भारतबाट नेपालतर्फ कीटनाशक औषधि तस्करी प्रयास, तीन नेपाली महिला पक्राउ

धनगढी, २ असार /  नेपाल- भारत अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रणका लागि सशस्त्र सीमा बल (एसएसबी) ले सञ्चालन गरेको विशेष निगरानी अभियानका क्रममा ठूलो परिमाणमा अवैध सामानसहित तीन नेपाली महिला पक्राउ परेका छन्।

बी कम्पनी बसाही अन्तर्गत ४९औँ बटालियन एसएसबी पिलिभीतको सीमा चौकी आजाद नगरका सुरक्षाकर्मीले विशेष सूचनाका आधारमा सीमा क्षेत्रमा खोजी तथा निगरानी अभियान सञ्चालन गरेका थिए। एसएसबीका अनुसार पिलर नम्बर ७६८/३८ नजिक भारतीय क्षेत्रभित्र करिब ३०० मिटर दूरीमा गरिएको गस्तीका क्रममा तीन महिलालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा कञ्चनपुरका रितु तामाङ, सोनिया तामाङ र शान्ति तामाङ रहेका छन्। उनीहरूको साथबाट विभिन्न प्रकारका कीटनाशक औषधि, १५ किलो फलामको जाली तथा तस्करीमा प्रयोग गरिएका तीनवटा मोटरसाइकल बरामद गरिएको एसएसबीले जनाएको छ।

बरामद गरिएको कीटनाशक औषधिको मूल्य करिब १ लाख ३३ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ। जफत गरिएका अन्य सामानसहित बरामद सामग्रीको कुल अनुमानित मूल्य ४ लाख १० हजार ५ सय ७० रुपैयाँ पुगेको एसएसबीको दाबी छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका महिलाले उक्त सामान भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन लागेको खुल्न आएको एसएसबीले जनाएको छ।

घटनापछि पक्राउ परेका महिलासहित बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पलियालाई बुझाइएको छ।

भारत–नेपाल खुला सीमामा हुने तस्करी तथा अवैध गतिविधि नियन्त्रण गर्न एसएसबीले नियमित रूपमा निगरानी तथा सुरक्षा अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

यि हुन रास्वपा सुदूरपश्चिमका निर्वाचित पदाधिकारी

रञ्जना बिसी, कैलाली । धनगढीमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशनले प्रकाश बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले प्रदेशको सांगठनिक संरचनालाई पूर्णता दिदैँ बिष्टलाई सभापतिमा निर्वाचित गरेको हो उनि सँगै आगामी कार्यकालका लागि अन्य पदाधिकारीहरुको पनि टुंगो लागेको छ।

नवनिर्वाचित प्रदेश कार्यसमितिको उपसभापति पदमा भोजराज जोशी निर्वाचित भएका छन् भने महामन्त्रीको जिम्मेवारी सन्तोष जोशीले प्राप्त गरेका छन्। त्यस्तै सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी गणेश बोहराले पाउँदा पार्टीको प्रदेश प्रवक्तामा तेज ठकुल्लालाई तोकिएको छ। समितिका नवनिर्वाचित पदाधिकारीहरूले प्रदेशभर पार्टीको नीति र एजेन्डालाई जनताको घरदैलोसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको स्थापना कालदेखि नै पुर्‍याएको योगदानको कदर गर्दै आगामी दिनमा सांगठनिक सुदृढीकरणलाई प्राथमिकता दिने बताएका छन्। नयाँ नेतृत्वले प्रदेशका नौवटै जिल्लामा कार्यकर्ताहरूबीच समन्वय बढाउने, स्थानीय मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र पार्टीको उपस्थितिलाई मजबुत बनाउने रणनीतिक योजना समेत बनाएको छ।

सुरक्षा निकाय समावेशी बनाउन रास्वपा सांसद थापाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम थापाले नेपालको सुरक्षा निकाय समावेशी नभएको आरोप लगाएका छन्। विनियोजित बजेटमाथिको छलफल सहभागी हुँदै उनले सुरक्षा निकायमा सीमान्तकृत समुदायको उपस्थित न्युन रहेको बताए।

उनले तीनवटै सुरक्षा निकायमा यी समुदायको उपस्थिति जम्मा ३ प्रतिशत रहेको बताए। ‘९६ हजार रहेको नेपाली सेनामा जम्मा ३ प्रतिशत, ८० हजार प्रहरी र ४० हजार सशस्त्र प्रहरी रहेको संगठनमा जम्मा ३ प्रतिशत मधेसी, थारु, मुस्लिम, दलित र सीमान्तिकृत समुदायको उपस्थिति छ,’ उनले भने।

उनले सुरक्षा निकायमा यी समुदायको उपस्थिति गराउन माग गरे। त्यसका लागि विज्ञ टोली गठन गरेर न्यायिक व्यवस्थापन प्रणालीको सुरुवात गर्न माग गरे।

सरकारले पोर्टल सुरु गरेपछि कतिले पाए निःशुल्क स्वास्थ्य सेवा ?

काठमाडौं- सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन्।

पोर्टलमा अद्यावधिक गरिएको जानकारीअनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल २३ हजार ४५६ वटा शय्या उपलब्ध छन्। सो सङ्ख्याको १० प्रतिशत अर्थात् दुई हजार ३५६ शय्या पूर्णतः निःशुल्क उपलब्ध छन्। उपलब्ध कुल निःशुल्क शय्यामध्ये हाल ३५४ शय्यामा बिरामी छन्। यसरी तत्काल दुई हजार दुई शय्या निःशुल्क उपलब्ध छन्।

पोर्टलमा देशभर तत्काल उपलब्ध शय्या सङ्ख्या, त्यसको १० प्रतिशतले हुन आउने निःशुल्क शय्या, हाल प्रयोग भइरहेको निःशुल्क शय्या र बाँकी रहेको निःशुल्क शय्या सङ्ख्याको अद्यावधिक जानकारी हुन्छ। मन्त्रालयले पोर्टलमार्फत अस्पतालहरुमा उपलब्ध हुने अन्य सेवाहरूको अद्यावधिक जानकारी समेत उपलब्ध गराउने तयारी गरेको जनाएको छ।

स्वास्थ्य तथा  खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधान र कानुनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निःशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताइन्। उनले भने, ‘यसो नगर्दा लक्षित बर्गले अस्पतालले चाहँदा पाउने नत्र निःशुल्क स्वास्थ्य सुविधा नपाउने अवस्था थियो, त्यसैले विपन्न वर्गका पक्षमा स्वास्थ्य पोर्टल सुरु गरेका हौँ।’

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने व्यवस्था छ।

साथै नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० घ मा ‘अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ” भन्ने व्यवस्था छ।

त्यसको कार्यान्वयनको लागि अस्पतालहरूमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहुँच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिए। उनले भने,  ‘विगतमा कार्यविधि नहुँदा के-के कुरा निःशुल्क हुने भन्नेमा अन्योल थियो। कार्यविधि बनेपछि सबै पक्षलाई सहज भएको छ।’

स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले १० अस्पतालमा लक्षित वर्गका लागि १० शय्या अनिवार्य छुट्टयाइएको हुनुपर्ने, ती शय्यामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क दिनुपर्ने र निःशुल्क शय्यासम्बन्धी सम्पूर्ण जानकारी निःशुल्क पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्नेगरी राख्नुपर्ने व्यवस्था गरेको छ।

सरकारले विपन्न वर्ष लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि ६ वटा समिति गठन गरी देशका ११ वटा संघीय अस्पतालमा खटाएको जनाएको छ।

 

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली । जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ।

किसानलाई जीविकोपार्जन चलाउन पुगोस् भन्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । यस कार्यक्रमबाट साना किसान लाभान्वित भएका छन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीले धनगढी, गोदावरी, गौरीगङ्ग, टीकापुर लम्कीचुहा नगरपालिका र जोशीपुर, बर्दगोरीया, जानकी, र मोहन्याल गाउँपालिका गरी नौ स्थानीय तहका १६ वटा भैँसीपालक समूहलाई रु दुई करोड २५ लाख रकम अनुदान उपलब्ध गराइएको वरिष्ठ पशु विकास अधिकृत तथा प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए।

छनौट भएका १६ वटा समूहलाई रु १७ लाख ४१ हजारको दरले अनुदान उपलब्ध गराइएको छ । भैँसीपालन समूहलाई च्यापकटर (घाँस काटने मेसिन), दाना पिस्ने मेसिनलगायत औजार पनि वितरण गरिएको छ। -रासस

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन

काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७  लाख राजस्व संकलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरूमा १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखे पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा संकलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।

संघीय सरकारले कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेमा ११ महिनाको अवधिमा भने लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् नौ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख राजस्व संकलन भएको छ ।

सरकारले चालु आवको ११ महिना गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत अर्थात् ९९ अर्ब ९४ करोड ६९ लाख राजस्व संकलन गरेको छ ।

त्यस्तैगरी, चालु आवमा अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा भने लक्ष्यको ४२ दशमलव ८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाख मात्रै संकलन भएको छ । -रासस

अर्जेन्टिना भर्सेस अल्जेरिया : कीर्तिमान नजिक मेसी

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अल्जेरियासँग खेल्दा धेरैको नजर सुपरस्टार लियोनल मेसीतर्फ नै केन्द्रित हुनेछ ।

नहोस पनि किन । वर्तमान विश्वकप फुटबलकै उत्कृष्ट खेलाडी । अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकप उपाधि दिलाउने टिमको कप्तान । अनी त्यति मात्र होइन मेसी खेलाडी मात्र नभएर मैदानमा जादुगर जस्तै देखिन्छन् ।

अल्जेरिया विरुद्ध मैदान उत्रँदा मेसीले नयाँ कीर्तिमान समेत बनाउनेछन् । उनी लगातार ६ फिफा विश्वकप खेल्ने विश्वकै पहिलो खेलाडी बन्नेछन् ।

साथै विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान पनि मेसीकै नाममा छ र अल्जेरिया विरुद्धको खेल विश्वकपमा उनको २७औं खेल हुनेछ ।

त्यति मात्र होइन अल्जेरिया विरुद्ध मैदान उत्रँदा मेसीले व्यक्तिगत रुपमा अर्को उपलब्धी पनि हासिल गर्नेछन् । अर्जेन्टिनाको लागि उनको यो २००औं अन्तर्राष्ट्रिय खेल हुनेछ र ला अल्बिसेलेस्टेका लागि २०० खेल खेल्ने उनी पहिलो खेल हुनेछन् ।

पछिल्लो समय ह्याम्स्ट्रिङमा केही समस्या देखिएपछि मेसीले मैत्रीपूर्ण खेलहरुमा कम समय मात्र खेलेका थिए । उनलाई विश्वकपकै लागि भनेर प्राथमिकतामा राखिएको थियो । विश्वकपअघि आइल्यान्ड विरुद्धको मैत्रीपुर्ण खेलमा भने मसीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए ।

उनै मेसीको कप्तानीमा रहेको अर्जेन्टिना फेरि एकपटक विश्वकप जित्ने लक्ष्यसहित अमेरिकीमा छ र अल्जेरिया विरुद्ध सुखद सुरुवात गर्दै उपाधि अभियान थाल्नेछ ।

समूह जे मा रहेका अर्जेन्टिना र अल्जेरियाबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहान ६:४५ बजे    मैदानमा हुनेछ ।

