२०२६ को विश्वकपमा कुन-कुन ऐतिहासिक रेकर्डहरू तोडिन सक्छन्?

धनगढी । जुन ११ देखि जुलाई १९ सम्म उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा हुने फिफा विश्वकप २०२६ धेरै अर्थमा ऐतिहासिक हुनेछ।

यसपटक टोलीको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्‍याइएको छ भने खेलहरूको सङ्ख्या ६४ बाट बढेर १०४ पुगेको छ। धेरै खेल हुनुको अर्थ नयाँ रेकर्डहरू बन्ने अवसर पनि धेरै हुनु हो।

तोडिने रेकर्डहरू:

  •  धेरै खेल जित्ने प्रशिक्षक: हाल यो रेकर्ड पश्चिम जर्मनीका हेल्मुट शोन (१६ जित) को नाममा छ। फ्रान्सका प्रशिक्षक डिदिएर डेसच्याम्प्सले अहिलेसम्म १४ खेल जितिसकेका छन्। फ्रान्सको टोली बलियो भएकाले यसपटक डेसच्याम्प्सले यो रेकर्ड सजिलै तोड्ने अनुमान गरिएको छ।
  •  कुल गोल सङ्ख्या: सन् २०२२ को कतार विश्वकपमा सबैभन्दा धेरै १७२ गोल भएका थिए। २०२६ मा खेलको सङ्ख्या धेरै (१०४ खेल) भएकाले गोलको सङ्ख्याले नयाँ उचाइ लिने निश्चित छ। औसतमा प्रति खेल २.२ गोल मात्र भयो भने पनि कुल गोल २३० नाघ्नेछ।
  • ४० वर्ष कटेका धेरै खेलाडी: विश्वकपको इतिहासमा हालसम्म ४० वर्ष वा सोभन्दा माथिका ७ खेलाडीले मात्र खेलेका छन्। तर यसपटक क्रिस्टियानो रोनाल्डो (४१), लुका मोडरिच (४०), म्यानुएल नोयर (४०) र गुइलेर्मो ओचोवा (४०) जस्ता धेरै भेट्रान खेलाडीहरू मैदानमा उत्रने सम्भावना छ।

तोडिन सक्नेरेकर्डहरू:

  • सर्वाधिक गोलकर्ता: जर्मनीका मिरोस्लाभ क्लोजको नाममा १६ गोलको रेकर्ड छ। अर्जेन्टिनाका लियोनेल मेस्सी (१३ गोल) र फ्रान्सका किलियन एमबाप्पे (१२ गोल) यो रेकर्डको निकै नजिक छन्। एमबाप्पेको उमेर कम भएकाले उनले यसै पटक वा अर्को पटक यो रेकर्ड तोड्ने सम्भावना प्रबल छ।
  • कान्छो ‘गोल्डेन बुट’ विजेता: सन् २०१० मा थोमस मुलरले २० वर्षको उमेरमा ५ गोल गर्दै गोल्डेन बुट जितेका थिए। यसपटक स्पेनका १८ वर्षीय लामिन यामलले यो रेकर्डलाई चुनौती दिन सक्छन्। यद्यपि, उनी अहिले चोटबाट निको हुने प्रक्रियामा छन्।

तोडिन असम्भव जस्तै रेकर्डहरू:

  • कान्छो गोलकर्ता: ब्राजिलका महान खेलाडी पेलेले १७ वर्ष २३९ दिनको उमेरमा गोल गरेका थिए। मेक्सिकोका गिल्बर्टो मोराले जुन ११ मा गोल गरे भने पनि उनी पेलेभन्दा एक दिनले ढिलो (१७ वर्ष २४० दिन) हुनेछन्। त्यसैले पेलेको यो रेकर्ड सुरक्षित देखिन्छ।
  • सबैभन्दा ठूलो जित: सन् १९८२ मा हंगेरीले एल साल्भाडोरलाई १०-१ ले हराएको थियो। आजभोलिको फुटबलमा कुनै पनि टोलीले विपक्षी विरुद्ध १० गोल गर्नु असम्भव जस्तै मानिन्छ।
  •  धेरै टाढाबाट गरिएको गोल: स्पेनका डेभिड भिल्लाले ४१.४ मिटर टाढाबाट गोल गरेका थिए। आधुनिक फुटबलमा खेलाडीहरू डि-बक्स भित्रै छिरेर गोल गर्न रुचाउने भएकाले यो रेकर्ड तोडिन गाह्रो छ।

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो ।

बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।

यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।

सर्वदलीय बैठक : विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्को रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने अडान कायमै राखेका छन् । सोमबार (जेठ २५) सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलका नेता र सांसदले प्रधानमन्त्रीले एकै मिनेट आएर भए पनि बोल्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने, “प्रधानमन्त्री आएर एकै मिनेट भए पनि जवाफ दिनुपर्छ ।”

नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री बालेनले संसद्मा दिएको अभिव्यक्ति सच्याउनुपर्ने विपक्षीको माग छ ।

बैठक आह्वानकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने प्रधानमन्त्रीले जवाफ नदिने स्पष्ट पारे । बैठकमा उनले भने, “परराष्ट्रको विषय भएकाले आज परराष्ट्रमन्त्रीले (संसद्मा) बोल्नुहुन्छ ।”

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले बैठकमा प्रश्न गरे, “परराष्ट्रमन्त्री बोल्न हुने, प्रधानमन्त्रीले नहुने ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भने सरकारले वैदेशिक मामिलामा अपरिपक्व व्यवहार देखाउन नहुनेमा जोड दिए । सरकारका गलत क्रियाकलापका भारी देशले व्यहोर्नुपर्ने बैठकमा उनको भनाइ थियो ।

