रोहितको कप्तानीमा आईसीसी विश्वकप लिग २ खेल्ने नेपाली टोली घोषणा

काठमाडौं :  आईसीसी विश्वकप लिग २ खेल्ने नेपाली टोली घोषणा भएको छ। रोहित कुमार पौडेलको कप्तानीमा नेपालले लिग २ को शृङ्खला खेल्ने टोली घोषणा गरेको हो।

एकदिवसीय फर्म्याटमा पछिल्लो समय राम्रो क्षमता देखाइरहेका युवा खेलाडी अर्जुन कुमाल पहिलो पटक सिनियर टोलीमा परेका हुन्।‌ उनीसँगै अनुभवी खेलाडी विनोद भण्डारी र भीम सार्की टिममा फर्किएका छन्। उनले नेपालको लागि उमेर समूहमा खेलिसकेका छन्।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विनोद भण्डारी र अर्जुन कुमाल दुवै खेलाडीले दुई वटा शतकीय पारी खेलेका थिए। सोही आधारमा यी दुई टोली राष्ट्रिय टिमको अन्तिम १५ भित्र अटाएका हुन्।

लिग दुई खेल्ने नेपालको टोली:
रोहित पौडेल (कप्तान ),दीपेन्द्र सिंह ऐरी (उपकप्तान ) कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, वसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी

वैकल्पिक खेलाडीहरू:
हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाल।

बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफूविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा वारेस अनुमतिमा सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ ।

शुक्रबार (वैशाख ४) सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासमा सुनुवाइको पेसी तय भएको थियो । प्रधानमन्त्री बालेनका तर्फबाट सुनुवाइ सकिएर आदेशको तयारी भइरहेको छ ।

बालेन अवहेलना मुद्दामा तीन वर्षदेखि अदालती तारिखमा धाइरहेका छन् । यो मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले यसअघि बालेनको मागअनुसार तारिखका लागि वारेस राख्न अनुमति दिन अस्वीकार गरेको थियो ।

सर्वोच्चले यसअघि बालेनले ‘वारेस’ राख्न मागसहित दिएको निवेदनमा आदेश दिँदै भनेको छ, “विषयवस्तुको गम्भीरताअनुसार निज प्रतिवादी बालेन्द्र शाहलाई यस अपहेलना मुद्दामा तारिखमा राखी पुर्पक्ष गर्नु आवश्यक भएकाले निज स्वयंलाई तारिखमा राखी मुद्दामा पुर्पक्ष गर्नू ।”

सर्वोच्चले मुद्दाको तारिखमा स्वयम् हाजिर हुन भनेका कारण बालेन आफैँ सर्वोच्चमा उपस्थित हुँदै आएका छन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि त्यतिबेला मेयर रहेका बालेनले कडा अभिव्यक्ति दिएका थिए ।

सामाजिक सञ्जालमार्फत् छिमेकी मित्रराष्ट्रसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षाकुमारी झाले अवहेलना मुद्दा दर्ता गरेकी थिइन् ।

बालेनले फेसबुकमा “सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन” भन्दै स्टाटस लेखेका थिए । बालेनले अदालतको आदेश नमान्ने घोषणा गरेको दाबीसहित उनीमाथि कारबाहीका लागि अधिवक्ता झाले अवहलेना मुद्दा दिएकी हुन् ।

०८० असार ७ गते सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अभिव्यक्ति दिएको दाबी अधिवक्ता झाको छ । बालेनको त्यो अभिव्यक्तिले कानुनी विवादको रुप लिएको हो । निवेदनमा न्याय प्रशासन ऐन, ०७३ को दफा १७ र सर्वोच्च अदालत नियमावली, ०७४ को नियम ५९ बमोजिम अदालतको अवहेलनाजन्य कसुरमा हदैसम्मको सजाय गर्न माग छ ।

कानुन र अदालतको फैसलालाई अक्षरस पालना गर्ने/गराउने सार्वजनिक ओहदामा बसेको व्यक्तिले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति ‘क्षमायोग्य’ नरहेका दाबी अधिवक्ता झाको छ ।

प्रधानमन्त्री कप फाइनल : आर्मीलाई सुदूरपश्चिमले दियो १६२ रनको लक्ष्य

काठमाडौं- सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबसामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार (वैशाख ४) वीरगन्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन बनाएको हो ।

