपारौँ भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे । तर, नागरिकको त्यो विवेकलाई दुईतिहाइ पाएको सरकारले चुनौती दियो । शक्ति प्राप्त गरिसकेपछि आँखामा आउने पट्टी हामीले खोल्न सक्नुपर्छ । होइन भने पुराना दललाई नागरिकले ३६ वर्ष कुरे । तपाई–हामीलाई ३६ महिना ३६ दिन पनि कुर्नेवाला छैन । यो कुरामा निर्धक्क हुनुहोला । किनकि जनता अब्बल चेतनामा आएको छ,’ उनले भने ।

भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र दिइने

काठमाडौं- निर्वाचन आयोगले भोलि प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ ।

भोलि बिहान आयोगले १ सय १० जना समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिन लागेको हो । बिहान साढे ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइने आयोगले जनाएको छ ।

आायोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् । ६दलबाट ११० जना सांसदहरु निर्वाचित भएका छन् ।

नवनिर्वाचित सांसदहरुको सपथ भने चैत १२ गते हुने भएको छ । संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरुको शपथ गराउने तयारी गरेको छ ।

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडाैं महानगर

काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ । महानगरले १ मंसिर २०७४ मा मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसरी उद्धार गरिएकामध्ये ३१५ जनाको मृत्यु भएको छ । सात सय १३ जनालाई पारिवारिक पुनर्मिलन र ३३६ जनालाई सामुदायिक पुनर्मिलन गराइएको जनाउँदै उनले उद्धार गरिएकामध्ये अहिले आश्रमको संरक्षणमा २६८ जना रहेका बताए ।

महाननरगले भौगोलिक क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारीस्वरुप उक्त कार्य गरेको महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले जानकारी दिइन् । उनले भनिन्, ‘घोषणाको तयारी थाल्दा घोषणा गर्ने मात्र नभई त्यसलाई दिगो बनाउने कानुनी, प्रशासनिक तथा व्यावहारिक पक्ष सक्रिय बनाउन लागेका छौँ । यसका लागि समन्वय र सहजीकरणको विषय सुनिश्चित गर्नुपर्छ ।’

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले सडकमा आश्रित सहयोगापेक्षीलाई उद्धार गरेर आश्रममा लैजाने क्रम अहिले पनि जारी रहेको उल्लेख गरे ।

महानगरले आश्रमलाई दुई करोड ८४ लाख ७३ हजार २३७ प्रदान गरिसकेको छ । उद्धार कार्यका लागि आवश्यक पर्ने एउटा सवारीसाधन उपलब्ध गराएको उनले जानकारी दिए ।

सहयोगापेक्षीको पहिचान, सिफारिस र व्यवस्थापनमा समन्वय गर्ने काम पनि भइरहेको आश्रमका अध्यक्ष अधिकारीले बताए । सडक सेवा, पञ्जीकरण र उद्धार कार्यमा जनप्रतिनिधि, प्रशासनिक कर्मचारी, महानगर प्रहरी बलको नियमित सक्रियता छ ।

अनुशासन उल्लङ्घन गर्ने सांसदलाई फिर्ता बोलाउने सभापति लामिछानेको चेतावनी

काठमाण्डाै- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लङ्घन गरेमा फिर्ता बोलाउने चेतावनी दिएका छन् ।

पार्टीका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले सांसदहरूले अनुशासन उल्लङ्घन गरेमा पदबाट फिर्ता बोलाउने बताएका हुन्। पार्टी ठूलो बनेको र सरकार सञ्चालन गर्ने जिम्मेवारीमा रहेको बताउँदै उनले हरेक सांसद अनुशासनमा बस्नुपर्ने उल्लेख गरे ।

रास्वपा विधानमा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था रहेको छ । सांसदहरूको स्वतन्त्रता हुने तर अनुशासन कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ छ ।

जथाभाबी अभिव्यक्ति दिने र हल्का मनोरञ्जन गर्ने छुट कसैलाई नभएको उनले बताए । शक्ति प्राप्त भएपछि आँखामा आउने पट्टी हटाउनुपर्ने उनकाे भनाइ छ ।

अहिले नागरिकमा अब्बल चेतना बढेको र आफूहरूले गलत कदम उठाए नागरिकले केही महिना पनि नकुर्ने भन्दै सभापति लामिछानेले आफूहरूको पूरा ध्यान नागरिकको आवश्यकता परिपूर्तिमा लाग्नुपर्ने बताए । सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै उनले आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको उल्लेख गरे ।

आफूहरू मिल्न नसकेमा र स्वार्थको बन्दी बनेमा मात्रै समस्या हुने भन्दै सभापति लामिछानेले यसबारेमा आफूहरू संवेदनशील रहेको बताए । यस्तै अहिलेसम्म मन्त्रिमण्डलमा को को हुने भन्ने टुङ्गो नलागेको भन्दै उनले नेताकोमा वा सञ्चारमाध्यममा गएर मन्त्री पद चाहिन्छ नभन्न सचेत गराए ।

 

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै यही चैत ६ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत ६ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

null

नागरिक लगानी कोष र निसर्ग हस्पिटलबीच सम्झौता, स्वास्थ्य सेवामा छुट

धनगढी। नागरिक लगानी कोष र निसर्ग हस्पिटलबीच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौताअनुसार कोषका कर्मचारी, सेयरधनी र कोषमा आबद्ध सहभागीहरूले निसर्ग हस्पिटलमा उपचार गर्दा ५ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतामा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र नागरिक लगानी कोषका शाखा प्रमुख दिपक घिमिरे ले हस्ताक्षर गरेका छन्।

निजी क्षेत्रबाट सञ्चालित निसर्ग हस्पिटल सुदूरपश्चिममै स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल हो। १०० शैयाको क्षमता भएको यस अस्पतालले २४ सै घन्टा स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको छ।

यस सम्झौताले कोषमा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट

प्रधानमन्त्री- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच बुधबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको हो।

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच शिष्टाचार भेट भएको उनको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीले बुधबार नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पदाधिकारीहरूसँग पनि भेटवार्ता गरेकी थिइन्। नेकपाका नेताहरूलाई चुनाव सम्पन्न गराउन भूमिका खेलेको भन्दै धन्यवाद दिएकी थिइन्।

