सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज अपरान्ह ४ बजे सभाको बैठक बोलाइएको जनाएको छ ।

बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३ वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

सामाजिक विकासमन्त्री बेलबहादुर रानामगरले उक्त प्रस्ताव पेस गर्नुहुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

 

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

काठमाडौं : राप्रपाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर छलीसम्बन्धमा अर्थमन्त्री डा. वाग्लेको नाम जोडिएकाले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने माग गरिन्।

उनले भनिन्,‘निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य भइसकेको छ। छानबिन सम्पन्न नहुँदा आफ्नै विवेक प्रयोग गरेर नैतिकताको दृष्टिकोणले जिम्मेवारीबाट पर रहनुपर्ने हुन्छ।’

अघिल्लो सरकार हुँदा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि भन्दै प्रश्न गरेको स्मरण गराइन्। तत्कालीन गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिकाबारे जानकारी गराएपछि रास्वपा सांसदहरुले असहमति जनाउँदै संसद बैठक बहिष्कार गरेका थिए। बैठकमा रास्वपा सांसद डा. वाग्लेले आफ्नै मान्छेलाई चोख्याउन सरकारले आफ्नै मान्छे राखेर छानबिन समिति बनाएको आरोप लगाएका थिए।

उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिएको अवस्थामा गृहमन्त्रीको प्रस्तावमा नै छानबिन समिति बनाउने कुरा उचित नभएको बताए । सोही विषयलाई उल्लेख गर्दै ओलीले अर्थमन्त्रीले बनाउने समितिले सुनपानी छर्कने मात्र काम हुने भन्दै मान्य नहुने बताएकी हुन्।

प्रतिनिधिसभा बैठक बुधबारसम्मलाई स्थगित

काठमाडौं। विपक्षी दलका सांसदको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगन गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिप्रति प्रतिपक्षले आपत्ति जनाउँदै अवरोध गरेपछि बैठक बुधबार (जेठ २७)सम्मलाई स्थगन गरिएको हो ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक जेठ २७ गते बिहान ११ बजे बस्ने बताए ।

नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षीले संसद्‌मा पाँच मिनेट मौनधारणा गरेका थिए । ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा मौनधारणा गरिएको हो ।

प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्तिमा माफी माग्नुपर्ने/सच्याउनुपर्ने माग प्रतिपक्षीको छ ।

प्रधानमन्त्रीको बोली सच्याउन भन्दै सदनमा हर्कको ‘संकल्प प्रस्ताव’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को बोली सच्याउन संसद्बाट संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव गरेका छन् ।

यस्तो प्रस्तावको मस्यौदा उनले संसद्मा पढेरै सुनाएका छन् । यो प्रस्ताव पारित गन पनि उनले आग्रह गरे ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

यस सन्दर्भमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको बोली सच्याउन संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव राखेका हुन् ।

नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले नेपाललाई ‘सीमा अतिक्रमणकारी’ प्रमाणित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सचेतक राईले नेपालले छिमेकी देशको कुनै पनि भूभाग नमिचेको र नेपाल विश्वको नजरमा कहिल्यै ‘अतिक्रमणकारी’ बन्न नसक्ने बताएका हुन् ।

सचेतक राईले प्रधानमन्त्री र उनका शुभचिन्तकहरूले नभएका प्रमाणहरू सिर्जना गरेर नेपालले भारतको जग्गा मिचेको प्रमाणित गर्न खोज्नु गम्भीर राष्ट्रघात भएको आरोप लगाए । ‘मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले आज कस्तो स्वार्थमा हाम्रो स्वाभिमानमाथि धावा बोल्दै हुनुहुन्छ,’ उनले प्रश्न गर्दै भने । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले सीमा रक्षाका लागि ज्यान दिने वीर सहिदहरूको अपमान भएको राईको तर्क थियो।

राईले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन नदिएकोमा सभामुखप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘हामी सभामुखको अभिभावकत्व चाहन्छौँ। खुट्टा नकमाई रुलिङ होस् र प्रधानमन्त्रीले रोष्टममा उभिएर राष्ट्रहित विपरीतका आफ्ना कुरामा आत्मालोचना गर्दै माफी माग्नुपर्छ,’ राईले भने ।

प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध जारी

काठमाडौं–  प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले विरोध कायम राखेका छन् ।

प्रधानमन्त्रीले बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्तिबारे संसदमा आएर त्यसको जवाफ दिनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै बैठक निरन्तर अवरोध भइरहेको छ ।

हिजो पनि प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेपछि आजका लागि बैठक स्थगित गरिएको थियो ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले सभामुखले प्रधानमन्त्रीलाई सदनमा आएर यसको जवाफ दिन रुलिङ गर्नुपर्ने माग आज पनि पुन दोहोर्‍याएका हुन् ।

महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै

कैलाली- सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ।

आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमाण्ड क्षेत्र विस्तार गर्ने घोषणासमेत गरिएको छ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी यादव बरालले मूल नहर निर्माण भएको २८ किलोमिटरसम्मको भूभागमा सिँचाइ सुविधा प्रदान गर्नेगरी गृहकार्य अघि बढेको जानकारी दिए।

‘बजेटमा भनेको कमाण्ड क्षेत्र विस्तार भनेको पनि बनेको नहरबाट शाखा नहरमार्फत सिँचाइ सुविधा दिने भन्ने हो’, उनले भने, ‘त्यसका लागि २२ शाखा नहर निर्माणको अन्तिम चरणमा छन्।’

नेपाल–भारत महाकाली सन्धिअनुसार महाकाली नदीबाट नेपालतर्फ पानी ल्याउने विषय भने अझै किनारा लागेको छैन। महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण सम्पन्न भए तापनि भारतसँग नियमित पानीको प्रोटोकल (एकओपी) वा सम्झौता नहुँदा नहरमा नियमित पानी आउन नसकेको सूचना अधिकारी बरालले जानकारी दिए।

‘एसओपी स्वीकृत भएको छैन तर परराष्ट्रमन्त्रीज्यूको भारत भ्रमणका बेला पानी ल्याउने विषयमा पहल भएको छ’, उनले भने, ‘कुन समयमा कति पानी दिनेलगायतका विषय टुङ्गो लगाउनुपर्ने हुन्छ।’

महाकाली सन्धिअनुसार भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो क्षेत्र ब्रह्मदेवदेखि शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८ किमी मूल नगर निर्माण गरिसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी इन्जिनियर बरालले जानकारी दिए। चालु आर्थिक वर्षमा पुँजीगततर्फ रु ७० करोड खर्च भएको उनले बताए।

महाकाली नदीबाट भारतले परीक्षणका लागि पानी मूल नहरमा छाडे पनि नियमित छाडेको छैन। सिँचाइ आयोजनाले तीनपटक जलस्रोत तथा सिँचाइ विभागमा पानी ल्याउने विषयमा भारतसित समन्वय गर्न पत्राचार गरिसकेको छ।

कैलालीको मालाखेतीसम्म ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति भइरहेको भए पनि पानी ल्याउन ठोस पहल भएको छैन।

‘अहिले मूल नहरअन्तर्गत २८ देखि ४८ किलोमिटरसम्म मूल नहर चारवटा प्याकेजमा निर्माण भइरहेको छ’, बरालले भने। आगामी २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ। साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ।

महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट कञ्चनपुरका केही भूभागमा सिँचाइ सुविधा दिइएको छ।

राजमार्गको उत्तरतर्फको भागमा पर्ने सिँचाइका लागि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय पालिकाले ट्युबेल, बोरिङ जडानलाई प्राथमिकता लिएर सिँचाइ सुविधामा सघाउ पुर्याइरहेका छन्।

गृहको जिम्मेवारी पुनः सुधनलाई दिइने , आजै शपथको तयारी

काठमाडौँ — गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः जिम्मेवारी दिइने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई गृहमन्त्री बनाउने निर्णय लिएका हुन् ।

प्रधानमन्त्री शाहले गुरुङलाई मंगलबार नै गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । मंगलबार ३ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीमा गुरुङलाई नियुक्ति गरेर शपथको कार्यक्रम तय भएको छ ।

लगानीका विषयमा विवाद उत्पन्न भएपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए ।

प्रतिनिधिसभाको २०८२ फागुन २१ को निर्वाचनमा संसद्मा झन्डै दुई तिहाइ सिट जितेपछि गत चैत १३ मा गठित वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । सम्पत्तिको विवरणको विषयमा प्रश्न उठेपछि उनले बैशाख ९ गते राजीनामा गरेका थिए ।

२८ वैशाखमा मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । छानबिन समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन मन्त्रिपरिषद्को मंगलबारको बैठकले ग्रहण गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा २१ फागुनको निर्वाचनअघि बुझाएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने भएको छ । पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।

प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङलाई पनि फेरि गृह मन्त्रालय फर्काउने निर्णय लिएका छन् ।

यसअघि गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।

सुनको भाउ तोलामा २ हजार बढ्यो

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार ३ लाख ११ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदी तोलाको ५ हजार ४०५ रुपैयाँ थियो ।

फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका

काठमाडौं। फुटबलको महाकुम्भको प्रतिक्षा गरिरहेका विश्वभरका फुटबल प्रेमीहरूका लागि अब प्रतिक्षाको घडी सकिन लागेको छ ।

फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य फुटबल विश्वकपको २३औं संस्करण फिफा विश्वकप २०२६ अब केही दिनमै उत्तर अमरिकी महादेशमा सुरु हुँदैछ ।

आयोजकको संख्यादेखि सहभागी टिम र खेल संख्याको कीर्तिमानमा यस पटकको विश्वकपमा धेरै कुराहरू पहिलो पटक हुँदैछन् । जसले यसलाई अझ विशेष बनाएको छ ।

