कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर। कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग निर्माण कम्पनीसँग सम्झौता भएको र सम्झौता मिति अगाडि नै पुल निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीले जानकारी दिए । “विसं २०७९ पुस महिनामा सम्झौता भएर सर्वेक्षणपछि २०८० मा निर्माण काम सुरु गरेका हौँ, असोजसम्म म्याद भए पनि असार अन्त्यसम्म काम सकेर सरकारलाई बुझाउने गरी काम भइरहेको छ”, उनले भने, “सम्झौता मितिभन्दा अगावै नै काम सक्छौँ ।”

चौध पिलरको पुलका सबै पिलर बनिसकेका छन् भने अहिले १२औँ स्पानमा काम भइरहेको छ । अबको १५ दिनभित्र त्यो पनि सकेर १३औँ स्पानको काम सुरु हुनेगरी काम भइरहेको उनको भनाइ छ । स्पानसँगै कैलालीतर्फको भागमा तटबन्धको काम पनि सँगसँगै भइरहेको छ ।

पुलको काम अन्तिम चरणमा पुग्नै लाग्दा अहिले नदी वारपार गर्ने मानिसहरु आधा पुल र आधा नदीको बाटो प्रयोग गरेर नदी वारपार गरिरहेका छन् । नदीको पानी ‘डाइभर्सन’ गरिएकाले पहिलेको जसरी डुङ्गाको सहायतामा नदी पार गर्नुपर्ने अवस्था नागरिकको अहिले नै टरेको छ । आफ्नै सवारीसाधन प्रयोग गरेर नदी वारपार गरिरहेका कैलालीको टीकापुरका भरत विकले बताए । “रकम तिरेर डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता थियो, अब टरेको छ,” उनले भने, “यो पुल निर्माण सकिएमा कैलाली र बर्दियाका नागरिकलाई धेरै राहत हुन्छ ।”

अर्का नागरिक जनकबहादुर विष्टलाई पनि पुल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा आफ्नै सवारीसाधन चलाएर नदी पार गर्न पाउँदा निकै खुसी लागेको छ । “हामी कैलालीका नागरिक अधिकांशको खेतीपाती बर्दियामा छ, नियमित जसो आउजाउ गर्नुपर्ने वाध्यता छ”, उनी भन्छन्, “विगतमा पुल नहुँदा निकै कठिनाइ झेलेका छौँ, अब ढुक्कले वारिपारि गर्न पाइने भयो ।”

कैलालीका नागरिकको खेतीपाती बर्दियामा छ भने बर्दियाका नागरिक किनमेल र उपचारका लागि टीकापुर जाने गर्दछन् । पुलले दुवै जिल्ला मात्र नभई सुदूर र लुम्बीनी प्रदेशलाई नै जोड्ने भएकाले सहज भएको स्थानीय झपट कडायत बताउछन् । “डुङ्गाको यात्रा गर्न डर लाग्ने भएकाले सत्ती पुल हुँदै आउजाउ गर्ने गर्थे,” उनले भने, “अब बर्दिया आउजाउ गर्दा २० किलोमिटर दूरी कम हुनेछ ।”

बर्दियाको गेरुवा गाउँपालिका–१ सर्खोलका करण चौधरीलाई पनि अहिले कैलाली र बर्दिया आउजाउ गर्न सहज भएको छ । पहिले एकतर्फी डेढ दुई घण्टा समय लाग्ने गरेको र अहिले एक घण्टामै दुईतर्फीको यात्रा सकिने गरेको छ । “पुल पूर्ण नहुँदै यसरी सहज रुपमा नदी वारपार गर्न पाएकामा धेरै सुविधा भएको छ”, उनी भन्छन्, “आउँदो बर्खा अगाडि नै पुल निर्माण सम्पन्न होस् र सहज रुपमा ठूला सवारीसाधन पनि चल्ने वातावरण बनोस् ।”

रु एक अर्ब १८ करोड लागतमा निर्माण भइरहेको पुलको लम्बाइ ७५२ मिटर रहेको छ भने पुलको चौडाइ ११ मिटर जसमा ७ दशमलव ५ मिटर गाडी हिँड्ने र बाँकी दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहेको छ ।

निर्माण कम्पनीले  सरकारसँग २०८३ असोज १७ गतेभित्र पुल निर्माण काम सक्नेगरी २०७९ पुस १७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार पुल निर्माणसँगै पुलको दुवैतर्फ ५०० मिटर पहुँच मार्ग र दुवैतर्फ एक हजार १५ मिटर नदी नियन्त्रणको काम पनि गरिरहेको छ ।

यसअघि यी दुई जिल्लाका मानिसले चिसापानीस्थित कर्णालीको पुल र हुलाकी राजमार्गको सत्ती घाटको पुल विकल्पका रुपमा प्रयोग गर्दै आएका थिए । यो पुल निर्माण भएसँगै अब कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीन वटा पुल हुनेछन् । २०५० सालमा सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा कर्णाली चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली नदीकै सत्तीघाटमा पुल सञ्चालनमा छन् । -रासस

सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सदस्यहरूको आधिकारिक पहिचान, मूल्य र सन्देशलाई समेट्ने गरी प्रदेश सभाको नयाँ प्रतीकचिन्ह (लोगो) निर्धारण गरिएको छ । यसअघि भएको लोगोमा रहेको दुई वटा हिमाल हटाएर नयाँ लोगो निर्धारण गरिएको हो । लोगोमा अङ्कित प्रत्येक अङ्कले निश्चित अर्थ बोकेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

