सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिनेछ : परराष्ट्रमन्त्री

काठ्माण्डौ-  परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका मन्त्री खनालले आइतबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल–भारतबीचका सीमासम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताएका हुन्।

एक प्रश्नको जवाफमा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएका दोहोर्याउँदै यस सम्बन्धमा नेपालले भारत र चीनसमक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिए।

‘नेपाल–भारतको वर्तमान सीमा सन् १८१६ को सन्धिबाट निर्धारित भएको हो। यी विषयहरू द्विपक्षीय वार्ता र कूटनीतिक संयन्त्रमार्फत समाधान गरिनेछन्। हामी सीमा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहन्छौँ,’ उनले भने।

दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठित समूहले तयार गरेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन उनीहरूलाई नै बुझाउनुपर्ने बताए।

अर्को प्रश्नको जवाफमा नेपालले आफ्ना दुवै छिमेकीसँग सहकार्य गर्ने मन्त्री खनालले बताए।उनले मुलुकका परराष्ट्र नीतिका प्राथमिकता, नेपाल–भारत सम्बन्ध, तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे पनि स्पष्ट  गरे।

यसैबीच, राजदूतावासले सञ्चारकर्मीको सहभागिताप्रति आभार व्यक्त गर्दै नेपाल र भारतबीचको आपसी समझदारी तथा सहकार्यलाई अझ सुदृढ बनाउन आगामी दिनमा पनि निरन्तर संवाद र सहकार्यको अपेक्षा गरेको बताएको छ।

विश्वकपमा सेन्सर बलदेखि एआई र रोबो डगको प्रयोग

२०२६ फिफा विश्वकप नौलो हुने भएको छ। विश्वकपको इतिहासमा सबैभन्दा ठूलो सहभागिता समूहदेखि तीन आयोजक देशहरूमा हुने ३९ दिने प्रतियोगिता भव्य हुने अनुमान गरिएको छ।

खेलमा हुने कमिकमजोरीलाई सुधार गर्न यसपालीको विश्वकपमा प्रविधिको प्रयोग गरिने भएको छ।

१. सेन्सर जडित म्याच बल

‘ट्रिओन्डा’ संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा खेलिने २०२६ विश्वकपको आधिकारिक म्याच बल हो।

यो एडिडास बलमा एउटा सानो इनर्शियल मापन एकाइ (आईएमयू) सेन्सर चिप जडित गरिएको छ। बल गुडेपछि यसमा सेन्सरले अन्तर्दृष्टि प्रदान गर्दछ। यो सेन्सरले प्रति सेकेन्ड ५०० पटक डेटा क्याप्चर गर्दछ। बलको प्रवेग र चालहरूलाई तीन आयामहरूमा ट्र्याक गरिनेछ।

‘यो प्रविधिले वास्तविक समयमा भिडियो सहायक रेफ्री (भिएआर)प्रणालीमा सटीक डेटा पठाउँछ, जसले गर्दा अफसाइड घटनाहरू सहित म्याच अधिकारीहरूको निर्णय लिने क्षमता बढ्छ’, फिफाको विज्ञप्तिमा भनिएको छ।

२. एआई थ्रीडी प्लेयर अवतार

यसपालीको विश्वकपमा प्रविधिको प्रयोग बलमा मात्र सीमित नभई खेलाडीहरू पनि लागू गरिनेछ।

फिफा र विश्वको सबैभन्दा ठूलो व्यक्तिगत कम्प्युटर निर्माता लेनोभो बीचको साझेदारीमा एआईद्वारा निर्मित थ्रीडी प्लेयर अवतारहरू देखाइनेछ।

विश्वकपमा खेलाडीहरूलाई सटीक थ्रीडी मोडेल बनाउन डिजिटल रूपमा स्क्यान गरिनेछ। प्रत्येक स्क्यानले लगभग एक सेकेन्ड लिन्छ र फिफाको अनुसार ‘शरीर र चालहरु अत्यधिक सटीक’ रूपमा कैद गर्दछ, जसले प्रणालीलाई छिटो वा अवरोधित चालहरूमा खेलाडीहरूलाई विश्वसनीय रूपमा ट्र्याक गर्न अनुमति दिनेछ।

फिफाको विज्ञप्तिमा भनिएको छ, ‘एआई–सक्षम थ्रीडी प्लेयर अवतारहरूले अर्ध–स्वचालित अफसाइड प्रविधिमा महत्त्वपूर्ण विकासको प्रतिनिधित्व गर्दछ।’

यसका साथै थ्रीडी मोडेलहरूलाई होस्ट प्रसारणमा समावेश गरिनेछ, जसले गर्दा भिएआर प्रणालीद्वारा निर्धारण गरिएका अफसाइड निर्णयहरू स्टेडियममा रहेका प्रशंसकहरू र विश्वभरका दर्शकहरूलाई अझ यथार्थपरक र थप आकर्षक तरिकाले देख्न पाउनेछन्।

विश्वभरका प्रमुख फुटबल लिगहरूमा पहिले नै परीक्षण गरिसकिएका रेफ्री बडी क्यामेराहरू पनि सबै १०४ खेलहरूमा प्रयोग गरिनेछ। जसबाट खेल मैदानको दृश्य प्रदान गर्नेछ।

३. रोबोट डग

विश्वकपमा अपराध नियन्त्रण गर्न मेक्सिकन प्रहरीले रोबोटिक डगको प्रयोग गर्नेछ।

चार खुट्टा भएका रोबोटहरू खतरनाक क्षेत्रहरूमा प्रवेश गर्न र सुरक्षा बलहरूलाई प्रत्यक्ष भिडियो प्रसारण गर्न डिजाइन गरिएको बताइएको छ।

मोन्टेरी मेट्रो क्षेत्रको एक भाग ग्वाडालुपको नगर परिषद्ले २५ लाख पेसो (१४५,००० डलर) मा खरिद गरेको पशुजस्तै देखिने रोबोटहरू ‘कुनै पनि झगडाको अवस्थामा’ तैनाथ गरिने ग्वाडालुपका मेयर हेक्टर गार्सियाले बताए।

रोबोटहरूको उद्देश्य ‘प्रारम्भिक हस्तक्षेपमा प्रहरी अधिकारीहरूलाई सहयोग गर्नु’ रहेको उनले बताए।

४. उन्नत अर्ध–स्वचालित अफसाइड प्रविधि

लाइन्सम्यानले अफसाइड झण्डा ढिलो उठाउने गरेको भन्दै फुटबलप्रेमीहरुले निराशा व्यक्त गर्ने गरेका छन्। फिफाले एक उन्नत अर्ध–स्वचालित अफसाइड प्रविधि प्रस्तुत गरेको छ, जसले अधिकारीहरूलाई खेल सुरु हुन पर्खनु भन्दा छिटो निर्णय लिनेछ।

अर्ध–स्वचालित अफसाइड प्रविधि लगभग वास्तविक समयमा अफसाइडहरू पत्ता लगाउन डिजाइन गरिएको थियो, तर यसले खेलाडी ५० सेन्टिमिटरभन्दा बढी अफसाइड भएमा मात्र अधिकारीहरूलाई सचेत गराउँथ्यो। अहिले यसको परिमार्जित संस्करणमा खेलाडी १० सेन्टिमिटरभन्दा बढी अफसाइड हुँदा संकेत गरेर थप सटीक निर्णयहरू प्रदान गर्ने बताइएको छ।

अधिकारीहरूले भिएआरले उनीहरूलाई यो देखाउञ्जेल पर्खनुको सट्टा उनीहरूको इयरपिसमा सिधै वास्तविक–समय अडियो अलर्ट प्राप्त गर्नेछन्।

यद्यपि, यसमा केही सीमितताहरू छन्। यो केवल पोजिसनल अफसाइडको लागि प्रयोग गर्न सकिन्छ। व्यक्तिपरक कलहरू र नजिकको कलहरू छनौट गर्न भने यो असमर्थ हुनेछ।

साथै, यसले खेलाडीले खेलमा हस्तक्षेप गरिरहेको थियो कि थिएन भनेर व्याख्या गर्न सक्दैन र यदि खेलाडीहरू मैदानमा छन् वा शरीरहरू एकअर्कासँग धेरै नजिक छन् भने अफसाइड कल निर्णय गर्न सक्षम नहुन सक्छ।

तैपनि फिफाको विश्वास छ कि यो नयाँ प्रविधिले दर्शक र खेलाडीहरूको निराशा कम गर्नेछ। साथै अफसाइड झण्डा उठाउनु पर्ने बेला खेलको अनावश्यक मार्गहरूको कारणले चोटपटक लाग्ने सम्भावना पनि कम गर्नेछ।

५. स्थिर हाइड्रेशन ब्रेक

विश्वकपमा प्रत्येक हाफमा तीन मिनेटको हाइड्रेशन ब्रेक हुनेछ। फिफाले खेलाडीलाई प्राथमिकता दिन यो सुरुवात गरेको छ।प्रत्येक हाफको २२ औं मिनेट वरिपरि विश्राम लिइनेछ।  -एजेन्सी

परराष्ट्रमन्त्रीको भारत भ्रमण: नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्।

भारतका विदेशमन्त्री डा. एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे।

वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको  सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो।

वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रीद्वयले विभिन्न क्षेत्रमा भएको द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय क्षेत्रमा गरिएका सहकार्यका प्रयासको  स्वागत गरेका थिए।

दुवै पक्षले नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइमा पु¥याउन प्रयास तीव्र पार्ने सहमति जनाएका छन्।

नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकामा दुवै पक्षले त्यसको स्वागत गरेका छन्।

उक्त सम्झौताले सीमापार अपराधसँग सम्बन्धित अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीलाई प्रभावकारी बनाउन संस्थागत कानुनी आधार प्रदान गर्ने छ।

द्विपक्षीय वार्तापश्चात् भारतका विदेशमन्त्री डा. जयशङकरले परराष्ट्रमन्त्री खनाललाई भारतको सन् २०१५ को ‘भूकम्पपछिको पुनःनिर्माण सहयोग’ कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा क्षेत्रका परियोजना हस्तान्तरण गरेका थिए।

नेपाल–भारतबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन मन्त्रीद्वयले संयुक्त रूपमा भारतको ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) बीच ‘पियर–टु–पियर’ (पीटुपी) आबद्धताको शुभारम्भ गरेका थिए।

त्यसैगरी ‘भोइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्ने उद्देश्यसहित डिजिटल ‘इण्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

भ्रमणले दुवै देशका जनताको आकाङ्क्षाअनुरूप द्विपक्षीय साझेदारी विस्तार गर्ने विषयमा विचार आदानप्रदानको अवसर प्रदान गर्नुका साथै त्यस दिशामा भइरहेका प्रयासमा नयाँ ऊर्जा थपेको छ।

भ्रमणले दुई मित्रवत् छिमेकीबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई पनि सुदृढ बनाएको छ । भारतले ‘छिमेक पहिले’परराष्ट्र नीतिअन्तर्गत नेपालसहित दक्षिण एसियाका छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आपसी विश्वास, सम्पर्क सञ्जाल, व्यापार, विकास साझेदारी र जनस्तरीय सम्बन्धलाई सुदृढ बनाउने प्रयत्न गर्दै आएको छ। परराष्ट्रमन्त्री खनालको यो भ्रमण आपसी विश्वास र समझदारीलाई अझ उन्नत बनाउँदै द्विपक्षीय सम्बन्धलाई सबल बनाउन सफल भएको ठानिएको छ।

