गीतकार दिनेश अधिकारी सम्मानित, गदालका दुई पुस्तक सार्वजनिक

कोलोराडो, १ बैशाख ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई सम्मान गरेको छ ।

कोलोराडोस्थित नेपाली घरमा आईतवार आयोजित एक कार्यक्रममा अनेसास कोलोराडो च्याप्टरले सर्जक अधिकारीलाई सम्मान गरेको हो ।

अनेसास बीओटी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रीय महासचिव राजु सिटौला र कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सर्जक अधिकारीलाई खादा, रुद्राक्षको माला र प्रशंसा पत्र सहित संयुक्त रुपमा सम्मान गरे ।

अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले साहित्यकार डा. ज्ञानेन्द्र गदाललाई खादा लगाएर सम्मान गरिन् ।

साहित्यकार मिलन कोइरालाले वरिष्ठ गीतकार अधिकारीको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा  गरे ।

कार्यक्रममा कवि तथा गीतकार अधिकारीले आफ्ना कविता तथा गीत वाचन गर्दै सबैलाई मन्त्रमुग्ध बनाए ।

सोही कार्यक्रममा साहित्यकार डा.ज्ञानेन्द्र गदालका २ वटा पुस्तक भोलिको आश उज्यालो प्रकाश (बालगीत सङ्ग्रह) र कुमुदिनी (उपन्यास) को प्रमुख अतिथि अधिकारी तथा युवाद्वय सरगम गदाल र सरल गदालले सार्वजनिक गरे ।

साहित्यकार तथा अनेसास बोर्ड अफ ट्रष्टी प्रमिला शर्माले बालगीत संग्रहमाथि र साहित्यकार तथा अनेसास कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष कृष्ण मुरारी ढुंगलले कुमुदिनी उपन्यासमाथि टिप्पणी  गरे ।

साहित्यकार गदालले पुस्तकका बारेमा आफ्नो अनुभूति सुनाउने क्रममा नयाँ पुस्ताका लागि पुस्तक अंग्रेजीमा अनुवाद गर्ने बताए ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव पुष्पराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम समापनका क्रममा अध्यक्ष अधिकारीले सम्मानित गीतकार अधिकारीलाई बधाई र सहभागीहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा ब्लड डोनर्स एशोसियसन अमेरिका (बीडीए) का वरिष्ठ उपाध्यक्ष टीका पौडेल, गायिका रिमा होडा,नेवाः खलःका उपाध्यक्ष मनोज तुलाधर, अनेसास कोलोराडोका सल्लाहकार तथा पूर्वअध्यक्ष भूपेन्द्र महत, समाजसेवी डा. विजयराज शर्मा, नेपाली घरका पूर्व अध्यक्ष जगदीश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कोलोराडोमा रकी माउण्टेनको शुभकामना साँझ

कोलोराडो, ३० चैत ।
नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा रकी माउन्टेन फ्रेन्डस् अफ नेपाल(आरएफएन)कोलोराडोको आयोजनामा शुभकामना साँझ भव्य रुपमा सम्पन्न भएको छ ।

शनिवार कोलोराडोस्थित नेपाली घरमा आयोजित शुभकामना साँझको प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष बिनोद त्रिपाठी, विशिष्ट अतिथिद्वय संस्थाका पूर्व अध्यक्ष टीका पौडेल र अन्तराष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरे ।

संस्थाकी अध्यक्ष आकृती राइले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा सम्पूर्ण अतिथिहरुलाई नयाँ वर्षको शुभकामना दिईन् ।

कार्यक्रममा संस्थाका युवा संयोजक बिष्णु बिबेकको पुस्तक ‘घाट गाउँ’ को प्रमुख अतिथि बिनोद त्रिपाठी, विशिष्टि टीका अतिथि पौडेल, अनेसास बिओटी सभापति पदम विश्वकर्मा, वरिष्ठ समाजसेवी डा.विजयराज शर्मा, आरएमएफएनका अध्यक्ष राई र निवर्तमान अध्यक्ष अर्जुन बगालेले संयुक्त रुपमा विमोचन गरे ।

पुस्तकमाथि साहित्यकार विश्वकर्मा र संस्थाका निवर्तमान अध्यक्ष बगालेले टिप्पणी गरे ।

संस्थाकी अध्यक्ष आकृति राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कल्चर सेक्रेटरी रेखा धौराली र युवा संयोजक बिष्णु बिबेकले गरेका थिए ।

पहिलो चरणको कार्यक्रममा सहयोग गर्नेहरुलाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विभिन्न कलाकारहरुले गायन तथा नृत्य मार्फत सहभागीहरुलाई मन्त्रमुग्ध बनाए ।

लोकगायक धर्मेन्द्र सेवानको विशेष प्रस्तुती रहेको कार्यक्रममा गायिका संझना पाण्डे, रनिशराज मैनाली, जयराम लामिछाने गीत गाएका थिए । बाल कलाकारहरुले नृत्य मार्फत कार्यक्रमलाई थप सांगीतिक बनाए ।

कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर पुर्‍याउने बालेन सरकारको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १०० अर्ब डलर नजिक पुर्‍याउने र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्य अघि सारेको छ।

सरकारले ६ वटा राष्ट्रिय दलका घोषणापत्र संश्लेषण गरी तयार पारेको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदाको पहिलो बुँदामै आर्थिक क्षेत्रमा स्थायित्व र सुधारलाई समेट्दै यस्तो लक्ष्य प्रस्तुत गरेको हो।

मस्यौदामा युवाकेन्द्रित जनसाङ्ख्यिक लाभांशलाई आर्थिक रूपान्तरणमा उपयोग गर्दै नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने र आगामी पाँच वर्ष औसत आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गर्ने उल्लेख छ।

लगानीकर्तालाई नीतिगत स्थायित्वको आश्वसन दिन सरकारले करका दर र सर्तहरू १० वर्षसम्म स्थिर रहने कानुनी प्रत्याभूति गर्ने प्रतिबद्धता जनाएको छ।

बजारमा हुने ‘रेन्ट सिकिङ’, ‘नीतिगत दोहन’, ‘कार्टेलिङ’ र कृत्रिम अभावको पूर्ण रूपमा अन्त्य गर्दै उद्योगमैत्री व्यावसायिक वातावरण निर्माण गर्ने सरकारको योजना छ।