लोगो गोलाकार आकृतिमा आधारित रहेको छ । यसमा फिक्का खैरो रङको पृष्ठभूमिमा लोगोको दायाँ र बायाँ भागमा अर्धवृत्ताकार दुई वटा धानका बाला रहेका छन् । लोगोको केन्द्र भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिमको भागलाई पहिलो गाढा रङले सङ्केत गरिएको छ । लोगोको अग्र भागमा राष्ट्रिय झन्डा रहेको छ भने लोगोको तल्लो भागमा देवनागरी लिपीमा सुदूरपश्चिम प्रदेश सभा लेखिएको छ ।

सुनौलो रङका दुई वटा धानको बालाले उत्पादनशीलता, समृद्धि र आर्थिक आधारको प्रतीकका रूपमा प्रदेशको कृषि प्रधान चरित्रलाई झल्काउने गरेको सभामुख भण्डारीले बताए । यसै गरी लोगोको केन्द्र भागमा राखिएको नेपालको नक्साले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई सङ्केत गरेको जनाइएको छ । नेपालको नक्सालाई हल्का फिक्का रङले देखाइएको छ भने प्रदेशको भाग गाढा रङले अङ्कित गरिएको छ । यसले समग्र राष्ट्रभित्र प्रदेशको स्थानलाई सन्तुलित ढङ्गले देखाउने गरेको जनाइएको छ । नक्साको अग्रभागमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ । यसले एक राष्ट्रिय गौरव र स्वाभिमानलाई प्रतिनिधित्व गरेको छ । साथै प्रदेश सभा राष्ट्रप्रति उत्तरदायी रहेको सन्देश दिएको छ । यसले सङ्घीय प्रणालीमा राष्ट्रिय एकताको आधारलाई बलियो बनाउने सभामुख भण्डारीले उल्लेख गरे ।

लोगोमा प्रयोग गरिएको रातो रङले साहस, ऊर्जा र राष्ट्रियता, पहेँलो रङले पहिचान, विशेषता र महìव, खैरो फिक्का रङले सन्तुलन एवं पृष्ठभूमिलाई बुझाउने गरेको जनाइएको छ । लोगोको तल्लो भागमा लेखिएको सुदूरपश्चिम प्रदेश सभा लेखावटले संस्थाको आधिकारिक नामलाई प्रष्ट पार्ने गरेको सभामुख भण्डारीले जानकारी दिए। यसले लोगोको औपचारिकता र प्रमाणिकता बढाउने गरेको जनाइएको छ ।

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

 डडेल्धुरा।  डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।  विक्रम संवत् २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री सङ्कलन र संरक्षण गर्ने काम सुरु गरेको हो ।

पछिल्लो समय ग्रामीण समाजमा प्रयोग हुँदै आएका परम्परागत सामग्रीहरू क्रमशः लोप हुँदै गएका छन् । बजारको विस्तार, आधुनिक जीवनशैलीको प्रभाव र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण घरघरमा रहेका पुराना वस्तुहरू हराउँदै गएका छन् । यही अवस्थालाई मध्यनजर गर्दै पुस्तकालयले हराउँदै गएका सामग्रीहरू एकै ठाउँमा सुरक्षित राख्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरेको जानकारी पुस्तकालयका कार्यालय प्रमुख पुष्करबहादुर देउवाले दिए ।

उनका अनुसार सङ्ग्रहालय स्थापना गर्नुको मुख्य उद्देश्य पुर्खाहरूले प्रयोग गरेका सामग्रीहरू सुरक्षित राख्दै भावी पुस्तालाई आफ्नो मौलिक पहिचानसँग परिचित गराउनु हो । उनका अनुसार पुराना लुगा, गरगहना, दैनिक प्रयोगका सामग्री तथा परम्परागत हतियारहरू क्रमशः हराउँदै गइरहेकाले ती सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राख्ने काम अघि बढाइएको छ ।

सङ्ग्रहालयमा हाल विभिन्न प्रकारका परम्परागत सामग्रीहरू राखिएका छन् । कृषिसँग सम्बन्धित हलो, जुवा, नाम्लो, दाम्लो जस्ता उपकरणहरूदेखि निगालो र बाँसबाट बनेका डालो, सुप्पो, भकारी जस्ता अन्न भण्डारणका सामग्रीहरू यहाँ समेटिएका छन् । यी सामग्रीहरूले पुरानो कृषि प्रणाली र ग्रामीण जीवनशैलीको झल्को दिन्छन् ।

त्यसैगरी, गुन्यूचोलो, पैसाको माला, अठन्नी–चौअन्नी जस्ता गहनाहरूले विगतको सामाजिक र सांस्कृतिक अवस्थालाई झल्काउने अमरगढी नगरपालिका–५ का कामदेव ओझाले बताए ।

विवाह संस्कारसँग सम्बन्धित डोली, जाँतो, ढिक्की तथा समय मापनका लागि प्रयोग हुने घडीपला जस्ता सामग्रीहरू पनि सङ्ग्रहालयमा राखिएको र तिनले पुरानो पुस्ताको जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उनले उल्लेख गरे ।

सङ्ग्रहालय स्थापना गर्ने अवधारणा २०७३ सालमा अघि सारिएको र सुरुआती चरणमा डिभिजन वन कार्यालयको सहयोगमा काम सुरु गरिएको पुस्तकालयका अध्यक्ष गजेन्द्र साहीले बताए ।

यसपछि अमरगढी नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको र पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिबाट समेत केही सामग्री प्राप्त भई सङ्ग्रहालय थप समृद्ध बन्दै गएको उनले बताए ।

