आमिर खान र गौरी स्प्राटले मुम्बईमा गरे विवाह

काठमाडौं । बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ ।

आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको यो तेस्रो विवाह हो । यसअघि उनले रिना दत्त र किरण रावसँग विवाह गरेका थिए । पछि यी दुईजनासँगको वैवाहिक सम्बन्धमा दरार आयो ।

गौरीको पनि यो दोस्रो विवाह हो । अघिल्लो विवाहबाट गौरीका एक ७ वर्षका छोरा छन् ।

उद्योग मन्त्रालयको १०० दिने प्रगति- नीतिगत सुधारदेखि डिजिटल सेवासम्म

काठमाडौं । सरकारको १०० दिनको अवधिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नीतिगत सुधार, सेवा प्रवाहमा सरलीकरण र व्यापार प्रवर्धनको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिपूर्ण काम गरेको दाबी गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार, विभिन्न नयाँ ऐनका मस्यौदाहरू तयार हुनुका साथै सेवाग्राहीका लागि डिजिटल प्रणालीको विस्तार गरिएको छ ।

मन्त्रालयका अनुसार कम्पनी विधेयक र खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकको मस्यौदा राय परामर्शका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ ।

यस्तै, ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्धन रणनीति, २०८३’ तर्जुमा गरी मन्त्रिपरिषद्‌मा स्वीकृतिको क्रममा रहेको छ भने ‘औद्योगिक तथा व्यापार लजिस्टिक गुरुयोजना’ स्वीकृत भई कार्यान्वयनमा आएको छ ।

मन्त्रालयले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन एआई कल सेन्टर तथा डिजिटल सिग्नेचरसहितको अनलाइन सेवा सुरु गरेको छ । अब विदेशी लगानीकर्ताले स्वचालित प्रणालीबाट जतिसुकै रकमको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था पूर्ण रूपमा लागु भएको छ । कम्पनी दर्ता, नवीकरण र खारेजी सम्बन्धी विवरणहरू रियल टाइम ड्यासवोर्डमा देखिने व्यवस्था मिलाइएको छ ।

यस्तै, उद्यमशीलता विकासका लागि स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत ९६६ वटा परियोजनालाई कर्जा सिफारिस गरी राष्ट्रिय वाणिज्य बैंकमा पठाइएको छ । साथै, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले १० वटै औद्योगिक क्षेत्रबाट ४३ करोड ५६ लाख रुपैयाँभन्दा बढी बक्यौता रकम असुल गरेको छ ।

बजार अनुगमन र आपूर्ति व्यवस्था मन्त्रालयले बजार नियन्त्रण र आपूर्तिमा पनि सक्रियता देखाएको छ । यस अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १८ जिल्लाका ८ हजार किसानबाट ५० करोड ७४ लाख रुपैयाँ बराबरको धान न्यूनतम समर्थन मूल्यमा खरिद गरेको छ ।

यसअवधिमा कर्णालीका दुर्गम जिल्लामा जन्म र मृत्यु भएका परिवारलाई ९७.१४ मे.टन खाद्यान्न निःशुल्क वितरण गरिएको मन्त्रालयले जनाएको छ । बजार अनुगमनका क्रममा १०२ वटा फर्मलाई ७१ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन प्रतिवेदन तयार गरी सरसफाइ र मर्मतको काम अघि बढाएको छ, जसका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको मन्त्रालयले जनाएको छ । आगामी वर्षका लागि महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना, प्युठान र धादिङमा जडिबुटी उद्योगको सम्भाव्यता अध्ययन, र महोत्तरीमा जैविक मल कारखाना स्थापना गर्ने जस्ता महत्वाकांक्षी योजनाहरू तय गरिएका छन् ।

अर्थ मन्त्रालयका १०० दिन : कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्म

काठ्माण्डौ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेपछि पहिलो १०० दिनमा अर्थ मन्त्रालयले कानुनी, नीतिगत, प्रशासनिक तथा डिजिटल सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार आर्थिक सुधारलाई संस्थागत गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा विभिन्न महत्वपूर्ण निर्णय तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएका छन्।

मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत बृहत्तर आर्थिक सुधारको आधार तयार गरेको जनाएको छ। यस अवधिमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी नियमावली संशोधन, वैकल्पिक विकास वित्त परिचालन ऐनको तर्जुमा तथा नेपाल राष्ट्र बैंक ऐन संशोधनलगायत कानुनी सुधार अघि बढाइएको छ।

सार्वजनिक सेवालाई सहज बनाउन १२० स्थानीय तहबाट स्थायी लेखा नम्बर (प्यान) सेवा उपलब्ध गराइएको छ भने घरबाटै पेन्सन प्रमाणीकरण गर्न सकिने ई–पेन्सन भेरिफिकेसन प्रणाली सञ्चालनमा ल्याइएको छ। पश्चिम एसियाको तनावका कारण बढेको इन्धनको मूल्यवृद्धिको प्रभाव कम गर्न पेट्रोलियम पदार्थको आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिइएको मन्त्रालयले जनाएको छ।

डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै कर विवरण, कर चुक्ता, भन्सार जाँचपास तथा सरकारी वित्तीय व्यवस्थापनका अधिकांश सेवा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याइएको छ। साथै मन्त्रालय तथा मातहतका निकायको संगठन पुनर्संरचना, वित्तीय अनुशासन सुदृढीकरण र ठूलो वित्तीय अपराधसम्बन्धी अनुसन्धानलाई समेत प्राथमिकता दिइएको छ।

वैदेशिक सहायता परिचालनतर्फ विश्व बैंक, एशियाली विकास बैंक, जापान तथा संयुक्त राष्ट्रसंघीय निकायसँग डिजिटल रूपान्तरण, पूर्वाधार, स्वच्छ वातावरण र दिगो वित्तीय प्रणालीसँग सम्बन्धित विभिन्न परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता सम्पन्न भएका छन्।

मन्त्रालयका अनुसार यी उपलब्धिले आर्थिक सुधारको आधार मजबुत बनाउनुका साथै सार्वजनिक सेवा प्रवाह, लगानी वातावरण, सुशासन तथा दीर्घकालीन आर्थिक विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

अध्यक्षमा ४ जनाको दौड, वरिष्ठ उपाध्यक्षमा भण्डारीको आकांक्षा

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघको यहीँ असार २८ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष (वस्तुगत) पदमा संघका पूर्व कोषाध्यक्ष हेमराज भण्डारीले उम्मेदवारी दिने तयारी गरेका छन्।

लामो समयदेखि अत्तरिया क्षेत्रमा व्यवसाय र संघको गतिविधिमा सक्रिय रहेका भण्डारीले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, पारदर्शी नेतृत्व र संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिने आकांक्षा राखेका छन् ।

यसैबीच अध्यक्ष पदका लागि नैनसिंह कार्की, कमल कडायत, कविराज भट्ट र रमेश भट्टराई प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले चुनावी अभियान र व्यवसायीहरूसँगको भेटघाटसँगै प्यानल बनाउन आकांक्षी उम्मेदवारहरू निरन्तर दौडधुपमा लागिरहेका छन्।

युवा परिषद सुदुरपश्चिमको कार्यकारी उपाध्यक्षमा गजेन्द्र सावद नियुक्त

कैलाली । युवा परिषद् सुदुरपश्चिम प्रदेशको कार्यकारी उपाध्यक्षमा गजेन्द्र सावद नियुक्त भएका छन् । प्रदेश सरकारले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

युवाहरू माझ लामो समयदेखि सक्रिय सावद आगामी ४ बर्षका लागि परिषदको कार्यकारी उपाध्यक्षमा नियुक्त भएका हुन् । नवनियुक्त कार्यकारी उपाध्यक्ष सावदले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।

उनले युवाहरूलाई नेतृत्व तहमा र नितिगत रुपमा निर्णय प्रक्रियामा सहभागी गराउने प्रक्रियामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । सावद कराते महाँसघका केन्द्रीय सदस्य समेत हुन्  ।