विशव च्याम्पियन अर्जेन्टिना यस पटक विश्वकपमा शीर्ष वरियतामा रहेर खेल्दैछ । अल्जेरिया २८औं स्थानमा छ ।

साथै यस पटक अर्जेन्टिना इटाली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ ।

चार वर्षअघि कतारमा फिफा विश्वकप उपाधि जित्दै ३६ वर्षको खडेरी तोडेको थियो । तर त्यस संस्करणमा अर्जेन्टिना पहिलो खेलमै एसियन राष्ट्र साउदी अरेबियासँग अप्रत्यासित रुपमा पराजित भएको थियो ।

अर्जेन्टिनाका लागि त्यो राम्रो पाठ बनेको थियो र त्यसपछि बाँकी सबै खेल जितेर च्याम्पियन बन्यो । त्यसैले अल्जेरिया विरुद्ध पहिलो खेल खेल्दा अर्जेन्टिनाले त्यसलाई हल्का रुपमा भने लिने छैन ।

अर्जेन्टिन लगातार १४औं र समग्रमा १९औं पटक विश्वकप खेल्दैछ ।

उता फिफा वरीयतामा २८औं स्थानमा रहेको अल्जेरिया आफ्नो पाँचौं विश्वकप खेल्दैछ ।

अल्जेरियाको लक्ष्य भनेको आफ्नो इतिहासमै दोस्रोपटक नकआउट चरणमा पुग्ने हुनेछ ।

सन् २०१४ ब्राजिल विश्वकपमा नकआउट चरण प्रवेश गरेको अल्जेरिया त्यसपछिका दुई संस्करण छनोट हुन सकेन । १२ वर्षपछि विश्वकपमा पुनरागमान गरेको अल्जेरियालाई त्यो त्रालाई सुखद बनाउन चाहन्छ ।

अल्जेरियाले त्यसअघि १९८२, १९८६ र २०१० मा विश्वकप खेलेको थियो ।

मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना पछिल्लो समय लयमा छ । विश्वकपअघि खेलिएको दुवै मैत्रीपूर्ण खेल जितेको थियो भने पछिल्लो सात अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिना अपराजित छ ।

लियानेल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा रहँदै उत्तर अमेरिकाको टिकट काटेको थियो । अर्जेन्टिनाले १८ खेलमा कूल ३८ अंक जोड्दा मेसीले ८ गोल गरेका थिए ।

विश्वकप छनोट भएपछि अर्जेन्टिनाले ७ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा २१ गोल गर्‍यो भने एक गोल मात्र कन्सिड गरेको थियो ।

अफ्रिकन राष्ट्रविरुद्ध अर्जेन्टिनाको विगत राम्रो छ । अफ्रिकन टिमसँग खेलेको पछिल्ला ६ खेलमा विजयी हासिल गरेका छ । सन् १९९० मा क्यानरुन विरुद्ध अप्रत्यसित रुपमा १-० ले पराजित भएपछि अर्जेन्टिना अफ्रिकन राष्ट्रसँग पराजित भएको छैन । यस पटक त्यो लयलाई निरन्तरा दिने लक्ष्यमा अर्जेन्टिना छ ।

अल्जेरियाले अफ्रिकन छनोटमा आफ्नो समूहमा शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान बनाएको थियो । छनोटमा यस टोली सबैभन्दा धेरै गोल गर्ने टोलीमध्ये एक थियो । स्ट्राइकर मोहम्मद अमौरा १० गोलसहित अप्रिकी छनोटमा उच्च गोलकर्ता बने ।

भ्लादिमिर पेट्कोभिकको नेतृत्वमा रहेको अल्जेरिया पछिल्लो समय लयमा पनि छ । विश्वकपअघि भएका चारमध्ये तीन मैत्रीपूर्ण खेलमा अल्जेरियाले विजयी हासिल गर्यो । यसबीच अल्जेरियाले युरोपियन राष्ट्र नेदरल्यान्ड्सलाई पनि पराजित गरेको थियो ।

अर्जेन्टिना र अल्जेरियाबीच अहिलेसम्म उक पटक मात्र खेल भएको छ । जसमा अरज्न्६ना विजयी भएको थियो । मेसीले दुई गोल गरेपछि सन् २००७ मा भएको मैत्रीपूर्ण खेल अर्जेन्टिनाले ४–३ ले जितेको थियो ।

अर्जेन्टिनाका लागि यस विश्वकपमा मेसी स्वभाविक रुपमा हेर्न लायक खेलाडी हुन् नै त्यस बाहेक फरवार्ड जुलियन अल्भारेज अनी युवा खेलाडीहरु निको पाज, थियागो अल्मडा, भ्यालेन्टिन बार्को, गिलुलियानो सिमिओनी, जोस मानुएल लोपेज लगायत खेलाडीहरु पनि हेर्न लायक हुनेछन् । यी खेलाडीहरु पहिलो पटक विश्वकप खेल्दै५न् ।

गोलकिपर इमिलियानो मार्टिनेज औंलाको समस्याबाट मुक्त भएका छन् । त्यस्तै मिडफिल्डर लियान्ड्रो पेरेडेज र विंगर निकोलस गोन्जालेज पनि उपलब्ध हुने विश्वास गरिएको छ । यद्यपि लेफ्ट ब्याक निकोलस ताग्लियाफिको घाइते छन् । उनलाई फाकुन्डो मेडिना र भ्यालेन्टिन बार्कोमध्ये एकजनाले प्रतिस्थापन गर्ने देखिएको छ ।
अल्जेरियाका लागि रक्षक र्यामी बेन्सेबैनीले घुँडाको चोटका कारण खेल गुमाउने सम्भावना बढी छ । उनी बेन्चमा बस्ने हो भने समीर चेरगुई र जिनेद्दिन बेलाइदमध्य एकले उनको ठाउँ लिनेछन् ।
भेट्रान खेलाडी तथा कप्तान रियाद माहरेज र अमौरा अल्जेरियाका लागि ‘प्लेयर्स टु वाच’ हुन् ।