सङ्ग्रहालयका लागि सामग्री सङ्कलन गर्ने कार्य अझै जारी रहेको छ । साहीका अनुसार गाउँ–गाउँमा पुगेर पुराना सामग्री खोज्ने, आवश्यक परे मूल्य तिरेर ल्याउने तथा स्वेच्छिक रूपमा प्राप्त सामग्रीहरूलाई दाताको नामसहित सङ्ग्रहालयमा राख्ने अभ्यास गरिएको छ ।

यद्यपि, सामग्री सङ्कलनका क्रममा केही चुनौतीहरू पनि देखिएका छन् । देउवाले पछिल्लो समय व्यापारीहरूले स्टिल र प्लास्टिकका भाँडाकुँडासँग साटेर पुराना कासा र तामाका भाँडाहरू लैजाने प्रवृत्ति बढेकाले यस्ता सामग्रीहरू तीव्र रूपमा हराउँदै गएको बताएका छन् । यसले सङ्ग्रहालयका लागि आवश्यक सामग्री सङ्कलन गर्न झन् कठिन बनाउँदै लगेको उनको भनाइ छ ।

आगामी दिनमा अझ धेरै सामग्री संकलन गरी सङ्ग्रहालयलाई विस्तार गर्ने योजना रहेको उनले बताए ।    -रासस

सुनको मूल्यमा गिरावट

काठ्माणडौ- सोमबार (आज) नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। हिजो (आइतबार) प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज कमी देखिएको छ। आइतबार प्रतितोला चार हजार ९७५ रुपैयाँमा खरिद-बिक्री भएको चाँदी आज ७५ रुपैयाँले घटेर चार हजार ९०० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारका लागि दैनिक मूल्य निर्धारण गर्ने गरेको छ।

एसइई नतिजा २८ वैशाखमा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा २८ वैशाखमा सार्वजनिक हुने भएको छ । आइतबार परीक्षा सकिएकोमा उत्तरपुस्तिका परीक्षण पनि सकिएको छ । एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने सरकारको नीतिअनुसार परीक्षा भएकै दिन सम्बन्धित विषयको कापी परीक्षा केन्द्रहरूमै जाँचिएको थियो ।

विगतमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण केन्द्रमा पु¥याउनै एक साता लाग्थ्यो । त्यसपछि परीक्षणसहित सम्पूर्ण प्रक्रिया सकेर नतिजा सार्वजनिक गर्न तीन महिना लाग्थ्यो । तर, यसपटक नयाँ कार्यविधि बनाएर ‘फास्ट ट्र्याक’मा काम गरिएको हो । ‘विगत वर्षहरूमा उत्तरपुस्तिका परीक्षणमा एक महिना लाग्थ्यो, तर यसपटक परीक्षा सकिएको करिब–करिब तीन घण्टामै परीक्षण सम्भव भयो,’ राष्ट्रिय परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णुप्रसाद ज्ञवालीले भने, ‘जहाँ–जहाँ परीक्षा भयो, त्यहीँ परीक्षण भयो । अब २८ वैशाखमा नतिजा प्रकाशन गर्ने गरी तयारीमा लागेका छौँ ।’

शिक्षामन्त्री सस्मित पोखरेलले विगतको ढिलासुस्ती अन्त्य गर्न परीक्षाकै दिन उत्तरपुस्तिका परीक्षण गर्न बोर्डलाई निर्देशन दिएका थिए । सुदूरपश्चिम, कर्णाली र अन्य प्रदेशका पनि हिमाली जिल्लाबाट उत्तरपुस्तिका बोर्डमा ल्याउन समय लाग्ने भएकाले यसका लागि बोर्डले ५ वैशाखसम्मको समय दिएको छ ।

उपत्यका र उपत्यकानजिकका जिल्लाबाट भने सोमबारदेखि नै उत्तरपुस्तिका र मार्कस्लिप बोर्डमा आइसक्ने डेपुटी कन्ट्रोलर ज्ञवालीले बताए । शिक्षा विकास तथा समन्वय इकाइ र प्रहरीको समन्वयमा उत्तरपुस्तिका र मार्कस्लिप बोर्डमा ल्याइनेछ । त्यसपछि २० वैशाखसम्म सबै विवरण सिस्टममा अद्यावधिक गरिने बोर्डले जनाएको छ । अद्यावधिकपछि प्राविधिक रुजु र प्रमाणीकरण हुनेछ । यी सबै काम सकेपछि बोर्ड बैठक बसेर २८ वैशाखमा नतिजा प्रकाशन गरिने ज्ञवालीले जानकारी दिए ।

विगतमा बोर्डले नतिजा प्रकाशन गर्ने मिति नतोक्ता विद्यार्थी अलमलमा पर्थे भने सिस्टममा समस्या आउँदा नतिजा हेर्न हैरानी व्यहोर्नुपथ्यो । बोर्डले भोलिपल्ट मात्रै आफ्नो वेबसाइटमा राख्थ्यो । यसपटक नतिजा सार्वजनिक भएलगत्तै बोर्डको साइटमा विद्यार्थीको विवरणसहितको नतिजा प्रकाशन गर्ने तयारी पनि गरेको छ ।

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढी ।  धनगढी जेसिजले आयोजना गर्दै आएको ‘धनगढी दौडिन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन गरिएको छ । हरेक वर्ष बैशाख १ गते आयोजना गरिँदै आएको उक्त हाफ म्याराथन यस वर्ष भने बैशाख १८ गते आयोजना गर्ने निर्णय गरिएको हो ।