प्रदेश सरकारले प्रदेशमा रहेका युवाहरुका क्षेत्रमा काम गर्ने उदेश्यका साथ परिषद् गठन गरेको हो । सामाजिक विकास मन्त्रालयका मन्त्री अध्यक्ष रहने परिषदमा कार्यकारी भूमिका उपाध्यक्षलाई दिने व्यवस्था रहेको छ ।

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठ्माण्डौ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको ब्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन्।

सरकारको सय दिने कार्यको समिक्षा र त्यसप्रति टिप्पणी गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष यादवले सरकारको पहिलो १०० दिन सुशासनमा सुधार, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना तथा राज्य संयन्त्रलाई प्रभावकारी बनाउने प्रयासमा केन्द्रित रहेको उल्लेख गरेका छन्। उनका अनुसार सरकारले ठूला लोककल्याणकारी कार्यक्रमभन्दा शासन प्रणाली सुधार र संस्थागत परिवर्तनलाई प्राथमिकतामा राखेर अघि बढ्नुलाई सकारात्मक कदमको रुपमा लिएका छन्।

यद्यपि, अहिले नै सरकार सफल वा असफल भएको निष्कर्ष निकाल्नु हतारो हुने भन्दै अध्यक्ष यादवले सरकारले अघि सारेको नीति, सुधार र निर्णयहरू कतिको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् र त्यसले नागरिकको दैनिक जीवनमा के कस्तो परिवर्तन ल्याउँछ भन्ने आधारमै सरकारको दीर्घकालीन मूल्याङ्कन हुनुपर्ने बताएका छन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले नेपालको विगतबाट पाठ सिक्नु अहिले झनै आवश्यक भएको उल्लेख गर्दै इतिहासमा बारम्बार उही कमजोरी दोहोरिएको टिप्पणी गरेका छन्। उनले राजतन्त्रको शान्तिपूर्ण अन्त्यसँगै नेपाल समावेशी, धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको र त्यसबेला ‘नयाँ नेपाल’ निर्माणप्रति जनतामा ठूलो आशा जागेको स्मरण गरेका छन्। तर आम जनताका ती अपेक्षा र उपलब्धिहरु पूर्ण रूपमा पूरा हुन नसकेको उनको निष्कर्ष छ।

नेपाल अझै पनि लामो राजनीतिक संक्रमणबाट पूर्ण रूपमा मुक्त हुन नसकेको उल्लेख गर्दै परिवर्तनको पक्षमा उभिएका नागरिकहरू नै अहिले सबैभन्दा बढी निराश भएको उनको बताएका छन् । शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी, आर्थिक व्यवस्थापन र राजनीतिक स्थायित्वका क्षेत्रमा गम्भीर अझै पनि चुनौती कायम रहेको उनको विश्लेषण छ।

राजनीतिक दलहरूमा वैचारिक स्पष्टता, सिद्धान्तप्रतिको प्रतिबद्धता र राजनीतिक उत्तरदायित्व कमजोर बन्दै गएको उल्लेख गर्दै यादवले नेपालको संस्थागत कमजोरीलाई आजको प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्। त्यसका बाबजुद सुशासन, समावेशी विकास, समानता, सामाजिक न्याय, प्रगति र समृद्धितर्फ दिगो रूपान्तरण सम्भव रहेको विश्वास पनि उनले व्यक्त गरेका छन्।

यादवले विगतका विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समावेशी लोकतन्त्र, समान अवसर, सामाजिक न्याय र सहभागितामूलक विकासलाई सुदृढ बनाउनु आजको प्रमुख राष्ट्रिय आवश्यकता भएको बताएका छन्। मधेसी, आदिवासी र जनजाति, दलित, महिला, थारू, मुस्लिम, अन्य पिछडा वर्ग (ओबीसी), अल्पसंख्यक तथा सामाजिक, आर्थिक र राजनीतिक रूपमा पछाडि पारिएका समुदायको सम्मानजनक सहभागिता, अधिकार र सशक्तीकरण सुनिश्चित गर्न सके मात्र नेपालको लोकतन्त्र थप सुदृढ, न्यायपूर्ण र समृद्ध बन्न सक्ने उनको धारणा छ।

प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै छ ।

यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो ।

कार्य विभाजन नियमावलीमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन सरकारले नेपाल विशेष सेवा ऐन २०४२ मा संशोधन गर्दैछ ।

यसअघि पटक–पटक राष्ट्रिय अनुसन्धान विभाग कहिले गृहमन्त्रालय त कहिले प्रधानमन्त्री कार्यालय मातहत रहने गरी सार्ने काम भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विशेष सेवा ऐन, २०४२ को दफा ४ को उपदफा (१) मा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७५ मार्फत संशोधन गरेर राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राखेका थिए । त्यसअगाडि राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय अन्तर्गत नै रहँदै आएको थियो ।

पछि तत्कालीन प्रधानमन्त्री शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमै फर्कायो ।

यसलाई फेरि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कार्य विधाजन नियमावली २०८३ मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत ल्याए ।

यसलाई कानुनमै समेट्ने गरी प्रधानमन्त्री बालेनले विधेयक ल्याएका हुन् ।

सरकारले जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज ल्याउने

काठ्माण्डौ- सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार, रोजगारीलगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले १०० दिनमा सम्पादन गरेका प्रमुख उपलब्धि सम्बन्धमा सरकारका प्रवक्ता सस्मित पोखरेलले जारी गरेको विवरणमा जेनजीहरूको विषयमा सम्पर्क बिन्दु तथा कल्याणकारी कार्य गर्न जेनजी कल्याणकारी परिषद् गठनसम्बन्धी कार्यविधि तयार गरिएको उल्लेख छ।

यस अवधिमा ५१३ जना जेनजी घाइतेलाई वर्गीकरणका आधारमा अति गम्भीरलाई मासिक रु १८ हजार, गम्भीरलाई मासिक रु नौ हजार र मध्यमलाई मासिक रु चार हजारका दरले प्रदान गरिँदै आएको भत्तालाई  निरन्तरता दिइएको छ।

हाल व्यक्ति बसोबास गरिरहेको स्थानीय तहबाट नै घटना दर्ता गर्न सकिने गरी प्रणाली अद्यावधिक गर्ने कार्य भइरहेको, आमाको नागरिकताबाट प्राप्त नागरिकताको हकमा समेत राष्ट्रिय परिचयपत्र जारी गर्न सकिने व्यवस्था मिलाइएको र दोहोरो नागरिकताको हकमा जिल्ला प्रशासन कार्यालयबाट नै राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न सकिने गरी सेवा सञ्चालन गरिएको विवरणमा उल्लेख छ।

यसैगरी, अध्यागमन विभागले विद्युतीय टाइम कार्डमार्फत् सेवा प्रवाहको अनलाइन ट्रयाकिङ शुरुआत गरिएको, विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई विपद् खोज उद्धार सामग्री खरिद गर्न रु नौ करोड दुई लाख ३० हजार बजेट व्यवस्थापन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणमा विपद् कमान्ड पोष्ट/सिचुएसन रूम स्थापना र सञ्चालन भएको, निजी क्षेत्रसँग निरन्तर छलफल गरी विपद् प्रतिकार्यमा पूर्वसमझदारीअनुसार सहयोग गर्न ती संस्थाबाट प्रतिबद्धता प्राप्त भएको, विपद् पोर्टलमा देशैभरका हेलिप्याडको भौगोलिक नक्शाङ्कनसहित तथ्याङ्क अद्यावधिक गरिएको उल्लेख छ।

भूकम्प पुनर्निर्माणको सहजीकरणका लागि नमुना घरका नक्साहरू स्वीकृत गरी कार्यान्वयन ल्याइएको, प्रदेश र विभिन्न स्थानीय तहबाट प्राप्त निवेदनको आधारमा १५० जोखिमयुक्त बस्ति तथा  संरचनामा पहिरोसम्बन्धी प्रारम्भिक तथा विस्तृत अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन सिफारिस गरी पठाइएको विवरणमा जनाइएको छ।

