अभिनयमा कमब्याक गर्दै कैट्रिना

मुम्बई । बलिउड अभिनेत्री कैट्रिना कैफ अभिनयमा कमब्याक गर्ने भएकी छन् । आमा बनेपछि अभिनयबाट टाढा भएकी उनी अहिले फिल्म तथा अन्य प्रोजेटको स्क्रिप्ट अध्ययन गरिरहेकी छन् ।

बलिउड मिडियाका अनुसार कैट्रिना हतारमा कुनै पनि प्रोजेक्ट साइन गर्ने पक्षमा छैनन् । उनी आफ्नो जीवनको यो नयाँ चरण (मातृत्व)सँग मेल खाने खालको कथा छनोट गर्न चाहन्छिन् । यही कारणले गर्दा उनी प्रत्येक स्क्रिप्टलाई निकै ध्यानपूर्वक अध्ययन गरिरहेकी छन् ।

कैट्रिना अब डिजिटल माध्यम अर्थात् ओटीटी प्लेटफर्ममा पनि काम गर्ने बारे विचार गरिरहेकी छन् । यदि यो योजना सफल भएमा, यो उनको करियरको पहिलो ओटीटी प्रोजेक्ट हुनेछ ।

अचेल धेरै स्थापित कलाकारहरू ओटीटीतर्फ आकर्षित भइरहेका बेला कैट्रिना पनि यो नयाँ प्लेटफर्ममा काम गर्न इच्छुक देखिएकी हुन् । रिपोर्टहरूका अनुसार उनी सन् २०२७ को उत्तरार्ध (दोस्रो हिस्सा)तिर सुटिङमा फर्किन सक्ने सम्भावना छ ।

कैट्रिना कैफ पछिल्लो पटक फिल्म ‘मेरी क्रिसमस’ मा देखिएकी थिइन्, जसमा उनको साथमा दक्षिण भारतीय अभिनेता विजय सेतुपति मुख्य भूमिकामा थिए ।

१२ जनवरी सन् २०२४ मा रिलिज भएको यो फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । दुवैको अभिनय र केमेस्ट्रीको पनि प्रशंसा भएको थियो । यसअघि उनी सलमान खान स्टार फिल्म ‘टाइगर ३’ मा देखिएकी थिइन् ।

कैट्रिनाले डिसेम्बर २०२१ मा अभिनेता विक्की कौशलसँग विवाह गरेकी थिइन् । उनीहरूले राजस्थानमा परिवार र नजिकका साथीहरूको उपस्थितिमा परम्परागत रितिरिवाज अनुसार विवाह गरेका थिए ।

गत वर्ष ७ नोभेम्बरमा उनले छोरालाई जन्म दिएकी थिइन् । जसको नाम ‘बिहान कौशल’ राखिएको छ ।

मापदण्डको मसौदा मन्त्रीपरिषद्बाट स्वीकृत

धनगढी । स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड २०८३ को मसौदालाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले मसौदा स्वीकृत गर्ने निर्णय गरेको हो । स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड बनेपछि प्रदेशका सबै स्थानीय तहलाई आवश्यक जनशक्तिका लागि आफैँ दरबन्दी निर्धारण गर्न सक्ने बाटो खुल्ने जनाइएको छ ।

यसैबिच मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्री शाहले अहिलेसम्म मन्त्रीमण्डलमा रहेर साथ दिएकोमा मन्त्रीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कैलालीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

कैलाली​​​​​​​। कैलालीको धनगढी उपमहानगरपालिका-५ सत्कार चोक नजिक एक घरको कोठाबाट कटुवा पेस्तोल तथा विभिन्न शङ्कास्पद सामान सहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्ने २४ वर्षीय साहिल खान रहेका छन् ।

मंगलबार राति २२:२५ बजे विशेष सूचनाको आधारमा प्रहरीले खानको कोठामा चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान, रेन्च १ थान, चाँदीको करुवा १ थान, चाँदीजस्तो देखिने घाँटीमा लगाउने माला २ थान, टर्चलाइट २ थान, फलामको रड १ थान, डिजिटल काटा १ थान र खुकुरी १ थान बरामद गरेको हो ।

