पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा

काठमाण्डौं, २६ चैत ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । प्रहरीले हाजिर जमानीमा लेखक र ओलीलाई रिहा गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले सर्वोच्च अदालतको आदेशअनुसार ओलीलाई पत्नी राधिका शाक्य र लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर छाडिएको बताए ।

ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हिरासतमा राखेको कुरालाई ‘कानुन प्रतिकूल भन्न नमिल्ने’ उल्लेख गरे पनि म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गरी सोही अनुसार गर्न आदेश दिएको थियो ।

‘सो हुन नसकेमा तेस्रो पटक म्याद थप भएको अवधिको उपरान्त ओली र लेखकलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान कार्य सम्पन्न गर्न’ आदेशमा उल्लेख थियो ।

अदालतले ओली, लेखकको बयान र अनुसन्धानका अन्य कार्यसमेत सम्पन्न भइसकेको मिसिलबाट देखिएको समेत उल्लेख गरेको थियो । र, छानबिन समितिले कारबाही सिफारिस गरेकामध्ये तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत खोजी भएका बेला उपस्थित हुने गरी छाडिएको उल्लेख गरिएको थियो ।

संसदको दुबै सदनको चालु अधिवेशन भोलि रातिबाट अन्त्य

काठमाडौं- संघीय संसदको दुबै सदनको चालु अधिवेशन भोलि (शुक्रबार) बाट अन्त्य हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम भोलि राति १२ बजेबाट लागू हुने गरी संसदको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्ती जारी गर्दै संसदको चालु अधिवेशन अन्त्य हुनेबारे जानकारी गराएका हुन्।

null

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र सहसचिव पोखरेलसहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

काठमाण्डाै- विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहित २८ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा, पोखरेल तथा महराका छोरा राहुलसहित २८ जना र एउटा कम्पनीलाई प्रतिवादी बनाएको छ । अख्तियारले उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

२०७९ साल पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको पाइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

अनुसन्धानका क्रममा भेपमा भित्रिएको सुन भारतकाे महाराष्ट्रका नन्दुकुमार राण्डुराम मर्गलेको भएको खुलेको थियो । चीनबाट भित्र्याएर दावाजिन वाङले भारतीय नागरिकसम्म तस्करीको सुन लैजाने योजना बनाए पनि सेटिङ बिग्रिएर यसको रहस्य बाहिरिएको थियो ।

माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय महरा शान्ति प्रक्रियापछि निरन्तर सत्ता–शक्तिमा छन् । २०६३ सालमा बनेको अन्तरिम सरकारमा मन्त्री बनेका महरा पछि उपप्रधानमन्त्रीसहित अर्थ, गृह, परराष्ट्रजस्ता शक्तिशाली मन्त्रालय सम्हाल्दै सभामुख पनि बनेका थिए ।

पहिलो संविधानसभा चुनावलगत्तै चिनियाँसँग ‘नेपालमा सांसद खरिद–बिक्रीका लागि’ रकम मागेको भनिएको अडियो सार्वजनिक भएपछि महरा विवादमा तानिएका थिए । यस्तै २०७४ सालमा प्रतिनिधिसभाको सभामुख बनेका उनले संसद् सचिवालयमै कार्यरत एक महिलामाथि बलात्कार गरेको आरोपमा बालुवाटारमा रहेकाे सभामुख निवासबाटै पक्राउ परेका थिए ।

लेबनानमा इजरायलको आक्रमणमा २०३ जनाको मृत्यु, हजार बढी घाइते

काठमाडौं- लेबनानमा इजरायलको आक्रमणमा २०३ जनाको मृत्यु भएको छ भने एक हजार बढी घाइते भएका छन् । इरानले लेबनानमाथि भइरहेको इजरायली आक्रमणलाई अमेरिका–इरान युद्धविराम सम्झौताको गम्भीर उल्लंघन भन्दै आएको छ ।