फिफा विश्वकप २०२६ को सुरु हुने मिति, पूर्ण खेल तालिका, आयोजक राष्ट्रहरू र फाइनल खेलको विस्तृत जानकारी तल प्रस्तुत गरिएको छ ।

विश्वकप २०२६: मुख्य विवरण र मिति

फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन तीन फरक देशमा फरक तरिकाले आयोजना हुनेछ । विश्वकपको उद्घाटन खेल भने ११ जुनमा मेक्सिकोमा हुनेछ ।

मेक्सिको र दक्षिण अफ्रिका अज्टेका स्टेडियममा मैदान उत्रेपछि नै विश्वकपको महाकुम्भको औपचारिक सुरुवात हुनेछ ।

पुटबलको यस महासंग्राम करिब ४० दिन चल्नेछ । १९ जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ । यस पटक विश्वकपमा अहिलेसम्मकै धेरै १०४ खेल हुनेछन् ।

सुरु हुने मिति: जुन ११, २०२६

फाइनल खेल: जुलाई १९, २०२६

आयोजक राष्ट्रहरू: अमेरिका, मेक्सिको र क्यानडा (संयुक्त रूपमा)

कुल सहभागी टोली: ४८ (यसअघि ३२ टोली खेल्दै बएकोमा पहिलो पटक ४८ टोली)

कुल खेल संख्या: १०४ खेल (समूह चरणमा ७२ र नकआउट चरणमा ३२)

३ राष्ट्र र १६ सहर: खेल मैदानहरू

फिफा विश्वकपको इतिहासमै पहिलो पटक फिफा विश्वकप तीनवटा देशमा संयुक्त रूपमा आयोजना हुँदैछ । जसमा अमेरिकाको ११ स्टेडियममा खेल हुनेछ भने मेक्सिकोको ३ र क्यानडाको २ स्टेडियममा खेल हुनेछ ।

अमेरिका (११ सहर): न्यूयोर्क/न्यूजर्सी, लस एन्जलस, डलास, एटलान्टा, कान्सास सिटी, ह्युस्टन, मायमी, फिलाडेल्फिया, सिटल, बोस्टन, सान फ्रान्सिस्को

मेक्सिको (३ सहर): मेक्सिको सिटी, ग्वाडलाजारा, मोन्टेरे

क्यानडा (२ सहर): टोरन्टो, भ्यान्कुभर

प्रतियोगिताको नयाँ ढाँचा

यस पटक विश्वकपमा सहभागि टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइएको छ । जसले गर्दा ढाँचा पनि केही परिवर्तन गरिएको छ ।

समूह चरण: ४८ टोलीहरूलाई कुल १२ वटा समूह (समूह ए देखि एल सम्म) विभाजन गरिएको छ । प्रत्येक समूहमा ४-४ टोलीहरू हुनेछन् ।

नकआउट चरण: प्रत्येक समूहका शीर्ष दुई टोलीहरू र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ वटा टोलीहरू राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् । यस पटकदेखि नकआउट चरणमा राउण्ड अफ ३२ नयाँ थप गरिएको चरण हो ।

 

पूर्ण खेल तालिका र मुख्य चरणहरू

३९ दिन लामो यस फुटबल उत्सवको तालिका यसप्रकार छ ।

१. समूह चरण

अवधि: जुन ११ देखि जुन २७, २०२६ सम्म

उद्घाटन खेल: जुन ११ मा मेक्सिको सिटीको एस्टेका स्टेडियममा मेक्सिको र दक्षिण अफ्रिका बीचको खेलबाट विश्वकपको सुरुवात हुनेछ । क्यानडाको पहिलो खेल जुन १२ मा टोरन्टोमा र अमेरिकाको पहिलो खेल जुन १२ मा लस एन्जलसमा हुनेछ । रोचक तथ्य के छ भने मेक्सिको फिफा विश्वकप तेस्रो पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्दैछ । र त्यहाँको ऐतिहासिक एज्टेका स्टेडियम तीनवटा छुट्टा छुट्टै विश्वकप (१९७०, १९८६ र २०२६) आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्नेछ । जुन ११ मा हुने उद्घाटन खेल सोही मैदानमा खेलिनेछ ।

२. राउन्ड अफ ३२

अवधि: जुन २८ देखि जुलाई ३, २०२६ सम्म

समूह चरणबाट छानिएका ३२ टोलीहरूले नकआउट खेल खेल्नेछन् । समूह चरणको ७४ खेलपछि हरेक समूहका शीर्ष दुई टोली स्वत नकआउट चरणमा पुग्नेछन् भने तेस्रो हुने मध्ये उत्कृष्ट ८ टोली पनि राउण्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।

३. राउन्ड अफ १६

अवधि: जुलाई ४ देखि जुलाई ७, २०२६ सम्म

राउण्ड अफ ३२ का विजेता उत्कृष्ट १६ टोलीहरूबीच प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा हुनेछ । विजेता टिमहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