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गरेका छन् ।

उनले भने, ‘सकेसम्म तपाईँहरू इमर्जेन्सी बाहेक सरकारी अस्पतालमा उपचार गराउनुहोस् । बाध्यकारी होइन तर यो प्रयास गर्नुहोस् ।’

सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै लामिछानेले सांसद भएपछि हरेक क्षेत्रमा बोल्दा हिँड्दा खाँदा विचार गर्नुपर्ने सुझाव दिए ।

पार्टीले अनुशासन कडाइका साथ पालना गराउने बताउँदै अराजकतालाई कदापि स्वीकार गर्न नसकिने बताए । ‘उनले भने,’ अराजकतालाई पराजित गर्न अनुशासित हुनुपर्नेछ ।’

रास्वपाको अभिमुखीकरणमा रवि लामिछानेले गरे सम्बोधन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित सांसदहरुको दुईदिने अभिमुखीकरणमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरेका छन्।

ग्वार्कोस्थित रोयल टुलिपमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई मंगलबार दिउँसो १ बजेपछि पार्टी सभापति लामिछानेले सम्बोधन गरेका हुन्।

सम्बोधनमा उनले जनताले आशा र भरोसाले खन्याएको मतले रास्वपामा ठूलो जिम्मेवारी थपिएको बताए। उनले देश बचाउने जिम्मा आफ्नो पार्टीको काँधमा आएको बताए।

 

मध्यपूर्व तनाव: बढ्दै विश्वभर आर्थिक अनिश्चितता

मध्यपूर्वमा जारी युद्धले अब प्रत्यक्ष रूपमा विश्व अर्थतन्त्रमा असर पार्न थालेको छ। जसले ऊर्जा बजारदेखि वित्तीय नीतिसम्म दबाब सिर्जना गरेको छ। तेल आपूर्ति, मूल्य अस्थिरता र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोधका कारण विश्वभर आर्थिक अनिश्चितता बढ्दै गएको देखिएको छ।

बुधबार तेल बजारमा उतारचढाव देखियो। इरानले तेल उत्पादक छिमेकी देशहरूलाई लक्षित गरी आक्रमण गरेपछि अघिल्लो दिन बढेको मूल्य घट्दै वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९३ डलर आसपास झर्दा तीन प्रतिशतभन्दा बढी घट्यो भने ब्रेन्ट कच्चा तेल पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लाग्यो। यद्यपि विश्लेषकहरूले होर्मुज मार्गमा थप तनाव बढे विश्व ऊर्जा लागत तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएका छन्, किनकि यही मार्गबाट विश्वको करिब पाँचौँ हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ।

ऊर्जा आपूर्तिमा जोखिम बढेपछि वैकल्पिक व्यवस्थातर्फ देशहरू अग्रसर भएका छन्। दक्षिण कोरियाले होर्मुज मार्ग प्रयोग नगरी संयुक्त अरब इमिरेट्सबाट थप एक करोड ८० लाख ब्यारेल तेल ल्याउने निर्णय गरेको छ। राष्ट्रपति कार्यालयका प्रमुखले विविध आपूर्ति च्यानल प्रयोग गरिने जानकारी दिए, यद्यपि मार्गबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। दक्षिण कोरियाको करिब ७० प्रतिशत तेल आयात सामान्यतया यही मार्ग हुँदै आउने गर्दछ ।

इरानले पनि जलमार्ग नियन्त्रणलाई कडाइ गर्दै मित्र राष्ट्रका जहाजहरूलाई मात्र प्राथमिकता दिइरहेको सङ्केत देखिएको छ। इराकले आफ्ना केही तेल ट्याङ्करहरू होर्मुज हुँदै पठाउन इरानसँग समन्वय गरिरहेको जनाएको छ। यसैबीच इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले यो मार्ग अब पहिलेको जस्तो सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन्।

युद्धको प्रभावबारे इरानी विदेशमन्त्री अब्बास अराघचीले विश्वव्यापी असर पर्ने स्पष्ट पारे। उनका अनुसार सुरु भएको प्रतिक्रिया लहरले सबै मुलुक र वर्गलाई प्रभावित पार्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सहयोगी राष्ट्रहरूले अपेक्षित साथ नदिएको गुनासो गर्दै अब अमेरिकी सेनालाई थप सैन्य सहयोग आवश्यक नरहेको बताए। होर्मुज मार्गमा तेल ढुवानी सुरक्षित गर्न युद्धपोत पठाउने प्रस्ताव धेरै देशहरूले अस्वीकार गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले स्थिति शान्त भएपछि मात्र सहयोग गर्न सकिने सङ्केत गरेका छन्।

युद्धको असर युरोपसम्म पुगेको छ। जर्मनीले ऊर्जा कम्पनीहरूले सङ्कटको फाइदा उठाएर पेट्रोलियम मूल्य कृत्रिम रूपमा बढाएको हुनसक्ने आशङ्कामा निगरानी कडा गर्ने जनाएको छ। युरोपकै ठूलो अर्थतन्त्र जर्मनीमा लगानीकर्ताको मनोबल करिब एक वर्षयताकै न्यून स्तरमा झरेको सर्वेक्षणले देखाएको छ।

संयुक्त अरब इमिरेट्सको फुजैराह तेल परिसरमा भएको ड्रोन आक्रमणले आपूर्ति संरचनामा थप जोखिम देखाएको छ। उक्त क्षेत्रमा आगलागी भए पनि मानवीय क्षति नभएको जनाइएको छ, तर केही समयका लागि तेल लोडिङ प्रभावित भएको बताइएको छ। यो सुविधा होर्मुज मार्गलाई बाइपास गर्ने महत्त्वपूर्ण केन्द्र मानिन्छ।