यता, इजरायलले बुधबार नै स्पष्ट पारेको थियो कि लेबनान युद्धविरामको हिस्सा होइन । तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भने लेबनानमा पनि युद्धविराम लागू हुने बताएका थिए । इजरायलले रातभर लेबनानमा हिज्बुल्लाहका विभिन्न स्थानहरूमा आक्रमण गरेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायल डिफेन्स फोर्सेसले हिज्बुल्लाह नेता नईम कासिमका व्यक्तिगत सचिव अली युसुफ हार्शी (जो उनका भतिजा पनि हुन्) लाई मारिएको दाबी गरेको छ । इजरायल डिफेन्स फोर्सेसका अनुसार लितानी नदीमाथिका दुई वटा पुलहरूलाई पनि निशाना बनाइएको छ । पछिल्ला हप्ताहरूमा यस नदीलाई बारम्बार निशाना बनाइँदै आएको छ, जसका कारण दक्षिणी लेबनान धेरै हदसम्म अलग्गिएको छ ।

प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत

काठ्माण्डौ- प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन्।

आफ्नो विभागीय जिम्मेवारी निर्वाह गर्ने क्रममा अपेक्षित गम्भीरता नदेखाएको निष्कर्षसहित प्रधानमन्त्री शाहले उनलाई सचेत गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर विषयमा पदीय दायित्व पूरा गर्न नसकेको भन्दै मन्त्री मेहतालाई सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

सभापति लामिछानेको लिखित सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई विभागीय कामकारबाहीमा गम्भीर बन्न सचेत गराएका हुन्।

श्रम मन्त्री दीपक साह पदमुक्त

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए।

सोही सिफारिस र आधारमा श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्। रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ। साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।

श्रम मन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन बालेनलाई रविको पत्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।

सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेर साहलाई जिम्मेवारी बाट अलग गराउन भनेका हुन् ।

‘पार्टीको विधानको धारा २५(४) (क)ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारी अलग गर्नका साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु’ लामिछानले बालेनलाई लेखेको सिफारिस पत्रमा उल्लेख छ ।

रास्वपाले मन्त्री साहले पदीय पर्यादा दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने गरेको पाइएको बताएको छ ।

पार्टीको अनुशासन आयोगले पनि मन्त्रीले पदीय मर्यादाविपरीत कार्य गरेको ठहर गरेको लामिछानेले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

४८ अंक बढ्यो सेयर बजार

काठमाडौं । बिहीबार सेयर बजार ४८.७१ अंक बढेको छ । अघिल्लो दिन ४५.१२ अंक बढेको बजार आजको वृद्धिपछि २८५१ अंकमा पुगेको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको भयो ।

२५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने एकको स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो । यो समूहमा रहेका दुई ठूला कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य उच्च दरले बढ्दा समग्र समूहगत सूचकलाई टेवा पुग्यो । आज हिमालयन रिको मूल्य ७.५३ प्रतिशत तथा नेपाल पुनर्बीमाको ५.३३ प्रतिशत बढेको छ ।

त्यस्तै बैंकिङ समूह १.२४, विकास बैंक ०.७८, फाइनान्स १.४७, होटल तथा पर्यटन २.३९, हाइड्रोपावर २.७०, लगानी १.००, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन २.५८, माइक्रोफाइनान्स १.२०, निर्जीवन बीमा १.०० तथा व्यापार समूह ०.६२ प्रतिशत बढे ।

८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आत्मनिर्भर लघुवित्त, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् । त्यस्तै हिमस्टार ऊर्जाको मूल्य ९.६४ प्रतिशत बढ्यो ।

स्वेत गंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै २.५५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिडी पावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एसवाई प्यानल छन् ।

उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारीलाई रास्वपाको समर्थन

काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ । श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

कुमारीलाई सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समर्थन गर्ने निर्णय गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन गर्ने जानकारी पत्रकारहरूलाई दिएका थिए ।

उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् । संसद सचिवालयले उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकेको थियो ।

पिएम कप : आर्मीले सुदूरपश्चिमलाई हरायाे

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभूवन आर्मी क्लब विजयी भएको छ।