यस दिन पनि संसद् बैठक सञ्चालनमा अवरोध गर्ने विपक्षीको तयारी छ । सर्वदलीय बैठक सकाएर नेताहरू खाना खान गएका छन् ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति र प्रतिनिधिसभा नियमावलीको व्यवस्थाप्रति विपक्षी दलको विमति छ । यही विषयमा विपक्षीले संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् ।

उनीहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा नियमावली जबरजस्ती पारित गरिएको भन्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग पनि विपक्षी असन्तुष्ट छन् ।

बलिउड स्टार राकेश वेदीले गरे पशुपति दर्शन

काठमाडौं । बलिउड अभिनेता राकेश वेदीले सोमबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । पत्नी र सहयोगीसहित उनी विशेष पूजाको लागि मन्दिरमा पुगेका थिए ।

आफू अभिनित पछिल्लो फिल्म ‘है जवानी तो इश्क होना है’ प्रवर्धनका लागि उनी दुई दिने काठमाडौं भ्रमणमा छन् । उनले आइतबार क्यूएफएक्सको छायाँ र कमलपोखरीको बिग मूभिजमा पुगेर दर्शकसँग भेटघाट गरे ।

सोमबार दिउँसो मण्डला थिएटरमा सांस्कृतिक आदानप्रदानसम्बन्धी कार्यक्रममा उनले सहभागिता जनाउने भएका छन् । फिल्म वितरण कश्यप नरेन्द्र वेद र नवीन उदासले अभिनेता वेदीलाई नेपालमा ल्याएका हुन् ।

उनीहरू नियोम फिल्म्स र क्यापिटल वल्र्ड ग्रुपसँग पनि आबद्ध छन् ।

वेदी भारतीय फिल्म तथा टेलिभिजन क्षेत्रका चर्चित कलाकारमध्ये एक हुन् । करिब पाँच दशक लामो अभिनय यात्रामा उनले चश्मे बद्दूर, हीरो नम्बर १, दिल है कि मानता नहीं लगायतका दर्जनौं फिल्म र लोकप्रिय टेलिशृंखलामा अभिनय गरेका छन ।

उनको पछिल्लो फिल्म धुरन्धर २ नेपालमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्म हो । यो फिल्ममा बेदीले ‘जमील जमाली’ नामक प्रभावशाली पात्र निर्वाह गरेका छन् ।

टी-२०आईमा दीपेन्द्रको कीर्तिमानी १००औं खेल पूरा

काठमाडौं । नेपाली टी-२०आई टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा १००औं खेल पूरा गरेका छन् ।

एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा सोमबार हङकङसँग मैदानमा उत्रिएसँगै उनको १०० खेल पूरा भएको हो । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दैछ ।

उनी १००औं खेल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । उनीभन्दा पछाडि सोमपाल कामीले ९१ खेल खेलेका छन् भने करण केसीले ९० खेल खेलेका छन् ।

दीपेन्द्रले सन् २०१८ मा लर्ड्समा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत नेपालका लागि टी-२०आई डेब्यू गरेका थिए ।

दीपेन्द्रले १००* खेलमा १ शतक र १२ अर्धशतकसहित २२१३ रन बनाएका छन् । यस्तै उनले ६२ विकेट समेत लिएका छन् । आजको खेलमा गरेको प्रदर्शन यसमा जोडिन बाँकी छ ।

हाल दीपेन्द्र आईसीसीको टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा छन् । उनी दोस्रो स्थानसम्म पुग्न सफल भइसकेका छन् ।

लामो समय उपकप्तानका रूपमा रहेका दीपेन्द्र केही समयअघि मात्रै टी-२०आई टोलीको कप्तान नियुक्त भएका थिए ।

दीपेन्द्रका कीर्तिमान

दीपेन्द्रले नेपालका लागि विभिन्न कीर्तिमानहरू समेत बनाएका छन् । ९ बलमै ५० रन बनाएर नतोडिने कीर्तिमान बनाएका उनले एकै ओभरमा ६ छक्काको कीर्तिमान समेत बनाएका छन् ।

सन् २०२३ सेप्टेम्बरमा चीनको हाङ्जाउमा भएको एसियन गेम्स अन्तर्गत मंगोलियासँगको खेलमा उनले इनिङ सकिन ११ बल बाँकी रहेको अवस्थामा समेत ९ बलमा ८ छक्कासहित ५० रन बनाएर सबैभन्दा छिटो बनेको अर्धशतकको नतोडिने कीर्तिमान बनाए । उनको यो कीर्तिमान बराबरी मात्र हुन सक्छ ।

यस्तै सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध इनिङको अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए । त्यसबेला ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए । केही दिनअघि कुशल भुर्तेलले पनि चीनविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरे ।

दीपेन्द्रले नेपालका लागि यू–१९ स्तरमा पनि कप्तानी गरेका छन् । उनकै कप्तानीमा नेपालले यू-१९ एसिया कपमा भारतलाई हराएको थियो । घरेलु प्रतियोगितामा पनि उत्तिकै सफल छन् । उनले २०१९ मा सीआईबी अत्तरियाको कप्तानी गर्दै टोलीलाई धनगढी प्रिमियर लिग (डीपीएल) उपाधि दिलाएका थिए ।

अर्को फ्रेन्चाइज लिग नेपाल टी–२० मा लुम्बिनी अल स्टार्सलाई उपाधि दिलाए । २०२३ मा नेपाल पुलिस क्लबलाई नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण र २०२४ मा प्रधानमन्त्री कपको उपाधि दिलाए ।