आइतबार धनगढीमा बसेको जेसिजको बोर्ड बैठकले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय गरेको हो । बैठक धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस ‘धनगढी दौडिन्छ’ भन्ने मूल नारासहित आयोजना गरिने हाफ म्याराथनको मुल संयोजकका रूपमा दिपेश बोहरालाई चयन गरिएको छ ।
आयोजकका अनुसार तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन मिति परिवर्तन गरिएको हो । कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।


चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ निस्कासन गर्ने

काठमाडौं- चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर निस्कासन (आइपिओ) गर्ने भएको छ ।

कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी रु ५० करोड रहेको छ ।

साधारणसभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र छ जना सञ्चालक निर्विरोध चयन गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन् । साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ ।

होल्डिङ कम्पनीका रूपमा रहेको उक्त संस्थाले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।

फोनपेले सक्यो देशव्यापी वित्तीय साक्षरता अभियान

काठमाडौं । डिजिटल भुक्तानी सेवामा अग्रणी संस्था फोनपेले ‘ग्लोबल मनी वीक २०२६’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।

मार्च २३ देखि २९ सम्म सञ्चालन भएको उक्त अभियान ‘स्मार्ट मनी टक्स’ भन्ने मूल सन्देशमा केन्द्रित रहेको थियो ।

फोनपेले अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयबारे सचेत बनाउने लक्ष्य राखेको जनाएको छ ।

कार्यक्रमअन्तर्गत विभिन्न शैक्षिक संस्थामा प्रत्यक्ष सहभागितामूलक गतिविधि सञ्चालन गरिएको थियो ।

कम्पनीका अनुसार देशका ४ प्रदेशका ६ सहरमा रहेका १२ कलेजमा १८ वटा सत्र सञ्चालन गरी एक हजार ९० भन्दा बढी विद्यार्थीलाई प्रत्यक्ष रूपमा लाभान्वित गरिएको छ ।

त्यसैगरी पाँच प्रदेशका नौ सहरमा २८ विद्यालयमार्फत चार हजार ९६१ भन्दा बढी विद्यार्थीहरूलाई कार्यक्रममार्फत सहभागी गराइएको थियो ।

कार्यक्रममा मनोरञ्जनात्मक खेल, प्रश्नोत्तर तथा नाटकजस्ता गतिविधिमार्फत विद्यार्थीहरूलाई खर्च व्यवस्थापन, बचत गर्ने बानी तथा सही वित्तीय जानकारीबारे शिक्षित गरिएको थियो । यस्ता क्रियाकलापले सिकाइलाई रोचक र प्रभावकारी बनाएको जनाइएको छ ।

यसै अभियानअन्तर्गत आयोजित विद्यार्थी अवलोकन कार्यक्रममा काठमाडौं उपत्यकाका ४० भन्दा बढी विद्यार्थीलाई फोनपे कार्यालयमा आमन्त्रण गर्दै अन्तरक्रियात्मक खेल तथा डिजिटल भुक्तानी र वित्तीय सुरक्षासम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।

डिजिटल माध्यमबाट पनि अभियानलाई विस्तार गर्दै छोटा नाट्य भिडियो, संवाद आधारित सामग्री, मनोरञ्जनात्मक सामग्री, प्रश्नोत्तर तथा ‘स्मार्ट मनी टिप्स’ मार्फत व्यापक जनचेतना फैलाइएको कम्पनीले जनाएको छ ।

फोनपेले सुरक्षित र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै यस्ता वित्तीय साक्षरता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

‘आजाउ माया करु’ गीतको म्युजिक भिडियो सार्वजनिक

पश्चिम टुडे, धनगढी २९ चैत । ‘आजाउ माया करु’ गीतको म्युजिक भिडियो आईतबार सार्वजनिक गरिएको छ ।

सेविल ईन्टरटेनमेन्ट नामको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा आर.के थारु र जलजला परियारको स्वर रहेको छ भने म्युजिक भिडियोमा अजय राना र स्मिता पच्छलडङ्ग्याले अभिनय गरेका छन् ।
प्रदिप थारुले निर्देशित गरेको म्युजिक भिडियो नेपालको सुन्दर पर्यटकीय स्थल मनाङ जिल्लाका विभिन्न स्थानमा छायाँकन गरिएको थियो ।

प्रधानमन्त्री कप : सुदूरपश्चिम र गण्डकी विजयी

काठमाडौँ। सुदूरपश्चिम र गण्डकी प्रदेशले धानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार जित निकालेका छन् ।

जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५६ रनले हरायो । यस्तै वीरगन्जमा भएको खेलमा अर्जुन कुमालको शतकमा गण्डकीले लुम्बिनी प्रदेशलाई आठ विकेटले हरायो ।

जनकपुरमा जितका लागि एक सय ९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५.१ ओभरमा सबै विकेटको क्षितमा एक सय ३५ रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४०.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रनको योगफल खडा गरेको थियो ।

यस्तै वीरगन्जमा जितका लागि दुई सय आठ रनको लक्ष्य पछ्याएको गण्डकीले ४४.१ ओभरमा दुई विकेटको क्षतिमा दुई सय ११ रन जोड्दै लक्ष्य पूरा गरेको हो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो ।

गण्डकीको जितमा अर्जुन कुमालले अविजित एक सय तीन रनको शतकीय पारी खेले । यससँगै अर्जुन प्रधानमन्त्री कपको जारी संस्करणमा दोस्रो तथा प्रधानमन्त्री कपमा तेस्रो शतक हान्ने खेलाडी बनेका छन् ।

