‘राजासहितको प्रजातन्त्र’ मुख्य एजेन्डा बनाउँदै धवलशमशेरद्वारा नयाँ दल घोषणा

द एभरेष्ट पोष्ट
२१ जेठ २०८३ १४:५५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका तत्कालिन महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाउँदै नयाँ यात्रामा निस्किएको बताए।

राणाका अनुसार नयाँ दलको आधारभूत सिद्धान्त ‘राजासहितको प्रजातन्त्र’ र हिन्दू राष्ट्र रहनेछ। उनले आफूले केवल पार्टी परिवर्तन नगरेर राष्ट्रवादी विचारधारालाई थप सशक्त बनाउने उद्देश्यले नयाँ राजनीतिक अभियान सुरु गर्न लागेको स्पष्ट पारे।

उनले राप्रपा नेतृत्वले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको तथा समयमै महाधिवेशन सम्पन्न गर्न चासो नदेखाएको आरोप लगाए। पटक–पटक नेतृत्वलाई सचेत गराउँदा पनि सकारात्मक परिवर्तन नदेखिएपछि नयाँ विकल्प रोज्न बाध्य भएको उनको भनाइ थियो।

राणाले पछिल्ला निर्वाचनमा पार्टीको घट्दो प्रभाव र आगामी चुनावहरूमा चुनौतीपूर्ण अवस्था देखिएकाले नयाँ राजनीतिक शक्ति आवश्यक भएको उल्लेख गरे।

नयाँ पार्टीले युवा तथा महिलाको नेतृत्वलाई प्राथमिकता दिने, सुशासन र रोजगारीका मुद्दालाई केन्द्रमा राख्ने तथा विभिन्न राजावादी, राष्ट्रवादी र हिन्दूवादी समूह तथा व्यक्तित्वलाई एकताबद्ध गरेर बलियो राष्ट्रवादी मोर्चा निर्माण गर्ने लक्ष्य लिएको उनले बताए।

यस अभियानमा दुर्गा प्रसाईंलगायत समान विचारधारा भएका शक्तिहरूलाई समेत समेट्ने योजना रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस