उच्चपदस्थको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

काठमाडौं । सरकारले ०६२/६३ पछिका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ । भविष्यमा सत्ता–राजनीति र उच्च प्रशासनिक वृत्तमा ठुलो हलचल ल्याउन सक्ने गरी निर्णय भए पनि समितिको कार्यादेश र समयावधि तोक्न बाँकी छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सदस्यीय आयोग गठन गर्ने निर्णय गर्दै पहिलो चरणमा ०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जनाएको छ । सरकारको यो निर्णयलाई सुशासन र जवाफदेहितातर्फको महत्वर्ण कदमका रूपमा लिइएको छ ।

सरकारले गठन गरेको ६ सदस्यीय आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी छन् । सदस्यहरूमा पूर्वन्यायाधीशद्वय पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल, पूर्वडिआइजी गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् । आयोगको समयावधि र कार्यावधि भने पछि तोकिनेछ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार ०४६ पछिका सबै पदाधिकारीको छानबिन गर्ने लक्ष्य भए पनि तत्कालका लागि ०६२/६३ यताबाट प्रक्रिया सुरु गरिनेछ । ‘०६२/६३ देखि हाल ०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलन, प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले भने, ‘यसपछि ०४६ सालदेखिको पनि गर्न बाँकी नै छ । अहिलेका लागि सुरुमा ०६२/६३ देखि यताको छानबिन हुन्छ ।’

सरकार गठनकै पहिलो दिन १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नै अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । १५ दिनभित्रमा यस्तो आयोग गठन गर्ने निर्णय थियो । १९औँ दिनमा आयोग गठन गरिएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारको कदम ‘एकदम सकारात्मक’ रहेको संक्षिप्त प्रतिक्रिया दिए ।

मन्त्रिपरिषद्बाट गत १३ चैतमा स्वीकृत भएको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा (सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण)सम्बन्धी ४३औँ बुँदामा आयोग गठन गर्ने विषय समावेश थियो । उक्त बुँदामा ‘देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने’ भनिएको थियो ।

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं- नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको बैंकले जनाएको छ। नबिल बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो एवम् भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने’ उद्देश्य लिएको छ।

‘विश्वस्तरीय नेपाली बैंक बन्ने ध्येयका साथ, उद्देश्यबाट प्रेरित, विश्वास, अनुशासन र अनुपालनमा आधारित, नवीनताद्वारा सञ्चालित, सुशासन, वातावरणीय, सामाजिक र प्रशासनिक दायित्वले निर्देशित र भविष्यका लागि तयार नेतृत्वको सिर्जना गर्दै, सेवाग्राहीलाई प्राथमिकता दिँदै उत्कृष्टता प्रदान गर्न प्रतिबद्ध,’ बैंकको पुनर्परिभाषित लक्ष्य रहेको छ।

बैंकिङ प्रणाली द्रुत गतिमा परिवर्तन भइरहेको समयमा दीर्घकालीन मार्गचित्रको आवश्यकता महसुस गर्दै बैंक रूपान्तरणको बाटोमा अग्रसर भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए।

‘सेवाग्राहीकेन्द्रित विश्वस्तरको नेपाली बैंक बन्ने उद्देश्यका साथ हामीले बैंकको उद्देश्य, लक्ष्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेका छौं,’ ज्ञवालीले भने। रूपान्तरित मूल्यमान्यतामा सेवाको उत्कृष्टतालाई मानकका रूपमा लिएको बताउँदै उनले भने, ‘डिजिटल माध्यमलाई प्राथमिकता दिँदै, मानव स्रोत र नेतृत्व विकासमा निरन्तर लगानी गर्दै जवाफदेहिता र सहकार्यको बलियो संस्कृतिलाई बढावा दिनेछौं।’

बैंकले आफ्ना मूल्यमान्यतालाई पाँच ‘टी’ का स्तम्भमार्फत अभिव्यक्त गरेको छ– विश्वास (Trust), पारदर्शिता (Transparency), प्रतिभा (Talent), प्रविधि(Technology) र रुपान्तरण (Transformation)। यी मूल्यमान्यता पञ्चतत्त्व दर्शनमा आधारित भएको उल्लेख गर्दै बैंकले धरतीले विश्वासलाई, पानीले पारदर्शितालाई, आगोले प्रतिभालाई, वायुले प्रविधिलाई र आकाशले रूपान्तरणलाई प्रतिनिधित्व गरेको बताएको छ । यी तत्त्व मिलेर बैंकको संस्कृति, निर्णय प्रक्रिया र दीर्घकालीन विकासलाई निर्देशित गर्ने सन्तुलित र एकीकृत संरचना प्रदान गर्ने बैंकले विश्वास लिएको छ।