निजी क्षेत्रलाई रोजगारी सिर्जना, वस्तु तथा सेवाको आपूर्ति र राजस्व योगदानमा अग्रणी मान्दै सरकारले आफूलाई नियामक र सहजकर्ताको भूमिकामा मात्र सीमित राख्ने स्पष्ट पारेको छ।

उद्योग दर्तादेखि नवीकरणसम्मका सबै प्रक्रियालाई कागजविहीन र हैरानीमुक्त बनाउन सरलीकृत डिजिटल प्रणाली लागू गरिने मस्यौदामा जनाइएको छ।

अन्तर्राष्ट्रिय लगानी भित्र्याउन नेपाललाई ‘ग्रे लिस्ट’ बाट मुक्त राख्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको छ। वित्तीय पारदर्शिता कायम गर्ने, मनी लाउन्डरिङ नियन्त्रण गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप नियामक सुधार गरी मुलुकलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न समयबद्ध कार्ययोजना निर्माण गरिने मस्यौदामा उल्लेख छ।

वैदेशिक लगानीलाई उत्पादन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनासँग जोड्ने नीति सरकारले लिएको छ। प्रत्यक्ष वैदेशिक लगानीकर्तालाई आश्वस्त तुल्याउन लगानीमैत्री कानुनको निर्माण गरिनेछ भने करको संरचना र दायरामा सुधार गरी कर प्रणालीलाई थप सरल, वैज्ञानिक र समन्यायिक बनाइनेछ।

अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिक बनाउन आवश्यक ज्ञान, सूचना तथा सेवा सुविधा दिई सहजीकरण गरिनेछ।

समावेशी आर्थिक वृद्धिका लागि सरकारले श्रमिकको न्यूनतम जीवनयोग्य मूल्य सुनिश्चित गर्ने जनाएको छ। सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षामा लगानी बढाएर राष्ट्रिय आयको समतामूलक वितरण गरिनेछ।

राज्यस्रोतको न्यायोचित वितरण र क्षेत्रीय सन्तुलित विकासमार्फत आय र सम्पत्तिमा रहेको असमानता घटाइनेछ।

गरिबी निवारणमा पनि सरकारले ठोस लक्ष्य अघि सारेको छ। निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासको मोडलमार्फत आगामी पाँच वर्षमा बहुआयामिक गरिबीको दर १० प्रतिशतमा झारिनेछ।

श्रम र श्रमदानलाई अनिवार्य बनाएर उत्पादन र निर्माण तथा खोज, अनुसन्धान र आविष्कार गर्ने अभियान सञ्चालन गरिनेछ।

आर्थिक रूपान्तरणका लागि निश्चित समयसम्म ‘इकोनोमिक चार्टर’ मा प्रमुख राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरिने सरकारको रणनीति छ।

सुदूरपश्चिमका ठुला आयोजना ठप्प हुने अवस्थामा, इन्धनको मूल्यवृद्धि मूल समस्या

महेन्द्रनगर । पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमका ठूला विकास आयोजनाहरूको काम गम्भीर रूपमा प्रभावित बनेको छ। इन्धनको अभाव र मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसक्ने जनाउँदै हात झिक्न थालेपछि रणनीतिक महत्त्वका सडक र सिँचाइ आयोजनाहरू बन्द हुने अवस्थामा पुगेका हुन्।

सेती राजमार्गको दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना) को काम अहिले लगभग ठप्प छ। आयोजना प्रमुख रामकुमार देवका अनुसार निर्माण व्यवसायीसँग भएको मौज्दात इन्धन सकिएपछि ट्रयाक खोल्न प्रयोग गरिएका ठूला मेसिन र उपकरणहरू थन्किएका छन्।

२०७४ सालदेखि सुरु भएको यो २०४ किलोमिटर लामो आयोजनाको ३५ किलोमिटर ट्रयाक अझै खोल्न बाँकी छ। “यस वर्ष ७ किलोमिटर कालोपत्रे त भयो, तर अहिले बिटुमिन र इन्धनको अभावले बाँकी काम रोकिने अवस्थामा पुग्यो,” देवले भने।

यस्तै अवस्था सुदूरपश्चिमकै गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणमा पनि देखिएको छ। मूल नहर निर्माणका लागि सातवटा प्याकेजमा काम भइरहेको भए पनि निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण काम गर्न नसकिने भन्दै कार्यालयमा निवेदन दिएका छन्।

आयोजनाका सूचना अधिकारी यादव बरालका अनुसार इन्धन मात्र नभई नदी नियन्त्रणका लागि आवश्यक पर्ने तारजालीको मूल्यसमेत आकासिएकाले ठेक्का लागेका कामहरू अघि बढ्न सकेका छैनन्। यसले बर्सातको समयमा नदी तटीय क्षेत्रमा ठूलो जोखिम निम्त्याउने खतरा बढेको छ।

कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोरको काम पनि महँगीको चपेटामा परेको छ। ४२५ किलोमिटर लामो यो करिडोरमा १३ वटा प्याकेजमा काम भइरहेको थियो। तर, इन्धन र बिटुमिनको मूल्य बढेपछि निर्माण व्यवसायीहरूले काम छाड्न थालेका छन्। करिडोर योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले मूल्य समायोजन नहुँदासम्म काम अघि बढाउन मुस्किल रहेको बताए।

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण उद्योगमा ‘आपत्काल’ घोषणा गर्नुपर्ने अवस्था आएको बताएका छन्। बजारमा निर्माण सामग्रीको अभाव र अचाक्ली मूल्यवृद्धिका कारण व्यवसायीहरू घरखेत बेच्नुपर्ने स्थितिमा पुगेको उनको गुनासो छ।

कञ्चनपुरका ६०० भन्दा बढी निर्माण व्यवसायीहरूले अहिले ‘निर्माण होलिडे’ को तयारी गरिरहेका छन्। सरकारले मूल्यवृद्धि समायोजन नगरेसम्म ठूला मेसिनरी चलाउन र काम सुचारु गर्न नसकिने अडान व्यवसायीहरूको छ।

 

५ वर्षमा गरिबी दर १० प्रतिशतमा झार्ने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले आगामी ५ वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । मंगलबार ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गर्दै सरकारले ५ वर्षमा गरिबी दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको हो ।

हाल नेपालको गरिबी दर २०.२७ प्रतिशत छ । तर, आउँदो ५ वर्षभित्र सो दर आधाले घटाउने सरकारले लक्ष्य लिएको छ ।

सरकारले आगामी ५ वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

‘निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासको मोडल मार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गरी पाँच वर्षमा बहुआयामिक गरिबीको दर १० प्रतिशतमा झारिनेछ ।’ प्रतिबद्धतामा उल्लेख छ ।