जितसँगै दोस्रो स्थानमा रहेको सुदूरपश्चिमको आठ खेलबाट १० अङ्क छ । पराजित पुलिस सात खेलबाट नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको आर्मीको सात खेलबाट १३ अङ्क छ । यस्तै गण्डकीको आठ खेलबाट सात अङ्क जोड्लै आठौँ नै स्थानमा छ । पराजित लुम्बिनी सात अङ्कसहित सातौँ स्थानमा छ ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् ।

बैतडीमा २१ लाख बढीका अवैध सामान बरामद

बैतडी। बैतडीमा २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको हो ।

आज बिहान ३:०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री र अन्य किरानाका सामान बरामद गरिएको हो ।

सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नतृेत्वमा खटिएको मोबाइल टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

‘केही दिन पहिलेदेखि भन्सार छलीका सामान भित्रिँदैछन् भन्ने गोप्य सूचना पाएका थियौं’, उनले भने, ‘सोहीअनुसार जिल्लाबाट खटिएको टोलीले जाँचबुझ गर्दा ती सामान फेला पारेको हो ।’

भन्सार छलीका सामान भिर्त्याउने कार्यमा संलग्न व्यक्तिहरू भने प्रहरीको टोली देख्नेबित्तिकै भागेका सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ ।

गृहमन्त्री गुरूङले पिर्के सलामी नलिने

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। औपचारिक कार्यक्रममा नेपाल प्रहरीले उच्च ओहदाका व्यक्तिलाई पिर्कामा चढाएर सलामी दिने गरिए पनि गृहमन्त्री गुरूङले भने आफू पिर्कामा नजाने निर्णय गरेका हुन्।

आइतबार नवलपुरको सशस्त्र प्रहरी बलको कार्यालय पुगेका गृहमन्त्री गुरूङले पिर्के सलामी नलिने निर्णय गरेको उनको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरुङलाई डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए।

उक्त समारोहमा नवलपुरका सहायक सीडीओ चिरन्जिबी राना,एसपी युवराज खड्का,अनुसन्धानका एपसी अभिनय कुमार सिंहलगायत सहभागी थिए।

कांग्रेस संसदीय दलको चुनाव वैशाख ४ गते हुने

नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि वैशाख ४ गते निर्वाचन हुने भएको छ।

वैशाख ४ गते निर्वाचन गर्ने गरी कार्यतालिका ल्याउने तयारी छ।

सहमहामन्त्रीसमेत रहेका निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ ले वैशाख २ गते संसदीय दल नेता चयनबारे निर्वाचन कार्यतालिका ल्याइने बताए।

‘निर्वाचन समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका ल्याउँछ, ४ गते निर्वाचन हुन्छ,’ उनले भने, ‘सर्वसम्मत नभए प्रतिस्पर्धाद्वारा संसदीय दल नेता चयन हुन्छ।’

प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्।

कांग्रेसमा पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, सांसदहरू मोहन आचार्य, निश्कल राई, बासना थापालगायत संसदीय दल नेताका आकांक्षी छन्।

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

धादिङ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र जनताका लागि तटस्थ रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघले आइतबार धादिङमा आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए । संविधान संशोधनका साथै  नयाँ कानुन बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ छ ।

“विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु”, उनले भने ।

जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्र्याक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता उनले जनाए । बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनको भनाइ छ । रासस

भारतीय गायिका आशा भोसलेको निधन

मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।

केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।

उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् ।

उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।

भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय र अत्यन्तै सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो ।

सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् । त्यसपछिका तीन दशकसम्म उनी अधिकांश संगीतकारहरूको रोजाइकी गायिका बनिरहेकी थिइन् ।

सुरुआती समयमा उनलाई नृत्यप्रधान गीतमा मात्र सीमित गरिए पनि उनले आफ्नो दायरा फराकिलो बनाउँदै ‘उमराव जान’ जस्ता फिल्ममा गजल गायनमा पनि उत्कृष्टता देखाइन् ।

उनी फिल्मफेयर उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । साथै, ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन् ।

सन् २०२३ मा हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा आशा भोसलेले समकालीन संगीतबारे आफ्ना विचार व्यक्त गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘साँचो भन्नुपर्दा म आजकालका गीतहरू सुन्दै सुन्दिनँ । यदि गीत सुन्नैपर्छ भने म भिमसेन जोशीका गीत, शास्त्रीय संगीत र गजल सुन्छु । त्यसबाट सिक्ने मौका मिल्छ र आफ्नै गायनलाई अझ राम्रो बनाउने अभ्यास पनि हुन्छ । यसले मेरो गायन क्षमता झन् निखारिन्छ र म अझ राम्रोसँग गाउन सक्छु ।’

उनले अहिलेका गीतबारे थप्दै भनेकी थिइन्, ‘आजकल उत्कृष्ट शब्द भएका गीतहरू कमै पाइन्छन् जस्तो लाग्छ । कहिलेकाहीँ सुन्छु र केही राम्रो गीत पनि भेटिन्छन्, जस्तै राहत फतेह अली खान र सुनिधि चौहानका । तर म धेरैजसो संगीत सुन्दिनँ । यदि सुन्नै परे भने पुराना गीतहरू नै सुन्छु ।’

क्यानले गर्‍यो करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ ।

विभागीय टिम नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणलाई क्यानले आइतबार (चैत २९) एक खेलका निम्ति प्रतिबन्ध लगाएको हो ।