नेपाल पुलिस क्लबबाट लामो समय खेलेपछि उनले गतवर्ष नेपाल पुलिस क्लब छाडे । हाल उनी घरेलु क्रिकेटमा कुनैपनि विभागीय टिम वा प्रदेशस्तरको टिममा आबद्ध छैनन् ।

नेपालको घरेलु फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै संस्करणमा उनले सुदूरपश्चिम रोयल्सको कप्तानी गर्दै फाइनलसम्म पुर्‍याएका थिए । यद्यपी उपाधि भने जिताउन सकेनन् ।

यीबाहेक दीपेन्द्रले देशबाहिर पनि फ्रेन्चाइज लिग खेलेका छन् । क्यानडाको ग्लोबल टी-२० लिग तथा यूएईको आईएल टी-२० मा खेलेका दीपेन्द्रलाई बेल्जियको इयू टी-२० लिगमा पनि जेबी ब्रुग्सले अनुबन्ध गरेको छ ।

हाल भइरहेको इयू टी-२० लिगमा दीपेन्द्रले खेल्न भने पाएका छन् । एसियन गेम्स छनोटका कारण उनी राष्ट्रिय टोलीबाट खेल्न व्यस्त छन् ।

रास्वपा अधिवेशन- ५६ जिल्लाले पायो नेतृत्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ५६ जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ। अधिवेशन भएकामध्ये ५६ जिल्लाले नयाँ नेतृत्व पाइसकेको प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार १२ जिल्लामा नेतृत्व चयनको लागि निर्वाचनको चरणमा रहेको बताए।

अहिलेसम्म डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा अधिवेशन सुरु भएको छैन। बागमती प्रदेशका सबै जिल्लाले नयाँ नेतृत्व पाएपनि सिन्धुपाल्चोकको भने स्थगित भएको छ।

यस्तै, बागलुङमा सहमतिमा नेतृत्व चयन भएपनि उजुरी प्राप्त भएको उनले बताए।

मधेश प्रदेशका कुनै प्रदेशले पनि कुनै जिल्लाले पनि अहिलेसम्म नेतृत्व चयन गर्न सकेको छैनन्।

५ जिल्लामा निर्वाचनको चरणमा रहेपनि धनुषामा २६ सप्तरी र बारामा २५ गतेका लागि अधिवेशनको मिति तय भएको छ।

कुन जिल्लामा को बने सभापति ?

कोशी
झापा-ओमनाथ भण्डारी
मोरङ-भरत कँडेल
सुनसरी-सागर दाहाल
तेह्रथुम-सुमन खत्री
ताप्लेजुङ-राजनकुमार कुरूङ
भोजपुर – ख्यामबहादुर भुजेल
ओखलढुंगा – कृष्णबहादुर थापा
संखुवासभा – भक्तनारायण श्रेष्ठ
खोटाङ – मुकुन्दकृष्ण थापा
पाँचथर-प्रकाश गुरूङ
इलाम – दिनेश महत

बागमती
काठमाडौं-राजा शाक्य
नुवाकोट-रामेश्वर गजुरेल
धादिङ-राजन अर्याल
दोलखा-दिनेश बस्नेत
भक्तपुर- रामेश्वर बस्नेत
ललितपुर – बुद्धरत्न महर्जन
काभ्रेपलाञ्चोक – प्रविण ढकाल
मकवानपुर-सञ्जीव पाठक
सिन्धुली – अविनाश बस्नेत
चितवन – मिनिमाधव खनाल

गण्डकी
गोरखा-सुवर्ण रोकाहा क्षेत्री
पर्वत-जलबहादुर पुर्जा
म्याग्दी-युवराज रोक्का
कास्की – यदुनाथ अधिकारी
तनहुँ – विश्व बास्तोला
स्याङ्जा – विश्वास भण्डारी
बागलुङ – पुनम शर्मा
लमजुङ – अशोक सापकोटा

लुम्बिनी
दाङ –  किरण खनाल
रूपन्देही-महेन्द्रप्रसाद उपाध्याय
पाल्पा – विष्णुप्रसाद भण्डारी
रोल्पा – बालाराम थापा
गुल्मी – हरि श्रेष्ठ
अर्घाखाँची – सीता पराजुली
बाँके – विवेककुमार श्रेष्ठ
बर्दिया- शान्ता बुढा क्षेत्री
कपिलवस्तु – शिवकुमार सुवेदी
प्युठान – विकास पोखरेल
नवलपरासी – रवि पाण्डेय

कर्णाली
हुम्ला-लक्ष्मण ऐडी
सुर्खेत- रमेशकुमार सापकोटा
सल्यान – प्रकाश नेपाली
कालिकोट- प्रेम केसी
रूकुमपश्चिम- द्रोण खड्का
दैलेख- बखतबहादुर भण्डारी

सुदूरपश्चिम
कञ्चनपुर- पदम विष्ट
कैलाली- कविन्द्र ठकुल्ला
बझाङ- सत्यराज उपाध्याय
बैतडी -भीम नाथ
डडेलधुरा- सुरेन्द्र अवस्थी

रवि लामिछानेले दलहरूलाई गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् ।

उनले सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् ।

‘उहाँ (रवि लामिछाने)ले आफ्नो भारत भ्रमणको बारेमा दलहरूलाई जानकारी गराउनुभयो’ सर्वदलीय बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

लामिछानेले यही जेठ १८ गतेदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । भारतबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् ।

राप्रपा अध्यक्ष लिङ्देनका अनुसार उनले रास्वपालाई परिपक्व व्यवहार देखाउन पनि सुझाव दिएका छन् । बैठकको बीचमै बाहिर निस्किएर उनले पत्रकारहरुलाई भने, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरु देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’

हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने

काठमाडौं : एसियन गेम्स छनोटको फाइनलमा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। सिंगापुरस्थित सिंगा ओभलमा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

कप्तान दिपेन्द्र सिंह ऐरीको यो १०० औं टी २० अन्तर्राष्ट्रिय खेल हो। नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो। त्यस्तै, हङकङले मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
तेस्रो स्थानको लागि भएको खेलमा मलेसियाले ओमानलाई ८ विकेटले पराजित गरेको छ।

फिलिपिन्समा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन् ।

आज बिहान फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित शहरको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । शक्तिशाली भूकम्पसँगै समुद्रमा ठूलाछाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन् ।

फिलिपिन्सका राष्ट्रपतिलेसम्बन्धित सरकारी निकायलाई तत्काल उद्धार तथा सुरक्षा तयारीमा जुट्न निर्देशन दिएका छन् । अहिलेसम्म ठूलो मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन । तर प्रशान्त क्षेत्रका विभिन्न देशहरूले समुद्री सतहमा असामान्य गतिविधि हुन सक्ने भन्दै निगरानी बढाएका छन् ।

सरकारी अधिकारीहरूले आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।  -एजेन्सी

 

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (जेठ २५) पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम छ । आइतबार (जेठ २४) छापावाल सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

धनगढी। कैलालीमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाका छुट्टाछुट्टै स्थानमा आइतबार साँझ अज्ञात पुरुषहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा नाम, थर र ठेगाना नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरी, लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा पनि एक पुरुषको शव फेला परेको छ। मृत फेला परेका ती पुरुष अन्दाजी ४० देखि ४५ वर्ष उमेरका जस्तो देखिने प्रहरीले जनाएको छ।

अहिलेसम्म दुवै जनाको पहिचान हुन सकेको छैन। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला सभापतिमा कवीन्द्र ठकुल्ला भारी मतान्तरसहित निर्वाचित भएका छन्। आइतबार धनगढीमा सम्पन्न निर्वाचनबाट उनी नेतृत्वमा चुनिएका हुन्।

कुल ५०८ मतदाता रहेको उक्त निर्वाचनमा ३९४ मत खसेको थियो। जसमध्ये ठकुल्लाले ३३५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी महेश कुमार चौधरीले ३७ मत र अर्का उम्मेदवार हरि रेग्मीले २२ मत मात्र प्राप्त गरे।

यस्तै, उपसभापति पदमा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै रामलखन चौधरी १५२ मतका साथ विजयी भएका छन्। सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र सदस्यतर्फ कैलाली क्षेत्र नम्बर १ मा टंकप्रसाद जैशी ढुंगाना, क्षेत्र नम्बर २ मा कृष्णबहादुर विष्ट, क्षेत्र नम्बर ३ मा वासुदेव घरेडी र क्षेत्र नम्बर ४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन्।

असन्तुष्ट पक्षद्वारा मतदान बहिष्कार

लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गरिए पनि यो निर्वाचन पूर्ण रूपमा निर्विवाद भने हुन सकेन। सभापतिका उम्मेदवारद्वय हरि रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक रहेको र मतदाता नामावलीमा धाँधली गरिएको आरोप लगाउँदै मतदान प्रक्रिया बहिष्कार गरेका थिए।

आफ्ना असन्तुष्टिहरू राख्दै उनीहरू प्रक्रियाबाट बाहिरिए पनि निर्वाचन समितिले भने मतदानलाई निरन्तरता दिएको थियो। बहिष्कारका कारण दुवै उम्मेदवारले ५० मत पनि कटाउन सकेनन्।

रास्वपा कञ्चनपुरको सभापतिमा विष्ट निर्वाचित

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट निर्वाचित भएका छन् ।

आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको रास्वपा कञ्चनपुरले जनाएको छ । राति सम्पन्न मत गणनाअनुसार सभापति पदमा विष्टले १९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नवीनबहादुर चन्दले ६१ मत प्राप्त गरेका छन् । यसअघि पनि विष्ट नै कञ्चनपुरको सभापति थिए । उपसभापतिमा भागरथी बडाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा राकेशबहादुर चन्दले रामदत्त भट्टलाई पराजित गरेका छन् । सचिवमा चन्दले १९५ र भट्टले ५५ मत प्राप्त गरेका छन् । जिल्ला सभापति र सचिव पदका लागि भएको निर्वाचनमा कूल २५९ मत खसेको थियो । सहसचिव पदमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदमा पनि निर्वाचन भएको थियो । जसमा अम्बादत्त जोशी १२६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए ।

सचिव राकेशबहादुर चन्दले नेतृत्वले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै जिल्लामा रास्वपाको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताए । सहमतिका माध्यमबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो । -रासस

कवि आचार्यको अंग्रेजी कविता संग्रहको विमोचन

ड्यालस (अमेरिका) । कवि एवं साहित्यकार वैकुण्ठराज आचार्यको नविनतम कृति ‘द व्युटीफूल ग्रे हेयर’ आइतबार टेक्ससको युलेसमा विमोचन गरिएको छ ।

आचार्यद्वारा लिखित यो कृतिमा अंग्रेजी भाषामा लेखिएका १५ वटा कविताहरु समेटिएका छन् । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहार) मा आयोजित कार्यक्रमबीच सहभागी सबैले पुस्तकको कभर खोलेर कृतिको अनावरण गरेका थिए ।

