११ अंक घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार नकारात्मक भएको छ । बजार ११.३७ अंक घटेर साताको कारोबार बन्द भएको हो ।

बजार परिसूचक २७५५.४१ विन्दुमा झरेको छ । यसदिन ७४ कम्पनीको सेयर मूल्य बढेको छ । १८४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एक करोड २७ लाख ३२ हजार कित्ता सेयर ५५ हजार ४६७ पटकमा किनबेच भएको छ ।

कालीन्चोक हाइड्रो, उपकार लघुवित्त, लक्ष्मी बैंक डिबेन्चर, बेष्ट फाइनान्स, सिटी होटेल उच्च कमाउने शार्ष स्थानमा रहेका कम्पनी हुन् ।

समूहगत सूचकतर्फ फाइनान्स समूह २.७७, होटेल एन्ड टुरिजम ०.०५, म्युचअल फण्ड ०.२७, नन लाइफ इन्स्योरेन्स ०.०६ प्रतिशत बढ्दा बाँकी समूह घटेका छन् ।

 

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

काठमाण्डौ – नेकपा एमालेले गएको भदौ २३ र २४ मा भएको घटना सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पूर्वाग्राही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जाने जनाएको छ । एमालेले विज्ञप्तिमार्फत अदालत जानुअघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ २३ र २४ मा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ ।

लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सारसंक्षेपबीच भिन्नता हुन सक्ने आशङ्कासमेत विज्ञप्तिमा गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानवअधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ । साथै, नयाँ कानून बनाएर के–के कारबाही गर्ने भन्ने पनि सिफारिस गरेको छ ।

नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सुशासन कायम गराउन तल्लीन रहेको बताउँदै कुशासनलाई जरैबाट उखेल्न नीतिगत तथा संस्थागत कब्जाको अन्त्य गर्ने अभियानमा सरकार लागेको बताए।

वाग्लेले वर्तमान सरकार कुशासनबाट आजित नागरिक, उद्यमी र व्यवसायीको जनादेशका आधारमा बनेको बताए । उनकाअनुसार डिजिटलाइजेशनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्ने र योग्यता प्रणाली (मेरिटोक्रेसी) लाई स्थापित गर्ने उद्देश्यसहित सरकार अघि बढिरहेको छ ।

विगतमा गरिबीको नाममा राजनीतिक भाषण धेरै भएपनि गरिबी उन्मूलनका दीर्घकालीन उपायमा पर्याप्त ध्यान नदिइएको भन्दै उहाँले सम्मानजनक रोजगारी सिर्जना नै गरिबी न्यूनीकरणको प्रभावकारी उपाय भएको बताए।

उनका अनुसार गरिबलाई नगद बाँड्दैमा मात्र गरिबी अन्त्य हुँदैन । उनीहरूलाई मध्यम वर्गमा उकास्न सम्मानजनक रोजगारी आवश्यक छ, र त्यसका लागि निजी क्षेत्र सक्रिय हुनुपर्छ।

अर्थमन्त्री वाग्लेले सरकारले बजेटमार्फत अर्थतन्त्रमा ‘बिग ब्याङ रिफम्र्स’ सुरु गरेको दाबी गर्नुभयो । उहाँकाअनुसार सोही अनुसार कर प्रणालीमा ठुलो सुधार गरिएको हो।

१० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने व्यवस्था तथा उच्च आयकर दरलाई १० प्रतिशत बिन्दुले घटाउने निर्णयले लगानीमैत्री वातावरण सिर्जना गर्ने उनको भनाइ छ।

राजश्व संरचनामा परिवर्तन गर्दै उपभोगमा आधारित कर प्रणालीमार्फत आयकर कटौतीबाट हुने राजस्व घाटा व्यवस्थापन गर्ने रणनीति अपनाइएको पनि उनले बताए।

वाग्लेकाअनुसार अर्थतन्त्रलाई चलायमान बनाउने, उपभोग बढाउने र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर नीतिमा सुधार गरिएको छ। अनावश्यक रूपमा लगाइएका केही अन्तःशुल्क खारेज गरिएको र उद्योगी–व्यवसायीका सुझावका आधारमा केही उत्पादनमूलक क्षेत्रलाई सिमित अवधिका लागि संरक्षण प्रदान गरिएको उनले बताए।

गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको जानकारी दिए ।

‘हाम्रो तर्फबाट सकेर प्रतिवेदन बुझायौं । अब बाँकी उतैबाट प्रक्रिया होला,’ उनले भने । प्रतिवेदन ४५ पृष्ठको रहेको छ । समितिले गुरुङसँग बयानसमेत लिएको थियो ।

बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिले उनीमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरणसमेत केलाएर अध्ययन गरेको थियो।

सीमाबारे राजेश हमालले भने– नेतृत्वमा परिपक्वता नभए गम्भीर चुनौती आउन सक्छ

काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालले सीमाबारे आफ्नो धारणा प्रस्तुत गदै नेतृत्वमा परिपक्वता नभए राष्ट्रले गम्भीर चुनौतीको सामना गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

उनले सीमा सम्बन्धमा यस्तो बेला आफ्नो धारणा सार्वजनिक गरेका छन् जतिबेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमालाई लिएर दिएको अभिव्यक्ति विवादास्पद बनेको छ । ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री बालेन यतिबेला विवादमा तानिएका छन् ।

“आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ,” नायक हमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नायक हमालले सीमाबारेमा आफ्नो स्पष्ट बुझाइ समेत राखेका छन् । उनले स्पष्ट पार्दै लेखेका छन्, “नेपालको सीमासम्बन्धी बहसहरूमा दुई शब्द सुनिन्छन्– सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमण । यी दुईलाई एउटै अर्थमा बुझिन्छ, तर वास्तवमा यी पूर्णतः फरक प्रकृतिका विषय हुन् ।”

