खप्तडलाई पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ। सुदूरका चारवटा जिल्लाहरु बझाङ, बाजुरा, अछाम र डोटीको बिच भागमा अवस्थित यो क्षेत्र प्राकृतिक र जैविकरुपमा विविधतायुक्त तथा आध्यात्मिकरुपेण बढो महत्वपूर्ण छ। नितान्त उच्च पहाडी भूभागका फराकिला पाटनहरु, पाटनसंगै उभिएका गजुरे थुम्काहरु, घना बनजंगल, एकान्त र शान्त बाताबरण तथा तमाम प्राकृतिक र आध्यात्मिक सम्पदाहरुको सेरोफेरोमा कम्तिमा आधा सताब्दी भन्दा बढी समय स्वामी खप्तड बाबाले गरेको तपस्यालाई मध्यनजर गरी हजारौं स्वदेशी तथा बिदेशी तिर्थयात्रीरपर्यटकहरु प्रतिबर्ष त्यहाँ आउनेजाने गर्दछन्।
शैक्षिक भ्रमणको सिलशीलामा बझाङस्थित जयपृथ्वी बहुमुखी क्याम्पसका स्नातकतह आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुसहित हामी दुइजना प्राध्यापकहरुले पनि सम्वत २०८२ चैत्र २४ र २५ मा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रकै अवलोकन भ्रमण सम्पन्न गरी आफूलाई धन्य तुल्याएका छौं। जीवन्त साक्षात्कारमार्फत खप्तडलाई नजिकबाट नियाल्दै त्यसका अन्तरङ्गहरुलाई मैले गम्भीर समिक्षासहित सम्पादन गर्ने प्रयास गरेको छु। प्राकृतिक सुन्दरताको एक अदभूत नमुना कहलीएको खप्तड आफैमा कयौं सम्पन्नता र केही अभाव, उजाड र अभिभावकत्व बिहिन भएर बिराजमान रहेको कथाब्यथा प्रति बढो चाँसो पूर्वक चिन्तित भएर यो यात्रास्मरण लेख्दैछु।
चैत्रको पहिलो साताबाटै होला साहेद क्याम्पसमा अध्ययनरत स्नातकतह आठौं समेस्टरका विद्यार्थीहरु खप्तड क्षेत्रको शैक्षिक भ्रमण जाने तयारी गर्दै थिए। क्याम्पस प्रशासनलाई त्यसबारेमा उनीहरुले मौखिक जानकारी समेत गरिसकेका थिए।
चैत २२ गतेको बिहान हुँदो हो उनीहरू समुह बनाएर क्याम्पसको प्रशासनिक कक्ष भित्र प्रबेश गरे र भन्न थाले, “सर हामी यही २४ र २५ गते खप्तडको शैक्षिक भ्रमणमा जाने भयौं, सरहरूले गैदिनुपर्यो”। म अकमकाए र क्याम्पस प्रमुखको आसनतर्फ फर्केरसल्लाह गरे। उहाँले हामी मध्य कोही त जानैपर्यो भन्दै मलाई र देवराज भट्टराई जीलाईत्यसतर्फ जान भन्नुभयो। म एकछिन घोत्लिए र विद्यार्थीतर्फ फर्कदै “ए साच्चै मौसम त गडबड छ नि, कतै असहज त हुन्न निरु” भने।
विद्यार्थीहरुले आफ्नो पूर्व तयारी सबै पूरा भैसकेकाले जानैपर्ने बताएपछि म र सहकर्मी भट्टराइजी त्यसकालागि तयारी भयौं। साँच्चै म कोभिड-१९ को संक्रमण पश्चात लामो बाटो हिडेर यात्रा गर्न प्रायः असमर्थ हुन्छुस तथापि विद्यार्थीहरुको आग्रहलाई मैले नकार्न सकिन र त्यसतर्फ जाने निधो गरे।
चैत्र २४ गतेको बिहान यता आकाशमा बादल मडारिएको थियो। उता खप्तडमा बुझ्दा सम्भवतः पानी अब पर्ला कि तब पर्ला भन्ने अवस्थामा मौसमको अनुमान हुँदै थियो।जे भए पनि चौध जना विद्यार्थीहरु सहित हामी दुईजना प्राध्यापकहरु त्यसतर्फ चैनपुरबाट बिहान झण्डै नौबजे गाडी समातेर हिँडि नै सक्यौं।