समूह ‘जे’को दोस्रो खेलमा अस्ट्रियाले जोर्डनसँग खेल्नेछ । यो खेल बुधबार बिहान ९:४५ बजे सुरु हुनेछ । एसियाली राष्ट्र जोर्डन पहिलो पटक विश्वकपमा छनोट भएको हो ।

स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने रिट खारेज

काठमाडौं । स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार (असार २) रिट खारेज हुने फैसला सुनाएको हो ।

स्वार्थ जोडिएका व्यक्तिहरू मन्त्री बन्न र बनाउन रोकिनुपर्ने माग राखेर २०८० चैत १९ मा सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए । ‘स्वार्थको द्वन्द्व’ रोक्न कानुनी व्यवस्था गर्न समेत माग गर्दै रिट दायर भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता विवाद प्रकरणमा पनि सफलले दिएको रिटमा सर्वोच्चबाट सांसद, उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापतिको पद नै समाप्त भएको थियो । पुनः जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अर्काे नागरिकता बनाएर लामिछाने ती पदमा दोहोरिएका थिए ।

रिट दायर भएपछि तत्कालीन न्यायाधीश रहेका डा.शर्माको एकल इजलासबाट निवेदनमा उठाइएका विषय गम्भीर सार्वजनिक महत्त्वको र सुशासनसँग सम्बन्धित रही विषयवस्तुको प्रकृतिबाट चाँडो निर्णय हुन आवश्यक देखिएको भन्दै मुद्दालाई ‘अग्राधिकार’ प्रदान गरिएको थियो ।

रिटमा स्वार्थ जोडिएका व्यक्तिहरू मन्त्री बन्न तथा बनाउन नहुने गरी संविधान र कानुनको व्याख्या गरी कार्यान्वयन गराउन परमादेशको माग थियो ।

सेयर बजारको ओरालो यात्रा कायमै, ४ अर्बको कारोबार

काठमाडौं :मंगलबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झरेको छ।अघिल्लो दिन सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा अडिएको थियो।

यसदिन ३५५ स्क्रिप्सको १ करोड ७ लाख ८ हजार  ५९६ कित्ता सेयर ४ अर्ब  ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३१ करोड मूल्य बराबरको कारोबार भयो।

सिद्धार्थ बैंकले १८ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्ग मिल्सको १५ करोड,रावा इनर्जी डेभलपमेन्टको १३ करोड र बुंगल हाइड्रोको १२ करोडको सेयर कारोबार भयो।

यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सोपान फर्मास्युटिकल्स र  अपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबारमा आएकामध्ये ८० वटा स्टक्सको मूल्य बढ्दा १७७ वटाको घट्यो। बाँकी १५ वटा स्टक्सको मूल्य स्थिर रह्यो। दुईवटा समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी अरु समूहका उपसूचक घटेका हुन्।

पत्रकार महासंघ बझाङको नेतृत्वमा ललितबहादुर सिंह

धनगढी- नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्षको जिम्मेवारी पत्रकार ललितबहादुर सिंहले सम्हालेका छन् । महासंघ बझाङ शाखाको कार्यालयमा आयोजित कार्यक्रमबीच सिंहले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाका निवर्तमान अध्यक्ष डिबी बिष्टको कार्यकाल समाप्त भएपछि नेतृत्व हस्तान्तरण गरिएको हो । यसअघि सम्पन्न महासंघको निर्वाचनमा बिष्ट र सिंहले समान मत प्राप्त गरेका कारण आपसी सहमतिअनुसार कार्यकाल आधाआधा बाँड्ने निर्णय भएको थियो । सोही सहमतिअनुसार अब सिंहले बाँकी कार्यकाल नेतृत्व गर्ने भएका छन्।

नवनियुक्त अध्यक्ष सिंह लामो समयदेखि पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । सिंहले भने, ‘पत्रकारहरूको दुःख–सुखमा साथ दिँदै आएको छु, अब थप जिम्मेवारी पाएको छु, मेरो कार्यकालमा पत्रकारको हितमा रहेर काम गर्नेछु ।’ प्रेस स्वतन्त्रता, पत्रकार अधिकार तथा लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा सक्रिय सहभागिता जनाउँदै आएका उनले पत्रकारितामा नयाँ आयाम स्थापित गर्न निरन्तर प्रयास रहने बताएका छन् । जिल्लाका दुर्गम बस्तीमा समस्यामा परेका नागरिकलाई सहयोग पु¥याउनेदेखि विकास निर्माणका विषयमा राजनीतिक दल, जनप्रतिनिधि र सरकारी निकायबीच समन्वय गरी विकासको कार्यदिशा तय गर्नसमेत उनले भूमिका खेलेको स्थानीय सञ्चारकर्मीहरू बताउँछन् ।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष सिंहले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारिता क्षेत्रको विकासका लागि केवल भाषण र प्रतिबद्धताभन्दा पनि व्यवहारिक काम आवश्यक रहेको उल्लेख गर्दै आफूले परिणाममुखी कार्यशैली अपनाउने बताए ।

‘पत्रकारहरूको अधिकार, पेशागत मर्यादा र संस्थागत सुदृढीकरणका लागि नियम र विधानभित्र रहेर काम गर्नेछु,’ सिंहले भने, ‘पत्रकारिताको विकासका लागि बोलेरभन्दा काम गरेर देखाउने मेरो प्रयास हुनेछ ।’