सीमापार अतिक्रमण प्रायः सरकारभन्दा बढी स्थानीय नागरिकसँग सम्बन्धित हुने बुझाइ उनको छ । नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीयौँदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएको उनले बताएका छन् ।

नदीहरूले धार परिवर्तन गर्छन्, सीमा स्तम्भहरू हराउँछन् वा क्षतिग्रस्त हुन्छन्, बस्तीहरू विस्तार हुने उनले जनाएका छन् । “यी घटनाहरू प्रायः नीतिगत होइनन्, भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम हुन् । यिनीहरू रणनीतिक विस्तारका प्रयासभन्दा बढी प्रशासनिक र स्थानीय प्रकृतिका समस्या हुन्, जसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुन्छ,” नायक हमालले भनेका छन् ।

तर, राज्य–प्रायोजित भू–अतिक्रमणको प्रकृति पूर्णतः फरक हुने ठम्याई उनको छ । उनले लेखेका छन्, “यो त्यतिबेला हुन्छ जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुन्छ । यहाँ व्यक्तिहरू होइन, राज्यका संस्थाहरू संलग्न हुन्छन् । सडक निर्माण गरिन्छ, प्रशासनिक संरचना खडा गरिन्छ, सुरक्षा निकाय परिचालन गरिन्छ, सरकारी नक्साहरू संशोधन गरिन्छ र राज्यको अधिकार औपचारिक रूपमा लागू गरिन्छ ।”

यसको सबैभन्दा प्रमुख उदाहरण कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र भएको नायक हमालले जनाएका छन् ।

दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड राजस्व सङ्कलन

धनगढी- धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु छ करोड राजस्व सङ्कलन गरेको छ।

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध सङ्कलन गर्दै आएको आयोजनाले सङ्कलित दूधलाई प्रशोधन गरी पनिर, आइसक्रिमलगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजनाका प्रमुख निराजन भट्टराईले जानकारी दिए।

आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल र टीकापुर बजारमा बिक्री हुँदै आएको छ।

हाल दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन गर्दै आएको आयोजनाले कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीको गुलरा तथा टीकापुरको वसन्तामा आफ्नै सङ्कलन केन्द्र सञ्चालन गरेको छ।  रासस

बजेट कार्यान्वयनको कार्ययोजना निर्माणमा जुट्यो ऊर्जा मन्त्रालय

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना निर्माणमा जुटेको छ ।

यस अन्तर्गत मन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिएका छन् ।

प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समय सीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक अवरोध समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताए । उनले कार्यान्वयनको नेतृत्व भने प्राधिकरणकै व्यवस्थापनले लिनुपर्ने धारणा राखे ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रसारण लाइन र सबस्टेशन लगायतका संरचना निर्माणलाई प्राथमिकता दिई पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै तोकिएको समयमै आयोजना सम्पन्न हुने गरी कार्ययोजनासहित मातहतका निकायलाई परिचालन गर्नुपर्ने मन्त्री श्रेष्ठको सुझाव छ ।

मन्त्री श्रेष्ठले प्राधिकरणका अधिकारीहरूले आफूसँग रहेको लामो अनुभव, दक्षता र क्षमताको अधिकतम उपयोग गर्न आग्रह गर्दै समस्याको पहिचान मात्र नभई समाधानका ठोस प्रस्ताव पनि व्यवस्थापन तहबाट आउनुपर्ने आवश्यकता औंल्याए ।

‘यसपटक प्राधिकरणले माग गरे अनुसारको बजेट प्राप्त गरेको छ । अब त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार र गुणस्तरीय तथा दिगो विद्युत आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणकै हो,’ उनले भने ।

प्राधिकरणले सामाजिक उत्तरदायित्वसँगै प्रतिफलमुखी लगानीमा समेत ध्यान दिनुपर्ने बताउँदै उनले आगामी वर्षहरूका लागि प्राथमिकता प्राप्त आयोजनाबारे स्पष्ट निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरे ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले विद्युत महसुल बक्यौता असुलीको विषयलाई प्राधिकरणले नियमित कार्यसूचीको रूपमा अघि बढाउन सुझाव दिए ।

विषयको उठानसँग त्यसको नियमित अनुगमन गर्दै निष्कर्षमा पुर्याउन उनको सुझाव छ ।

संस्थागत सुशासन सुदृढ गर्ने, कार्यसम्पादनलाई परिणाममुखी बनाउने तथा प्राथमिकताका आयोजना छनोट गरी अगाडि बढ्ने विषयमा उपकार्यकारी निर्देशकहरूलाई ढुक्क भएर सुझाव र प्रस्ताव पेश गर्न आग्रह गरे ।

‘विगतमा के भयो वा किन भएन भन्ने बहसभन्दा अब कसरी अघि बढ्ने भन्ने विषयमा मेरो ध्यान केन्द्रित छ,’ मन्त्री श्रेष्ठको भनाइ थियो ।

छलफलमा उपकार्यकारी निर्देशकहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गतका आयोजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्य योजनाबारे जानकारी गराएका थिए । उनीहरूले बजेट कार्यान्वयनलाई व्यवस्थित बनाउन असार १५ गतेभित्र विस्तृत कार्ययोजना तयार गरी सञ्चालक समितिमा पेश गर्ने तयारी भइरहेको समेत जानकारी दिएका थिए ।

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान  गरेका छन्  समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

जाँदा जाँदै उनले रास्वपा सरकार बनेपछि पहिलो पटक उच्च स्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताएका छन् ।