गहुँको समर्थन मूल्यप्रति किसानले असहमति जनाए

 काठमाडौं । सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहमति जनाएका छन् ।

सरकारले यस वर्ष गहुँको समर्थन मूल्य रु तीन हजार ९४५ तोकेको छ । तर महँगीको मारमा परेका किसान सरकारले तोकेको गहुँको समर्थन मूल्यबाट लागतसमेत नउठ्ने भएपछि चिन्तित बनेका छन् ।

पछिल्लो समय पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै गएको अवस्थामा सरकारले तोकेको मूल्यले लागतसमेत नउठ्ने किसानहरूको गुनासो छ ।

“गत वर्षको तुलनामा जोताइदेखि थ्रेसिङसम्मको खर्च बढेको छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का राजेश रानाले भने, “सरकारले तोकेको मूल्यले हाम्रो लगानी पनि उठ्दैन, अन्य वस्तुको जस्तै किसानको उत्पादनको पनि मूल्य बढ्नुपर्छ ।” पाँच कट्ठा खेत अघिया लिएर गहुँखेती गरेका रानाले किसानले उत्पादनको उचित मूल्य कहिल्यै नपाउने गरेको बताए ।

सरकारले गहुँको मूल्य तोके पनि कञ्चनपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको गहुँ खरिद नगर्दा किसानहरू मर्कामा परेका छन् । “सरकारले मूल्य त तोक्यो, किसानको गहुँ खरिद गर्न सुरु गरेको छैन ।” यहाँको दोधारा चाँदनी–२ की अनिता बोगटीले भनिन्, “सरकारले समयमा समर्थन मूल्य नतोक्ने र गहुँ खरिदमा ढिलाइ गरेका कारण किसानले बाध्य भएर सस्तोमा गहुँ बिक्री गर्नुपरेको छ ।”

सरकारले समयमै गहुँको समर्थन मूल्य नतोक्ने र तोके पनि झन्झटिलो तथा खरिद प्रक्रियामा ढिलाइजस्ता समस्याले विचौलियाले किसानको उत्पादन सस्तोमा खरिद गर्ने गरेको यहाँका स्थानीय विष्णु जोशीले बताए ।

“हामीसँग उत्पादन गरेको गहुँ भण्डारण गर्ने ठाउँको अभाव छ, सरकारले समयमा खरिद गर्दैन,” उनले भने, “अहिले झन् लागत बढेको छ, सरकारले तोकेको मूल्यले पनि हाम्रो लागत आउँदैन ।”

उनले सरकारले मूल्य तोक्दा बजारमा अन्य वस्तुको मूल्यवृद्धिलाई मध्यनजर गरेर किसानको उत्पादनको उचित मूल्य तोक्नुपर्ने बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, महेन्द्रनगरका कार्यालय प्रमुख महिकरण महराले गहुँ खरिदको कोटा निर्धारण नहुँदा किसानबाट गहुँ खरिद गर्न नसकिएको बताए ।

“अहिलेसम्म यस केन्द्रबाट कति गहुँ खरिद गर्ने कोटा निर्धारण भएको छैन,” उनले भने, “कोटा निर्धारण हुने बित्तिकै गहुँ खरिदका लागि सूचना निकाल्छौँ ।”

कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर कुल खेतीयोग्य जमिन रहेको छ । यसमध्ये ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ ।

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ ।

यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउने परम्परा छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ । सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताउनुभयो । पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन कम हुँदै गएको छ । “पहिला जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ”, उहाँले भन्नुभयो ।

सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोेले लिपपोत गर्ने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा अघि नै घर लिपपोत गरेमा वर्षभरि  सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ ।

बिसु मनाउन रोजगारीका लागि अन्यत्र गएकाहरु घर फर्किने गरेका छन् । सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् ।

साहित्यकार रमेश पन्त मीतबन्धु यसलाई विष फाल्ने पर्वका रूपमा लिने गरिएको बताउनुहुन्छ । आज बिहानैदेखि पवित्र नदीमा स्नान गर्ने गरिन्छ । आजको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ ।

आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रूपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा आज विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ । आजको दिन इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्कालगायत परिकार खाँदै बिसु मनाउने गर्दछन् ।

आज नयाँ वर्ष २०८३ !

आजदेखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ।

आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन्। त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ। सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन्। सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी सङ्कल्प गर्दछन्। आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ।

विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। भक्तपुरमा आज बिस्का जात्रा पनि गरिन्छ। तराईमा आज मात्रै सहलेश फूल फूल्ने भएकाले पनि यसको छुट्टै महत्व र विशेषता रहेको छ। नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ठ व्यक्तित्वले शुभकामना सन्देशमार्फत नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।

 

राज्यसञ्चालनमा युवा पुस्ताको संलग्नता उत्साहको विषयः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको गतिवधिमा युवापिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन् । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले देशको राजनीतिक परिवर्तनप्रति परोक्ष टिप्पणी गरेका हुन् ।

शाहले पढे लेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यद्यपि, सधैँ विकल्पको खोजीमा लागेर देश प्रयोगशाला बन्न पुगेको उनले बताए ।

शाहले भने, ‘राजनीतिक राज्यपद्दति र शासनप्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौं, तर कोरा परिवर्तन मात्र भयो । दलदलको खलबलमा धेरै दुगुर्‍यौँ तर राष्ट्रको श्रीवृद्धीमा हामी निकै पछि पर्‍यौँ । सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्रै हामी लाग्यौँ । फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै भयो । स्थिरता, निरन्तरता र दृढता कताकता हराएर गयो । विधि, पद्दति, व्यक्ति बदलेर मात्र समग्र स्थिति राम्रो बन्ने रहनेछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।’

भिडिओमा शाहलाई श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाह भनेर लेखिएको छ ।

मन्त्रीको सम्पत्तिको स्रोत सार्वजनिकको माग गर्दै काठमाडौंमा विद्यार्थीको प्रदर्शन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सोमबार अखिल क्रान्तिकारीले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको वैध स्रोत सार्वजनिक गर्नुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले आयस्रोत खुलाऊ, सुनखानी प्रधानमन्त्री शेयरखानी गृहमन्त्री, मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्तिको स्रोत छानविन गर, हामी चुप लाग्दैनौं, आयस्रोत खुलाउनै पर्छ, झण्डा नीलो मन्त्रिपरिषद् पहेँलो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अखिल क्रान्तिकारीकी उपाध्यक्ष ममता अधिकारीले रास्वपा नेतृत्वको सरकारमा रहेका सदस्यहरुको सम्पत्ति अस्वभाविक देखिएकाले स्रोत छानबिन गर्नुपर्ने बताइन्। सदनमा प्रतिपक्षी निकै कमजोर भएकाले अखिल क्रान्तिकारी जनताको आवाज लिएर सडकबाटै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाई छ।