इन्धन मूल्यको चापले मौद्रिक नीतिमा पनि असर पारेको छ। अस्ट्रेलियाको केन्द्रीय बैंकले उच्च इन्धन मूल्यलाई ध्यानमा राख्दै आफ्नो ब्याजदर ०.२५ प्रतिशतले बढाएर ४.१० प्रतिशत पुर्‍याएको छ। यसले युद्धका कारण उत्पन्न महँगी दबाबलाई नियन्त्रण गर्ने प्रयास झल्काउँछ।

एसियामा भने प्रत्यक्ष प्रभाव झन् स्पष्ट देखिएको छ। थाइल्यान्डमा पेट्रोल अभाव र मूल्य वृद्धिको डरले राजधानी बैङ्ककदेखि चियाङ राईसम्म सवारी चालकहरू लामबद्ध भएका छन्। सरकारले डिजेल मूल्यमा सीमा तोके पनि आगामी दिनमा मूल्य तीव्र रूपमा बढ्ने चिन्ता बढिरहेको छ।

हवाई क्षेत्रमा पनि असर पर्न थालेको छ। जेट इन्धन महँगिएसँगै एयरलाइन्सहरू दबाबमा परेका छन्। केही अमेरिकी कम्पनीहरूले चुनौती बढ्ने बताएका छन् भने स्क्यान्डिनेभियन एयरलाइन्स एसएएसले अप्रिलमा कम्तीमा एक हजार उडान रद्द गर्ने निर्णय गरेको छ।

समग्रमा, मध्यपूर्वको युद्धले अब केवल सैन्य द्वन्द्वमा सीमित नरही विश्व अर्थतन्त्रलाई गहिरो रूपमा प्रभावित पार्ने चरणमा प्रवेश गरेको देखिएको छ। -एएफपी

मैले तलब लिन्न भन्दा पपुलिष्टलाई छटपटी : सुदन गुरुङ

नवनिर्वाचित सांसद् सुदन गुरुङले आफू सधैं जनताको लागि उभिने स्पष्ट पारेका छन्।

सांसद्ले पाउने तलब नलिने घोषणा गरेपछि धेरैले यसको गलत भाष्य निर्माण गरेको भन्दै उनले दुख व्यक्त गरे। तर यो रकम जेन्जी आन्दोलनमा घाइते भएकाहरुलाई सहयोग गर्ने  घोषणा गरिसकेको भन्दै केही मानिसलाई यसले छटपटी बढाएको उनले बताए।

‘मेरो घाइते भाइबहिनीहरूको घाउमा मलम लगाउन आफ्नो पारिश्रमिक खर्च गर्छु भन्दा केही पपुलिष्ट साथीहरूलाई निकै छटपटी भएछ सायद उहाँहरूमा निस्वार्थ सेवा गर्ने संस्कारको कमी भएर होला त्यसैले अरुले गर्दा विश्वास नलाग्नु पनि स्वभाविकै हो।, उनले भने, अहिले पनि राज्यको कुनै सुविधा नलिई आफ्नै पौरख र व्यवसायबाट चलाउँदै विगत १० वर्षदेखि समाजप्रतिको उत्तरदायित्व निभाउँदै आएको युवा हुँ।’

आफू हिजो पनि जनताकै पक्षमा रहेको र भविष्यमा पनि रहने उनको भनाइ छ।

‘अभावमा रहेकालाई काँध थाप्ने संस्कारमा हुर्किएको हुनाले यो मेरो नितान्त व्यक्तिगत इच्छा र विवेकपूर्ण निर्णय हो, जुन मैले बोलेर मात्र होइन, व्यवहारमै पूरा गरेर देखाउँदै आएको छु।,’ उनले भने, ‘म हिजो पनि जनताकै लागि उभिएको थिएँ, आज पनि त्यही बाटोमा छु र भोलि पनि रहनेछु । मेरो कर्मको कदर समयले गर्ला, तर सस्तो आलोचनाले मेरो संकल्प कदापि डगमगाउँदैन।’

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ।

केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय खोटाङले पुष्टि गरेको छ। खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनामा एक जना घाइते भएका  जानकारी दिइन् ।

यएर डाइनेष्टीको हेलिकप्टर अवरतण गर्ने क्रममा खोटाङकाे बालाबेसीमा दुर्घटना भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता सन्तुष्टकुमार विष्टका अनुसार बिहान ११ बजेर ९ मिनेटमा उडेको हेलिकप्टरमा चालक दलका एक सदस्यसहित ६ जना थिए । त्यसमध्ये एक जना सामान्य घाइते भएको उनले जानकारी दिए ।

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यक छ :अर्थमन्त्री खनाल

काठ्माण्डौ- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउए।

उनले ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अघि बढाउनुपर्ने बताउँदै बूढीगण्डकी जलविद्युत् आयोजनाजस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत लगानी बढाउन सकिने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए।

अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भन्दै त्यसलाई समाधान गर्न आगामी दिनमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।

‘अहिले शोधनान्तर र चालु खाता बचतमा छन्, गत आर्थिक वर्षको तुलनामा सरकारी राजस्व पनि बढेको छ्र’, उनले भने, ‘धेरै आर्थिक सूचकहरू सुधारोन्मुख छन्। अब लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण सिर्जना गर्नुपर्ने बेला आएको छ।’

उनले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन शीघ्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै विभिन्न अवकाश कोषमा लागिरहेको करको विषयमा पुनर्विचार गरिनुपर्ने बताए।

समान प्रकृतिको आम्दानी तथा सामाजिक सुरक्षासम्बन्धी रकममा न्यून कर लगाउनुपर्नेमा अर्थमन्त्री खनालले जोड दिए। सरकारी स्वामित्वका धेरै संस्थाहरू समस्याग्रस्त हुने गरेको उल्लेख गर्दै नागरिक लगानी कोषले व्यवसायिक सफलता हासिल गर्न सफल भएको उनले बताए। नेपाल वायुसेवा निगममा कोषबाट प्रवाहित कर्जाको असुलीका विषयमा पनि सरकारको नीतिगत जमानीको आधारमा उपयुक्त विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

कोषले लगानी गर्दा जोखिम व्यवस्थापनमा सचेत हुनुपर्ने उल्लेख गर्दै विभिन्न अवकाश कोषको सम्पत्ति–दायित्व व्यवस्थापनका लागि दीर्घकालीन ऋणपत्र जारी गर्न आवश्यक रहेको उनले बताए।

कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले उच्च तथा दिगो आर्थिक विकासका लागि कोषले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै कोषले विभिन्न बचत योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिए। नियामक निकायको मार्गदर्शन र कर्मचारीको समर्पणका कारण कोषले व्यावसायिक प्रगति हासिल गर्न सकेको उनको भनाइ छ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको लगानीलाई विविधीकरण गर्न आवश्यक रहेको बताए। उनले कोषले सङ्कलित रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिए। हाल कोषको करिब आधा हिस्सा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गरिएको, करिब २२ प्रतिशत सापटी तथा कर्जामा र विभिन्न संस्थाका शेयरमा लगानी रहेको उनले बताए।

उनका अनुसार करिब आधा लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको र ब्याजदरमा आएको गिरावटका कारण कोषको नाफामा पनि असर पर्नसक्ने देखिएको छ। लगानी विविधीकरण हुन नसके आम्दानीमा गिरावट आउने जोखिम रहेको उनको भनाइ छ।

कार्यकारी निर्देशक कार्कीले सरकारले प्राथमिकतामा राखेका पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए। कोषले सबै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्दै सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग बढाएको पनि उनले बताए।

आन्तरिक सुशासन, पारदर्शी तथा अद्यावधिक हिसाब प्रणालीलाई सुदृढ गर्दै कोषलाई दिगो प्रतिफल दिने संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए। साथै ठूलो आयोजनामा लगानी गर्नसक्ने सक्षम संस्थाका रूपमा कोष विकास हुँदै गएको उनको भनाइ छ।

उनले नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका काममा केही समानता रहेको उल्लेख गर्नुहुँदै त्यसमा स्पष्टता आवस्यक रहेको बताए। नेपाल वायुसेवा निगममा करिब रु २२ अर्ब लगानी गरिएको र उक्त रकम असुलीमा केही कठिनाइ देखिएको जानकारी दिँदै उनले सरकारको ग्यारेन्टीमा ऋण प्रवाह भएकाले त्यसको व्यवस्थापनमा पहल भइरहेको बताए।

कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले पनि दीर्घकालीन तथा सुरक्षित प्रतिफलका लागि कोषको लगानीलाई विविधीकरण गर्नुपर्ने बताए। कोषले मुद्दती निक्षेपमा मात्रै सीमित नभई ऋणपत्रलगायत विभिन्न वित्तीय उपकरणमा लगानी विस्तार गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

ब्याजदर कहिलेकाहीँ अत्यधिक बढ्ने र कहिले घट्ने भएकाले लगानीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन विभिन्न उपकरण प्रयोग गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार हाल बैंकिङ क्षेत्रमा करिब ७७ खर्ब निक्षेप सङ्कलन भएको छ भने करिब ५८ खर्ब रुपैयाँ कर्जा लगानी छ।

चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रको विस्तार दर भने करिब तीन दशमलव नौ प्रतिशत हाराहारीमा मात्रै सीमित रहेको उनले जानकारी दिए। अध्यक्ष कोइरालाले पछिल्लो समय बैंकहरूले प्रवाह गरेको ऋण उठाउन पनि चुनौती देखिएको बताए।  – रासस

रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै

काठमाण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे जानकारी दिन हिजो र आज २ दिन रास्वपाले ललितपुरको एक होटलमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण तथा संसदीय समितिहरूको भूमिकालगायतका विषयमा केन्द्रीत छ । त्यस्तै चुनावका बेला नागरिकसँग गरिएको प्रतिबद्धता तथा अब गर्नुपर्ने काम र प्राथमिकताबारे बहस केन्द्रित छ ।

संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद् तथा अर्थविद्हरूले पनि अभिमुखिकरण कार्यक्रममा सहजिकरण गरेका छन् । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले झन्डै दुई तिहाइ बहुमतको विश्वास जोगाउँदै नागरिकको भरोसा कायम राख्नुपर्नेमा जोड गरेका छन् ।

कार्यक्रमको पहिलो दिन हिजो पार्टी सभापति रवी लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उपस्थित हुनु भएन । आज भने दुवै नेता कार्यक्रममा उपस्थित हुने रास्वपाले जनाएको छ । अभिमुखिकरण कार्यक्रम आज सकिनेछ ।

एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क

काठमाण्डौ- एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले नेपाललाई तीन अङ्क दिएको छ । एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडले मलेसिया फुटबल सङ्घलाई अयोग्य खेलाडी खेलाएको ठहर गर्दै कारबाही गरेको हो ।

एएफसी एसियन कप सन् २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामसँगको खेलमा मलेसियाले नियम उल्लङ्घन भएको निष्कर्ष निकालेको छ । अब दुवै खेलमा नेपाल र भियतनामले ३–० को प्राविधिक जीत पाउने भएका छन् ।

यसअघि मलेसियाले नेपाललाई २–० र भियतनामलाई ४–० ले हराएको थियो । तर नयाँ निर्णयसँगै समूहको समीकरण नै फेरिएको छ । यो निर्णयपछि नेपाल राष्ट्रिय फुटबल टोलीले पाँच खेलबाट पहिलो जीतसहित तीन अङ्क जोडेको छ ।

समूह एफमा नेपालको अङ्कतालिकामा सुधार आएको छ । यस्तै, इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना पनि गरेको छ ।

 

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ- आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा २ हजार २ सय र चाँदी १ सय ८५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ रहेको थियो ।

खाना पकाउने एलपीजी ग्यासको नियमनलाई प्रभावकारी बनाउने प्रदेश सरकारको निर्णय

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले बजार आपूर्ति व्यवस्थापन तथा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपीजी ग्यासको नियमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

बुधबारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले अत्यावश्यक वस्तुको सहज आपूर्ति, मूल्य नियन्त्रण, गुणस्तर र उपभोक्ता अधिकार संरक्षणलाई केन्द्रमा राख्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।