सुदूरपश्चिमका अशोक धामीले सर्वाधिक ४३ रनको योगदान गरे । किरण ठगुन्नाले ३५ रन जोडे । नारायण जोशीले २९, हेमन्त धामीले १६ रन बनाए ।

आर्मीका आकाश चन्द र साहब आलमले समान तीन विकेट लिए । बसिर अहमदले दुई, कुशल मल्लले एक विकेट लिए ।

आर्मी सुदूरपश्चिमलाई हराउँदै तेस्रोपटक उपाधि घर ल्याउने लक्ष्यमा छ । आर्मीले यसअघि सन् २०१७ र २०२१ मा प्रतियोगिताको उपाधि जितेको थियो । सुदूरपश्चिम भने पहिलोपटक विजेताको सूचीमा आफ्नो नाम लेखाउने दाउमा छ ।

सुरुआती संस्करणदेखि नै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको सुदूरपश्चिमले यसपालि पहिलोपटक फाइनलमा स्थान बनाएको हो । यसअघिका सातै संस्करणमा सुदूरपश्चिमले समूह चरण पार गर्न सकेको थिएन ।

घट्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

आजको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार, चाँदीको मूल्य १२० रुपैयाँले घटेको छ ।

आजको मूल्य प्रतितोला पाँच हजार १३० रहेको छ । हिजो भने पाँच हजार २५० मा कारोबार गरिएको थियो ।

डुंगा पल्टँदा अछाममा बाबुछोरा बेपत्ता

अछाम- अछामको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद–३, बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि छन् ।

बिहीबार (वैशाख ३) बेलुकाको समयमा कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णालीमा एक्कासि डुंगा पल्टँदा त्यसका चालक पहलसिंह र सवार उनका छोरा बेपत्ता भएका हुन् ।

बेपत्ताको खोजीकार्यका निम्ति विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी ओमप्रकाश खनाले जानकारी दिए । रासस

प्रधानमन्त्रीसँगको छलफलमा सुदूरपश्चिम र कोशीका मुख्यमन्त्री अनुपस्थित

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएका छन् ।

मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्री छलफलमा सहभागी भएका हुन् ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी भएनन् ।

मुख्यमन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन् । केही बेरअघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल सुरु भएको हो ।

बैठक  विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहने प्रधामन्त्री कार्यालयले जनाएको छ ।

बालेनले यसअघि सबै दलका प्रत्यक्ष र समानुपातिकतर्फका सांसदहरूसँग क्षेत्रगत समस्याको विषयमा छलफल गरेका थिए ।

गृहमन्त्री गुरुङ र कोरियाका राजदूत पार्कबीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङबीच शिष्‍टाचार भेटवार्ता भएको छ। आज गृह मन्त्रालयमा भएको भेटवार्ता राजदूतले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए।

सो अवसरमा नेपाल–कोरिया बीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्‍याउँदै आएको निरन्तर सहयोग तथा आगामी दिनमा दुई पक्षीय सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको थियो।

शिष्टाचार भेटघाटका क्रममा गृहमन्त्रीले कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरिया सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरे।

राजदूतले नेपालीहरू अनुशासित एवम् मेहनती रहेको र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गरे।

भेटघाटका क्रममा गृहमन्त्रीले कोरिया सरकारको सहयोगमा साइबर ब्यूरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने कार्य अन्तिम चरणमा रहेकोमा कोरिया सरकारलाई धन्यवाद ज्ञापन गरे। साथै, गृह मन्त्रीले भीड नियन्त्रण तथा आम नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक पर्ने सुरक्षा सामग्री एवम् उपकरणको व्यवस्था गर्न दुई देशका सरकारबीच सहकार्यका लागि प्रस्ताव गरे।

शिष्टाचार भेटमा गृहमन्त्रीले नेपालमा कोरियाली लगानीमा सञ्चालित व्यवसाय तथा लगानीकर्ताको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिए। साथै, गृहमन्त्रीले बौद्ध संस्कृतिको प्रवर्द्धन तथा लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न दुई मुलुकबीच साझेदारी आवश्यक रहेको विषयमा जोड दिए।

गृहमन्त्री र नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले दुई देश बीचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर तथा सुदृढ गर्दै परस्पर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गर्दै भेटघाट कार्यक्रम सम्पन्न भयो।

