प्रधानमन्त्री शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्दै सरकारका प्राथमिकता र परराष्ट्र नीतिका विषयमा जानकारी गराएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त कार्यक्रममा विभिन्न मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी कूटनीतिक प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई बधाई दिँदै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

भेटका क्रममा उनीहरूले नेपालको विकास प्रयासमा सहकार्य र समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले नेपालले अवलम्बन गर्दै आएको सन्तुलित तथा व्यवहारिक परराष्ट्र नीतिलाई निरन्तरता दिने उल्लेख गर्दै छिमेकी तथा विकास साझेदार राष्ट्रहरूसँग विश्वास र पारस्परिक सम्मानमा आधारित सम्बन्ध सुदृढ गर्ने धारणा राखे।

उनले शान्ति, स्थायित्व र साझा समृद्धिलाई प्राथमिकतामा राख्दै विदेशमा रहेका नेपाली नागरिक तथा श्रमिकको सुरक्षा र हित संरक्षणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। साथै सुशासन प्रवर्द्धन, आर्थिक विकास र जनजीवन सुधारलाई सरकारको मुख्य एजेन्डाका रूपमा अघि बढाइने बताए।

कार्यक्रममा परराष्ट्र मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, मुख्यसचिवलगायत उच्च सरकारी अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो

काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोही प्रणालीले गर्दा अहिले वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको पछिल्लो सूचनामा भनिएको छ, “अहिले पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको छ र पानी परिरहेको छ । त्यसैगरी गण्डकी, लुम्बिनी र बागमती प्रदेशका धेरै ठाउँहरूमा र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ ।”

यसअघि महाशाखाले पानी पार्ने प्रणाली पूर्वतिर फैलिँदै गइरहेको बताएको थियो ।  अहिले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ ।

उपसभामुख निर्वाचनको मिति तोकिँदै

काठमाडौं । प्रतिनिधिसभाले उपसभामुख पदको निर्वाचन  मिति तोक्ने तयारी गरेको छ । जारी प्रतिनिधिसभा बैठकको कार्यसूचीमा उपसभामुख पदको निर्वाचन मिति तोकिने उल्लेख छ ।

उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन हुने व्यवस्था छ । आजको बैठकबाट सभामुख डीपी अर्यालले निर्वाचन मिति घोषणा गर्नेछन् ।

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

चैत २७ मा मिति तोक्ने तयारीबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको एक सांसदले बताए ।

प्रधानमन्त्री बालेनले समानुपातिक सांसदलाई विभेद गरेको भन्दै संसदमा उठ्यो प्रश्न

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै संसदमा प्रश्न उठाएकी छिन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री शाहले प्रत्यक्ष निर्वाचित सांसदका मात्रै कुरा सुनेको भन्दै आपत्ति जनाइन् । ”प्रधानमन्त्रीबाट प्रत्यक्ष निर्वाचित माननीयलाई भेट दिएर विकास निर्माणका कुरा राख्ने अवसर दिनुभएको छ । समानुपातिक प्रणालीबाट निर्वाचित माननीयहरू उक्त अवसरबाट किन वञ्चित ?” उनको प्रश्न छ ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीमन्त्री रमेश लेखकको रिहाको माग समेत गरेकी छिन् ।

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन ।’

हाल देउवा दम्पती विदेशमा छन् । २१ फागुनको चुनाव अघि १३ फागुनमा उनीहरु स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो ।

यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगजनी समेत हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो ।

त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

बैतडीमा कृषि एम्बुलेन्स सञ्चालन

बैतडीः बैतडीमा मंगलवारदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ। बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। किसानहरूले उत्पादन गरेको कृषि उपजलाई ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपक कार्कीले जानकारी दिए।

नगरपालिका र सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त लगानीमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। “किसानले नगरपालिकामा कृषि उपज ढुवानीका लागि निवेदन दिनुपर्छ। किसानले भनेकै ठाउँबाट सहुलियत शुल्कमा बजारसम्म ढुवानी गरिदिन्छौँ”, कृषि विकास शाखा प्रमुख कार्कीले भने।

कृषि एम्बुलेन्समार्फत किसानहरूले फलाएको उब्जनीलाई बजारसम्म पु¥याउन र उहाँहरूलाई आवश्यक पर्ने मल, बीउलगायत कृषि सामग्रीहरू खेतसम्म नै ढुवानी गरिने उनले बताए। यहाँका अधिकांश किसानहरू कृषि पेसामा नै आबद्ध छन्।

उनीहरूले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने नगरप्रमुख पुष्करराज जोशीले बताए। “कृषि उपजलाई बजारसम्म ढुवानी गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउन कृषि एम्बुलेन्स सञ्चालन गरेका हौँ,” नगर प्रमुख जोशीले भने।

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली: कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्। गत वर्ष प्रतिक्विन्टल ४ हजार रुपैयाँमा गहुँ बेचेका किसान यस वर्ष करिब २०० रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य छन्। हाल गहुँ प्रतिक्विन्टल ३ हजार ८०० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ। यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ।

किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए। ‘गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, थोरै भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बिउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ’, उनले भने।

टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको बताए। उनका अनुसार किसानले समयमै मल, बिउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेका छन्। केही दिनअघि हुरीबताससहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको छ। अहिले संकलन केन्द्रमा पनि उचित मूल्य पाइँदैन, किसानलाई जताबाट पनि घाटा भएको छ।

टीकापुरका पहलमान साउदले भने प्रतिक्विन्टल ४ हजार २०० रुपैयाँका दरले ४ क्विन्टल गहुँ खरिद गरेका छन्। गत वर्ष पनि यही मूल्यमा गहुँ खरिद गरेका उनी यस वर्षको मूल्य ठीकै लागेको बताउँछन्। ‘गत वर्ष पनि यही मूल्यमा किनेको थिएँ, यस वर्ष मूल्य बढ्ला भनेर समयमै किन्न आएको थिएँ, पोहोरकै मूल्यमा पाएँ’, उनले भने। टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठकुल्लाले राम्रो (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल ३ हजार ८०० रुपैयाँसम्ममा खरिद गर्ने गरेको बताए। ‘राम्ररी सफा नगरेको गहुँ ३ हजार ६०० रुपैयाँमा खरिद गर्छौं, गुणस्तर हेरेर ३ हजार ९०० रुपैयाँसम्म पनि दिन्छौँ’, उनले भने। खाद्यान्न व्यवसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगञ्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब ४ हजारमा बिक्री हुने गरेको छ। ठकुल्लाले हालसम्म ४०० क्विन्टल गहुँ प्रतिक्विन्टल ४ हजारका दरले बिक्रीका लागि नेपालगञ्ज पठाइसकेका छन्।

पौडेल राइस मिलका सञ्चालक रामहरि पौडेलले किसानले अहिले गहुँ बिक्रीका लागि ल्याउन थालेको बताए। ‘यस वर्ष पानी र हुरीबतासले नपाक्दै गहुँ ढालेकाले सानो दाना र माटो मिसिएको गहुँ बिक्रीका लागि आएको छ’, उनले भने, ‘गत वर्ष प्रतिक्विन्टल ४ हजार २०० रुपैयाँसम्ममा खरिद गरेको थिएँ। यस वर्ष ३ हजार ८५० रुपैयाँदेखि ३ हजार ९०० रुपैयाँ सम्ममा खरिद गरिरहेको छु।’ यस वर्ष सरकारले गहुँको समर्थन मूल्य तोकेको छैन। समर्थन मूल्य नतोकिँदा खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँगको समन्वयमा खरिदबिक्री दर निर्धारण गरिरहेका छन्।

गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको थियो । विगतमा हरेक वर्ष वृद्धि गर्दै आएको समर्थन मूल्य यस वर्ष नतोकिँदा किसानले उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्। कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि अध्ययन गरी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको जनाएको छ।

टीकापुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक मोतिसिंह विकका अनुसार गहुँको समर्थन मूल्य समयमै तोकिएमा किसानलाई राहत मिल्नेछ। ‘समयमै समर्थन मूल्य तोकिएमा किसानले घाटामा बिक्री गर्नु पर्दैन र बिचौलियाबाट ठगिने सम्भावना पनि कम हुन्छ’, उनले भने, ‘यस वर्ष भने मिल सञ्चालक र खरिदकर्ताले आफैँ मूल्य निर्धारण गरेका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन्।’

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुरः नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति सुधार गर्न व्यापक अभियान सुरु गरेको छ।