गाडी चैनपुर हुँदै तमैल र त्यहीबाट खप्तडछान्ना तिर हाँनियो। नभन्दै करिब डेढ घण्टा पश्चात हामी चैनपुरबाट खप्तडको तल्लो बेस क्याम्प मेल्तडीमा पुगिहाल्यौं। गाडीको यात्रा त्यहीसम्म मात्र हुने भएकाले हामीले गाडीलाई धन्यवादसहित त्यहाँबाट बिदाइ गर्यौं र लगत्तै हामीसंग भएको क्यामराले एक पोज सामुहिक फोटो खिचेर बाँकि झण्डै चार घण्टे पैदल यात्राका लागि तयार भयौं। प्रत्यकले पिठ्युमा झोला बोक्दै हातमा लौरोको सहाराले हामीसबै मेल्तडीबाट खप्तडको दोस्रो बेस क्याम्प लोखडातर्फ लाग्यौं। आकाशमा हल्का बादल भएकाले मौसम अलि सितल थियो र त हामी सजिलै करिब डेढ घण्टा पछि लोखडा पुग्यौं।
लोखडास्थित होमस्टेका साहुजीले हामीलाई मार्सिधानको भात, गुरासको दाल, भाँगोको अचार, दही र घिउसहितको खानाको थालिले स्वागत गरे। त्यतिनै बेला बाहिर सिमसिमे पानी पर्न थाल्यो। तर हाम्रो अहोभाग्य पानी एकछिनमै बन्द भयो। हाम्रा विद्यार्थीहरु त खुशिले नाँच्न पो थाले। त्यसपछि हामीले लोखडास्थित खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारी मार्फत निकुञ्जका बारेमा छोटो जानकारीमुलक सन्देश लियौं र भ्रमण विवरण दर्ता गराएर अलि अगाडि रहेको आर्मीको चेक पोइन्टमा परिक्षणकालागि लामबद्ध भयौं।
समरजित गुल्मका जवानहरु निकै जनप्रेमी र संस्कारी रहेछन्। क्याम्पसको भ्रमण टोली भन्ने वित्तिकै उनीहरुले हामीलाई स(सम्मान चेकजाँच गरी भ्रमणको शुभकामनासहित अगाडि बढ्न अनुमति दिए। उहाँहरुलाई एकमुस्ट धन्यवाद दिदै हामी दिउसोको करिब डेढबजे तिर लोखडाबाट खप्तडतिर लाग्यौं।
त्यसपछि हामी करिब साढे चार बजेतिर खप्तड क्षेत्रको पहिलो गन्तव्य घोडादाउने पाटनमा पुग्यौं। लामो उकालो हिडाई पछि समथर पाटनमा पुग्दा विद्यार्थीहरु खुशिले गदगद भए। छेउमै रहेको सानो मन्दिर भित्र पसेर उनीहरुले पूजा गरे। केही समय मस्त आनन्दकासाथतस्बिर खिच्दै र गित गुन्जाउँदै रमाइलो समेत गरे। त्यही पाटनकै छेउमा एउटा काठले बनेको भ्युटावर ठिङ्ग उभिएको थियो।
सम्भवतः त्यो एकबर्ष अगाडि लाखौं रुपियाँको लगानिमा बनेको होला। विद्यार्थीहरु त्यसमा सबै संगै चढेर तस्बिर र भिडियो खिच्न चाँहन्थे। तर बिढम्बना, माथि चढ्यो कि आफै चचहुइ चचहुइ खेल्न थाल्यो। त्यस पछि हाम्रा विद्यार्थीहरु चिचाउँदै भँइ झरे। मलाई लाग्यो, पहिलो कुरा त त्यस खालका काठका संरचनाहरु हिमाली भेगमा बनाउँनै हुन्नथ्यो। बनाइहाले पनि ति सुरक्षित वा जोखिमपूर्ण के(कस्ता छन्रु सरोकारवाला निकायले रेखदेख गर्नुपर्थ्यो, तर गरेनन्। त्यसप्रति हाम्रा विद्यार्थीहरुले गम्भिर रुपमा चाँसो र चिन्ता गरे।