४. क्वार्टरफाइनल

अवधि: जुलाई ९ देखि जुलाई ११, २०२६ सम्म

क्वाटरफाइनल चरणका खेलहरू अमेरिकाको लस एन्जलस, कान्सास सिटी, मियामी र बोस्टनमा आयोजना हुनेछन् । क्वाटरफाइनलमा उत्कृष्ट ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलका ४ विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

५. सेमिफाइनल

अवधि: जुलाई १४ र जुलाई १५, २०२६

सेमिफनाइनल खेलहरु अमेरिकनाको डलास र एटलान्टामा सञ्चालन हुनेछ । फाइनल पुग्नका लागि दुई सेमिफाइनल खेल हुनेछ । यसको विजेता उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

६. तेस्रो स्थानको खेल

मिति: जुलाई १८, २०२६

सेमिफाइनलमा पराजित भएका दुई टोली बीच तेस्रो स्थानका लागि अमेरिकाको मायमीमा प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल

विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित ट्रफीको छिनोफानो जुलाई १९ मा हुनेछ । सेमिफाइनलका दुई विजयी टिमहरु जुलाई १९ मा विश्वकप ट्रफी उचाल्ने लक्ष्यसहित अरिकाको न्यूयोर्क/न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा प्रतिस्पर्धामा उत्रनेछन् ।

यस रंगशालाको क्षमता ८२,५०० भन्दा बढी दर्शकहरू बसेर फाइनल खेलको प्रत्यक्ष मजा लिन सक्नेछन् ।

विश्वकप २०२६ किन ऐतिहासिक छ ? 

सर्वाधिक टोली र खेल: ४८ टोली र १०४ खेलहरू हुने भएकाले यो अहिलेसम्मकै सबैभन्दा धेरै खेल र खेलाडी समेटिएको विश्वकप हो ।

नयाँ देशहरूको डेब्यु: प्रतियोगिता ठूलो भएकाले केही नयाँ देशहरू जस्तै– कुराकाओ, उज्बेकिस्तान, जोर्डन र केप भर्डले पहिलो पटक फिफा विश्वकपको मञ्चमा डेब्यु गर्दै इतिहास रच्दैछन् ।

साविक विजेता: लियोनेल मेस्सीको कप्तानीमा सन् २०२२ को कतार विश्वकप जितेको अर्जेन्टिना यस पटक आफ्नो उपाधि रक्षा गर्ने दाउमा मैदान उत्रनेछ ।

कैलालीका १३ वटै पालिकामा रास्वपाको नेतृत्व चयन

धनगढी। कैलालीका १३ वटै पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गरिएको छ । पालिकास्तरीय प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । केहीबाहेक प्रायः सबै पालिकामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको जनाइएको छ ।

रास्वपाका नेताले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको सभापतिमा तुलाराम खनाल, टीकापुर नगरपालिकाको सभापतिमा गोविन्द विष्ट, जानकी गाउँपालिकाको सभापतिमा कलावती चौधरी चयन  भएका छन् ।

यस्तै जोशीपुर गाउँपालिकामा विनोद चौधरी, लम्कीचुहा नगरपालिकामा नामकर खनाल, मोहन्याल गाउँपालिकामा महेश विष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । बर्दगोरिया गाउँपालिकामा केशव भण्डारी, घोडाघोडी नगरपालिकामा नारायण भण्डारी, गौरीगङ्गा नगरपालिकामा सागर सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । यसै गरी कैलारी गाउँपालिकामा रेबन्त बोहोरा, भजनी नगरपालिकामा भरत साउद, गोदावरी नगरपालिकामा आशिष धामीको नेतृत्वमा रास्वपाको नयाँ कार्यसमिति गठन गरिएको छ ।

सबै पालिकामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको रास्वपाको सार्वजनिक मामिला विभागका केन्द्रीय सदस्य हरि रेग्मीले जानकारी दिए । यद्यपि कैलारी गाउँपालिकामा भने सभापतिका लागि रेबन्त बोहोरा र जितबहादुर चौधरीबिच प्रतिस्पर्धा भएको थियो । दुवै जनाले बराबर २३/२३ मत प्राप्त गरेपछि गोला प्रथाबाट बोहोरा कैलारीको सभापति चयन भएका थिए । १३ वटै पालिकामा नयाँ कार्यसमिति चयन गरिसकेको रास्वपा कैलालीको आइतबारदेखि जिल्ला सम्मेलन सुरु भएको छ ।

समयमै वर्षा भएपछि बैतडीका खेतमा रोपाइँको रौनक

बैतडी​​​​​​​ । बैतडीका खेतबारीमा यतिबेला रोपाइँको चटारो सुरु भएको छ। जेठ महिनाको दोस्रो सातासँगै जिल्लाका सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा किसानहरू धान रोप्न व्यस्त भएका छन्। समयमै परेको वर्षा र पर्याप्त सिँचाइका कारण यस वर्ष धानका बेर्ना राम्रोसँग सप्रिएकाले किसानहरू उत्साहित देखिएका छन्।