ग्राहकको बदलिँदो अपेक्षा, डिजिटल प्रविधिको विकास, कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को बढ्दो भूमिका, दिगोपनालगायत आवश्यकताका आधारमा आफूलाई परिमार्जित गर्न लागेको बैंकको भनाइ छ।

गुणस्तरीय बैंकिङ सेवामा सबै पुस्तालाई समेट्ने उद्देश्यका साथ बैंकले आफ्नो स्लोगनलाई ‘सँधैं सँगै अघि’ बनाएको छ। उत्थानशीलता, प्रशासनिक अनुशासन र न्यायसंगत विकास आफ्नो प्रतिबद्धता रहेको जनाउँदै बैंकले आफ्ना सेवाग्राही, सरोकारवाला र बृहत्तर समुदायप्रतिको जिम्मेवारी रहेको पनि जनाएको छ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सधैं सँगै अघि बढ्ने विश्वास राखेको छ ।

गृहमन्त्री गुरुङ र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।

भेटमा जापानी राजदूतले गृहमन्त्री गुरुङलाई पदभार ग्रहणको बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। जापान सरकारले नेपालमा आर्थिक-सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्यलाई विस्तार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुंगा-सुरुङ मार्गलगायत विभिन्न पूर्वाधार तथा विकास आयोजनाको प्रगतिबारे चासो व्यक्त गरेका थिए। यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

त्यस्तै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा नेपाल-जापानबीच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदान आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका थिए। नेपालमा विपद् व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालय स्थापना र प्राविधिक सहयोगको आवश्यकता रहेको विषय पनि उठाइएको थियो।

गृहमन्त्री गुरुङले जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर प्राप्त गरेका नेपाली नागरिकप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। जवाफमा राजदूत तोरुले नेपालीहरू जापानी समाजमा सहजरूपमा समाहित भई विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आप्रवासन सहकार्यलाई अझ व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठ्माणडौ- परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आज भएको भेट्मा उनीहरूबिच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त भएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेका थिए।

डोटीको विपि नगरमा इलाका प्रशासन कार्यालय स्थापना

डोटी। डोटीको बडिकेदार गाउँपालिका-१ वि पि नगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले एक समारोहका बिच इलाका प्रशासन कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बडिकेदार गाउँपालिका-१ की सोबिता बोहरालाई नागरिकता प्रमाणपत्र–पत्र प्रदानगरेर इलाका प्रशासन कार्यालय वि पि नगरको सेवा शुभारम्भ गरिएको छ ।

इलाका प्रशासन कार्यालय मार्फत सेवा दिन थालिएको डोटी जिल्लामा पहिलो पटक हो । विपि नगरमा इलाका प्रशासन कार्यालय स्थापना भए सँगै डोटीका जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिका पुरै तथा बोगटान फुड्सिल गाउँपालिका १,२ र ३ का ४२ हजार भन्दा बढी स्थानीय बासिन्दा सेवाबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता काफ्लेले स्थानीय नागरिकहरुलाई छिटो, सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको बताए ।

इलाका प्रशासन कार्यालयको स्थापनासँगै स्थानीय स्तरमा सहज सेवा उपलब्ध हुने आशामा स्थानीय बासिन्दा रहेका छन् । उद्घाटन कार्यक्रममा डोटीको जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकाका जनप्रतिनिधी लगायत  स्थानीयको सहभागीता रहेको थियो ।

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा पनि उपलब्ध हुने

काठ्माणडौ- राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए।

अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउने गरी तयारी भइरहेको उनको भनाइ छ। तथ्याङ्क एकीकरणपछि जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुनेछन्।

पछिल्लो समय सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिइरहेको छ। जसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फतै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी परिषद्बाट जारी हुने व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने प्रक्रियासमेत अघि बढाइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने र ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो। तर सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले तोकिएको अवधिभन्दाअगावै यी कामहरू सकिसक्न विभागलाई निर्देशन दिएका छन्। यस पहललाई अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाले विशेष चासो देखाउँदै नागरिक एपमा थप सेवा एकीकृत गर्नसमेत निर्देशन दिएका छन्। सोही निर्देशनअनुसार विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास तथा परिमार्जनको काम भइरहेको जनाएको छ।

सार्वजनिक सेवामा पारदर्शिता, सहजता र डिजिटल पहुँच विस्तार गर्ने लक्ष्यसहित मन्त्रिपरिषद्को बैठकबाट यहि चैत १३ गते स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ मा पनि यो विषय उल्लेख भएको थियो। नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सुविधा भने हाल सञ्चालनमा आइसकेको छ। नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको उद्देश्य अझ सशक्त हुने अपेक्षा गरिएको छ।

डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस कदमले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिने विश्वास गरिएको छ भने सरकारी सेवा प्रवाहलाई पनि थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप बन्द

काठमाडौं- अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो।

‘सबैजसो इन्टरनेट सेवा प्रदायकले हालसम्म १० हजारभन्दा बढी यस्ता एप र वेबसाइट बन्द गरिसकेको जानकारी गराएका छन्। नेपाल टेलिकमले सबैभन्दा धेरै २१ हजारभन्दा बढीको सङ्ख्यामा बन्द गरेको छ, यस्ता एप र वेवसाइट निरन्तर पहिचान गर्ने र बन्द गर्ने क्रम चलिरहेको छ,’ लामिछानेले भने।

सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यस्तो कदम चालेको हो। मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ।

सोही निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते मन्त्रीस्तरबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो। उक्त निर्देशनपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेवसाइट तत्काल बन्द गरेको जनाएको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन नपाइने व्यवस्था छ । उक्त प्रावधान उल्लंघन गरेमा सोही दफाको उपदफा (६) अनुसार प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।

नेपाली महिला क्रिकेट टोली रुवान्डा प्रस्थान

काठमाडौं : नेपाली महिला क्रिकेट टोली रुवान्डामा आयोजना हुन लागेको आइसीसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गरेको छ। उक्त टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ।

वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, भानुआटु र इटालीको सहभागिता हुनेछ।

नेपालले वैशाख ५ गते अमेरिकासँग पहिलो खेल खेल्ने तालिका छ। नेपालले दोस्रो खेल वैशाख ६ गते इटलीसँग, तेस्रो खेल वैशाख ९ गते रुवान्डासँग, वैशाख ११ गते भानुआटुसँग, वैशाख १३ गते अमेरिकासँग, वैशाख १५ गते रुवान्डासँग, वैशाख १७ गते भानुआटुसँग तथा वैशाख १८ गते  इटालीसँग खेल्नेछ।

डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ। नेपाली टोलीमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतोसहित रुवि पोदार, रोमा थापा, बिन्दु रावल, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय तथा टोलीको मुख्य प्रशिक्षकमा हषर्ल पाठक रहेका क्यानले जनाएको छ।

पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासबाट अर्को सुनुवाइ नभएसम्म थापालाई हिरासतमै राख्न आदेश जारी भएको हो। सर्वोच्चले खड्कालाई थुनामा राख्नुको कारणसहित लिखित जवाफ समेत पेश गर्न समेत भनेको छ। रिटको अर्को पेशी भोलिलाई तोकिएको छ।

यस्तै सर्वोच्चले खड्कालाई राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले म्याद थप गरेको भन्ने कागज अप्रमाणित देखिएको र अदालतमा महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गरिएको उक्त पत्र आधिकारिक पुष्टि नभएकोले सो सम्बन्धी सम्पू्र्ण कागज पेश गर्न भनेको छ।

यदि राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले थुनामा राख्न म्याद थप गरेको हो भने त्यससम्बन्धी सबै मिसिल म्याद थप गर्दा तयार गरिएको पर्सासहितका कागजात पेश गर्न आदेशमा उल्लेख छ।

‘निवेदक दिपक खड्काको हकमा राजस्व अनुसन्धान विभागको च.नं.७५१ मिति २०८२।१२।३० को पत्रबाट अनुरोध भए अनुसार ललितपुर जिल्ला अदालतबाट मिति २०८२ । १२ । ३० मा तेस्रोपटक ३ (तीन) दिन को म्याद थपिएको व्यहोराको अप्रमाणित पत्र बहसका लागि उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान न्यायाधिवक्ताहरुबाट प्रस्तुत हुन आएको देखियो। सो बमोजिम राजस्व अनुसन्धान विभागबाट अनुरोध भएको तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप (हिरासतमा राख अनुमति) भएको भए सो सम्बन्धी सम्पूर्ण कागजातहरूसहितको मिसिल तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चा समेत संलग्न गरी मिति २०८३।०१।०३ गते १२:०० बजे सम्ममा प्राप्त हुने गरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट निज निवेदकलाई थुनामा राख्नुको कारण सहितको लिखित जवाफ गर्नू,’आदेशमा भनिएको छ।

नेता खड्कालाई सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत चैत्र १५ गते नियन्त्रणमा लिएको थियो। लगत्तै खड्काको श्रीमती विनिता थापाले गैरकानुनी रुपमा प्रहरीले आफ्ना श्रीमानलाई नियन्त्रणमा लिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय,प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई रिटमा विपक्षी बनाइएको छ।