शनिबार (चैत २८) करणले सामाजिक सञ्जालमा यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला ? भनेर सामाजिक सञ्जाल ‘एक्स’मा कमेन्ट गरेका थिए । आइतबार संघले उनको यही कमेन्टप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही गरेको हो ।

संघले करणलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिबाना तिराउने निर्णय गरेको छ ।

“प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत खेलहरू सञ्चालन भइरहेका क्रममा नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,” क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हाल उनी आबद्ध पुलिस तालिकाको तेस्रो स्थानमा छ । सात खेल खेलेको पुलिसले चार जित र दुई हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पुलिसको एक खेल भने रद्द भएको थियो ।

जैविक विविधता र वनस्पति संरक्षणमा वनमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएकी छिन् ।

साथै, उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताएकी छिन् ।

वनस्पति दिवसका अवसरमा आज (चैत २९) यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने बताइन् ।

मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको बताउँदै समयमै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै जोखिममा पर्ने चेतावनी दिइन् ।

“नेपाल जैविक विविधतामा धनी राष्ट्र हो, विशेषगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका दृष्टिले हाम्रो देश महत्त्वपूर्ण स्थानमा छ,” मन्त्री चौधरीले भनिन्, “तर अझै पनि कच्चा पदार्थका रूपमा निर्यात गर्ने परम्परा तोड्न सकेका छैनौँ ।”

मन्त्री चौधरीले जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य भएको बताइन् ।

देशमा उपलब्ध जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी औषधि विकासलाई उन्नत चरणसम्म पुर्‍याउनुपर्ने बताइन् ।

बौद्धिक सम्पत्ति अधिकार, भौगोलिक संकेत, दर्ता तथा अनुसन्धान संस्थाको प्रभावकारिता मापनलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ ।

परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको मन्त्री चौधरीको भनाइ थियो । -रासस

बिसु पर्व मनाउन फर्किदैछन् स्थानीयहरु

कैलाली। सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाउन गाउँघरमा चहलपहल बढेको छ । चैतको सुरुआतदेखि बिसु मनाउन बाहिर रहेका आफन्तहरु घर फर्कन थालेका छन् ।

बिसुपर्वका लागि घर जाने तथा आउनेहरूको भारतीय सीमानाका र बसपार्क क्षेत्रमा दिनहुँ भिड लाग्ने गरेको छ । वर्षभरी भारतमा मजदुरी गरेर परिवारसँग नयाँ वर्ष मनाउन पाउँदा उनीहरूमा उत्साह देखिएको छ ।

रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाको समेत यतिबेला घर फर्कनेक्रम बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वका नामले धुमधाम साथ मनाउने प्रचलन रहेको छ ।

यस प्रदेशमा रहेका कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा दिनहुँ हजारौँको संख्यामा नेपाली घर फर्किरहेका छन् । गाउँघरमा समेत चहलपलह बढेको छ । गाउँघरमा लिपपोत गर्ने, मिठामसिना खानाका परिकार बनाउने गरिएको पाइन्छ ।

बिसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउने गरेका छन् । बिसुपर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको छ ।

मजदुरीका लागि भारत पसेका डोटीका हर्कबहादुर महरा नयाँ बर्ष र बिसु पर्व मनाउन तीन वर्षपछि घर आएको बताए । यतिबेला घर फर्किनु भएकाहरू धेरैजसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका छन् ।

त्यस्तै, कैलालीको त्रिनगर नाकामा घर फर्कदै गरेका अछाम साँफेबगरका किसन बिक पनि परिवारसँग बिसु पर्व मनाउन दुई बर्षपछि आएको बताए । उनले विशु पर्वसँगै हिउँदेबाली पनि भित्र्याउनु पर्ने भएकाले घर आएको बताए ।

बिसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दैआएका पहाडी समुदायमा एकआपसमा सिस्नु लगाएर रमाइलो गर्ने प्रचलन रहेको छ ।

बिनाभिसा आवत–जावत गर्न र सहजै रोजगारी प्राप्त हुने भएकाले पनि यस क्षेत्रका नेपालीको प्रमुख रोजगारीको गन्तव्य छिमेकी राष्ट्र भारत बन्न पुगेको हो । यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गरेका छन् ।

बैतडीमा २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण दिन निर्देशन

बैतडी। सडक डिभिजन कार्यालय बैतडीले सम्झौता अनुसार काम नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र निर्माण कार्य सम्पन्न नगरेको, भौतिक प्रगति अत्यन्त न्यून रहेको तथा पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि बेवास्ता गरिएको जनाएको छ ।

उक्त अवस्थालाई गम्भीर रूपमा लिँदै सम्बन्धित व्यवसायीलाई अन्तिम चेतावनी समेत दिइएको छ ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र ठेक्का सम्झौताका सर्तअनुसार ती ठेक्काहरू किन रद्द नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको कार्यालयले जनाएको छ ।

सूचनाअनुसार सम्बन्धित निर्माण व्यवसायीहरूले १५ दिनभित्र कार्यालयमा उपस्थित भई विश्वसनीय स्पष्टीकरण सहित तत्काल निर्माण कार्य सम्पन्न गर्ने ठोस कार्ययोजना पेश गर्नुपर्नेछ ।

तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरण नआएमा ठेक्का सम्झौता रद्द गरिने तथा सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राख्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ ।

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आइतबार शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराएका थिए ।

साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदायसमक्ष बहुपक्षीयता प्रति नेपालको प्रतिबद्धता

काठमाण्डौ- सरकारले बहुपक्षीयताप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको बताएको छ ।