बैठकले डिजेल, पेट्रोल, एलपीजी ग्यास लगायत अत्यावश्यक वस्तुको आपूर्ति, मूल्य, गुणस्तर र शुद्धताको सुनिश्चितताका लागि सम्बन्धित निकायमार्फत नियमित सुपरिवेक्षण तथा बजार अनुगमन गर्ने निर्णय गरेको छ।

उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनअनुसार गठन भएका अनुगमन समिति र संयन्त्रलाई सक्रिय बनाउँदै अनुगमन कार्यलाई कडाइका साथ अघि बढाइने जनाइएको छ। साथै, सरकारी निकायलाई व्यवसायिक संघसंस्था, व्यवसायी तथा उपभोक्तावादी सङ्गठनहरूले आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने विषयमा समेत जोड दिइएको छ।

बैठकले पेट्रोलियम पदार्थ तथा ग्यास उत्पादक र वितरकहरूलाई कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने तथा बढी मूल्यमा बिक्री गर्ने जस्ता गतिविधि नगर्न सचेत गराउने निर्णय गरेको छ। यस्ता अवैध गतिविधिमा संलग्न पाइएमा सम्बन्धित निकायले कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

त्यस्तै, अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने, बढी मूल्य असुल गर्ने वा कालोबजारी गर्ने जो–कोहीलाई पनि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने निर्णय गरिएको छ। यसका लागि अनुगमन निकायलाई थप सक्रिय र जिम्मेवार बनाउन निर्देशन दिइएको छ।
बैठकले पेट्रोलियम पदार्थ तथा ग्यासको मितव्ययी प्रयोग, खपत न्यूनीकरण तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ। यसका लागि सम्बन्धित निकायहरूले जनचेतनामूलक सूचना तथा सन्देशहरू प्रवाह गर्ने जनाइएको छ।

सरकारले हाल पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै सर्वसाधारणलाई अनावश्यक हल्ला वा त्रासमा नपर्न आग्रह गरेको छ। आपूर्ति व्यवस्था सहज रहेको र सरकारी निकायहरूले नियमन कार्य प्रभावकारी रूपमा गरिरहेको जानकारी पनि बैठकमार्फत दिइएको छ।

उक्त बैठकमा विभिन्न विभागीय सचिवहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना, सशस्त्र प्रहरी बलका निमित्त नायब महानिरीक्षक दीगविजय सुवेदी, अनुसन्धान निर्देशक किशोर चन्द, नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मनोहर डि.सी, सुदूरपश्चिम प्रदेश पेट्रोलियम डिलर्स सङ्घका प्रतिनिधि, कैलाली उद्योग वाणिज्य सङ्घ, ग्यास डिलर्स एसोसिएसन, सैपाल ग्यास प्रा.लि। तथा वाणिज्य आपूर्ति कार्यालयका प्रतिनिधिहरू लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलालीः कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो।

कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब सात करोड ५९ लाख, अन्तःशुल्कतर्फ १० करोड ५६ लाख र अन्यतर्फ एक अर्ब २१ करोड ६६ लाख राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए।  उहाँका अनुसार कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ। आठ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको उनले जानकारी दिए।

चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन। कार्यालयले साउनमा ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख, भदौमा ७४ करोड २१ लाख लक्ष्य रहेकामा ५३ करोड ७० लाख, असोजमा ७६ करोड ७७ लाख लक्ष्य रहेकामा ६७ करोड ७८ लाख र कात्तिकमा ८४ करोड ६७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७२ करोड ५४ लाख मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए।

यस्तै मङ्सिर महिनामा ७८ करोड ३३ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा ६८ करोड ९१ लाख, पुसमा ८१ करोड २५ लाख लक्ष्य रहेकामा ७४ करोड ६५ लाख, माघमा ७६ करोड नौ लाख लक्ष्य रहेकामा ६८ करोड ८२ लाख र फागुन महिनामा ७७ करोड १४ लाख लक्ष्य रहेकामा रु ७६ करोड ४४ लाख मात्रै राजस्व सङ्कलन भएको उनले जानकारी दिए। गत आर्थिक वर्ष २०८१÷८२ मा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको थिएन्। गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले बताए। यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो।

पाकिस्तानको हवाई आक्रमणले काबुल अस्पतालमा ४ सयको मृत्यु, २५० घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानको वायुसेनाले एक लागूऔषध दुव्र्यसनी उपचार अस्पताललाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ। अफगान अधिकारीहरूले कम्तीमा ४ सय व्यक्तिको मृत्यु र करिब २५० घाइते भएको पुष्टि गरेका छन्।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सोमबार सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा अस्पतालमा राति करिब ९ बजे भएको आक्रमणले २ हजार शय्याको ओमिद एडिक्सन ट्रिटमेन्ट अस्पताललाई ध्वस्त पारेको जानकारी दिएका छन्। उनले हताहत हुनेको संख्या अझै बढ्न सक्ने चेतावनीसमेत दिएका छन्।

पाकिस्तानले भने आक्रमणलाई खण्डन गर्दै अफगानिस्तानमा आतंकवादी पूर्वाधार र सैन्य प्रतिष्ठानलाई लक्षित गरिएको बताएको छ। पाकिस्तानका सुरक्षा अधिकारीहरूले काबुल र नान्गाहार प्रान्तमा गोलाबारुद भण्डारण र प्राविधिक उपकरणको लक्ष्यमा सटिक हवाई कारवाही गरिएको दाबी गरेका छन्।

गत महिनाको अन्त्यदेखि सीमा क्षेत्रमा सुरु भएको झडपपछि अफगान–पाकिस्तान तनाव तीव्र बढेको छ। दुवै पक्षका अधिकारीहरूले दर्जनौँ नागरिक र सैनिक मारिएका र घाइते भएको जानकारी दिएका छन्।

विशेषज्ञहरूले यस घटनालाई क्षेत्रीय सुरक्षा र मानवअधिकारका दृष्टिले गम्भीर चेतावनीको रूपमा मूल्याङ्कन गरेका छन्।

 

“सेवा प्रवाह, शासकीय सुधार र भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा”