गत भदौ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित उनको घर जलाएका थिए। उनको घरमा लाखौंलाख रुपैयाँ भेटिएको भन्दै पैसा उडाएको भीडीयो सार्वजनिक भएको थियो। उनी स्काउटको जग्गाको विवादमा समेत मुछिएका छन्। यिनै विषयमा अनुसन्धान गर्न नेता खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेप्से सूचक ३३ अंकले बढ्यो

काठ्माणडौ- बुधबार शेयर बजार परिसूचक नेप्सेमा ३३ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३३.२७ अंकले बढ्दै २ हजार ८६६.८७ अंकमा उक्लिएको हो ।

यस दिन १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा बढी ३.१४ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक २.३३ प्रतिशत र हाइड्रो पावर समूहको उपसूचक २.१४ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

२२१ कम्पनीको शेयर मूल्य बढ्दा आज ४५ वटा कम्पनीको मूल्य घट्न पुगेको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पीएम कपका लिग चरणका खेल सकिए, जय ट्रफीमा छानिए ६ टिम

काठमाडौँ । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणका खेल सकिएका छन् ।

बुधबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र मधेश प्रदेसले जित हासिल गरेसँगै यस सिजनको पीएम कपका लिग चरणका खेल सकिएका हुन् ।

आज सम्पन्न खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई एक विकेटले पराजित गरेको थियो । लुम्बिनीले दिएको १३९ रनको लक्ष्य पछाएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

त्यस्तै अर्को खेलमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको थियो । पुलिसले दिएको १३१ रनको लक्ष्य पछाएको मधेशले २४.१ ओभरमै ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

जितसँगै अर्को बर्ष तेस्रो संस्करणको जय ट्रफी खेल्ने ६ टिमको पनि टुंगो लागेको छ । त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम, एपीएफ क्लब, मधेश प्रदेश, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश जय ट्रफीका लागि छनौट भएका हुन् ।  यसअघि प्रधानमन्त्री कपका शीर्ष चार टोलीले जय ट्रफी खेल्दै आएका थिए। नेपाल क्रिकेट संघ (क्यान)ले यस वर्षदेखि शीर्ष ६ टोलीलाई जय ट्रफीमा सहभागिता गराउने निर्णय गरेको हो।

त्यस्तै प्रधानमन्त्री कपका शीर्ष दुई टोली फाइनलमा पुगेका छन् । फाइनल खेल शुक्रबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच हुने भएको छ ।

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार हुँदै

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४) हुँदै छ । ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै  निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ ।

निर्वाचन कार्यक्रमअनुसार, बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ ।

सभापति मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एकजना सदस्य प्रस्तावक र सोही समितिका एकजना सदस्य समर्थक हुनुपर्ने संघीय संसद्का सचिव हर्कराज राईले जानकारी दिए ।

सोही दिन अपराह्न साढे ४ बजेसम्म निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ताक्रमानुसारको सूची प्रकाशित हुनेछ ।

शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

एकभन्दा बढी समितिमा पदेन सदस्य रहने मन्त्रीले सभापतिको निर्वाचनमा मतदान हुने अवस्था आएमा सोको जानकारी निर्वाचन हुनुभन्दा २४ घण्टा अगावै सम्बन्धित समितिमा लिखित रूपमा गराउन सचिवालयले अनुरोध गरेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका चार र दुई संयुक्त समिति छन् ।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्वस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहेका छन् ।

संयुक्त समितिका रूपमा संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन् । रासस

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा २ बजेका लागि तोकिएको बैठक केही ढिलागरि सुरु भएको हो।

बैठकले संसदीय दलको नेता चयन, पार्टीको आगामी कार्यक्रम, इतर समुहको गतिविधि लगायत एजेण्डामा छलफल गर्ने छ ।

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ ।

बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएको घटनामा खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउबारे विज्ञप्ति जारी गरेका थिए ।

त्यसपछि खड्कालाई १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी नगर्न सचेत गराएको थियो ।

तर गत सोमबार पुनः उनले कार्यवाहक सभापतिको हैसियतमा क्रियाशील सदस्याता अद्यावधिक गर्ने निर्णयविरुद्ध विज्ञप्ति जारी गरे ।

विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो ।

बुधबार बस्ने बैठकले खड्कालार्य स्पष्टीकरण सोध्ने वा अन्य तरिकाले सचेत गराउने निर्क्योल गरिने एक नेताले भने ।

‘अहिले यहीँ नै गर्ने भन्ने निर्क्यौल भएको छैन । बैठकमा छलफलपश्चात मात्रै थाहा हुन्छ । तर केही न केही निणर्य हुन्छ,’ उनले बताए ।