कार्यक्रममा कृतिका लेखक आचार्यले आफूले देखेको, भोगेको र अनुभव गरेका सानासाना विषयहरुलाई लिएर अंग्रेजीमा कविता संग्रह निकालेको उल्लेख गरे ।

पेशाले ईन्जिनियर आचार्य लामो समयदेखि अमेरिकामा रहेर साहित्य सिर्जनामा संलग्न छन् । बिभिन्न सामाजीक कार्यमा समेत कृयाशील आचार्यले यस अघि न्यास्रो जन्मभूमिको, आज फेरि, द लस्ट पेबल जस्ता कृति प्रकाशित गरिसकेका छन् ।

कार्यक्रममा समिक्षक तथा इन्जिनियरिङ्ग साहित्यीक समाजका पूर्ब अध्यक्ष विजयराज भट्टराईले स्मृति, प्रेम, वियोग, अभाव, एकान्त, आत्मखोज, जीवन दर्शन, अस्तित्ववोध जस्ता विषयहरुमा रहेर रचिएका कविताहरु कृतिमा रहेको र तिनले पाठकहरुलाई रुवाउने उल्लेख गरे ।

अर्का समिक्षक विनोद रिजालले आफूसँग कवि आचार्यको सामिप्यताका बारेमा चर्चा गर्दै हरेक कविताले मार्मिकता बोकेको बताए । वास्तवमा मानिसले पुस्तक पढ्ने होइन, पुस्तकले मानिसलाई पढिरहेको हुन्छ उनले भने ।

काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय अंग्रेजी साहित्य विभागका प्राध्यापक महेश पौडेलले नेपालमा अंग्रेजी साहित्यका पुस्तकहरु निकै कम चर्चा, कम बिक्री हुने गरेको उल्लेख गर्दै आचार्यको आँट र साहसको प्रशंसा गरेका थिए ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष विपुल पोखरेल, नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले समेत साहित्यको क्षेत्रमा आचार्यले गरेको योगदानको चर्चा गरेका थिए ।

पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् महिला : अध्ययन

विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ । म्याकिन्से हेल्थ इन्स्टिच्युट र विश्व आर्थिक मञ्चले २० वटा भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ ।

अध्ययनका अनुसार महिला र पुरुषबीचको यो स्वास्थ्य अन्तरको ३४ प्रतिशत हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो । ढिलो निदान, अपर्याप्त जाँच, अपुरो उपचार र कम उपचारको पहुँच यसका मुख्य कारण रहेका छन् ।

अध्ययनले हृदय रोग, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, गर्भावस्थाको उच्च रक्तचाप, प्रसवपछिको रक्तस्राव, रजोनिवृत्ति, पिएमएस, माइग्रेन र एन्डोमेट्रियोसिस गरी नौ वटा प्रमुख स्वास्थ्य अवस्थाहरू पहिचान गरेको छ, जसमा तत्काल सुधार गर्न सकिने ठूलो सम्भावना रहेको छ ।

यो स्वस्थ समय अन्तरका कारण हरेक वर्ष विश्वभर ७५ करोड वर्षभन्दा बढी जीवनकाल खराब स्वास्थ्य वा असमयको मृत्युमा गुम्ने गरेको छ । अध्ययनले महिलाको स्वास्थ्य सुधार गर्नु केवल मानवीय आवश्यकता मात्र नभई सामाजिक र आर्थिक समृद्धिका लागि पनि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।  -एजेन्सी 

एशियाली खेलकुद छनोट : नेपालले उपाधिका लागि हङकङसँग खेल्ने

काठमाण्डौ – नेपालले एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ । आज भएको दोश्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो ।

मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । यस्तै आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो ।

अब मलेसिया र ओमानले भोलि तेश्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङबीचको फाइनल खेल पनि भोलि नै हुनेछ ।

 

कालापानी–लिपुलेकमा नेपालको अडान सधैँ छ : परराष्ट्रमन्त्री

काठ्माण्डौ- परराष्ट्रमन्त्री शिशिर खनालले कैलाश मानसरोवरको यात्रा विभिन्न सीमा बिन्दुबाट हुने भएपनि ठूलो संख्यामा  नेपाल हुँदै तीर्थयात्रीले यात्रा गर्ने गरेको बताएका छन्।

भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा मन्त्री खनालले  यात्राका लागि विभिन्न मार्ग प्रयोग हुने भएपनि  नेपाल तीर्थयात्रीहरूको प्रमुख ट्रान्जिट मार्गका रूपमा रहँदै आएको बताए।

साथै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रबारे नेपालको अडान पुनः दोहोर्याएका छन्।

‘हामीले सधैँ भन्दै आएका छौँ कि त्यो भूमि नेपालको हो। नेपालको सहमति बिना भारत र चीनबीच त्यस्ता सम्झौता हुन सक्दैनन् भन्नेमा हामी स्पष्ट छौँ,’  मन्त्री खनालले भने।

उनले नेपालले आफ्नो धारणा दुवै छिमेकी मुलुकलाई कूटनीतिक नोटमार्फत औपचारिक रूपमा जानकारी गराइसकेको बताउँदै नेपालले विगतदेखि नै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भूभाग मानेको र त्यसलाई कूटनीतिक नोट मार्फत प्रष्ट पारिसकेको बताए।

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा बैतडीका स्थानीय तह

बैतडी – बैतडी जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन्।यस क्रममा पाटन नगरपालिका–५ मा रहेको डिम्यौडा टोलको नाम परिवर्तन गर्दै सिर्जना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिम्यौडा भन्ने गरिएकाले नाम परिवर्तन गरिएको वडाअध्यक्ष फुनिसिंह बोहराले जानकारी दिए।