यसअघि आइतबार प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो।

परराष्ट्रमन्त्री खनाल विदेश भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् । २७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागि हुन बिहीवार मौरिसस गएका मन्त्री खनाल सोमवार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सम्मेलनका क्रममा क्षेत्रीय सहकार्य पुनर्संरचना, समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरूको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको बताए ।

उनले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहुँच र क्षेत्रीय साझेदारीका विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि राखेको जानकारी दिए ।

उनले भने, ‘सम्मेलनको क्रममा मैले क्षेत्रीय सहकारी पुनर्संरचना समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरुको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको थिए ।

साथै भूपरिवेष्टित मुलुकका रुपमा नेपालका विशिष्ट सरोकारवालाहरुलाई अन्तर्राष्ट्रिय समुदायहरुसम्म स्पष्ट रुपमा प्रस्तुत गर्दै समुद्री पहुँच र क्षेत्रीय सहकार्य साझेदारीका विषयहरुलाई प्राथमिकताका साथ राख्नुपर्ने कुराहरु पनि मैंले औंल्याए । यस सम्मेलनमा नेपाललाई भारतीय महासागर क्षेत्र इन्डियन ओसियन क्षेत्रसँग आफ्नो कुटनीतिक आर्थिक र रणनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण अवसर प्रदान गरेको छ ।’

मन्त्री खनालका अनुसार उक्त सम्मेलनले नेपाललाई हिन्द महासागर क्षेत्रसँग कूटनीतिक, आर्थिक र रणनीतिक सम्बन्ध थप सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । उनले वर्तमान भू-राजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त भएको बताए ।

सम्मेलनको अवसरमा उनले विभिन्न मित्रराष्ट्रका समकक्षीहरूसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता समेत गरेका थिए । यस क्रममा एस जयशंकरसहित भारत, भुटान, बंगलादेश, सिंगापुर, मौरिसस र तान्जेनियाका विदेशमन्त्रीहरूसँग द्विपक्षीय विषयमा छलफल भएको उनले जानकारी दिए ।

उनले भने, ‘विशेषत भूराजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढंगले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको छ । सम्मेलनको अवसरमा विभिन्न मित्रराष्ट्रका समकक्षीहरुसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता समेत भयो । यसक्रममा भारतका विदेशमन्त्री, भुटान, बंगलादेश, सिंगापुर, मौरिसस र तान्जेनियाका विदेश मन्त्रीहरुसँग पनि हामीले द्विपक्षीय विषयमा छलफल भेटघाट गर्यौं ।’

 

वार्षिक ३५१ मानव बेचबिखन, ७० जिल्ला प्रभावित : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले औसतमा वार्षिक ३५१ मानव बेचबिखनका घटना हुने गरेको तथ्य सार्वजनिक गरेको छ ।

मानव बेचबिखन विरुद्धको अधिकारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो बताएको हो । आयोगले नेपालका ७७ मध्ये ७० जिल्लामा यस्ता घटना भइरहेको बताएको छ ।

कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाहरू अदतलालबाट छिटो फैसला हुनुपर्ने बताए । यस्ता घटनाको न्याय निरूपणमा विलम्ब भएको उनको भनाइ छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको अध्यक्ष मगरले उल्लेख गरे ।

यस्ता घटना रोक्न विपन्नको आर्थिक सुधार, रोजगारी सिर्जना र जनचेतना अभिवृद्धिमा सरकार अझै क्रियाशील हुनुपर्ने उनले बताए । ”यो गम्भीर अपराध नियन्त्रणको काम सरकारको हो । आयोगले यस विरुद्ध गर्नुपर्ने कामबारे सरकारलाई सिफारिस गरेका छौँ । सरकारले त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्‍यो,” उनले भने ।

आयोगका सिफारिस कार्यान्वयन नहुँदासम्म  मानव बेचबिखन न्यूनीकरण नहुने उनले बताए ।  रोजगारीको प्रलोभनमा पार्दै  नेपालीहरूलाई विदेशमा लगेर अवैध कल सेन्टरमा काम लगाउने, महिलाहरूको डिम्ब तस्करी गर्ने तथा रात्रिकालीन व्यवसायमा लगाउने गरेको पाइएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, लामा पढाउने नाममा बालकहरूको तस्करी हुने गरेको समेत प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय चिनियाँहरूसँग विवाह गर्ने प्रलोभनमा पनि धेरै नेपालीहरू बेचबिखनमा परेको अयोगले जनाएको छ

आयोगका अनुसार परम्परागतसँगै मानव बेचबिखनका नयाँ आयामहरू समेत थपिएका छन् । -न्युज एजेन्सी नेपाल

संसद भवन निर्माणको काम तोकिएकै समयभित्र सक्न सभामुख अर्यालको निर्देशन

काठमाडौं- सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद भवन निर्माण कार्यप्रति चासो व्यक्त गरेका छन्। सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै उनले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन्।

छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल,प्रतिनिधि सभा उपसभामुख रूबी कुमारी ठाकुर र राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारी समेत उपस्थिति थिए। संसद भवन निर्माणका लागि २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता भएको थियो।

प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म छ पटक समय थप भइसकेको छ। पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ। हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ।

भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा लिएको छ भने छाना निर्माणका लागि चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको छ।

बागमतीका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठ्माण्डौ- प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गरेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा बागमती प्रदेशका सांसदहरू सहभागी भएका थिए।

बैठकमा प्रदेशका समग्र समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका विशिष्ट चुनौतीहरूबारे विस्तृत रूपमा जानकारी प्रस्तुत गरिएको थियो।

छलफलका क्रममा सांसदहरूले आफ्नो आफ्नो क्षेत्रका पूर्वाधार, सेवा प्रवाह, विकास आयोजना तथा स्थानीयस्तरका विभिन्न समस्याहरूबारे समग्र विवरण प्रधानमन्त्रीसमक्ष राखेका थिए।