खड्काले गत चैत १७ देखि १९ गतेसम्म कार्यवाहक सभापतिको हैसियतमा नवनिर्वाचित सांसदलाई बधाई दिँदै १४औं महाधिवेशनबाट निर्वाचित आफूनिकट केन्द्रीय कार्यसमिति सदस्यसँग छलफलसमेत गरेका थिए ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’: तथ्याङ्क सङ्कलन सुरु

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका  लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सुरु गरेकाे छ ।

देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्रण गर्ने लक्ष्यका साथ कार्यालयले २०८२ वैशाख २ गतेदेखि २०८३ असार मसान्तसम्म स्थलगत तथ्याङ्क सङ्कलन कार्य सञ्चालन गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले पत्रकारहरूसँगको छलफलमा गणनाका बारेमा जानकारी दिनुहुँदै यसबाट प्राप्त नतिजाहरू आर्थिक वर्ष २०८३/८४ को सुरुदेखि नै क्रमशः सार्वजनिक गरिने बताए ।

मुख्य उद्देश्य र कार्यक्षेत्र यस गणनाले मुलुकभित्र सञ्चालित उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको सङ्ख्या, भौगोलिक वितरण, रोजगारी र उत्पादनको अवस्था मापन गर्ने छ ।

मुख्यतया देशको कुल गार्हस्थ्य उत्पादनको अनुमानलाई सुदृढ बनाउन र राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तनका लागि आवश्यक तथ्याङ्क जुटाउन यो गणना केन्द्रित रहने कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणका २१ क्षेत्रमध्ये १८ वटा क्षेत्रलाई समेटिने यस गणनामा दर्ता भएका र नभएका सबै साना–ठुला प्रतिष्ठानहरू समेटिने छन् । तर, अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, सुरक्षा निकाय र सामान्य घरायसी क्रियाकलापलाई भने गणनामा समावेश गरिने छैन ।

जनशक्ति र प्राविधिक तयारीगणनालाई व्यवस्थित बनाउन देशभर ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि ४ हजार ४ सय ३३ जना तालिमप्राप्त गणक तथा सुपरिवेक्षकहरू २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्यक्षेत्रमा खटिने छन् ।

प्रवक्ता लामिछानेका अनुसार यसपटक प्रविधिको उच्च प्रयोग गरिने छ । अनलाइनबाटै विवरण भर्न चाहनेका लागि ‘ई–सेन्सस’ प्लेटफर्म र भौगोलिक सूचनाका लागि ‘जिआईएस’ पोर्टल सञ्चालनमा ल्याइएको छ । गणनाको प्रगति अनुगमनका लागि केन्द्रमा ड्यासबोर्डसहितको कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ । गोपनीयता र समन्वय तथ्याङ्क ऐन, २०७९ अनुसार सङ्कलित विवरण पूर्णरूपमा गोप्य रहने र ती विवरणहरू केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने कार्यालयले स्पष्ट पारेको छ ।

व्यक्तिगत वा संस्थागत पहिचान खुल्ने गरी कुनै पनि विवरण सार्वजनिक नगरिनेमा कार्यालयले विश्वस्त तुल्याएको छ । सरकारले यस बृहत् राष्ट्रिय अभियानलाई सफल पार्न निजी क्षेत्रका छाता सङ्गठनहरू, स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरिसकेको छ ।

गणनासम्बन्धी जिज्ञासा वा गुनासोका लागि टोल फ्री नम्बर ११७८ समेत सञ्चालनमा ल्याइएको छ । कार्यालयले सम्पूर्ण उद्यमी र व्यवसायीहरूलाई सत्य र तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न आह्वान गरेको छ ।

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?

काठमाडौं– जेन-जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह गर्दै सार्वजनिक रूपमा प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्रीले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म आफ्नो धारणा सार्वजनिक रूपमा राख्न नसकेको उल्लेख गर्दै असन्तुष्टि जनाएकी हुन्। चुनावपछिको अवस्थामा जनतालाई धन्यवाद दिनु र परिवर्तनबारे सम्बोधन गर्नु प्रधानमन्त्रीको जिम्मेवारी भएको उनको भनाइ छ।

बमले ‘कुरा कम, काम बढी’ भन्ने सोच व्यक्तिगत हुन सक्ने भए पनि संसद्‌मार्फत राष्ट्रलाई सम्बोधन गर्नु नेतृत्वको कर्तव्य भएको बताएकी छन्। लोकतान्त्रिक व्यवस्थामा नेताको व्यक्तिगत शैलीभन्दा लोकतान्त्रिक मूल्य र अभ्यास महत्वपूर्ण हुने उनले उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्