यस अवधिमा गृह मन्त्रालयबाट लागु औषध उपचार तथा पुनःस्थापना केन्द्रलाई प्रदान गरिने अनुदान वितरण कार्यविधि, २०८३, उत्कृष्ट उपचार तथा पुनःस्थापना केन्द्र पुरस्कृत गर्न छनोट गर्नेसम्बन्धी कार्यविधि, २०८३ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सदाचारिता अनुगमन मापदण्ड, २०८३ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।

यस्तै कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३, खोज उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८२, अत्यधिक गर्मी वा तातो हावाको लहर (लु) र खडेरीका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजना, २०८३, मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३, पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३, विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३ जारी भएका छन्।

जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा मुआब्जा पुनरावलोकनसम्बन्धी कार्यलाई छिटो छरितो रूपमा सम्पन्न गर्न ‘फास्ट ट्रयाक मेकानिजम’ को खाका तयार गरी कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयहरूमा पठाइएको छ।

नयाँ स्थापना भएका सात वटा इलाका प्रशासन कार्यालयमा मन्त्रालय र मातहत सञ्चालनमा रहेको सूचना प्रविधि सञ्जाल विस्तार गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली लागू गरी विद्युतीय प्रणालीबाट नागरिकता सेवा सञ्चालनको प्रबन्ध मिलाइएको छ।

भ्रष्टाचारसम्बन्धी कसूरमा सर्वोच्च अदालतबाट अन्तिम फैसला भई जफत हुने ठहर भएका जग्गामध्ये १–६–१–१ रोपनी (७०९.४२ वर्ग मिटर) क्षेत्रफल जग्गा गत वैशाख ३ गते कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको नाममा कायम भएको छ।

गृह मन्त्रालयअन्तर्गत सुशासन प्रवर्द्धनका लागि विभिन्न माध्यमबाट जनताको गुनासो प्राप्त गर्ने उद्देश्यले ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ। नेपाल प्रहरीमा २४ सै घण्टा गुनासो सुन्ने तथा समाधान गर्न (चौबिसै घण्टा/सातै दिन गुनासो सुन्ने) कक्षको स्थापना भई हट लाइन नं १११३ सञ्चालनमा ल्याइएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना जगाई नैतिकवान र अनुशासित बनाउनका लागि तालिम दिई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा आवश्यकतानुसार खटाउन सक्ने गरी विद्यमान राष्ट्रिय सेवा दल, २०२७ लाई प्रतिस्थापन गरी राष्ट्रिय सेवा दल विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गरिएको छ।

नेपाली सेनाको भर्ना, छनोट, तालिम, अध्ययन, बढुवालाई थप व्यवस्थित गर्न, विगतको द्वन्द्वमा कर्तव्य पालनाको सिलसिलामा घाइते, अङ्गभङ्ग, घाउ चोटपटकको मूल्याङ्कन गरी निश्चित सेवा सुविधा पाउने तथा शान्ति सेनमा खटिएको अवस्थामा आकस्मिक दुर्घटनामा परी वीरगति प्राप्त गरेका वा अङ्गभङ्ग भई सैनिक सेवामा काम गर्न अशक्त भएमा थप सुविधासहितको व्यवस्था गरी सैनिक सेवा (छैठौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको विवरणमा उल्लेख छ।

सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास

धनगढी। हरेक वर्षका बजेटमार्फत सडक बन्छन्, पुल थपिन्छन्, सिँचाइ आयोजना अघि बढ्छन् र विद्यालय तथा अस्पतालका भवन निर्माणका घोषणा दोहोरिन्छन्। यस अर्थमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि अपवाद होइन। ‘एक स्थानीय तहः दुई उत्पादन’, ‘एक घरः एक धारा’, ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’, ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’जस्ता कार्यक्रम विगतकै निरन्तरतास्वरुप आएका छन्।

प्रदेश सरकारले यसपटक भने बजेटमार्फत नयाँ सोच अगाडि सारेको छ। बजेटलाई विकासको परम्परागत परिभाषाभन्दा बाहिर निकाल्ने प्रयास गरिएको छ। प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र उद्यमलाई छुट्टाछुट्टै क्षेत्रका रूपमा नभई आपसमा जोडिएका विकासका आधारका रूपमा प्रस्तुत गरेको छ। उत्पादन, रोजगारी र पूर्वाधारसँगै सामाजिक रूपान्तरण, प्राकृतिक कृषि, डिजिटल सुशासन, युवा उद्यमशीलता र स्थानीय उत्पादनको ‘ब्रान्डिङ’ लाई प्राथमिकतामा राखेको छ।

यही असार १ गते ल्याएको ३७ अर्ब ७० करोड रुपैयाँको बजेटमा सरकारले केही यस्ता कार्यक्रम अघि सारेको छ, जसको सफल कार्यान्वयन भएमा भौतिक पूर्वाधारमात्रै होइन सामाजिक क्षेत्रको विकासमा पनि सकारात्मक प्रभाव पर्नेछन्।

प्रदेश सरकारले आगामी आवलाई ‘प्राकृतिक खेती रूपान्तरणको आधार वर्ष’ घोषणा गरेको छ। सुदूरपश्चिमलाई प्राकृतिक तथा पर्यावरणमैत्री खेतीको प्रदेशका रूपमा विकास गर्न ‘प्रादेशिक रोडम्याप’ तयार गरिने उल्लेख छ।

बजेटमा समेटिएको प्राङ्गारिक खेती विस्तार र विषादी अवशेषरहित खाद्य उत्पादनलाई प्रोत्साहन गर्ने नीति केवल कृषि कार्यक्रम होइन, जलवायु परिवर्तन, जनस्वास्थ्य र बजारलाई एउटै सूत्रमा बाँध्ने प्रयास हो।

कृषिमा अर्को फरक सन्देश ‘पोखौँ पसिना, देशमै हाँसेर’ अभियानले दिएको छ। विदेशबाट फर्किएका र कृषि अध्ययन गरेका युवालक्षित उद्यमशीलता कार्यक्रमले युवा जनशक्तिलाई उत्पादनसँग जोड्ने नीति लिएको छ। यसका लागि दुई करोड पाँच लाख विनियोजन गरिएको छ। यसले बेरोजगारीलाई केवल सामाजिक समस्या नभई उत्पादनसँग जोडेर समाधान खोज्ने प्रयासका रूपमा लिन सकिने आर्थिक मामिला मन्त्रालयका अधिकारीहरु बताउँछन्।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमार्फत उद्यमी बनाउने यो अवधारणा प्रदेश सरकारको रोजगारी नीतिमा नयाँ प्रयोगका रूपमा रहेको प्रदेशको नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारको भनाइ छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने सोच पनि बजेटको अर्को बलियो पक्ष हो।

रैथाने उत्पादनको पहिचान, भौगोलिक सङ्केत (जीआई), ब्रान्डिङ, प्याकेजिङ र ‘सुदूरकोसेली’ अवधारणामार्फत प्रदेशका उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखिएको छ।

धनगढी विमानस्थलमा सञ्चालन भइरहेको ‘सुदूरकोसेली घर’मार्फत नौवटै जिल्लाका स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने योजना स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रयासका रूपमा रहेको छ।

कृषकले उत्पादन गर्नेमात्र होइन, मूल्य शृङ्खलामा सहभागी बन्नुपर्छ भन्ने सोच यसभित्र रहेको आयोगका सदस्य सुनारको भनाइ छ।

आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीका अनुसार प्रकृति र संस्कृतिको संरक्षणलाई एकीकृत गर्दै जलवायु परिवर्तनको चुनौतीबीच कृषि उत्पादनलाई दिगो बनाउन सरकारले लिएको नीतिलाई प्रदेशकै पहिचान निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ।

यस्तै, मुख्यमन्त्री लघुउद्यम कार्यक्रममार्फत गरिबी सूचकाङ्कमा पछाडि रहेका अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका, बैतडीको सिगास र शिवनाथ गाउँपालिका तथा डोटीको शिखर नगरपालिकामा पोषण सुधार र आयआर्जन अभिवृद्धि गर्ने योजना अगाडि सारिएको छ।