न्युयोर्कमा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले बहुपक्षीयता र अन्तर्राष्ट्रिय ऐक्यबद्धताप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको हो । राष्ट्रसङ्घका लागि न्युयोर्कमा नेपालको स्थायी नियोगले आज विश्व संस्थाको  मुख्यालयमा २६३ औँ नेपाली सेना दिवस तथा राष्ट्रसङ्घीय शान्ति सेनामार्फत द्वन्द्वग्रस्त विश्वका विभिन्न देशमा शान्ति स्थापनामा ६८ वर्षदेखि निरन्तर योगदान गरेको सन्दर्भमा आयोजना गरेको  विशेष स्वागत समारोहमा नेपालले राष्ट्रसङ्घलाई केन्द्रमा राखेर वर्तमान विश्वले झेलेका चुनौती बहुपक्षीयताको प्रवर्द्धनबाट सामना गर्न सकिने बताएको हो ।

राष्ट्रसङ्घका लागि  नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली सेनाको गौरवशाली इतिहासबारे जानकारी दिएका नियोगले जनाएको छ । नेपाली सैनिकको सेवा, बलिदान र व्यावसायिकताबाट परिचित राष्ट्रिय संस्थाले राष्ट्रिय अखण्डताको रक्षा गर्नुका साथै विश्व शान्ति र सुरक्षाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राजदूत थापाले बताए ।

अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिकले विभिन्न राष्ट्रसङ्घीय ‘मिसन’मा सेवा गरिसकेको उल्लेख गर्दै नेपालले बहुपक्षीयता र अन्तर्राष्ट्रिय ऐक्यबद्धताप्रति आफ्नो दृढ प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आएको उनले बताए ।

राष्ट्रसङ्घका उपमहासचिव जिन पियर लाँक्रोले नेपाली शान्ति सैनिकको समर्पण र व्यावसायिकताको प्रशंसा गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरेका थिए ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, सैन्य तथा प्रहरी सल्लाहकार, राष्ट्रसङ्घका उच्चअधिकारी, नेपालका मित्र तथा पूर्वसैनिक अधिकारीहरूको उपस्थिति थियो ।

स्थायी बसोबास र रोजगारी पाउने आसमा कैलालीका मुक्त कमैया

कैलाली। कैलालीका विभिन्न पालिकामा बसोबास गर्ने मुक्त कमैयामध्ये धेरैको अझै बसोबासको ठेगान छैन । मुक्त भएको २५ वर्ष पुग्न लाग्दा उनीहरूले मुक्त कमैयाको परिचयपत्र त पाएका छन् तर आफ्नो नाममा जग्गाधनी पुर्जा भने पाएका छैनन् ।  कैलालीको घोडाघोडी नगरपालिका–८, आमफाँटा मुक्त कमैया बस्तीका रामलाल चौधरीले परिचयपत्र पाए पनि अहिलेसम्म आफ्नो भाइले जग्गा नपाएको बताए । आफूसँगै बसेका भाइ शिवप्रसाद अहिले रोजगारीका लागि भारतमा रहेको उनले जानकारी दिए ।

उनले राज्यसँग धेरै पटक आफ्ना समस्या राखे पनि मुक्त कमैयाको समस्या सुनुवाइ नभएको गुनासो गरे । उनले भने, “पहिला भाइले रातो परिचयपत्र पाउन छुट्यो । अहिले परिचयपत्र, छ बसोबासको व्यवस्था छैन ।” घोडाघोडी नगरपालिका–४, बाटुलीचौरमा २१ घर मुक्त कमैयाको अस्थायी शिविर छ । परिचयपत्र पाएका तर बसोबासको ठेगान नभएका उनीहरू २०६० सालमा बाटुलीचौरमा अस्थायी रूपमा बस्दै आएका छन् । शिविरका जुगराम चौधरीले सरकारबाट जग्गा पाउन छुटेका आफूहरूको अहिलेसम्म व्यवस्था हुन नसकेको गुनासो गरे । नयाँ सरकारले आफूहरूका लागि केही गर्छ कि भन्ने आस पलाएको उनले बताए ।

मुक्त कमैया बस्तीमा अर्को मुख्य समस्याका रूपमा बेरोजगारी रहेको छ । रामलाल र जुगरामका छोराबुहारी काम गर्न भारत गएका छन् । रामलालले १३ जना रहेको आफ्नो परिवारमा छ जना भारतमा काम गर्न गएको बताए । “यतै रोजगारी पाएको भए भारत जाने थिएनन् । नेपालमै उद्योग, कलकारखाना खुले त हामीले काम पाउने थियौँ, उनले भने । सरकारले दिएको पाँच कट्ठा जमिनमा घरबास बनाएका शिविरका अधिकांश कामको खोजीमा भारत जाने गर्छन् । आमफाँटा शिविरका टीकादेवी चौधरीले गाउँका अधिकांश युवा कामका लागि भारत जाने गरेको बताए । उनले भारतमा जोखिम मोलेर काम गर्दा कतिपयले उतै ज्यान गुमाउने गरेको दुःखेसो गरे ।

आमफाँटा शिविरमा दुई सय परिवार मुक्त कमैया छन् । घोडाघोडी नगरपालिकाका–१२ वटा वडामा मुक्त कमैया शिविर रहेका छन् । कैलालीमा सबैभन्दा बढी मुक्त कमैया शिविर रहेको घोडाघोडी नगरपालिकालाई मानिन्छ । मुक्त कमैयाले जग्गा पाउन छुटेकाका लागि लालपुर्जासहितको बसोबासको व्यवस्था र नेपालमै काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग मौरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