नगरपालिकाले सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउने, चालु सत्रभित्र छात्रवृत्ति वितरण गर्ने र विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गराउने ‘घरदैलो अभियान’ सञ्चालन निर्देशन दिएको छ। शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार विनियोजित छात्रवृत्ति रकम निकासा भइसकेको हुँदा सोही सत्रभित्र वितरण गरी भर्पाइ बुझाउनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ।

विद्यालयले विद्यार्थीलाई ग्रेडसिट र स्थानान्तरण प्रमाणपत्र नदिने, इमिस प्रणालीमा ट्रान्सफर नगर्नेजस्ता गतिविधि नगर्न सचेत गराइएको छ। शाखा प्रमुख भट्टका अनुसार संस्थागत विद्यालयतर्फ शुल्क विवरण, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन र विद्यालय सवारीसाधन व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेका छौँ। पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको शुल्क विवरण पेस नगर्ने विद्यालयलाई अन्तिम समयसीमा तोकिएको छ। निर्धारित समयभित्र पेस नगरे नियमअनुसार कारबाही हुनेछ।

उनका अनुसार शैक्षिकसत्र सुरु हुनुअगावै नयाँ विद्यार्थी भर्ना र प्रचारप्रसार रोक्न, विद्यार्थीबाट मनपरी शुल्क नलिन र विद्यालय व्यवस्थापन पारदर्शी बनाउन संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ। धेरै विद्यालयमा खानेपानी, कक्षाकोठा, फर्निचर, शौचालय, खेलमैदान र घेराबारको अवस्था अनुगमनका क्रममा कमजोर देखिएको छ। भट्टले भने, “शैक्षिकसत्र सुरु हुनुअगावै यी पूर्वाधार सुधार्न संस्थागत विद्यालयलाई भनेका छौँ, निम्न माध्यमिक र माध्यमिक तहका विषयगत शिक्षक व्यवस्थापन र कर्मचारी सेवा सुविधा कानुनअनुसार सुनिश्चित गर्न निर्देशन दिइएको छ।”

“विद्यार्थी बोक्ने सवारीसाधन पुराना र सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको गुनासो आएपछि सवारी मर्मत, नयाँ साधन व्यवस्थापन र सीट क्षमताअनुसार मात्र विद्यार्थी बोक्नेका लागि निर्देशन पत्र नै पठाएर भनेका छौँ”, शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले भने। अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयप्रति कडा कानुनी कारबाही हुने उनले बताए।

वडा नं १० स्थित श्रीकृष्ण माध्यमिक विद्यालय झलारीमा आगामी शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन हुने भएपछि स्थानीय विद्यार्थीले घरमै उच्च शिक्षाको अवसर पाउने भएका छन्। नगरपालिकाले विद्यार्थी व्यवस्थापन र समन्वयमा विद्यालयहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

नगरपालिकाले यस अभियानमार्फत विद्यालय व्यवस्थापनलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन अनुगमनलाई कडाइका साथ अघि बढाउने जनाएको छ। शैक्षिक सुधारको यो प्रयास नगरपालिकाका नीति, नियम र समुदायको सहभागितालाई सँगसँगै अघि बढाउने महत्त्वपूर्ण कदम मानिएको छ। नगरपालिकामा सामुदायिक २८ र संस्थागत २५ गरी ५३ विद्यालय सञ्चालनमा छन्।

अमेरिका र इरानबीच युद्धविराम सुनिश्चित गर्न पाकिस्तानले कसरी गर्‍यो सहयोग ?

एजेन्सी । दुई हप्ताको युद्धविराम घोषणा हुनुअघि केही घण्टामा पाकिस्तानबाट केही आशाजनक संकेत देखिएका थिए ।

नाम नखुलाउने शर्तमा एक पाकिस्तानी स्रोतले बीबीसीलाई बताएअनुसार वार्ता तीव्र गतिमा भइरहेको थियो र पाकिस्तानले इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको थियो ।

पाकिस्तानको तर्फबाट वार्तामा संलग्न टोली निकै सानो थियो । वातावरण गम्भीर र संवेदनशील भए पनि आशा भने बाँकी थियो कि अन्ततः युद्ध रोकिनेछ । ‘अझै केही घण्टा बाँकी छ,’ स्रोतले भने, तर उनी स्वयं उक्त सानो टोलीमा थिएनन्।

पछिल्ला केही हप्तादेखि पाकिस्तानले इरान र अमेरिकाबीच सन्देश आदानप्रदान गराउँदै आएको छ। इरानसँग पाकिस्तानको पुरानो सम्बन्ध छ, साझा सीमा पनि छ र प्रायः यसलाई ‘दाजुभाइको सम्बन्ध’ भनिन्छ ।

अमेरिकासँगको सम्बन्धबारे राष्ट्रपति ट्रम्पले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनीरलाई आफ्नो ‘मनपर्ने’ बताएका छन् र उनले इरानलाई ‘धेरै राम्रोसँग चिन्ने’ व्यक्ति भनेका छन् ।

तर सम्झौता निश्चित भने थिएन । मंगलबार राति संसदमा बोल्दै पाकिस्तानका विदेशमन्त्री इशाक दरले भने, ‘हिजोसम्म हामी निकै आशावादी थियौं कि अवस्था सकारात्मक दिशातर्फ जाँदैछ,’ तर सोमबार इजरायलले इरानमाथि आक्रमण गरेपछि र इरानले साउदी अरेबियामाथि आक्रमण गरेपछि स्थिति बिग्रियो ।

उनले भने, ‘पाकिस्तान अझै पनि सकेसम्म अवस्था नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ।’

फिल्ड मार्शल मुनीर अझ स्पष्ट रूपमा आलोचनात्मक देखिए । उनले मंगलबार सैनिक अधिकारीहरूसँग बोल्दै साउदी अरेबियामाथिको आक्रमणले ‘शान्तिपूर्ण समाधानका इमानदार प्रयास बिगारेको’ बताए।

यो द्वन्द्व सुरु भएदेखि पाकिस्तानले इरानप्रति प्रयोग गरेको सबैभन्दा कडा अभिव्यक्तिमध्ये एक हो ।

केही विश्लेषकहरूका अनुसार यसले इरानमाथि थप दबाब पर्न सक्छ । पाकिस्तानको साउदी अरेबियासँग रक्षा सम्झौता छ, तर साउदीमाथि बारम्बार आक्रमण भए पनि त्यो हालसम्म प्रयोग गरिएको छैन।

पाकिस्तानमा मध्यरातपछि, देशका प्रधानमन्त्रीले एक्समा लेख्दै कूटनीतिक प्रयासहरू निरन्तर र बलियो रूपमा अघि बढिरहेको र चाँडै ठोस नतिजा आउन सक्ने बताएका थिए। उनले राष्ट्रपति ट्रम्पलाई समयसीमा दुई हप्ताले बढाउन र इरानलाई सोही अवधिका लागि हर्मुज खुला राख्न आग्रह पनि गरे ।

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मोगद्दमले स्थानीय समयअनुसार करिब ३ बजे एक्समा लेख्दै अवस्था गम्भीर चरणबाट एक कदम अगाडि बढेको बताएका थिए।

बिहान ५ बज्नुअघि नै पाकिस्तानका प्रधानमन्त्रीले युद्धविराममा सहमति भएको घोषणा गरे र दुवै पक्षलाई १० अप्रिल शुक्रबार इस्लामाबादमा भेटेर अन्तिम सम्झौताका लागि थप वार्ता गर्न निम्ता दिए ।

पाकिस्तानी स्रोतका अनुसार अवस्था अझै नाजुक छ र दुवै पक्षबीच विश्वास छैन । दुवै पक्ष आफ्ना अडानमा कडाइका साथ उभिएका छन् ।

पाकिस्तानले दुवै पक्षलाई एउटै टेबलमा ल्याउन सफल भए पनि उनीहरूबीच के कुरामा सहमति हुन्छ भन्ने अझै स्पष्ट छैन ।

 

७ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ७ हजार २०० र चाँदी तोलामा २०५ ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार २५ कायम भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको थियो ।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७८० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८७० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

इन्स्पेक्टर बिनुकुमारी शाहीसहित ५ जनाले पाए सफाइ, एक जनालाई कैद सजाय

काठमाडौं । हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनाले सफाइ पाएका छन्।

मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले एक जनालाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई सफाइ दिएको हो।

आपराधिक लाभ लिएको कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते ६ जनाविरूद्ध मुद्दा दायर भएको थियो।