कार्यक्रममा सहभागी पत्रकारले सिंहको नेतृत्वमा नेपाल पत्रकार महासंघ बझाङ शाखा अझ सशक्त, सक्रिय र पत्रकारहरूको साझा संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि तथा प्रेस स्वतन्त्रताको पक्षमा महासंघले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त उनीहरुको छ ।

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो ।

यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य (खारेज) हुँदा कानुनी रिक्तता भएको थियो ।

उक्त समस्या समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो । कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह (डीएम, एमसीएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गराउने बाटो खुलेको छ ।

यस कार्यविधिले आयोगको तर्फबाट चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा (स्नातकोत्तर तह डीएम, एमसीएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता तथा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । -रासस

सीमा समस्या र द्विपक्षीय सम्बन्धप्रति संवेदनशील बन्न सरकारलाई आग्रह

काठमाण्डौ – सांसदहरूले सीमासम्बन्धी विषय र द्विपक्षीय सम्बन्धका सवालमा संवेदनशील बन्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सीमासम्बन्धी समस्याको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ १७ गते सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । उनले परराष्ट्रमन्त्री शिशिर खनालको भर्खरैको चीन भ्रमणका क्रममा त्रिपक्षीय सीमासम्बन्धी विषयमा छलफल भए वा नभएकोबारे जानकारी दिन सरकारसँग माग गरे ।

नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै सुस्तालगायत सीमावर्ती क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले राष्ट्रियता र नेपाली भू–भागको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले भारतले सीमावर्ती क्षेत्रमा बाँध निर्माण गरेका कारण रौतहटको गौर क्षेत्रमा डुबानको समस्या बढेको उल्लेख गर्दै यसको समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताए ।

सांसदहरूले सीमासम्बन्धी विषय राष्ट्रिय हित र कूटनीतिक सम्बन्धसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले सरकारलाई जिम्मेवार र सावधानीपूर्वक कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले मध्यपूर्वमा युद्धविराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका छन् ।

रास्वपा नेता सिंहमाथि धनगढीमा भएको आक्रमणबारे एमाले नेता महरले गराए ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले रास्वपा नेता शैलेश सिंहमाथि कैलालीमा भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले यस घटनाबारे सदनलाई जानकारी गराएका हुन् ।

सांसद महरले सिंहमाथि धनगढीमा भएको साङ्घातिक आक्रमणको घटनाप्रति पनि आपत्ति जनाए ।

रास्वपा सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट घर फर्कने क्रममा गत असार १ गते राति ७–८ जनाको समूहले सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको जानकारी उनले गराए ।

आक्रमणकारीहरूले सिंहलाई घाइते बनाउनुका साथै उनको साथमा रहेको ल्यापटप, मोबाइल, घडी र सुनको सिक्री समेत लुटेको सांसद महरले सदनलाई बताए ।

उक्त घटनालाई लिएर सांसद महरले मुलुकमा अराजकता र दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गरे ।

आफ्नै पार्टी सरकारको नेतृत्वमा रहेको अवस्थामा समेत जिम्मेवार नेतामाथि आक्रमण हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको उनको भनाइ छ ।

सिंह गत प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट रास्वपाको उम्मेदवार समेत थिए ।

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेका बेला सम्बन्धित मन्त्री बैठकमा सहभागी नभएको भनी प्रश्न उठेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् ।

बैठकमा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार सम्बन्धित मन्त्रीको उपस्थिति बिना सो मन्त्रालयको शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाएपछि बैठक स्थगन गरिएको हो ।

राहदानी विभागका महानिर्देशक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।

अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् ।

अर्का एक जना व्यक्ति पनि पक्राउ परेको स्रोतले बतायो । उनीहरु सुरक्षा निगरानीमा छन् ।

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

काठमाण्डौ- कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।

मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन सङ्घलगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो ।

मन्त्रिपरिषद्को गएको चैत २४ गतेको निर्णयबाट १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नुपरेको, चिस्यानका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको बताएका छन् ।

मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर बन्न चैते धान खेतीको संरक्षण र विस्तारमा जोड दिएको जनाएको छ । धान चामल उद्योगीसहित सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी किसानबाट निर्धारित मूल्यमा धान खरिद गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले विशेष जोड दिएको छ ।

इरानसँग हस्ताक्षर भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

काठमाण्डौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्यसम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक हुने बताएका छन् ।

जी–सेभेन सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँगको कुराकानी ट्रम्पले युद्ध अन्त्यसम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ भन्न पाउँदा आफूलाई एकदमै खुसी लागेको बताएका बीबीसीले जनाएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएका विषयहरू खुलाउन शुरु गरेका छन् ।

सम्झौतामा औपचारिक हस्ताक्षर शुक्रबार जेनेभामा भएकै दिन होर्मुज जलमार्ग पुनः खुला हुने भएको छ । यसै हप्ता इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि शुरु हुनेछ । इरानमाथिका प्रतिबन्ध र उसका सम्पत्ति फुकुवा गर्ने विषय सम्झौताको पालनामा उसले देखाएको प्रतिबद्धतामा निर्भर रहने अमेरिकी अधिकारीले बताएका खबरमा उल्लेख छ ।

अमेरिकी उपराष्ट्रपति जे डी भान्सले बताए अनुसार इरानसँगको सम्झौताको प्रारूप डेढ पृष्ठ लामो छ । भान्सले एउटा हरफमा इरानले क्षेत्रीय शान्ति र स्थिरताका लागि प्रतिबद्धता पनि जनाएको बताएका छन् । महत्त्वपूर्ण विषय इरानले परमाणु अस्त्र नबनाउने आधिकारिक प्रतिबद्धता जनाउन लागेको उनको दाबी छ ।

