मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
धनगढी । मन्त्री फेर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयमा दलको बैठक बसेको हो ।
बैठकमा सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नियुक्ति गर्नेबारे छलफल चलिरहेको स्रोतले जनाएको छ ।
केही अघि कांग्रेस संसदीय दलका केही सदस्यले मुख्यमन्त्री शाहलाई हटाउने उद्देश्यले अविश्वास प्रस्ताव ल्याएका थिए । अविश्वास प्रस्ताव पक्षधरलाई अल्पमतमा पारेर मुख्यमन्त्री शाहले सत्ता जोगाए पनि समस्याको दिगो समाधान भइसकेको छैन ।
कांग्रेसभित्रको कलहलाई अन्त्य गर्ने उद्देश्यले मुख्यमन्त्री शाहले मन्त्री हेरफेरको योजना बनाएको र सोही अनुसार संसदीय दलको बैठकमा छलफल गरिरहेको स्रोत बताउँछ ।
स्रोतका अनुसार यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको समूहबाट केहीलाई सरकारमा सामेल गर्ने गरी मुख्यमन्त्री शाहले छलफल थालेका हुन् । संसदीय दलको बैठकबाट पुराना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीका रूपमा नाम सिफारिस गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