समाजको पिँधमा रहेका मुक्तकमैया, कम्लरी, हलिया र अव्यवस्थित बसोबासीको आवास निर्माण, जीविकोपार्जन सुदृढीकरण र आयआर्जनका गतिविधि सञ्चालनका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ। शासन र सरकारले प्रदान गर्ने लाभबाट कोही पनि छुट्नु हुन्न भन्ने सोचसहित यो कार्यक्रम राखिएको देखिन्छ।

त्यसैगरी, उच्च पहाडी जिल्ला बझाङ, बाजुरा र दार्चुलामा बृहत्तर भेडापालन कार्यक्रम सञ्चालन गरी उद्यमशीलता विकास तथा मूल्य शृङ्खलामा आबद्ध गर्न ऊन प्रशोधन तथा गलैँचा उद्योग स्थापना गर्ने भनिएको छ। त्यसका लागि छ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। आधुनिक कृषि प्रविधिका कारण विस्थापित हुने अवस्थामा पुगेका हल– गोरुपालक किसानलाई प्रोत्साहन गर्न एक करोड ८० लाख छुट्याएर सरकारले खेतीकार्यमा परनिर्भरता हटाउने सोच राखेको छ।

बजेटले डिजिटल सुशासनलाई पनि उच्च प्राथमिकता दिएको छ। सवारीसाधन र चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण अभिलेख डिजिटल बनाइने, दर्ता, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीसँग आबद्ध गरिने व्यवस्था गरिएको छ। यसले सेवाग्राहीको समय र खर्च बचाउनुका साथै सार्वजनिक सेवामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

सामाजिक क्षेत्रमा पनि बजेटले फरक सन्देश दिन खोजेको छ। ‘सानै छु, बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ अभियानलाई निरन्तरता दिँदै बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने भनिएको छ। जसका लागि एक करोड विनियोजन गरिएको छ। शिक्षा क्षेत्रको यो अभियानले सामाजिक चेतना र व्यवहार परिवर्तनलाई नीतिगत प्राथमिकता दिएको देखिन्छ।

यस्तै, कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा, चिकित्सा शिक्षातर्फको एमबिबीएस/एमडीजिपी अध्ययन गर्न ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’ कार्यक्रममा चार करोड ५० लाख, सामुदायिक क्याम्पसका विद्यार्थीलाई ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम, प्रत्येक जिल्लामा नमूना क्याम्पस विकास गर्न चार करोड ५० लाख रुपैयाँ विनियोजन गरी शिक्षा र रोजगारीबीचको सम्बन्धलाई जोड्ने प्रयास गरिएको छ।

स्वास्थ्य क्षेत्रको बजेट पनि उपचारमा मात्र केन्द्रित छैन। गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र नागरिकको पहुँच वृद्धिका साथै समुदायको सहभागिताको विषयलाई पनि महत्त्व दिइएको छ। ‘मेरो स्वास्थ्यः मेरो जिम्मेवारी’ अभियानमार्फत नसर्ने रोग र मानसिक स्वास्थ्यलाई समुदायस्तरमै सम्बोधन गर्ने नीति लिइएको छ। थारू समुदायमा देखिने सिकलसेल एनिमिया, थालासेमिया र हेमोफिलिया जस्ता रोगको पहिचान र उपचारलाई विशेष कार्यक्रममार्फत अघि बढाउने व्यवस्था गरिएको छ।

कृषि, वन र वातावरणबीचको अन्तरसम्बन्धलाई ध्यान दिँदै जलवायुमैत्री नमूना गाउँ, मानव–वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा बहुमूल्य नगदेबाली प्रवर्द्धन, सामुदायिक गौशालालाई बहुउद्देश्यीय उत्पादन केन्द्रका रूपमा विकास तथा जैविक मल र बायोग्यास उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत दिगो विकासको अवधारणालाई व्यवहारमा उतार्न प्रदेश सरकार प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्न खोजिएको छ।

प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी, डिजिटल कर प्रणाली, लगानी सम्मेलन, स्टार्टअप प्रवर्द्धन र परिणाममुखी बजेट कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको छ। यी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके सुदूरपश्चिमको विकासमा नयाँ मोडेल निर्माण हुने प्रदेश सरकारका अधिकारीहरूको दाबी छ।

यद्यपि यी कार्यक्रमको सफलता घोषणाले होइन, कार्यान्वयनले निर्धारण गर्नेछ। “प्रदेश सरकारले अघि सारेका धेरै कार्यक्रम विगतमा पनि घोषणा भएका थिए, तर अपेक्षित परिणाम दिन सकेनन्। त्यसैले यसपटकको सबैभन्दा ठूलो परीक्षा बजेट कार्यान्वयन, अन्तरसरकारी समन्वय, निजी क्षेत्रसँगको सहकार्य र प्रभावकारी अनुगमन हुनेछ”, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको भनाइ छ।

यसपटकको बजेटमा केही नवीन सोच राखिए पनि बजेट निर्माण प्रक्रिया र योजना छनोटबारे भने यहाँ राजनीतिक दलहरूबीच मतभेद छ। प्रतिपक्षीमात्रै होइन, सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले असन्तुष्टि जनाइरहेका छन्। मुख्यमन्त्री कमलबहादुर शाह भने बजेटमा केही त्रुटि भए पनि सहमतिमै बाँकी प्रक्रिया अगाडि बढ्नेमा विश्वस्त छन्।

“बजेटमा केही प्राविधिक त्रुटि भएका छन्, त्यस विषयमा छलफल भइरहेको छ र चाँडै निष्कर्षमा पुग्छौँ। बजेट निर्माण प्रक्रियामा भएका त्रुटि एक्लैले समाधान गर्न सकिँदैन। यही असार २३ गते बस्ने प्रदेशसभा बैठकमा बजेट टेबल भएपछि बाँकी प्रक्रिया अगाडि बढ्छन्। म विश्वस्त छु कि बजेट सहमतिमै पारित हुनेछ”, उनले भने।  -रासस

सुनचाँदीको मूल्य सामान्य घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला चार सय र चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला चार हजार ६०५ रुपैयामा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ७०० र चाँदी चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

सरकारले भन्यो– ४६५ सुकुमवासी परिवारलाई राहत दिइसक्यौं

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ ।

सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।

सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।

११ वैशाखमा सहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौंका १७ सुकुमवासी बस्तीबाट दुई हजार ६०८ परिवार विस्थापनमा परेका थिए ।

ती मध्ये ३८८ परिवारलाई सरकारले विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखेको छ । विस्थापनमा परेका दुई हजार २२० परिवार ‘होल्डिङ सेन्टर’ भन्दा बाहिर नै रहेका पत्रकार सम्मेलनम जानकारी गराइएको छ ।

सरकारका १०० दिनको ‘उपलब्धि’ : राहदानी घरघरमै पुर्‍याएर वितरण

काठमाडौं । वर्तमान सरकारले आफ्ना १०० दिनको ‘उपलब्धि’ शनिबार (असार २०) सार्वजनिक गरेको छ ।

यसमा सार्वजनिक सेवा प्रवाहअन्तर्गत दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्‍याइएको उपलब्धिका रूपमा उल्लेख छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पाँच हजार ७२८ थान राहदानी हुलाकमार्फत घरघरमै पुर्‍याइएको जानकारी दिए ।

उनले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनीको स्थायी लेखा नम्बर वेबसाइटबाट ‘केमिस’ प्रणालीमार्फत सेवाग्राही आफैँले डाउनलोड गर्न मिल्ने बनाइएको बताए । उनले यसबीचमा झन्डै ३१ लाख सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापिएको जानकारी दिए ।

“३० लाख ७५ हजार १८१ थान सवारीचालक अनुमतिपत्र छपाइ भएको छ,” मन्त्री पोखरेलले भने, “असार मसान्तसम्म थप २९ लाख छपाइ सम्पन्न गरिनेछ ।”