दार्चुला–तिङ्कर सडक : बजेट न्यून, स्थानीय निराश

दार्चुला । ब्यास गाउँपालिका–३, तुषारपानीदेखि नेपालको उत्तरी सीमा तिङ्कर नाका जोड्ने तुषारपानी–कोठेधार–तिङ्कर सडक आयोजनामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेट न्यून भएको भन्दै यहाँका स्थानीय निराश भएका छन् । सामरिक महत्वको यो सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।

यो सडक निर्माणका लागि सरकारले जम्मा १२ करोड १९ लाख रुपियाँ विनियोजन गरेको छ । तिङ्कर नाकासम्म गाडी पु¥याउन अझै ५९.२ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको छ । हरेक वर्ष विनियोजन हुने बजेट पर्याप्त नभएको ब्यास गाउँपालिका–५ का वडाध्यक्ष वीरसिंह धामीले बताए ।

उहाँले भन्नुभयो, “सीमाका जनताको जीवनसँग जोडिएको यो सडक निर्माण गर्न पर्याप्त बजेट विनियोजन गरिनु पथ्र्यो । बजेट विनियोजन ज्यादै न्यून भयो । यस्तो पाराले कहिले यहाँ सडक बन्ला भन्दै यहाँका नागरिक निराश छन् ।”

आव २०७७/७८ देखि नेपाली सेनाले हालसम्म १९.८ किलोमिटर सडकको ट्र्याक खोलेको छ ।

त्यसमध्ये तुषारपानीदेखि ब्यास–२, दुम्लिङसम्मको १२ किलोमिटर सडकखण्डमा गाडी गुड्न सक्ने अवस्थाको छ । नेपाली सेनाका अनुसार कुल सडकमध्ये २२.१५ प्रतिशत मात्र सडक निर्माण भएको छ ।

तुषारपानीदेखि तिङ्करसम्मको कुल ७९ किलोमिटर सडक निर्माण गर्न २०७७ वैशाख १४ गते तत्कालीन मन्त्रीपरिषद्को बैठकले नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।

नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले तिङ्कर सडक निर्माणका लागि सरकारले विशेष प्राथमिकता भनेर न्यून बजेट विनियोजन गर्नु, प्राथमिकीकरणमा न्याय र सुशासन दिन नसक्नु निराशाजनक भएको बताए ।

यस्तै ब्यास–२, मालका स्थानीय जनकसिंह धामीले दार्चुला–तिङ्कर सडक राष्ट्रिय सुरक्षा, सीमावर्ती नागरिकको जीवन र कालापानी–लिपुलेक क्षेत्रसँग जोडिएको रणनीतिक सडक भएको तथा बजेट न्यून विनियोजन भएकोप्रति चिन्ता व्यक्त गरे ।

यस क्षेत्रका स्थानीयले राज्यको बलियो उपस्थिति बनाउन तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा विस्तार गर्न सडक निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आएका छन् । नेपालतर्फ सडक नहुँदा व्यास–१, तिङ्कर र छाङरु गाउँमा परापूर्वकालदेखि बसोबास गर्दै आइरहेका सौका समुदायका मानिस भारतीय बाटो प्रयोग गरेर सदरमुकाम खलङ्गा आउन बाध्य छन् ।

भारतीय बाटो प्रयोग गर्न अनुमति लिनुपर्ने बाध्यता रहेको तिङ्करका स्थानीय दानसिंह टिङ्करीले बताए । ब्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराले सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने तथा सीमाका पहरेदार नागरिकलाई हौसला प्रदान गर्नुपर्ने बताए ।

तिङ्कर नाका त्रिदेशीय व्यापार, कैलाश मानसरोवर तीर्थयात्रा, पर्यटन प्रवर्धनका लागि महत्वपुर्ण नाकाका रूपमा रहेको छ । सरकारले आव २०७८/७९ देखि हालसम्म तुषारपानी–कोठेधार–तिङ्कर सडक निर्माणका लागि त्रिसट्ठी करोड एक लाख रुपियाँ खर्च गरिसकेको छ ।

शक्तिमा आइयो भनेर विपक्षलाई निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन : सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर सरकार लाग्न नहुने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्कीले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई निमिट्यान्न गराउनेतिर सरकार लाग्न नहुने बताइन् । “आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन,” कार्कीले भनिन् ।

प्रधानमन्त्री वालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न उनले सुझाव दिइन् ।

सरकारमा आएका नवयुवाहरूले अघिल्लो कुरा र इतिहास मनन गरेर मुलुक चलाउँदा राम्रो हुने कार्कीको भनाइ छ । सत्तारुढ दलका नेताहरूले आफूहरू पनि सधैँ युवा रहँदैनौँ भन्ने कुरालाई हेक्का राख्नुपर्ने उनको भनाइ छ ।

विपक्षी दलहरूको सरकारको खुट्टा तान्ने प्रवृत्ति पनि ठीक नभएको उनले बताइन् । न्युज एजेन्सी नेपाल

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (जेठ २२) मा छापावाल सुन प्रतितोला तीन लाख ९ हजार कायम भएको हो ।

अघिल्लो दिन बिहीबार तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा ५५ रुपैयाँ घटेर पाँच हजार २३० मा कारोबार भएको छ । अघिल्लो दिन पाँच हजार २८५ मा कारोबार भएको थियो ।

टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने

कैलाली। कैलालीको टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने भएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा यही जेठ २३ र २४ गते सम्मेलन हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले आज प्रतिनिधिसभा, राष्ट्रियसभा तथा सातवटै प्रदेशसभाका पदाधिकारीको सहभागिता रहने जानकारी दिए । उनले सम्मेलनमा सङ्घीय संसद् तथा सबै प्रदेशसभाले हालसम्म निर्माण गरेका कानुन, भएका प्रगति, आगामी दिनमा गर्नुपर्ने काम र कठिनाइकाबारेमा छलफल तथा अनुभव आदानप्रदान गरिने बताए ।

“विशेषगरी राजनीतिक अस्थिरता र त्यसले सङ्घ तथा प्रदेशसभामा पार्ने प्रभाव एवं सभामुखको भूमिकामा अझ बढी पेचिलो हुने देखिन्छ,” उनले भने, “हामीले हाम्रो भूमिकालाई कानुन र संविधानको परिधिभित्र रहेर निष्पक्ष स्वतन्त्र हुँदाहुँदै पनि प्रश्न उठ्ने सन्दर्भमा अझ बढी छलफल गर्नुपर्ने जिम्मेवारी थपिएको जस्तो मलाई लाग्छ ।” उनका अनुसार सम्मेलनमा सभामुख, उपसभामुख र सचिवको अलगअलग प्यानल बनाई समूहगत छलफल गरिनेछ ।

गर्मीमा नवजात शिशुको स्याहार कसरी गर्ने ?