खाद्यजन्य रोगहरू विश्वकै लागि गम्भीर जनस्वास्थ्य चुनौती : स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले उक्त कुरा बताएकी हुन्। यस वर्षको विश्व खाद्य स्वच्छता दिवस ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने मूल नाराका साथ मनाइँदैछ।

आफ्नो शुभकामना सन्देशमा मन्त्री मेहताले खाद्यजन्य रोगहरू आजको विश्वका लागि गम्भीर जनस्वास्थ्य चुनौती बनेको उल्लेख गरेकी छन्।

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनलाई उद्धृत गर्दै उनले भनिन्, ‘प्रत्येक वर्ष करिब ६० करोड मानिसहरू दूषित खानाका कारण बिरामी पर्ने र ४ लाख २० हजारले अकालमा ज्यान गुमाउनुपर्ने दुःखद वास्तविकता छ। त्यसैले, हामीले उपभोग गर्ने खाद्य पदार्थहरू भौतिक, रासायनिक र जैविक जोखिमबाट मुक्त हुन अनिवार्य छ।’

स्वच्छ खानपानको सुनिश्चिततामार्फत जनस्वास्थ्यमा सुधार ल्याउन नेपाल सरकार सदैव प्रतिबद्ध रहेको कुरामा उनले जोड दिएकी छन्। ऐन कार्यान्वयनका साथै सरकारले खाद्य परीक्षण प्रयोगशालाहरूको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यहरूलाई समेत तीव्रता दिएको मन्त्री मेहताले जानकारी दिइन्।

खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण शृङ्खलामा स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छन्। यस्ता अभ्यासहरूले बजारमा गुणस्तरीय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई समेत कम गर्ने उनको विश्वास छ।

यस विशेष दिनले खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्ता लगायत सबै सरोकारवालाहरूलाई स्वच्छ खानपानको महत्त्व आत्मसात् गर्न र आ-आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्दै मन्त्री मेहताले शुभकामना व्यक्त गरेकी छन्।

एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल

काठमाण्डौ- नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा लोकेश बमले अविजित ४४ र कप्तान रोहित पौडेलले २१ रन बनाए । त्यस्तै कुशल भुर्तेल २० रन बनाएर आउट भए । ओमानका समीर ओटमनले नेपालका दुवै विकेट लिए ।  त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो । ओमानका कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे ।

नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई तथा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । जीतसँगै नेपाल उपाधिनजिक पुगेको छ । उपाधिका लागि नेपालले हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

 

२८ जिल्लामा आज रास्वपाको अधिवेशन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । रास्वपका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार
कोशी, मधेस र  गण्डकीका ४/४ जिल्ला , बागमतीका २, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका ५ जिल्लामा अधिवेशन हुँदैछ।

आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ ।

रास्वपाले शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ । आयोगका अनुसार शनिबार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, रामेछाप, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भएका छन् ।

यसैगरी, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ ।

बारा जिल्ला अधिवेशन जेठ २६ गते हुने रास्वपाको भनाई छ । प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवशेनपछि हुनेछ । जेठ २६ गतेदेखि पार्टीको प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।

अन्तरव्यवस्थापिका मञ्चको नौबुँदे सन्देशपत्र जारी

काठमाडौं । अन्तरव्यवस्थापिका मञ्चको ११औँ सम्मेलनबाट नौबुँदे सन्देशपत्र जारी गरिएको छ । शनिबार र आइतबार (जेठ २३–२४) कैलालीको टीकापुरमा आयोजित सम्मेलनबाट नौबुँदे सन्देशपत्र जारी गरिएको हो ।

सन्देशपत्रमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणदाहाल, प्रदेशका सभामुखसहितको हस्ताक्षर छ ।

तहगत व्यवस्थापिकाबीच सहकार्य र अन्तरआबद्धतालाई सूचना प्रविधियुक्त बनाउन संघीय संसद् तथा सबै प्रदेशसभाहरूले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गरिने त्यसमा उल्लेख छ ।

आउँदो आर्थिक वर्षभित्र संघीय संसद् र प्रदेशसभाबाट आवश्यक कानुनी व्यवस्थासहित संसदीय बजेट कार्यालय स्थापनाको कार्य अघि बढाइने जनाइएको छ ।

सरकारको नीति तथा कार्यक्रम, पूर्वबजेट छलफल एवम् संसदीय बजेट निर्माण कार्यलाई प्रभावकारी र नतिजामूलक बनाउन उक्त कार्यालय स्थापना गर्न लागिएको हो ।

a1-1780810992.jpg

a2-1780810992.jpg

अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

अछाम। अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेखमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो ।

जीप सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भाटको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको कमान्डमा गएको प्रहरी टोलीले घाइतेको तत्काल उद्धार गरी उपचारका जिल्ला अस्पताल मंगलसेन लगिएको थियो ।

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा मृतक भाटका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका ३० वर्षीय बद्री भाट रहेका छन् भने दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ । जीप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

आठ हजार २०० ले घट्यो सुनको मूल्य

काठ्माण्डौ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा आठ हजार दुई सय रुपैयाँ र चाँदी ३३५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख आठ सय रुपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ निर्धारण भएको छ।

गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

‘नेपालले भारतको जग्गा मिचेको’ अभिव्यक्तिविरुद्ध सडकमा उत्रियो श्रम संस्कृति पार्टी

काठमाडौं । सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार (जेठ २३) विरोध प्रदर्शन गरेको छ । ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौंको माइतीघरमा खबरदारी सभासहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरे । साथै, उनीहरूले ‘नेपाली माटोको रक्षा गरौँ’, ‘राष्ट्रको सम्मान जोगाऔँ’, ‘गैरजिम्मेवारी अभिव्यक्तिको विरोध गरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उक्तक्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । उनले सीमा समस्या र भूमि मिच्ने विषय फरक भएको उल्लेख गरे ।

उनले सदनमा आफूहरूले राख्दै आएको अडान कायमै रहने समेत बताए । हिमालयन टेली भ्वाइस

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन् । आज र भोलि हुन गइरहेको पार्टीको जिल्ला अधिवेशनका सन्भर्दमा उनले सामाजिक सञ्जालमा ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको बताएका छन् ।
‘पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ’, सभापति लामिछाने भने
अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उनले महाधिवेशन प्रक्रिया पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताए । ‘यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ’, उनले लेखे । रास्वपाको आज ३७ र भोलि २९ जिल्लामा अधिवेशन हुँदैछन् । रास्वपाको पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् ।
पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सभापति लामिछानेले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार भएको बताए । लोकतान्त्रिक प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जाने उनको भनाइ छ ।
‘हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौँ । त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ’, सभापति लामिछानेले भने “पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौँ ।’

स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उनले लेखेका छन् ।

‘चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्च्याउनुपर्छ’, सभापति लामिछानेले भनेका छन्, ‘पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।’

मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको  यात्रालाई यहाँसम्म ल्याएको बताए ।

‘अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो । त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ । तर, सङ्गठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ’, उनले भने ।

एसीसी महिला प्रिमियर कप : नेपाल हङकङसँग ६९ रनले पराजित

काठमाडौं- एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।

मलेशियामा जारी प्रतियोगितामा हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ३ बलमा ४० रनमै समेटियो । नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । चान का र मार्यम बिबीले २-२ विकेट लिए । सिउ मेई र जोइलिन धलिवालको खातामा १-१ विकेट रह्यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित ४२ रन बनाइन् ।

मारिको हिलले २९ रन बनाइन् भने मारिना लाम्पलोह १८ रनमा अविजित रहिन् ।

नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेटको योगदान दिए । आजको नतिजाका बावजुद नेपाल क्‍वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार रुपैयाँबराबरको योगदान रकम जम्मा भएको छ । दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ ।

सोही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत् तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ । कोषमा चार प्रस्ताव आएकामा दुइटामाथि छलफल भइरहेको छ ।

मुलुकको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ उक्त प्रस्तावलाई अगाडि बढाउन लागिएको छ । कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधिकरणका निम्ति प्रयास भइरहेको जानकारी दिए । कोषमा जम्मा हुने रकम बैंक तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उनको भनाइ छ ।

आउँदो आर्थिक वर्षको बजेटले विभिन्न कोषमा रहेको रकमलाई उपयोग गर्ने नीति अख्तियार गरेको छ ।

खानीजन्य क्षेत्रअन्तर्गत स्वदेशमा क्लिंक र सिमेन्ट उत्पादन गर्ने परियोजनामा पनि कोषले लगानी गर्ने नीति लिएको निर्देशक रेग्मीले उल्लेख गरे ।

उनका अनुसार, कोषमा हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत छन् । कोषले कुल दाबी भुक्तानी २० अर्ब ४५ करोड २६ लाख १० हजार ७३८ रुपैयाँ गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम तीन अर्ब २३ करोड ५१ लाख दुई हजार ९११ रुपैयाँबराबर रहेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षातर्फ २८ करोड ४४ लाख ३० हजार १८८, आश्रित परिवार सुरक्षा दाबी रकम ३४ करोड ९५ लाख ७३ हजार ३९८ र अवकाश दाबी १६ करोड ५८ लाख ३५ लाख चार हजार २४१ रुपैयाँबराबर रहेको कोषका निर्देशक रेग्मीले जानकारी दिए ।

संस्थागत वा सहवित्तीयकरण कर्जामा पर्यटन, निर्माण, सूचना तथा प्रविधि, सेवामूलक, कृषि क्षेत्रमा लगानी गर्न सकिने व्यवस्था छ । सञ्चालक समितिले उपयुक्त ठानेको क्षेत्रमा पर्याप्त धितो वा जमानी लिई संस्थागत कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

कोषले २० मेगावाटभन्दा कम क्षमताको विद्युत् परियोजनामा भने लगानी नगर्ने नीति लिएको निर्देशक रेग्मीले बताए ।

विद्युत् खरिदसम्बन्धी सर्त तथा बन्देज वा कुनै समयमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद नगर्ने सर्त भएमा, कनेक्सन सम्झौताबमोजिमको सबस्टेसन तयार भई नसकेको परियोजनामा लगानी नगर्ने नीति रहेको उनले उल्लेख गरे ।

उनका अनुसार, कम्तीमा ३० प्रतिशत स्वपुँजी नभएको परियोजना, निजी कम्पनीबाट सञ्चालित र कोषको प्राथमिकतामा नपरेको परियोजनामा पनि लगानी नगर्ने नीति छ । रासस

परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो (शुक्रबार) भारत गएका थिए । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको हो ।

भेटवार्ताका् क्रममा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी संलग्नतालाई गहिरो बनाउने र जनता–जनता सम्बन्ध विस्तार गर्ने लगायतका विषयमा छलफल भएको चौथाइवालेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा गएका हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छ ।

उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।

नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।

भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने

कैलाली। सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन्।

अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उहाँले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी रुपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताएका हुन्।

तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिँदै सभामुखले भने, “तीनवटै तहका सरकारले बनाउने कानुन नबाझिने गरी काम गर्न म प्रतिबद्ध छु।”

सबैसँग समन्वय, सहकार्य गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु। आपसी समन्वय र सहकार्यले मात्र जनताका अपेक्षालाई बुझेर काम गर्ने वातावरण बन्नेछ।”

कानुन निर्माण हुँदा लक्षितवर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख अर्यालले जोड दिए। कानुनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानुन निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानुन निर्माण गरिनुपर्ने बताए।

सभामुख अर्यालले सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताएका छन् । “अझै हामीले जनतालाई दिनुपर्ने अधिकार गाउँगाउँसम्म पु¥याउन सकेका छैनौँ”, उनले भने।

तीन तहको सरकारमा समन्वयको अभाव छ: अध्यक्ष दाहाल

यसैगरी, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद अर्यालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

सङ्घले आवश्यक कानुन नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार्दै उनले संवैधानिक अधिकारसहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए।

“सङ्घले कानुन निर्माणमा गरेको ढिलाइले प्रदेश सरकारले आवश्यक कानुन बनाउन र कार्यान्वयन गर्न सकेको छैन”, उनले भने। जनताका भावनालाई आत्मसात् गर्दै लोकतन्त्रलाई मजबुत बनाउनेतर्फ तीनवटै तहको भूमिका महत्त्वपूर्ण रहेको उनको कथन थियो।

अध्यक्ष दाहालले कानुन निर्माणमा सङ्घीय सदनले बढी तदारुकता देखाउन आवश्यक रहेको बताए। उनले भने, “द्रुत गतिमा कानुन निर्माणका काम किन भएका छैनन्। त्यसका कारण खोज्न जरुरी छ। जनताले हामीलाई कुरा गर्न पठाएका होइनन्।”

सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेशसभाका सभामुख सहभागी छन्। सम्मेलन भोलि सम्पन्न हुनेछ।

प्रदेश सरकारले आवश्यक कानुन बनाउन र कार्यान्वयन गर्न सकेको छैन : राष्ट्रियसभा अध्यक्ष

कैलाली- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । शनिबार अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सङ्घले आवश्यक कानुन नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै उनले संवैधानिक अधिकारसहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

‘सङ्घले कानुन निर्माणमा गरेको ढिलाइले प्रदेश सरकारले आवश्यक कानुन बनाउन र कार्यान्वयन गर्न सकेको छैन’, उनले भने । जनताका भावनालाई आत्मसात् गर्दै लोकतन्त्रलाई मजबुत बनाउनेतर्फ तीनवटै तहको भूमिका महत्त्वपूर्ण रहेको उनको कथन थियो ।

अध्यक्ष दाहालले कानुन निर्माणमा सङ्घीय सदनले बढी तदारुकता देखाउन आवश्यक रहेको बताए । उनले भने, ‘द्रुत गतिमा कानुन निर्माणका काम किन भएका छैनन् । त्यसका कारण खोज्न जरुरी छ । जनताले हामीलाई कुरा गर्न पठाएका होइनन् ।’

सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन र सात वटै प्रदेशसभाका सभामुख सहभागी रहेका छन् । सम्मेलन भोलि सम्पन्न हुनेछ ।

सडक सञ्जालमा जोडियो अपि

दार्चुला– अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो ।

सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ,’हालसम्म सडक सञ्जालसँग नजोडिएका अपिहिमाल गाउँपालिका, साइपाल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ ।’

सडक जोड्न सङ्घीय सरकारले विशेष प्राथमितामा राखेको छ । अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ ।

‘सडक अभावका कारण स्थानीयले वर्षौंदेखि यातायात, विकास निर्माण र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका थिए । अपिमा ढुवानीका कारण स्थानीयले समस्या झेलेका थिए । मकरीगाडबाट खण्डेश्वरी घुसासम्म पुग्न १० प्रतिकिलो ढुवानी लाग्थ्यो’, स्थानीय खडक रोकायाले भने, ‘सडक गाउँसम्मै आएपछि ढुवानी भाडामा सहजता हुनेछ ।’

अपिहिमाल गाउँपालिका-५ मकरीगाडसम्म मात्रै सडक पुगेको अवस्थामा अहिले भट्टार गाउँसम्म विस्तार भएपछि स्थानीयमा सडक पुग्ने आशा पलाएको उनको भनाइ छ ।

स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म पनि सडक पुग्ने सम्भावना भएसँगै दैनिकी सहज हुने विश्वास व्यक्त गरे। उनका अनुसार भट्टारभन्दा अगाडि सडक पुगिसकेको छ भने निर्माण निरन्तर जारी रहेकाले छिट्टै पालिका केन्द्रसम्म सवारी सञ्चालन हुने विश्वास स्थानीयले गरेका छन् ।

गाउँपालिका केन्द्र वडा नं ४ को नौपाटामा पर्छ । सडकले गाउँपालिकाका वडा नं ३ र ४ लाई जोड्छ । यो ठाउँमा सडक काट्न चट्टानी भू-भाग नहुँदा पनि सडकले गति लिनेछ ।

अपिहिमाल-१ र २ मा सडक सञ्जालले तत्काल जोडिने सम्भावना छैन् । तर वडा नम्बर ३ को काफलधारसम्म पनि सडक पुग्दा थोरै भए पनि अन्य वडाको लागि राहत हुने स्थानीय बताउँछन् । सडक निर्माण विएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न नभए पनि आगामी आवमा पालिका केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । सडक नहुँदा विकास निर्माणका सामग्री ढुवानी महँगो पर्नुका साथै विभिन्न आयोजना कार्यान्वयनमा समस्या हुँदै आएको थियो । सडक विस्तारसँगै अब विकास निर्माणका काममा सहजता आउने अपेक्षा गरिएको छ ।

अपिहिमाल गाउँपलिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ । मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग उछिनेर अब सहज ठाउँमा सडक निर्माण अघि बढेको छ ।

‘शीघ्र पालिका मुकाममा सडक पुग्नेछ’, उनले भने, ‘नयाँ आर्थिक वर्षमा(आगामी आव) अपिहिमालको विकासका लागि महत्वपूर्ण वर्ष सावित हुनेछ ।’

अध्यक्ष बोहराका अनुसार पारिवगर(मकरीगाड सडक स्तरोन्नतिको ठेक्का लागिसकेको छ । दुई वर्षभित्र कालोपत्रसहित स्तरोन्नति सकिने छ । दुई वर्षभित्र सम्पन्न गर्नेगरी मकरीगाडमा मोटेरबल पुल निर्माणको ठेक्का भएको छ ।

अपिहिमाल-४ र ३ जोड्ने सडकमा रु सात करोड बजेट सुनिश्चित भएको भन्दै उनले आगामी आवमा सडक निर्माण पालिका केन्द्र पुग्नेछ ।

विगतका असफल कामलाई क्रमभङ्गता गर्दै जानु पर्छ : सभामुख अर्याल

टीकापुर : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण गर्दाखेरी राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि शुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनमा बोल्दै सभामुख अर्यालले सो कुरा बताएका हुन् ।

‘जनताको जनजीविकासँग जोडिएका विषयहरुमा हामीले निर्माण गर्ने कानुनमा कतिको चासो दिइरहेका छौं, ती कानुन जनताको मागसँग सम्बन्धित छन् कि छैनन् भन्ने कुरा ध्यान दिन जरुरी छ’, सभामुख अर्यालले भने, ‘विगतमा भएका निर्णयहरुको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर असफल कामलाई क्रमभङ्गता गर्दै जानु पर्नेछ ।’

उनले संघीय कानुन निर्माण गर्दा प्रदेश र स्थानीय तहसँग नबाझिने गरी आपसी समझदारीबाट निर्माण गर्ने कुरामा प्रयासरत रहेको बताए । ‘तीनै तहको सहकार्य, समन्वय र संवादका माध्यमबाट जनतालाई केन्द्रबिन्दुमा राखेर कानुन निर्माण हुनुपर्छ’, सभामुख अर्यालले भने, ‘कानुन कहाँ निर्माण हुन्छ ? कसको अफिसमा बन्छ ? जनताले राजपत्रमा प्रकाशित भएपछि मात्रै थाहा पाउने स्थिति छ, कानुन त्यसरी निर्माण हुन सक्दैन । कानुन जसका लागि बन्ने हो, उनीहरुको सुझावसहित बनाइनु पर्छ ।’

सभामुख अर्यालले कानुन निर्माता र जनताबीच ठूलो खाडल रहेको दाबी गरे । ‘नयाँ पुस्ता, अग्रज पुस्ता र वर्तमान नेतृत्वकर्ताबीच समन्वय गरेर देशमा सुशासन कायम गर्न, देश विकास गर्न र युवाहरुले स्वदेश फर्किने वातावरण बनाउनु पर्नेछ’, सभामुख अर्यालले भने, ‘जेनजीको आन्दोलन के का लागि भएको थियो ? त्यो कुरा भुल्न गए नेतृत्व गर्नु बेकार हुनेछ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीयताको कार्यान्वयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए । ‘हामी तीनै तहका जनप्रतिनिधि, सरकारहरुले संघीयताको कार्यान्वयनमा गम्भीर भएर लाग्नु पर्नेछ’, अध्यक्ष दाहालले भने, ‘विश्वकै उत्कृष्ट मानिएको संविधान, गणतन्त्र र यो व्यवस्थाले नै देशमा परिवर्तन सम्भव भएको हो ।’

उनले निर्माण भइरहेका कानुनको समयानुकूल समीक्षा हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा विपक्षी दलका नेता खगराज भट्टले संसदमा भइरहेका अवरोधबारे समामुखको भूमिका समन्वयकारी हुनुपर्ने बताए । ‘सभामुखको भूमिका समन्वयकारी हुनुपर्ने हो, त्यो हुन नसक्दा संसदमा अवरोध भइरहेको छ’, नेता भट्टले भने, ‘देशमा वैज्ञानिक विकास, सुशासन, संसदीय सर्वोच्चता सबै नेपालीको सामुहिक लक्ष्य हो, अब बन्ने हाम्रा कानुनले जनतालाई न्याय र सन्देश दिन सक्नु पर्छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, विशेष अधिकार समितिका सभापति तुलसी देवकोटा, सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारी लगायतले बोलेका थिए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा उपसभामुख, सात वटै प्रदेशका सभामुख, उपसभामुख, संसदका महासचिव र सचिवहरुको सहभागिता रहेको छ ।

जेनजी आन्दोलनमा बालबालिकालाई ‘मानव ढाल’ बनाइयो : लिली थापा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा बालबालिकालाई ‘ह्युमन शिल्ड’ (मानवीय ढाल) का रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा. लिली थापाले यस्तो बताएकी हुन् ।

थापाले आन्दोलनका क्रममा भएका गतिविधिहरू मानव अधिकारको दृष्टिकोणबाट गम्भीर रहेको बताइन् । प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिइएको भनी उठेका प्रश्नहरूको खण्डन गर्दै डा. थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको स्पष्ट पारिन् ।

