बजेट तयारीको अन्तिम चरणमा सुदूरपश्चिम प्रदेश सरकार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार बजेट तयारीको अन्तिमतिर पुगेको छ । प्रदेशले आगामी आर्थिक वर्षको बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बजेट तयारीको कार्य लगभग अन्तिममा पुगेको हो । सबै मन्त्रालयहरूले बजेट तयारी गरिरहेकोे आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए ।
उनका अनुसार मन्त्रालयगत रूपमा बजेट बनाउने कार्य भइरहेका छ । “मन्त्रालयहरूले बनाएको बजेट हाम्रोमा आउन बाँकी छ” बमले भने। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपियाँ रहेको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ का लागि सङ्घ सरकारबाट कम बजेट आएकोले आगामी आर्थिक वर्षको बजेट घट्न सक्ने राज्यमन्त्री बमको भनाइ छ । उनले सम्पन्न हुन नसकेका अधुरा योजनालाई प्राथमिकता दिनेगरी बजेट बनिरहेको उल्लेख गरे ।
“सङ्घबाटै कम बजेट आएकाले प्रदेशको बजेट बढ्ने सम्भावना छैन” राज्यमन्त्रीले भने, “जहाँसम्म बजेटको आकार पहिलेको तुलनामा सानो हुन्छ ।” प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्न बाहेक २५ लाख रुपियाँभन्दा कम लागतका विकास आयोजनाहरूमा बजेट विनियोजन नगर्ने नीति तथा कार्यक्रममै उल्लेख गरिसकेको छ ।
२५ लाखभन्दा कम लागतका आयोजनाहरू कार्यान्वयन गर्नुपर्ने अवस्था भएमा वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहबाट कार्यान्वयन हुने नीति लिइने जनाइएको छ । यसैगरी, सरकारले उपभोक्ता समितिमार्फत प्रदेशको कुनै पनि योजना कार्यान्वयन नगर्ने, व्यक्ति, फर्म लगायतको नाममा बजेट विनियोजन नगर्ने नीति अबलम्वन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
केही दिन अगाडि प्रदेश सभामा बोल्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सबैको सहभागितामा बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