बरामद सामान सहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

दार्चुलामा गस्तीबाट फर्किने क्रममा प्रहरी जवानको मृत्यु

दार्चुला । दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट गस्तीमा गएको बेला कुलोमा चिप्लिएर लडेका थिए।

घाइते भट्टको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा बुधबार बिहान २ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

नौगाड गाउँपालिका–५, होपरीमा रातिको गस्ती सकेर फर्किने क्रममा प्रहरी जवान भट्ट चिप्लिएर लडेका र तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक भट्टले बताए। अन्दाजी २५ वर्षीय प्रहरी जवान भट्टको घर बैतडी जिल्लामा रहेको बुझिएको छ।

कञ्चनपुरका भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु

कञ्चनपुर। कञ्चनपुरका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन् ।

जिल्लामा नौवटा स्थानीय तह रहेका छन् । अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नापनक्सा कार्य सुरु गरेका हुन् । शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले आजदेखि वडास्तरमा पुगेर नापजाँच सुरु गरिएको बताए । नगरपालिकाका नंं ५, १० र ११ मा नापनक्सा भइरहेको उनले जानकारी दिए ।

“छवटा वडाको नापजाँच पहिले नै गरिसकेका थियौँ, हाल तीनवटा वडामा काम सुरु गरेका छौँ”, नगरप्रमुख महराले भने, “वडा नं ६, ७ र ८ को बर्खा सकिएलगत्तै नापनक्साका लागि टोली फिल्डमा खटिनेछ ।”

करिब १२ हजार सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको शुक्लाफाँटा नगरपालिकाले नापजाँचको सबै कार्य सकिएपछि लालपुर्जा वितरणका लागि भूमि आयोगलाई बुझाउने जनाएको छ ।

“हाल भूमि आयोगको प्रविधिक प्रतिनिधिसहितको टोली फिल्डमा खटिएको छ”, नगरप्रमुख महराले भने, “नापनक्सा सकिएपछि सबै प्रक्रिया पूरा गरेर पुर्जाका लागि आयोगसमक्ष कागजात हस्तान्तरण गरिनेछ ।”

करिब ६० हजार भूमिहीन दलित–सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको कञ्चनपुरमा सबै पालिकामा समस्या रहेको जनाइएको छ ।

यसैगरी, यहाँको कृष्णपुर नगरपालिकाले पनि दुई दिनअघिदेखि पालिकाभित्र नापनक्सा सुरु गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिको वडा नं ५ र ६ मा जग्गा नापनक्सा कार्य थालिएको सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए ।

अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि आवश्यक काम छिट्टै सम्पन्न गर्न नापनक्सा थालिएको उनले बताए । यस पालिकामा १७ हजारभन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेका छन् ।

यस्तै, नौ हजार ५०० भन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको बेदकोट नगरपालिकामा प्रायः नापनक्साको काम सम्पन्न भइसकेको नगरप्रमुख भोजराज बोहराले जानकारी दिए । “शुक्लाफाँटा निकुञ्ज विस्थापितको जग्गा किचलो रहेका केही वडामा नापनक्साको काम भएको छैन । बाँकी सबैतिर नापनक्सा सकिसकेका छौँ”, उनले भने ।

यहाँको लालझाडी गाउँपालिकमा पनि केही वडाबाहेक सबै ठाउँमा नापनक्साको काम सकिएको छ । गाउँपालिकाका अध्यक्ष निर्मल रानाले वडा नं ५ मा पुनः नापनक्सा गर्नुपर्ने र हाल वडा नं १ मा काम भइरहेको जानकारी दिए । यस पालिकामा चार हजारभन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित छन् ।

 

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ ।

सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्तिसम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिमपटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी दिए ।

“स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण संकलकका चरणमा रहेकाले समय अपुग भएको हुँदा म्याद थप गरिदिन बारम्बार आग्रह गरेपछि मागअनुसार विवरण बुझाउने म्याद थप गरिएको हो”, उनले भने ।

जेनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाइ भएको हुनसक्ने अनुमान गरिएको छ । “यो अन्तिम पटकका लागि हो, अब म्याद थप हुँदैन, थपिएको म्यादभित्र सम्बन्धितले अनिवार्य रूपमा सम्पत्ति विवरण दाखिल गर्नुपर्छ”, अध्यक्ष भण्डारीले भने, “आयोगमा हालसम्म तीन हजार पाँच सय बढीले सम्पत्ति विवरण प्राप्त भइसकेका छन् ।”

सम्पत्तिसम्बन्धमा ६० भन्दा बढी उजुरी प्राप्त भएको आयोगका अध्यक्ष भण्डारीले जानकारी दिए ।

यसअघि आयोगले यही जेठ मसान्तभित्र आआफ्नो सम्पत्तिको विवरण बुझाउन अनुरोध गरेको थियो । सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त भएका वा हटिसकेका व्यक्तिले आफैँ वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेलमार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

आयोगले २०४८ देखि २०८३ सालसम्मको कुनै समयावधिमा सार्वजनिक पदधारण गरेका व्यक्तिले पदीय दुरुपयोग गरी अस्वाभाविक कमाइ गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

आयोगले मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएको करिब ३५ वर्षको अवधिलाई २०६२/६३ देखि २०८२/८३ र २०४८/४९ देखि २०६२/६३ सालसम्म दुई चरणमा विभाजन गरी फाइल तथा उजुरी छानबिन गर्ने स्पष्ट गरेको छ ।

वर्तमान सरकारले २०४८ सालपछि सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त भएका वा हटिसकेका व्यक्तिको सम्पत्तिको छानबिन गरी प्रतिबेदन बुझाउने कार्यादेशसहित गठन गरेको पाँच सदस्यीय आयोग हाल सम्पत्ति विवरण र उजुरी संकलनमा व्यस्त छ । पछिल्ला दिनमा कार्यालय खुलेलगत्तै आयोग परिसरमा सम्पत्ति विवरण बुझाउने पूर्वकर्मचारीको घुइँचो लाग्ने गरेको छ ।

अध्यक्ष भण्डारीको नेतृत्वमा छानबिन आयोगमा चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, गणेश केसी (प्रवक्ता) र प्रकाश लम्साल सदस्य छन् । रासस

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रतिपक्षी दलहरूको अडान र अवरोधबीच प्रतिनिधि सभा बैठक सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए। तर बैठक सुरू हुनु अगावै सूचना टाँसेर बैठक स्थगित गरिएको हो।

सीमाबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले विरोध जारी राखेका छन्।

प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रधानमन्त्रीले सीमबारे प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति पुष्टि हुने प्रमाण देखाउनुपर्ने नभए अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।

सत्तारूढ रास्वपाले परराष्ट्र मन्त्रालयले यसबारे प्रष्टाइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले जबाफ दिने बताए पनि प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्रीले नै अभिव्यक्ति सच्याउनुपर्ने अडान राखेका हुन्।

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

काठमाण्डाै – सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन भनेको हो ।

केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीहरूका व्यक्तिगत विवरण शैक्षिक परामर्श दातृ संस्था, ट्युशन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख थियो ।

केन्द्रका निर्देशक नीलकण्ठ ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा विद्यार्थीहरूको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण र अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको भनिएको छ ।

केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई समेत परिपत्र पठाएको जनाएको छ ।

सदनको अवरोध अन्त्यका लागि विपक्षीसँग छलफलमा रवि

काठमाडौं । संघीय संसद्को अवरोध खुलाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका छन् ।

अहिले सिंहदरबारमा छलफल भइरहेको हो । संसद् अवरोधको गाँठो फुकाउने प्रयत्न भइरहेको जनाइएको छ ।

११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।

छलफलमा कांग्रेस दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी खुश्वु ओली छन् ।

त्यस्तै, रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतक क्रान्तिशिखा धिताललगायत छन् ।

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

काठमाण्डौ- नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ ।

एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन नसकेको हो । आज बिहान मलेसियाको वायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।

थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले अविजित २० रन बनाइन् भने सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको थियो । थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अविजित ६३ रन बनाइन् । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन जोडिन्।

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ।

केन्द्रीय निर्वाचन आयोगले मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गरिएको जानकारी दिएको छ।

करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन आयोगले बताएको छ ।

बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन्। https://nepalnews.com/2026/06/10/raspa-bagmati-province-session-adjourned/

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो । यस्ता किसानहरूलाई थप उत्प्रेरित गर्न शुक्लाफाँटा नगरपालिकाले किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण गर्ने अभियान थालेको छ ।

नगरपालिकाको ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था निड्स नेपालको सहकार्य तथा समन्वयमा हालै २५ जना किसानलाई तीनदिने सैद्धान्तिक र प्रयोगात्मक तालिम दिइएको छ । तालिममा गड्यौला मल उत्पादन प्रक्रिया, महत्त्व, व्यावसायिक सम्भावना तथा बजारीकरणका उपायबारे जानकारी गराइएको छ ।

तालिमका प्रशिक्षक तथा गड्यौला मल उत्पादक वीरबहादुर हमाल रासायनिक मलको अत्यधिक प्रयोगले खेतीयोग्य जमिनको गुणस्तरमा ह्रास आउन थालेपछि अब प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्ने बताए । माटोमा रहेका उपयोगी जीवाणु नष्ट हुनुका साथै उत्पादन लागत बढ्ने समस्या देखिन थालेपछि किसान वैकल्पिक उपायको खोजीमा रहेकाले गड्यौला मलबारे जानकारी दिन जरूरी भएको उनले बताए ।

हमालले भने, “गड्यौला मल माटोका लागि मात्र होइन, बिरुवाका लागि पनि अत्यन्त उपयोगी छ । यसलाई बिरुवाको तयारी खाना पनि भनिन्छ । बिरुवाको जरामा प्रयोग गरेको चारदेखि पाँच दिनभित्र यसको प्रभाव देखिन थाल्छ ।”

उनका अनुसार गड्यौला मलमा नाइट्रोजन, फस्फोरस, पोटास, जिङ्क, क्याल्सियम, बोरोनलगायत बिरुवाको वृद्धि र उत्पादनका लागि आवश्यक १३ प्रकारका पोषकतत्व पाइन्छन् । यसले माटोको संरचना सुधार्ने, पानी धारण गर्ने क्षमता बढाउने र जैविक सक्रियता वृद्धि गर्न सघाउ पुर्याउँछ ।

पछिल्ला दिनमा विशेषगरी तरकारी, फलफूल, कौसीखेती तथा नर्सरी सञ्चालन गर्ने किसानले गड्यौला मलको प्रयोग गर्न चासो दिन थालेका छन् । “त्यसैले पनि पहिले यसको महत्त्व बुझाउन कठिन हुन्थ्यो, हाल मागअनुसार आपूर्ति गर्नै समस्या हुनथालेको छ”, हमालले भने ।

विसं २०७१ देखि नेपालगन्जमा गड्यौला मल उत्पादन गर्दै आएका हमालले वार्षिक ६४ टन मल उत्पादन गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १० जिल्लामा आपूर्ति गर्दै आएका छन् । यस व्यवसायबाट उनले वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी गर्दै आएको सुनाए ।

उनका अनुसार गड्यौला मल उत्पादनका लागि ठूलो लगानी आवश्यक पर्दैन । गोबर, जैविक फोहर र गड्यौलाको बीउ प्रयोग गरी खुला स्थान वा सेड निर्माण गरेर मल उत्पादन गर्न सकिन्छ । बजारमा गड्यौला मल प्रतिकिलो रु ३० देखि रु ३५ सम्ममा बिक्री भइरहेको छ भने गड्यौलाको बीउ प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री हुने गरेको छ । “मल उत्पादनसँगै गड्यौलाको बीउ बिक्रीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ”, हमालले भने, “यसले किसानलाई कृषि पेसासँगै उद्यमशीलतामा समेत जोड्ने अवसर दिन्छ ।”