पछिल्लो सहमति अनुसार दुवै पक्षले थप ६० दिनका लागि युद्धविराम कायम राख्ने छन् । त्यसबीचमा सम्झौताका बाँकी विषयहरू टुङ्गो लगाइनेछ । अमेरिका र इरानबीच सहमति भएपछि पनि लेबनानमा इजरेली सेना र इरान समर्थित हिज्बुल्लाहबीच  द्वन्द्व कायमै छ ।

कञ्चनपुरमा ‘डीएपी’ मल अभाव

कञ्चनपुर । जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार यहाँ सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि डिएपी मल अभाव छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हेमराज जोशीले यहाँबाट ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन रसायनिक मल युरिया बिक्री वितरण भइसकेको जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी प्रतिबोरा रु दुई हजार ३९४ र युरिया रु ९४४ मा बिक्री गरिरहेको जनाएको छ ।

उनले वार्षिक करिब ४०० मेट्रिक टन मल अभाव हुने गरेको बताए । खुला सीमानाका कारण कञ्चनपुरका विभिन्न स्थानमा भारतबाट समेत फाटफुट रूपमा मल आयात हुने गरेको छ ।

बझाङकी एक स्वास्थ्यकर्मी खोटाङमा मृत फेला

खोटाङमा एक स्वास्थ्यकर्मी युवति मृत अवस्थामा फेला परेकी छिन्। बझाङको केदारस्य गाउँपालिका ७ स्थायी घर भई खोटाङको बाराहापोखरी गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा कार्यरत अनिसाकुमारी धामी आफ्नै कोठामा मृत भेटिएकी हुन्।

प्रदेश सरकार मातहत स्थायी स्वास्थ्यकर्मी रहेकी २३ वर्षीय अनिसा सोमबार बिहान कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रहरीका अनुसार बन्द कोठा नखुलेको खबर स्थानीयले दिएपछि स्थानीय चौकीका प्रहरी गएर हेर्दा कोठाभित्रबाट चुकुल लगाइएको र भित्र झुन्डिएको अवस्थामा उनलाई भेटिएको हो।

झुन्डिएर मृत अवस्थाको घटनाबारे आफन्तलाई खबर गरी आफन्त नआएसम्म सोमबार दिनभर पहरा दिएर राखेको बताउँदै प्रहरीले मंगलबार बिहान आफन्त आएपछि जिम्मा दिने प्रक्रिया सुरु गरेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले भर्खर आइपुगेका आफन्तजनले काठमाडौं पोष्टमार्टम गर्ने भनेपछि सर्जमिन मुचुल्का गरेर शव उनीहरूकै जिम्मा लगाउने तयारी भइरहेको बताए।

घटनाको वास्तविक कारण अझै खुल्न नसकेकाले शव जिम्मा लगाएपछि पनि थप अनुसन्धानको क्रम चलिरहने डिएसपी बुढाथोकीले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले प्रारम्भिक अनुसन्धान अनुसार युवतिले आत्महत्या गरेको देखिएको बताएकी छिन् । पछिल्लो समय आत्महत्या गर्ने क्रम अत्यधिक बढेको र यो अत्यन्त दुःखद भएको भन्दै उनले त्यसबाट बँचाउन हरेक परिवार र समाजमा मनोपरामर्श अभियान चलाउनु आवश्यकता औँल्याएकी छिन्।

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षीको माग

काठमाडौं- बिपक्षी दलका सांसदहरुले मंगलबार पनि सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै बिपक्षी दलका सांसदहरुले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।

बैठकमा नेकपा सांसद प्रमेश हमालले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्वयं प्रधानमन्त्रीले स्पस्ट पार्नुपर्ने बताए । उनले सीमामा भइरहेको भारतीय हस्तक्षेपका बारेमा समेत सरकार गम्भीर हुनुपर्ने बताए । त्यस्तै कांग्रेस सांसद रेखाकुमारी यादवले सीमाका बिषयमा मन्त्रीले नभइ स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरिन् ।

त्यस्तै एमालेकी सांसद टुकाभद्रा हमालले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले रेकर्डबाट हटाउन माग गरिन् । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्चाउनु पर्ने र सभामुखले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी राप्रपा सांसद सरस्वती लामाले नेपालको सीमाका बिषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जिम्मेवारीमा बसेकाहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिनु उचित नभएको धारणा राखिन् ।

सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरुआत भएको छ ।

सुदूरपश्चिमबाट तालिमका लागि छनोट भएका यहाँका सामुदायिक र निजी गरी बीस विद्यालयमा सोमबारदेखि सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

विद्यार्थीलाई विपद् व्यवस्थापन, ट्राफिक सचेतना, राष्ट्रिय एकताको भावनाको विकास, आत्मसुरक्षा, समूहमा मिलेर काम गर्ने बानीको विकास लगायत देश र राष्ट्रप्रति अनुशासित भएर काम गर्ने बानीको विकास गर्ने उद्देश्यले सेनाले हरेक वर्ष उक्त तालिम सञ्चालन गर्दै आएको छ ।

सुदूरपश्चिम पृतनाका अनुसार यहाँ कैलालीमा छ वटा विद्यालय, कञ्चनपुरमा पाँच, अछाम र बैतडीमा दुई-दुई बाँकी डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र दार्चुलामा एक/एक विद्यालयमा तालिम सुरु भएको हो । बराहदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी अशोक शाहीले कञ्चनपुरमा पनि सोमबार पाँच वटा विद्यालयमा सि.स. ५२ एनसीसी ब्याच राष्ट्रिय सेवा दल जुनियर तालिम सुरु गरिएको जानकारी दिए । “१०० दिनको तालिममा छनोट भएका विद्यार्थीलाई ८९ दिन जिल्लामै राखिने र २१ दिन जिल्ला बाहिर लगेर प्रक्षिण दिइने छ”, उनले भने “विद्यार्थीलाई अनुशासन, राष्ट्रप्रेम, नेतृत्व विकास, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिन्छ ।”