उनका अनुसार नेपाली सेनालाई घटनामा जिम्मेवार देखिएका कमाण्डरहरूलाई सचेत गराउन र आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन निर्देशन दिन सिफारिस गरिएको छ ।

प्रधानमन्त्रीको नाम समावेश नगरिएको विषयमा स्पष्ट पार्दै उनले आफूहरु कसैसँग पनि नडराएको र गहन विश्लेषण र मानव अधिकारको दृष्टिकोणबाट मात्र रिपोर्ट तयार पारेको बताइन् । पीडित परिवारको पीडा र युवाहरूको मृत्युलाई आधार मानेर दोषीउपर सिफारिस गरिएको उनको भनाइ छ ।

जाँचबुझका क्रममा आयोगले ४३७ वटा भिडियो क्लिपहरूको अध्ययन गरेको थियो । ती भिडियोहरू वास्तविक हुन् वा कृत्रिम भन्ने छुट्याउन वाह्य विज्ञहरूको समेत सहयोग लिइएको थियो ।

परीक्षणका क्रममा करिब ३५ वटा भिडियोहरू वास्तविक पुष्टि भएको र तिनमा उच्च पदस्थ व्यक्ति तथा अभियन्ताहरूले हिंसात्मक गतिविधिमा उक्साएको प्रमाण भेटिएको बताइन् ।

आयोगकाअनुसार ती भिडियोहरूमा बालबालिकालाई अगाडि राखेर ‘ह्युमन शिल्ड’ बनाउनबम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशनहरू दिइएको पाइएको छ ।

आन्दोलनमा ‘प्रोभोकिङ’ (उत्तेजक) भुमिका देखिएका ५४ जना व्यक्तिको पहिचान गरिएको र उनीहरूमाथि थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ । तीमध्ये कतिपयले आफू संलग्न नरहेको दाबी गरे पनि प्रमाणका आधारमा उनीहरूको भूमिका सन्देहास्पद देखिएकाले पुनरावलोकन प्रक्रियामा लैजान सुझाव दिइएको पनि बताइन् ।

३७ जिल्लामा आज रास्वपाको अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ। सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।

केन्द्रीय समितिको निर्णयानुसार आज कोशी प्रदेशका नौ, मधेसका दुई, बागमतीका नौ, गण्डकीका पाँच, लुम्बिनीका आठ, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अधिवेशन हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेसको महोत्तरी र रौतहट तथा बागमतीका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन हुने छन्।

गण्डकीका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनीका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णालीका कालिकोट र सल्यान तथा सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलामा पनि आज अधिवशेन हुँदै छन्।

आइतबार थप २९ जिल्लामा अधिवेशन हुने छन्। कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेसका सिराहा, धनुषा, पर्सा र सर्लाही तथा बागमतीका चितवन र ललितपुर जिल्लाका अधिवेशन हुने छन्।

गण्डकीका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनीका अर्घाखाँची, रुपन्देही र प्यूठान, कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिमका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवशेन हुने कार्यतालिका छ।

बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुनेछ। सङ्गठनको विशेष परिस्थितिका कारण उक्त दिनका लागि बाराको अधिवेशन तोकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ। ‘यससँगै पार्टीको मुख्य सङ्गठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ।’

यही जेठ २६ गतेदेखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको उनले जानकारी दिए। पहिलो अधिवेशन बागमती प्रदेशबाट सुरु हुनेछ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।

सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

काठमाडौं- सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका छन् ।

उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश पुग्नुभएका उनिहरुले आज नेपालको आर्थिक विकासमा टेवा पुग्ने व्यापारिक पूर्वाधारको अवलोकन गरेका हुन् ।

त्यसक्रममा उपसभामुख रूबी कुमारी तथा राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसमेत सहभागी भएकी छिन् ।

उनिहरुले धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव र टनकपुर क्षेत्रको अवलोकन गरेका सभामुख अर्यालको स्वकीय सचिवालयले जनाएको छ ।

सभामुख अर्याल र अध्यक्ष दाहालले महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्रको अवलोकन गरे । त्यसक्रममा उनीहरुले महेन्द्रनगर विमानस्थलको स्तरोन्नति तथा सेवा विस्तारका सम्भावनाबारे सरोकार भएकासँग छलफल गरे ।

राजनीतिमा सङ्लो ‘भट्टराई सर’ (भाग ३)

२० को दशकमा जिम्दारी प्रथा थियो । धनगढी मेनरोडमा जति जग्गा ओगटे हुन्थ्यो । तर मेनरोडमा आकर्षण थिएन् । त्यो समय जिम्दारको सिफारिसमा ‘उकास’ को जग्गा मिल्थ्यो । त्यसका लागि पहिले जग्गा दावी गर्नुपथ्र्यो । किसानले पोत तिर्न छाडेको । हकवाला कोही नभएको जग्गालाई उकास भनिन्थ्यो । उनले उर्मीमा पाँच बिगाह जग्गामाथि दावी गर्दै गोश्वारामा मुद्दा दिए । जिम्दारले असहयोग गरे । उनले मुद्दा हारे । र, जग्गा पाएनन् ।

२०२५ सालमा काँग्रेसका नेताहरुसंगै भट्टराई गोरखपुर गए । त्यहाँ बीपी कोईरालासंग भेटघाट कार्यक्रम तय गरिएको थियो । त्यही समय महोत्तरीमा सरोज कोईरालाको हत्या भयो । बीपी महोत्तरी गए । गोरखपुर आउन पाएनन् । बीपीसंग भेट हुन पाएन् ।

२०३० सालमा बलदेव मजगैया र खुमबहादुर खड्का बनारसमा स्नातकमा पढ्थे । तीर्थराज ज्ञवालीसंग बनारस गएका उनले त्यहाँ मजगैया र खड्कालाई भेटे ।

३० को दशकसम्म कर्णाली, भेरी, सेती र महाकाली एउटै भूगोल अन्तर्गत थियो । काठमाण्डौंमा सुदूरपश्चिमाञ्चल विद्यार्थी समितिको भेला भयो । अध्यक्षमा रुपानन्द बजगाई र जनक शाहबीच प्रतिस्पर्धा भयो । बजगाई निर्वाचित भए । त्यो भेलाको आयोजक शेर बहादुर देउवा थिए । देउवाको क्रेज बेग्लै थियो । देउवाले क्रान्तिकारी भाषण गरे । तालीको गडगडाहटले हल गुञ्जिरह्यो ।

लगनटोलमा टेक बहादुर चोखाल र गोविन्दराज जोशीको डेरा थियो । देउवा त्यहाँ खाना खान आउँथे ।
शेर बहादुर देउवा घट्टेकुलो बस्थे । देउवाको नाम त्यो समय ‘६ सय’ थियो । साथीहरु काठमाण्डौंबाट घर फर्किने बेला गाडीभाडा राखेर बाँकी रकम देउवाले झर्ती गर्थे ।

उनी मुनुवा स्कुलमा पढाउथे । एकदिन जनक कर्माचार्यले उनलाई घिया बोलाए । भारतको शाहजहाँपुरमा काँग्रेसका सिनियर नेताहरु आउन लागेको कर्माचार्यले जानकारी दिए । यस्तो महत्वपूर्ण सूचना सिमित व्यक्तिलाई मात्र थाह हुन्थ्यो । कर्माचार्यसंगै उनी र कैलालीका काँग्रेसका नेताहरु २०३४ सालमा शाहजहाँपुर पुगे । त्यहाँ गिरिजा प्रसाद कोईराला, चक्र वास्तोला, नोना कोईराला र सुशिल कोईराला आएका थिए । उनीहरुको उपस्थितिमा नेपाली काँग्रेस कैलालीको तदर्थ समिति गठन भयो । सभापति चुनिए, लोकेन्द्र बहादुर शाह । जनक बहादुर कर्माचार्यले उपसभापतिको जिम्मेवारी पाए । टेक बहादुर चोखाल सचिव भए । प्रेमलाल तुलाधारले कोषाध्यक्षको जिम्मा पाए । चन्द्र सिंह भट्टराई, अर्जुन कडायत र श्याम बाजे (श्यामप्रसाद खतिवडा) सदस्य भए ।

२०३५ सालमा लोकेन्द्र बहादुर शाह नेपाली काँग्रेस कैलालीको सभापति भए । जनक कर्माचार्य उपसभापति । टेक बहादुर चोखाल सचिव । सदस्य भए, प्रेमलाल तुलाधर, अर्जुन कडायत, श्याम प्रसाद खतिवडा, चन्द्र सिंह भट्टराई ।

२०३६ सालमा जनमत संग्रह अघि पलियामा चक्र बास्तोला र बलदेव मजगैया आएका थिए । भाटले बास्तोलाको हातबाट काँग्रेसको सदस्यता लिए ।

२०३६ सालमा बीपी धनगढीमा आए । उनको बीपीसंग भेट भयो । धनगढीबाट उनी बीपीसंगै महेन्द्रनगर गए । त्यो यात्रामा बीपीलाई नजिकबाट बुझ्ने मौका पाए ।

२०३६ सालमा जनमत संग्रहमा बहुदल प्रचार समिति गठन भयो । जसको सभापति लोकेन्द्र बहादुर शाह चुनिए । उनी र जनक कर्माचार्य उपसभापति भए । कोषाध्यक्ष रामचन्द्र अग्रवाल थिए ।

जनमत संग्रहमा कैलालीमा ९६०० मतको अन्तरले बहुदलले जित्यो । १०५०० मत बदर भयो । अधिकांश मतदाताले टेबल र भित्तामा छाप लगाएका थिए । उनले प्रचारका क्रममा थिए, टेबुलमा छाप लगाउनु, टेबुल नभए भित्तामा लगाउनु । मतदाताहरुले मतपत्रसंगै टेबुल र भित्तामा पनि छाप लगाए । मतदाताले गलत बुझेछन् । उनी भन्छन्, त्यसमा हाम्रो कमजोरी भयो । हामीले बुझाउन सकेनछौ ।

काँग्रेसले २०३७ सालमा चुनाव बहिस्कार ग¥यो । निर्वाचन बहिस्कार अभियानमा सक्रिय रहेका उनीसंगै नारायण दत्त मिश्र, बीर बहादुर हमाल, मान बहादुर महतो, सन्तलाल चौधरी, गोविन्दराज जोशी टीकापुरमा पक्राउ परे ।

धनगढीबाट लोकेन्द्र बहादुर शाह, जनक कर्माचार्य, टेक बहादुर चोखाल, रामचन्द्र अग्रवाल पक्राउ गरे । उनीहरु निर्वाचनपछि थुनामुक्त भए ।

बहुदलको पक्षमा प्रचार गर्न उनी, गोविन्दराज जोशी, गगन सिंह थापा, बीर बहादुर हमाल, कर्ण बहादुर थापा, जीत बहादुर विश्वकर्मा सहित ५१÷५२ जनाको समूह कैलालीको पहाडी क्षेत्रमा गयो । चिसापानीबाट पसेको उनीहरुको समूह १८ दिनमा सहजपुरमा पुग्यो ।