शुक्लाफाँटा नगरपालिकाले गड्यौला मल उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना अघि बढाएको छ । नगरपालिकाको उद्यम शाखा प्रमुख धनबहादुर चौधरीका अनुसार शुक्लाफाँटा–९ स्थित सामुदायिक गौशालामा २८ वटा गड्यौला मल उत्पादन गर्न ‘पिट’ निर्माण गरिएका छन् । “गौशालाबाट दैनिक रूपमा निस्कने गोबरलाई उपयोग गरेर व्यावसायिक रूपमा गड्यौला मल उत्पादन गर्ने लक्ष्य राखेका छौँ”, उनले भने “किसानलाई पनि उत्प्रेरित गर्दैछौँ । यसपटक तालिममा सहभागी किसानलाई सीप मात्रै होइन आवश्यक औजारसमेत अनुदानमा उपलब्ध गराउँदै छौँ ।”

गाईवस्तुको गोबर व्यवस्थापन, वातावरणीय सरसफाइ र स्थानीयस्तरमै प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

तालिममा सहभागी किसान ललितबहादुर साउदले गड्यौला मल उत्पादनबारे व्यावहारिक ज्ञान प्राप्त भएको बताए । “रासायनिक मल हालेर उत्पादन बढाएको जस्तो लाग्थ्यो, तर यसले माटोलाई कमजोर बनाउँदै लगेको रहेछ”, उनले भने, “अब घरमै गड्यौला मल उत्पादन गरेर प्रयोग गर्ने र अतिरिक्त उत्पादन बिक्री गर्ने योजना बनाएका छौँ ।”

निड्स नेपालले सञ्चालन गरिरहेको ‘दिगो आम्दानीद्वारा महिला उद्यमी सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकाका महिला तथा किसानलाई पनि गड्यौला मल उत्पादनसम्बन्धी तालिम दिने गरिएको छ । परियोजनाका संयोजक हेमन्त शाहीका अनुसार तीनवटै पालिकाका सामुदायिक गौशालासँग सहकार्य गरेर स्थानीय किसानलाई सीपमूलक तालिम दिनुका साथै अनुभव आदानप्रदानसमेत गराउँदै आइएको छ ।

उनले भने, “किसानले कक्षाकोठामा भन्दा प्रत्यक्ष अभ्यासबाट धेरै सिक्छन् । त्यसैले उत्पादन गरिरहेका किसानको फार्ममा लगेर गड्यौला मल उत्पादनको सम्पूर्ण प्रक्रिया देखाउने गरेका छौँ ।”

गड्यौला मलको प्रयोगले रासायनिक मलमा निर्भरता घटाउने, माटोको स्वास्थ्य सुधार्ने, उत्पादनको गुणस्तर बढाउने र वातावरण संरक्षणमा योगदान पुर्याउने भएकाले यसको महत्व बढ्दै गएको शाही बताउछन् । “पछिल्ला वर्षहरूमा अग्र्यानिक उत्पादनको माग बढ्दै जाँदा गड्यौला मल उत्पादक किसानका लागि कृषि सहायक पेसामात्र नभई राम्रो आम्दानी दिने उद्यमका रूपमा स्थापित हुँदै गएको छ”, उनले भने । -रासस

कैलालीमा एक युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ त्रिवेणी घाटस्थित मोहना नदी किनारमा जेठ २४ गते फेला परेको बेवारिसे शवको पहिचान खुलेसँगै घटनाको रहस्य बाहिर आएको हो।

नदी किनारमा नाम, थर र वतन नखुलेको अवस्थामा भेटिएको उक्त शव कैलारी गाउँपालिका वडा नम्बर ९ गदरिया बस्ने २० वर्षीय राजकुमार रानाको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाको अनुसन्धान गर्दै जाँदा रानाको स्वभाविक मृत्यु नभई हत्या भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानासहित चार जनाको समूहले राजकुमारलाई कुटपिट गरी हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको छ। उनीहरूले हत्या गरिसकेपछि प्रमाण लुकाउने उद्देश्यले शवलाई त्रिवेणी घाटस्थित मोहना नदी किनारमा फालेका थिए।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। उक्त घटनामा संलग्न भई हाल फरार रहेका अन्य दुई जनाको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरण

काठमाण्डौ– अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् ।

उनले यसलाई भ्रामक र अतिरञ्जित भन्दै चियाको कपमा तुफान ल्याउन खोजिएको टिप्पणी गरेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताए । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको समेत बताएका छन् ।