काठमाडौं । सुशासन मार्गचित्र अध्ययन समितिले शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको छ । जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न समिति तयार भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखा हेर्ने सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले मुख्यसचिव सुमनराज अर्याललाई भेटेर प्रतिवेदन बुझाएको हो ।

समितिको सदस्य सचिवको जिम्मेवारीमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव भीष्म भूसालका अनुसार, जेनजी आन्दोलनले उठाएको सुशासन र भ्रष्टाचार नियन्त्रणको माग सम्बोधन गर्न सुधार गर्नुपर्ने विषयमा समितिले अध्ययन गरेको थियो ।

‘हामीले ५ सयभन्दा बढी व्यक्ति एवं विभिन्न सरोकारवालाहरूसँग छलफल गर्‍यौं । सातवटा शासकीय संवादहरूबाट आएका सल्लाह र सुझाव अनुसार प्रतिवेदन तयार गरेका हौं,’ भूसालले भने, ‘विभिन्न क्षेत्रहरूलाई १४ वटा क्लष्टरमा विभाजित गरी गर्नुपर्ने सुधारका बारेमा प्रतिवेदन तयार गरेका छौं ।’

अध्ययन प्रतिवेदनमा सुधार गर्नुपर्ने क्षेत्रलाई पहिचान गरी एक हजार ७६५ वटा क्रियाकलाप समावेश गरिएको भूसालले बताए । उनका अनुसार, विभिन्न राजनीतिक दलहरूले घोषणापत्रमा समावेश गरेको विषयवस्तु, चासो एवं सरोकारहरूलाई पनि प्रतिवेदनमा विश्लेषण गरिएको छ । त्यसैगरी व्यवस्थापिका र न्यायप्रशासन सुधारको विषयमा पनि सुझावहरू समावेश गरिएको छ ।

मुख्यसचिव सुमनराज अर्यालले अब गठन हुने सरकारलाई प्रतिवेदन बुझाउनेछ । र, नयाँ सरकारले प्रतिवेदन अध्ययन गरी प्राथमिकताका आधारमा त्यसको कार्यान्वयन गर्नेछ ।

सहसचिव भूसालले थप भने, ‘सेवा प्रवाहको छरितोपन, विद्युतीय शासनप्रणाली र भ्रष्टाचार नियन्त्रणको विषयलाई मुलभूत रुपमा प्राथमिकतामा राखिएको छ ।’

अध्ययन समितिले तीन तहको सरकारविचको समन्वय, सहकार्य र सहअस्थित्वको अभावलाई सुधार हुनुपर्ने भनी औंल्याएको छ । तीन तहको अधिकारको स्पष्ट कार्यविभाजन सहित कानुनी सुधार, सक्रियता र नियमित अन्तरसरकारी समन्वयमा जोड दिएको छ ।

संघीय सरकारबारे प्रतिवेदनमा भनिएको छ, ‘सेवा प्रवाहलाई सरलीकृत र प्रविधिमैत्री बनाउने, एकद्वार सेवा प्रणाली विस्तार गर्ने, सार्वजनिक सेवाका एकीकृत मापदण्ड लागू गर्ने तथा प्रदेश र स्थानीय तहको संस्थागत तथा प्राविधिक क्षमता सुदृढ गर्ने रणनीतिहरू प्रस्ताव गरिएको छ ।’

अध्ययन समितिले प्रदेश तहमा संघीय कानुनहरूको अभावलाई प्रमुख समस्या मानेको छ । कर्मचारी व्यवस्थापनको जटिलता, वित्तीय परनिर्भरता र कमजोर प्रशासनिक क्षमताका कारण प्रदेश सरकारले ‘डेलिभरी’ दिन नसकेको समितिको निष्कर्ष छ ।

अध्ययन समितिले भनेको छ, ‘प्रदेश सरकारप्रति जनअपेक्षा पूरा गर्न संस्थागत पुनर्संरचना, प्रशासनिक क्षमता विकास, वित्तीय अनुशासन, डिजिटल शासन र अन्तरसरकारी समन्वय गरी रूपान्तरण गर्नु आवश्यक छ ।’

अध्ययन समितिले स्थानीय सरकारलाई सेवा प्रवाहको प्रक्रियागत जटिलतामा अलमलिएको भनी टिप्पणी गरेको छ । सेवा मापदण्डमा असमानता, डिजिटल पूर्वाधारको कमी र राजनीतिक प्रभावका कारण प्रशासनिक निर्णयमा विकृति देखिएको भन्दै उसले स्थानीय सरकारमा संघ र प्रदेश सरकारबाट हुने हस्तक्षेप रोक्नुपर्ने सुझाव दिएको हो ।

तर केही स्थानीय सरकारहरूले राम्रो र उदाहरणीय अभ्यास गरेको भन्दै अध्ययन समितिले ती राम्रा कामलाई अन्यत्र पनि कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको छ ।

समितिले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यसको कार्यान्वयनवाट स्थानीय सरकारलाई नागरिकको वास्तविक ‘पहिलो सरकार’ का रूपमा प्रभावकारी बनाउँदै पारदर्शी, उत्तरदायी र परिणाममुखी सेवा प्रवाह सुनिश्चित गर्न सकिन्छ ।’

राजनीतिक अस्थिरता, सुधारप्रति नेतृत्वको कमजोर अपनत्व र ढिलासुस्तीले राजस्व प्रणाली र बजेट व्यवस्थापनमा सुधार हुन नसकेको भन्दै अध्ययन समितिले आर्थिक प्रशासनमा केही गम्भीर संरचनागत समस्याहरु रहेको औल्याएको हो ।

बजेट प्रणालीमा यथार्थपरक योजना र स्रोत व्यवस्थापन भन्दा पनि वितरणमुखी कार्यक्रमले प्राथमिकता पाएको भन्दै उसले बजेट अनुशासन अत्यन्त कमजोर रहेको औल्याएको हो । क्षमताभन्दा बढी राजस्व अनुमान गरेर बजेटको आकार बढाउने प्रवृतिले वित्तिय अनुशासन कमजोर भएको भन्दै उसले त्यसमा सुधार गर्नुपर्ने सुझाव दिएको हो ।