जनकपुरमा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई हराएको हो।

राप्रपाकी सांसद लामाले दिइन् उपसभामुखमा उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुखमा उम्मेदवारी दिएकी छन्।

संसदीय संसद् सचिवालयमा पुगेर लामाले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्ताव राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही रहेका छन् । लामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी हुन् ।

उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद भएकी हुन् ।

मेरो रिहाइका लागि प्रदर्शन गर्दा घाइतेहरूको उपचार राज्यले नगरे पार्टीले गर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हिरासतमा हुँदा रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएकामाथि राज्यले दमन गरेको आरोप लगाएका छन् । १३ दिनपछि रिहा भएका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिहाइको लागि प्रदर्शनमा उत्रिँदा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै यस्तो बताएका हुन् ।

उनले घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने र राज्यले नगरे नेकपा एमालेले गर्ने पनि बताएका छन् । ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भनेका छन्, ‘उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।’

त्यस्तै ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन् । उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको पनि बताएका छन् ।

‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

उनले प्रहरीको नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी, प्रशासन तथा स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको पनि उल्लेख गरेका छन् ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा

काठ्माण्डौ- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी ‘लाइसेन्स’ छपाइ भइरहेको छ।

उनले लाइसेन्स  छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख लाइसेन्सलाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको बताए। यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ भने बाँकी १७ लाख लाइसेन्स छपाइ प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई ‘लाइसेन्स’ छपाइमा अवरोध आउन नदिन तथा छिटोभन्दा छिटो सबै बाँकी लाइसेन्स छाप्न निर्देशन दिएका छन्। मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनामा समेत यो विषयलाई प्राथमिकताका साथ राखेको छ।

मन्त्रिपरिषद्को यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना अघि बढाइएको हो।

यसैबीच, सेवाग्राहीलाई थप सहजताका लागि यातायात व्यवस्था विभागले दैनिक रूपमा छपाइ भएका तथा वितरण गरिने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ। यसले सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सहज रूपमा जानकारी लिन सहयोग पुर्‍याउनेछ।

त्यस्तै, छपाइ सम्पन्न भएका लाइसेन्स हुलाक सेवामार्फत जतिसक्दो चाँडो देशभरका विभिन्न यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। यसले वितरण प्रक्रियालाई समेत व्यवस्थित बनाएको छ । यही गतिमा काम अघि बढ्ने हो भने लामो समयदेखि थाँती रहेको लाइसेन्स वितरणको समस्या निकट भविष्यमै पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ।

कलाकार ‘बले’विरुद्ध न्यूयोर्क प्रहरीमा उजुरी

काठमाडौं- कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् ।

ती युवतीले मंगलबार प्रहरीमा जाहेरी दिएको काका नाता पर्ने परिवारका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । ती छात्रा न्यूयोर्कको क्विन्समा बस्दै आएकी छिन् ।

त्यहाँस्थित अपार्टमेन्टमा ‘बले’ले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै ती युवतीले फेसबुकमा स्टाटस लेखेकी थिइन् । उनको स्टाटसपछि शनिबार प्रहरीले बलेलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

अहिले अभद्र व्यवहारको मुद्दामा बलेलाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थपेर हिरासतमा राखिएको छ । अभद्र व्यवहारमा सीडीओले बढीमा २५ दिन हिरासतमा राख्न सक्ने प्रावधान छ ।

ती छात्राले आफैंले प्रहरीकहाँ उजुरी दिएको उनको परिवारका सदस्यले बताए । ‘उजुरीपछि नानीलाई अहिले प्रहरीले विशेष निगरानी गरिरहेको छ । सरकारी वकिल, चिकित्सक पनि दिएको छ । सोसल वर्क सुविधा पनि उपलब्ध गराइएको छ । प्रहरीकै निगरानीमा उनको स्वास्थ्यको टेक केयर भैरहेको छ’ ती सदस्यले भने ।