काठमाडौं– गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य र छालाको विशेष रेखदेख गर्नु हरेक परिवारको लागि चुनौती र जिम्मेवारी दुवै बन्ने गर्दछ ।

प्रचण्ड गर्मी र तातो हावा (लु) का कारण शिशुको नरम छाला सुख्खा हुने, घमौरा आउने र सङ्क्रमण हुने जोखिम उच्च रहन्छ । यस्तो अवस्थामा बजारमा पाइने महँगा र रासायनिक उत्पादनको पछि लाग्नुभन्दा घरमै केही विशेष कुरामा ध्यान दिएमा शिशुलाई सुरक्षित र स्वस्थ राख्न सकिन्छ ।

१. घरको वातावरण हावादार बनाउने

शिशुलाई गर्मीबाट जोगाउन घरको झ्याल र ढोका खुला राखेर कोठालाई हावादार बनाउनुपर्छ। तर, विशेषगरी तराई भेगतिर चल्ने तातो हावा (लु) बाट जोगाउन दिउँसोको समयमा झ्याल(ढोका बन्द गर्नु नै बुद्धिमानी हुन्छ।

२. शिशुलाई हाइड्रेटेड (पानीको मात्रा पूरा) राख्ने

गर्मीमा वयस्कलाई जस्तै शिशुहरूलाई पनि डिहाइड्रेसन (जलवियोजन) को खतरा बढी हुन्छ। तर, शिशुको उमेर अनुसार हाइड्रेशनको तरिका फरक हुन्छ । ६ महिनाभन्दा कम उमेरका शिशुलाई बाहिरको पानी खुवाउनु हुँदैन ।

आमाको दूधमा नै पर्याप्त पानी हुने भएकाले शिशुले चाहेको बेला नियमित स्तनपान गराउनुपर्छ । ६ महिनाभन्दा माथिका शिशुलाई थोरै थोरै गरेर पानी खुवाउन सुरु गर्नुपर्छ । स्तनपान गराउने आमाले पोसिलो र सन्तुलित खानेकुरा खानु पर्छ । आमाको डाइटमा अचानक आउने परिवर्तनले शिशुको पेट दुख्ने समस्या निम्त्याउन सक्छ।

३.रासायनिक र फेन्सी उत्पादनबाट टाढै रहने

बजारमा पाइने सुगन्धित साबुन, लोसन वा ट्याल्कम पाउडरले शिशुलाई फ्रेस राख्छ भन्ने भ्रम धेरैमा हुन सक्छ। तर, यी उत्पादनमा हुने केमिकलले शिशुको संवेदनशील छालामा जलन र एलर्जी निम्त्याउँछ। नुहाएपछि धेरै पाउडर दल्ने बानीले छालाका छिद्रहरू थुनिने र गर्मी झन् बढ्ने हुँदा यस्ता फेन्सी उत्पादनको प्रयोग बन्द गर्नुपर्छ।

४. हल्का र सुतीका कपडा प्रयोग गर्ने

गर्मीमा शिशुलाई सजिलै हावा छिर्ने, खुकुलो र सुतीको हल्का लुगा मात्र लगाइदिनुपर्छ । घाममा वा बाहिर निस्कनु परेमा शिशुलाई घामबाट जोगाउन टोपी लगाइदिनु आवश्यक छ ।

५. नियमित सरसफाइ र दिउँसो नुहाइदिने

पसिनाका कारण शिशुको छालामा दाग वा सङ्क्रमण हुन नदिन नियमित सरसफाइ गर्नुपर्छ । दिउँसोको समयमा शिशुलाई मनतातो पानीले नुहाइदिने वा भिजेको नरम कपडाले जीउ पुछेर शीतल गराउन सकिन्छ ।

साथै, शिशुले बारम्बार हात मुखमा लैजाने हुँदा उसको हात, नङ र दाँत (गिजा) को सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

६.लामखुट्टे र कीराको टोकाइबाट बचाउने

शिशुको छाला निकै नाजुक हुने भएकाले कीरा वा लामखुट्टेले टोक्दा अत्यधिक दुखाइ र सङ्क्रमण हुन सक्छ । यसबाट जोगिन झुलको प्रयोग गर्नु सबैभन्दा उत्तम हुन्छ ।

लामखुट्टे भगाउन बजारमा पाइने इलेक्ट्रिक म्याट, लिक्विड वा केमिकल रिपेलेन्ट मेसिनहरूको प्रयोग गर्नु शिशुको श्वासप्रश्वासका लागि हानिकारक हुन सक्छ ।

७. घरेलु ओखती (नरिवलको तेल)

गर्मीका कारण शिशुको शरीरमा घमौरा, डाबर वा दागहरू देखिएमा वा चिलाउने र जलन हुने समस्या भएमा शुद्ध नरिवलको तेल लगाइदिनु पर्छ। नरिवलको तेलले छालालाई सितलता प्रदान गरी शिशुलाई तुरुन्त राहत महसुस गराउँछ।