धान उत्पादनका लागि उपयुक्त मानिने जेठदेखि साउनसम्मको अवधिमा बैतडीका विभिन्न फाँटहरूमा रोपाइँको रौनक बढ्न थालेको छ। खेतमा पानी जमाएर बेर्ना सार्ने, गोरु जोतेर खेत हिल्याउने र परिवारका सदस्यहरू मिलेर रोपाइँ गर्ने पुरानो परम्परा अहिले पनि ग्रामीण क्षेत्रमा जीवित छ।

जिल्लाको पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिका धान उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छन्। अन्य पालिकाको तुलनामा यी क्षेत्रमा बढी क्षेत्रफलमा धान खेती हुने भएकाले किसानहरूको व्यस्तता पनि उल्लेख्य देखिन्छ।

पाटन नगरपालिका–६ का किसान डम्बरबहादुर विष्टका अनुसार यस वर्ष समयमै पर्याप्त वर्षा भएकाले धानका बेर्ना राम्रोसँग हुर्किएका छन्। नदी तथा कुलोमार्फत सिँचाइ सुविधा पुगेका क्षेत्रहरूमा रोपाइँ कार्य धमाधम भइरहेको उनले बताए। उनले भने, “बेर्ना राम्रो छ, पानीको अभाव छैन, त्यसैले किसानहरू समयमै रोपाइँमा जुटेका छन्।”

कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी महेश पाण्डेयका अनुसार पाटन, मेलौलीको सलेना, डिलाशैनीको गोकुलेश्वर, सुर्नयाको बराइल, सिगासको ढुङ्गाड तथा पुर्चौंडीको हाट आसपासका क्षेत्रमा रोपाइँ सुरु भइसकेको छ। सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा अहिले रोपाइँ भइरहेको र वर्षामा निर्भर क्षेत्रहरूमा असारको मध्यसम्म रोपाइँ सुरु हुने उनले जानकारी दिए।

धान खेती बैतडीको प्रमुख खाद्यान्न बालीमध्ये एक भए पनि पछिल्ला वर्षहरूमा यसको क्षेत्रफल घट्दै गएको तथ्याङ्कले देखाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार विगतमा करिब ९ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको थियो। तर पछिल्लो कृषि गणनाले धान खेती क्षेत्रफल घटेर ५ हजार २२५ हेक्टरमा सीमित भएको देखाएको छ।

विशेषज्ञहरूका अनुसार परम्परागत सिँचाइ कुलोहरूको संरक्षण र पुनर्निर्माणमा पर्याप्त ध्यान नपुग्नु, खेतीयोग्य जमिन बाँझो रहनु तथा कृषिबाट युवाको आकर्षण घट्दै जानु धान खेती क्षेत्रफल खुम्चिनुका प्रमुख कारण हुन्।

यद्यपि यस वर्ष समयमै भएको वर्षा र अनुकूल मौसमका कारण किसानमा आशा जागेको छ। खेतका कान्ला, फाँट र बेंसीहरूमा रोपाइँको चहलपहल बढेसँगै आगामी वर्ष धान उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ। हरियाली बेर्नासँगै किसानहरू बढी उत्पादनको आशामा खेतमा धान रोपिरहेका छन्।

सुदूरपश्चिम कांग्रेसको प्रमुख सचेतकमा खड्का नियुक्त

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेको छ ।

दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले दलको विधान, २०७४ को दफा ११ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (संशोधन सहित)को दफा २६ को उपदफा (२) बमोजिम खड्कालाई उक्त जिम्मेवारीमा नियुक्त गरेका हुन् ।

खड्का सामाजिक विकास राज्यमन्त्री पनि छन् । यसअघिका प्रमुख सचेतक विक्रमसिंह धामीले पदबाट राजीनामा दिएका छन् ।

वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सिंहसहित वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल तथा सिन्धुपाल्चोककी रीता भट्टराईलाई प्रतिवादी बनाएको हो । यसअघि लिखत किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका वीरगञ्जका मेयर सिंह गएको हप्ता धरौटीमा छुटेका थिए ।

अख्तियारले त्यसवारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि मुद्दा चलाएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए । भ्रष्टाचारको आरोप खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर हुन् ।

भारततर्फ सर्वाधिक निर्यात गर्ने लिट्मस सम्मानित

काठमाडौं, २५ जेठ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सीएनआई) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निर्यात गर्ने उद्योग’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको छ।

सीएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निर्यात गर्ने उद्योगका रूपमा लिट्मस इन्डस्ट्रिजलाई उक्त सम्मान प्रदान गरिएको हो। कम्पनीले गुणस्तर, नवप्रवर्तन र उत्पादन उत्कृष्टतामा निरन्तर प्रतिबद्धता जनाउँदै निर्यात क्षेत्र विस्तार तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै सम्मानित गरिएको जनाएको छ।