प्रहरी निरीक्षक शाहीसहित सुस्मा विश्वकर्मा, ताजमूल भन्ने तजम्मुल इसलाम, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेलविरूद्ध मुद्दा दायर भएको थियो। शाही र पोखरेल पछि अदालतमा उपस्थित भएका थिए।

उनीहरूमध्ये तजम्मुल इसलामलाई अदालतले दोषी ठहर गरेको हो।

अदालत स्रोतका अनुसार उनलाई एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
संखुवासभा घर भई ललितपुरको सानागाउँ बस्ने इन्द्रकुमार राईबाट ३० लाख रकम असुल गरेको आरोप थियो।

जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिएर उनीहरूले इन्द्रकुमारबाट सुरूमा ६० लाख रकम माग गरेको आरोप थियो। उनीहरूले इन्द्रकुमारलाई प्रहरी प्रभाग बुंगमतीमा पुर्‍याएर प्रहरी निरीक्षक शाहीकै अगाडि उक्त रकम माग गरेको आरोप लगाएको थियो। तर त्यस मुद्दाबाट प्रहरी निरीक्षक शाही लगायतले सफाइ पाएका हुन्।

राजनीतिमा सङ्लो ‘भट्टराई सर’ (भाग-२)

न सपना । न उद्देश्य । जिन्दगीमा थियो त–भोक, अभाव र संघर्ष । उनी पढ्न चाहन्थे । पढ्न पैसा चाहिने । बुवाको एक्लो कमाई । परिवारको खर्च धान्नै मुस्किल । अवसर पाए, शिक्षक बने । बाँच्नैका लागि अवसर गुमाएनन् । शिक्षक बन्ने उनको रहर थिएन् ।

विद्यार्थीलाई पढाउदै गर्दा समाज बुझे । समाजको राजनैतिक चेतना बुझे । सत्ताको स्वभाव । काँग्रेसको विद्रोही चेतसंग साक्षात्कार भए । सत्ता र काँग्रेस । नदीका किनारा जस्ता । कहिले नमिल्ने । उनी अपवाद थिए । सत्ता र काँग्रेस दुबैको नजिक ।
राजनीतिसंग कुनै साईनो थिएन् । न त लगाव । संगतले सोच बदलिन्छ । सोचले सपना । सपनाले जिन्दगी । उनको हकमा यही भयो ।

सत्ताको रङ्गले आकर्षण गर्न सकेन् । काँग्रेसका नेतासंग उठवस । कवितामा विद्रोह ओकेले । थुनामा परे । सत्ताको निगरानी । थुना । धम्की । आदेश । उनी थाहै नपाई विद्रोही शिक्षक भए ।

मध्यमा पास गर्ने औंलामा गन्न सकिने । उनी एक । चाहेको भए सत्ताबाट सबै सुविधा, अवसर लिन सक्थे । त्यसका लागि ईमान बेच्नु पथ्र्यो । स्वाभिमान बन्धक राख्नु पथ्र्यो । उनले सजिलो बाटो रोजेनन् ।

२०२० सालमा उनले श्याम बाजेसंग नेपाली काँग्रेसको सदस्यता लिए । काँग्रेसको सदस्य हुनु त्यो समय दण्डनीय अपराध थियो । श्याम बाजे काँग्रेसका क्रान्तिकारी नेता थिए । जो सशस्त्र क्रान्तिका समर्थक थिए । धनगढी बस्न जोखिम भएपछि श्याम बाजे दुधुवाबाट काँग्रेसका गतिविधि सञ्चालन गर्थे । सशस्त्र क्रान्तिको पर्चा बाँड्थे । नाम श्याम खतिवडा थियो । चिनिन्थे, श्याम बाजे भनेर ।

२०१५ सालको निर्वाचनमा श्यामबाजे लोकेन्द्र बहादुर शाहको प्रचारमा जिल्लाका विभिन्न भागमा पुगे । श्याम बाजे बोगटान क्षेत्रमा लोकप्रिय थिए । माईक र साउण्डबक्स भित्रिसकेको थिएन् । श्याम बाजेले सुकाएर खोक्रो बनाएको लौकालाई माईक बनाएर प्रचार गरे । थारु भाषामा कविता सुनाएर शाहका लागि मत मागे ।

श्याम बाजेका दाई थानेदार थिए । दाई सरुवा भएर कैलाली आए । उनीसंगै आए । केही समयपछि दाईको अन्यत्र सरुवा भयो । श्यामबाजे दाईसंगै फर्केनन् । कैलालीलाई स्थायी मुकाम भए ।

२००७ सालमा श्याम बाजे धनगढी भन्सारमा बैदार थिए । तिनले नेपाली काँग्रेसको सदस्यता लिएको प्रहरीले थाह पायो । प्रहरीले सदस्यता देखाउन भन्यो । उनले चपाईदिए । ज्यान जोगियो । जागीर गयो ।

२०१५ सालको आम निर्वाचनबाट काँग्रेस पहिलो पटक सत्तामा पुग्यो । बीपी कोईराला प्रधानमन्त्री भए । सरकारले कैलालीमा गोपाल बहादुर कर्माचार्यलाई पञ्चायत अफिसर नियुक्त ग¥यो । तिनका सहायक भए, श्याम बाजे । राजाले संसद बिघटनसंगै सम्पूर्ण राजनैतिक नियुक्तिहरु बदर गरे । श्याम बाजे आजीवन काँग्रेस भए ।

२०१५ सालको आम निर्वाचनपछि मदन लाल श्रेष्ठ कैलालीमा डीडीओ भएर आए । त्यतिबेला जिल्ला विकास समितिको नाम त्रिभुवन विकास समिति थियो । त्यसको प्रमुखलाई डीडीओ भनिन्थ्यो ।

काँग्रेसको सरकार भंग भयो । पञ्चायतले डीडीओ हटायो । नयाँ नाम दियो, बल्क डेभलोप्मेण्ट अफिसर (बीडीओ) । डीडीओबाट हटेपछि श्रेष्ठ काँग्रेसको राजनीतिमा सक्रिय भए ।

२०१५ सालको निर्वाचनमा शाह कैलाली–कञ्चनपुर गोश्वारामा काँग्रेसबाट निर्वाचित भएका थिए । संसद बिघट्नपछि महादेवलीस्थित घरमा बस्दै आएका लोकेन्द्र बहादुर शाह २०१९ सालमा धनगढी सरे । शाह राज्यको निगरानीमा थिए । शाहलाई भेट्ने व्यक्तिमाथि पनि राज्यले सोधीखोजी गथ्र्यो ।

देश ३५ गोश्वारामा बाडिएको थियो । कैलाली कञ्चनपुर एउटै गोश्वरा अन्तर्गत थियो ।

कैलाली पाँच तप्पामा बिभाजित थियो । रैकवार, बोगटान, मलवारा, लिक, परिहार । धनगढी रैकवार भित्र पथ्र्यो ।
धनगढी शहर बनिसकेको थिएन् । यद्यपि सरकारी अड्डा र अस्पताल भएका कारण विभिन्न ठाउँबाट मान्छेहरु व्यवसाय, उपचार र बसाई सराईका लागि आउथे । तर औंलोको डरले मान्छेहरु फर्किन्थे ।

टेलिकम कार्यालय जाने बाटोमा राधेश्यामको चिया पसल थियो । शिव मन्दिर बनिसकेको थिएन् । चौतारो थियो, त्यहाँ जोगी बस्थे । मन्दिर छेउमा एक जना श्रेष्ठको पसल थियो । मन्दिरको पश्चिमपट्टि टीनका छानामा २२/२५ वटा पसलहरु थिए । हाल प्रदेश सभा रहेको स्थानमा त्यतिबेला भन्सार कार्यालय थियो ।

धनगढी जंगल थियो । आधा दर्जन भवन पक्की । बाँकी फुसका घर । गोश्वारा कार्यालय । सेती अञ्चल अस्पताल । प्रहरी निरीक्षक आवास । वन विभाग । र, बडाहाकिमको सहायक बस्ने घर । पक्की भवन यति नै थिए । गोश्वारा कार्यालयमा बडाहाकिम बस्थे । त्यही भवन पछि अञ्चलाधीशको कार्यालय भयो । र, अञ्चलाधीशपछि त्यहाँ प्रमुख जिल्ला अधिकारी बस्न थाले । बडाहाकिमसंग एक गाडी थियो । अनि हात्ती । टाढा जानुपर्दा गाडी चढ्थे । बर्खामा हात्ती ।