विद्युतीय गाडी (ईभी) को हकमा ५० लाख रुपैयाँ मुनिका गाडीको मूल्य नबढोस् भन्ने सरकारको नीति रहेको उनले उल्लेख गरे । भन्सार बिन्दुमा २० लाख रुपैयाँसम्म मूल्य भएका गाडीहरू, जसको बजार मूल्य ५० लाख भन्दा कम हुन्छ, तिनलाई सडक निर्माण दस्तुरमा ५ प्रतिशतको सट्टा २.५ प्रतिशत मात्र लगाउने निर्णय भएको अर्थमन्त्रीले बताएका छन् ।

कानुन मन्त्रालयसम्म पुग्दा यो बुँदा छुट्न पुगेकाले त्यसलाई पछि संशोधनमार्फत समावेश गरिएको उनको भनाइ छ । साथै, जेठ १५ अघि नै भन्सार प्रक्रिया पूरा गरी अन्तः शुल्क तिरिसकेका गाडीहरूको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उनले जानकारी दिए ।

तोलामै १० हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार एक सय रुपैयाँ घटेर दुई लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन मंगलबार तीन लाख एक हजार ९०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानसंगै अन्तरक्रिया कार्यक्रम आयोजना गरिदै

कोलोराडो, (अमेरीका)

ब्लड डोनर्स अफ अमेरिका (बीडीए) कोलोराडो च्याप्टरले विश्व रक्तदाता दिवस यसवर्ष विविध कार्यक्रम आयोजना गरी मनाउदैछ ।

बीडीए कोलोराडोका अनुसार विश्व रक्तदाता दिवस बीडीएका संस्थापक अध्यक्ष स्वर्गीय अर्जुन मैनालीको स्मृतिमा रक्तदानसंगै अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाईदैछ । बीडीए अमेरिका स्वर्गीय मैनालीको नेतृत्वमा सन् २००९ मा स्थापना भएको हो।

बीडीए कोलोराडोका अध्यक्ष नवराज मरासिनीले नेपाली घरको सहकार्य तथा भाटालान्टको प्राविधिक सहयोगमा नेपाली घरमा १३ जुनमा रक्तदान कार्यक्रम र १४ जुनमा जुम मार्फत ‘मानवताका लागि एक थोपा : रक्तदान गरौं, जीवन बचाऔं’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताए ।

अध्यक्ष मरासिनीले नेपाली घरमा १३ जुनमा विहान ९ देखि १२ बजेसम्म सञ्चालन हुने कार्यक्रममा १६ वर्षभन्दा माथि उमेरका कम्तिमा एक सय १० पाउण्ड तौल भएका व्यक्तिले रक्तदान गर्न सक्ने बताए ।

नेपाली घरका कार्यबाहक अध्यक्ष गंगा चौलागाईले रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न नेपाली समुदायलाई आह्वान गरेका छन् ।

 

 

 

 

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

काठमाडौं : प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बिपक्षी दलले सीमाका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको बिपक्षी दलको बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

प्रधानमन्त्रीले संसदबाट देशबासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनु पर्ने बैठकको निष्कर्ष रहेको उनले बताए । उनले सदन खोल्नका लागि सरकारको तर्फबाट कुनै चासो र पहलकदमी नलिएको समेत बैठकको निष्कर्ष रहेको उल्लेख गरे । सदन खोल्नका लागि सत्तापक्षबाट बिभिन्न प्रस्तावहरु आएकाले सर्वपक्षीय बैठक आयोजना गरेर आफ्ना कुराहरु राख्ने समेत निर्णय भएको उनको भनाइ छ ।

महरले करका दर हेरफेरका बिषयमा समेत बिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएकाले यसको छानविनका लागि संसदीय छानबिन समिति बनाउनु पर्नेमा एकमत रहेको बताए । बैठकमा श्रम संस्कृति पार्टी बाहेकका बिपक्षी दलका सांसदहरुको उपस्थिति रहेको थियो ।

सरकारको खर्च ११ खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु खर्च ८ खर्ब १४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांकअनुसार १० महिनाको अवधिमा सरकारले ९ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कुल राजस्वमध्ये कर राजस्व ८ खर्ब ९३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