लिट्मस इन्डस्ट्रिज नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने उद्योग हो। साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (AA) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा परिचित छ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) प्रकाश काफ्लेले प्राप्त सम्मानलाई कम्पनीका कर्मचारीहरूको मेहनत, समर्पण र प्रतिबद्धताको परिणाम भएको बताए। उनले आगामी दिनमा पनि निर्यात विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढीकरण तथा नेपालको औद्योगिक विकासमा योगदान बढाउने प्रतिबद्धता व्यक्त गरे।

लिट्मसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा सहायक उद्योगहरूको विकासमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ। कम्पनीले उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति विकासमार्फत नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा टेवा पुर्‍याइरहेको बताएको छ।

कम्पनीका अनुसार यो सम्मानले नेपालको औद्योगिक उत्कृष्टता, उत्पादन क्षमता तथा निर्यात प्रतिस्पर्धात्मकतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै

काठमाण्डाै – नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक तथ्याङ्कअनुसार २०८१ सालमा २ हजार ६०० जनाको शल्यक्रिया भएकोमा २०८२ सालमा यो सङ्ख्या ३ हजार पुगेको छ । यो तथ्याङ्क नेपालभरका २० भन्दा धेरै न्युरो केन्द्रको अध्ययनमा आधारित हो ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामीमध्ये सबैभन्दा धेरै ३० देखि ५० वर्ष उमेर समूहका छन् । उनले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताए ।

स्टेज १ र २ मा शल्यक्रियामार्फत उपचार सम्भव हुने भए पनि स्टेज ३ र ४ मा शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ । निरन्तर टाउको दुख्नु, बिहान उठ्नासाथ वान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन् ।

वीर अस्पतालले दुई वर्षदेखि प्रदान गर्दै आएको निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जुन महिनासम्म उपलब्ध रहने डा. झाले जानकारी दिए ।

विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा ’प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने रहेको छ ।

 

रास्वपा बझाङमा उपाध्याय

बझाङ : रास्वपा बझाङको प्रथम अधिवेशनले सत्यराज उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनले उपाध्यायको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपसभापति र सचिवबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। समितिको उपसभापतिमा अरूण कुमार रोकाया र राम बहादुर देवारबीच प्रतिष्पर्धा भएको थियो। रोकायाले ८४ र देवारले ९९ मत प्राप्त गरे।
यस्तै, सचिवमा अशोक मल्ल एक सय १६ मतसहित विजयी हुँदा  प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गरे।

सहसचिवमा मुकेशकुमार ऐडी र कोषाध्यक्षमा अनिता भाट जप्रेल चयन भएका छन्। सदस्यमा पुष्पराज रोकाया (अक्षर खेती), गङ्गादत्त जोशी, रूद्रासिंह मल्ल, ज्ञानबहादुर सिंह, कमल साउद, मनिराम उपाध्याय र रामबहादुर थापा चयन  भएका छन्।

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको ज्यान गयो

फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा १९ जनाको ज्यान गएको छ । दक्षिणी फिलिपिन्समा आज बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी ७ जना बेपत्ता रहेका र १३४ जना घाइते भएका बीबीसीले जनाएको छ ।

भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रविन्दु बनाएको थियो । यो टापु माछाका लागि प्रख्यात छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड साइज्मोलोजीले मिन्डानाओका ६ वटा क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ ।

भूकम्पपछि फिलिपिन्स, इन्डोनेशिया र जापानलगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए तर धेरैजसो अब हटाइएका खबरमा उल्लेख छ ।

यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

नेपाल एसियन गेम्स छनोटको च्याम्पियन, वर्षाले खेल प्रभावित

काठ्माण्डौ- नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपालसहित हङकङ, मलेसिया र कुवेत एसियन गेम्समा छनोट भएका थिए।

सोमबार सिंगापुरमा भएको फाइनलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। ११.३ ओभरमा नेपाल ११४-२ को अवस्थामा थियो।

त्यतिबेला नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रन र रोहितकुमार पौडेल २४ बलमा ३५ रन बनाएर खेलिरहेका थिए। त्यसअघि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रन जोडेका थिए। आसिफ शेख भने गोल्डेन डक भएका थिए।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा १८८ रन जोडेको थियो।

उसका लागि अंशुमन रथले ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८० रन तथा शाहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको प्रहार गरेर ५५ रन बनाएका थिए।

बलिङमा नेपालका शेर मल्लले ४ विकेट लिएका थिए भने करण केसीको नाममा २ विकेट रह्यो। ४ ओभरमा ४६ रन खर्चिएका सन्दीप लामिछानेले १ विकेट हात पारेका थिए।

नीतिगत सुधारमा निजी क्षेत्रको जोड : सात प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षका लागि अघि सारेका आर्थिक नीति र बजेटका लक्ष्यहरू सकारात्मक भए पनि तिनको प्रभावकारी कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् ।