धनगढीमा बरेलीका महाजन र केही जमिन्दारको जगजगी थियो । महाजनले किसानलाई खेती लगाउदा सहयोग गर्थे । बाली भित्र्याउने बेला आउँथे । र, किसानले उत्पादन गरेको धान, मकै, मसुर लिएर जान्थे । भण्डारी थरका डिठ्ठाले थारुहरुलाई एक टिन दारु खुवाएर धनगढी गाउँमा एक राना जमिन्दारको जमीन हडपे ।

बर्खामा हिलोले धनगढीभित्रै आवातजावत मुस्किल हुन्थ्यो । डेराबाट मुस्किलले स्कुल पुग्थे । हातमा चप्पल बोक्थे । १/२ कक्षामा पढ्ने थारु विद्यार्थीहरु लगौटी लगाएर आउँथे । उनी विद्यार्थीहरुलाई कट्टु लगाउन भन्थे ।

औलो उन्मुलन भएपछि तराईमा मान्छेहरु आउन थाले । हरेक दुई महिनामा ज्वरो आउँथ्यो । ज्वरो आएपछि उनी आत्तिन्थे । औंलोले मृत्यु हुन्थ्यो । उनी त्यही भयले आतंकित हुन्थे ।

वि.स. २०१९ साल । पार्टीहरुमाथि प्रतिबन्ध थियो । राजनैतिक गतिविधि वर्जित थियो । काँग्रेसका नेताहरु भूमिगत थिए । जानकी बिक्रम ज्ञवाली, गोपाल बहादुर कर्माचार्य, जनक कर्माचार्य, लोकेन्द्र बहादुर शाह लगायतका नेताहरु व्यवस्थाको निशानामा थिए । उनीहरुका हरेक गतिविधिमाथि प्रशासनले निगरानी राख्थ्यो ।

काँग्रेसका नेता जनक कर्माचार्य कैलालीको घियाबाट २००७ सालमा धनगढी सरे । अदालत जाने बाटोको विपरित दिशामा उत्तरमा  उनको घर थियो । त्यही घर नेपाली काँग्रेसको सम्पर्क कार्यालय थियो । कमाचार्यले त्यो घर पछि प्रेमलाल तुलाधरलाई बेचे । राजा महेन्द्रले संसद बिघट्न गरेपछि कर्माचार्य भूमिगत जस्तै थिए । यद्यपि पार्टीका गतिविधिमा उनी सक्रिय थिए । उनका दाई गोपाल बहादुर कर्माचार्य पनि पञ्चायत अफिसरको नियुक्ति खारेज भएपछि पार्टीको गतिविधिमा संलग्न भए ।

भट्टराईको काँग्रेसका जिल्लास्तरका सबै नेताहरुसंग सम्पर्क थियो । उनी  दुई वर्षमा दुई पटक पक्राउ परे । एक पटक काँग्रेसका नेतासंग सम्पर्क गरे वाफत । दोस्रो पटक, राज्य विरोधी पर्चा बाँडेको आरोपमा ।

कानपुरबाट उनका साथीले कैलालीका एसपी र मालपोतका हाकिमको बिरोधमा पर्चा बनाएर पठाएका थिए । धनगढीका सबै कार्यालयमा ती पत्र उतैको हुलाकबाट पठाउन लगाए । एसपीको विरोधमा एक प्रहरी निरीक्षक थिए । जसले एसपीका सबै कुरा भट्टराईलाई जानकारी दिन्थे । केही पर्चा भट्टराईको डेरामा थिए । छापा मार्नु अघि नै जिल्ला प्रहरी कार्यालयका थानेदार जोगराम श्रेष्ठ र पूर्व डीडीओ मदन लाल श्रेष्ठको सल्लाहमा पर्चा जलाएर पानीमा बगाई दिए । एसपीले उनलाई पक्राउ त गरे । प्रमाण फेला परेन । उनी मुक्त भए ।

पञ्चायतमा व्यवस्थाको विरोधमा लेख्न, बोल्न पाईदैनथ्यो । प्रशासक तथा सुरक्षा प्रमुखहरुका बारेमा समेत टिकाटिप्पणी गर्न बन्देज थियो । पार्टीको सदस्यता वा व्यवस्था विरोधी पर्चा भेटिए ज्यानमै खतरा हुन्थ्यो । कसैले नसुनोस, थाह नपावस भनेर पार्टीको छलफल गोप्य कोठामा गरिन्थ्यो । त्यो पनि अत्यन्त सजग भएर ।

२०१८ साल चैतमा कैलालीको घियाका ३५/३६ वर्षका जोगराम थारुलाई प्रहरीले मोहना किनारबाट पर्चा सहित पक्राउ ग¥यो ।
काँग्रेसका कार्यकर्ता जोगरामलाई उनले तिकुनियामा भेटेका थिए । गोपाल बहादुर कर्माचार्यले उनको जोगरामसंग परिचय गराएका थिए । जोगराम लोकेन्द्र बहादुर शाहको हात्तीको माउते थिए । पक्राउपछि जोगरामलाई भाग्न लगाएर प्रहरीले पछाडिबाट गोली हानेर हत्या ग¥यो । संभवत जोगराम पञ्चायती व्यवस्थाले हत्या गरेका पहिलो चौधरी सहिद हुन् ।

काँग्रेसका कार्यकर्ताहरु व्यवस्थाको विरोधमा मात्र थिएनन्, त्यो व्यवस्थाले संरक्षण गर्ने हरेक गलत कुराको प्रतिरोध गर्थे । सरकारी अड्डामा हुने घुसखोरीको विरोध गर्थे । गोपाल बहादुर कर्माचार्य र जनक कर्माचार्यले वन विभागमा लेनदेन भईरहेको १२ हजार रुपैया नियन्त्रणमा लिए । वन विभागका अफिसरलाई ठेकेदारले घुस वाफत त्यो रकम दिदै थिए । कर्माचार्य दाजुभाईले त्यही रकमले २०२० सालमा कैलाली जनपुस्तकालय स्थापना गरे । पुस्तकालयको पहिलो ग्रन्थपाल भट्टराई थिए । उनले अवैतनिक रुपमा पुस्तकालयमा केही समय सेवा गरे ।

२०२२ अञ्चलाधिश उपाध्यायको सरुवा भएपछि उनले राससमा काम गर्न छोडे । संगै शिक्षक पदबाट पनि राजिनामा दिए । र, पढ्न काठमाण्डौं गए । भारतमा प्रमाण तहको पहिलो वर्षको परीक्षा पास गरेका थिए । आईएडको कक्षा लिए । मन लागेन । कैलाली फर्के । केही दिन पुनः त्रिनगरमा पढाए ।

चिनजानका निर्मल श्रेष्ठले बोलाएपछि उनी  जोशीपुरको मुद्दी पुगे । श्रेष्ठकै आग्रहमा जनप्रकाश प्राथमिक विद्यालयमा पढाए । ११ महिनापछि उनले मुद्दी छोडे ।

त्यसपछि उनी राष्ट्र बैंकमा जोडिए ।  झुंगामा भन्सारसंगै बैंकको काउण्टर थियो । उनी काउण्टर एशिसटेण्ट थिए । प्रशासनिक विवादपछि उनले एक महिना पुरा नहुदै जागीर छोडे । नारायणपुर बेलुवाका ऐन बहादुर मल्लका बच्चाहरुलाई पढाउन थाले ।

मुनुवामा कैलालीकै दोस्रो विद्यालय सञ्चालनमा आयो । २०२४ सालमा जनता निम्न माध्यमिक विद्यालय थियो । त्यतिबेला भारतीय मूलका व्यक्ति प्रधानअध्यापक थिए । २०२९ सालमा माध्यमिक विद्यालयमा स्तरोन्नती भयो । पहिलो हेडमास्टर अर्जुन सिटौला थिए । प्रशासनिक कारणले सिटौलाले राजिनामा दिए । र, खेमराज पाण्डेय हेडमास्टर भए । अध्यक्ष धनञ्जय शर्मा थिए । शर्माले पढाउन बोलाएपछि उनी २०२४ सालमा मुनुवा पुगे । चार महिना निशुल्क पढाए । त्यसपछि निरन्तर २०३६ सालसम्म त्यही पढाए । शिक्षण । राजनीति । संगै । पेशाप्रति ईमान्दार । शिक्षण पेशामा राजनीति मिसाएनन् । उनी तत्कालिन व्यवस्थाको तारो थिए । राजनीतिमा किन ? जिल्ला शिक्षा कार्यालय स्पष्टिकरण सोध्यो । स्पष्टिकरणसंगै शिक्षकको जागीर छोडे ।