प्रधानमन्त्रीले प्रस्तुत समस्याहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दै उपलब्ध स्रोत र बजेटअनुसार चरणबद्ध रूपमा समाधान गर्ने ढाँचामा अघि बढ्ने तयारी गरेको जानकारी गराएका छन्।

साथै तत्काल समाधान आवश्यक पर्ने विषयहरू पहिचान गरी छिटो कार्यान्वयन गर्ने विषयमा समेत ध्यान केन्द्रित गरिएको जनाइएको छ।

वर्षको अन्तिम दिन सेयर बजार घटेर बन्द भयो

काठमाडौं- वर्ष ०८२ को अन्तिम दिन (चैत ३०) सेयर बजार घटेर बन्द भएको छ ।

यस दिन बजार ४.१८ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८३३.६० विन्दु कायम भएको छ ।

कारोबार रकमका आधारमा पनि बजार घटेको छ । अघिल्लो दिन आठ अर्ब ९९ करोड रुपैयाँका सेयर कारोबार भएको थियो । आज आठ अर्ब ६६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

३४२ कम्पनीको कारोबार हुँदा १०५ कम्पनीको मूल्य बढ्यो । १५३ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्यमा हेरफेर भएन ।

आज पाँच कम्पनीका सकारात्मक सर्किट लागेको छ । सुपरखुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रोपावर, होटेल फरेस्ट इन, पाल्पा सिमेन्ट र रिजलाइन इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ ।

१३ वटा उपसमूहमध्ये होटेल तथा पर्यटन सूचक सर्वाधिक ८०.३५ अंकले बढेको छ । जीवन बिमाको सूचक सबैभन्दा धेरै ५९.४५ अंकले घटेको छ ।

सभामुख अर्यालसँग उपसभामुख ठाकुरको पहिलो शिष्टाचार भेट

काठ्माण्डौ- सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नवनिर्वाचित उपसभामुख माननीय रूबी कुमारी ठाकुरले पहिलोपटक शिष्टाचार भेट गरेकी छन्। सिहंदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले सभामुख अर्यालसँग शिष्टाचार भेट गरेकी हुन्।

काठमाडौँस्थित संघीय संसद भवनमा सम्पन्न उक्त भेटमा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनीहरूबीच संसदको आगामी कार्यसम्पादन, सहकार्य तथा व्यवस्थापन सम्बन्धी विषयमा संक्षिप्त छलफल भएको थियो।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि २६ वर्षीया रूबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित भएकी हुन्, जसले नेपालको संसदीय इतिहासमा सबैभन्दा कान्छी उपसभामुखको रूपमा नयाँ कीर्तिमान स्थापित गरेकी छन्।

संघीय संसद्को पहिलो अधिवेशन गत शुक्रबार अन्त्य भएको छ। सोही दिनको बैठकले ठाकुरलाई उपसभामुख निर्वाचित गरेको हो।

प्रधानमन्त्री कप: आसिफको दोहोरो शतक, ११ रनले चुके विनोद

काठमाडौं- विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखले मधेस प्रदेशविरुद्ध दोहोरो शतक प्रहार गरेका छन् । आसिफ प्रतियोगिताको इतिहासमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

उनले मधेसविरुद्ध १४२ बलमा २०८ रनको शतकीय इनिङ खेलेका हुन् । दोहोरो शतक बनाउने क्रममा उनले १५ चौका र १७ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका निम्ति कप्तान रोहित पौडेलसँग १४५ रनको शतकीय साझेदारी गरेका थिए ।

सोमबार (चैत ३०) जनकपुरधाममा भएको खेलमा आसिफको दोहोरो शतकको मद्दतमा एपीएफले मधेससामु ३९१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । एपीएफले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३९० रन बनाएको हो ।

यसै दिन विभागीय टिम त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी दोहोरो शतक बनाउनबाट ११ रनले चुके । वीरगन्जमा भएको खेलमा विनोदले कोसी प्रदेशविरुद्ध १८९ प्रहार गरेका हुन् । १५० बल खेलेका उनले २१ चौका र पाँच छक्का प्रहार गरे । उनले दोस्रो विकेटका निम्ति भीम सार्कीसँग १४८ रनको शतकीय साझेदारी गरेका थिए ।

विनोदको शतकमा आर्मीले कोसीलाई ३६३ रनको लक्ष्य दिएको छ । आर्मीले ५० ओभरमा आठ विकेट गुमाएर ३६२ रन बनाएको हो ।

‘पाँच पाण्डव’मा ‘बले’को ठाउँमा सुशील सिटौला

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । छायांकन भइरहेको चलचित्रमा कलाकार सिटौला अन्तिम समयमा प्रवेश गरेका हुन् ।

“सुशील सिटौला) मुख्य भूमिकामध्ये एकमा अनुबन्ध हुनु भएको छ । पाँच पाण्डवमध्ये एकको भूमिकामा काम गर्नु हुनेछ,” चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, “हामीले खोजेस्तै अब्बल कलाकार हाम्रो चलचित्रमा भित्र्याएका छौँ ।”

सुशील सागर लम्साल ‘बले’को ठाउँमा ‘पाँच पाण्डव’मा प्रवेश गरेका हुन् । एक युवतीले बलात्कारको आरोप लगाएपछि उनी ‘पाँच पाण्डव’बाट अलग भएको खबर आएको थियो । प्रहरीले नियन्त्रणमा लिएका सागर हाजिरी जमानीमा रिहा भइसकेका छन् ।

वसन्त निरौलाले निर्देशन गरिरहेको चलचित्रमा चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतको अभिनय छ ।

चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले बताएका छन् । यो चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिचिरहेका छन् ।

उपसभामुखले गरिन पदभार ग्रहण

काठमाडौं। उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् ।

पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन् ।

गत २७ गते उपसभामुखको निर्वाचन भएको थियो । निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार थिए । रास्वपाको समर्थन पाएकी ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

आसिफको दोहोरो शतकमा एपीएफले पीएम कप इतिहासकै सबैभन्दा धेरै रन बनायो

काठमाण्डाै- एपीएफ क्लबका ओपनर आसिफ शेखले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट इतिहासमै पहिलो दोहोरो शतक बनाएका छन् ।

वीरगञ्जमा आज भएको मधेश प्रदेशसँगको खेलमा आसिफले यो उपलब्धि हासिल गरेका हुन् । उनी १४२ बलमा १७ छक्का र १५ चौकाको मद्दतमा २०८ बनाएपछि ‘रिटायर्ड हर्ट’ भए । आसिफले प्रधानमन्त्री कपको एकै खेलमा सर्वाधिक रन, सर्वाधिक छक्का र सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन् ।