उनले ३२ जिल्लामा एकद्वार सेवा प्रणालीका निम्ति बजेट व्यवस्थापन भइसकेको बताए ।

“हुलाकमार्फत घरघरमा सवारीचालक अनुमतिपत्र र राहदानी वितरण सुरु गरिसकेका छौँ भने कम्पनी दर्तादेखि प्रमाणपत्र लिनेसम्म अनलाइन प्रणालीमा ल्याउन प्रक्रिया अघि बढाइसकेका छौँ,” उनले भने, “जीआईआोएमएस प्रणाली लागु गरिएको छ, जसले कुन फाइल कार्यालयको कुन शाखामा कुन अवस्थामा छ भन्ने रियलटाइम अलर्ट (जानकारी) दिने प्रणाली लागु भइसकेको छ । अमिन सेवामा अनलाइन अपोइन्टमेन्टको व्यवस्था गरिएको छ ।”

चटकले आएको बालेन सरकार धेरै टिक्दैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार धेरै समय नटिक्ने दाबी गरेका छन्।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सरकारभित्रै त्यसलाई अस्थिर बनाउने तत्व रहेको जिकिर गरे। उनका अनुसार अहिलेको सरकारलाई बाहिरबाट कसैले ढाल्न आवश्यक नरहेको र अन्ततः आफ्नै कारणले सरकार ढल्ने अवस्था आउनेछ।

उनले अहिलेको सरकार ‘चटक’का आधारमा बनेको भन्दै त्यही आधारमा अन्त्य हुने टिप्पणी गरे। सरकार परिवर्तनको प्रतीक्षा मात्र गरेर बस्न नहुने उल्लेख गर्दै उनले त्यसो गर्दा देश र लोकतन्त्र दुवैमा थप क्षति पुग्ने दाबी गरे।

‘अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्त्व त्यहीँभित्र छन्। यो सरकार आफैँ ढल्छ, चटकको भरमा आएको हो, चटककै भरमा जान्छ। तर त्यसको प्रतीक्षा गरेर बस्यौँ भने देश बर्बाद भइसक्छ, लोकतन्त्र पनि कमजोर हुन्छ। त्यसैले परिवर्तन पर्खिने विषय होइन,’ ओलीले भने।

सरकारका १०० दिन : मन्त्रालयको संख्या घटाउँदा वार्षिक २० अर्ब बचत हुने दाबी

काठमाडौं । वर्तमान सरकारले आफ्ना १०० दिनको ‘उपलब्धि’ सार्वजनिक गरेको छ । नीतिगत सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या २५ बाट घटाएर १८ बनाइएको विषयलाई उपलब्धिका रूपमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका छन् ।

यसमार्फत वार्षिक २० अर्ब रुपैयाँ बचत हुने उनको दाबी छ । उनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ निर्माण पनि सरकारको उपलब्धि भएको बताएका छन् ।

एमाले अध्यक्ष ओली भन्छन्: समृद्ध नेपालका लागि संघर्ष र त्याग आवश्यक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउन चाहेको बताएका छन् ।

शनिबार बागमती प्रदेशस्तरीय पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणका लागि संघर्ष, मेहनत र त्याग आवश्यक रहेको बताएका हुन् । उनले कुनैपनि राष्ट्र बिना मेहनत, जोखिम र मूल्य चुकाइ समृद्ध बन्न नसक्ने दाबी गरे ।

‘समृद्ध नेपाल र सुखी नेपाली बनाउन केही नगरी सबै कुरा आफैं हुन्छ भन्ने सोच राखेर समृद्धि हासिल गर्न सकिँदैन,’ उनले भने, ‘त्यस्तो नेपाल बनाउन चाहनेले केही पसिना नबगाइ, दुःख नगरी, जोखिम नमोली हुँदैन् । केही नगरी आफै सबै कुरा हुँदैन्, पर्खनुपर्छ । भगवाले सबै आफैं गरिदिन्छन भन्ने हो भने केही कुरा प्राप्त गर्न सक्दैनौं ।’

समाजमा शान्ति, समृद्धि र आधुनिक विकास प्राप्त नहुने बताउँदै उनले त्यसका लागि निरन्तर परिश्रम, समर्पण र संघर्ष आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले समृद्ध र समानतामूलक समाज निर्माणको यात्रामा विभिन्न अवरोध गर्ने प्रवृत्तिहरू सक्रिय रहेको दाबी गरे ।

व्यक्तिगत स्वार्थलाई मात्रै प्राथमिकता दिने, अरूको हितभन्दा आफ्नो लाभ मात्रै खोज्ने मानसिकताले विकास र सामाजिक रूपान्तरणमा बाधा पु¥याएको बताए ।

उनले यस्ता प्रवृत्तिमा अहंकार, निर्ममता, धोका र षड्यन्त्रजस्ता मात्र देखिएको बताए ।

कांग्रेसको समीक्षा- शासकीय सुधारको १०० बुँदे कार्यसूची कार्यान्वयनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा शनिबार दलको कार्यालय सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको निष्कर्ष निकालेको हो ।

बैठकले मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको विषयलाई पार्टीका तर्फबाट सशक्त रूपमा संसद्मा उठाउने निर्णय गरेको आङ्देम्बेको सचिवालयले जनाएको छ ।

‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरूको प्रभावकारी कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसदमा उठाउने,’ निर्णयमा भनिएको छ, ‘सरकारका कार्यप्रगतिका नियमित अनुगमन गर्ने र सरकारलाई जवाफदेही बनाउन संसद्मा प्रमुख प्रतिपक्ष दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने ।’

सरकारको नेतृत्व गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले १०० दिन सरकार सञ्चालन गर्ने अवसर पाए देशले ‘काँचुली फेर्ने’ दाबी गरेको पनि कांग्रेसले स्मरण गरेको छ ।

तर, अहिले उनकै दलका वरिष्ठ नेता बालेन नेतृत्वको सरकारले आफैले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूची नै प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको कांग्रेसको ठहर छ ।

कांग्रेसले सरकारका मन्त्रालयहरूको कार्यसम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ । बैठकले मन्त्रालयगत संयोजकहरूले पेश गरेका प्रतिवेदनमाथि समीक्षा गरी प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक पहल अघि बढाउन तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।

बैठकको दोस्रो निर्णयमा भनिएको छ, ‘मन्त्रालयगत संयोजकद्वारा प्रस्तुत प्रतिवेदनमाथि समीक्षा गरी प्राप्त सुझाव तथा निष्कर्ष अनुसार आवश्यक सुधारात्मक कार्यहरू अगाडि बढाउन तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने ।’

बैठकले मन्त्रालयगत संयोजकहरूले पेस गरेका प्रतिवेदन पार्टीको केन्द्रीय कार्यसमितिमा जानकारीका लागि पठाउने निर्णय पनि गरेको छ ।

पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाइन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानहरूलाई अझ सबल बनाउने उद्देश्यका साथ सरकारले काम गरिरहेको बताएकी छन् । ती संस्थामा पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाइने उनले उल्लेख गरिन् ।

शनिबार (असार २०) बसेको राष्ट्रियसभा बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, विधेयक, २०८३ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाइने बताइन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहताले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसअघि, सांसदहरू रेणु चन्द, वासुदेव घिमिरे, मीना सिंह, धर्मेन्द्र पासवान, विष्णुबहादुर विश्वकर्मा, सोमनाथ पोर्तेलले विधेयकका सैद्धान्तिक पक्षमा आफ्ना धारणा राखेका थिए । रासस

नेपाल ‘ब्ल्याक लिस्टमा झर्ने जोखिममा छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ‘ग्रे’बाट ‘ब्ल्याक लिस्ट’मा झर्ने उच्च जोखिममा रहेको बताएका छन् । शनिबार (असार २०) राष्ट्रियसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले तत्काल आवश्यक सुधार गर्न आवश्यक रहेको बताएका हुन् ।

०८१ फागुनदेखि नेपाल ग्रे लिस्टमा रहेको उनले उल्लेख गरे । उनले तदारुकताका साथ आवश्यक सुधार र सुशासनका कामलाई तीव्रता दिन नसके मुलुक ब्ल्याक लिस्टमा पुग्न सक्ने उनले बताए ।