त्यस पछि ढिला नगरी हामी झण्डै एक किलोमिटर टाढा रहेको होटेल जहाँ हामीले बास बस्ने निधो गरेका थियौं त्यही पुग्यौं र सरसामाग्री व्यबस्थापन गरेर भ्रमण गर्नुपर्ने सम्भाव्य स्थलका बारेमा एकछिन् छलफल गर्यौं। झण्डै ३००० बढी मिटरको उचाइमा अवस्थित खप्तड क्षेत्र माथिको आकाश निकै अदलबदल हुँदै थ्यो। बादल लागेर बेलुकाको चाररपाँच बजे नै झण्डै अँध्यारो झैं लाग्दैथ्यो। दोस्रो दिनको सम्भाव्य मौसम बदलीलाई ध्यान दिदै त्यो साँझ नै हामीले खप्तड बाबा आश्रम र त्रीबेणी धामको अवलोकन गर्ने निधो गर्यौं। सोही बमोजिम हामी खप्तड बाबाको आश्रमतर्फ गयौं। निबासबाट झण्डै एक किलोमिटर टाढाको बाबा आश्रममा पुग्यौं।
एकतले आश्रम एकान्तको जंगलमा अवस्थित थ्यो। त्यही आश्रममा बसेर खप्तड बाबाले झण्डै पचास बर्ष बढी समय तपस्या गरेका थिए। आश्रमसंगै बाबाको एउटा सानो सालिक र काठले बनेका एकजोडी खराउ सिबाय अरु केही थिएनन्। ढोकाहरु बन्द थिए। कुटि भित्र के छन् भन्नेकुरा हामीले देख्न पाएनौं तथापि बाबासंग सम्बन्धित केही दस्ताबेज र पहिरनका सरसामाग्रीहरु राखेका होलान भन्नेबारेमा हामीले अनुमान गर्यौं र छन पनि। तर कुटीको ढोका खोलेर भित्रको अवस्था हेर्ने ब्यबस्था दिनमा समेत बिरलै भएको कुराले म खिन्न भए, हामी खिन्न भयौं।
त्यो ऐतिहाँसिक स्थलको इतिहाँस झल्कने गरी एउटा फ्लेक्स ब्यानरमा आवश्यक कुरा लेखेर टाँसेको भए पनि नवआगन्तुकहरु त्यसका बारेमा सामान्य जानकार हुन्थे होलान्, त्यति सम्म पनि व्यबस्था नगरेको देख्दा सरोकारवाला निकाय प्रति खेद छ। जे भए पनि हामी दुईरचार थान तस्बिर खिचेर त्यहाँबाट त्रिबेणी धामतर्फ लाग्यौं।
त्रिबेणी धाम बाबा आश्रमबाट झण्डै एक किलोमिटर टाढा हुँदो हो। झण्डै आधा घण्टाको पैदल हिडाई पश्चात हामी त्रिबेणी धाममा पुग्यौं। त्यो एतिहाँसिक स्थल देखेर विद्यार्थीहरु अत्यन्तै सम्मोहक भए। उनीहरुले त्यसको चारैतिर अवलोकन गरे। दुइटा अलि ठूला (गंगा र जमुना) र एउटा सानो ९शान्ति कुण्ड० गरी तीनवटा नदीको संगम भएर नै त्यसलाई त्रिबेणी भनिएको रहेछ भन्नेकुरा उनीहरुले थाहा पाए। गंगा र जुमुना नदीको बिचमा एउटा सानो मन्दिर रहेको छ।
खप्तड क्षेत्रमा लाग्ने सबैभन्दा ठूलो मेला “दशहरा मेला” त्यसै धामको सेरोफेरोमा लाग्ने गर्दछ। देशबिदेशबाट हजारौं दर्शनार्थीहरु त्यो मेला भर्न आउने गर्दछन्। तर त्यो धाम पनि जस्तो बर्षौं अगाडि थियो, उस्तै छ। त्यो धामको इतिहाँस झल्किने गरी नत केही सजिसजावट छ न त त्यस सम्बन्धीको जानकारीमुलक बोर्ड नैछ।
हाम्रा विद्यार्थीहरुले त्यति महत्वपूर्ण स्थलका बारेमा पनि खासै जानकारी पाउँने विवरण भेटाएनन्। अँझ यतिसम्म कि साना आँखिझ्याल झैं झुण्ड्याइएका मार्ग देखाउने चिन्हहरु पनि अनेकार्थी लाग्ने। कम्तिमा देशिबेदेशी पर्यटकहरुले प्रस्ट देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजीमा लेखीएका ठूलाठूला स्थायी बोर्डहरु त्यहाँ राख्नुपर्ने हैन ररु ती नदीहरु वारपार गर्नकालागि तीनवटा काठका पुलहरु बनाइएका थिए।