२०३७ मा बीपीले संघर्षको नीति बदले । र, नयाँ नारा दिए, न संघर्ष, न समर्पण । यो नारा र नीति धेरैलाई मन परेन् । कतिपयले त्यो समय पार्टी छोडे ।

२०३७ सालमा उनले बीपीलाई काठमाण्डौंमा भेटे । बीपीलाई भेटेपछि उर्जा मिल्थ्यो । बीपीको बिचार, आदर्श र अडानबाट उनी प्रभावित हुन्थे । तत्कालीन व्यवस्थाले बीपीलाई कठोर यातना दियो । तर बीपी अडिग रहे । बीपी राष्ट्रवादी थिए । भारतसंग कहिल्यै सम्झौता गरेनन् । यद्यपि व्यवस्था विरोधी आन्दोलनका लागि भारत नगई सुख थिएन् । कि जेलमा बस्नु पथ्र्यो ।

२०३८ सालमा उनी बीपीलाई भेट्न काठमाण्डौं गए । साथमा शेर बहादुर देउवा थिए । बीपीको मेलमिलाप नीतिप्रति उनको असहमती थियो । उनले बीपीलाई पाँच प्रश्न गरे । पहिलो थियो, तपाईले जोसंग मेलमिलापको कुरा गरिरहनु भएको छ । उसले रेस्पोन्स नै गरिरहेको छैन् । यस्तो अवस्थामा राष्ट्रिय मेलमिलाप नीतिको के औचित्य ? बीपीले उनका हरेक प्रश्नको चित्त बुझ्दो जवाफ दिए । बीपीसंगको एकघण्टा लामो संवादपछि उनी ‘कन्भिन्स’ भए । र, फर्किए ।

उनको बुझाईमा बीपीका लागि राष्ट्र, राष्ट्रियता र जनता सबैभन्दा माथि थिए । बीपीले अंगालेको राष्ट्रिय मेलमिलाप नीति त्यही भावनाको उपज थियो । भन्नेले त भनिदिए, बीपी राजासंग झुके ।
बीपीले सत्ताका लागि कहिल्यै सम्झौता गरेनन् । उनको साथ छोड्नेहरु प्रधानमन्त्री भए । चाहेको भए बीपी पनि हुन्थे ।

काँग्रेसका नेताहरुसंग उनको एउटै गुनासो छ, आफूलाई बीपीको अनुयायी भन्नेहरुले सत्तासंग सहकार्य गरे ।
बीपीको मृत्युपछि उनको कोट शेर बहादुर देउवाले लगाए । कोट लगाएर गुण सर्ने भए बीपीका गुणहरु देउवामा सर्थे । तर त्यसो भएन् ।

काठमाण्डौं जादा उनी देउवासंग घट्टेकुलो बस्थे । देउवा उनलाई पु¥याउन बसपार्क जान्थे । उनको बुझाईमा देउवा बिहापछि बदलिए । गृहमन्त्री हुदासम्म देउवा बिग्रेका थिएनन् । सबैका लागि सहज थिए

२०४५ सालमा सत्याग्रहका क्रममा ब्रेन ह्यामरेज भएका लोकेन्द्र बहादुर शाहको छ महिनापछि निधन भयो । कर्माचार्य कार्यबहाक सभापति भए । टेक बहादुर चोखाल सचिव ।

२०४६ को जनआन्दोलनमा उनी कैलाली क्षेत्र नम्बर १ को संयोजक थिए । जिल्लाको नेतृत्व कर्माचार्यले गरे । २०४८ सालमा जनक बहादुर कमाचार्य राष्ट्रिय सभामा मनोनीत भए । उनी कार्यबहाक सभापति भए । चोखाल प्रतिनिधि सभामा निर्वाचित भएपछि सचिवको जिम्मेवारी गोविन्दराज जोशीले पाए ।

उनले दुई पटक स्थानीय तहको टिकट बाँडे । उनले टिकट दिएकाहरु मेयर भए । गाँउविकास समितिका अध्यक्ष भए । तर उनी आफू भने टिकटबाट सधै बञ्चित भए ।

२०४८ सालमा तारिणी दत्त चटौत सुकुम्वासी समस्या समाधान आयोगको केन्द्रीय अध्यक्ष भए । उनी केन्द्रीय सदस्य । उनले बीरबहादुर हमाललाई जिल्ला अध्यक्ष बनाए । धनगढी र टीकापुरको जग्गा नाप्न लगाए । र लालपूर्जा दिलाए ।

४८ सालमा पार्टीको जिल्ला अधिवेशनमा सभापतिमा दुई जना आकांक्षी थिए । एक उनी । अर्को मोहन बहादुर शाह । त्यतिबेला तीन वटा क्षेत्रमा बिभाजित थियो, कैलाली । शाहले उनलाई छोड्न आग्रह गरे । उनले मानेनन् । अधिकांश प्रतिनिधि उनका पक्षमा थिए । शाह ब्याक भए । उनी निर्विरोध सभापति थिए ।

सन्त नेता कृष्ण प्रसाद भट्टराई(किसुनजी) ले दुर्गा केशर खनाललाई केन्द्रीय प्रतिनिधि खटाएका थिए । किसुनजीको उर्दी थियो, मोहन बहादुर शाहलाई जिताउनु । तर सभापति भए, उनी । किसुनजीलाई यो निर्णय चित्त बुझेन् । किसुनजीकै सल्लाहमा पछि शाह जिल्ला विकास समिति कैलालीको सभापति भए ।

२०५३ सालमा पार्टीले उनलाई स्थानीय निकायको प्रमुखको जिम्मेवारी दियो । त्यतिबेला गाँउ विकास समिति महासंघका अध्यक्ष थिए, सुदर्शन आचार्य । गाँउ विकासको पुर्नसंरचनामा समितिले काम ग¥यो । अहिले कार्यान्वयनमा रहेको गाउँपालिकाको अवधारणा त्यही बेला आएको उनको दावी छ ।

उनले २०४९ र ०५४ सालमा स्थानीय तहको टिकट बाँडे । उनकै नेतृत्वमा कैलालीमा अधिकांश गाउँ विकास समितिमा काँग्रेसका उम्मेदवारले जिते । जिल्ला विकास समिति दुबै कार्यकाल काँग्रेसको पकडमा रह्यो ।

नेपाली काँग्रेस बिभाजनपछि उनी तेस्रो पटक सभापति भए । उनीपछि गोविन्दराज जोशी सभापति भए ।

काँग्रेसले २०४८ सालमा सन्तलाल चौधरीलाई टिकट दियो । सन्तलाल पढेलेखेका थिएनन् । सन्तलालले त्यो टिकट रामजनम चौधरीलाई दिए । रामजनमले चुनाव जिते ।

पार्टीले नेपाली काँग्रेस अछामका सभापति गंगा बहादुर कुवँरलाई कैलाली क्षेत्र नम्बर १ मा टिकट दियो । कुँवरले निर्वाचन जिते । २०५१ को मध्यावधिमा पार्टीले केशर सिंह कडायतले टिकट पाए । एमालेका हिमाञ्चल भट्टराई बिजयी भए । कडायत पराजित । २०५६ मा सुशिला स्वाँरले टिकट पाईन् । र, जितिन । उनी सधै टिकटबाट बञ्चित भए । तर पार्टीलाई जिताउन कुनै कसर बाँकी राखेनन् । न त असुन्तष्टि पोखे । उनी काँग्रेसका प्रतिबद्ध सिपाही थिए ।

२०५२ सालमा गिरिजा प्रसाद कोईराला नेपाली काँग्रेस पार्टीको सभापति निर्वाचित भए । उनी केन्द्रीय सदस्य । काँग्रेसको केन्द्रीय सदस्य हुनु त्यो समय चानचुने कुरा थिएन् । ३१ जनामा उनको नाम १८ औं नम्बरमा थियो ।

कोईरालाले उनलाई क्रियाशिल सदस्यता छानबिन समितिको संयोजक बनाए । समितिका सदस्य थिए, दिलेन्द्र प्रसाद बडु र चक्र प्रसाद बास्तोला ।

उनी दीपावलीमा घर गएनन् । रातदिन खटे । क्रियाशिल सदस्यता टुंग्याए । त्यसपछि संभव भयो, पार्टीको महाधिबेशन ।
०५२ सालमा उनी पुनः सभापति पदमा लडे । रामसमझ चौधरी प्रतिस्पर्धी थिए । उनी मतगणनामा गएनन् । दुई तिहाई मतले बिजयी भए । र, दोस्रो पटक सभापति भए ।

७० को दशकसम्म कैलालीमा एक शक्तिशाली काँग्रेसको समूह थियो, ‘गोबीचना’ । गोविन्दराज जोशी, बीर बहादुर हमाल । चन्द्रसिंह भट्टराई । र, नारायण दत्त मिश्र । यी चार नेताको समूहलाई ‘गोबीचना’ भनिन्थ्यो । चारै जना काँग्रेसभित्र कोईराला पक्षधर थिए । भट्टराई तिनैमध्ये एक थिए । सबैले लाभको पद पाए । जोशी सधै बञ्चित भए । सुदूरपश्चिममा कोईराला पक्षधर कमजोर हुदा यो समूह पनि कमजोर भयो । देउवा समूहमा मिसिएका मिश्र अहिले पनि पदमा छन् ।

प्राय नेताहरुमाथि टिकट बेचेको आरोप लाग्यो । कैलालीमा दुई निर्वाचनमा स्थानीय तहको टिकट बाँडेका उनले कहिल्यै आरोप खेपेनन् । र, अन्तर्घात पनि बेहोरेनन् । उनले टिकट दिएका अधिकांश उम्मेदवारले चुनाव जिते । २०४९ सालमा धनगढी नगरपालिकामा मेयरमा जितेका किशोर कुमार बमलाई उनैले टिकट दिएका थिए ।

उनले गलतलाई सही भनेनन् । सहीलाई गलत । कोईरालाले ढुण्डीराज शास्त्री सहित छ जनालाई बिना सूचना कारबाही गरे । चुनाव हारेका मान्छेलाई जिम्मेवारी नदिने निर्णय थियो । चक्र वास्तोलालाई राजदूत बनाए । उनले कोईरालाको त्यस कदमको विरोध गर्दै कान्तिपुरमा लेख लेखे ।

२०६४ सालको संविधान सभाको निर्वाचन । त्यो पनि फरक निर्वाचन क्षेत्रमा । कैलालीको क्षेत्र नम्बर १ का उनले क्षेत्र नम्बरमा टिकट पाए । पराजित भए । काठमाण्डौं पुगे । विधान समितिका संयोजक कृष्ण प्रसाद सिटौला थिए । उनी सदस्य । चुनाव हारेका बामदेव गृह तथा उपप्रधानमत्री भएका थिए । उनले सिटौलालाई भने, बामदेव मन्त्री हुन सक्छन् भने म किन हुन    सक्दैन ?

