राज्यसञ्चालनमा युवा पुस्ताको संलग्नता उत्साहको विषयः पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको गतिवधिमा युवापिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन् । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले देशको राजनीतिक परिवर्तनप्रति परोक्ष टिप्पणी गरेका हुन् ।
शाहले पढे लेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यद्यपि, सधैँ विकल्पको खोजीमा लागेर देश प्रयोगशाला बन्न पुगेको उनले बताए ।
शाहले भने, ‘राजनीतिक राज्यपद्दति र शासनप्रणालीमा हामीले निकै हेरफेर हेर्यौं, तर कोरा परिवर्तन मात्र भयो । दलदलको खलबलमा धेरै दुगुर्यौँ तर राष्ट्रको श्रीवृद्धीमा हामी निकै पछि पर्यौँ । सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्रै हामी लाग्यौँ । फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै भयो । स्थिरता, निरन्तरता र दृढता कताकता हराएर गयो । विधि, पद्दति, व्यक्ति बदलेर मात्र समग्र स्थिति राम्रो बन्ने रहनेछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।’
भिडिओमा शाहलाई श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाह भनेर लेखिएको छ ।