जनक कर्माचार्यको आग्रहमा दुई वर्षपछि उनी टीकापुरको घिया पुछरी पुगे । त्यहाँ कर्माचार्यको अगुवाईमा स्थापना भएको हिमालय माविमा पढाउन थाले । उनी जहाँ जान्थे, त्यहाँ सुधार ल्याउन कोशिस गर्थे । उनले एउटा विद्यालयको मात्र नभएर समग्र जिल्ला भरीको शिक्षाको गुणस्तरमा गुणस्तर सुधार गर्न आवश्यक ठाने । त्यही सोचले परीक्षा प्रणालीमा सुधार गर्ने नीति ल्याए । मलवारा परीक्षा समिति बनाए । शुरुवातमै समितिमा १२ विद्यालय जोडिए । उनको यो नीतिले नक्कल गर्न कठिनाई भयो । तोकेको न्यूनतम अंक सबैले ल्याउन सकेनन् ।

२०४० सालमा धेरै विद्यार्थीहरु फेल भए । उनी धनगढी थिए । विद्यार्थीहरुले उनको घरमा ढुंगामुढा हाने । त्यतिबेला विद्यालयमा बामपन्थी नेता मोहन बिक्रम सिंहको प्रभाव बढ्दो थियो । विद्यालयमा सिंहकी पत्नी शान्ता सिंह पनि पढाउथिन् । बामपन्थीको उक्साहटमा विद्यार्थीहरुले ढुंगामुढा प्रहार गरेको उनको बुझाई थियो । सुधारमा अवरोध । उनलाई चित्त बुझेन् । उनले सधैका लागि शिक्षण पेशा छोडे । र, पूर्णकालीन राजनैतिक कार्यकर्ता भए ।

२०४३ सालमा मुनुवामा कपडा पसल खोले । केहीसमय पछि श्रीमती र भाईलाई पसल जिम्मा लगाएर काठमाण्डौं गए । गणेशमानको निवास चाक्सीबारीमा आयोजित काँग्रेसको राष्ट्रिय सम्मेलनमा  उद्घोषकले कैलाली जिल्लाका सचिव टेक बहादुर चोखाललाई सम्बोधनका लागि बोलाए । चोखाल मञ्चमा नपुग्दा साथीहरुको आग्रहमा भट्टराईले मन्तव्य व्यक्त गरे । सोही सम्मेलनमा काँग्रेसले देशव्यापी रुपमा आन्दोलन गर्ने निर्णय गर्यो । गणेशमान सिंहले उनलाई सत्ता बिरोधी अभियान व्यापक बनाउन जिल्ला फर्किन सुझाव दिए । उनी फर्किए । प्रहरी खोजी गर्न थाल्यो । उनी लुकीछिपी हिड्न थाले । पसल जान पाएनन् । श्रीमती र भाईले चलाउन सकेनन् । पसल घाटामा गएपछि बन्द गरे । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि पूर्ण रुपमा होमिए ।

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । मंगलबार साँझबाट सक्रिय बनेको मौसमी प्रणालीका कारण आज बुधबार देशका धेरै ठाउँमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ। यही प्रणालीका पहाडी र हिमाली भूभागमा हल्का वर्षा भइरहेको छ।

बुधबार भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा कोशी र बागमतीका पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए। त्यस्तै, मधेश प्रदेशलगायत कोशी र बागमतीका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा भने भारी वर्षाको आकलन पनि गरिएको छ। ‘मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशीका पहाडी र तराई भूभागमा केही स्थानमा हावाहुरीको पनि सम्भावना छ,’ मौसमविद् लामिछानेले बताए। बुधबार राति यो प्रणालीले पूर्व र मध्य नेपालमा पनि वर्षा गराउने देखिन्छ।

विभागका अनुसार राति कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम पहाडी र हिमाली भूभागको धेरै स्थान तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बिहीबार भने यो प्रणाली कमजोर हुने आकलन गरिएको छ। तर, कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा मधेशका एक-दुई स्थानमा भने मध्यम वर्षा हुने आकलन छ।

दुई साताका लागि अमेरिका-इरानबीच युद्धविराम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दुई साता सैन्य कारबाही नगर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ ।

उनले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको पुष्टि गर्न इरानको विदेशमन्त्री अब्बास अरघचीको वक्तव्य समेत ट्रुथ सोसलमा साझा गरेका छन् ।

सो वक्तव्यमा अरघचीले भनेका छन्, ‘यदि इरानविरुद्धका आक्रमण रोकिए भने, हाम्रो शक्तिशाली सशस्त्र बलले आफ्ना रक्षात्मक कारबाहीहरू रोक्नेछ । साथै, आगामी दुई हप्तासम्म स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत इरानको सैन्य समन्वयमा सम्भव हुनेछ ।’

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो वक्तव्य पनि सार्वजनिक गरेका छन् । सो वक्तव्यमा इरानमाथि दुई हप्ताका लागि आक्रमण स्थगित गरिएको उल्लेख छ । उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको हो । उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए ।

ट्रम्पले लेखेका छन्, ‘प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानका फील्ड मार्शल असिम मुनिरसँग भएको संवादमा, उहाँहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्ति रोक्न आग्रह गर्नुभएको थियो । साथै, इरानले स्ट्रेट अफ होर्मुजलाई पूर्ण, तत्काल र सुरक्षित रूपमा खुला गर्न सहमत हुने सर्तमा, म इरानमाथि हुने बमबारी र आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको छु । यो दुवै पक्षबाट हुने युद्धविराम हुनेछ ।’

कांग्रेस संसदीय दलको नेता चयनमा विलम्ब

काठमाडौं । आकांक्षीबिच समझदारी नबन्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको नेता चयन विलम्ब भएको छ । आगामी सातासम्म सकेसम्म सर्वसम्मत दलको नेता चयन गर्ने गृहकार्यमा जुटेको कांग्रेसभित्र दाबेदारहरूलाई उपनेता, प्रमुख सचेतक र सचेतकलगायतको आश्वासन दिएर मनाउने प्रयास भएको छ । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य हुने प्रावधानका कारण यो पदको महत्व छ ।

संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन् । मुख्य दाबेदार नेता केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद बनेका हुन् । प्रत्यक्ष निर्वाचितलाई दलको नेता बनाउनुपर्ने तर्क पनि कांग्रेसमा उठेको छ । मोहन आचार्य, भरत खड्का, निस्कल राईलगायतको पनि चर्चा छ ।

कांग्रेसले भने दलको नेता चयन सहज बनाउन समिति गठन गरेको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको समितिले दलको विधान अध्ययन र आंकाक्षीसँग संवाद थालेको छ । सभापति गगन थापाले रसाइलीको नेतृत्वमा राजु कटुवाल र मुना भुसाल सदस्य रहेको समिति गठन गर्दै सहमतिका लागि प्रयास गर्न ‘म्यान्डेड’ दिएका थिए ।

कांग्रेस नेता केसीले ज्येष्ठ सदस्यको हैसियतमा आइतबारसम्म संसद् सञ्चालन गर्नुपरेका कारण संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्न नसकेको, तर अब प्रक्रिया अघि बढ्ने पार्टी सहमहामन्त्री रसाइलीले बताए । उनले पार्टीको मधेश प्रदेशमा २५ चैतका कार्यक्रम सम्पन्न भइसकेपछि नेता चयनका लागि छलफल सुरु गर्ने बताए ।

अमेरिकन जीवन शैली र जीवन बीमा

टीका पौडेल ।
अमेरिका अवसरहरूको देश हो, जहाँ मानिसहरू राम्रो भविष्यको खोजीमा पुग्छन्। यहाँको जीवनस्तर उच्च भए पनि जीवनशैली अत्यन्त व्यस्त, प्रतिस्पर्धात्मक र अनियमित छ। विशेषगरी नेपाली आप्रवासीहरूको जीवन झन् बढी संघर्षपूर्ण हुन्छ, किनकि उनीहरू आफ्नो परिवारको भविष्य सुरक्षित गर्नका लागि दिनरात मेहनत गरिरहेका हुन्छन्। बिहानदेखि बेलुकीसम्म काममा व्यस्त रहने, कहिलेकाहीँ एकभन्दा बढी काम गर्ने, सप्ताहन्तमा पनि आराम नगरी काम गर्ने जस्ता अवस्थाले जीवनलाई पूर्ण रूपमा काम केन्द्रित बनाइदिएको छ। यस्तो जीवनशैलीले मानिसलाई आर्थिक रूपमा अगाडि बढ्न सहयोग गरे पनि स्वास्थ्य, मानसिक सन्तुलन र दीर्घकालीन जीवन गुणस्तरमा नकारात्मक असर पारिरहेको हुन्छ।

