नेपालमै राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ग्यासबाट चल्ने शवदाह मसिनको सफल परीक्षण

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलो पटक निर्माण गरेको ग्यासबाट चल्ने शवदाह मसिनको बिहीबार काभ्रेको बनेपामा परीक्षण गरिएको छ । बनेपास्थित तीन दोबाटो घाटमा एक शवलाई यस मसिनमा राखेर अन्त्येष्टि गरिएसँगै स्वदेशमै निर्मित प्रविधिको सफल प्रयोग भएको हो ।

सेनालाई सीमामा खटाउन हर्क साम्पाङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सीमामा खटाउनुपर्ने माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले नवलपरासीको सुस्तामा हतियारसहित भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई दुख दिएको प्रसंग उठाउदै सीमामा नेपाली सेना खटाउन के ले रोकेको छ भन्दै सरकारसँग प्रश्न गरेका हुन् ।

साम्पाङले प्रधानमन्त्री संसदमा नआउने भएपनि देशमा रक्षमन्त्री को छ, जानकारी दिदै संसदमा बोलाइदिन सभामुखलाई आग्रह गरेका थिए ।

उनले नेपाल सरकारले सेनालाई सिमानामा पठाउनै नहुने के करार भएको रहेछ भन्दै कहाँ के सन्धि गरिएको छ संसदलाई जानकारी दिन समेत माग गरेका छन् ।

गोदावरी नदीलेमा बगेर २ महिलाको मृत्यु, आर्यघाट नजिकै शव फेला

धनगढी, २९ जेठ /  कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा महिलाको मृत्यु भएको छ ।

शुक्रवार बिहान आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीय महेश्वरी धमला र ४० वर्षीय कल्पना साउदको मृत्यु भएको छ ।

नदीमा आएको बाढीले बगाएका उनीहरूको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले बताएका छन् । उनले शुक्रवार बिहान नदी किनारामा शव फेला परेको बताए ।

उनीहरू दुवै जना शुक्रवार बिहान नै जङ्गलमा च्याउ टिप्न भनेर घरबाट निस्किएको पाइएको प्रहरीले जनाएको छ । त्यस क्रममा नदीमा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

सञ्चारकर्मीहरुको कैलालीमा दोस्रो दिनको धर्ना,विभेदकारी निर्णय फिर्ता लिन सरकारसँग माग

धनगढी, २९ जेठ / निजी सञ्चारमाध्यममाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघको केन्द्रीय परिपत्रअनुसार कैलालीमा दोस्रो चरणको शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा जिल्लामा कार्यरत सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारको संरक्षणको माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

धर्नाका क्रममा सहभागी पत्रकारहरूले प्रेस तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा निजी सञ्चारमाध्यममाथि गरिएका विभेदकारी निर्णयहरू खारेज गर्नुपर्ने माग राखेका थिए। उनीहरूले लोकतन्त्रको आधार स्वतन्त्र प्रेस भएकाले सञ्चारमाध्यमलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताएका छन्।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष देउवाले सरकारले सुरुदेखि नै निजी सञ्चारमाध्यमप्रति अनुदार व्यवहार देखाएको आरोप लगाउँदै सरकारी विज्ञापन रोक्ने निर्णयले सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने प्रयास भएको बताए। उनले प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको अस्तित्वमाथि असर पर्ने निर्णयहरू फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पारे।

महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा चरणबद्ध आन्दोलन जारी रहेको छ। कैलालीमा पनि सोही कार्यक्रमअनुसार दोस्रो दिनको धर्ना सम्पन्न भएको हो।

पत्रकारहरूले स्वतन्त्र प्रेसमाथिको कुनै पनि प्रकारको नियन्त्रण वा हस्तक्षेप लोकतान्त्रिक मूल्य र संविधानको भावना विपरीत हुने उल्लेख गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्।

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको सहज जित, दक्षिण अफ्रिका पराजित

मेक्सिको,
फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० गोल अन्तरले पराजित गरेको छ ।

मेक्सिकोको एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा जुलियन क्विनोनेस र राउल जिमेनेजले मेक्सिकोका लागि एक–एक गोल गरे ।

तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा घरेलु मैदानमा समूह एमा रहेको मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेर तीन जोडेको छ ।

खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो । इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे । उनैले ४२ मिनेटमा गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।

दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए । विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो ।

६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो ।

दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेस रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

यसै खेलमा मेक्सिकोको युवा स्टार गिल्बर्टो मोराले पनि विश्वकपमा डेब्यु गर्ने मेक्सिको र उत्तर अमेरिकाके कान्छो खेलाडीको कीर्तिमान बनाए । उनी फिफा विश्वकप २०२६ को सबैभन्दा कान्छो खेलाडी हुन् भने समग्रमा विश्वकप खेल्ने छैटौं कान्छा खेलाडी हुन् ।

समूह एमा रहेको मेक्सिकोलाई यो जितले नकआउट चरणमा पुग्न बाटो केही सहज बनाएको छ । ए समूहको दोस्रो खेल बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ ।

आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा कम

काठमाण्डौ – देशका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ’शैक्षिक सूचना २०८२’ अनुसार यो सङ्ख्या कुल सामुदायिक विद्यालयको ५० दशमलव ८६ प्रतिशत हो । यसको अर्थ आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा तल रहेको छ ।

अहिले देशभर ३५ हजार ९५१ विद्यालय रहेकामा २५ हजार ६२३ सामुदायिक र ८ हजार ९४१ संस्थागत अर्थात् निजी विद्यालय छन् । सबै विद्यालयमा गरेर कुल ७० लाख ४० हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ । अहिलेसम्म ६६२ सामुदायिक विद्यालय ‘मर्ज’ भइसकेका छन् ।

चालू आर्थिक वर्षमा समायोजनका लागि ४५ करोड रुपैयाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधानतः पालिकाको जिम्मेवारी भएकाले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ ।

प्रधानाध्यापक सङ्घका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिएका  छन् ।

क्यानडाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

क्यानाडा सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ । यद्दपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छुट दिइने समाचार संस्था रोयटर्सले जनाएको छ ।

विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) च्याटबटहरूलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको एक सरकारी अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई विश्वव्यापी आम्दानीको ३ प्रतिशत वा अधिकतम झन्डै ७२ लाख अमेरिकी डलरमध्ये जुन धेरै हुन्छ त्यति जरिवाना हुने विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यो विधेयक पारित हुन झन्डै १ वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्काे १८ महिना लाग्न सक्ने खबरमा उल्लेख छ ।

यसअघि गएको डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो । यस्तै मलेशियाले यही  जुन १ देखि बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ ।

विश्वका अन्य देशहरूले पनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेबारे छलफल गरिरहेका छन् ।

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

काठमाण्डौ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतलाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रविन्दु बनाइएको दाबी गरेका हुन् ।

विपक्षी दलहरूले संविधानको मर्म विपरीत बजेट आएको भन्ने आरोपलाई अर्थमन्त्रीले खण्डन गरे । उनले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको दाबी गरे । समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको उनको भनाइ छ ।

बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको अर्थमन्त्री वाग्लेले उल्लेख गरे । सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकताबीच उच्चस्तरको सङ्गति रहेको उनको दाबी छ ।

अर्थमन्त्रीले विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको बताए ।

३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं : विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त भएको छ।

सरकारको १०० बुँदे शासकीय सुधार कार्य योजनाको ७४ (ख) बमोजिम विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमतिपत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।

समितिले उत्पादन अनुमति प्राप्त गरेको पाँच वर्षको अवधिमा समग्र प्रगति ५० प्रतिशतभन्दा माथि रहेका २२० मेगावाट क्षमताका १५ वटा आयोजनालाई प्राथमिकताको सूचीमा राखेको छ। त्यस्तै पाँच वर्षको अवधिमा ५० प्रतिशत नजिक प्रगति गरेका ५ हजार ६४२ मेगावाट क्षमताका १३१ वटा आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा राखेको छ।

 

साथै काम गरिहेका तर विभिन्न कारण लक्ष्यअनुसार काम गर्न नसकेका मिश्रित अवस्थाका १ हजार १२४ मेगावाट क्षमताका ३८ वटा आयोजनालाई छिटो आयोजना सम्पन्न गराउन सहजीकरण गर्नुपर्ने सूचीमा राखेको छ। तर, सोही अवधिमा प्रगति  अत्यन्तै कमजोर रहेका ४ हजार १२१ मेगावाट क्षमताका ७५ वटा आयोजनालाई समस्याग्रस्त आयोजनाका सूचीमा राख्दै कारबाहीको प्रक्रिया लैजान सिफारिस गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा पीपीए भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र रद्द हुने उल्लेख छ। जसअनुसार अनुमति लिएर लामो समयसम्म काम नगर्ने आयोजनामाथि कारबाही गर्न बाटो खुलेको छ।