‘दलित समुदायको बसोबास रहेकाले त्यहाँ पहिलेका मानिसले होच्याउने गरी टोलको राखेका थिए, त्यसलाई परिवर्तन गरी सिर्जना टोल राखेका छौँ,’ अध्यक्ष बोहराले भने, ‘त्यस बस्तीका मानिसले कलाकौशलबाट विभिन्न सामग्री सिर्जना गर्ने भएकाले सिर्जना टोल राखेका हौँ।’

अभियानअन्तर्गत हालसम्म २२ वटा गाउँको नाम परिवर्तन गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए। जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरिएपछि स्थानीयले आत्मसम्मान महसुस गरेका उनले बताए।

स्थानीयले पनि वर्षौंपछि जातीय अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन्। ‘वर्षौंपछि गाउँका नाम परिवर्तन गरिएका छन्, पहिले आफ्नो गाउँको भन्नसमेत असहज हुन्थ्यो, हाल केही सहज महसुस भएको छ,’ पाटन–६ का स्थानीय राजु भुलले भने।

जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अपमानित हुने नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा रहेको प्रवक्ता दिनेशप्रसाद भट्टले जानकारी दिए।

‘स्थानीयसँग समन्वय गर्दै गाउँको नाम फेर्न प्रस्ताव माग गर्नुका साथै छलफल अघि बढाएका छौँ, यसै वर्षभित्र यहाँका धेरै गाउँका नाम परिवर्तन गर्ने योजना बनाएका छौँ,’ उनले भने। -रासस

बजेट तयारीको अन्तिम चरणमा सुदूरपश्चिम प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार बजेट तयारीको अन्तिमतिर पुगेको छ । प्रदेशले आगामी आर्थिक वर्षको बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बजेट तयारीको कार्य लगभग अन्तिममा पुगेको हो । सबै मन्त्रालयहरूले बजेट तयारी गरिरहेकोे आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए ।

उनका अनुसार मन्त्रालयगत रूपमा बजेट बनाउने कार्य भइरहेका छ । “मन्त्रालयहरूले बनाएको बजेट हाम्रोमा आउन बाँकी छ” बमले भने। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपियाँ रहेको छ ।

आगामी आर्थिक वर्ष २०८३–८४ का लागि सङ्घ सरकारबाट कम बजेट आएकोले आगामी आर्थिक वर्षको बजेट घट्न सक्ने राज्यमन्त्री बमको भनाइ छ । उनले सम्पन्न हुन नसकेका अधुरा योजनालाई प्राथमिकता दिनेगरी बजेट बनिरहेको उल्लेख गरे ।

“सङ्घबाटै कम बजेट आएकाले प्रदेशको बजेट बढ्ने सम्भावना छैन” राज्यमन्त्रीले भने, “जहाँसम्म बजेटको आकार पहिलेको तुलनामा सानो हुन्छ ।” प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्न बाहेक २५ लाख रुपियाँभन्दा कम लागतका विकास आयोजनाहरूमा बजेट विनियोजन नगर्ने नीति तथा कार्यक्रममै उल्लेख गरिसकेको छ ।

२५ लाखभन्दा कम लागतका आयोजनाहरू कार्यान्वयन गर्नुपर्ने अवस्था भएमा वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहबाट कार्यान्वयन हुने नीति लिइने जनाइएको छ । यसैगरी, सरकारले उपभोक्ता समितिमार्फत प्रदेशको कुनै पनि योजना कार्यान्वयन नगर्ने, व्यक्ति, फर्म लगायतको नाममा बजेट विनियोजन नगर्ने नीति अबलम्वन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

केही दिन अगाडि प्रदेश सभामा बोल्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सबैको सहभागितामा बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

विश्वकपअघि नेपाल प्रहरीको आग्रह : अनलाइन बेटिङ एप प्रयोग नगर्न चेतावनी

काठमाण्डौ – प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुने सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ । प्रहरीले यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियोमार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो ।

नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार–प्रसार बढ्दै गएको छ । सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यममार्फत सजिलै आम्दानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरुपयोग हुने सम्भावना समेत रहने जनाएको छ । यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ ।

नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैरकानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ । साथै, अनलाइन बेटिङको प्रचार–प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ ।

प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।

मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी

धनगढी । मन्त्री फेर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयमा दलको बैठक बसेको हो ।

बैठकमा सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नियुक्ति गर्नेबारे छलफल चलिरहेको स्रोतले जनाएको छ ।

केही अघि कांग्रेस संसदीय दलका केही सदस्यले मुख्यमन्त्री शाहलाई हटाउने उद्देश्यले अविश्वास प्रस्ताव ल्याएका थिए । अविश्वास प्रस्ताव पक्षधरलाई अल्पमतमा पारेर मुख्यमन्त्री शाहले सत्ता जोगाए पनि समस्याको दिगो समाधान भइसकेको छैन ।

कांग्रेसभित्रको कलहलाई अन्त्य गर्ने उद्देश्यले मुख्यमन्त्री शाहले मन्त्री हेरफेरको योजना बनाएको र सोही अनुसार संसदीय दलको बैठकमा छलफल गरिरहेको स्रोत बताउँछ ।

स्रोतका अनुसार यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको समूहबाट केहीलाई सरकारमा सामेल गर्ने गरी मुख्यमन्त्री शाहले छलफल थालेका हुन् । संसदीय दलको बैठकबाट पुराना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीका रूपमा नाम सिफारिस गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

नेपालका किशोर–किशोरीमा विद्युतीय चुरोटको लत डरलाग्दो

काठमाण्डौ – नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोरकिशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को यूथ टोबाको सर्भे २०२५ अनुसार परम्परागत चुरोट र सुर्तीबाहेक नयाँ किसिमका जोखिम पनि बढेका छन् ।