अमेरिकन जीवनशैलीको अर्को महत्वपूर्ण पक्ष भनेको अनियमित खानपान र निद्रा हो। धेरै मानिसहरू समयमै खाना खान सक्दैनन्, फास्ट फूडको प्रयोग बढेको हुन्छ, र पर्याप्त निद्रा लिन पाउँदैनन्। यसले शरीरमा विभिन्न प्रकारका समस्याहरू निम्त्याउँछ, जस्तै मोटोपना, मधुमेह, उच्च रक्तचाप र पाचनसम्बन्धी समस्या। साथै, व्यस्तता र थकानका कारण शारीरिक व्यायाम गर्ने समय नपाउनु पनि एउटा ठूलो समस्या हो। लामो समयसम्म बसिरहने बानीले शरीरलाई झन् कमजोर बनाउँछ र दीर्घकालीन रोगहरूको जोखिम बढाउँछ। यससँगै मानसिक तनाव, एक्लोपन र सामाजिक दूरी पनि बढ्दै जान्छ, जसले मानिसलाई भित्रबाट कमजोर बनाउँछ।

यस्तो अस्तव्यस्त जीवनशैलीका कारण क्यान्सर, मुटु रोग, स्ट्रोक, प्यारालाइसिस जस्ता गम्भीर रोगहरूको जोखिम बढ्दै गएको छ। यी रोगहरू केवल शारीरिक मात्र होइन, आर्थिक रूपमा पनि ठूलो बोझ बन्न सक्छन्। अमेरिकामा स्वास्थ्य सेवा अत्यन्त महँगो भएकाले एउटा ठूलो रोग लागेपछि परिवारको आर्थिक अवस्था नै बिग्रिन सक्छ। त्यस्तै, यदि कुनै व्यक्ति काम गर्न नसक्ने अवस्थामा पुग्यो भने आम्दानी बन्द हुन्छ तर खर्च भने अझ बढ्छ। यस्तो अवस्थामा परिवारलाई धान्न झन् कठिन हुन्छ। अझ गम्भीर अवस्था तब हुन्छ जब परिवारको मुख्य कमाउने व्यक्ति नै अकालमै मृत्यु हुन्छ, जसले गर्दा परिवार पूर्ण रूपमा आर्थिक संकटमा पर्न सक्छ।

यस्ता परिस्थितिहरूका कारण अमेरिकामा GoFundMe जस्ता प्लेटफर्ममार्फत सहयोग माग्ने चलन बढ्दै गएको छ। यद्यपि, यो स्थायी समाधान होइन। सबैले सहयोग पाउँछन् भन्ने पनि छैन, र यसले आत्मनिर्भरता भन्दा निर्भरता बढाउँछ। त्यसैले समस्या आइपरेपछि अरूसँग सहयोग माग्नु भन्दा पहिले नै भविष्यको लागि योजना बनाउनु नै बुद्धिमानी हुन्छ। मानिसले आफ्नो आम्दानीबाट केही अंश बचत गर्ने बानी बसाल्नु अत्यन्त आवश्यक छ, जसले भविष्यमा आउने कठिन परिस्थितिहरू सामना गर्न सहयोग पुर्‍याउँछ।

यही सन्दर्भमा जीवन बीमाको महत्व अत्यन्त ठूलो छ। जीवन बीमा केवल मृत्यु पछि पैसा दिने साधन मात्र होइन, यो भविष्यको आर्थिक सुरक्षा सुनिश्चित गर्ने एक प्रभावकारी माध्यम हो। यसले मानिसलाई जोखिम व्यवस्थापन गर्न, बचत गर्न र आफ्नो परिवारलाई सुरक्षित राख्न मद्दत गर्दछ। विशेषगरी Index Universal Life (IUL) जस्तो बीमा योजना आजको समयको लागि अत्यन्त उपयोगी मानिन्छ। IUL बीमा यस्तो प्रणाली हो जसले जीवन बीमा, बचत र लगानीलाई एकै ठाउँमा जोड्दछ। यसमा व्यक्तिले आफ्नो क्षमता अनुसार रकम जम्मा गर्न सक्छ, जुन बजारको सूचकांकसँग जोडिएर वृद्धि हुन्छ, तर बजार घट्दा पनि मूल रकम सुरक्षित रहने व्यवस्था हुन्छ।

IUL को अर्को महत्वपूर्ण पक्ष भनेको यसको कर (tax) सम्बन्धी लाभ हो। यसमा जम्मा भएको रकम करमुक्त रूपमा वृद्धि हुन सक्छ र आवश्यक परेमा कर नलाग्ने तरिकाले प्रयोग गर्न सकिन्छ। यसले दीर्घकालीन रूपमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्दछ। साथै, यदि बीमित व्यक्तिको मृत्यु भयो भने परिवारले ठूलो रकम प्राप्त गर्छ, जसले उनीहरूको भविष्य सुरक्षित बनाउन सहयोग पुर्‍याउँछ। यदि व्यक्ति दीर्घायु भयो भने पनि यो योजना अवकाश जीवनका लागि आम्दानीको स्रोत बन्न सक्छ। यसरी हेर्दा IUL केवल बीमा मात्र नभएर सम्पूर्ण जीवन व्यवस्थापनको एउटा महत्वपूर्ण हिस्सा हो।

नेपाली समुदायमा अझै पनि जीवन बीमाको बारेमा पर्याप्त चेतना छैन। धेरै मानिसहरू यसलाई खर्चको रूपमा हेर्छन्, लगानीको रूपमा होइन। उनीहरू तत्कालको आवश्यकतामा ध्यान दिन्छन् तर भविष्यको योजना बनाउन पछि पर्छन्। तर वास्तविकता के हो भने, सानो(सानो रकम बचत गरेर दीर्घकालीन रूपमा ठूलो सुरक्षा बनाउन सकिन्छ। नेपाली समाजमा परिवारलाई प्राथमिकता दिने संस्कार भएकाले जीवन बीमा झन् आवश्यक हुन्छ, किनकि यसले परिवारलाई कठिन परिस्थितिमा पनि सुरक्षित राख्न मद्दत गर्दछ।

अमेरिकन जीवनशैलीलाई व्यवस्थित गर्न केवल मेहनत गर्नु मात्र पर्याप्त हुँदैन, सही योजना बनाउनु पनि आवश्यक हुन्छ। मानिसले आफ्नो समय व्यवस्थापन गर्न, स्वास्थ्यमा ध्यान दिन र आर्थिक योजना बनाउन सिक्नुपर्छ। जीवन बीमा, बचत र लगानी यी तीनवटै पक्षलाई सन्तुलनमा राखेर मात्र सुरक्षित र सफल जीवन बिताउन सकिन्छ। आजको सानो निर्णयले भोलिको ठूलो परिणाम निर्धारण गर्छ भन्ने कुरा बुझ्नु अत्यन्त जरुरी छ।

अन्ततः, जीवन अनिश्चित छ र भविष्य कसैले देख्न सक्दैन। तर सही समयमा सही निर्णय लिएर हामी भविष्यका जोखिमहरूलाई कम गर्न सक्छौं। जीवन बीमा त्यसैको एक प्रभावकारी माध्यम हो। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले अब GoFundMe जस्ता अस्थायी समाधानहरूमा भर पर्नुभन्दा पहिले नै आफ्नो भविष्य सुरक्षित गर्ने सोच विकास गर्न आवश्यक छ। आर्थिक साक्षरता, योजना र अनुशासनले मात्र दीर्घकालीन सफलता र शान्त जीवन सम्भव बनाउँछ। त्यसैले आजैदेखि आफ्नो जीवनलाई व्यवस्थित गर्ने, भविष्यको लागि योजना बनाउने र जीवन बीमाको महत्व बुझ्ने दिशा तर्फ अघि बढ्नु नै बुद्धिमानी हुनेछ

डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त

काठमाडौं, २४ चैत । सरकारले डा. गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर बन्नबाट रोकेका भट्टलाई बालेन्द्र शाह नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त गरेको हो ।

तत्कालीन सत्तागठबन्धनको प्रमुख साझेदार नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गभर्नर बनाउने नाममा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजिनामा दिन लगाएपनि तत्कालीन प्रधानमन्त्री ओली र देउवापत्नी डा. आरजु राणाले विभिन्न जालझेल गर्दै भट्टलाई रोकेका थिए । ओलीकै निर्देशनमा तत्कालीन कार्यवाहक गभर्नर डा. निलम तिम्सिना ढुंगानाले  भट्टको राजीनामा स्वीकृत गरिनन् ।