सोमबार महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रका धेरै मागहरूलाई सम्बोधन गर्न खोजेको उल्लेख गर्दै घोषणा र कार्यान्वयनबीचको खाडल पुर्नु नै मुख्य चुनौती रहेको बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले कर प्रणालीमा रहेका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै साविकको एक प्रतिशत करलाई नै निरन्तरता दिन सरकारसँग आग्रह गरे । कर विवाद निरुपणको समयसीमा अत्यन्तै साँघुरो भएको उल्लेख गरे । उनले वक्यौता कर विवादलाई एक प्रतिशत थप शुल्कमा फर्छ्यौट गर्ने सुविधाको म्याद २०८३ चैत मसान्तसम्म विस्तार गर्नुपर्ने माग गरे ।

यस्तै, रुग्ण अवस्थामा रहेका निर्यात र रोजगारीमूलक उद्योगहरूलाई पुनः सञ्चालन गर्न विशेष सहजीकरणको आवश्यकता रहेको उनको धारणा छ । बजारमा निजी क्षेत्रको मनोबल कमजोर भएकोतर्फ संकेत गर्दै अध्यक्ष श्रेष्ठले सरकारी निकायका विभिन्न बोर्डहरूमा रहेका निजी क्षेत्रका प्रतिनिधिहरूलाई सम्पत्ति विवरण भर्न लगाउने व्यवस्थाले बजारमा गलत सन्देश गएको बताए । यस्तो व्यवस्थाले व्यवसायीहरूमा त्रास सिर्जना गरेको भन्दै यसलाई हटाउन उनले माग गरे ।

“बजेटमा समावेश गरिएको स्टार्टअप कार्यक्रम र बिनाधितो कर्जाको व्यवस्था सराहनीय भए पनि यसको परिभाषा, कार्यविधि र ब्याजदरमा पुनरवलोकन आवश्यक छ,” उनले भने ।

उनले परियोजना कार्यान्वयनमा हुने ढिलाइ, नीतिगत अस्थिरता र अन्तर–निकाय समन्वयको अभाव जस्ता पुराना समस्याहरू अझै निको नभएकोमा चिन्ता व्यक्त गरे । यदि यी संरचनागत कमजोरीको उपचार नभए सात प्रतिशतको महत्त्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिन हुने उनको विश्लेषण छ ।

करका दरमा देखिएका व्यावहारिक अस्पष्टता र अन्तरविरोधहरूको तत्काल परिमार्जन गर्नुपर्ने, नागरिक एपमा बिजनेस आइकन थप गरी व्यवसाय दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रियालाई एकीकृत गर्नुपर्ने माग गरे । -न्युज एजेन्सी नेपाल

२० अंक घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २०. २७ अंक घटेको छ । यसअघि शुक्रबार ११ तथा बिहीबार १३ अंकले बजार परिसूचक नेप्से घटेको थियो । आजको कारोबारपछि नेप्से २७३५ अंकमा अडिएको छ ।

आज कारोबार सुरु भएको ५ मिनेटपछि नै झर्न थालेको बजार अन्तिम समयसम्म रातो अंकमा रह्यो ।

४१ कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम डेढ अर्ब बढी घटेको छ । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८ करोडको भयो ।

फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.२६ प्रतिशत बढ्यो । अन्य, व्यापार र विकास बैंक सूचक १ प्रतिशतभन्दा धेरै घटे । व्यापार १.७७, अन्य १.५०, निर्जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.४४, जीवन बीमा ०.५४, लगानी ०.३८, हाइड्रोपावर ०.९५, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.०३ तथा बैंकिङ ०.४५ प्रतिशत घटे ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३. ११, सोपान फर्मास्युटिकल्सको ९.९८, सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत मूल्य बढ्यो ।

उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । सयपत्रि हाइड्रोपावरको ६.०१, सूर्यकुन्ड हाइड्रोको ३.७१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यू–१९ राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी यू–१९ राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित दर्ता गरेको छ । मधेस प्रदेशले पनि लगातार दोस्रो जित हासिल गरेको छ । घरेलु टोली कर्णाली प्रदेशले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

सोमबार (जेठ २४) कालुङचोक मैदानमा भएको खेलमा मधेसले कर्णालीलाई नौ विकेटको फराकिलो अन्तरले हरायो । योसँगै मधेसले चार अंक जोडेको छ । मधेसले यसअघि पहिलो खेलमा कोसी प्रदेशलाई पराजित गरेको थियो ।

आफ्नो दोस्रो खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०३ रन बनाएको थियो । टोलीकी कप्तान तिर्सना विश्वकर्माले अविजित ४९ रनको पारी खेलिन् । उमा चौधरीले २९ रनको योगदान दिइन् ।

कर्णालीलाई तिर्सना र उमाले चौथो विकेटका निम्ति ८६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए ।

१०४ रनको लक्ष्य मधेसले ९.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । मधेसकी ओपनर सना प्रविन ४४ रनमा अविजित रहिन् । अलिशा यादवले ४७ रनको आक्रामक पारी खेल्दै टोलीलाई सहज जित दिलाइन् ।

अलिशा अर्धशतकनजिक पुग्दा कर्णालीकी समीक्षा बिसीको बलमा एलबीडब्ल्यू आउट भएकी थिइन् ।

