भारतबाट नेपालतर्फ कीटनाशक औषधि तस्करी प्रयास, तीन नेपाली महिला पक्राउ

द एभरेष्ट पोष्ट
३ असार २०८३ ११:१७

धनगढी, २ असार /  नेपाल- भारत अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रणका लागि सशस्त्र सीमा बल (एसएसबी) ले सञ्चालन गरेको विशेष निगरानी अभियानका क्रममा ठूलो परिमाणमा अवैध सामानसहित तीन नेपाली महिला पक्राउ परेका छन्।

बी कम्पनी बसाही अन्तर्गत ४९औँ बटालियन एसएसबी पिलिभीतको सीमा चौकी आजाद नगरका सुरक्षाकर्मीले विशेष सूचनाका आधारमा सीमा क्षेत्रमा खोजी तथा निगरानी अभियान सञ्चालन गरेका थिए। एसएसबीका अनुसार पिलर नम्बर ७६८/३८ नजिक भारतीय क्षेत्रभित्र करिब ३०० मिटर दूरीमा गरिएको गस्तीका क्रममा तीन महिलालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा कञ्चनपुरका रितु तामाङ, सोनिया तामाङ र शान्ति तामाङ रहेका छन्। उनीहरूको साथबाट विभिन्न प्रकारका कीटनाशक औषधि, १५ किलो फलामको जाली तथा तस्करीमा प्रयोग गरिएका तीनवटा मोटरसाइकल बरामद गरिएको एसएसबीले जनाएको छ।

बरामद गरिएको कीटनाशक औषधिको मूल्य करिब १ लाख ३३ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ। जफत गरिएका अन्य सामानसहित बरामद सामग्रीको कुल अनुमानित मूल्य ४ लाख १० हजार ५ सय ७० रुपैयाँ पुगेको एसएसबीको दाबी छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका महिलाले उक्त सामान भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन लागेको खुल्न आएको एसएसबीले जनाएको छ।

घटनापछि पक्राउ परेका महिलासहित बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पलियालाई बुझाइएको छ।

भारत–नेपाल खुला सीमामा हुने तस्करी तथा अवैध गतिविधि नियन्त्रण गर्न एसएसबीले नियमित रूपमा निगरानी तथा सुरक्षा अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस