शिक्षामा कर लगाउँदा तपाईंको खर्च जोहो हुन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आयकर छुट भर्पाइ गर्न निजी शिक्षामा कर लगाइएको बताएका छन् । बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले गरेका प्रश्नको जवाफ दिँदै उनले आयकर छुट १० प्रतिशत गरिएको बताए । र, निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको उनले उल्लेख गरे ।
“प्राइभेट स्कुलमा लगाइएको तीन पर्सेन्टमा यता १० लाखसम्म आय छुट दिइएको छ । काठमाडौंबाहिर तीन/चार हजार पर्ने ठाउँमा तीन पर्सेन्ट भनेको एकदमै कम रकम हो । त्यसलाई इन्कम ट्याक्स रेटमा आएर वार्षिक १० लाखसम्म आम्दानी छ भन्दाखेरि जम्मा १ प्रतिशत तिर्नुपर्ने हुन्छ,” उनले भने, “यता हजारौँ क्षतिपूर्ति भइसकेको छ । त्यसमाथि २५ हजार रुपैयाँ वा २५ प्रतिशत निजी स्कुलमा पनि आफ्नो बालबालिकामा शैक्षिक खर्च गर्नुभयो भने कर छुट हुन्छ ।”
शिक्षामा कर दायरामा ल्याउन लगाइएको उनको भनाइ छ । “तपाईं आफ्नो बालबालिकाको लागि १० हजार, १५ हजार मासिक खर्च गर्नुहुन्छ, तर ट्याक्सनेटमा हुनु हुन्न । ट्याक्सरेटमा इनरोल हुनुस्, १० लाखसम्म आयकर नै लाग्दैन, बि रेकग्नाइज । यहाँको छुटले तपाईंको अन्य खर्चहरू जोहो हुन्छ ।”
