सर्वदलीय बैठक : विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ
काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्को रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने अडान कायमै राखेका छन् । सोमबार (जेठ २५) सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलका नेता र सांसदले प्रधानमन्त्रीले एकै मिनेट आएर भए पनि बोल्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने, “प्रधानमन्त्री आएर एकै मिनेट भए पनि जवाफ दिनुपर्छ ।”
नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री बालेनले संसद्मा दिएको अभिव्यक्ति सच्याउनुपर्ने विपक्षीको माग छ ।
बैठक आह्वानकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने प्रधानमन्त्रीले जवाफ नदिने स्पष्ट पारे । बैठकमा उनले भने, “परराष्ट्रको विषय भएकाले आज परराष्ट्रमन्त्रीले (संसद्मा) बोल्नुहुन्छ ।”
नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले बैठकमा प्रश्न गरे, “परराष्ट्रमन्त्री बोल्न हुने, प्रधानमन्त्रीले नहुने ?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भने सरकारले वैदेशिक मामिलामा अपरिपक्व व्यवहार देखाउन नहुनेमा जोड दिए । सरकारका गलत क्रियाकलापका भारी देशले व्यहोर्नुपर्ने बैठकमा उनको भनाइ थियो ।
यस दिन पनि संसद् बैठक सञ्चालनमा अवरोध गर्ने विपक्षीको तयारी छ । सर्वदलीय बैठक सकाएर नेताहरू खाना खान गएका छन् ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति र प्रतिनिधिसभा नियमावलीको व्यवस्थाप्रति विपक्षी दलको विमति छ । यही विषयमा विपक्षीले संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् ।
उनीहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा नियमावली जबरजस्ती पारित गरिएको भन्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग पनि विपक्षी असन्तुष्ट छन् ।