पोखरीमा डुबेर बझाङमा दुई बालकको मृ’त्यु

बझाङ। बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

वित्थडचिर गाउँपालिका १–स्थित माथिल्लो वित्थडमा रहेको चिल्ड्रेन पार्कभित्रको पोखरीमा नुहाउने क्रममा उक्त घटना भएको प्रहरीको भनाइ छ ।
अन्दाजी ८ वर्ष उमेरका दुई बालक खेल्ने क्रममा उक्त पोखरीमा पुगेका थिए । नुहाउने क्रममा उनीहरू डुबेको र समयमै उद्धार गर्न नसकिँदा घटनास्थलमै ज्यान गएको जनाइएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको जनाइएको छ । मृतक बालकहरूको पहिचान बाँकी रहेको छ ।

सातै प्रदेशमा राप्रपाले चुनावी समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने भएको छ । राप्रपाको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा सबै प्रदेशमा हुने बैठकको मिति तय गरेको छ ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार समीक्षा बैठक वैशाखको दोस्रो सातासम्म सम्पन्न हुनेछ । बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा क्षेत्रीय अध्यक्ष, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उमेदवार एवं जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागिता रहनेछ ।

पार्टीको केन्द्रीय सचिवालयको आयोजनामा हुने सबै प्रदेशको समीक्षा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन एवं केन्द्रीय पदाधिकारीहरू सहभागी हुने राप्रपाले जनाएको छ ।

सुदूरपश्चिममा सवारी दुर्घटनाः ९ महिनामा १६५ जनाले ज्यान गुमाए

धनगढी । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको अवस्थामा सुधार हुन सकेको छैन । तीव्र गति, सवारी नियमको उल्लंघन र सडकको अवस्थाका कारण दैनिकजसो दुर्घटनामा मानिसहरूको मृत्यु भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार साउन १ गतेदेखि चैत मसान्तसम्म प्रदेशभर कुल १ हजार ३८ वटा सवारी दुर्घटना भएका छन्, यी दुर्घटनाहरूमा १६५ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूको संख्या पनि निकै ठुलो छ । ९ महिनाको अवधिमा १ हजार ७ सय ५५ जना मानिस घाइते भएका छन् । घाइतेमध्ये धेरैजसो अंगभंग भएका छन् ।

सुदूरपश्चिमका ९ मध्ये तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा दुर्घटनाको दर सबैभन्दा उच्च देखिएको छ । तथ्यांकअनुसार यो ९ महिनाको अवधिमा सबैभन्दा बढी दुर्घटना कञ्चनपुर जिल्लामा भएका छन् ।कञ्चनपुरमा ४ सय ६९ वटा सवारी दुर्घटना भएका छन् ।

त्यसैगरी प्रदेशको हालको राजधानीसमेत रहेको कैलालीमा ३ सय ५८ वटा दुर्घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सागर बोहराका अनुसार ९ महिनाको अवधिमा प्रदेशभरमै कञ्चनपुर जिल्ला सवारी दुर्घटनाका हिसाबले सबैभन्दा बढी प्रभावित देखिएको छ ।

सडक दुर्घटनाका कारण पशुचौपायहरू पनि प्रभावित भएका छन् ।

छाडा चौपायाका कारण पनि दुर्घटना बढ्ने गरेको पाइन्छ । तथ्यांकअनुसार यस अवधिमा सडक दुर्घटनामा परी १६ वटा चौपायाको मृत्यु भएको छ भने ७ वटा चौपाया घाइते भएका छन् । राजमार्गमा जथाभावी छाडिने चौपाया र तीव्र गतिको सवारी नै यस्तो दुर्घटनाको मुख्य कारण बन्ने गरेको छ ।

प्रहरीले सडक दुर्घटना कम गर्न र ट्राफिक नियम पालना गराउन सक्रियता देखाएको दाबी गरेको छ । सवारी नियम उल्लंघन गर्ने चालकहरूलाई कारबाही गर्ने क्रममा ९ महिनाको अवधिमा ट्राफिक नियम कसुर गरेबापत प्रहरीले २ करोड १९ लाख ६४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुले गराए मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभाका विभिन्न विषयगत समिति र दुईवटा संयुक्त समितिको सभापति पदका लागि बिहीबार संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन्।