सर्वेक्षण प्रतिवेदनमा किशोरकिशोरीमा शीशा र हुक्काजस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ । परिषद्ले देशका सातै प्रदेशका ५० वटा विद्यालयका ३ हजारभन्दा धेरै विद्यार्थीमाझ एक वर्ष लगाएर सर्वेक्षण गरेको हो ।

कक्षा ७ देखि १० सम्मका विद्यार्थी सहभागी सर्वेक्षणमा १८.७ प्रतिशतले सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, हुक्का र शीशाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वासप्रश्वास र मुटुरोगजस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ । हुर्कँदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकोले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन् ।

एनसेलका ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलका सबै ग्राहकले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीको खरिदमा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेलका ग्राहकले अल्टिमाका विभिन्न ग्याजेटमा छुट प्राप्त गर्ने भएका हुन् ।

यो अफरका निम्ति एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

९९ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक उपभोग गरिरहेका एनसेलका प्रिपेड ग्राहक र रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहक यो छुट योजनाका निम्ति योग्य हुन्छन् । यो योजनाअन्तर्गत खरिद गरिने कुनै पनि सामानको डेलिभरी नेपालभर हुने व्यवस्था अल्टिमा लाइफस्टाइले गरेको छ ।

एनसेल एपबाट मात्र सञ्चालनमा ल्याइएको यो योजनाअन्तर्गत एनसेल ग्राहकले अल्टिमाको लाइफस्टाइलका साउन्ड बार, स्पिकर, वायरलेस एअर बड, स्मार्टवाच, पावर ब्यांकलगायत ग्याजेटमा विशेष छुट प्राप्त गर्न सक्छन् ।

यो योजनाको लाभ उठाउन ग्राहकले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर पार्टनर्ड सर्भिसेसमा गई अल्टिमा लाइफस्टाइल छान्नुपर्छ । प्रयोगकर्ताका नाममा दर्ता भएको मोबाइल नम्बरमार्फत स्वतः योग्यता जाँच हुन्छ र ग्राहकले छुटसहितको तिर्नुपर्ने मूल्य एनसेल एपमै देखिन्छ ।

“हामी हाम्रा ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना सञ्चालनमा ल्याउन पाएकोमा उत्साहित छौँ,” एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपांग दत्ताले भने, “अल्टिमा लाइफस्टाइलसँगको यो सहकार्यले हाम्रा ग्राहकहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत गर्दछ ।”

यो योजनाको लाभ उठाउन योग्य नभएका ग्राहकहरूले ९९ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गर्न सक्छन् । र, आफ्नो आवश्यकताअनुरूपका ग्याजेट विशेष छुटमा लिन सक्छन् । योजनाका निम्ति योग्य प्याक वा रेन्टल प्लान सक्रिय रहेको अवधिभर यो छुटलाई ग्राहकहरूले पटक–पटक उपयोग गर्न सक्ने जनाइएको छ ।

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए। पूर्वगृहमन्त्री गुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गरे।

“राम्रो कुरालाई सबै दलले साथ दिनुपर्‍यो”, उनले भने, “विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।” गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद्समेत रहेका उनले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

“मैले गरेको बाचा पहिला थियो, अहिले पनि छ भोलि पनि रहिरहनेछ”, उनले भने, “गोरखाले मलाई जिताएको फोटो खिच्न होइन, काम गर्न हो भन्ने बुझेको छु।” पूर्वगृहमन्त्री गुरुङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानका लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने उनको छ।

जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटकपटक आएको भन्दै उनले आफ्नो थाल कति छ भनेर हेर्दा अरुको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्ने बताए। -रासस

दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन

काठमाडौँ । दूषित खानाका कारण विश्वभर हरेक वर्ष करिब ८६ करोड ६० लाख मानिस बिरामी पर्ने र १५ लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ।

डब्लुएचओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिकाहरू दूषित खानाबाट हुने रोगको उच्च जोखिममा छन् । विश्व जनसङ्ख्याको केवल ९ प्रतिशत मात्रै पाँच वर्षमुनिका बालबालिका भए पनि खाद्यजन्य रोगको झन्डै एक–तिहाइ यिनीहरूमा पाइएको प्रतिवेदनमा उल्लेख छ।

संस्थाका अनुसार पाँच वर्षमुनिका बालबालिकाहरू अन्य उमेर समूहका मानिसहरूको तुलनामा दूषित खानाबाट बिरामी पर्ने सम्भावना झन्डै तीन गुणा बढी छ। डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले खाद्य सुरक्षा कुनै अमूर्त विषय नभई हरेक परिवार र दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएका छन्।

प्रतिवेदनमा ब्याक्टेरिया, भाइरस र परजीवीजस्ता जैविक कारकहरूले अधिकांश खाद्यजन्य रोग निम्त्याउने उल्लेख गरिएको छ । यद्यपि रासायनिक प्रदूषणका कारण हुने मृत्युको अनुपात अत्यधिक रहेको पाइएको छ । सन २०२१ मा खाद्यसम्बन्धी कुल मृत्युको ७३ प्रतिशत रासायनिक जोखिमसँग सम्बन्धित रहेको डब्लुएचओले जनाएको छ।

विशेष गरी अकार्बनिक आर्सेनिक र सिसा (लेड)का कारण हृदय रोग तथा क्यान्सरको जोखिम बढेर १० लाखभन्दा बढी मृत्यु भएको अनुमान गरिएको छ।