सम्माननीय प्रधानमन्त्रीज्यू,

संसद्को पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौँ। चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो। यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर तपाईंले संसद्‌मा नबोली अधिवेशन सक्नु भयो।

हामी तपाईंको आवाज सुन्न चाहन्छौं। ‘कुरा कम, काम बढी’भन्ने धारणा तपाईंको व्यक्तिगत विश्वास होला तर संसद मार्फत राष्ट्रलाई सम्बोधन गर्नु पनि तपाईँको कर्तव्य हो। लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनु पर्दछ। जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने गर्दछ।

यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस्।

तपाईं सक्षम हुन सक्नुहुन्छ, सबल हुन सक्नुहुन्छ। तर यससँगै बिर्सनै नहुने कुरा, तपाईं एक व्यक्तिका हिसाबले सीमित पनि हुनुहुन्छ। पुरानाहरू जस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्‍याउनु होला।

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले आज बिहान योगाभ्यास गराइएको छ ।

जीवन विज्ञान प्रतिष्ठानका योग प्रशिक्षकद्वय केदारमान कार्की र विश्वनाथ भट्टराईले योगाभ्यास गराएका थिए ।

योगाभ्यासमा दुई सय जना सहभागी थिए । त्यस अवसरमा निमित्त बाहिनीपति दिग्विजय सुवेदीले स्वास्थ्यका लागि ध्यान र योग उपयोगी र आवश्यक हुने भएकाले आरोग्यका निम्ति सबैले योगाभ्यास गर्नुपर्नेमा जोड दिए ।

मन्त्री नपाएपछि गण्डकीका सांसद कुँवरले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका सांसद द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रहेका कुँवरले बुधबार (वैशाख २) राजीनामा दिएका हुन् ।

कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन् । उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागु हुने गरी दिएको उल्लेख गरेका छन् ।

“गण्डकी प्रदेशसभाको प्रदेशसभाको निर्वाचन २०७९ साल मंसिर ४ गते सम्पन्न र्विाचनबाट बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) प्रदेशबाट प्रत्यक्ष निर्वाचित सदस्य द्रोर्णकुमार कुँवरले मिति २०८३/०१/०२ गतेका दिनदेखि लागु हुनेगरी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको छु,” उनले पत्रमा लेखेका छन् ।

उनी मन्त्री पदका लागि आकांक्षी देखिएका थिए । तर, मन्त्री बन्न नपाएपछि सांसदबाटै राजीनामा दिएका हुन् ।  कुँवर बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै आफ्नो मन्त्रिमण्डल फेरबदल गरेका छन् । उनको मन्त्रिमण्डलमा नेपाली कांग्रेस र एमालेका गरी आठ मन्त्री थपिएका छन् ।

ata-1776237907.jpg

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

कन्द्रा नदी नियन्त्रणमा प्रभावकारी बन्दै जैविक तटबन्ध

 कैलाली ।  कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बनेको छ । बर्सेनि नदीको कटान र डुवालने स्थानीय विस्थापित हुँदै आएको सो क्षेत्रमा गतवर्ष स्थानीयको श्रमदानले निर्माण गरिएको जैविक तटबन्ध प्रभावकारी भएपछि यसवर्ष त्यसलाई स्थानीय सरकार तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा निरन्तरता दिइएको छ । नगरपालिका, सहकर्मी समाज र स्थानीयको जनश्रमदान मार्फत गरेको जैविक तटबन्धको काम भैरहेको छ ।

प्रत्येक घरबाट एक सय रुपैयाँ सङ्कलन गर्दै त्यसै रकमको केही कट्टा खरिद गरेर जनश्रमदानबाट गत वर्ष तटबन्ध सुरु गरिएको थियो । त्यसबेलाको तटबन्धले बस्ती पस्ने खतरा रहेको कन्द्रा वस्ती पस्न रोकिएको स्थानीय अमरराज न्यौपाने बताउछन् । “गत वर्ष प्रभावकारी भएपछि यस वर्ष नगरपालिकालगायत अन्य सहयोगीको समन्वयमा काम भइरहेको छ ।” उहाँ भन्छन्, “आशा गराँै अब हामीले विस्थापित हुनुपर्ने छैन ।” उनका अनुसार हालसम्म झन्डै  किलोमिटर जैविक तटबन्ध भइसकेको छ ।