कुल १२ वटा समितिमध्ये रास्वपाले ११ वटा समितिको नेतृत्वका लागि आफ्ना उम्मेदवारहरू अघि सारेको छ भने सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ।

सोही निर्णयअनुसार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदासले मनोनयन दर्ता गराएका छन्।

संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीले उम्मेदवारी दिएका छन्।

रास्वपा संसदीय दलको बैठकले यी उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो भने समितिमा रहने सदस्यहरूको चयन यसअघि नै भइसकेको छ।

रास्वपा संसदीय दलको उपनेतामा पराजुली चयन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । पराजुली दलको उपनेतामा चयन भएको रास्वपाका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र वुर्लाकोटीले जानकारी दिए ।

पराजुली काठमाडौंं–७ बाट निर्वाचित सांसद हुन् । ०७९ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आज बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक बनाएको हो ।

बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकको जिम्मेवारी दिएको छ ।

सम्पत्ति छानबिनबाट रास्वपाका नेताहरू पनि अछुतो रहँदैनन्: सभापति लामिछाने

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्पत्ति छानबिन र पब्लिक अडिटबाट आफ्नो पार्टीका कोही पनि नेता बाहिर नरहेको बताएका छन्।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अन्य दलका नेताहरूलाई जस्तै रास्वपाका नेताहरूलाई पनि कानुन र नियम समान रूपमा लागू हुने बताए।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत खुलाउनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले आफूहरूले छानबिन आयोग नै गठन गरिसकेको जानकारी दिए।

उनले भने, ‘हामी कोही पनि छानबिनबाट बाहिर छैनौं। मेरो त बैंक स्टेटमेन्ट नै सार्वजनिक छ। अरूलाई जे नियम लागू हुन्छ, रास्वपाका नेतालाई पनि त्यही नियम लागू हुन्छ, हामी कोही अलग होइनौं।’

सोही अवसरमा सभापति लामिछानेले पार्टीको संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरिएको औपचारिक घोषणासमेत गरे। उनले यसअघि निर्णय सार्वजनिक गर्न प्राविधिक रूपमा छुटेको उल्लेख गर्दै अब पराजुलीले उपनेताको जिम्मेवारी सम्हाल्ने जानकारी दिए।

संसद्को भूमिकाबारे बोल्दै उनले संसद् मर्यादित र सक्रिय हुनुपर्नेमा जोड दिए। समाजमा व्याप्त बेथिति र भ्रष्टाचारका खिलहरू निकाल्न आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

३३.८३ अंकले घट्यो नेप्से

काठमाडौँ- साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ्ग मिल्सको भएको छ । यस कम्पनीको ६१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा रिज लाइन इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

विद्यार्थीलक्षित ‘इन्स्पायर सिरिज’ कार्यक्रम सुरु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘इन्स्पायर सिरिज’ कार्यक्रम सुरु गरेको छ । एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गर्दै सो कार्यक्रम सुरु गरेको हो ।

मन्त्रालयले परीक्षापछिको समय विद्यार्थीलाई आफ्नो रुचि पहिचान गर्ने तथा नयाँ सीप सिक्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेको छ ।

यसै उद्देश्यअनुसार सुरु गरिएको इन्स्पायर सिरिजमार्फत विभिन्न क्षेत्रका सफल व्यक्तिहरूले आफ्ना संघर्ष, अनुभव र प्रेरणादायी कथा साझा गर्नेछन् ।

शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, यो कार्यक्रम सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ, जसले विद्यार्थीलाई भविष्यको मार्गनिर्देशन गर्न, नयाँ सम्भावना खोज्न र आत्मविकासतर्फ प्रेरित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयले विद्यार्थीलाई यो समयलाई रचनात्मक बनाउन र आफ्नो क्षमता निखार्न पनि आग्रह गरेको छ ।

कांग्रेसले भरत खड्कालाई लेखा समिति सभापति बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भरत खड्कालाई संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ ।

लेखा समितिको सभापति कांग्रेसले पाउने भएपछि पार्टीले खड्कालाई अघि सारेको हो । कांग्रेस नेता अर्जुननरसिंह केसीले खड्कालाई लेखा समिति सभापति बनाउने निर्णय गरेको जानकारी दिए ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रमुख पतिपक्षी दललाई लेखा समितिको सभापति दिने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाका संसदीय समिति सभापतिका लागि आज मनोनयन दर्ता हुँदै छ ।