पद प्रति आशक्ति र मोह नभएका भट्टराई । सिटौला चकित भए । सिटौलाले भट्टराईलाई मन्त्री बनाउन कोईरालासंग आग्रह गरे । कोईरालाको सिफारिसमा उनी माधव नेपाल नेतृत्वको सरकारमा उर्जा राज्यमन्त्री भए । जीवनमै पहिलो पटक लाभको पद पाए । जतिदिन पदमा रहे, त्यति दिन ईमान्दारीपूर्वक काम गरे । एक कार्यक्रममा जर्मनी जादै थिए । मन्त्री पद गयो । जर्मनी जाने पैसा राज्यकोषमा दाखिला गरेर घर फर्के । २०६६ असारदेखि २०६७ माघसम्म (१९ महिना) राज्यमन्त्री हुदा कुनै विवादमा परेन् । मन्त्री पदबाट हटेपछि साईकल चढेर आफ्नो बाटो लागे । सुखसुविधा र अवसरले उनलाई लोभीपापी बनाएन् ।

पुरै जीवन राजनीतिमा बिताए । तर त्यो राजनैतिक जीवन बेदाग रह्यो ।

पार्टी भनेको को हो ? नेतृत्वले ठिक काम गरे प्रशंसा हुन्छ । गलत काम गरे आलोचना । जनताले शेर बहादुर देउवालाई पार्टी मान्थे । पार्टी अमूर्त कुरा हो । त्यसको नेतृत्वको गुण र दोषको भागीदार पार्टी हुन्छ । काँग्रेसले जे भोगीरहेको छ, त्यो नेतृत्वको कर्मको फल हो । समय र जनता कठोर भएपछि नेताले सच्चिने मौका पाउदैनन् । सक्किएका नेताहरुको ईतिहासले त्यही    भन्छ ।

भनाई छ, कसैलाई चिन्नु छ भने उसको संगत हेर्नु ।

जस्तो संगत । त्यस्तै नेता । उनको बुझाईमा नेताहरु जितेपछि बिग्रिए । नजित्दासम्म ठिक थिए । सत्ताले संगत बदलियो । संगतले बनायो, भ्रष्ट । जनता र कार्यकर्तासंगको सम्पर्क टुटेका नेताहरु बिचौलियासंग जोडिए ।

क्रियाशिल सदस्यता । पाउनु पर्नेले पाएन् । नपाउनु पर्नेले पायो । अनुहार हेरियो । क्षमता हेरिएन् । आफ्नाले पाए । राम्राले पाएनन् । कसले बुझोस बीपी ? अनि समाजवाद ? हो, त्यही भीडमा पार्टी हरायो ।

साईकल चढेरै कैलालीका ग्रामिणवस्तीहरुमा काँग्रेसको संगठन विस्तार गरे । युवावस्थामा मुनुवाबाट साईकलमा धनगढी पुग्थे । जोशीपुरको लोखरीमा नारायणदत्त मिश्रको घर थियो । मिश्रको घरमा केही बेर आराम गर्थे । त्यहाँबाट उनीसंगै मिश्र पनि धनगढी हानिन्थे । गोविन्दराज जोशी र बीर बहादुर हमाल महेन्द्र राजमार्ग भएर बसमा धनगढी जान्थे ।

पार्टी बनाए । संगठन बनाए । तर उनी महाधिवेशनमा जानै पाएनन् । वडामै हारे । त्यो पार्टी, जो उनका लागि सबैथोक थियो । घर । परिवार । श्रीमती । सन्तान । थियो, यी सबैभन्दा माथि । रात भनेनन् । दिन भनेनन् । पार्टी । कार्यकर्ता । जनता । देश । यी बाहेक उनका निजी सपना थिएनन् । पुरै जीवन पार्टीको सिपाही भएर बिताए । उत्तरार्धमा मैदानमै आफ्नैहरुबाट घेरिए । समाजवाद र बीपी बिर्सिएको पार्टीमा बसिरहन् सकेनन् । उनी चुपचाप बाहिरिए ।

जेनजी विद्रोह झै प्रतिनिधि सभामा काँग्रेसको हारलाई उनी स्वाभाविक ठान्छन् । चुनावको नतिजा आउदा देशभन्दा दूर थिए । नतिजाले उनी बेचैन थिए । हारेको पार्टी फेरि उठ्न सक्छ । नहरावस । बस् । चिन्ता एउटै थियो ।

पुराना दलहरु सच्चिएनन् । सुध्रिएनन् । पुराना दलप्रतिको बितृष्णाले जनताले नयाँलाई परीक्षण गरिरहेका छन् । के कस्तो गर्छन्, त्यो त हेर्न बाँकी छ ।

जुन आदर्शबाट प्रेरित भएर राजनीतिमा लागे । जीवनको उत्तराद्र्धमा उनले त्यो आदर्श च्यूत भएको पाए । र, राजनीतिबाट अलग हुने निर्णय लिए ।

भट्टराई सर, जसको धमनीमा बग्ने रगतमा लोकतन्त्र छ । परित्याग गरेको काँग्रेसको माया अझै गढेको छ, हृदयमा । त्यो काँग्रेस, जसलाई जीवनभर आफूलाई भन्दा बढि माया गरे । त्यो कमजोर हुँदा मनमा पीडा त हुने नै भयो ।

डा. विजयराज शर्मा : समाज जोड्ने ‘फेभिकल’

भनिन्छ, उमेर संख्या हो । ईच्छाशक्ति सबैथोक ।

उमेरले ७५ नाघेका डा. विजयराज शर्माको दैनिकी हेर्दा त्यस्तै लाग्छ । न सिकाईको क्रम रोकिएको छ । न सक्रियता ।

बाराको कलैया । बेलपाती माई मन्दिर । अघिल्तिर शर्माको परिवार । मिति २००६ साल कार्तिक २८ । उनी जन्मिएको ठेगाना र मिति । बुवा दामोदार प्रसाद उपाध्याय । आमा हेमकुमारी । बुवा वनपाले । आमा गृहणी । उपाध्याय दम्पत्तीका दुई सन्तान । जेठी दिदी । कान्छा उनी ।

वीरगञ्ज र कलैयाको बीचमा पर्सोनी । त्यही उनको मावली । नजिकै ठूली आमाको घर । बुवाआमा घर बाहिर । उनको बाल्यकाल मावलीमै बित्यो । त्यही बसेर पढे । हजुरआमालाई बडा आमा भन्थे । बडा आमा र माईजुका प्रिय उनी ।

मावलीबस्दा ठूली आमाको घर गईरहन्थे । भारतको पटनाबाट आउने आर्यब्रत अखवार पढ्थे । ठूलो बुवा ढुण्डीराज शर्मा डाक्टर बन्न प्रेरित गर्थे । सौम्य । अनुशासित । अध्ययनशील । ठूलो बुवाको संगतले यी गुण उनमा सरे ।  उनी बाल्यकालमा बरालिएनन् । आज्ञाकारी थिए । बद्मासी गरेनन् ।

आमाकी पाँच दिदी बहिनी । एक दाजु । ठूली दिदी तारादेवी शर्मा । राजनैतिक चेतपूर्ण । २००७ सालको आन्दोलनकी सहभागी । चलाईन्, बाल विवाहका विरुद्ध अभियान । मण्डपबाटै उठाईन्, १३ वर्षीया बालिका । र रोकिन्, ४५ वर्षीय पुरुषसंगको बिबाह । ठूली बालबालिकाका लागि स्कुल खोलिन् । त्यही स्कुलमा उनकी आमाले केही समय पढाईन् । ।

उनी स्कुल भर्ना भएपछि आमाले एबीसीडी सिकिन् । उनी सात कक्षामा उक्लिए । आमाले युएसएडको सहयोगमा हेटौडामा नर्सिङको पढाई शुरु गरिन् । त्यसपछि पट्ना गईन् । नर्सिङको थप पढाई गरिन् । २०२१ सालमा कलैयाको श्री ३ चन्द्र हाईस्कुलबाट एसएलसी प्रथम श्रेणीमा पास गरे । आमा वीरगञ्जको नारायणी अस्पतालमा जागीरे भईन् ।

उनी काठमाण्डौंमा त्रिचन्द्र कलेजमा आईएस्सीमा भर्ना भए । आमा सरुवा मिलाएर काठमाण्डौं पुगिन् ।  र, कान्ति बाल अस्पतालमा काम गर्न थालिन् ।

२०२३ सालमा प्रथम श्रेणीमा आईएस्सी पास भए । छात्रवृति पाएर मेकानिकल ईञ्जिनियरिङ पढ्न रुड्की पुगे । त्यो समय सिभिल ईञ्जिनियर बेरोजगार हुदै थिए । त्यसैले मेकानिकल ईञ्जिनियरिङ रोजे ।

१९७१ साल (२०२८) मा ईञ्जिनियरिङ पुरा गरेर काठमाण्डौं फर्किए । केही समय बेरोजगार भए । ईन्द्रमणी राजभण्डारीको नेको ईन्को वर्कशपमा साथी कृष्ण काम गर्थे । राजभण्डारीकै स्वामित्वमा नेपाल ईञ्जिनियरिङ एण्ड कन्सट्रक्सन कम्पनी सञ्चालन थियो । जसले निर्माणका क्षेत्रमा काम गथ्र्यो । कृष्ण मार्फत उनी त्यो कम्पनीमा जोडिए । पारिश्रमिक थियो, ४८० रुपैया ।

हवाई विभाग अन्तर्गत हवाई यातायात विकास आयोजनामा सञ्चालनमा थियो । आयोजनाले त्यो समय काठमाण्डौं, भैरहवा र बिराटनगरमा विमानस्थल निर्माण गरिरहेको थियो । कोरियन कम्पनी निर्माणमा संलग्न थियो । आयोजनासंगको सम्झौता अनुसार राजभण्डारीको कम्पनीले निर्माणका लागि हेभी ईक्युप्मेण्ट सप्लाई गर्थ्यो ।

निजी कम्पनीमा कति काम गर्ने ? उनले लोकसेवाको तयारी गरे । परीक्षा दिए । नतिजा कुरिरहेका थिए । सिंह दरवार जल्यो । संगै उत्तर पुस्तिका । नतिजा रोकियो । र रोकियो, उनको सरकारी जागीर खाने सपना ।

उनी रोकिएनन् । कारखाना निरीक्षकको परीक्षा दिए । अरुको नाम निस्कियो । उनको निस्किएन् । नियतिले उनलाई दोस्रो पटक रोक्यो । केही समय हवाई यातायातमा जागीर खाए ।

२०३२ सालमा बालाजुमा औद्योगिक क्षेत्र सेवा सञ्चालनमा आयो । कार्यकारी अध्यक्ष थिए, अजित नारायण सिंह थापा । उनले जागीरका लागि थापालाई भेटे । त्यसको केहीदिनपछि आठौं तहको वरिष्ठ ईञ्जिनियरका रुपमा उनी जागीरे भए ।

उनी नेपालको पश्चिम तराईका जिल्लाका ग्रामिण वस्तीमा औद्योगिक सर्वेक्षणका लागि खटिए । साथमा थिए, अर्थशास्त्री, जनकराज थापा, घरेलु उद्योग विभागका प्रतिनिधि । कञ्चनपुरको बेलौरी हुदै कैलालीको सत्तीसम्मका ग्रामिण वस्तीहरुको एक महिना लामो भ्रमण गरे । कही गोरु गाडा । कही पैदल यात्रा गरे ।