‘घटनास्थल अमेरिकामा र आरोपित नेपालमा भएकाले, अनुसन्धान प्रक्रिया कसरी अघि बढाउने, कता जाहेरी दिने भन्ने परामर्श गर्दागर्दै हामीलाई ढिला भयो’ ती सदस्यले भने, ‘अब अमेरिकाको प्रहरीले नेपाल प्रहरीसँग मिलेर अनुसन्धान प्रक्रिया अघि बढाउला र समन्वय गर्ला भन्ने प्रतीक्षामा छौं ।’

उनले भने, ‘सुरुमा यता गर्ने कि उता गर्ने भन्ने कुरा आइरहेको थियो । परामर्श गर्दागर्दै ढिला भयो । नानीले उता गर्ने निर्णय गरेपछि हामीले पनि सहमति जनाएका हौं ।’

नेपालमा भने जाहेरी दिने वा नदिने भन्ने कुरा निश्चित नभैसकेको पीडित छात्राको परिवारका ती सदस्यले बताए ।

भारतीय समकक्षीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल मौरिसस जाँदै

काठ्माण्डौ- परराष्ट्रमन्त्री शिशिर खनाल नवौँ हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्न आज मौरिससको पोर्ट लुइस प्रस्थान गर्दै छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।

१० अप्रिल (शुक्रबार) देखि १२ अप्रिल (आइतबार) सम्म चल्ने यस सम्मेलनलाई इन्डिया फाउन्डेसनले मौरिसस सरकारसँगको सहकार्यमा आयोजना गरेको हो। यस वर्षको मुख्य नारा ‘कलेक्टिभ स्टेवार्डसिप फर इन्डियन ओसन गभर्नेन्स’ रहेको छ।

सम्मेलनका क्रममा परराष्ट्रमन्त्रीले हिन्द महासागरको शासन, हिमाल र समुद्रको पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्त्वबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्नेछन्। उनले सम्मेलनका क्रममा विभिन्न देशका आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ।

मन्त्री खनाल १३ अप्रिल (सोमबार) स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

गलत नम्बरमा गरेको फोन कलले लियो दाजुभाइकै ज्यान

ललितपुर : ललितपुर प्रहरीले ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा बुधबार राति भएको दाजुभाइको हत्या प्रकरणमा थप अनुसन्धान सुरू गरिएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले दाजुभाइमाथि छुरा प्रहार गरी हत्या गर्ने ललितपुर महानगरपालिका–९ भूलढोकाका सञ्जीव नेपाली र उनका सहयोगी गैंडाकोटका गगन सुनारलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जानकारी दिए । सामान्य फोन कल गलत नम्बरमा पुगेपछि विवाद सुरु भएको र त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटनमा बोलाएको खुलेको छ ।

पाटनमा भेटका क्रममा सञ्जीवले झापाको कमल गाउँपालिका–६ का बर्ष ३३ का सुमित नेम्बाङ र बर्ष २५ का सृजन नेम्बाङलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी बोगटीले जानकारी दिए ।

पक्राउ परेका सञ्जीव नेपाली मासु पसलमा काम गर्ने गरेको र यसअघि पनि अपराधिक गतिविधिमा लागेको देखिएको प्रहरीले जनाएको छ । घटनाको सिसिटिभि क्यामरा र प्रत्यक्षदर्शीसँग सोधपुछ गरेर थप अनुसन्धान भइरहेको एसएसपी बोगटीले बताए । -अन्नर्पुबाट

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा छुटे

काठ्माण्डौ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री रमेश लेखक पनि हाजिरी जमानीमा रिहा भएका छन्। लेखक नेपाल प्रहरीको नम्बर-२ सशस्त्र प्रहरी गणमा रहेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार लेखकलाई खोजेको बखत हाजिर हुने गरी पत्नी यशोदा लेखकको जिम्मा लगाएको हो।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बिहीबारभित्रै अनुसन्धान सम्पन्न नभएमा उनीहरूलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो।

 

एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । आम सर्वसाधारणका लागि एपोलो हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष तथा कर्मचारीलाई बाँडफाँटपछि बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता सेयर बिहीबारदेखि आम सर्वसाधारणका लागि निष्कासन भएको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । चैत ३० गतेसम्म अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कस्तो छ कम्पनी ?

कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमा क्षेबाट बग्ने बुकुखोलामा विद्युत् आयोजना निर्माण गरेको छ । ६ मेगावाट क्षमताको सो आयोजना रनअफ रिभरमा आधारित छ । आयोजना सम्पन्न भइसकेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०८१/८२ मा १११.९९ रुपैयाँ छ । त्यस्तै सो अवधिमा प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ छ । कम्पनीले केयर रेटिङबाट बीबी माइनस रेटिङ पाएको छ ।

आयोजनाको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत २२ करोड ८६ लाख रुपैयाँ छ । साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष रहेको छ । केयर रेटिङ नेपालले बीबी माइनर रेटिङ प्रदान गरेको छ ।

पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले यसबारे जानकारी दिएका हुन्।

ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ। भट्टराईले भने, ‘अनुसन्धानमा आवश्यक हुँदा उपस्थित हुने गरी परिवार (धर्मपत्नी राधिका शाक्य) को जिम्मा लगाएका छौँ।’

सर्वोच्च अदालतको आदेश अनुसार जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि आजै छाड्ने उनले बताए।

सुनको मूल्य चार हजार ३०० रुपैयाँले घट्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बिहीबार ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चार हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेको छ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार बुधबार सुनको मूल्य दुई लाख ९९ हजार रुपैयाँ कायम भएकोमा आज बिहीबार घटेर दुई लाख ९४ हजार ७०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार पाँच हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर चार हजार ८७५ रुपैयाँ कायम भएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रधानमन्त्री कप क्रिकेट: आर्मीविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध ब्याटिङ थालेको छ । जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा बिहीबार टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोजेको हो।

सुदूरपश्चिमका अभिषेक पाल र खडक बोहोरा ओपनिङ ब्याटिङका लागि मैदानमा आएका छन् । सुदूरपश्चिमले चार ओभरमा १४ रन जोडेको छ ।

जारी प्रतियोगितामा अपराजित रहेको आर्मी तालिकाको शीर्ष स्थानमा छ । हालसम्म ६ खेल खेलेको आर्मीले ११ अङ्क बटुलेको छ ।

सुदूरपश्चिम प्रदेश भने तालिकाको दोस्रो स्थानमा छ । हालसम्म खेलेका सात खेलमा पाँच जित हात पार्दै सुदूरपश्चिम प्रदेशले १० अंक बटुलेको छ । दुई टिमबीचको विजेता शीर्ष स्थानमा उक्लनेछ।

बैतडीमा ६६ हजार बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध

 बैतडी ।  जिल्लामा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले हालसम्म यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना बिमा कार्यक्रममा आबद्ध भएका बताए ।

तीमध्ये जेष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, ‘एमडीआरटी’ क्षयरोग भएका, कुष्ठरोग लागेका व्यक्तिहरूको निशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको उनले जानकारी दिए । यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको बिमा गर्दा ‘प्रिमियम’ को आधा रकम सरकारले तिर्ने गरेको जोशीले बताए ।

स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रूपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बिमा सेवा पाउने सूचीकृत स्वास्थ्य संस्थाका रूपमा रहेका छन् । ती संस्थामा उपचार हुन नसकेमा ‘रेफर’ गरिएका अन्य अस्पतालमा पनि निशुल्क उपचार हुने गरेको बिमा सम्पर्क कार्यालय प्रमुख जोशीले बताए ।

स्वास्थ्य बिमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्म परिवार भएका सदस्यलाई वार्षिक रु तीन हजार पाँच सय ‘प्रिमियम’ तिर्नुपर्ने र सोवाफत रु एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप रु २० हजारका दरले उपचार सुविधा पाउने गरेका छन् । रासस

ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको छ।

सर्वोच्च अदालतको आदेश अनुसार दुबैलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार यसका लागि सरकारी वकिलको कार्यालय काठमाडौंको सहमति समेत प्राप्त भएको छ।