संसद्को प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ ।

लेखा समितिको सभापति कांग्रेसले पाउने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसले पाउने भएको छ ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रमुख पतिपक्षी दललाई लेखा समितिको सभापति दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभाका संसदीय समिति सभापतिका लागि आज मनोनयन दर्ता हुँदै छ ।

संसद्को प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ ।

सभामुख भेट्न पुगे विपक्षी दलका नेता

काठमाडौं । सभामुख डीपी (डोलप्रसाद) अर्याललाई भेट्न विपक्षी दलका नेताहरू पुगेका छन् ।

बिहीबार विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सभामुख अर्याललाई भेट्न पुगेका हुन् ।

विपक्षी दलसँगको सम्बन्ध के हुने भन्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभाका दशमध्ये आठ समिति सभापतिमा रास्वपाले टुंग्यायो उम्मेदवार

काठ्माण्डौ- सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगतमध्ये ८ वटा समितिमा सभापतिका उम्मेदवार टुंग्याएको छ। बिहीबार सिंहदरबारमा रहेको संसदीय दल कार्यालयमा बसेको बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो।

रास्वपाले राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास र कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटालाई नेतृत्व दिने भएको हो।

यस्तै सुशान्त वैदिकलाई अर्थ समिति, आशिष गजुरेललाई पूर्वाधार विकास समिति, अशोककुमार चौधरीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, रहबर अन्सारीलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको उम्मेदवार बनाउने भएको छ।

विगतको अभ्यासलाई निरन्तरता दिँदै सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई दिने निष्कर्ष निकालेको रास्वपाले महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवार टुंगो लगाएको छैन।

राष्ट्रिय सभासँगको संयुक्त समितिमध्ये संसदीय सुनुवाई समितिमा सभापति खाली छ। यसमा पनि नाम टुंगो लाग्न बाँकी छ।

समितिका सभापतिहरूका लागि बिहीबार नै मनोनयनको समय तोकिएको छ। निर्वाचन भने शुक्रबार हुनेछ।

रास्वपा संसदीय दलको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

सो बैठकमा संसदीय समितिका सभापतिहरूको उमेदवार तय गर्ने बताइएको छ ।

विपक्षी दलका नेता छलफलमा जुटे

काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् । संघीय संसदीय समितिका सभापतिमा उमेदवारीका विषयमा नेताहरूले छलफल गरिरहेका हुन् । सिंहदबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा छलफल जारी छ ।

छलफलमा कांग्रेसका अर्जुननरसिंह केसी, गुरुप्रसाद घिमिरे, भीष्मराज आङ्देम्बे, नेकपा (एमाले)की पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाललगायत नेता एवं सांसद सहभागी छन् ।

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४) हुने तय छ । त्यसनिम्ति आज (वैशाख ३) मनोनयनपत्र दर्ता गरिँदै छ । मनोनयनपत्र दर्ताका निम्ति दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ ।

सभापतिमा निर्वाचित हुन प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन आवश्यक हुन्छ । यही विषयमा निर्णय गर्न रास्वपा संसदीय दलको बैठक पनि सिंहदबारमा जारी छ ।

गृहमन्त्री गुरुङलाई भेटेर ब्रिटिस गोर्खाहरूले गरे नागरिकता निरन्तरताको माग

काठमाडौं। ब्रिटिस गोर्खाहरूले गृहमन्त्री सुधन गुरुङलाई भेटेर ब्रिटिस गोर्खा र तिनका सन्ततिहरूको नेपाली नागरिकता निरन्तरताको माग राखेका छन् ।

नागरिकता सम्बन्धी ऐनमा कुनै पनि नेपाली नागरिकले आफ्नो इच्छाले विदेशी नागरिकता लिएमा उसको वंशजको नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधान छ ।

यो प्रावधानले आफूहरू मार्कामा परेका ब्रिटिस गोर्खाहरूले बताएका छन् ।

गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएर फर्केका ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी), युकेका अध्यक्ष थर्क राना भन्छन्, ‘यो व्यवस्थाले ब्रिटिस गोर्खा र तिनका सन्ततिलाई अन्याय गरेको छ ।’