त्यसका साथै विद्यार्थीलाई तालिम अवधिमा ड्रिल, खुकुरी ड्रिल, टेक्वान्दो एरोविक्स र फिल्ड क्राप्टलगायतका विषयमा समेत प्रशिक्षण दिइने सेनाले जनाएको छ । कञ्चनपुरको दक्षिण क्षेत्रका तीन वटा विद्यालयको गुल्मपति सेनानी अशोक शाहीले तालिम उद्घाटन गरे । महेन्द्रनगर बजार क्षेत्रका दुई वटा विद्यालयको तालिम उद्घाटन श्री नंं २५ बाहिनी अड्डाका सैनिक अधिकारीले गरेका थिए ।

सुदूरपश्चिमका बीस विद्यालयका ६०० विद्यार्थी प्रशिक्षणमा सहभागी रहेको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । -रासस

रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित

काठमाडौँ । रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले रातोपाटीलाई जानकारी दिए ।

काठमाडौँ । रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले रातोपाटीलाई जानकारी दिए ।

नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्त समितिका सभापति थिए । सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आजै दिउँसो २ बजेपछि निर्वाचन हुनेछ । रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको थियो ।

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री बिक्रम सिंह धामीले सोमबार मध्यरात प्रदेश सभामा आगामी वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

सरकारले ल्याएको यो बजेट गत आर्थिक वर्ष २०८२र८३ को तुलनामा करिब ४ अर्ब २० करोडले बढी हो । गत वर्ष सरकारले ३३ अर्ब ५० करोडको बजेट ल्याएको थियो । सत्ता साझेदार दलहरूबिचको कुरा नमिल्दा दिनभर अन्योलमा परेको बजेट सहमति जुटेपछि राति साढे ११ बजेपछि मात्रै संसद्मा पेस गरिएको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ । कृषि तथा पशुपक्षी क्षेत्रमा रोजगारी सिर्जना गर्न ५५ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, उत्कृष्ट कृषकका लागि ‘भीमदत्त पन्त कृषक पुरस्कार’ का लागि १ करोड र प्राङ्गारिक मल प्रवर्द्धनका लागि १ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ । दुग्धजन्य पदार्थको विविधीकरणका लागि धुलो दूध कारखाना स्थापना गर्न ५ करोड र बाजुराको भेँडापालन तथा ऊन गलैँचा उद्योगका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधारतर्फ प्रादेशिक गौरवका सडकका लागि १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, झुलुङ्गे पुल निर्माणका लागि १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ । विश्व बैंकको सहयोगमा साइपाल, अपि र बाजुराका सडक सञ्जाल जोड्न पर्याप्त बजेटको व्यवस्था गरिएको मन्त्री धामीले बताए । कञ्चनपुरको दैजी–जोगबुढा सडकका लागि १० करोड र सडक मर्मत सम्भारका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मध्यरातको बजेट भाषणस् सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
स्वास्थ्यतर्फ लम्कीमा र जोगबुढामो डायलाइसिस सेवा विस्तार गरिने भएको छ। सेती र महाकाली अस्पतालको स्तरोन्नति तथा पहाडी जिल्लाका अस्पतालको क्षमता वृद्धिलाई प्राथमिकता दिइएको छ । सुदूरपश्चिमको थारु समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनेमिया नियन्त्रणका लागि विशेष बजेटको व्यवस्था गरिएको छ भने प्रादेशिक आयुर्वेद अस्पताललाई ५० शैयाको बनाइने घोषणा गरिएको छ ।

शिक्षातर्फ प्रदेश नमुना विद्यालय’ कार्यक्रमका लागि ५ करोड ५० लाख र प्रत्येक जिल्लामा एक–एक वटा नमुना क्याम्पस बनाउन ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। विद्यालयका भान्छा सुधारका लागि ६ करोड ५० लाख र बाल विकास नमुना कार्यक्रमका लागि १ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

मुक्त हलिया, कमैया र सीमान्तकृत समुदायको आवास निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। बादी समुदायको उत्थान र सशक्तीकरणका लागि १ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । बालविवाह रोक्न सानै छँदा विवाह रोक्ने अभियानका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै अपि, सुर्मा पदयात्राका लागि ५० लाख, ब्यास क्षेत्रका लागि २ करोड र कञ्चनपुरको पर्यटन हबका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।  विपद् प्रभावित परिवारका लागि २ करोड र वन डढेलो नियन्त्रणका लागि विशेष बजेट विनियोजन गरेको छ । यस्तै प्रदेश सरकारले हेलो सिएम र सिएम एक्सन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रदेशभित्रै किताब कारखाना सञ्चालन गर्न २ करोड र धनगढी विमानस्थलमा कोसेली घर निर्माण गर्ने जनाएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा नयाँ कार्यक्रम भने खासै आएका छैनन् । सरकारले गत वर्षको योजनाहरूलाई निरन्तरता दिइएको हो । बजेटले कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई समेटेको छ ।

३७ अर्ब ७० करोडको खर्च ब्यहोर्ने स्रोतहरूमा सङ्घीय अनुदान र आन्तरिक राजस्वलाई मुख्य आधार बनाइएको छ ।जसमा आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने प्रदेश सरकारको अनुमान छ । यस्तै सङ्घीय रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ, सङ्घीय वित्तीय समानीकरण अनुदान ९ खर्व ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै चालु आर्थिक वर्षको बाँकी मौज्दात रकम ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। सङ्घीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ र सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख र सङ्घीय विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रदेश सरकारले स्थानीय तहहरूका लागि पनि विभिन्न अनुदानमार्फत बजेट विनियोजन गरेको छ । जसमा वित्तीय समानीकरण अनुदानतर्फ ९१ करोड ८० लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ३७ करोड ४६ लाख, समपूरक अनुदानतर्फ ८१ करोड ४४ लाख ३७ हजार र विशेष अनुदानतर्फ ४९ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । यस्तै सवारी साधन करबाट ३२ करोड रुपैयाँ स्थानीय तहलाई जाने अनुमान गरिएको छ ।