भेदभाव र छुवाछूत उन्नत समाजको बाधक: मन्त्री वादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक भएको बताएकी छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा दलित समुदायले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताइन्।

मन्त्री वादीले सुनाइन्, ‘नेपालको हरेक परिवर्तनमा दलित समुदायले पुर्‍याएको योगदानको सम्मान गर्न चाहन्छु, सीमित स्रोतसाधन जनशक्तिकाबीच आयोगले गरेका काम प्रशंसनीय छ, दलित समुदायका समस्या समाधान गर्न मन्त्रालय र आयोगबीच समन्वय र सहकार्य गर्छाैं।’

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेदका विषयमा सघन छलफल र संवादका माध्यमबाट समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरे।

उनले राज्य कमजोर र न्यूनआर्थिकस्तर भएकाका लागि हुनुपर्छ भन्ने पैरवी दलित आयोगले गरिरहेको सुनाए।

जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

काठमाडौं : नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ।  भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्।

नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्।

यस्तै, ई- सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ‘मेरोकित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ। मन्त्री प्रतिभा रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन्।

उनले जग्गासम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै ‘मेरोकित्ता’ एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्। मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधिमैत्री सेवाहरूलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिन्।

परराष्ट्रमन्त्री खनालको भारत भ्रमण एक दिन अघि सर्‍यो, शुक्रबार दिल्ली जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार (जेठ २२ गते) भारत भ्रमणमा जाने भएका छन् । उनले जेठ २२ गतेदेखि २४ गतेसम्म भारत भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

यसअघि परराष्ट्रमन्त्री खनाल जेठ २३ गते भारत भ्रमणमा जाने तयारी भइरहेको थियो । तर, अन्तिम समयमा भ्रमण एक दिनअघि सारिएको हो ।

“भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनालले जुन ५ देखि ७, २०२६ सम्म भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भ्रमणको क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतका विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा र जनता–जनता सम्बन्धलगायत प्रमुख क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले पारस्परिक हितका विषयमा छलफल गर्ने परराष्ट्रले जनाएको छ ।

“यो भ्रमणले नेपाल र भारतबीचको स्थायी र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेछ,” परराष्ट्रले भनेको छ ।

परराष्ट्रमन्त्री आइतबार (जेठ २४ गते) काठमाडौं फर्कने कार्यक्रम छ ।

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका निम्ति जेल चलान

काठमाडौं । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको छ । बिहीबार (जेठ २१) जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको हो ।

कुमार चिमोरियाको जाहेरीअनुरूपको उक्त मुद्दामा टिकटकर अधिकारीसहित १० प्रतिवादी छन् । प्रहरीले आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) समेतको आरोपमा मुद्दा दायर गरेको हो ।

टिकटकर अधिकारीमाथि २१ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ ।

एक वर्षदेखि फरार अधिकारीलाई शुक्रबार (जेठ १५) इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरिएको थियो । अदालतको आदेशानुसार उनलाई प्रशासनबाट जेल चलान गरिनेछ ।

भुटानविरूद्ध टाइम आउट विकेट लिएपछि क्यानले माग्यो माफी

नेपाली महिला क्रिकेट टोलीले एसिसी महिला प्रिमियर कपमा भुटानविरूद्ध टाइम आउट अपिल गर्दै विकेट लिएको घटनामा नेपाल क्रिकेट संघ (क्यान) ले माफी मागेको छ।

खेल भावना खेल नियमभन्दा माथि हुने भन्दै क्यानका सचिव पारस खड्काले विज्ञप्ति निकाल्दै माफी मागेका हुन्। भुटानविरूद्धको खेलमा खेल भावना र मूल्य नदेखिएको पनि क्यानको भनाइ छ।

बिहीबार मलेसियामा नेपालले दिएको ११४ रन को लक्ष्य पछ्याउने क्रममा भुटानले पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडेन ९० सेकेन्डको निर्धारित समयभित्र क्रिजमा आइपुग्न असफल भइन्।

नेपाली टोलीले तुरुन्तै अम्पायरसँग टाइम आउट को अपील गर्‍यो र अम्पायरले नियमबमोजिम उनलाई आउट घोषित गरे।

यो नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो टाइम आउट विकेट हो भने पुरुष तथा महिला टी-२० अन्तर्राष्ट्रिय इतिहासमा यो तेस्रो घटना हो।

आइसिसीको टी-२० नियमअनुसार, विकेट पतन भएपछि नयाँ ब्याटर ९० सेकेन्डभित्र क्रिजमा तयार हुनुपर्छ। यसमा कुनै प्राविधिक समस्या नभएको अवस्थामा अपील भएमा आउट दिन सकिन्छ।

नेपालले यो नियमको सहारा लिए पनि खेल भावनाविपरित विकेट लिएको भन्दै आलोचना भएको थियो। सामाजिक सञ्जालमा विरोध भएछि क्यानले माफी मागेको हो। 714898063_27396148366648009_6290395637056428588_n-1780567091.jpg

मलेसियालाई १६७ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौं। एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियाविरुद्ध सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेर एसियन गेम्समा स्थान बनाएको हो।

नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमात्रै बनाउन सक्यो।

उसका लागि कप्तान सय्यद अजीजले ५४ रन जोड्दा सार्विन मुनियान्दीले १८ तथा मुहम्मद हजिजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मलेसियालाई सस्तैमा समेट्न नेपालका शेर मल्लले तीन विकेट लिए भने करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक सफलता हात पारे।

पराजित भएपनि मलेसियाले पनि एसियन गेम्समा स्थान बनाएको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे।

टी २० आईमा उनको यो तेस्रो शतक हो।

यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले। उनले ७ छक्का र ५ चौका प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोडे। उनले ४ छक्का र १ चौका हिर्काए।