अर्थमन्त्री वाग्लेले ब्ल्याक लिस्टमा परेमा नेपाल सोमालिया, हाइटीजस्तो मुलुकको दर्जामा रहने सुनाए । उनले नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकाले यो विधेयक ल्याइएको जिकिर गरे ।

उनले कानुनको प्रभावकारी कार्यन्वयन गर्न नसक्दा मुलुक ग्रे लिस्टमा परेको बताए ।

“…तदारुकताका साथ हामीले काम गनै सकेनौँ भने हामी ब्ल्याक लिस्टतिर झर्दै छौँ र ब्ल्याक लिसटमा झर्नु भनेको बाँकी दुनियाँसँग हाम्रो तमाम वित्तीय सम्बन्धहरू टुट्नु हो । रेमिट्यान्समा आश्रित देशमा विदेशी लगानी ल्याउनुपर्नेछ, हाम्रो साखलाई माथि उकास्नु छ, हामी गर्नुपर्ने सुशासनका नियमित कर्महरू नगरी सुशासनमा चुक्दाखेरि हामी हाइटी, सोमालियाजस्ता मुलुकहरूको दर्जामा झर्ने जोखिम प्रबल हुँदै गइरहेको छ,” उनले भने ।

उनले वर्तमान सरकार सुशासनसम्बन्धी कार्यमा निर्मम भएर लागेको बताए । सम्पत्ति शद्धिकरणसम्बन्धी मुद्दालाई प्रतिशोधको हतियार आफूहरूले नबनाउने उनको भनाइ थियो ।

वर्तमान सरकार निर्माण भएपछि मुलुकलाई ग्रे लिस्टबाट निकाल्न उल्लेख्य प्रगति भएको उनले जिकिर गरे । न्युज एजेन्सी नेपाल

हामीले धक्का खाएका छौं, तर उठ्छौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू अहिले अप्ठेरो परिस्थितिमा रहेको स्वीकार गर्दै उठ्ने र प्रतिवाद गर्ने बताएका छन् ।

नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

निर्जीव वस्तु कहिले पनि असजिलोमा नपर्ने भन्दै उनले अहिले आफूहरू केही समस्यामा परेको भए पनि सधैं यस्तो नहुने जिकिर गरे ।

‘हामी कठिनाइमा छौं । यतिबेला कठिनाइमा छौं । कठिनाइ भनेको जीवनमा आइपर्ने चिज हो । निर्जिव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन,’ ओलीले भने, ‘हाम्रो पार्टीलाई कठिनाइ आएको छ भनेको हामी जीवित छौं । हामीले धक्का खाएका छौं । हामी पछारिएका हौंला तर हामी जीवित छौं । हामी उठ्छौं । हामी प्रतिवाद गर्छौं । हामी प्रतिरोध पनि गर्छौं ।’

उनले थुप्रैपटक आफ्नो पार्टीमाथि हमला भएको भन्दै त्यसबारे बुझ्न आग्रह गरे ।

‘यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो । सबैभन्दा ठूलो गठजोठका साथ हमला भयो,’ ओलीले भने ।

आफ्नो पार्टीले प्रगति गर्न खोज्दा हमला भएको उनको भनाइ थियो ।

सरकारका १०० दिन पूर्णतः असफल : प्रचण्ड

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका १०० दिन उपलब्धि शून्य भएको बताएका छन् । पार्टीको लुम्बिनी प्रदेशस्तरीय एक कार्यक्रमका निम्ति बुटवल आएका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

“जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यसअर्थमा यो सरकारका १०० दिन पूर्णतः असफल भएको देख्छु म,” उनले भने ।

अहिले नै वाम एकताका बारेमा कुनै छलफल नभएको तर सहकार्यका निम्ति समन्वय गरिएको उनले उल्लेख गरे । “वाम एकताभन्दा पनि कांग्रेस–एमालेलगायत सबैसँग सहकार्यको कुरा हो,” उनले भने, “अहिले एकताको कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौँ ।”

प्रचण्ड, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनालसहितका पार्टीका शीर्ष नेताहरू बुटवल आएका छन् ।

राष्ट्रिय सभाको बैठक सुरु

काठ्माण्डौ- सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको आजको बैठक सुरु भएको छ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छिन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जनाइएको छ।

स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे सय दिनको प्रगति विवरण

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको १०० दिनमा प्रगति विवरण सार्वजनिक गरेकी छिन् । स्वास्थ्य मन्त्री मेहताले आज शनिबार प्रगति विवरण सार्वजनिक गरेकी हुन् ।

यस अवधिमा स्वास्थ्य सेवालाई प्रभावकारी, सुलभ र व्यवस्थित बनाउने लगायतका उपलब्धिहरू हासिल गरिएको उनले प्रगति विवरणमा उल्लेख गरेकी छन् ।

मन्त्रालयले स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउन ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ, जसमा हालसम्म २१७ अस्पताल आबद्ध भई ३,२५५ निःशुल्क शय्या छुट्याइएकाे प्रगति विवरणमा उल्लेख छ । यसैगरी,बिरामीहरूको स्वास्थ्य अभिलेख एक अस्पतालबाट अर्को अस्पतालमा सुरक्षित रूपमा हेर्न र आदान–प्रदान गर्न सकिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा ‘राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड’ स्वीकृत गरिएको छ।

अस्पतालहरूको सेवा सुधारका लागि ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ र ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ लागू गर्दै मन्त्रालयले शासकीय सुधारका कार्यसूचीहरूलाई तीव्रताका साथ अगाडि बढाएको पनि प्रगति विवरणमा उल्लेख छ।

मन्त्रालयले औषधि वितरण, आकस्मिक सेवा र स्वास्थ्य पूर्वाधार विस्तारमा पनि प्रगति गरेको जनाएको छ । सरकारी अस्पतालहरूमा एकद्वार प्रणालीमार्फत स्वास्थ्य बिमा र निःशुल्क औषधि वितरण गर्न ‘सुलभ फार्मेसी सेवा सम्बन्धी मापदण्ड’ कार्यान्वयनमा ल्याइएको छ ।

त्यस्तै, नेपाल औषधि लिमिटेडसँग सोझै औषधि खरिद गर्ने सम्झौता गरिएको पनि प्रगति विवरणमा उल्लेख छ । देशका १४ सङ्घीय अस्पतालहरूमा जलन उपचार युनिट स्थापना गरी सञ्चालनमा ल्याइनुका साथै २० करोडको जलन उपचार कोष स्थापनाको व्यवस्था समेत गरिएको छ। आपतकालीन उद्धारका लागि ११ वटा हेलिकप्टर कम्पनीहरूसँग सहुलियत दरमा सेवा उपलब्ध गराउने सम्झौता पनि भएको छ।

प्रगति विवरणमा स्वास्थ्य बिमातर्फ २०८२ मङ्सिर सम्मको दाबी अन्तर्गत अस्पतालहरूलाई कुल १८ अर्ब ५८ करोड ९१ लाख भुक्तानी गरिसकिएको छ र विद्यमान विकृतिहरूलाई हटाउन तत्कालीन तथा मध्यकालीन रणनीतिहरू कार्यान्वयन भइरहेको उल्लेख छ ।

मन्त्रालयले मानसिक स्वास्थ्य, कर्मचारी व्यवस्थापन र उपभोक्ता हितका क्षेत्रमा रणनीतिक कार्यहरू गरेको छ। मानसिक स्वास्थ्यका लागि ‘सरकारी अस्पतालबाट मनोपरामर्श सेवा सञ्चालन मापदण्ड, २०८३’ स्वीकृत गर्दै ११६६ हटलाइनमार्फत सेवा प्रवाह भइरहेको प्रगति विवरणमा जनाइएको छ ।

दुर्गम तथा हिमाली क्षेत्रका विभिन्न पालिकाहरूमा हाई अल्टिच्युड क्लिनिक स्थापनाका लागि बजेट विनियोजन गरिएको छ भने लामो समयदेखि रोकिइरहेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी ९७७ नयाँ सङ्घीय दरबन्दी थप गरिएको छ । नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम तलब र रात्रिकालीन भत्ता पनि वृद्धि गरिएको छ।