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो
सोमबारै वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । लुम्बिनीका निम्ति ओपनर अञ्जी पाठकले ७६  र आशना चौधरीले २४ रन जोडे । अरू ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

जवाफमा सुदूरपश्चिमका ओपनरले उत्कृष्ट प्रदर्शन गर्दै १३२ रनको साझेदारी गरे । सुदूरपश्चिमकी सावित्री धामीले ७६ रनको अविजित पारी खेलिन् । करुणा विष्टले ४५ रन बनाइन् ।

सुदूरपश्चिमले यसअघि कोसी र वाग्मती प्रदेशलाई हराएको थियो । सुदूरपश्चिमले लगातार तेस्रो जितसँगै ६ अंक जोडेको छ । सुदूरपश्चिमले अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । मधेस पनि लगातार दुई जितपछि उपाधि होडमा मजबुत देखिएको छ ।

बैतडीमा जिप दुर्घटना, दुई जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका ३० वर्षीय कर्णबहादुर बोहरा र  पुर्चौडी नगरपालिका–८ की २४ वर्षीया बागमती साउद घाइते भएका छन् । घाइते मध्ये चालक बोहराको अवस्था गम्भीर रहेको छ ।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार (जेठ २६)का लागि सारिएको छ । सोमबार बसेको बैठक विपक्षीले अवरोध गरेपछि १५ मिनेटका निम्ति स्थगित गरिएको थियो ।

विशेष कारण देखाउँदै बैठक बस्ने दिन र समय परिवर्तन गरिएको हो ।

उपाधि जित्न नेपाललाई १८९ रनको लक्ष्य

काठमाडौं । हङकङले एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालसामु १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल तयार पार्‍यो ।

हङकङका अन्शुमन रथले सर्वाधिक ८० रनको इनिङ खेले । उनले ४५ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । शाहिद वासिफले ५५ रन जोडे । उनले २८ बलमा सात चौका र तीन छक्का प्रहार गरे ।

शिव माथुरले २६ रन बनाए । पाँचौँ विकेटका लागि अन्शुमन र शिवले ८४ रनको साझेदारी गरेका थिए ।

नेपालका शेर मल्लले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए । करण केसीको नाममा दुई विकेट रहँदा सन्दीप लामिछानेले एक विकेट हात पारे ।

दुवै टोली अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा छन् । नेपालले समूह चरणमा मलेसिया र चीनलाई हराएको थियो । सेमिफाइनलमा नेपालले ओमानलाई निराश बनायो ।

यता, हङकङले समूह चरणमा ओमान, बहराइन र सिंगापुरलाई हराएको थियो । सेमिफाइनलमा हङकङले मलेसियाको चुनौतीलाई पन्छाएको थियो ।

प्रधानमन्त्रीले कि प्रमाण देखाउनुस्, कि माफी माग्नुस् : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग आफूले बोलेका कुराको प्रमाण देखाउन माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री शाह तत्काल संसदमा उपस्थित हुनुपर्ने र ‘नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ’ भन्ने कुरा पुष्टि गर्नुपर्ने बताए। प्रधानमन्त्रीले संसदबाटै नेपालले भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने आफूहरूको माग रहेको उनले स्पष्ट पारे।

सांसद साम्पाङले भने: ‘प्रधानमन्त्रीले कि त प्रमाण देखाउनु पर्यो, होइन भने आफ्नो गल्ती स्वीकार गर्दै उक्त अभिव्यक्तिप्रति माफी माग्नुपर्छ। यसका लागि प्रधानमन्त्री संसद्‌मा उपस्थित हुनुपर्छ।’

संसदमा यतिका दिनदेखि विरोध जारी रहँदा समेत प्रधानमन्त्रीले एउटा वक्तव्यसम्म ननिकालेको र सदनमा उपस्थित हुने छाँटकाँट समेत नदेखाएको भन्दै उनले आपत्ति जनाए। संसद्‌मा यस्तो गम्भीर विषयमा गतिरोध अन्त्य नभई सभामुखले कार्यसूचीमा प्रवेश गरेर छलफल अगाडि बढाउन खोज्नु स्वीकार्य नहुने साम्पाङको दाबी छ।

एमालेले भन्यो : प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न सक्दैन

काठमाडौं : नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने बताइन्। उनले भनिन्,’एकताबद्ध भएर भूल सुधार गर्दै प्रधानमन्त्रीले क्षमा याचनासहित रेकर्ड हटाउन आवश्यक भएकाले त्यो नहुँदासम्म आज बैठक स्थगित गरियो। राष्ट्रिय संकल्प प्रस्ताव पारित गरौं।’

उनले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा पेश गरेको आर्थिक विधेयकका पृष्ठ र करमा दर हेरफेर भएको पाइएको भन्दै आपत्ति जनाएकी छन्। उनले तत्काल छानबिन गर्नुपर्ने बताइन्।

खोज्नुहोस