यस्तै यो खेलमा एपीएफले प्रधानमन्त्री कप इतिहासकै धेरै ३९० रन बनाएको छ । एपीएफले आसिफ शेखको दोहोरो शतक तथा कप्तान रोहित पौडेल र सन्दीप जोराको अर्धतकको मद्दतमा कीर्तिमानी योगफल बनाएको हो । मधेशका रूपेश सिंहले ३ विकेट लिए ।


नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

काठ्माण्डौ- नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ।

अफर अन्तर्गत न्यू इयर लाइट र न्यू इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन्।

न्यू इयर लाइट अन्तर्गत ४९९ रूपैयाँमा प्रतिदिन ५ जिबी डेटा उपलब्ध हुनेछ र ५ जिबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

त्यसैगरी न्यू इयर प्रिमियम अन्तर्गत ६९९ रूपैयाँमा प्रतिदिन १० जिबी डेटा उपलब्ध हुनेछ र १० जिबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।

दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ।

आज (सोमबार) देखि आगामी वैशाख २ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।

नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट *१४१५*०११# डायल गर्न सकिने छ ।

त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

कुनै पनि धम्की सामु झुक्दैनौँ : इरान

तेहरान । अमेरिकाको कुनै पनि धम्कीसामु आफू नझुक्ने इरानले बताएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी लगाउने घोषणा गरेपछि सोको कडा प्रतिक्रियामा इरानले आफू कुनै पनि दबाब वा धम्कीको सामु नझुक्ने स्पष्ट पारेको हो ।

इरान र अमेरिकाबिच पाकिस्तानमा भएका शान्ति वार्ताहरू लगभग सहमति नजिक पुगेका थिए । तर त्यसपछि अमेरिकाले अत्यधिक माग, लक्ष्य परिवर्तन र नाकाबन्दीको नीति अपनाएको उनले आरोप लगाए ।

यसैबिच, इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकी निर्णयप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘अहिले इन्धनको मूल्यको मजा लिनुहोस् । तथाकथित ‘नाकाबन्दी’ पछि तपाईंहरू ४ डलर–५ डलरको पेट्रोल मूल्यलाई सम्झनुहुनेछ ।’

उनले यसअघि पनि एक वक्तव्यमा इरानले कुनै पनि धम्कीको सामु नझुक्ने बताएका थिए । अर्कोतर्फ, ट्रम्पले स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्ने वा बाहिरिने ‘जुनसुकै जहाज’ लाई नाकाबन्दी गर्ने चेतावनी दिएपछि इरानी नौसेनाले पनि कडा प्रतिक्रिया दिएको छ ।

इरानी नौसेनाले उक्त जलमार्ग नजिक आउने कुनै पनि सैन्य जहाजलाई कडा रूपमा सामना गरिने चेतावनी दिएको छ । विश्लेषकहरूका अनुसार होर्मुजमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव पार्न सक्छ ।

गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो

काठमाडौं । प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणबारे अनेकन् टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।

उनले आफूले सरकारमा आउनुअघि नै भ्रष्टाचार नगरेरै धन आर्जन गरेको बताएका छन् । भ्रष्टाचार नगरी सम्पत्ति कमाउनु पाप नहुने उनको भनाइ छ ।

उनले सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु भने पाप ठहर्ने स्पष्ट पारेका छन् । उनले गरिब भएर जन्मिनु गल्ती नहुने तर मर्दा गरिब भइयो भने आफ्नै गल्ती हुने कथन पनि स्मरण गराएका छन् ।

सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

 

गृहमन्त्री गुरुङको प्रश्न : मन्त्री बन्नुअघि मैले कमाउनु पाप हो ?

काठ्माण्डौ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले जवाफ दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो सम्पत्तिको बचाउ गर्दै लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।’ उनले अगाडि लेखेका छन्, ‘सरकारमा आउनअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो। चेतना भया।’

सार्वजनिक विवरणअनुसार गृहमन्त्री गुरुङसँग धनकुटा, चितवन र गोरखामा गरी ठुलो परिमाणमा जग्गा छ। उनको धनकुटामा १९ रोपनी, चितवनमा ३० कट्ठा र गोरखामा २२१ रोपनी जग्गा रहेको पाइएको छ। उनको बैंक खातामा करिब ६० लाख रुपैयाँ छ भने विभिन्न कम्पनीमा साढे चार करोड रुपैयाँ बराबरको सेयर लगानी छ।

यस्तै, उनको नाममा एउटा कार पनि रहेको छ। चल सम्पत्तितर्फ देखिएको ८९ तोला सुन र ६ किलो चाँदी समेत रहेको उल्लेख गरेका छन्। उनले आफ्नो धेरै सम्पत्ति पैतृक रूपमै पाएको दाबी पनि गरेका छन्।

कञ्चनपुरका अनौपचारिक क्षेत्रका श्रमिकले पाउँदैनन् समान ज्याला

कञ्चनपुर- कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन्।

इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन्। त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद कायम रहँदा श्रमिकको अवस्था जटिल रहेको छ।

श्रम ऐन २०७४ तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका मापदण्डअनुसार डर, धम्की वा दबाबमा गराइने काम बाध्यकारी श्रमअन्तर्गत पर्छ। तर व्यवहारमा कृषि, निर्माण, घरेलु कामदेखि वैदेशिक रोजगारीसम्म यस्तो अवस्था व्यापक रहेको छ।

ज्याला रोकिने, ऋणको बहानामा दबाब सिर्जना गर्ने, हिंसा तथा धम्की दिने जस्ता अभ्यासले श्रमिकलाई आफ्नो इच्छाअनुसार काम छान्न वा छोड्न नपाउने अवस्था सिर्जना हुँदै आएको छ।

कञ्चनपुर, बर्दिया, सप्तरीमा चार वटा सूचकमा गरिएको एक अध्ययनमा पूर्व कमैया, हलिया र हरवा–चरवा समुदायमा बाध्यकारी श्रमको अवस्था उच्च रहेको देखाएको छ।

अध्ययनअनुसार करिब ८० प्रतिशत मुक्त कमैया, ८५ प्रतिशत हरवा–चरवा र ६१ प्रतिशत हलिया समुदायमा श्रम स्वतन्त्रताको अभाव रहेको अध्ययनमा रहेको पाइएको छ।