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सय्यद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए।

सेयर बजार १३ अंकले घट्यो

काठमाडौं । सेयर बजार बिहीबार (जेठ २१) १३ अंकले घटेको छ । उतारचढाव देखिएको बजार अन्तिम समयमा १३.४६ प्रतिशतले घटेको हो । योसँगै समग्र बजार मापक २७६६.७८ विन्दुमा झरेको छ ।

यस दिन ६३ कम्पनीको सेयर मूल्य बढ्यो छ । १९८ कम्पनीको सेयर मूल्य घट्यो । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

चार अर्ब ७० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर ५१ हजार ६०१ पटकमा खरिद–बिक्री भएको हो ।

कालिञ्चोक हाइड्रो, न्यादी हाइड्रो, एसबिआई बैंक डिबेन्चर, एनआईसी एशिया ऋणपत्र, नबिल डिबेन्चर उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ म्युचअल फन्ड सामान्य बढ्यो । बाँकी समूह सूचक घटेका छन् ।

बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका ४१ प्राध्यापकले रकम फिर्ता गरे

काठमाडौं : उच्च शिक्षा क्षेत्रमा संस्थागत अनुशासन कायम गर्ने प्रयासअन्तर्गत अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले रकम फिर्ता गरेका छन्। त्रिविका अनुसार हालसम्म ४१ प्राध्यापकले रकम फिर्ता गरेका छन्।

यसबाट १० करोड ४६ लाख ५६ हजार ८०४ रुपैयाँ रकम जम्मा भएको छ। अध्ययन बिदामा बसेर नफर्किने एक सय ९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरेका हुन्। ६२ जनाले रकम फिर्ताका लागि समितिसमक्ष निवेदन दिएका छन्। यीमध्ये ५४ जनालाई समितिले पत्र काटेको छ। यस सम्बन्धी ११ केस सम्पर्कमा आएका छन् भने ६४ केस अध्ययनको क्रममा रहेको छ।

यससँगै थप प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा सहभागी भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए। शिक्षा पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए

मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरे। उनले सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त अवसरको उपयोगपछि सेवामा नफर्किने प्रवृत्तिका कारण विश्वविद्यालयले आर्थिक, शैक्षिक तथा नैतिक क्षति बेहोर्दै आएको भन्दै विश्वविद्यालयको साख गिराउने किसिमका यस्ता क्रियाकलाप आगामी दिनमा दोहोरिन नहुनेमा उनको जोड छ।

मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्न त्रिविलाई प्रोत्साहित गरेको र त्यसपश्चात् गरिएको छानबिन तथा कानुनी प्रक्रियाका आधारमा रकम फिर्ता हुने क्रम तीव्र बनेको मन्त्री पोखरेलले जानकारी दिए।

त्रिविका प्राध्यापक नफर्किँदा दुई अर्ब बढीको नोक्सानी भएको जनाइएको छ। त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले ५ वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्ष र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो। मन्त्रालयको पहलपछि त्रिविले छानबिन समिति बनाएर अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूको खोजी गरी उनीहरूबाट रकम असुली गरिरहेको छ।

यसअघि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक–कर्मचारीहरूको खोजबिन गर्न डा काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो। समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य छन्।

उक्त समितिले खोजबिन गर्दा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको छ। यसबाट त्रिविले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको जनाइएको छ। त्रिवि कार्यकारी परिषदले २०८१ पुस २५ गते छानबिन समिति बनाएको थियो। छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी कुल ३९८ प्राध्यापक छन्।

त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा तीन वर्षभन्दा बढी पाँच वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख छ। यदि तीन वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा तीन वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ।

‘राजासहितको प्रजातन्त्र’ मुख्य एजेन्डा बनाउँदै धवलशमशेरद्वारा नयाँ दल घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका तत्कालिन महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाउँदै नयाँ यात्रामा निस्किएको बताए।

राणाका अनुसार नयाँ दलको आधारभूत सिद्धान्त ‘राजासहितको प्रजातन्त्र’ र हिन्दू राष्ट्र रहनेछ। उनले आफूले केवल पार्टी परिवर्तन नगरेर राष्ट्रवादी विचारधारालाई थप सशक्त बनाउने उद्देश्यले नयाँ राजनीतिक अभियान सुरु गर्न लागेको स्पष्ट पारे।

उनले राप्रपा नेतृत्वले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको तथा समयमै महाधिवेशन सम्पन्न गर्न चासो नदेखाएको आरोप लगाए। पटक–पटक नेतृत्वलाई सचेत गराउँदा पनि सकारात्मक परिवर्तन नदेखिएपछि नयाँ विकल्प रोज्न बाध्य भएको उनको भनाइ थियो।

राणाले पछिल्ला निर्वाचनमा पार्टीको घट्दो प्रभाव र आगामी चुनावहरूमा चुनौतीपूर्ण अवस्था देखिएकाले नयाँ राजनीतिक शक्ति आवश्यक भएको उल्लेख गरे।

नयाँ पार्टीले युवा तथा महिलाको नेतृत्वलाई प्राथमिकता दिने, सुशासन र रोजगारीका मुद्दालाई केन्द्रमा राख्ने तथा विभिन्न राजावादी, राष्ट्रवादी र हिन्दूवादी समूह तथा व्यक्तित्वलाई एकताबद्ध गरेर बलियो राष्ट्रवादी मोर्चा निर्माण गर्ने लक्ष्य लिएको उनले बताए।

यस अभियानमा दुर्गा प्रसाईंलगायत समान विचारधारा भएका शक्तिहरूलाई समेत समेट्ने योजना रहेको जनाइएको छ।