प्रधानमन्त्री नियुक्त अब १५ चैतभित्र मात्रै

काठमाडौं ।  पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथपछि मात्रै सरकार बनाउने रास्वपाको योजनापछि नयाँ सरकार गठन केही दिन पछाडि धकेलिएको छ । कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । तर, रास्वपाले पहिला संसद् सदस्यको शपथ लिएपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ ।

२१ फागुनको निर्वाचनपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । यद्यपि, यसको औपचारिक प्रक्रिया भने सुरु भइसकेको छैन । यसअघि १० चैतभित्र नयाँ सरकार बन्न सक्ने बताइएको थियो । तर, सांसदको शपथपछि निर्माण गर्ने रास्वपाको तयारीपछि कम्तीमा १३ चैतअगाडि प्रधानमन्त्री नियुक्त नहुने निश्चित भएको छ ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले १२ चैतमा सांसदहरूको शपथ गराउने गरी सरोकारवाला पक्षसँग छलफल भइरहेको बताए । त्यसअघि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले ५ चैतको अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बुझाउँदै छ । आयोगका प्रवक्ता नारायण भट्टराईले ५ चैतमा समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरेर राष्ट्रपतिसमक्ष अन्तिम मतपरिणाम प्रतिवेदन पेस गरिने बताए । यसका लागि राष्ट्रपति कार्यालयसँग समय लिइसकिएको छ ।

आयोगले अन्तिम परिणाम प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा सरकार गठनको प्रक्रिया प्रारम्भ हुने कानुनी व्यवस्था छ । प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नेछन् । राष्ट्रपतिसमक्ष पेस गरेको प्रतिवेदन संसद् सचिवालय पुग्नेछ । प्रतिवेदन प्राप्त गरेपछि सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथग्रहणको औपचारिक तयारी थाल्नेछ । संसद् सचिवालयले सरकार र प्रमुख दल (रास्वपा)सँग सांसदहरूको शपथका सम्बन्धमा छलफल गरिरहेको छ । ‘हामीले १२ चैतमा शपथ राख्ने गरी सरोकारवाला पक्षसँग छलफल अगाडि बढाएका छौँ । सम्भवतः सोही मितिमा माननीयज्यूहरूको शपथ हुन्छ । शपथपछि मात्रै अधिवेशन आह्वानको प्रक्रिया अगाडि बढ्ला,’ संसद् सचिवालयका महासचिव पाण्डेयले भने ।

कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सरकार गठन प्रक्रिया अगाडि बढ्छ । यद्यपि, सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । सरकार गठनमा शपथ प्रधान हुँदैन । तर, रास्वपाले प्रक्रियाअनुसार पहिला संसद् सदस्यको शपथ लिने र त्यसपछि सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ ।

संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । अर्थात् प्रधानमन्त्री नियुक्ति हुन सांसदको शपथ लिनुपर्ने उल्लेख छैन । धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ गराएपछि संसदीय दलको नेता चयन तथा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढ्ने स्पष्ट गरे । उनले संसद् सचिवालयसँग सल्लाह गरेर शपथ मिति र सरकार गठन प्रक्रिया अगाडि बढाइने बताए । ‘संसद् सचिवालयले सांसदहरूलाई शपथ गराएपछि संसदीय दलको बैठक बस्छ । संसदीय दलको नेता चयन हुन्छ । त्यसैले शपथभन्दा अगाडि प्रधानमन्त्री नियुक्ति हुँदैन । शपथअगाडि जानैपर्ने अहिले विशेष परिस्थिति पनि छैन,’ उनले भने, ‘सामान्य परिस्थितिमा शपथपछाडि नै प्रधानमन्त्री हो । सामान्य परिस्थितिलाई नै अगाडि लैजान चाहन्छौँ । यस विषयमा सभापति र वरिष्ठ नेताको सल्लाह भएको छ ।’

महामन्त्री बुर्लाकोटीका अनुसार १२ चैतमा सांसदको शपथ भए १३ मा वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरिनेछ । त्यसको जानकारी राष्ट्रपतिलाई गराइनेछ । त्यसपछि राष्ट्रपतिले सोही दिन वा भोलिपल्ट १४ चैतमा प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । यो हिसाबले हेर्दा देशले १५ चैतभित्र नयाँ सरकार पाउन सक्ने रास्वपाका नेताहरू बताउँछन् । रास्वपा प्रवक्ता मनीष झाले पनि सरकार गठनमा केही समय लाग्ने बताए । ‘कम्तीमा सरकार गठन हप्ता–दश दिनयता सम्भव छैन,’ उनी भन्छन् । प्रवक्ता झाले केन्द्रीय समितिको बैठक आउँदो आइतबारसम्म बस्न सक्ने र त्यसले विधानमा आवश्यक परिमार्जन हुन सक्ने बताए ।

कवीन्द्र बुर्लाकोटी, महामन्त्री, रास्वपा
संसद् सचिवालयले सांसदहरूलाई शपथ गराएपछि संसदीय दलको बैठक बस्छ । संसदीय दलको नेता चयन हुन्छ । त्यसैले शपथभन्दा अगाडि प्रधानमन्त्री नियुक्ति हुँदैन । शपथअगाडि जानैपर्ने अहिले विशेष परिस्थिति पनि छैन । सामान्य परिस्थितिमा शपथपछाडि नै प्रधानमन्त्री हो । सामान्य परिस्थितिलाई नै अगाडि लैजान चाहन्छौँ । यस विषयमा सभापति र वरिष्ठ नेताको सल्लाह भएको छ ।

इरान शीर्ष सुरक्षा अधिकारी लारिजानी मारिए

काठमाडौं १७ मार्च 

इरान र इजरायलबीचको तनाव थप चर्किँदै जाँदा इरानले आफ्नो एक शीर्ष सुरक्षा अधिकारी अली लारिजानीको मृत्यु पुष्टि गरेको छ।

इजरायलले केही घण्टा अघि उनलाई लक्षित आक्रमणमार्फत “समाप्त गरिएको” दाबी गरेको थियो।