जनस्वास्थ्य सुरक्षातर्फ मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत १५,६९० नमुनाको विषादी अवशेष परीक्षण गरिएको छ । अन्तर्राष्ट्रिय मञ्चमा ७९औँ विश्व स्वास्थ्य सभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै महत्त्वपूर्ण कूटनीतिक सफलता हासिल गरेको प्रगति विवरणमा उल्लेख छ ।

भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिने प्रगति

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला र तथा सामान्य प्रशासन मन्त्रालयले सय दिनमा २९ वटा लालपुर्जा वितरण गरेको छ ।

सरकार गठनका सय दिनमा सम्पन्न विभिन्न ४८ कामको सूची सार्वजनिक गर्दै मन्त्रालयले २९ वटा लालपुर्जा वितरण गरिएको जनाएको हो ।

सम्पन्न भएका कामको सूचीमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको उल्लेख छ ।

सूचीअनुसार १६ सय भूमिहीन दलित, भूमिहिन सुकुमवासी र अव्यवस्थितको एकीकृत डिजिटल लगत संकलन तथा प्रमणीकरणको काम पनि सम्पन्न भएको छ ।

यस्तै भूमिहिन दलित, भूमिहिन सुकुमवासी र अव्यवस्थित बसोबासीको विवरण हेर्न मिल्ने गरी डिजिटल ड्यासबोर्ड कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

अशोक भण्डारी र पूजा साउँद ‘सुदूरपश्चिम आइकन’

कैलाली। सातौँ ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ मा एथलेटिक्सकी पूजा साउँद र भारोत्तोलनका अशोक भण्डारीले ‘सुदूरपश्चिम आइकन’ को उपाधि हात पारेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको यस कार्यक्रममा उनीहरूलाई वर्षकै उत्कृष्ट खेलाडीका रूपमा सम्मानित गरिएको हो। महिला विधातर्फ एथलेटिक्सकी पूजा साउँदले कबड्डीकी दिपा देउवा र तेक्वान्दोकी दिपा जैसीलाई पछि पार्दै अवार्ड आफ्नो नाममा गराएकी हुन्। ट्रफी र नगद पुरस्कार बुझेपछि उनले यो सम्मानले आफ्नो खेल जीवनमा थप सफलता हासिल गर्न नयाँ ऊर्जा र प्रेरणा दिएको बताइन्।

त्यसैगरी, पुरुषतर्फको अवार्ड भारोत्तोलनका अशोक भण्डारीले जितेका छन्। राष्ट्रिय प्रतियोगिताहरूमा लगातार स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान रच्न सफल भण्डारीले क्रिकेटका नारायण जोशी र सुटिङका सुनिल चन्दलाई प्रतिस्पर्धामा पछाडि छोडेका थिए। सम्मान ग्रहण गर्दै उनले यस्ता अवार्डले खेलाडीहरूमा खेलप्रतिको लगाव र जिम्मेवारी अझ बढाउने प्रतिक्रिया दिए।

विजेता दुवै खेलाडीलाई जनही २० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिएको थियो। सुदूरपश्चिमको खेल क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले  विभिन्न विधाका उत्कृष्ट खेलाडी सुदूरपश्चिम स्पोर्ट्स अवार्ड मार्फत सम्मानित हुँदै आएका छन् ।

कैलालीका नदीमा दुर्लभ गङ्गेटिक डल्फिन देखापर्न थाले

धनगढी: विश्वमै दुर्लभ र नेपालमा संरक्षित गङ्गेटिक प्रजातिका डल्फिन कैलालीका नदीहरूमा देखिन थालेका छन्। नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउने उद्देश्यले डल्फिनहरू यहाँ आएका हुन्। यस वर्ष मनसुन ढिलो सुरु भएकाले डल्फिनको आगमन पनि अपेक्षाकृत ढिलो भएको संरक्षणकर्मीहरूले बताएका छन्।

डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार गत वर्ष जेठ मसान्तमै डल्फिन देखिन थालेका थिए भने यस वर्ष केही ढिलोगरी आगमन भएको हो। उनले गत मङ्गलबारदेखि टीकापुर नगरपालिका–७ र भजनी नगरपालिका–८ को सिमानामा पर्ने मोहना नदी र पथरैयाको दोभान क्षेत्रमा एक बच्चासहित तीन वटा डल्फिन देखिएको जानकारी दिए।

त्यस्तै, पथरैया र काँढा नदीको दोभानमा दुई वटा वयस्क डल्फिन पनि देखिएका छन्। केही दिनअघिसम्म काँढा नदीमा पानीको सतह निकै घटेको भए पनि हाल पानी बढ्दै गएको छ। नदीमा पानीको मात्रा अझै बढेमा डल्फिनको सङ्ख्या क्रमशः बढ्दै जाने ढुङ्गानाको भनाइ छ।

अहिलेका एआई प्रणाली ‘वास्तवमा स्मार्ट’ छैनन् : वैज्ञानिक यान लेकुन

पेरिस । अहिले विश्वभर लोकप्रिय बनेका च्याटजिपिटी, क्लाउड र जेमिनीजस्ता कृत्रिम बौद्धिकता (एआई) प्रणालीमा मानिसजस्तो वास्तविक सोच्ने वा भौतिक संसार बुझ्ने क्षमता निकै सीमित रहेको एआई क्षेत्रका अग्रणी वैज्ञानिकहरूले बताएका छन्।

उनीहरूका अनुसार अबको एआई विकासको लक्ष्य केवल भाषा बुझ्ने प्रणाली नभई वास्तविक संसारलाई बुझ्न, कारण–परिणाम विश्लेषण गर्न र स्वतन्त्र रूपमा निर्णय लिन सक्ने नयाँ पुस्ताको एआई बनाउनु हुनुपर्छ।

एआई अनुसन्धानका चर्चित वैज्ञानिक यान लेकुनले हाल प्रयोगमा रहेका ठूला भाषा मोडेल (एलएलएम)लाई ‘वास्तवमै स्मार्ट’ भन्न नमिल्ने बताएका छन्। उनका अनुसार यी प्रणाली विशाल मात्रामा जानकारी सङ्कलन र दोहोर्‍याउन सक्षम भए पनि वास्तविक संसारको आधारभूत बुझाइ भने राख्दैनन्।

एक दशकसम्म मेटामा प्रमुख एआई वैज्ञानिकका रूपमा काम गरेका लेकुनले सन् २०२५ मा कम्पनी छाडेर एड्भान्स्ड मेसिन इन्टेलिजेन्स ल्याब्स (एएमआई ल्याब्स) स्थापना गरेका हुन्। उनी अहिले च्याटजिपिटी, क्लाउड र जेमिनीभन्दा फरक प्रविधिमा आधारित नयाँ प्रकारको एआई विकास गरिरहेका छन्। ‘हामीसँग अहिले पनि वास्तविक संसार बुझ्न मुसाभन्दा राम्रो रोबोट छैन,’ फ्रान्सको प्रमुख प्रविधि सम्मेलन भिभाटेकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लेकुनले भने।

उनका अनुसार अहिलेका एआई प्रणाली भाषा, गणितीय समस्या समाधान, प्रोग्रामिङ तथा पाठ लेख्न निकै सक्षम भए पनि ती सबै स्पष्ट नियम भएका कार्य हुन्। तर वास्तविक संसारमा प्रत्येक निर्णयसँग अनगिन्ती सम्भावित परिणाम जोडिएका हुन्छन्, जुन अहिलेका एआई प्रणालीले बुझ्न सक्दैनन्।

‘यी प्रणालीले जानकारी सङ्कलन गरेर दोहोर्‍याउन सक्छन्। तर त्यसको वास्तविक अर्थ बुझ्दैनन्। त्यसैले यिनलाई वास्तवमै बुद्धिमान भन्न सकिँदैन,’ लेकुनले भने।