मध्यरात बजेट प्रस्तुत हुनुअघि प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले कडा विरोध जनाएर बैठक बहिस्कार गरेर बाहिर निस्किए। दिनभरि सत्तासाझेदारी दल एमालेले पनि बजेटमा आफ्ना योजना नपरेको भन्दै आपत्ति जनाएको थियो । राति ९ बजे सहमति भएपछि ११ बजेपछि मात्रै बजेट प्रदेश सभामा प्रस्तुत भएको हो ।

रास्वपाको महाधिवेशन आउनै लाग्दा ९ जिल्लामा भएन जिल्ला अधिवेशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर संगठन विस्तार अभियानअन्तर्गत हालसम्म ६४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ। पार्टीका अनुसार ९ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी रहेको छ भने केही जिल्लामा सुरु भएको अधिवेशन प्रक्रिया स्थगित भएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वटा वडा, ६०९ वटा पालिका र ६४ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

पार्टीका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा जिल्ला अधिवेशन हुन बाँकी छ।

यस्तै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगित भएको पार्टीले जनाएको छ।

रास्वपाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन्। मधेश प्रदेशको अधिवेशन स्थगित रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी छ।

यसैबीच, पार्टीले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। महाधिवेशनका लागि संगठनात्मक तयारी, प्रतिनिधि व्यवस्थापन तथा अन्य आवश्यक कार्यहरू अन्तिम चरणमा पुगेको पार्टीको भनाइ छ।

कोसी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट १२.७४ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड २० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी, स्थानीय तहहरूका लागि पाँच अर्ब ५६ करोड ३६ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको मन्त्री लिङ्थेपले बताए ।

बजेटका लागि प्रदेश सरकारले विभिन्न स्रोतबाट आम्दानी जुटाउने लक्ष्य लिएको छ । आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड रुपैयाँ तथा वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, ससर्त अनुदानबाट पाँच अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। सोझै भुक्तानी प्रणालीमार्फत २० करोड रुपैयाँ व्यवस्थापन गरिने तथा पाँच अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यहोर्ने योजना बजेटमा समावेश गरिएको छ ।

प्रदेश सरकारले पूर्वाधार विकास, उत्पादन वृद्धि, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरेको जनाएको छ ।

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिम मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात् ३८.५६ प्रतिशत र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात् ६०.६८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २५ करोड अर्थात् कुल विनियोजनको ०.७६ प्रतिशत रहेको उनले बताए । चालु खर्च चालु आर्थिक वर्षको तुलनामा १ प्रतिशत कम भएको मन्त्री शेरचनले बताए ।

प्रदेश बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट समानीकरण अनुदानस्वरूप ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, ससर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख र विशेष अनुदानमार्फत ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान रहेको बजेटमा उल्लेख छ ।

त्यस्तै, प्रदेश सरकारले आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनपश्चात २ अर्ब मौज्दात रहने अनुमान रहेको पनि मन्त्री शेरचनले बताए । साथै, आगामी आर्थिक वर्षको लागि न्यून हुने १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत उठाइने पनि उनले बताए ।

मधेस प्रदेशमा ४१ अर्ब १३ करोड बजेट विनियोजन

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ।

प्रदेश सभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गर्नुभएको हो।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ४६ अर्ब ५८ करोडको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट गत वर्षको तुलनामा करिब १३ प्रतिशतले कम रहेको छ। स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइएको सरकारको भनाइ छ।

कूल बजेटमध्ये चालुतर्फ रु १४ अर्ब ६६ करोड अर्थात् ३५ दशमलव ६४ प्रतिशत र पुँजीगततर्फ रु २६ अर्ब ४७ करोड अर्थात् ६४ दशमलव ३६ प्रतिशत विनियोजन गरिएको छ। प्रदेश सरकारले विकास निर्माण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चको हिस्सा बढाएको जनाएको छ।

अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वबाट रु ११ अर्ब २२ करोड ७५ लाख सङ्कलन हुने अनुमान गरिएको छ।

त्यस्तै राजस्व बाँडफाँटबाट रु १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट रु नौ अर्ब ४९ करोड ५९ लाख तथा गत आवको नगद मौज्दातबाट रु छ अर्ब आठ करोड ५२ लाख परिचालन गरिनेछ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, स्वास्थ्य सेवाको विस्तार तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

प्रस्तुत बजेटबाट आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास सरकारले लिएको छ।

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत

चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च रु एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख भएको छ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आवको ११ महिनामा कूल लक्ष्यको ३२ दशमलव ५३ प्रतिशत पुँजीगत खर्च भएको हो।

सरकारले चालु आवमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रकम पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ।

चालु आव सकिन एक महिना मात्रै बाँकी रहेको अवस्थामा पुँजीगत खर्च भने पर्याप्त हुन सकिरहेको छैन।

चालु आवमा चालु खर्चतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड खर्च गर्ने लक्ष्य राखेकामा ११ महिनामा ७६ दशमलव ९१ प्रतिशत खर्च भएको छ।

वित्तीय व्यवस्थापनतर्फ वर्षभरिमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु तीन खर्ब पाँच अर्ब ७१ करोड ८१ लाख खर्च भएको छ।

खोज्नुहोस