‘नागरिकता सम्बन्धी ऐनको प्रावधान संशोधन गर्नुपर्नेमा अध्यक्ष रानाको जोड छ । मौजुदा नागरिकता ऐनको दफा १० लाई संशोधन गरेर ‘७ नोभेम्बर १९४७ मा भएको त्रिपक्षीय सन्धि तथा अन्य सन्धि सम्झौताले व्यवस्था गरे अनुसार नेपाल र बेलायत सरकारको बन्दोबस्तमा भर्ती भई बेलायती सेनाबाट सेवा निवृत्त भएका तथा सेवारत गोर्खा साथै निजका सन्ततिहरूको हकमा भने उक्त दफा लागु हुने छैन । उनीहरूका वंशजको नेपाली नागरिकता निरन्तर कायम रहन्छ’ भन्ने प्रावधान राख्नुपर्ने उनीहरूको माग छ ।

रास्वपाको वाचापत्रमा ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने उल्लेख छ । यही कुरालाई आत्मसात गर्दै आफूहरूको माग सम्बोधन हुनुपर्ने माग लिएर गृहमन्त्रीलाई भेट्न पुगेको भूपू कल्याणकारी समितिका अध्यक्ष हुमबहादुर थापाले जानकारी दिए ।

मन्त्री गुरुङले आफूहरूको मागलाई सकारात्मक रुपमा लिँदै कानून मन्त्रालयमार्फत् संसद्मा लगेर छलफल गरिने बचन दिएका थिए ।

भेटबारे अध्यक्ष रानाले भने, ‘उहाँले आफ्नो पार्टीको वाचापत्रमै ‘एक पटकको नेपाली संधैको नेपाली भन्ने उल्लेख भएको स्मरण गर्नुभयो । हामीले गोर्खा सैनिक र अन्य गैरआवासीय नेपालको सन्दर्भ फरक हा्े, त्यसकारण हाम्रो नागरिकता सम्बन्धी माग जसरी पनि पुरा हुनुपर्छ भन्ने कुरा राख्यौं ।’

अर्थमन्त्रीसमक्ष व्यवसायीले राखे सहुलियतपूर्ण कर्जाको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी/व्यवसायीका समस्याप्रति ध्यानाकर्षण गराएको छ ।

महासंघले बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलतालाई साना व्यवसायीसम्म पुर्‍याउन तीन प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था गर्न माग आग्रह गरेको हो । भन्सार नाकामा तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया र दररेटका समस्या समाधान गरी आयात–निर्यातलाई सहज बनाउन ध्यानाकर्षण गराइएको पनि महासंघले जनाएको छ ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले व्यापारिक अवस्था निकै नाजुक रहेकोबारे अर्थमन्त्रीलाई भेटेर जानकारी गराएको बताए । उनका अनुसार, अहिले व्यापार/व्यवसाय उक्सिने स्थितिमा छैन । यद्यपि, नयाँ सरकार बनेपछि व्यवसायीमा एउटा आशाको किरण भने जागेको छ ।

“समग्रमा अहिले व्यापार–व्यवसायको अवस्था एकदमै नाजुक छ । अहिले नै व्यवसाय ह्वात्तै उक्सिने स्थिति नभए पनि हामी एउटा परिवर्तनको मोडमा छौँ,” उनले भने, “यद्यपि, व्यवसायीमा एउटा आशाको किरण भने पलाएको छ ।”

अहिलेको स्थिति उत्साहजनक नभए पनि सामान्य जीविकोपार्जन मात्र चलिरहेको उनको भनाइ छ । कटुवालका अनुसार, देशभरका व्यवसायीलाई खड्किएको एमआरपीको विषयमा अर्थमन्त्री वाग्लेसँग छलफल भएको छ ।

हाल मौज्दात रहेको स्टक र उत्पादित वस्तुमा उपभोक्तालाई सहज हुने गरी कसरी एमआरपी व्यवस्थापन गर्ने विषयमा पनि महासंघले सुझाव दिएको कटुवालले जानकारी दिए । उनका अनुसार, महासंघले स्थानीय सरकारलाई सुम्पिएको घरभाडा नीति स्पष्ट नभएको भन्दै सहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’का आधारमा वैज्ञानिक घरभाडा लागु गर्न अर्थमन्त्रीलाई भनेको छ ।