काठमाडौं । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मौरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मौरिसस र सिंगापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री खनालले मौरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री एचइ धनञ्जय रामफल र सिंगापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एचइ जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल गरेका थिए । -रासस

सामान्य बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत २९) सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघिको कारोबार दिन शुक्रबार (चैत २७) दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो ।

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा पाँचथरमा एक युट्युबर प’क्राउ

पाँचथर। युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

‘Hades’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।  -अनलाइनखबरबाट

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न कैलालीका निर्माण व्यवसायीको माग

धनगढी। कैलालीका निर्माण व्यवसायीले निर्माण उद्योगमा आपत्काल घोषणा गरी अविलम्ब व्यवसायीलाई राहत दिन नेपाल सरकारसँग माग गरेका छन् । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै व्यवसायीले आपत्काल घोषणा गरी राहत दिन माग गरेका हुन् । सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार दुई दिन बिदा दिए जस्तै इन्धनको कारण उत्पन्न असहज परिस्थितिमा निर्माण उद्योगमा पनि बिदा लागु गर्न उनीहरूको माग छ । अहिलेको अवस्थाले निर्माण उद्योग ठप्प हुने अवस्था रहेकाले आपत्काल घोषणा गरी व्यवसायीलाई अविलम्ब राहत दिनुपर्ने निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष टेकबहादुर मल्लले बताए । सङ्घद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मटितेललगायतका इन्धन र बिटमिन सामग्रीमा भइरहेको पटक पटक अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग सङ्कटमा परेको बताए ।

“हामीलाई थाहा छ, इन्धनको मूल्यवृद्धि हाम्रो मुलुकको मात्रै नभई विश्वव्यापी समस्या हो,” अध्यक्ष मल्लले भने, “तर, राज्य हाम्रो अभिभावक हो । अप्ठ्यारो परेको अवस्थामा हाम्रो आवाज राज्यले नसुने कसले सुनिदिने ?”

निर्माण कार्यको मूल्य समायोजन नेपाल राष्ट्र बैङ्कको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भए तापनि राष्ट्र बैङ्कको इन्डेक्समा उक्त सामग्रीको मूल्य घटेकोे देखाइने प्रचलनका कारण थप सङ्कट निम्तिएको जनाइएको छ । “निर्माण कार्य तीव्र रूपमा हुने समयमा इन्धनसहित निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धि एवं बजारमा भएको अभावले निर्माण व्यवसायीलाई ठुलो आर्थिक भार परिरहेको छ,” उनले भने ।

आयोजनामा मूल्यवृद्धि भए अनुरूप हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने भएकाले मूल्य समायोजनको मार्ग निर्देशन–२ तत्काल जारी गर्न सङ्घले माग गरेको छ । सबै अवधिका ठेक्काका हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीको समस्या तुरुन्त सम्बोधन गर्न सरकारलाई निर्माण व्यवसायीको आग्रह छ । निर्माण क्षेत्र विकास र जनताका लागि आवश्यक पूर्वाधार रहेको उल्लेख गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश सेठीले यसलाई नियालेर नहेरिए विकासका नाममा विनाश हुने बताए ।

बुधबारदेखि देशभर शुरू हुने आर्थिक गणनाको तयारी पूरा

काठमाण्डौ- दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ ।

आउँदो वैशाख २ गते बुधबारदेखि देशभर आर्थिक गणनाको काम शुरू हुँदैछ । कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आउँदो असार महिनाको पहिलो हप्ताभित्र सम्पन्न हुनेछ । गणनाका लागि झण्डै पाँच हजार जनशक्ति परिचालित भएका छन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गरेका छन् । उनले देशको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलनको महत्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गरेका छन् ।

गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण सङ्कलनको उद्देश्य राखिएको छ ।

देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ ।

आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको तथ्याङ्क कार्यालयले स्पष्ट पारेको छ । यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो ।

 

अमेरिका–इरान प्रत्यक्ष वार्ता ४७ वर्षपछि

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबिच २८ फेब्रुअरीदेखि सुरु युद्ध अन्त्य गर्न पाकिस्तानको राजधानी इस्लामाबादमा प्रत्यक्ष वार्ता सुरु भएको छ । दुवै पक्षले पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफसँग छुट्टाछुट्टै द्विपक्षीय बैठक गरेपछि शनिबार साँझ प्रत्यक्ष वार्तामा बसेका हुन् । इस्लामाबादमा भइरहेको युद्धविराम वार्तामा विश्व समुदायको नजर छ । यो १९७९ को इस्लामिक क्रान्तिपछि वासिंटन र तेहरानबिच उच्चस्तरीय पहिलो प्रत्यक्ष प्रत्यक्ष वार्ता हो ।

वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । भान्ससँगै अमेरिकी टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जेरेड कुस्नर पनि समावेश छन् । इरानको ७० भन्दा बढी व्यक्तिको प्रतिनिधिमण्डलको नेतृत्व संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका उपराष्ट्रपति भान्सले वार्ताअघि पाकिस्तानी प्रधानमन्त्री सरिफलाई भेटेका थिए । इरानी संसद्का सभामुख गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीलगायत इरानी अधिकारीले पनि सरिफसँग भेट गरेका थिए । त्यसपछि अमेरिका र इरानका उच्च अधिकारी प्रत्यक्ष वार्तामा बसेका हुन् ।


खोज्नुहोस