रवि लामिछाने फर्केको भोलिपल्ट भारत जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार (जेठ २३) भारत जाने भएका छन् । उनी तीन दिनका निम्ति भारत जान लागेका हुन् ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर फर्केको भोलिपल्ट परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली जान लागेका हुन् । भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

हाल रास्वपा सभापति लामिछाने भारत भ्रमणमा छन् । उनी शुक्रबार (जेठ २२) स्वदेश फर्कनेछन् ।

भारतमा लामिछानेलाई उच्च सम्मान दिइएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।

कुशलको शतकमा नेपालले दियो मलेसियालाई २७६ रनको लक्ष्य

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियासामु २७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको हो ।

कुशलले १२६ रनको उत्कृष्ट इनिङ खेले । ५४ बलको सामना गरेका उनले १४ चौका र आठ छक्का प्रहार गरे ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुशलको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो । उनले यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक बनाउने पहिलो नेपाली तथा समग्रमा १०औँ खेलाडी बनेका छन् ।

आसिफ शेखले ६८ रनको इनिङ खेले । उनले २४ बलमा सात छक्का र पाँच चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ३१, सन्दीप जोराले १५ र लोकेश बमले १० रन जोडे ।

कुशलले पहिलो विकेटका निम्ति आसिफ शेखसँग १३४ र तेस्रो विकेटका लागि दीपेन्द्रसँग ५१ रनको साझेदारी गरेका थिए ।

मलेसियाका वीरनदीप सिंहले तीनm विजय उन्नी र कप्तान सयद अजिजले दुई/दुई विकेट लिए ।

यो खेलबाट समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्नेछ । खेल जित्ने टोली समूह विजेता हुनेछ । पराजित हुने टोली उपविजेता बन्नेछ ।

पहिलो खेलमा दुवै टोलीले चीनलाई हराएका थिए । नेपालले २२१ रनले पराजित गरेको थियो । मलेसिया नौ विकेटले विजयी भएको थियो । नेपाल र मलेसिया दुवैले एसियन गेम्समा स्थान पक्का गरिसकेका छन् ।

नेपाल र मलेसियाबीच हालसम्म १० ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल भएका छन् । यसमध्ये नेपालले नौ जित र एक हारको नतिजा निकालेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । समितिमा परेका उजुरीलगायत विषयमा बैठकमा छलफल हुने समिति सचिव दिनेश थापामगरले जानकारी दिए ।

उनले भने, “बैठकमा एजेन्डा धेरै छन्, बैठकपछि हामी सार्वजनिक गर्नेछौँ ।”

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा विपक्षी दलको उमेदवारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेकोलगायत विषयमा ७०० भन्दा बढी उजुरी परेको उनले जानकारी दिए ।

ती उजुरीउपर कारबाहीका लागि समितिको बैठकमा छलफल हुने उनले बताए । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै समितिले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट निलम्बन गरेको छ ।

कुशलको लगातार दोस्रो शतक

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध शतक प्रहार गरेका छन् ।

बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा कुशलले ४४ बलमा शतक पूरा गरेका हुन् । उनले १० चौका र सात छक्का प्रहार गरे ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुशलको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो । उनले यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए ।

कुशलले पहिलो विकेटका निम्ति आसिफ शेखसँग १३४ रनको साझेदारी गरे । आसिफ ६८ रन बनाएर पभेलियन फर्किएका थिए ।

कालोपत्रे सडक जीर्ण, धुलो र खाल्डाखुल्डीले यात्रु हैरान

बैतडी । सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियाबाट प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य लाइफलाइन सडकका रूपमा रहेको भीमदत्त राजमार्ग तथा त्यससँग जोडिएका दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र महाकाली राजमार्गका कालोपत्रे सडक उप्किएर जीर्ण बनेका छन् । धुलो र खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रु तथा सवारी साधनले हैरानी खेप्नु परेको छ ।

बैतडी–डडेलधुरा जोड्ने सडकखण्डको कालोपत्रे अधिकांश ठाउँमा उप्किसकेको छ । सडकखण्डमा सवारीका टायर गुड्ने भागको कालोपत्रे पूरै उप्किएर बीचमा मात्र धर्सा बाँकी देखिन्छ । यी सडक कुनै समय कालोपत्रे थिए भन्ने कुरा यिनै अवशेषबाट अनुमान गर्न सकिन्छ । अत्तरियाबाट पहाड जोड्ने सडकखण्डका विभिन्न स्थानमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेका छन् । धुलो उडेर सवारी साधन देख्नै मुस्किल हुने गरेको छ ।

पाइलैपिच्छे देखिने खाल्डाखुल्डी, अव्यवस्थित टालटुल र आकाशै ढाक्ने गरी उड्ने धुलोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यात्रा अत्यन्त कष्टकर र जोखिमपूर्ण बनेको छ । कैलालीको सहजपुर क्षेत्रको सडकखण्डमा यति गहिरा खाल्डाखुल्डी छन् कि साना सवारी साधन, जीप र कारका पार्टपुर्जा नै बिग्रिने र बीच बाटोमै गाडी अलपत्र पर्ने समस्या देखिएको छ ।

सहजपुर क्षेत्रको सडकखण्डमा कहिले खाल्डामा पर्छ भन्ने त्रासमा चालकहरू सधैँ डराइरहेका हुन्छन् । उक्त क्षेत्रको खाल्डाखुल्डी सबैभन्दा बढी जोखिमपूर्ण रहेको यात्रु र चालकले बताएका छन् ।

बैतडीको गोठालापानीदेखि डडेलधुराको बागबजारसम्मको करिब ८२ किलोमिटर सडकखण्डको कालोपत्रे उप्किएर सडकभरि भग्नावशेष र खाल्डाखुल्डी मात्र बाँकी हुँदा यात्रु र चालक दुवैलाई सास्ती भएको सवारी चालक हरिश चन्दले बताए।