फर्केर काठमाण्डौंमा काममा व्यस्त भए । वीरगञ्जबाट आएका मलेरियाका अफिसर हरहर शर्माले बुवा सिकिस्त विरामी भएको खवर सुनाए । उनी कलैया पुगे । बुवा त विरामी भएकै रहेनछन् । उनलाई विहाका लागि झुक्याएर कलैया पु¥याइएको रहेछ ।

केहीदिन बुवासंगै बिताए । र, केटी हेर्न महोत्तरीको मनहरा गाउँ पुगे । प्रमिलाको परिवार उनलाई कुरिरहेका थियो । प्रमिला भारतको मुजफ्फरपुरमा मनोविज्ञानमा स्नातक गरिरहेकी थिईन् । हरहर शर्मा, जसले उनलाई झुक्याएर महोत्तरी पु¥याए, प्रमिलाका दाई थिए । परिवारले दुबै जनालाई भेट गराए । उनीहरुबीच वार्तालाप भयो । ईञ्जिनियर केटा । देख्नमा राम्रो । होचो कद । निलो सर्ट । प्रमिलाले बिलम्ब गरिनन् । ‘हुन्छ’ भनिन् ।

काठमाण्डौंबाट ल्याएको एकजोर लुगा । फोहोर भयो । बुवाको निलो सर्ट लगाए । र, केटी हेर्न गए । काठमाण्डौं फर्किनुअघि बुवालाई सर्ट दिए । प्रमिलाका आँखा भने निलो सर्ट लगाएको त्यो केटाको बाटो कुरीरहे । १९७३ मा उनीहरुको विहा भयो । र भयो, लामो पर्खाईको सुखद अन्त्य ।

विहापछि उनीहरु काठमाण्डौं बस्न थाले । तीन वर्षमा उनको नवौं तहमा बढुवा भयो । त्योसंगै नेपालगञ्ज औद्योगिक क्षेत्रको प्रमुख भए । नेपालगञ्जमा फलामका उपकरण बनाउने निजी कारखाना थिए । त्यहाँ सावुन र कटनका तौलियाका उद्योग पनि थिए ।

त्यसपछि बुटवल औद्योगिक क्षेत्रको प्रमुख भएर एक वर्ष काम गरे । त्यहीबेला एशियन ईन्स्टिच्यूट अफ टेक्नोलोजीमा मास्टर्स पढ्न थाईल्याण्ड गए । दुई वर्षमा मास्टर्सको पढाई सकेर १९८० काममा पुनः फर्किए । ।

यसैबीच उनको १० औं तहमा बढुवा भयो । दुई वटा विभागको प्रमुखको जिम्मेवारी पाए । योजना र संभाव्यता अध्ययन विभाग उनको मातहतमा थियो । उनी उद्योग मन्त्रालयले बनाउने योजनाहरुको सल्लाहकारको भूमिकामा थिए । विश्व बैंक र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनाहरुको समन्वय गर्थे । तिनै  परियोजना मार्फत टोकियो, नेदरल्याण्ड्स, ढाका, अष्ट्रिया गए ।

२०४६ सालको आन्दोलनपछि बनेको सरकारमा सहाना प्रधान उद्योग मन्त्री थिईन् । प्रधानले बनाएको निर्यात नीति समितिमा उनी सदस्य भए ।

एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जमा कागज उद्योग सञ्चालनमा थियो । उनी त्यसको कायममुकायम महाप्रबन्धक भए ।

त्यहीबेला उनलाई अमेरिका जाने अवसर प्राप्त भयो । उनका हातमा एकातिर अमेरिका ग्रिनकार्डको अवसर थियो । अर्कोतिर कामु महाप्रबन्धकको जिम्मेवारी ।

जेठान डा. शिव अर्यालमा थिए । तिनैले अप्लाई गरेको प्रमिलाको ईमिग्रेन्ट भीसाले उनलाई १९९१ जनवरीमा अमेरिका पु¥यायो।

कामु महाप्रबन्धक । सरकारलाई नीति बनाउन सल्लाह दिने हैसियत । चलेको प्राईभेट कन्सलटेन्सी । विदेश भ्रमणका तमाम अवसर । पद, प्रतिष्ठा, अवसर र लगानी सबै चटक्क छोडेर उनी डेनभर पुगे ।

अमेरिका पुगेपछि कहाँ बस्ने ? के गर्ने ? जेठान र साला थिए । माईती भएपछि त्यो चिन्तै भएन् । हातमा ग्रिनकार्ड । मनमा पीएचडीको हुटुहुटी । त्यसमाथि श्रीमतीको बलियो आड । प्रमिला भन्थिन्, तिमी पीएचडी पुरा गर । म काम गर्छु ।

नेपालमा जागीर दिन्थे । यता जागीरका लागि भौतारिए । थुप्रै ठाउँमा अप्लाई गरे । प्रमिलाले काम थालिन् । उनले १९९१ अगष्टमा युनिभर्सिटी अफ कोलोराडो बोल्डरमा अर्थशास्त्रमा पीएचडीको पढाई शुरु गरे । शुल्क तिर्न पैसा थिएन् । पहिलो वर्ष ऋण लिए । दोस्रो वर्ष युनिभर्सिटीमै काम पाए । ऋण लिनु परेन् । प्रमिला कमाउथिन् । उनी पढ्थे । १९९७ मा पीएचडी सके । उनले आफैसंग गरेको बाचा थियो, २००१ डिसेम्बरमा नेपाल फर्किने । २००१ डिसेम्बरमा नेपालको टिकट काटे । नेपालमा माओवादी युद्ध चर्किएको थियो । माओवादीले त्यही समय थुप्रै जिल्लामा आक्रमण गरे । त्यहीबेला दरवार हत्याकाण्ड भयो । आफन्तले सम्झाए, राजा सुरक्षित नहुने देशमा तिम्रो भविश्य के हुन्छ ?

नेपालका समाचारले आतंकित थिए । त्यसमाथि आफन्तको दवावमा परे । टिकट क्यान्सिल गरे । र, स्थायी रुपमा अमेरिका बस्ने निधो गरे । यो उनको जीवनको सबैभन्दा कठीन निर्णय थियो । जुन उनका लागि प्रियकर थिएन् । २००२ मा फेब्रुअरीमा आफूले नागरिकता लिए । चार महिनापछि आमालाई ग्रिनकार्ड दिलाए ।

आमाको धोको थियो, नेपालमै अन्तिम सास फेर्ने । बुवाको मृत्युपछि नेपालबाट ल्याएकी आमाको बसाई अबैध हुदा पनि उनले ग्रिनकार्ड दिलाएका थिएनन् । ग्रिनकार्ड लिएको त्यो दिन आमाको संकल्प र आफ्नो रहरको घाटी निमोठेको दिन थियो ।

पढाई नसकिदै युनिभर्सिटीमा फुल टाईम काम पाएका उनले त्यहाँ १६ वर्ष बिताए । स्नातक र मास्टर्सका विद्यार्थीलाई माईक्रो ईकोनोमिक्स पढाए । केही समय थप पढाउने ईच्छा थियो । ‘ब्याकपेन’बाट आजित भएपछि २०१७ मा अवकाश लिए ।

उनले पीएचडी गरेको हेर्ने पत्नीको रहर । त्यही रहरले डो¥याएर अमेरिका पुगे । पीएचडी सक्ने । १० वर्षमा नेपाल फर्किने अडान । सहमती जनाउदै प्रमिला भन्थिन्, मन नलागे स्वदेश फर्किउला । अमेरिका भासिएको ४२ वर्ष बिते । अमेरिकामा बसिरहन मन त थिएन् । नियति अर्कै थियो ।

नेपाल फर्किने योजनामा १९८३ मा गल्फुटारमा चार आना जग्गा लिए । घर बनाउने । ढुक्कले बस्ने । बुढेसकालका लागि साँचेको सपना। २०१२ मा नेपाल जादा थाह पाए, त्यो जग्गा अर्कैले बेचिदिएछ । मुद्दा लड्ने झञ्झटमा परेनन् । न जग्गा रह्यो । न सपना ।

अमेरिका आएपछि कतिपय मान्छे डिप्रेशनको शिकार हुन्छन् । नेपालमा के थिए ? को थिए ? उनको अनुभवले भन्छ, त्यहाँको पद र प्रतिष्ठाको धङधङी बोक्नेहरु अमेरिकामा दुःख पाउछन् । अमेरिकामा हरेक आप्रवासीको जीवन शुन्यबाट शुरु हुन्छ । जो शुन्यबाट शुरु गर्न मानसिक रुपमा तयार हुन सक्दैनन् । ती डिप्रेशनको शिकार हुन्छन् । उनमा त्यो धङधङी कहिल्यै भएन् ।

यद्यपि नेपाल सधै ‘मीस’ गरिरहे । कोलोराडो र नेपालका बीचमा धेरै समानता छन् । पहाड उस्तै । नदी उस्तै । तर उनलाई यहाँका नदी नालाले कहिले ‘कनेक्ट’ गर्न सकेनन् । कहिल्यै अपनत्व भएन । यो कलकल आवाजले कहिल्यै मन झंकृत भएन् । बरु गण्डकी, कर्णाली र कोशी सम्झिदा उनका आँखा रसाईरहन्छन् । ओहो नागरिकता लिएर अपनत्व महशुस हुन नसक्ने ? उनी घोत्लिन्छन् । सबैचीज नेपालमै छोडेर के पाए ? जीवनलाई सहज बनाईदिने सुबिधाबाट खुशी नमिल्दो रहेछ । यो उनको भोगाई हो ।

अवकाशपछि उनको दैनिकी फेरिएको छ । तर उनी फेरिएका छैनन् । विहान छ बजे उठ्छन् । देशदुनियाका खवर पढ्छन् । दिउँसो भ्याएसम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् । खाली समय पुस्तक पढ्छन् । राति १० बजे सुत्छन् ।

न जागीरे जीवनमा पदको लोभ गरे । ‘रिटायर्ड लाईफ’मा के को लोभ ? सामाजिक कार्यमा सक्रिय हुन उनलाई पद जरुरी लागेन् । रकी माउण्टेनको स्थापनामा योगदान पु¥याए । विधान बनाए । दर्ता प्रकृयामा संलग्न रहे । बोर्ड अफ डाईरेक्टर भए । नेतृत्वमा पुग्ने रहर पालेनन् ।

परिवार । समाज । सृजना । उनीसंगै छ । लेखनको हुटहुटीले ‘भास’ जन्मियो । लाग्छ, यो उनकै जीवनको उपन्यास हो । उनी नेतृत्व हत्याउने दौडमा सहभागी भएनन् । तर जिम्मेवारीबाट भागेनन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को पुरस्कार समितिको सदस्यको भूमिका नमागेरै पाए । जसलाई ईमान्दारीपूर्वक निर्वाह गरिरहेका छन् ।

डाक्टर बन्ने दवावमा हुर्किए । आमाले उनमा देखेको डाक्टर बन्ने दिदी बिमलाले पुरा गरिन् । चीरफार र शल्यक्रिया अरुचि । डाक्टर बनेनन् ।