बर्सेनि  कन्द्रा नदीले खेतीयोग्य जमिन कटान गर्नुका साथै बस्ती डुबानमा पर्ने समस्या झेल्दै आएका छन् । नदीबाट बर्सेनि चार सय ३५ घरधुरी प्रभावित हुने गरेका छन् । झलझलियामा बर्सेनि कन्द्राको कटानले बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन बगर बन्दै गएको छ । कैयौँ परिवार खेतीयोग्य जमिन बगर बनेपछि सुकुम्बासी बनेका छन् ।  त्यसैलाई मध्यनजर गर्दै गएको भदौमा स्थानीय नागरिकहरूको जनश्रमदानम सयौँ मिटर जैविक तटबन्ध गरिएको स्थानीय लक्ष्मीप्रसाद जैशीले जानकारी दिएका छन्।

“सरकारलाई तटबन्ध निर्माणका लागि हारगुहार गर्दागर्दै हामी थाकिसकेका छौँ । हाम्रो भनेको सबैले सुन्ने गरे पनि कार्यान्वयन कतैबाट नहुँदा नागरिकहरूलाई सुरक्षित राख्न जैविक तटबन्ध गरिएको थियो”, उनी भन्छन्, “त्यो प्रभावकारी पनि देखिएको छ, नदीले गर्ने कटान रोकिएको छ ।” यस वर्ष  नगरपालिका र सहमति नेपालको साझेदारीमा एक सय ७५ मिटर थप तटबन्ध निर्माणको काम सम्पन्न भइसकेको  छ । हालसम्म त्यहाँ पाँच सय मिटरभन्दा बढी क्षेत्रमा जैविक तटबन्ध निर्माण भएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए ।

नगरपालिकाले सात सय ५० मिटर जैविक तटबन्धको काम गर्नेगरी सर्भे गरेको छ । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, नेपाल रेडक्रस सोसाइटी, स्थानीयको जनश्रमदानबाट उक्त तटबन्धको काम हुन लागेको नगरपालिकाकी वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिएका छन् । “नगरपालिकासहितका सङ्घसंस्थाहरूको झन्डै रु २५ लाख लागतमा जैविक तटबन्धको काम हुन लागेको छ”, उनले भने, “यो अहिलेसम्मकै सबैभन्दा धेरै जैविक तटबन्ध निर्माण हुन लागेको हो ।” उनका अनुसार यसभन्दा पहिले झन्डै ६५ लाखभन्दा बढीको लगानीमा जैविक तटबन्ध भइसकेको छ ।

जैविक तटबन्ध भएपछि नदीको कटान रोकिँदा त्यहाँ व्यावसायिक बगरखेतीलाई प्राथमिकता दिइएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले बाढीका कारण प्रभावित भएका परिवारलाई आयआर्जनमा जोड्नका लागि प्रयोगविहीन बगरमा सामुदायिक कृषि वन कार्यक्रम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्लाका निवर्तमान सभापति बासुदेव बिनाडीले जानकारी दिएका छन । “कृषि वन कार्यक्रममा फलफूललाई प्राथमिकता दिइएको छ”, उनले भने, “यसले एकातिर किसान उत्पादनमा पनि जोडिने र आउने दिनमा नदी कटान रोकिने विश्वास गरिएको छ ।”

बाढी प्रभावितलाई लक्षित गर्दै जीविकोपार्जनसहितको कार्यक्रम सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन् । यस वर्ष थोरै भए पनि तटबन्धका कारण बाढीको जोखिमबाट छुटकारा पाएका स्थानीय बाँकी रहेको क्षेत्रमा पनि तटबन्ध हुने भएपछि अबका दिन यसभन्दा पहिलेका जस्ता नहुने झलझलियाका फागुराम डगौराले बताए । वर्षात्को समय भजनीलाई बाढी र डुबानले बर्सेनि आक्रान्त बनाउँदै आएको छ । कन्द्रा नदी त्यस क्षेत्रमा सबैभन्दा बढी दुःख बनेर बसेको छ । -रासस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ- नयाँ बर्षको दोस्रो काराेबार दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार रुपैयाँले बढेको छ भने चाँदी ३२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको भाउ बढेर तोलामा ५ हजार २२० रुपैयाँ कायम भएको छ ।

गत सोमबार एक तोला सुन २ लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९०० मा कारोबार भएको थियो ।

शिक्षामन्त्री पोखरेल र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गरेका थिए ।

मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उनले राजदूतसमक्ष अनुरोध गरेका थिए।

कैलालीमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी: कैलालीमा हाईस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु‍ भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बर हाईस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनकाअनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो। हाईस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ। हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम मंगलबार औपचारिक रूपमा प्रारम्भ गरिएको छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले केबलकार जडान परियोजना मात्र नभई यसले क्षेत्रीय पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने प्रतिबद्धताको निरन्तरता भएको बताए। नयाँ वर्षको पहिलो दिनमै सुरु भएको यो कामले आफूहरूलाई नयाँ आशा, नयाँ यात्रा र नयाँ उपलब्धिको अझ दृढ विश्वास दिएको समेत अध्यक्ष ढकालले बताए। उनका अनुसार अबको दुई महिनाभित्र परियोजना सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिएको छ। सबैको साथ, सहयोग र शुभेच्छाको अपेक्षा समेत गरिएको छ।

दुवै पक्ष अडानमै, कांग्रेस एकता टाढिँदै

काठमाडौँ — पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधिलाई निरन्तरता दिन थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको छ ।

खड्काको गतिविधिलाई कारबाहीको विषय बनाउन तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बोलाइएको छ । नेता शेखर कोइराला र देउवा समूहभित्रै पनि खड्काको समानान्तर गतिविधिको आलोचना हुन थालेको छ ।

२४ र २५ चैतको भेलापछि खड्काले बोलाएका समानान्तर गतिविधिबाट अलग भएका नेता कोइराला यसबीचमा पार्टी एकताका लागि जुटेका थिए । कोइरालाले देउवा पक्षका नेताहरू नेता मीनेन्द्र रिजाल र संस्थापन पक्षका पूर्वसहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारमार्फत संवाद अघि बढाइरहेका थिए । दुवै पक्षसँग एकताको प्रयास भइरहेका बेला खड्काले कार्यवाहक सभापतिकै हैसियतमा ‘पार्टीको लेटरहेड’ प्रयोग गरेर विज्ञप्ति निकालेपछि संस्थापन पक्ष खड्कामाथि कारबाही गर्ने तहमा उत्रिएको छ भने र कोइराला पक्ष पनि त्यसबाट असन्तुष्ट छ ।

पार्टी सभापति गगन थापाको उपस्थितिमा मंगलबार बिहान बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले यसअघि गल्ती नदोहोर्‍याउन चेतावनी दिइसकेपछि पनि पुनरावृत्ति भएको भन्दै पहिलो चरणमा स्पष्टीकरण सोध्नुपर्ने निष्कर्ष निकालेको छ । गत २४ चैतमा अनुशासन समिति बैठकले खड्कालाई लक्षित गर्दै आइन्दा गल्ती नदोहोर्‍याउन चेतावनी दिएको थियो । ‘कस्तो कारबाही गर्ने, के गर्ने भन्नेबारे अनुशासन समिति स्यायत्त छ, समितिले पक्कै पनि यस विषयमा छलफल गरेर एउटा निर्णय ल्याउनेछ’ महामन्त्री गुरुराज घिमिरेले भने ।

देशभर आजदेखि आर्थिक गणना सुरु हुँदै

काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।

अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ ।

गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।

त्यसक्रममा देशभर दर्ता भए÷नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ ।

यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

सरकारको नीतिमा विपक्षीका एजेन्डा पनि

काठमाडौं । सरकारले १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गर्दै राष्ट्रिय दलहरूसँग सुझाव मागेको छ । सय दिनमा गर्ने सय वाचासहितका प्रतिबद्धतापछि सरकारले राष्ट्रिय दलका चुनावी घोषणापत्रका विषयसमेत समेटेर १८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो ।

सरकारले कामको प्राथमिकता र मार्गचित्र प्रस्तुत गरिएको प्रतिबद्धतामाथि १० वैशाखभित्र सुझाव दिन संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दललाई अनुरोधसमेत गरेको छ । तर, सरकारले संसदीय अभ्यास र मान्यतालाई नै चुनौती दिने गरी संवैधानिक र संसदीय प्रक्रिया मिचेर कार्यक्रम ल्याएको भन्दै कतिपय प्रतिपक्षी दलले आपत्ति जनाएका छन् ।

‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामा आगामी पाँच वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ । यसका लागि औसत सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने र कुल गार्हस्थ उत्पादनलाई करिब एक सय अर्ब डलरनजिक लैजाने योजना अघि सारिएको छ । त्यस्तै, कर प्रणाली सुधार गर्दै १० वर्षसम्म करदर स्थिर राख्ने र डिजिटल अर्थतन्त्रलाई प्राथमिकता दिनेजस्ता विषय समेटिएका छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै ०४६ पछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने तथा सूचना दिने व्यक्तिलाई संरक्षण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, सरकारी सेवाभित्र दलीय ट्रेड युनियन खारेज गर्ने, निजामती सेवामा दलीय प्रभाव अन्त्य गर्ने र नियुक्तिमा योग्यता प्रणाली लागू गर्ने प्रतिबद्धता पनि समेटिएको छ ।

खोज्नुहोस