उनले तराईको अत्तरियादेखि पहाड जोड्ने सडकमा सवारी चलाउँदा आकाशै ढाक्ने गरी उड्ने धुलोका कारण अगाडिको सवारी स्पष्ट देख्न नसक्दा दुर्घटनाको जोखिम बढेको बताए । प्रादेशिक ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आव २०८१र८२ मा यस सडकखण्डमा १२० भन्दा बढी साना–ठुला सवारी दुर्घटना भएका छन् ।

पहाडी मुख्य राजमार्गमा यात्रा गर्दा सचेत रहे पनि मोटरसाइकल तथा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू धुलोका कारण चिन्नै नसकिने अवस्थामा पुग्ने गरेको यात्रु नवीन भट्टले गुनासो गरे । उनले चौबीसै घण्टा उड्ने धुलो र खाल्डाखुल्डीका कारण पहाडी सडकमा दैनिकजसो दुर्घटना हुने गरेको बताउनुभयो । धुलोका कारण सडकछेउका स्थानीयले श्वासप्रश्वाससम्बन्धी समस्या भोग्न बाध्य भएको पनि उनको भनाइ छ ।

पहाडी राजमार्ग मर्मतका नाममा प्रत्येक वर्ष गरिने टालटुल (प्याचवर्क) कार्य प्रभावकारी हुन सकेको छैन । मर्मत गरिएका स्थान केही दिनमै पुनः उप्किने गरेको पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश विष्टले बताए। उनले बैतडी–डडेलधुरा जोड्ने अनारखोली र भालुमारे क्षेत्रमा प्रत्येक वर्ष खाल्डाखुल्डी पुर्ने काम भए पनि केही दिनमै पुनः उप्किएर सडक फेरि जस्ताको तस्तै हुने गरेको बताए ।

त्यसैगरी, डडेलधुराको स्याउलेदेखि डोटीको दिपायल खण्डको ५९ किलोमिटर, दिपायलदेखि अछामको साँफेबगर जोड्ने ८५ किलोमिटर तथा साँफेबगरदेखि बाजुरा सदरमुकाम मार्तडी जोड्ने ५८ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । यहाँ पनि मर्मतका नाममा वार्षिक करोडौँ रुपियाँ खर्च भए पनि कामको गुणस्तर दीर्घकालीन हुन सकेको छैन ।

मर्मतमा वार्षिक करोडौँ खर्च
यी सडकखण्डमा दीर्घकालीन सुधारका लागि पर्याप्त बजेट नभए पनि पटक–पटक मर्मतका नाममा वार्षिक करोडौँ रुपियाँ खर्च हुने गरेको छ । यति खर्च भए पनि सडकको अवस्था भने जस्ताको तस्तै देखिन्छ । ठेकेदारको ढिलासुस्ती र गुणस्तरहीन मर्मतका कारण सडक चाँडै बिग्रिने गरेको स्थानीयको गुनासो छ ।

अत्तरियाबाट पहाडी जिल्लाहरू जोड्ने भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र साँफे–मार्तडी सडकखण्ड रणनीतिक सडक सञ्जालमा पर्छन् । यी सडकखण्डको मर्मत, मोड सुधार र खाल्डाखुल्डी पुर्ने कार्यमा वार्षिक कति रकम खर्च हुन्छ भन्ने सूचना सार्वजनिक रूपमा देखिँदैन ।

यी सडकखण्डको रेखदेख तथा मर्मतसम्भार सडक डिभिजन कार्यालय महेन्द्रनगर, सडक डिभिजन कार्यालय कुलपाते र सडक डिभिजन कार्यालय पाटन बैतडीले गर्दै आएका छन् ।

नियमित तथा पटके मर्मत, खाल्डाखुल्डी पुर्ने, नाली सफा गर्ने र पहिरो पन्छाउने कार्यका लागि यी कार्यालयहरूले वार्षिक दुई करोडदेखि पाँच करोड रुपियाँसम्म खर्च गर्दै आएका छन् । सहजपुर–फल्टुडे खण्डको पहिरो पन्छाएर मर्मतमा मात्रै एकपटक दुई करोड २६ लाख रुपियाँ खर्च भएको देखिन्छ । तर, सूचना पाटी नराखिएको स्थानीयको गुनासो छ ।

बैतडी, बझाङ र दार्चुला जिल्ला सदरमुकाम जोड्ने सडक हेर्दै आएको सडक डिभिजन कार्यालय पाटन बैतडीले चालु आर्थिक वर्षमा मात्रै मर्मतसम्भार र सडक सफाइमा १६ करोड रुपियाँ खर्च गर्ने जनाएको छ ।

सडकका खाल्डाखुल्डी पुरी कालोपत्रे गर्ने काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका इञ्जिनियर कपिल पन्तले बताए । उनले विभिन्न चरणमा ठेक्का आह्वान भई काम भइरहेको जानकारी दिए । यसरी मर्मत गरिएका स्थानको म्याद तीन महिना मात्र रहने उनले जानकारी दिए ।

एसियन गेम्स छनोट : मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा मलेसियाका कप्तान सयद अजिजले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

यो खेलबाट समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्नेछ । खेल जित्ने टोली समूह विजेता हुनेछ । पराजित हुने टोली उपविजेता बन्नेछ ।

पहिलो खेलमा दुवै टोलीले चीनलाई हराएका थिए । नेपालले २२१ रनले पराजित गरेको थियो । मलेसिया नौ विकेटले विजयी भएको थियो । नेपाल र मलेसिया दुवैले एसियन गेम्समा स्थान पक्का गरिसकेका छन् ।

नेपाल र मलेसियाबीच हालसम्म १० ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल भएका छन् । यसमध्ये नेपालले नौ जित र एक हारको नतिजा निकालेको छ ।

खोज्नुहोस