त्यसपछि गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेललाई सिफारिस समितिबाट राजिनामा दिन लगाएर पौडेललाई देउवाकै सिफारिसमा ओलीले गभर्नर नियुक्त गरेका थिए ।

राष्ट्र बैंकमा रहँदा उनले कर्जा सूचना केन्द्र अध्यक्ष, धितोपत्र बोर्ड सञ्चालक तथा ग्रामीण विकास बैंक सञ्चालक भएर काम गरेका भट्टले वेन स्टेट युनिभर्सिटी अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले ‘फाइनान्सियल डेभलपमेन्ट एन्ड हेल्थ क्यापिटल एकुमुलेसन’ शीर्षकमा सन् २०१३ मा विद्यावारिधिको अनुसन्धान सम्पन्न गरेका थिए ।

उनले अमेरिकाको मासाच्युसेट्सको विलियम्स कलेजबाट स्नातकोत्तर गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा समेत उनले अर्थशास्त्रमा सर्वोत्कृष्ट अंक हासिल गरी स्वर्ण पदक हासिल गरेका थिए ।

योजना आयोग उपाध्यक्ष नेपाल सरकार तथा प्रधानमन्त्रीको मुख्य आर्थिक सल्लाहकार पनि हो । सरकारका योजना निर्माण, अनुगमन र मूल्यांकनसम्मका काम यो निकायबाट हुने गर्छन् ।

उनी अर्थशास्त्र, वित्त र विकासमा केन्द्रित रही अनुसन्धानात्मक लेखसमेत प्रकाशन गर्दै आइरहेका छन् । विगतमा राजस्व परामर्श समितिमा रहेर काम गरेको अनुभव समेत उनीसँग छ । साथै, डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनी मन्त्रालयको अवैतनिक प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा रहेर काम गरेका छन् ।

राष्ट्र बैंक अनुसन्धान विभाग, नियमन विभाग लगायत महत्त्वपूर्ण विभागमा रहेर काम गरेका डा. भट्ट नेपालका एक प्रतिष्ठित अर्थशास्त्री मानिन्छन् । योजना आयोगमा काम गर्दैगर्दा भट्टसामु लथालिङ्ग विकास प्रशासन सम्हाल्नुपर्ने चुनौती छ ।

 

 

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नयाँ शैक्षिक सत्रबाट सञ्चालनमा आउने

कैलालीः भौतिक संरचना बनेको लामो समयदेखि अलमलमा परेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ । नयाँ सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट र कानुनी प्रक्रियालाई प्राथमिकता दिएर नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने खबरले सुदूरपश्चिमवासीमा उत्साह छाएको छ ।

नेपाल सरकारले २०८० माघ २९ गते मन्त्रीपरिषद् बैठकले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको थियो । करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको यो संरचनामा नेपाल सरकारको छ अर्ब रुपियाँभन्दा बढी लगानी भइसकेको र ४२ वटा भवन ठडिएको पनि धेरै समय बितिसकेको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं। ५ बाट निर्वाचित सांसद डा। आनन्दबहादुर चन्द उक्त विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने विश्वास व्यक्त गरे। उनले भने, ‘विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेटको सुनिश्चित भइसकेको छ । यो विश्वविद्यालय सञ्चालनमा आएसँगै सुदूरपश्चिम क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो अवसरको ढोका खुल्ने छ ।’

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक विगत दुई वर्षदेखि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा थन्किएको छ । प्रतिनिधि सभा सदस्य चन्द नयाँ सरकारले गेटामा शैक्षिक कार्यक्रम सुरु गर्न र अस्पतालको सेवालाई विस्तार गर्न कानुनी र व्यावहारिक बाटो खोल्ने बताउछन्।

उनका अनुसार सुरुको चरणमा ५० जना विद्यार्थीलाई एमबिबिएस वा चिकित्सा शिक्षा पढाउने योजना रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले यो विश्वविद्यालय सञ्चालनमा चासो दिएकाले बजेटको व्यवस्था भएको उनको भनाइ छ ।
सुदूरपश्चिमका सांसदहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा यो विश्वविद्यालय सञ्चालनका लागि रणनीतिक योजनामा राखेर बजेट विनियोजन गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरेको कैलाली निर्वाचन क्षेत्र नं। ४ का प्रतिनिधि सभा सदस्य खेमराज कोइरालाले बताए।

उनले विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउन दुई अर्ब ५८ करोड रुपियाँ बजेट सुनिश्चित भएको र प्रधानमन्त्री शाहले विश्वविद्यालयको काम तत्काल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

यसअघि सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई यस विश्वविद्यालयसँग आबद्ध गर्ने विषयमा प्रदेश सरकारले स्वीकृति दिइसकेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले नयाँ शैक्षिक सत्रबाट चार वटा सङ्कायमा पठनपाठन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। उनले सरकारले विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राखेको र आवश्यक बजेट व्यवस्थापनमा सकारात्मक रहेको बताए।

विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो० ले सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना साकार हुने आशा व्यक्त गरे।   विश्वविद्यालय सभाको पहिलो बैठक आगामी २५ गते बिहान ९ बजेदेखि विश्वविद्यालयपरिसरमै आयोजना हुने भएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले जानकारी दिए।

यसअघि विश्वविद्यालय सभाको तीन वटा बैठक सङ्घीय राजधानी काठमाडौँमा भएकोमा पहिलो पटक विश्वविद्यालय रहेकै स्थानमा बैठक बोलाइएको हो । जोशीका अनुसार बैठकमा विश्वविद्यालयसँग सम्बन्धित नियमावली, विभिन्न कार्यविधिको मनोनयन तथा अनुमोदन, आर्थिक नियमावली र खरिद नियमावलीका विषयमा छलफल हुने छ । (गाेरखापत्र)

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

काठमाडौं/ सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

दार्चुला पुगेर हर्क साम्पाङले भने, विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नु पर्छ

धनगढी ।   श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । उत्तर पश्चिम सिमानाको दार्चुला पुगेर साम्पाङले पारी भारतले धमाधम विकास गर्दा वारी नेपाली भूभाग भने उपेक्षामा परेको भन्दै राष्ट्रियता बलियो बनाउन सीमा क्षेत्रमा विकास राम्रो हुनुपर्ने बताएका हुन् ।

‘पारिपट्टि टु लेनभन्दा धेरै फोर लेनको बाटो इन्डियाले बनाएको छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनुपर्छ,’ साम्पाङले भने, ‘किनभने म चाहिँ सीमावर्ती क्षेत्रमा विकास केन्द्रित गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो ।’

काठमाडौं, विराटनगर, बुटवल, वीरगञ्जजस्ता सहरमा विकास केन्द्रित गरेर बसिरहेको उनले बताए । उनले भने, ‘अब बन्ने बजेटमा थोरैमा पनि ६० प्रतिशत गाउँ केन्द्रित बजेट बनाउनुपर्छ भन्ने मान्यता म राख्छु । यो कुरा म संसद्मा पनि उठाउनेवाला छु ।’

लिपुलेक जाने बाटो भारतले बाटो बनाएको स्थानीयले भनेको उनले बताएका छन् । ‘राष्ट्रसंघ जस्ता निकायमा गएर हाम्रो सीमाको चार किल्ला सुनिश्चित गर्नुपर्छ भन्ने पहिलो माग मैले संसद्मा राखिसकेको छु । सम्बन्धित काममा नेपाल सरकारले ध्यान दिनुपर्छ,’ उनले भने ।

दार्चुलाका विकट गाउँ देखेर आफूलाई दुख लागेको पनि उनले बताए । ‘यहाँ पारिपट्टि राति पनि झिलिमिली हुँदो रहेछ । यहाँ वारी चाहिँ राति अँध्यारो हुँदो रहेछ,’ साम्पाङले अगाडि भने । अब महाकाली नदीबाट बिजुली निकालेर नेपाललाई झिलिमिली पार्नुपर्ने उनले बताए ।

उता विकासका कामले तीव्रता लिइरहँदा यता वारिपट्टि चुपचाप लागेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।