सुत्र भन्छ, एचटुओ बराबर पानी । समाज सुत्रले होईन् भावनाले चल्छ । संवेदना । संवेग । प्रेम । सहअस्तित्व । सम्मान । सहकार्य । समाजका लागि यी आवश्यक मन्त्र हुन् । उनी समाज बुझ्ने डाक्टर बने । शल्यक्रिया बिनै जसले गरिरहेको छ, समाजका रोगको निदान । जोडिरहेका छन्, समाजलाई फेभिकल झै ।

उनको जिन्दगी पनि अनौठो । पढे एउटा । बने अर्कै । उनी पढाईले मेकानिकल ईञ्जिनियर । अर्थशास्त्रमा विद्या वारिधी गरे । जीवन डो¥याए, सोसल ईञ्जिनियरिङमा ।

पढेर नसिकेका कुरा समाजले सिकाउछ । जुन कुरा कोर्समा हुदैनन्, ती समाजमा भेटिन्छन् । समाज ठूलो कि विश्वविद्यालय ? जसले समाज पढेन् । उसले केही पढेन । उत्तर काफि छ । गणितले भन्छ, दुईमा दुई थपे चार हुन्छ । माईनस र प्लस गणितमा खोज्नु । समाजको सुत्र बेग्लै छ । जोडेर होईन् छोडेर जाने कुरा महत्वपूर्ण हुन्छन् ।

उनी नेपाली समुदायका हरेक कार्यक्रममा पुग्छन् । बोलाउदा ठूलो पल्टिदैनन् । आसन र भाषणको भोक उनमा कहिल्यै भएन् । उनी सुन्छन्, धेरै । बोल्छन् कम । म नै जान्ने । म नै ठूलो । मैले जति कोही पढेकै छैन्, यस्तो भ्रममा बाँचेकाहरुले उनीबाट सिक्ने कुरा हुन् ।

सबैका प्रिय । सबैका आदरणीय । सधै एकनास । उनले कति सम्पत्ती जोडे ? कति कमाए ? त्यो त थाह छैन् । कोलोराडोमा नेपाली समुदायमा यत्तिको सम्मानित अर्को व्यक्ति छैन् । जसलाई सबैले श्रद्धा गर्छन् । सम्मान गर्छन् । यो नै उनले कमाएको सबैभन्दा ठूलो पूँजी हो ।

शालिन । सौम्य । न लोभ । न घमण्ड । न चर्चाको भोक । न सम्मानको तिर्खा । न धनको लालसा । न आसनको आशक्ति । न भाषणको भागदौड । भ्याएसम्म सार्वजनिक कार्यक्रममा पुग्छन् । सुन्छन् बढि । बोल्छन् कम । जान्ने पल्टिदैनन् । फूर्ति लाउदैन् । मान्छेहरुको भीडमा अपवाद लाग्छन् । विवादभन्दा टाढा । राजनीतिभन्दा कोशौं दूर । समाजमा विवाद हुदा निरुपणका लागि उनी निर्णायक हुन्छन् । नेपाली घर र रकी माउण्टेनबीचको दूरी उनकै मध्यस्थतामा अन्त्य भयो । त्यही भएर नेपाली घरले उनलाई कम्युनिटी कोलाबरेशन कमिटी संयोजक बनायो ।

मान्छे सपना देख्छन् । योजना बनाउछन् । उनी परे अपवाद । जिन्दगीले जे दियो । त्यही स्वीकार गरे । सपना देखेनन् । जिन्दगीले जहाँ पु¥यायो । त्यसलाई स्वीकार गरे ।

न हृदयमा ईगो । न कसैप्रति बैरभाव । न ईर्ष्या । थाह नपाएको कुरामा  छैन, संकोच । न छ, जानेको कुरामा घमण्ड । विश्वविद्यालयबाट प्राप्त भएको अर्थशास्त्रको पीएचडी उनका लागि भारी भएन् । कतिपय त्यही भारीमा थिचिन्छन् ।  त्यसैलाई सबैथोक ठान्छन् । समाजलाई ‘माईक्रो लेवल’ मा बुझेका उनले  युनिभर्सिटीमा विद्यार्थीलाई पढाए, ‘माईक्रो ईकोनोमिक्स’ । सधै रहे अर्थशास्त्रको ‘अर्थ’ को मोहबाट दूर ।

विश्वविद्यालयका कोर्समा गणित पढे । तर जीवनलाई जोड घटाउ बनाएनन् । मुनाफा होईन्, सम्बन्ध बढाए । अल्झिएनन्, अल्फा बिटामा ।

रेष्टुरेण्ट र ग्याँस स्टेशनको संख्या, व्यवसायको फैलावटलाई सफलताको मानक मान्ने अमेरिकी समाजमा उनलाई त्यसको छु मतलव ।

रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको चार वर्ष भन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गुरेका छन्। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुलापत्र लेखेका छन् ।

पुटिनलाई लेखिएको खुलापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर ‘पर्खेर मात्रै बस्नु गलत’ हुने उल्लेख छ । युक्रेन र रुसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उनको तर्क रहेको बीबीसीले जनाएको छ । प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताएका थिए । रुसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ ।

 

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने

काठमाडौं : एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ । समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित हुँदा ओमान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ ।

समूह चरणको अन्तिम खेलमा हङकङसँग १५४ रनले पराजित हुँदै ओमान समूह ‘बी’ को उपविजेताको रुपमा समूह ‘ए’ को विजेता नेपालसँग खेल्ने छ । त्यस्तै , दोस्रो सेमिफाइनलमा मलेसिया र हङकङले खेल्ने छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले मलेसियालाई १६७ रनले हराएको हो । सेमिफाइनल खेल आइतबार बिहान ९ः३० बाट सुरु हुनेछ । एसियन गेम्स छनोटका फाइनल खेल जेठ २५ गते (सोमबार) हुनेछ ।

सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

काठमाण्डौ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । आज सूचना निकालेर सङ्घीय मामिला मन्त्रालयले अबको तीन दिनभित्र हाजिर नभए कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो ।

नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए/नभएको यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन भनिएको छ ।

 

रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन : घिसिङ

काठमाडौं : उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्याण्डेड बिपरितको काम गरे प्रतिवाद गर्ने बताएका छन् ।

उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले परिवर्तनको लागि जनताबाट दुई तिहाई मत पाएर बनेको सरकार सफल हुनुपर्ने भन्दै सरकारले जनता निरास हुने काम गरे प्रतिवाद गर्ने बताएका हुन् । उनले करसम्बन्धी सरकारको नयाँ व्यवस्था अव्यहारिक भएको बताएका छन् । सरकारले जनतालाई राहत दिनुपर्नेमा विद्युतमा कर लगाउने निर्णयले उपभोग्य बस्तुको समेत मूल्यबृद्धि हुन सक्ने उनले बताए ।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताको समस्याहरू बोकेर नेपालको सशक्त पार्टीको रूपमा स्थापित हुने दावी गरे । अब नयाँको विकल्प फेरि पनि पुरानो हुन नसक्ने भन्दै उनले नयाँको विकल्प नयाँ उज्यालो नेपाल पार्टी मात्रै भएको जिकिर गरे ।

आगामी प्रदेश र स्थानीय निकायको चुनावमा उज्यालो पार्टीले देशभर जरा गाड्ने उनको भनाइ छ । अध्यक्ष घिसिङले रास्वपाको निलो क्रान्ति धेरै नटिक्ने समेत बताए । दिगो रूपमा नेपाललाई संस्थागत गर्न अन्तिम बिकल्प हरित क्रान्ति भएकाले हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने उनले बताए।

वातावरण संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्छ

कैलाली । वातावरण स्वच्छ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा सरोकारवालाहरुले राखेका छन् । ५४ औं  विश्व वातावरण दिवसको अवसरमा कैलालीको सुखडमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा राखेका हुन् ।

विश्व वातावरण दिवस २०२६ को नारा ‘हाम्रो भविष्य, हाम्रो जलवायु, सबै प्रकृतिबाट प्रेरित छ’ रहेको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संघद्वारा आयोजित स्वच्छ वातवरण र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रममा अधिवक्ता पुष्पविक्रम शाहीले स्वच्छ वातावरण र वातावरण संरक्षणको विषयमा बलियो कानुन भए पनि कार्यन्वयन पक्ष फितलो भएको बताए ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने व्यवस्था गरेको छ । अधिवक्ता शाहीले वातावरणीय प्रदुषणबाट हुने क्षतिबापत पीडितलाई प्रदुषण गर्ने पक्षबाट कानुन बमोजिम क्षतीपूर्ति पाउने हकको व्यवस्था गरिए पनि कार्यान्वयन हुन नसकेको बताए ।

नेपालमा वातावरण संरक्षण ऐन २०७६, नियमावली २०७७ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वातावरण संरक्षण र स्वच्छ वातावरणका विषयमा व्यवस्था भएको कानुनी व्यवस्थाका विषयमा शाहीले जानकारी गराए ।

कार्यक्रममा गैर सरकारी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवीदत्त  खनालले पृथ्वी, प्रकृति र मानव अस्तित्वको सम्वन्ध रहेको बताए । उनले भने, “भविष्यका सन्ततिका लागि पनि वातावरण संरक्षणमा सबैको भूमिका हुनुपर्छ । प्रकृतिको दोहनका कारण जलवायु परिवर्तन भइरहेको छ । संरक्षणमा सबै तह र तप्काले ध्यान दिनुपर्छ ।”

सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका सदस्य मैनादेवी ढकालले स्थानीय तहले फोहर व्यवस्थापनका लागि दिगोरुपमा काम गर्न नसकेको बताए। उनले फोहर व्यवस्थापनका लागि मासिक शुल्क बुझाउन जनता तयार भए पनि समयमा फोहर नउठाउने, व्यवस्थापनका लागि उचित ठाउँको व्यवस्थापन गर्न नसकेको बताए ।

उनले भने, “सामुदायिक वनलाई फोहर व्यवस्थापनको स्थल बनाएर मात्र समस्या समाधान हुदैन । अस्थायी रुपमा केही समयका लागि वनमा फोहर व्यवस्थापन गरिए पनि दीर्घकालिन व्यवस्थापनमा सरकारले ध्यान दिन सकेको छैन ।”

अन्तरक्रिया कार्यक्रममा विभिन्न सामुदायिक वन, विद्यालय, संघ संंस्थाका प्रतिनिधिका साथै जनप्रतिनिधिहरुको उपस्थिति थियो । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले वातावरण संरक्षण सरकारकोक मात्र दायित्व नभएर नागरिकको पनि दायित्व रहेको बताए ।

इन्सेकका सुदूरपश्चिम संयोजक खडक जोशीले राज्य र नागरिकविचको अन्तरसम्बन्ध मानवअधिकारसँग रहेको बताए । सरकार, नागरिक दुवै पक्षले आफ्नो ठाउँबाट बातावरण संरक्षणमा सहयोग पुग्ने काम गर्नुपर्ने उल्लेख गरे । मानव अधिकार समूह घोडाघोडीका अध्यक्ष आशा परियारले वन, नदी, हिमाल र जैविक विविधता संरक्षण आजको आवश्यकता रहेको बताए ।

खोज्नुहोस