प्रतिवेदनले असुरक्षित खानाको आर्थिक असर पनि गम्भीर रहेको जनाएको छ। सन २०२१ मा खाद्यजन्य रोगका कारण विश्वभर करिब ३१० अर्ब अमेरिकी डलर बराबरको उत्पादनशीलता नोक्सान भएको अनुमान गरिएको छ । जीवनयापन लागतअनुसार समायोजन गर्दा यो रकम ६४७ अर्ब डलर पुग्ने बताइएको छ।

क्षेत्रीय रूपमा अफ्रिका र दक्षिणपूर्वी एसियामा खाद्यजन्य रोगको भार सबैभन्दा बढी रहेको छ। यी दुई क्षेत्रमा विश्वका करिब तीन–चौथाइ खाद्यजन्य बिरामी र ६० प्रतिशत मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तन, एन्टिमाइक्रोबियल रेसिस्टेन्स तथा खाद्य प्रणालीमा रहेको असमानताले जोखिम झन् बढाइरहेको डब्लुएचओले जानकारी दिएको छ। सरकारले खाद्य सुरक्षा नियम, निगरानी प्रणाली र रोकथामका उपायहरूलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।  -एजेन्सी

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिका विषयमा उठाइएका प्रश्नहरूको छानबिनका निम्ति सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । आइतबार (जेठ २४) रास्वपा गोरखा जिल्ला अधिवेशनका क्रममा उनले सार्वजनिक पदमा रहँदा उठाइएका सवालको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको स्पष्ट पारे ।

“मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ,” उनले भने, “बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।”

बयानका बेलाको एउटा रोचक प्रसंग कोट्याउँदै उनले भने, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ?’ भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ ।”

छानबिन समितिको प्रतिवेदन हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको र आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको गुरुङले बताएका उनको सचिवालयले जनाएको छ ।

‘पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू’
उनले आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पने आशा व्यक्त गरे । “यदि, समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।”

सचिवालयका अनुसार, सांसद गुरुङले रास्वपाको संगठन निर्माण र आउँदो नेतृत्वको कार्यशैलीका बारेमा पनि स्पष्ट धारणा राखे । अब बन्ने जिल्ला सभापति राजधानीकेन्द्रित हुन नहुने उनको भनाइ थियो ।

“अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,” उनले भने, “राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन ।”

कार्यक्रममा उनले आफू गृहमन्त्री हुँदा आमजनताबाट अभूतपूर्व साथ र सहयोग पाएको स्मरण गरे । निर्वाचनमा विजयी गराउने गोरखाका मतदातालाई गुरुङले ‘विशेष धन्यवाद’ समेत ज्ञापन गरेका सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम कांग्रेसको मन्त्री फेर्ने तयारीबीच एमालेमा पनि दबाब

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको अन्तिम तयारी गरिरहेको छ। हिजो असन्तुष्ट पक्षसँग भएको वार्ताअनुसार आज दुवै पक्षले मन्त्री छनोट गरिरहेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री पक्षबाट एक मन्त्री र एक राज्यमन्त्री छनोट गरिरहेका छन् भने देवानसिंह विष्ट पक्षले दुई मन्त्री तथा एक राज्यमन्त्री छनोटका लागि छलफल गरिरहेको छ।

कांग्रेसले मन्त्रीहरू हेरफेरको तयारी गरिरहेका बेला सत्ता साझेदार एमालेभित्र पनि मन्त्री फेर्नुपर्ने बहस सुरु भएको छ। सुदूरपश्चिम प्रदेशमा अहिले एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका हिरा सार्कीले नेतृत्व गरिरहेका छन्। भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउद छिन्।

२०८१ साउनमा उनीहरू मन्त्रीमा नियुक्त भएका थिए। झण्डै दुई वर्षको कार्यकाल उनीहरू मन्त्री रहेको भन्दै अन्य सांसदहरूले अब आफूहरूलाई पनि मन्त्री बनाउनुपर्ने बताएका छन्।

केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमा पनि केही सांसदहरूले मन्त्री हेरफेरको विषय उठाएका थिए। ओलीले यस विषयमा परामर्श गर्ने संकेत दिएका थिए।

“कांग्रेसले मन्त्री फेरिरहेको छ। यही बेला हाम्रो पनि हेरफेर हुनुपर्छ,” एमालेका एक सांसदले भने, “यो विषयमा केन्द्रमा पनि कुरा भइरहेको छ।”

अघिल्लो पटक मन्त्री भएकाहरूले दुई पटक बजेट ल्याइसकेको भन्दै अब आफूहरूले अन्तिम पटकको बजेट ल्याउन पाउनुपर्ने उनीहरूको अडान छ।

एमालेका सांसदहरूले मात्रै होइन, एमालेका नेताहरूले पनि सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको विषय उठाइरहेका छन्। उनीहरूमध्ये केही नेताले नेकपालाई पनि सँगै लैजान सुझाव दिएका छन्।

आज कांग्रेसका दुवै पक्षले मन्त्री छनोट गरेर भोलि सरकार विस्तार गर्ने अन्तिम तयारी गरिरहेका बेला एमालेका केही नेताहरूले यही बेला आफ्ना मन्त्रीहरू पनि हेरफेर गर्न दबाब दिइरहेका छन्।

रास्वपा बैतडीको सभापतिमा नाथ चयन

बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा उनी सभापतिमा दोहोरिएका रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिए ।

यस्तै, उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन् । सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्ट र बबिता साउद चयन भएका छन् । कोषाध्यक्ष भने नयाँ कार्यसमितिले पछि मनोनयन गर्ने जनाइएको छ ।

खोज्नुहोस