समान काम गर्दा पनि महिलाले पुरुषभन्दा झन्डै ३३ प्रतिशत कम ज्याला पाउने, समयमा पारिश्रमिक नपाउने तथा बिदा लिन खोज्दा सजाय भोग्नुपर्ने अवस्था रहेको पाइएको छ। मुक्त बँधुवा श्रमिकमध्ये ४३ प्रतिशतले मात्रै तोकिएको ज्याला पाउने गरेको पाइएको छ।

अनौपचारिक क्षेत्रमा कार्यरत मुक्त बँधुवा श्रमिकका सङ्गठनको सुदृढीकरण गरी पैरवी र प्रक्रियागत सहभागिता गर्दै बाध्यकारी श्रमविरुद्ध लड्न राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालको समन्वयमा ‘परिश्रम’ परियोजना सञ्चालनमा ल्याइएको छ।

फ्रिडम फन्डको आर्थिक सहयोग र एक्सन एड नेपालको सहकार्यमा सन् २०२६ जनवरीदेखि २०२७ डिसेम्बरसम्म सञ्चालन हुने यस परियोजनाले मुक्त बँधुवा तथा अनौपचारिक श्रमिकलाई सङ्गठित गर्दै अधिकारका लागि आवाज उठाउन सशक्त बनाउने लक्ष्य लिएको छ। परियोजना कञ्चनपुरका नौवटै स्थानीय तहमा सञ्चालन भइरहेको जनाइएको छ।

परियोजनाका संयोजक हरि सिंह बोहराले श्रम कानुनको प्रभावकारी कार्यान्वयन, बाल श्रम न्यूनीकरण र श्रमिकको सामाजिक सुरक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताए।

उनका अनुसार अनौपचारिक श्रमिक राज्यको निगरानीभन्दा बाहिर रहेकाले बिमा, सामाजिक सुरक्षा, ट्रेड युनियन अधिकार तथा नियमित अनुगमनबाट वञ्चित छन्।

‘श्रममा बाध्य पारिएका बालबालिकालाई शैक्षिक सामग्रीसहित परियोजनाको कार्यक्रमअन्तर्गत विद्यालय भर्ना गर्छौं,’ उनले भने, ‘जसले शिक्षामा पहुँच प्रदान गर्छ र श्रममा फर्कने जोखिमलाई कम गर्न मद्दत पुर्‍याउने विश्वास लिएका छौँ।’

जिल्लाको दररेटभन्दा कम ज्यालामा काम गर्नुपर्ने, सुरक्षा सामग्री (मास्क, पञ्जा, बुट) को अभाव तथा दैनिक हाजिरी प्रणाली नहुँदा श्रमिकको अवस्था कमजोर रहेको उनले बताए।

‘श्रमिकलाई स्वतन्त्र रूपमा रोजगारदाता छान्न पाउने, ज्यालामा सौदाबाजी गर्न सक्ने र भयरहित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ,’ उनले भने।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले पुरुषको तुलनामा महिलालाई कमजोर ठान्ने सामाजिक सोचका कारण ज्यालामा विभेद भइरहेको उल्लेख गर्दै समान कामका लागि समान ज्याला लागू गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष सिवी लुहारले श्रमिक सङ्गठित भई तोकिएको ज्यालाभन्दा कममा काम नगर्ने अठोट आवश्यक रहेको बताए। जोखिमयुक्त काममा अनिवार्य रूपमा सुरक्षा सामग्री र बिमाको व्यवस्था हुनुपर्ने उनको भनाइ छ।

बाध्यकारी श्रम हुनुका कारणहरूमा गरिबी, अशिक्षा, ऋण, भूमिहीनता, विभेद रोजगारीको अभाव, जनचेतनाको कमी र सरकारी नीतिको कमजोर कार्यान्वयन जिम्मेवार रहेको उनले बताए।

मुक्त कमैया अगुवा भागिराम चौधरीले न्यून ज्यालामा काम गर्न बाध्य विपन्न परिवारका लागि राज्यले प्रभावकारी संरक्षण नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए।  अर्का मुक्त कमैया अगुवा रामप्रसाद रानाले श्रमिकलाई आफ्नो अधिकारबारे सचेत गराउँदै सङ्गठित सङ्घर्षमार्फत अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

अनौपचारिक क्षेत्रका श्रमिकको समस्या समाधानका लागि प्रभावकारी नीति कार्यान्वयन, कडाइका साथ अनुगमन, सामाजिक सुरक्षा विस्तार र श्रमिक सशक्तिकरण अपरिहार्य रहेको उनले उल्लेख गरे। -रासस

सिंहदरबारभित्र गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठ्माण्डौ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ।

यसका लागि मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकायका रूपमा रहेको एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई निर्देशन समेत दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमिल्सिनाले ‘डाटा’ व्यवस्थापन केन्द्रका प्रमुख प्रमुख मनिष भट्टराइसँगको छलफलमा सिंहदरबार र आसपासका सरकारी निकायमा सूचना प्रविधि पूर्वाधारलाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

सोमबार मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सिंहदरबारभित्रका सम्पूर्ण निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले इन्टरनेट सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नहुने स्पष्ट पार्दै सेवा प्रदायक र सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिए। सेवामा अवरोध आउन सक्ने सम्भावित कारणहरूको पहिचान गरी त्यसलाई समयमै समाधान गर्नुपर्नेमा उनको विशेष जोड थियो।

मन्त्री डा तिमिल्सिनाले सम्बन्धित सबै निकायलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गर्दै सहकार्य, समन्वय र नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए। डिजिटल सेवाहरूको गुणस्तर सुधार नगरी प्रभावकारी प्रशासन सम्भव नहुने उल्लेख गर्दै उहाँले प्रविधिमा आधारित सेवा प्रवाहलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिए।

त्यस्तै, प्राविधिक तथा मानवीय त्रुटिका कारण पनि समस्या उत्पन्न हुनसक्ने भएकाले दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिन मन्त्री तिमिल्सिनाले निर्देशन दिए। उनले नेपाल टेलिकमबाट दक्ष प्राविधिकसहितको टोली परिचालन गरी सम्भावित समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाउन निर्देशन दिए।

सो क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका कार्यालय प्रमुख भट्टराईले सिंहदरबारभित्र इन्टरनेट सेवासम्बन्धी विद्यमान अवस्थाबारे जानकारी गराएका थिए। उनका अनुसार हाल केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सम्पर्क टुट्ने समस्या देखिएको छ। यस्ता समस्या दोहोरिन नदिन आवश्यक प्राविधिक सुधार र व्यवस्थापनका उपायहरू अवलम्बन गरिएको जानकारी पनि उनले दिए।