बाजुरा : खोलामा पुल बने पनि आवतजावतमा समस्या उस्तै

बाजुरा । बाजुराको बाजुगाड खोलामा नयाँ पक्की पुल निर्माण भए पनि स्थानीयवासीको आवतजावतको समस्या भने समाधान हुन सकेको छैन । बुढीगङ्गा नगरपालिका–४ र खप्तड छेडेदह गाउँपालिका–३ को बिचमा पर्ने बाजुगाड खोलामा पुल बने पनि दुवैतर्फको ‘साइट’ (एप्रोच सडक र दायाँबायाँको संरचना) निर्माण नहुँदा पुल प्रयोगविहीन बनेको हो ।

विसं २०७२ मा अछामको साउँद एड्भेन्चर जेभीले दुई करोड रुपियाँको लागतमा ४५ मिटर लामो सो पुल निर्माणको जिम्मा लिएको थियो । सम्झौता अनुसार उक्त पुल २०७६ असारसम्ममा सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण २०८२ पुसमा मात्र पुलको मुख्य संरचना निर्माण कार्य सकिएको छ ।

पुलको काम सकिए पनि दुवैतर्फका पहुँच मार्ग र संरक्षणका कार्य अझै बाँकी रहेकाले स्थानीयवासीले अहिले पनि पहिलेकै जस्तो खोला तर्नुपर्ने बाध्यता रहेको छ । बुढीगङ्गा–४, बानेगाउँकी गोमती कटुवाल भन्नुहुन्छ, “गाउँमा धेरै योजना आउँछन्, ठेकेदारले केही काम गरे जस्तो गर्छन् र हराउँछन् । जसका कारण हामीले सधैँ सास्ती खेप्नुपरेको छ ।”

यता, साउँद एड्भेन्चर जेभीका प्रोप्राइटर ईश्वर साउँदले आफूले जिम्मा लिएको ४५ मिटर पुलको काम सम्पन्न गरिसकेकाले अब आफ्नो जिम्मेवारी नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “प्राविधिक गडबडीका कारण केही समय ढिला भए पनि मैले पुलको काम पूरा गरेर सम्बन्धित निकायलाई बुझाइसकेको छु, बाँकी साइडको काम मेरो जिम्मेवारीमा पर्दैन ।”

पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामका कार्यालय प्रमुख जङ्ग थापाले पुलको मुख्य काम सकिए पनि दुवैतर्फका साइड निर्माण बाँकी रहेको स्वीकार गर्नुभयो । “गत वर्ष एकातर्फको साइड निर्माण गरिएको थियो, अहिले अर्कोतर्फको काम गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “साइड निर्माणका लागि अर्को ठेकेदार कम्पनीसँग सम्झौता भइसकेकाले केही समयपछि पुल पूर्णरूपमा सञ्चालनमा आउने छ ।”

 

कारोबारसँगै घट्यो सेयर बजार

काठमाडौँ- मंगलबार सेयर बजार २.६१ अंकले घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ ।

सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११ : ५० बजेपछि केही तल झर्‍यो । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७३ करोडको मात्रै कारोबार भएको छ । धेरैजसो कम्पनीको मूल्य घटेको छ ।

अमेरिकाबाटै प्रकाश देउवाको सभामुखलाई पत्र, अझै बैठकमा उपस्थित नहुने

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले अमेरिकाबाटै सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै आफू अझै केही समय प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका छन्।

कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित देउवा नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा हुन्। उनी भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका छन् र जेन्जी आन्दोलनपछि अमेरिका गएका थिए।

पत्रमा उनले २०८२ भदौ २८ गते व्यक्तिगत कामका लागि अमेरिका गएको र त्यसपछि देखिएको स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा बस्नुपरेको उल्लेख गरेका छन्। यही कारणले सो अवधिमा बसेका प्रदेशसभा बैठकहरूमा सहभागी हुन नसकेको र आगामी २०८२ चैत्र २४ गते बस्ने बैठकमा पनि उपस्थित हुन नसक्ने जानकारी गराएका छन्।

संविधानअनुसार सभामुखलाई जानकारी नगराई लगातार १० बैठकमा अनुपस्थित रहे पद गुम्न सक्ने व्यवस्था छ। यद्यपि, देउवाले केही बैठकमा अनुपस्थित भएपछि सभामुखलाई पत्रमार्फत जानकारी गराएका हुन्।

प्रदेशसभा सचिवालयले उनी सम्पर्कमा नरहेको भन्दै सेवा–सुविधा समेत रोकेको छ। प्रदेश सभा सचिवालयले सभामुखलाई सम्बोधन गरिएको पत्र प्राप्त भएको पुष्टि गरेको छ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो।

धनगढीको फाप्ला मैदानमा जब क्रिकेट खेल्न थाले खेलकुदमन्त्री पोखरेल…

धनगढी । शिक्षा विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फाप्ला क्रिकेट मैदान तथा खेलग्रामको निरीक्षण गरेका छन् । मंगलबार बिहानै मैदानमा पुगेका मन्त्री पोखरेलले त्यहाँ क्रिकेट पनि खेले । प्रतिनिधिसभा सदस्य केपी खनालको बलिङमा मन्त्री पोखरेलले ब्याटिङ गरेका थिए । मन्त्री पोखरेलको बलिङमा खनालले ब्याटिङ गरेका थिए ।

सो क्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको बताए । ‘खेलकुद हाम्रो प्राथमिकतामा नै छ,’ उनले भने, ‘स्टेडियम निर्माण पनि प्राथमिकतामा छ । त्यसका लागि स्रोत कसरी जुटाउन सकिन्छ भन्ने विषयमा हामी छलफलमै छौं ।’

सुदूरपश्चिममा खेलकुदभित्र पनि क्रिकेट बढी लोकप्रिय भएकाले फाप्ला निर्माणका लागि पनि स्रोत जुटाउने प्रयासमा सरकार रहेको मन्त्री पोखरेलले बताए । अर्थ मन्त्रालय नेपाल क्रिकेट संघ, खेलकुद परिषद् लगायतका निकायसंग खेलकुद मन्त्रालय छलफलमा रहेको मन्त्री पोखरेलले बताए ।

बुधबार गेटामा पहिलोपटक बस्न लागेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठकका लागि मन्त्री पोखरेल सुदूरपश्चिम आएका हुन् । यसअघिका सिनेट बैठक संघीय राजधानीमा भउका थिए ।

मन्त्रिपरिषद्को मर्यादाक्रममा गृहमन्त्री गुरूङ पाँचौमा, कसको मर्यादा कति?

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गरिएको हो।

नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानमा पुगेका छन्।

दोस्रोमा डा‍. स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।

बलात्कार आरोपमा पक्राउ परेका ‘बले’माथि परेन कुनै उजुरी, लाग्नेभयो अर्कै मुद्दा

 काठमाडौं । हिरासतमा रहेका कलाकार सागर लम्साल ‘बले’ लाई सरकारी वकिल कार्यालय लगिएको छ । आज म्याद थप गर्नुअघि उनलाई बयानका लागि लगिएको हो ।

अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई हिजो पक्राउ गरिएको थियो । उनलाई हत्कडीसहित थुनुवा पोशाकमा प्रहरीले सरकारी वकिल कार्यालय पुर्‍याएका छन् ।

उनीविरुद्ध कुनै जाहेरी नभएकाले शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै मुद्दा चलाउने तयारी प्रहरीले गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदै

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आज (मंगलबार)देखि सुरु हुँदै छ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका हुन्। गत चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम चैत २४ गते मंगलबार अपराह्न ४ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए।

उक्त सिफारिसलाई अनुमोदन गर्दै प्रदेश प्रमुख मियाँले अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाएका हुन्। यससँगै प्रदेश सभाको सातौँ अधिवेशन औपचारिक रूपमा सुरु हुनेछ। यसअघि प्रदेश सभाको छैटौँ अधिवेशन गत माघ २५ गते अन्त्य भएको थियो।

त्यसपछि लामो समयसम्म अधिवेशन नबस्दा प्रदेश सभाको गतिविधि प्रभावहीन जस्तै बनेको थियो । विशेषगरी ‘जेन–जी आन्दोलन’ पछि प्रदेश सभा निष्क्रिय जस्तै देखिएको थियो, जसले प्रदेशको नीति निर्माण र कानुन निर्माण प्रक्रियामा असर पारेको बताइन्छ।

अब सुरु हुन लागेको सातौँ अधिवेशनबाट प्रदेश सरकारका नीति तथा कार्यक्रम, बजेट तयारी, तथा विभिन्न विधेयकहरू अघि बढाउने अपेक्षा गरिएको छ। साथै, प्रदेशका समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा पनि गहन छलफल हुने विश्वास गरिएको छ।

खोज्नुहोस