‘हामी अब उहाँहरूको सबै भन्दा नजिकको मानिसको जिम्मामा छाड्छौं,’ उनले भने।

प्रहरीले दुबै जनामाथि भदौ २३ गतेको घटनासँग सम्बन्धित ज्यान सम्बन्धि कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

उनीहरूलाई पछिल्लो पटक ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद गएराति सकिएसँगै आज उनीहरूलाई छाड्ने निर्णय भएको हो।

चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो।

ओली र लेखकले सर्वोच्च अदालतमा आफूहरूलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्चले खारेज गरेको थियो।

तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको हो।

‘उनीहरूको हकमा चैत २१ गतेदेखि लागुहुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात, तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई … प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको थियो।

उक्त आदेश अनुसार अनुसन्धान सकिएको भए सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न समेत भनिएको थियो। तर अनुसन्धान नसकिएकाले अहिलेलाई उनीहरूलाई हाजिर जमानीमा राखिएको हो।

प्रहरीले चैत १४ गते बिहान भक्तपुरबाट ओली र लेखकलाई पक्राउ गरेको थियो। उनीहरूविरूद्ध भदौ २३ गते भएको घटनासँग सम्बन्धित छानबिन गर्न भनेको जाँचबुझ आयोगले अनुसन्धान गर्न सिफारिस गरेको थियो।

चैत १३ गतेको प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै दुबै जनालाई हिरासतमा राखेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो।

अनुसन्धानको क्रममा सुरूमा प्रहरीले चैत १५ गते पाँच दिनका लागि म्याद थपेको थियो। चैत १९ गते जिल्ला अदालतबाटै थप दुई दिनको म्याद थपेको थियो।

चैत २२ गते फेरि उनीहरूलाई अदालतमा म्याद थपका लागि प्रस्तुत गरिएको थियो। त्यसबेला अनुसन्धानका लागि थप पाँच दिनको म्याद दिएको हो। यो म्याद चैत २१ गतेदेखि लागु हुनेछ। सो म्याद चैत २५ गते सकिएको हो।

कञ्चनपुर कारागारमा कैदीबन्दी बीच झडप हुँदा ५ जना घाइते

कञ्चनपुर- कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन्। बुधबार कारागारमा रहेका ३७२ जना कैदीबन्दीमध्ये केहीबीच आपसमा झडप हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार घटनामा घाइते भएका कैदीबन्दीहरूलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर उपचार गरिएको छ। घाइते हुनेमा शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर र भीमदत्त नगरपालिका–७ का आयुष बम, बेलौरी नगरपालिका–८ का राजु दमाई घाइते रहेका छन्। घाइतेहरूको टाउकोमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आज जनआन्दोलन दिवस

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।

विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुन:स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो ।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य भएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुन:स्थापना भएको हो ।

कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो ।

तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुन:स्थापनाको घोषणा गरेका थिए ।

 

देउवादम्पती आफैँ स्वदेश नफर्किए, इन्टरपोलमार्फत झिकाउने सरकारको तयारी

काठमाडौं । सम्पत्ति शुद्धीकरणमा छानबिनमै रहेका पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

देउवादम्पती हाल हङकङमा छन् । त्यसैले, पुर्जी जारी भए पनि तत्काल पक्राउ असम्भव छ । उनीहरूलाई आफैँ चाँडो स्वदेश नफर्किए इन्टरपोलमार्फत झिकाउने सरकारको तयारी छ । रेडकर्नर नोटिस जारी गर्ने विषयमा छलफल भइरहेको विभाग स्रोतले बताएको छ । सम्बन्धित देशको अदालतले पक्राउ पुर्जी जारी गरिसकेको, तर पक्राउ गर्न अन्य देशको सहयोग चाहिने अवस्थामा रेडकर्नर नोटिस जारी गरिन्छ ।