राजस्व वृद्धि भए पनि सरकारी खर्च अझै उच्च रहेकाले बजेट व्यवस्थापन चुनौतीपूर्ण रहेको देखिएको छ ।

बैंकको औसत ब्याजदर ३.३५ प्रतिशत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा क्रमिक गिरावट देखिएको छ ।

राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.३५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर ६.७३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो ।

ब्याजदर घटेसँगै निजी क्षेत्रमा कर्जा प्रवाह पनि बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

१० महिनामै १९ खर्ब रेमिट्यान्स, वैशाखमा मात्रै दुई खर्ब ५७ अर्ब

काठमाडौं । नेपालमा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स (विप्रेषण) आय उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स वृद्धि १३.३ प्रतिशत मात्रै रहेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘हालको आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार वैशाख महिनामा मात्रै दुई खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भएको छ ।

रेमिट्यान्स आप्रवाह बढेसँगै देशको विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थिति पनि मजबुत बनेको राष्ट्र बैंकले जनाएको छ ।

नवनियुक्त गृहमन्त्री गुरुङ र विज्ञान प्रविधिमन्त्री पुनले लिए सपथ

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्।

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सपथ खुवाएका हुन्।

मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङ र पुनलाई मन्त्रीका लागि सिफारिस गरेका थिए। राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।

गुरुङ यसअघि पनि शाह नेतृत्वको सरकारमा गृहमन्त्री थिए। सम्पत्ति शुद्धीकरण विवाद मुछिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको थियो। समितिले उनलाई ‘क्लिन चिट’ दिएपछि प्रधानमन्त्री शाहले पुनः गृहको जिम्मेवारी दिएका हुन्।

त्यस्तै पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका थिए। फागुन २१ को निर्वाचनअघि राजीनामा दिएर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

शपथका लागि शीतल निवास पुगे गुरूङ र पुन

शपथग्रहणका लागि दुई जना नवनियुक्त मन्त्रीहरू राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गरेका थिए। प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। नवनियुक्त मन्त्रीहरूको शपथ शीतल निवासमा हुँदैछ।

सुधन यसअघि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोतमाथि विवाद हुँदा उनीमाथि छानबिन भएको थियो। उनी गोरखा १ बाट निर्वाचित सांसद हुन्।

महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनी सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका थिए।

मन्त्रिपरिषद् बैठकमा डीडीसीको प्रवर्द्धन

काठमाडौं- स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डालाई मुख्य रूपमा उठाएकी हुन्। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइन्।

उनले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरिन्। नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा उनको विशेष जोड थियो।

त्यसैक्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादनहरूको प्याकेज वितरण गरेकी थिइन्।

लामो समयदेखि नेपाली उपभोक्ता माझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई थप ऊर्जा दिने काम प्रधानमन्त्री वालेन्द्र शाहले पनि गरेका छन्।

प्रधानमन्त्री शाह आफैंले डीडीसीका उत्पादनहरूको प्रवर्द्धन र प्रचार गरेर स्वदेशी वस्तुको उपभोग बढाउने बलियो सन्देश दिएका थिए।

विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रियसभाको मंगलबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

लगातारको अवरोधका कारण मंगलबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको हो । राष्ट्रियसभाको अर्को बैठक जेठ २८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने तय गरिएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दल दुवैको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्ष दाहालले देशको राजनीतिक अवस्था जनताले अनुभूति गर्ने गरी समाधान खोज्न सरकार र दलहरूबीच आवश्यक परामर्श हुन नसकेको टिप्पणी गरे ।

उनले सदनमा नारा लगाउने, आफ्ना धारणा राख्ने र बैठक स्थगित हुने क्रम दोहोरिनु उपयुक्त नभएको बताए । अध्यक्ष दाहालले सरकारका तर्फबाट पनि समस्याको समाधानमा तदारुकता देखिनुपर्ने र राजनीतिक दलहरूले थप जिम्मेवार तथा सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै संसद्को कारबाही अवरुद्ध गर्दै आएका छन् । न्युज एजेन्सी नेपाल