बाह्रै महिना कहिले हिमपात त प्रायः पानी परिरहने खप्तड जस्तो ठाउँमा त्यी काठे पुलहरु मात्र बनाउँनुको रहस्य के होलारु एक बर्ष बनाए अर्को बर्षकालागि त ती सम्पदाहरु कुहेर बेकामे होलान्। यी र यस्तै प्रसङ्गका बारेमा हाम्रा विद्यार्थीहरु केही समय मन्थनीय। यी दुइवटा स्थलको अवलोकनसंगै साँझ पर्नै लाग्यो र हामीहरु निवासस्थल तिर फर्कियौं।
भ्रमणको दोस्रो दिन अर्थात चैत्र २५ गते खप्तड क्षेत्रमा बिहानै देखि हिमपात सुरु भयो। बिहान छ नबज्दै सुरु भएको हिमपात साँझ पाँच बजे र मध्यरातीसम्मै अनबरत रह्यो। यतिसम्म कि एक थोपा पानी नपरी हिउँ नै हिउँको बर्षा भयो। एका बिहानै देखि बाइसवटा उजाड पाटनहरु, बाउन्नवटा थुम्काहरु तथा हरियाली बनस्पतीहरु पूर्णतयाः चाँदनीको लेपन झैं सेताम्य हुन थाले। हिमपातको सेरोफेरोमा बिहानैदेखि हामी उत्सुक र चिन्तित दुबै भयौं।
चैत्र महिनाको पूर्वार्धमा हिउँसंग खेल्न पाउँदा खुशि भयौं भने बाँकि भ्रमण तथा घर फिर्नको असहजता सम्झेर चिन्तित। त्यती मात्र हैन हिमपातका कारण दुरसंचार र इन्टरनेट सेवा पनि पूर्णतया अबरुद्ध भयो। त्यो अबरोध कहिले सम्म भन्ने पनि अत्तोपत्तो भएन। जे भएपनि भारि हिमपातकै बिच हाम्रा विद्यार्थीहरुले खप्तड दह लगायत बिभिन्न पाटनहरुको अवलोकन गरे। हिउँसंग लडिबुडी गर्दै तस्बिर खिचे, टिकटिक बनाए, भिडियो खिचे, देउडा खेले, आदि आदि।
दिउसोको तीनरचार बज्दासम्म खप्तडी पाटनहरुमा हिउँको सतह झण्डै एक फिट जती माँपन भइसकेको थियो। हामी त्यही दिन घर फर्किने वा त्यही बस्ने भन्ने दुबिधामा रह्यौं। साँच्चै त्यही बसौं हिमपातले सताउने हो, घर फिरौं निरन्तर हिमपात छ। बाहिर सम्पर्क कतै नहुँदा हाम्रा मनमा अनेकाथरी सोचाइहरु आउन थाले।
खप्तडमा त छँदै छ कतै घर फिर्ने बाटोभरी पनि हिमपात त भएन भन्ने आसंका हुन थाल्यो। विविध चिन्ता र चाँसोका बिच अन्तमा हामीले घर फर्किने निर्णय गर्यौं र साँझ पाँच बज्नै लाग्दा आ-आफूसंग भएका रेनकोट, पलास्टिक, न्यानो लुगाकपडा, छाता, आदिको ओभानोमा घोडादाउँना पाटन हुँदै खप्तडछान्नास्थित लोखडा र त्यहीबाट मेल्तडी सम्मको पैदल यात्रा गर्यौं। त्यसपछि मेल्तडीमा एउटा गाडी बुक गरी राती दशबजे चैनपुर पुग्यौं।
अन्तमा त्यो दुइदिने शैक्षिक भ्रमण हामी प्राध्यापक र विद्यार्थीहरुका लागि निकै अविस्मरणीय रह्यो। भ्रमण अवधिभर साक्षात्कार भएका र अनुभूत गरिएका घट्नाक्रमका बारेमा सबै विद्यार्थीहरुले डाइरी लेखन गरेका छन्। पक्कै पनि भ्रमणमा संलग्न विद्यार्थीहरुको त्यो सिकाइ, अनुभूती र साक्षात्कार क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीहरुकालागि साझा प्रेरणा बन्न सकोस भन्ने अभिप्रायले केही दिन पश्चात सिकाइ आदानप्रदानमूलक कार्यक्रम मार्फत सार्वजनीक गरिने छ।
अविस्मरणीय यात्रास्मरण २ खप्तड राष्ट्रिय निकुञ्जन अविस्मरणीय खप्तड यात्रा
लालबहादुर बोहरा
उप-प्राध्यापक
जयपृथ्वी बहमुखी क्याम्पस, भोपुर, बझाङ