विभाग स्रोतका अनुसार देउवाको नाममा भौतिक सम्पत्ति देखिँदैन । तर, पत्नी आरजु र छोरा जयवीरसिंह देउवाको नाममा भने मुलुकका विभिन्न ठाउँमा गरी ११५ रोपनी आठ आना जग्गा रहेको देखिन्छ । जसमध्ये आरजुको नाममा ३९ रोपनी १५ आना र जयवीरको नाममा ७५ रोपनी नौ आना रहेको खुलेको छ । विभागका अनुसार आरजुको नाममा डडेलधुराको खलंगा, कैलालीको धनगढी, मकवानपुरको हेटौँडा र बर्दियाको ढोडरीमा तथा जयवीरको नाममा काठमाडौंको बुढानीलकण्ठ, कास्कीको ढिकुरपोखरी, कञ्चनपुरको कृष्णपुर र बर्दियाको ढोडरीमा जग्गा छ । आमा–छोराकै नाममा रहेका केही सम्पत्ति भने पुर्ख्यौली स्रोतबाट नामसारी हुँदै आएको देखिए पनि अधिकांशको बलियो स्रोत देखिएको छैन । जयवीरको नाममा रहेको अधिकांश सम्पत्ति ०७४ देखि ०७८ सम्म नामसारी भएको देखिएको, तर आम्दानीको स्रोत भने नदेखिएको विभाग स्रोतले बतायो । अनुसन्धानमा भेटिएका यिनै तथ्यका आधारमा देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाइएको छ ।

‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाममा भौतिक सम्पत्ति देखिँदैन । तर, उनकी पत्नी आरजु र छोरा जयवीरको नाममा भने अस्वाभाविक सम्पत्ति देखिन्छ । त्यसमध्ये केही पुर्ख्यौली स्रोतबाट सरेर आएको देखिन्छ । बाँकी सम्पत्तिको स्रोत देखिँदैन,’ विभाग स्रोतले भन्यो, ‘अनुसन्धानमा कैफियत देखिएपछि देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । अब रेडकर्नर नोटिस जारी गर्ने सम्बन्धमा छलफल चलिरहेको छ ।’

विभागका अनुसार देउवादम्पती र छोरा जयवीरको बैंक खाता र कारोबार सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ । देउवाको बैंक खातामा पनि ठुलो कारोबार खासै भएको देखिएको छैन । तर, आरजु र जयवीरको खातामा भने अस्वाभाविक कारोबार भएको देखिएको स्रोतले बतायो ।

‘शेरबहादुर देउवाको बैंक खातामा खासै कारोबार भएको देखिँदैन । तर, आरजु र जयवीरको खातामा भने ठुला कारोबार भएको देखिन्छन् । त्यसमध्ये कतिपय कारोबार अस्वाभाविक देखिन्छ ।’

देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि जयवीरको हकमा यस्तो पुर्जी जारी भएको छैन । तर, आवश्यक परेको खण्डमा जयवीरविरुद्ध पनि पक्राउ पुर्जी जारी हुन सक्ने विभाग स्रोतले जनायो ।

रेडकर्नर नोटिस भने प्रहरीले नै जारी गर्ने हो । यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई अनुरोध गर्न सक्छ । वारेन्ट जारी भएका फरार अभियुक्तको खोजी गर्न रेडकर्नर नोटिस जारी हुन सक्छ भने पक्राउ पुर्जी जारी नभएका, तर विवरण आवश्यक परेको खण्डमा प्रहरीले इन्टरपोलमार्फत सम्बन्धित व्यक्तिविरुद्ध डिफ्युजन नोटिस जारी गर्न सक्छ । देउवादम्पतीको हकमा वारेन्ट जारी भइसकेकाले प्रहरीले रेडकर्नर नोटिस जारी गर्न सक्छ ।

‘रेडकर्नर नोटिस जारी हुने आफ्नै प्रक्रिया छ । प्रक्रिया पुगेपछि अभियुक्तविरुद्ध यस्तो नोटिस जारी हुन सक्छ । यस्ता विषय अत्यन्तै गोप्य रहन्छन्,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले भने । यद्यपि उनी देउवादम्पतीको पक्राउ पुर्जीबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भन्न सक्ने भन्दै पन्छिए ।