सरकारले गर्‍यो यी २५ आवश्यक सेवामा हडताल निषेध

काठमाडौं । सरकारले २५ आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको सोमबार (जेठ २५) गृह मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

सरकारले हडताल गर्न निषेध गरेका २५ आवश्यक सेवा यी हुन्–
१. डाँक, तरा वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईजहाज मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा
३. हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान
ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सजस्ता सेवाहरू)
१३. औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१४. फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
१५. बैंकिङ सेवा
१६. बिमा सेवा
१७. विद्युत् सेवा
१८. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
२०. मास्कसम्बन्धी सेवा
२१. ह्यान्ड स्यानिटाइजरसम्बन्धी सेवा
२२. भेटेरिनरी सेवा
२३. कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा
२४. राहदानी विभागबाट प्रदान हुने सेवा
२५. इन्टरनेट सेवा ।

नेप्से परिसूचक घट्यो

काठमाडौं : नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दु कायम भएको हो। यसदिन ३५७ वटा स्क्रिप्सको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँमा खरिदबिक्री भए। हिजो ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको सेयर कारोबार भएको थियो।

आज सेयरबजारमा १०५ कम्पनीका सेयरमूल्य बढे भने १५१ कम्पनीका सेयर मूल्यमा गिरावट आयो। जसमा १५ को सेयर स्थिर रहे। झिनो अंकले घटेको बजारमा सोपान र कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सप्तकोशी विकास बैंकको १०.९८ र  उपकार लघुवित्तको ८.७० प्रतिशत वृद्धि भयो।

फिलिपिन्समा भूकम्पले मृत्यु हुनेको संख्या ३७ पुग्‍यो

काठमाडौँ- फिलिपिन्समा  ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ३७ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरुले गरेका छन् । ४८७ जना घाइतेको पहिचान भएको छ । यो संख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशंका गरेका छन्।

भूकम्पपछि दक्षिणी फिलिपिन्समा सयौँ पराकम्पनहरू गएका छन्। सोमबार बिहान गएको उक्त भूकम्पले इन्डोनेसिया, मिन्डानाओको दक्षिणी क्षेत्र र जापानको प्रशान्त महासागर क्षेत्रमा समेत प्रभाव पारेको छ । भूकम्पपछि सुनामीको त्रासमा दशौं हजार मानिस बिस्थापित भएका थिए ।

उद्धारकर्ताहरू तटीय सहर र बजारहरूमा राहत सामाग्रीसहित पुग्‍न थालेका छन् ।

यहाँ भवनहरू भत्किएका र सडकहरू चर्किएका छन् । कतिपय स्थानमा पहिरोले बाटो अवरोध गरेको छ । टापुका धेरै हिस्सामा अझै पनि बिजुली र टेलिफोन सेवा विच्छेद छ।

‘हामी मृतकको संख्या अझै नबढोस् भन्ने कामना गर्दछौँ । तर यो संख्या परिवर्तन हुन सक्ने अनुमान छ। अहिलेको हाम्रो प्राथमिकता खोजी र उद्धार कार्य हो,’ विपद् व्यवस्थापनको रेखदेख गर्ने निकायका सह-सचिव बर्नार्डो अलेज्यान्द्रोले डीजेटएमएम रेडियोलाई भने ।

उनले कम्तीमा २,००० घर र ६,००० सरकारी विद्यालयहरूमा क्षति पुगेको अनुमान गरिएको बताए ।

‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा रहेकाले फिलिपिन्समा  भूकम्प जाने जोखिम उच्च छ ।  यहाँ समय-समयमा भूकम्प जाने र ज्वालामुखी विस्फोट हुने गर्दछ।

सोमबार बिहान देशको दक्षिणी भागमा रहेको कोटाबाटो ट्रेन्‍चमा भएको हलचलका कारण भूकम्प गएको भूगर्भविद्हरुले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज अपरान्ह ४ बजे सभाको बैठक बोलाइएको जनाएको छ ।

बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३ वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

सामाजिक विकासमन्त्री बेलबहादुर रानामगरले उक्त प्रस्ताव पेस गर्नुहुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

 

खोज्नुहोस