उता २०७६ सालभन्दा अघि उत्पादन अनुमति लिएका तर हालसम्म कुनै प्रगति नभएका १६९ मेगावाट क्षमताका ११ वटा आयोजनालाई पनि विद्युत विकास विभागले खारेजीमा लैजान सिफारिस गरेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ। ती आयोजनालाई उत्पादन अनुमतिपत्र प्राप्त गर्दाको शर्त पालना नगरेको तथा विद्युत नियमावली २०५० को नियम २१ बमोजिम कार्य नभएकाले विद्युत् ऐन, २०४९ को दफा ८ बमोजिम खारेजी प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ।

‘लाइसेन्स राजको अन्त्य’ गर्दै राष्ट्रिय लक्ष्य प्राप्त गर्न  प्राथमिकताका आधारमा प्रतिस्पर्धात्मक तरिकाले सर्वेक्षण अनुमतिपत्र जारी गर्न समेत समितिले सिफारिस गरेको छ। प्रतिवेदनले अनुमतिपत्र वितरण प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक तथा राष्ट्रहित अनुकूल बनाउन विभिन्न नीतिगत सुधारका सुझाव दिएको छ। समितिले विद्युत् ऐन, २०४९, विद्युत् नियमावली, २०५०, जलविद्युत् विकास नीति, २०५८ तथा अनुमतिपत्रसम्बन्धी निर्देशिकामा रहेका बाझिने र द्विविधा पूर्ण प्रावधानहरूको पुनरावलोकन गरी आवश्यक कानुनी संशोधनमार्फत एकरूपता कायम गर्नुपर्ने औँल्याएको छ।

यस्तै, विद्युत् आयोजनाको अनुमतिपत्र तथा लगानी स्वीकृतिसम्बन्धी विषयमा लगानी बोर्ड, उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालयबीच कार्यक्षेत्रको दोहोरोपन हटाई स्पष्ट जिम्मेवारी निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ। अनुमतिपत्र संशोधन, आयोजना बैंकको व्यवस्थापन तथा अनुमतिपत्र बिक्री वा हस्तान्तरणजस्ता महत्वपूर्ण विषयलाई निर्देशिकाभन्दा माथिल्लो कानुनी तहमा समेटी नियमावलीमै व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै सर्वेक्षण अनुमतिपत्रको पाँच वर्षको अवधिमा आयोजनाको प्रवर्द्धक कम्पनीको शेयर संरचना उत्पादन अनुमति प्राप्त गरेपछि मात्रै परिवर्तन गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ। जसले वास्तविक लगानीकर्तालाई प्रोत्साहन गर्नेछ। समितिले ऊर्जा क्षेत्रको एकीकृत विकासका निम्ति ५ वर्षे विद्युत विकास योजना तर्जुमा गरी तदनुसार खपत, निर्यात, प्रसारण, वितरण र उत्पादनका योजना निर्माण बनाउन सुझाव दिएको छ।

समितिले उत्पादन अनुमतिपत्रको अवधि समाप्तिपछि आयोजनाको स्वामित्व हस्तान्तरण, सञ्चालन व्यवस्थापन तथा राजस्व प्राप्तिको प्रक्रियाबारे विद्यमान अस्पष्टता हटाई राष्ट्रिय हित अनुकूल कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव मोहन शाक्यको संयोजक तथा डा. दिवस बहादुर बस्न्यात, निकुन्ज भण्डारी, शालिकराम भण्डारी र जीवन राना मगर सदस्य रहेको पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो।समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष प्रतिवेदन पेश गरेको थियो। समितिले बजेटमा उल्लेख भएअनुसार १० मेगावाटभन्दा कम क्षमताका तत्काल पीपीए गर्नुपर्ने १७६ वटा आयोजनाको समेत पहिचान गरेको छ। त्यस्ता आयोजनाको कुल क्षमता १ हजार १६४ मेगावाट रहेको छ।

दुई रुपैयाँ बदमासी भएको छ भने मन्त्री त्याग्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफूबाट बदमासी भएको छ भने मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सार्वजनिक लेखा समितिमा पनि भनेको सुनाउँदै सार्वजनिक पद त्याग्ने सुनाए ।

“एक दुईटा खोस्टाले लेखे, दुई अर्बको आशंका भनेर । दुई अर्ब होइन । दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न तयार छु,” उनले भने ।