इरानका प्रभावशाली निर्णयकर्तामध्ये गनिने लारिजानीको मृत्युले क्षेत्रीय शक्ति सन्तुलनमा ठूलो असर पर्ने विश्लेषण गरिएको छ। यसैबीच, इरानको अर्धसैनिक बल ‘बासिज’ का प्रमुख पनि मारिएको पुष्टि भएको छ।

शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन

काठमाण्डौं, ४ चैत ।
हालै काठमाण्डौंमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताको महाधिवेशनबाट हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै उपाध्यक्ष पदमा रोशन थापा (जाम्बिया)बुद्धि सुबेदी (अमेरिका), चिन्ता मणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके र टंकप्रसाद गैरे (जापान) तिलक गैरे(पोर्तुगल, बिश्व दीप तिगिला (यूके), सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन भएका छन्।

महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेश कुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) निर्विरोध निर्वाचित भएका छन्।

सचिव पदमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), मोहम्मद मुक्तदा मु (कतार), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान) यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानी प्रसाद तिमल्सिना (युएई), रमेश भट्ट (कतार)सर्वसम्मत रूपमा चयन भएका छन्।

महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार)बिमल सुबेदी (कतार) तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन्।

महिला संयोजकमा रश्मी थापा (क्यानडा) र युवा संयोजकमा नवीन निउरे (जापान) निर्विरोध भएका छन्।

क्षेत्रीय संयोजकहरूतर्फ अफ्रिकामा मनोज बी.के. (सेशेल्स), अमेरिकामा भुवन खरेल (क्यानडा), एसिया–प्रशान्तमा दीपक प्रसाद कँडेल (जापान), युरोपमा रोबोट लिम्बु (पोर्चुगल), मध्यपूर्वमा रमेश श्रेष्ठ (यूएई) र ओसियानियामा रमेश जोशी (अष्ट्रेलिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

त्यसैगरी अमेरिका क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा नेत्र पाण्डे र सम्राट थापा सर्वसम्मत रूपमा विजयी भएका छन्।

यसैगरी, एशिया प्यासिफिक क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा भविन्द्र बस्नेत (थाइल्याण्ड), छत्र बहादुर दाहाल (जापान) र लाल सिंह खड्का (कम्बोडिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

युरोप क्षेत्रका उप-क्षेत्रीय संयोजक पदमा बेलायतका तिलक राम भट्टराई सर्वसम्मत रूपमा चयन हुनु भएको छ।

मध्यपूर्व क्षेत्रका उप-क्षेत्रीय संयोजकमा ओमनका बिकाल झा, यूएईका बिकास शाही र विष्णु लाल श्रेष्ठ, साथै कतारका करिम बक्स मिया सर्वसम्मत निर्वाचित भएका छन्।

ओसियाना क्षेत्रका उप-क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका छबी प्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले निर्वाचित भएका छन्।

एशिया प्यासिफिक, युरोप, मध्यपूर्वका अफ्रिका, अमेरिका र ओसियनिया क्षेत्रमा महिला संयोजक पदका उम्मेदवारहरूमा संगीता अधिकारी (जापान), बाबा (राजेश्वरी) थापा (अस्ट्रिया), सरिता भण्डारी (कतार) लगायतका निर्वाचित भएका छन्।

उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) र मध्यपूर्वका लागि मञ्जु मल्ल (यूएई) निर्विरोध भएका छन्। एशिया प्यासिफिक उप-क्षेत्रीय युवा संयोजकमा राम थापा (जापान),यूरोप उप-क्षेत्रीय युवा संयोजक शिव सागर बुढथोकी (पुर्तुगल) र मध्य पूर्वमा सुजन सापकोटा (यूएई) तथा उप-क्षेत्रीय युवा संयोजकमा ओमन गौचन (यूके) र बासुदेव सापकोटा (साउदी अरेबिया) निर्विरोध भएका छन्। त्यसैगरी, दोस्रो पुस्ताका संयोजकमा दीपमाला ढकाल (हङकङ) निर्विरोध निर्वाचित भएकी छन्।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)  को प्रवक्तामा सोम सापकोटालाई मनोनित गरिएको छ ।

सुदूरपश्चिमका डिआईजी पाल र सिंहको एक वर्ष पदावधि थप

काठमाडौं, ४ चैत । सरकारले सशस्त्र प्रहरीका दुई जना नायव महानिरीक्षक (डीआईजी) को पदावधि एक वर्ष थप गरेको छ ।

सरकारले सशस्त्र प्रहरीका डिआईजी प्रदीप कुमार पाल र लक्ष्मणबहादुर सिंहको पदावधि एक वर्ष थप गरेको हो ।

यसअघि सशस्त्र प्रहरी बल मुख्यालयले चार जना डीआईजीको पदावधि थपका लागि गृह मन्त्रालयमार्फत सिफारिस गरेको थियो। चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले भने प्राविधिक समूहका दुई जनाको मात्रै म्याद थप गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज छुटेका अन्य दुई जना—साधारण समूह–साधारण उपसमूहका डीआईजी पाल र सिंहको पनि एक वर्ष पदावधि थप गर्ने निर्णय गरिएको हो। हाल सिंह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत छन् भने पाल सशस्त्र प्रहरी बलको कार्य विभागमा कार्यरत छन्।

चारै जना डीआईजी २०७८ साल चैत ६ गते बढुवा भएका थिए। बढुवा समितिले २०७८ फागुन २७ गते उनीहरूको नाम सिफारिस गरेको थियो। चार वर्षे पदावधि अनुसार उनीहरूको कार्यकाल चैत ५ गते सकिँदै थियो।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ (ग) अनुसार डीआईजी र एआईजीको पदावधि चार वर्षको हुने व्यवस्था छ। सोही दफाको उपनियम (२) मा भने महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले थप एक वर्ष पदावधि बढाउन सक्ने प्रावधान रहेको छ।

पदावधि थपसँगै पाल र सिंह आगामी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका प्रमुख दाबेदारका रूपमा समेत हेरिएका छन्। पाल र सिंह दुबै जना सुदूरपश्चिका बासिन्दा हुन् ।

खोज्नुहोस