उनका अनुसार हाल सिंहदरबारभित्र नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा रहेको छ भने ‘जी–क्लाउड’ सञ्चालनका लागि २५० एमबिपिएस क्षमताको अतिरिक्त ब्रोडब्यान्ड प्रयोग भइरहेको छ। उनले इन्टरनेट सेवामा देखिने समस्या प्रायः अप्टिकल फाइबरमा हुने अवरोधका कारण उत्पन्न हुने गरेको बताए। विशेषगरी सडक तथा अन्य पूर्वाधार निर्माणका क्रममा फाइबर काटिने वा क्षति पुग्ने समस्या देखिने गरेको उनको भनाइ थियो। यस्ता समस्याको दीर्घकालीन समाधानका लागि अप्टिकल फाइबरलाई जमिनमुनिबाट व्यवस्थित रूपमा बिछ्याउनुपर्ने आवश्यकता उनले औँल्याए।

पहिले सिंहदरबार क्षेत्रमा इन्टरनेट सेवा एक स्थानबाट अवरुद्ध हुँदा अर्को वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने व्यवस्था गरिएको थियो। हाल उक्त प्रणाली केही कमजोर बनेको उल्लेख गर्दै केन्द्रका प्रमुख भट्टराईले त्यसलाई पुनः सुदृढ बनाउनेतर्फ पहल भइरहेको जानकारी दिए। त्यस्तै, सिंहदरबार परिसरमा बाह्य इन्टरनेट जडानको व्यवस्थापन केन्द्रको जिम्मामा रहे पनि कार्यालयभित्रको आन्तरिक सर्भर र नेटवर्क व्यवस्थापन सम्बन्धित निकायकै जिम्मेवारी हुने हुँदा प्रत्येक मन्त्रालय र निकायमा सूचना प्रविधिसँग सम्बन्धित दक्ष जनशक्ति खटाइनुपर्ने आवश्यकता पनि उनले औँल्याए।

सरकारले ‘डिजिटल’ पूर्वाधारलाई सुदृढ बनाउँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको सन्दर्भमा सिंहदरबार क्षेत्रको इन्टरनेट सेवा सुधारका लागि गरिएको यो पहललाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ- पोखराको लिचीबारी प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू नारायणप्रसाद कोइराला र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज २२ मा तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।

आयोगका अनुसार कुल ७८ लाख रुपियाँको घुस र रिसवत लेनदेनसम्बन्धी अडियो प्रमाण, बैँक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट तथ्य पुष्टि भएको हो । डिजिटल फरेन्सिक ल्याबको परीक्षणमा श्रव्य, दृश्य (अडियो, भिडियो) सामग्री प्रतिवादीहरूसँग मेल खाने र छेडछाड नभएको निष्कर्ष निकालेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन् ।

दुई जनाबिचको अडिओ बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । मन्त्री गुप्तासँगको उक्त अडियो संवादमा बिचौलियाले ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझी कुनामा माछा खाउँला’ भनेको सुनिएको थियो ।

दुई पूवमन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराको तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायी र बिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन, यमकुमारी गुरुङ, तुलसीराम बुढामगरविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा गरेको थियो ।

यस प्रकरणमा अख्तियारले ७८ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । पोखरा महानगरपालिका–१६ मा रहेको दिप विर्ता (लिची बगैँचा) मा रहेको भनिएको नक्सा नम्बर २५, २६ र २८ को जग्गाको सम्बधमा भ्रष्टाचार प्रकरणमा जोडिएका हुन् ।

कञ्चनपुरमा सिँचाइ सुविधा उपलब्ध नहुँदा चैते धानबाली घट्यो

 कञ्चनपुर। चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ ।

केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने गरेकामा अहिले डेढ सय हेक्टरमा मात्रै खेती हुने गरेको कृषि ज्ञान केन्द्रका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदले जानकारी दिए ।

“हामीले किसानलाई विभिन्न किसिमका कृषि उपकरण र सिँचाइका लागि बोरिङलगायत सुविधा उपलब्ध गराउने गरेका छौँ,” उनले भने, “चैते धान खेतीका लागि धेरै सिँचाइ आवश्यक हुन्छ यहाँ सिँचाइ सुविधा उपलब्ध नहुँदा चैते धान खेती घट्दै गएको छ ।”  उनका अनुसार ज्ञान केन्द्रबाट किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाइका लागि बोरिङ उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त रुपमा सिँचाइ हुन नसकेको बताए ।

कृषि ज्ञान केन्द्रले चैते धानखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई बीउ, मलखाद, सिँचाइ र जोत्ने उपकरण सहयोग गर्दै आएको छ । “चैते धान अन्य धानभन्दा धेरै उत्पादन हुने भए पनि सिँचाइ अभावको कारण खेती घटेको छ,” उनले भने, “किसानहरुलाई यहाँबाट प्राविधिकहरुको सहयोग हुन्छ  ।” चैते धान अन्य धानको तुलनामा बढी फल्ने भए पनि महाकाली सिँचाइ नहरमा नियमित पानी सञ्चालनमा नआउँदा खेती गर्न नसकिएको यहाँका किसानको गुनासो छ ।

“अन्य धानको तुलनामा चैते धान उत्पादन बढी हुन्छ यसका लागि पानी धेरै चाहिन्छ,” यहाँका किसान तीर्थ रानाले भने, “महाकाली नहरमा पानी नियमित हुँदैन बोरिङको पानी चैते धानलाई पर्याप्त हुँदैन ।” कञ्चनपुरको सबैभन्दा बढी चैते धान खेती हुने गरेको बेल्डाडीमा अहिले खेती हुन छोडेको छ । सिँचाइकै कारण खेत बाँझो रहन थालेपछि चैत धान लगाउन छोडेको यहाँका किसान बताउँछन् ।  सिँचाइ अभावकै र कारण खेती गर्न समस्या हुने गरेको दिनेश चौधरीले बताए । “चैते धानलाई पानी पर्याप्त चाहिन्छ त्यही समयमा महाकाली नहरमा पानी आउँदैन,” उनले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालयले पनि कञ्चनपुरमा लक्ष्य अनुसारको धान खेती हुन नसकेको जनाएको छ ।

कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर रहेको छ । जसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा ४८ हजार ६०० हेक्टरमा धान खेती हुने गरेको छ ।

कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । विक्रम संवत् २०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । -रासस

खोज्नुहोस