उनले यो नैतिक आँट आफूतिर औँला ठड्याउने सांसदहरूलाई पनि प्राप्त होस् भन्ने शुभकामना दिए । “तपाईंहरूका काण्डबारे अनविज्ञ हो र ? ती पनि खुल्नेछन्,” उनले भने ।

उनले सांसदहरूले सदनको ओज घटाउन नहुने बताए । “सांसदहरूले आफ्नो गरिमा आफैँ राख्नुपर्छ । सदनको ओज घटाउने कामतिर लाग्नु हुँदैन,” वाग्लेले भने ।

आफूहरूले सुशासनको ऐजेन्डा बोकेको भन्दै उनले दुई महिनामै धोका दिन नसक्ने जिकिर गरे । “सुशासनको  निर्मम ऐजेन्डा लिएर अघि बढेको । सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा नै धोका दिन सकुँला ? सक्दैनौँ,” उनले भने ।

वाग्लेलाई विद्युतीय गाडीमा सूचना चुहाएको आरोप लागेको छ ।

शिक्षामा कर लगाउँदा तपाईंको खर्च जोहो हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आयकर छुट भर्पाइ गर्न निजी शिक्षामा कर लगाइएको बताएका छन् । बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले गरेका प्रश्नको जवाफ दिँदै उनले आयकर छुट १० प्रतिशत गरिएको बताए । र, निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको उनले उल्लेख गरे ।

“प्राइभेट स्कुलमा लगाइएको तीन पर्सेन्टमा यता १० लाखसम्म आय छुट दिइएको छ । काठमाडौंबाहिर तीन/चार हजार पर्ने ठाउँमा तीन पर्सेन्ट भनेको एकदमै कम रकम हो । त्यसलाई इन्कम ट्याक्स रेटमा आएर वार्षिक १० लाखसम्म आम्दानी छ भन्दाखेरि जम्मा १ प्रतिशत तिर्नुपर्ने हुन्छ,” उनले भने, “यता हजारौँ क्षतिपूर्ति भइसकेको छ । त्यसमाथि २५ हजार रुपैयाँ वा २५ प्रतिशत निजी स्कुलमा पनि आफ्नो बालबालिकामा शैक्षिक खर्च गर्नुभयो भने कर छुट हुन्छ ।”

शिक्षामा कर दायरामा ल्याउन लगाइएको उनको भनाइ छ । “तपाईं आफ्नो बालबालिकाको लागि १० हजार, १५ हजार मासिक खर्च गर्नुहुन्छ, तर ट्याक्सनेटमा हुनु हुन्न । ट्याक्सरेटमा इनरोल हुनुस्, १० लाखसम्म आयकर नै लाग्दैन, बि रेकग्नाइज । यहाँको छुटले तपाईंको अन्य खर्चहरू जोहो हुन्छ ।”

विश्वकपको अनधिकृत प्रसारण गर्ने तयारीमा रहेका ३५ वेबसाइट र एप बन्द गर्न निर्देशन

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न माेबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएकाे छ ।

विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण राेक्न भनेकाे हाे ।

प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) र डिसहोम डिजिटल प्रालि (डिगो) को संयुक्त उपक्रम (एचटीभी–डिगाे ब्राेडकास्टिङ कन्सोर्टियम जेभी) सँग मात्र रहेकाे प्रष्ट पारेको छ ।

सीताले संसद्‌मा सुनाएको ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता यस्तो छ

काठ्माण्डौ- प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला(सीता)थपलियाले कविता वाचन गरेकी छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

उनले देश बिर्सिएको दिन शीर्षकको कविता सुनाएकी हुन् ।

देश बिर्सिएको दिन

तिमीले देश बनाउँछु भन्यौ

म ढुक्क थिएँ

तर एकाएक

तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै

आफ्नै आमाको

अस्मितामाथि औँला उठायौ !

माटो छोएर कसम खायौ

तर

त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ

अनि आमाको महिमा गाइरह्यौ

तर सन्तान हुनुको कर्तव्य भुल्यौ

काख र कोखको माया बिर्सियौ  !

त्यसैले आज म ढुक्क होइन

मेरो मन देशको चिन्ताले

ढुकढुक भैरहेको छ । ।

स्वार्थले प्रेरित भएपछि

सायद धेरै कुरा बिर्सन सकौला

तर नबिर्स

तिमीमाथि असीम भरोसा बोकेर

मतको भारी बिसाउने जनतालाई नबिर्स

जनता उभिएको माटोलाई नबिर्स

तिमीलाई आशिष दिने

ति बा–आमालाई नबिर्स ! ! !

