समयमै वर्षा भएपछि बैतडीका खेतमा रोपाइँको रौनक
बैतडी । बैतडीका खेतबारीमा यतिबेला रोपाइँको चटारो सुरु भएको छ। जेठ महिनाको दोस्रो सातासँगै जिल्लाका सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा किसानहरू धान रोप्न व्यस्त भएका छन्। समयमै परेको वर्षा र पर्याप्त सिँचाइका कारण यस वर्ष धानका बेर्ना राम्रोसँग सप्रिएकाले किसानहरू उत्साहित देखिएका छन्।
धान उत्पादनका लागि उपयुक्त मानिने जेठदेखि साउनसम्मको अवधिमा बैतडीका विभिन्न फाँटहरूमा रोपाइँको रौनक बढ्न थालेको छ। खेतमा पानी जमाएर बेर्ना सार्ने, गोरु जोतेर खेत हिल्याउने र परिवारका सदस्यहरू मिलेर रोपाइँ गर्ने पुरानो परम्परा अहिले पनि ग्रामीण क्षेत्रमा जीवित छ।
जिल्लाको पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिका धान उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छन्। अन्य पालिकाको तुलनामा यी क्षेत्रमा बढी क्षेत्रफलमा धान खेती हुने भएकाले किसानहरूको व्यस्तता पनि उल्लेख्य देखिन्छ।
पाटन नगरपालिका–६ का किसान डम्बरबहादुर विष्टका अनुसार यस वर्ष समयमै पर्याप्त वर्षा भएकाले धानका बेर्ना राम्रोसँग हुर्किएका छन्। नदी तथा कुलोमार्फत सिँचाइ सुविधा पुगेका क्षेत्रहरूमा रोपाइँ कार्य धमाधम भइरहेको उनले बताए। उनले भने, “बेर्ना राम्रो छ, पानीको अभाव छैन, त्यसैले किसानहरू समयमै रोपाइँमा जुटेका छन्।”
कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी महेश पाण्डेयका अनुसार पाटन, मेलौलीको सलेना, डिलाशैनीको गोकुलेश्वर, सुर्नयाको बराइल, सिगासको ढुङ्गाड तथा पुर्चौंडीको हाट आसपासका क्षेत्रमा रोपाइँ सुरु भइसकेको छ। सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा अहिले रोपाइँ भइरहेको र वर्षामा निर्भर क्षेत्रहरूमा असारको मध्यसम्म रोपाइँ सुरु हुने उनले जानकारी दिए।
धान खेती बैतडीको प्रमुख खाद्यान्न बालीमध्ये एक भए पनि पछिल्ला वर्षहरूमा यसको क्षेत्रफल घट्दै गएको तथ्याङ्कले देखाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार विगतमा करिब ९ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको थियो। तर पछिल्लो कृषि गणनाले धान खेती क्षेत्रफल घटेर ५ हजार २२५ हेक्टरमा सीमित भएको देखाएको छ।
विशेषज्ञहरूका अनुसार परम्परागत सिँचाइ कुलोहरूको संरक्षण र पुनर्निर्माणमा पर्याप्त ध्यान नपुग्नु, खेतीयोग्य जमिन बाँझो रहनु तथा कृषिबाट युवाको आकर्षण घट्दै जानु धान खेती क्षेत्रफल खुम्चिनुका प्रमुख कारण हुन्।
यद्यपि यस वर्ष समयमै भएको वर्षा र अनुकूल मौसमका कारण किसानमा आशा जागेको छ। खेतका कान्ला, फाँट र बेंसीहरूमा रोपाइँको चहलपहल बढेसँगै आगामी वर्ष धान उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ। हरियाली बेर्नासँगै किसानहरू बढी उत्पादनको आशामा खेतमा धान रोपिरहेका छन्।