पञ्चायतकालदेखि नै केही सीमित संगठनको मात्रै अर्थतन्त्रसम्बन्धी सुझाव समितिमा वर्चस्व रहेको भन्दै महासंघले अब साना व्यवसायीका संस्थाहरूलाई पनि समावेश गर्न माग गरेको छ । यस विषयमा अर्थमन्त्रीले अब त्यस्तो नहुने र सबैलाई सहभागी गराइने प्रतिक्रिया दिएका कटुवालले जानकारी दिए ।

कटुवालका अनुसार, अर्थमन्त्रीले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने र काम गर्ने सहज वातावरण निर्माण गर्ने आश्वासन दिएका छन् । न्युज एजेन्सी नेपाल

सर्वसाधारणका लागि खुल्यो सोपान फर्मास्युटिकल्सको आईपीओ

काठमाडौं । बिहीबारदेखि आम सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीका लागि बाँडफाँट गरेपछि बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन भएको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० तथा अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारणले वैशाख ८ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

केयर रेटिङ नेपालले कम्पनीलाई बी रेटिङ प्रदान गरेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ । गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.८५ रुपैयाँ तथा प्रतिसेयर आम्दानी ०.७० रुपैयाँ छ ।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठ्माण्डौ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला १०० र चाँदी ३० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठ्माण्डौ- प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको सो छलफल सङ्घ प्रदेश सरकारसँग सम्बन्धित विविध महत्त्वपूर्ण र गहन विषयमा हुनेछ।

अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने सो छलफल सङ्घ–प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउने महत्त्वपूर्ण पहलका रूपमा पनि हेरिएको छ।

सचिवालयका अनुसार छलफलमा विकास–निर्माणका कार्यलाई तीव्रता दिने, स्रोतसाधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशको सहकार्यलाई अझ सुदृढ बनाउने विषय पनि छलफलको मुख्य ‘एजेण्डा’ हुनेछ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत आजको सो छलफलमा हुने अपेक्षा गरिएको छ।

बैठकलाई सङ्घीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने र जनतालाई  प्रत्यक्ष लाभान्वित गराउने महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

सेयर खरिद बिक्रीका लागि चौबिसै घण्टा अर्डर दिन सकिने व्यवस्था स्वीकृत

काठमाडौं । सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ । जुन प्रस्तावअनुसार खरिद बिक्री आदेशका लागि नियमित कारोबारको समय पर्खनु पर्दैन ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई समय सापेक्ष बनाई संशोधन प्रस्ताव धितोपत्र बोर्ड पठाएको थियो । नेप्सेले प्रस्ताव गरेका केही व्यवस्थामा परिमार्जन गरेर बोर्डले स्वीकृत गरेको छ ।

नेप्सेले प्रस्ताव गरेअनुसारको सर्किट ब्रेक, कम्पनीको सेयर मूल्यमा उतारचढाव सीमा, कारोबार आदेश गर्न सकिने समयमा केही हेरफेर गरेर सञ्चालक समितिले स्वीकृत गरेको बोर्डका एक अधिकारीले बताए।

‘नेप्सेले तीन वटा सर्किटको प्रस्ताव गरेको थियो,’ ती अधिकारीले भने, ‘बोर्डले स्वीकृत गर्दा २ वटामा सीमित गरेको छ, त्यसैगरी कारोबारका लागि अर्डर हाल्न मिल्ने समय कारोबार समयबाहेक साँझ ६ बजेदेखि बिहान ६ बजे प्रस्ताव गरेकोमा बोर्डले त्यसलाई चौबिसै घण्टा बनाएको हो ।’

कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समयपछि पनि अर्डर गर्न सकिने व्यवस्था गरेको ती अधिकारीको भनाइ छ । ‘नेप्सेको नियमित कारोबार दिउँसो ३ बजे बन्द हुन्छ, नयाँ व्यवस्थापछि बजार बन्द भए पनि खरिद बिक्री आदेश प्रविष्ट हुन्छ,’ उनले भने, ‘धितोपत्र प्राथमिक बजारका लगानीकर्ता दोस्रो बजारमा प्रवेश गराउनलाई पनि ‘अफ आवर’ खरिद/बिक्री आदेशको व्यवस्था गरिएको हो ।’

खोज्नुहोस