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने

एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ

र जुन दिन देश बिर्सिन्छौ

त्यो दिन

तिमी कस्को शासक बन्नेछौ ?

भन

त्यो दिन तिमी

कस्को शासक बन्नेछौ?

१ लाख ३८ हजार मेट्रिक टन मल मौज्दात छ : कृषिमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजारमेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गीता चौधरीले यस्तो दाबी गरेकी हुन् ।

उनकाअनुसार ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई वितरण समेत गरिसकेकिएको छ ।

उनले गोदाममा रहेको र भित्रिएर प्रणालीमा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको बताइन् ।

मन्त्री चौधरीले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिव ६ लाख मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै यो हालसम्मकै सबैभन्दा ठूलो आपूर्ति परिमाण भएको दाबी गरिन् ।

उनले आगामी धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताइन् । यसको फलस्वरूप असारदेखि साउनसम्म करिब ९० हजार मेट्रिक टन मल भित्रिने सरकारको अनुमान रहेको पनि उनले सुनाइन् ।

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

काठमाण्डाै- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ ।

‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनुपर्नेछ । यो कार्यविधि स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत स्वीकृत गरेका हुन् ।

निःशुल्क शय्यामा भर्ना भएका बिरामीले शय्या, चिकित्सकीय परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधिसहित अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क पाउनेछन् । यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन ।

यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचयपत्र, पालिकाको सिफारिश वा प्रहरीको मुचुल्का पेश गर्नुपर्नेछ । आकस्मिक अवस्थामा स्वघोषणा फाराम भरेरै सेवा लिन सकिनेछ तर डिस्चार्ज हुनुअघि आवश्यक कागजात बुझाउनुपर्नेछ ।

मन्त्रालयले सञ्चालनमा ल्याएको ’फ्री हेल्थ पोर्टल’ मार्फत कुन अस्पतालमा कति निःशुल्क शय्या खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै पाउन सक्नेछन् ।

निःशुल्क शय्यामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कारबाही हुने कार्यविधिमा उल्लेख छ ।

 

सेयर बजार ८ अंकले घट्यो

बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन झिनो अंकले बढेको सेयर बजार आज भने ८.१४ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७२८.०३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.०९ अंकले घटेर ४६७.६२ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुई वटाको मात्रै बढेको छ ।

परिसूचक घटेको दिन कारोबार रकम पनि ३ अर्बमा सिमित भएको छ । आज सेयर बजारमा ३५० कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको आन्तरिक तयारी भइरहेको छ भने भ्रमणको मिति र विस्तृत तालिका छिट्टै सार्वजनिक गरिनेछ । खनालले गएको सातामात्रै भारतको तीनदिने औपचारिक भ्रमण गरेका थिए ।

बुधबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल, राज्यका निकाय तथा सञ्चार क्षेत्रबीच साझा धारणा आवश्यक रहेको बताए ।

उनले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार जनशक्ति र पूर्वाधार सुदृढ गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने तथा राहदानीको बायोमेट्रिक प्रणालीमा देखिएका चुनौती समाधान गर्ने योजना रहेको जानकारी दिए ।

आफ्नो हालैको भारत भ्रमण उपलब्धिमूलक रहेको उल्लेख गर्दै खनालले द्विपक्षीय हितका विषयमा भारतीय समकक्षीसँग सकारात्मक छलफल भएको उल्लेख गरे ।

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने विपक्षी दल मागको

काठमाडौं : प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहलेको सीमा सम्बन्धी अभिव्यक्ति हटाउनुपर्ने माग गर्दै आज पनि विपक्षी दलले विरोध गरेका छन्।  बुधबारको प्रतिनिधिसभा बैठकमा शुन्य समय सकिएपछि विपक्षी दलहरूले अवरोध कायमै राखेका हुन्।

प्रधानमन्त्री शाहले संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने निरन्तर माग राख्दै आएका छन्।

बैठकमा एमालेका प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलको प्रमुख सचेतक युवराज दुलाल, श्रम सँस्कृति पार्टीका अध्यक्ष लगायतले  अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन्।

मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका निम्ति विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन् । बिहीबार (जेठ २८) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो गुनासो गरेका हुन् ।

उनले प्रभावकारी कार्यसम्पादनका निम्ति बजेट वृद्धि गरिनुपर्नेमा जोड दिए । सुशासन कायम, विपद् व्यवस्थापन तथा लागुऔषध नियन्त्रणजस्ता गम्भीर विषयमा काम गर्न मन्त्रालयलाई स्रोतको अभाव रहेको उनले उल्लेख गरे ।

मन्त्री गुरुङले बजेटको ‘सिलिङ’भन्दा २० अर्ब रुपैयाँ थप ल्याउन आफूले धेरै मिहिनेत गरेको भए पनि त्यो पर्याप्त नभएको बताए ।

“मन्त्रालयसँग बजेटको अभाव छ । हामीलाई चुनौतीपूर्ण काममा पठाइएको छ, तर साधनस्रोत भने अत्यन्तै न्यून छ,” उनले भने, “संसद्मा माननीयज्यूहरूले गृह मन्त्रालयको बजेट वृद्धिका लागि आवाज उठाइदिनुभयो भने हाम्रा निकायहरूले अझ प्रभावकारी रूपमा काम गर्न सक्नेछन् ।”

उनले सार्वजनिक खरिद ऐनका झन्झटिला प्रावधानका कारण उद्धार सामग्री खरिदमा ढिलाइ हुने गरेको सुनाए । भारी क्षमताका ड्रोन खरिद गर्न ४५ दिनको प्रक्रिया पूरा गर्दा मनसुन नै सकिने अवस्था आउने उनले बताए । ऐन संशोधनमा सहयोग गर्न सांसदहरूसँग उनले आग्रह पनि गरे ।

विगतका विपद्का घटनाबाट पाठ सिक्दै मन्त्रालयले अब ‘प्रतिबन्धात्मक विधि’ अपनाउने र आफू स्वयं अनुगमनमा निस्कने योजना रहेको उनले सुनाए ।

यस्तै, लागुऔषध नियन्त्रणका निम्ति हालसम्म अपनाइएका शैली प्रभावकारी नभएको भन्दै उनले नयाँ सुधार योजना ल्याउनुपर्ने आवश्यकता औँल्याए । विशेष गरी सीमानाकाहरूबाट हुने लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा बल (एसएसबी)सँगको समन्वयमा ‘संयुक्त अपरेसन’ सञ्चालन गरी स्रोत नै बन्द गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

विद्यालयका पाठ्यपुस्तकमा लागुऔषधबारे जानकारी दिँदा बालबालिकामा उल्टै कौतूहल जाग्न सक्ने खतरा रहेको भन्दै उनले सचेत गराए । यो विषयमा गम्भीर गृहकार्य गरेर मात्र अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले राज्य सञ्चालनमा पक्ष र विपक्ष नभई सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे । सांसदहरूले दिएका रचनात्मक सुझावलाई कार्यान्वयन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । -न्युज एजेन्सी नेपाल

सुनको भाउ तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामै ५ हजार १००  रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले घटेको छ ।

हिजो तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातिदेखि शुरु हुँदै

काठमाण्डौ- फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन् ।

उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । यससँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुनेछ । यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो ।

तीनवटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । कुल १०४ खेल हुनेछन् । फिफाका अनुसार प्रतियोगिताका लागि १ हजार २४८ खेलाडी छनोट भएका छन् । तीमध्ये ८९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् भने ३५७ खेलाडी पहिले विश्वकप खेलिसकेका छन् ।

यस पटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन् ।  उद्घाटन खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ । समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बल्भिन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र मानालगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ ।

मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ । आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ ।

प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहरमा खेलाइनेछ । कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्युयोर्कको मेटलाइफ स्टेडियममा खेलाइनेछ । मेसी, रोनाल्डो, एम्बाप्पेसँगै नयाँ पुस्ताका स्टारहरूबीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ ।

सनातनी धर्मको पक्षमा बोल्दा ब*लात्कारको धम्की आयो : सांसद खुस्बु ओली

प्रतिनिधिसभा सदस्य खुस्बु आलीले संसदमा सनातनी राज्यको पक्षमा अभिव्यक्ति दिएपछि आफूलाई ज्यान मार्ने तथा बलात्कारको धम्की आएको बताएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आलीले धर्म सम्बन्धित आफ्नो  अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धम्कीहरू आएको बताएकी हुन्।

‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ। धर्मान्तरणको विरुद्ध बोलेकी थिएँ। म कुनै धर्मको विरोधमा छैन,’ उनले भनिन्, ‘मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या हुनु नपर्ने हो। के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ?’