जेन–जी आन्दोलनपछि उपचारका लागि सिंगापुर गएका देउवादम्पती पछि स्वदेश फर्किएका थिए । तर, निर्वाचनको केही दिन अघि १४ फागुनमा देउवा उपचार गराउन भन्दै फेरि सिंगापुर उडेका थिए । त्यसअघि नै आरजु भारत गइसकेकी थिइन् । त्यतैबाट उनी पनि सिंगापुर पुगिन् । ७ चैतमा हङकङ पुगेका देउवादम्पती अहिले त्यहीँ छन् । छोरा जयवीर पत्नी शिवाना श्रेष्ठसँग लन्डनमा छन् । जेन–जी आन्दोलनअघि नै लन्डन पुगेका उनीहरू त्यसयता स्वदेश फर्किएका छैनन् ।

जगदीश खरेलकाे टिप्पणी- राजनीतिको परिभाषा बदल्ने नायक रवि लामिछाने हुन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले अहिलेको सरकारले जेनजी सम्झौता अक्षर सहित पालना गर्न आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पहिलो चोटी सम्बोधन गर्दै उनले १० बुँदे सम्झौताको अक्षर सहित पालना नगरे स्वीकार्य नहुने बताए । उनले भने, ‘जुन जेनजी सम्झौता गरिएको छ १० बुँदे त्यो सम्झौताको अक्षर सहित पालना गरिओस् । शुसीला कार्की सरकार नेतृत्वले जेनजी आन्दोलनसँग गरेको सम्झौता यताउता भयो भनेदेखि स्वीकार्य हुने छैन ।’

साथै उनले संसदभित्र भइरहेको राजनीतिक परिवर्तनमाथि पनि धारणा व्यक्त गर्दै संसदभित्र अब पुराना पातहरु हट्दै गएको बताए । उनले संसदमा नयाँ पालुवाहरु पलाउँदै गर्दा आज राजनीतिको परिभाषा परिवर्तन भएको बताए ।

उनले भने, ‘संसदभित्र अब पुराना पातहरु हट्दै गएका छन् । नयाँ पालुवाहरु पलाउँदै आएका छन् । बसन्तको बहार भएको देखिन्छ । आज यो बसन्तको बहार भैइराख्दाखेरि यी युवा अनुहार भनेको अब यी पालुवा पलाउने छन्, फूल्ने छन्, फल्ने छन् र जनतालाई त्यो फल चखाउने छन् भनेर विश्वास गर्न सकिन्छ । आज राजनीतिक पोलटिकल प्याराडाइम सिफ्ट भएको छ, आज राजनीतिको परिभाषा परिवर्तन भएको छ, नेतृत्वको परिभाषा परिवर्तन भएको छ ।’

साथै उनले राजनीतिको परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा रवि लामिछाने मात्र जन्मेको बताए । उनले भने, ‘यो परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा यतिखेर रवि लामिछाने जन्मेको छ । जसले राजनीतिको परिभाषा परिवर्तन गरेको छ, नेतृत्वको परिभाषा परिवर्तन गरेको छ, अब पोलिटिकल डिसकोर्ड त्यो बाटोमा अगाडि बढ्दैछ

नेप्से परिसूचकमा ४५ अङ्कको सुधार

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो।

आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८७, होटल तथा पर्यटन दुई दशमलव ५६ र जलविद्युत् समूह दुई दशमलव ६१ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकिङ एक दशमलव १६, विकास बैंक एक दशमलव ९८, वित्त एक दशमलव ४५, लगानी एक दशमलव ३५, जीवन बीमा एक दशमलव ३१, लघुवित्त एक दशमलव २८, जीवन बीमा एक दशमलव ०१, म्युचुअल फण्ड शून्य दशमलव ९९, व्यापार शून्य दशमलव ६१ र अन्य समूह एक दशमल १५ प्रतिशतले बढेको छ।

खोज्नुहोस