उनले आफूमाथि आएका सबै धम्की सहन सक्ने भएपनि सनातन धर्म मान्ने समुदायप्रतिको असहिष्णुता रहेको बताइन्।

‘म यो सबै सहन सक्छु, तर यो ममाथि मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो,’ उनले संसदमा भनिन्।

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’ समावेश

काठ्माण्डौ- सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन्।

दृष्टिविहीन, न्यून दृष्टि, रङ्ग पहिचानमा समस्या, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्नसक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) राखिएको सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले जानकारी दिए।

सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं ३० मा सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउनसक्ने गरी सरल बनाउने उल्लेख छ।

सरकारी वेबसाइट खोलिसकेपछि तलपट्टी मध्यभागमा ‘एक्सेसिबिलिटी टुल आइकन’ भेटिन्छ। यो सुविधाबाट प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार वेबसाइटको स्वरूप तथा सामग्री समायोजन गर्न पाउँछन्।

जस्तै, सजिलैसँग अक्षरको आकार सानो वा ठूलो बनाउने, वेबसाइटमा रहेका अक्षर तथा शब्दहरु र पृष्ठभूमिबीचको भिन्नता बढाएर सामग्री स्पष्ट रूपमा देख्न सहयोग गर्नेजस्ता ‘टुल’हरु त्यहाँ राखिएका छन्।

त्यसैगरी, विभिन्न प्रकारका रङ फिल्टर प्रयोग गर्न सकिने, अक्षर तथा हरफबीचको दूरी समायोजन गर्न सकिने, फन्ट छान्न सक्नेलगायत व्यवस्था गरिएको छ।

वेबसाइट चलाउँदा प्रयोगकर्तालाई थप सहज बनाउन ‘माउस कर्सर’लाई सानो वा ठूलो बनाउनसक्ने, वेबसाइटका सबै तस्बिर लुकाएर अक्षर मात्र पढ्न मिल्ने बनाउने, चलायमान दृश्य तथा एनिमेसन रोक्न सकिनेलगायत सुविधा राखिएका छन्।

विभागका अनुसार अन्तरराष्ट्रिय मापदण्डका रुपमा रहेको ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन’ (डब्ल्युसिएजी) अनुरुप विकास गरिएका यी वेबसाइट किबोर्डको प्रयोगबाट मात्र सञ्चालन गर्न सकिने छ।

सरकारी वेबसाइटमा राखिएका ‘स्किप नेभिगेसन’ लिङ्कको व्यवस्थाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य विषयवस्तुमा पुग्न सहयोग पुर्‍याउँछ भने महत्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा रहेको ‘अल्ट टेक्स्ट’ले दृष्टिविहीन प्रयोगकर्तालाई सामग्री बुझ्न सहज हुन्छ।

यसैगरी, फाराम भर्ने क्रममा देखिने त्रुटि सन्देश (इरर म्यासेज) र सुझाव सजिलै सुन्न र बुझ्न मिल्ने गरी वेबसाइट तयार पारिएको विभागले जनाएको छ।

सर्च तथा सम्पर्क फारामजस्ता ‘इनपुट’ क्षेत्रमा स्पष्ट नाम र सङ्केत राखिएकाले ‘स्क्रिन रिडर’ प्रयोगकर्तालाई थप सहज हुन्छ। कि–बोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन स्थानमा छु भन्ने कुरा थाहा पाँउछन्।

यसअघि गत वैशाखमा विभागले अपाङ्गमैत्री सुविधासहित सञ्चालित सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली अध्यावधिक गर्नेसम्बन्धी तालिम दिएको थियो।

विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको थियो।

अब हामी संसद्‍मा प्रधानमन्त्री खोज्दैनौं : भिष्मराज आङदेम्बे

नेपाली कांगेसले प्रतिनिधि सभाभित्र अब प्रधानमन्त्री नखोज्ने बताएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सीमा जस्तो गम्भीर विषयमा बोलेको अभिव्यक्तिबारे जवाफ माग्दासमेत उपस्थित नभएपछि अब प्रधानमन्त्री बालेन्द्र शाहलाई नखोज्ने बताएका हुन्।

संसद्मा जनतासँग जोडिएका कैयौं विषयहरु थाँती रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभामा अब प्रधानमन्त्रीको खोजीलाई छाडेर बजेटसहितका विषयमा छलफल अघि बढाउन अपिल गरे। नेता आङदेम्बेले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुलाई क्षमायाचनासहित सच्चिएर अघि बढ्न अपिल गरे।

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ

काठमाण्डाै – आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले अहिलेसम्मकै उत्कृष्ट रेटिङ प्राप्त गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो विवरणमा दीपेन्द्र २५६ रेटिङसहित चौथो स्थानमा उक्लिएका हुन् । यसअघि दीपेन्द्र टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानसम्म उक्लिए पनि रेटिङ यति धेरै पुगेको थिएन ।

यो वरीयतामा जिम्बावेका सिकन्दर राजा शीर्ष, भारतका हार्दिक पान्ड्या दोस्रो र पाकिस्तान सइम अयुब तेस्रो स्थानमा छन् ।

यस्तै टी–२० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६०औँ स्थानमा उक्लिएका छन् । यो वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष, भारतकै ईशान किशन दोस्रो र पाकिस्तानका शाहिबजादा फरहान तेस्रो स्थानमा छन् ।

यस्तै टी–२० बलिङ वरीयतामा सन्दीप लामिछाने ९ स्थान सुधार गर्दै ४९औँ, दीपेन्द्रसिंह ऐरी १५औँ स्थान सुधार गर्दै ६२औँ स्थानमा उक्लिएका छन् । यो वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष, भारतका वरुण चक्रवर्ती दोस्रो र पाकिस्तानका अब्रार अहमद तेस्रो स्थानमा छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले सदनमा दिए जवाफ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा सीमासम्बन्धी राखेको अभिव्यक्तिबारे जवाफ दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले जेठ १७ गते सदनमा प्रधानमन्त्रीले राखेको धारणाबारे परराष्ट्रले जानकारी गराएको बताए ।

“नेपालको सीमाको विषय उल्लेख गर्दै द्वीपक्षीय वार्ताद्वारा समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । सम्मानीयज्यूबाट प्रस्तुत धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी उपलब्ध गराइसकेको छ । नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयले २०८३ वैशाख २० मा स्पष्ट पारेको छ,” उनले भने ।

त्यसको जवाफ कूटनीतिक नोटबाट प्राप्त भएको बताए । उनले प्रधानमन्त्रीले संसद्‌मा राखेको सन्दर्भ केही प्राविधिक यर्थाथ र क्रस बोडर अकुपेसनसँग जोडिएको बताए ।

“सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्‌मा राख्नुभएको भनाइको सन्दर्भ केही प्राविधिक यर्थाथ र क्रस बोडर अकुपेसनसँग जोडिएको छ । यसमा मूल प्रश्न भनेको सीमासम्बन्धि विषयको कसरी निरुपण गर्ने भन्ने हो,” उनले भने ।

चिकित्सकले बिरामीको परिचय खुल्ने भिडियो–तस्वीर सामाजिक सञ्जालमा राख्न नपाउने

काठमाण्डाै – नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी ८ बुँदे आचारसंहिता जारी गरेको छ ।

आचारसंहिताअनुसार दर्तावाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधिबाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन् । यस्तै उपचारसम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ ।

बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मञ्जुरी लिनु अनिवार्य छ । साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्वीर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ ।

अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ । अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्यवस्था गरिएको छ ।

कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्यवस्था आचारसंहितामा छ ।

 

नेप्सेमा सामान्य सुधार

काठमाडौं। लगातार चार कारोबार दिनको गिरावटपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। तर बजारमा सुधार भए पनि कारोबार रकम भने उल्लेख्य रूपमा घटेको छ।

यस दिन नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेको हो। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार यो घटेर ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ।

यस दिन ३५६ कम्पनीका ९२ लाख ८३ हजार कित्ता सेयर ४९ हजार २४८ पटक खरिद–बिक्री भएका छन्।

१३ उपसमूहमध्ये बुधबार सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक सामान्य अंकले बढेको छ। अन्य उपसमूहको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको नेप्सेले जनाएको छ।

बुधबार तीन कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका सेयर सर्किट लेभलमा पुगेका हुन्। त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ११ प्रतिशतले बढेको छ भने बुंगल हाइड्रोपावरको सेयर करिब ७ प्रतिशतले वृद्धि भएको छ।

कारोबारमा आएको १०.२५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६ को मूल्य भने सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको २० करोड ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको पनि २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने सिटी होटलको करिब साढे १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

 

खोज्नुहोस