वास्तविक संसार बुझ्ने एआई

लेकुनको कम्पनीले ‘जोइन्ट इम्बेडिङ प्रेडिक्टिभ आर्किटेक्चर (जेपा)’ नामक नयाँ एआई प्रणाली विकास गरिरहेको छ। यो प्रणालीले वास्तविक संसारको सार बुझ्ने प्रयास गर्छ। अर्थात् कुनै घटनाको सम्भावित परिणामबारे अनुमान गर्दा केवल तथ्याङ्कीय सम्भावना हेर्ने होइन, परिस्थितिको वास्तविक स्वरूप बुझेर निर्णय गर्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको छ।

लेकुनले यसलाई कलमको उदाहरणबाट स्पष्ट पारे। उनका अनुसार एउटा कलमलाई ठाडो उभ्याएर छोड्दा त्यो ढल्छ भन्ने कुरा सानो बच्चाले पनि बुझ्न सक्छ। तर कुन दिशामा ढल्छ भन्ने कुरा निश्चित रूपमा भन्न सकिँदैन।

उनका अनुसार अहिलेका भाषा मोडेलले प्रशिक्षणका क्रममा सिकेका तथ्याङ्कका आधारमा कुनै एक सम्भावित उत्तर दिन खोज्छन्। तर नयाँ प्रणालीले त्यस्तो प्रश्नको निश्चित उत्तर सम्भव छैन भन्ने बुझ्ने क्षमता राख्नेछ। यसका लागि एआईले वास्तविक संसारका आवश्यक पक्ष मात्र सम्झिने र अनावश्यक विवरण हटाउने गणितीय संरचना प्रयोग गर्ने उनले बताए।

विश्वभर अहिले मानवजस्तै देखिने रोबोट निर्माणमा अर्बौं डलर लगानी भइरहेको छ। यद्यपि कपडा इस्त्री गर्ने, भाँडा मिलाउने, खाना पकाउने वा घरका सामान्य काम सुरक्षित रूपमा गर्न सक्ने रोबोट तयार पार्न अझै ठूलो चुनौती रहेको विज्ञहरू बताउँछन्।

लेकुनका अनुसार अहिलेका भाषा मोडेल रोबोट सञ्चालनका लागि उपयुक्त छैनन्।

‘रोबोटिक्सका लागि एलएलएम लगभग निरुपयोगी छन्। केवल भाषा मोडेलको आकार बढाउँदै गएर मानिसभन्दा धेरै बुद्धिमान प्रणाली तयार हुन्छ भन्ने दाबी वास्तविकता होइन,’ उनले भने।

लेकुन मात्र होइन, धेरै एआई अनुसन्धानकर्ता अहिले ‘विश्व मोडेल’ (वर्ल्ड मोडेल) भनिने नयाँ अवधारणामा केन्द्रित हुन थालेका छन्।

अक्सफोर्ड विश्वविद्यालयको अनुप्रयुक्त कृत्रिम बौद्धिकता प्रयोगशालाका निर्देशक इङ्गमार पोस्नरका अनुसार भविष्यको एआईले केवल उत्तर दिने मात्र होइन, ‘किन यस्तो भयो?’, ‘कुन कुरा महत्त्वपूर्ण छ?’ र ‘अर्को निर्णय लिइएको भए के हुन्थ्यो?’ भन्ने प्रश्नको पनि उत्तर दिन सक्नुपर्छ।

उनका अनुसार एआईले ज्ञानलाई व्यवस्थित रूपमा सङ्गठित गर्न, आवश्यक बेला सम्झिन, नयाँ परिस्थितिसँग जोड्न र परिमार्जन गर्न सक्ने क्षमता विकास गर्नुपर्छ। उनको नेतृत्वको टोली विगत चार वर्षदेखि यस्तै प्रकारको एआई विकासमा जुटिरहेको छ। उनीहरूले विकास गरिरहेको प्रणालीलाई ‘मेकानिस्टिक वर्ल्ड मोडेल’ नाम दिएका छन्।

विश्व मोडेलसम्बन्धी अनुसन्धान अहिले विश्वका प्रमुख प्रविधि कम्पनीले पनि गरिरहेका छन्। गुगलको डीपमाइन्डले ‘जेनी’ नामक प्रणाली विकास गरिरहेको छ भने बेलायतको वेभले ‘गाइया’ प्रणालीमा काम गरिरहेको छ। गत वर्ष गुगलको ‘ड्रिमर’ नामक विश्व मोडेलको एक संस्करणले ‘माइनक्राफ्ट’ भिडियो खेलमा भविष्यका सम्भावित अवस्थाको कल्पना गर्दै हिरा सङ्कलन गर्न सफल भएको थियो। त्यस्तै एआई क्षेत्रकी अग्रणी वैज्ञानिक फेइ–फेइ लीले सन् २०२३ मा ‘वर्ल्ड ल्याब्स’ स्थापना गरेर नयाँ पुस्ताको एआई विकास सुरु गरेकी छन्।

लेकुनको कम्पनी एएमआई ल्याब्सले यस वर्ष एक अर्ब अमेरिकी डलरभन्दा बढी प्रारम्भिक लगानी जुटाइसकेको छ। लगानीकर्तामध्ये एनभिडिया तथा जेफ बेजोसको निजी सम्पत्ति व्यवस्थापन गर्ने कोषसमेत रहेका छन्। यो प्रारम्भिक लगानी युरोपमै सबैभन्दा ठूलोमध्ये एक मानिएको छ।

लेकुनका अनुसार यस वर्ष कम्पनीले आफ्नो नयाँ एआई प्रणालीलाई अझ परिष्कृत गर्नेछ भने आगामी वर्षदेखि उद्योग क्षेत्रमा यसको प्रयोग सुरु गर्ने योजना छ। प्रारम्भिक प्रयोग सफल भए त्यसपछि यसलाई विभिन्न क्षेत्रमा विस्तार गरिनेछ।

भविष्यमा रोबोट र एआई प्रणाली मानिसभन्दा बढी सक्षम भए पनि मानिसको भूमिका समाप्त नहुने लेकुनको विश्वास छ। उनका अनुसार नयाँ प्रश्न उठाउने, सिर्जना गर्ने, नयाँ अवधारणा विकास गर्ने र समाजलाई कुन दिशामा अघि बढाउने भन्ने निर्णय गर्ने काम मानिसकै रहनेछ।

‘भविष्यमा एआई हामीभन्दा धेरै बुद्धिमान भए पनि त्यससँगको हाम्रो सम्बन्ध कुनै उद्योगपति वा राजनीतिक नेताले आफ्ना सक्षम सहयोगीसँग गर्ने सम्बन्धजस्तै हुनेछ। अन्तिम निर्णय भने मानिसकै हुनेछ र एआईले मानिसका लागि काम गर्नेछ,’ उनले भने।

नेप्से सूचक ८ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से ८ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ८.३० अंकले घट्दै २ हजार ६५३.४० अंकमा झरेको हो ।

तथापि, आज कारोबार भने उच्च भएको नेप्सेले जनाएको छ । यसदिन ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको ८५ लाख ८४ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी आठवटा उपसूचक ऋणात्मक भएका छन् । १६० कम्पनीको शेयर मूल्य घट्दा १०३ कम्पनीको मूल्य आज बढेको छ ।

सानिगढ हाइड्रोपावर कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेको छ भने स्नो रिभर, कलंगा हाइड्रो र नेपाल फाइनान्सको शेयर मूल्य क्रमशः १४.९९ प्रतिशत, १४.९८ प्रतिशत र १४.९२ प्रतिशतले बढेका छन् । अप्पर लोहोरे हाइड्रोपावर कम्पनीको शेयर मूल्य भने आज सबैभन्दा बढी १३.६५ प्रतिशतले घट्न पुगेको छ ।

बैतडीमा वर्षाका कारण विद्यालय भवन भत्कियो

बैतडी । लगातार परेको वर्षाका कारण बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन भत्किएको छ।

विद्यालयका प्रधानाध्यापक वीरेन्द्र केसीका अनुसार १६ असारदेखि निरन्तर परेको वर्षाका कारण शुक्रबार बिहान करिब ९ः४५ बजे चारकोठे दुई तले भवन पूर्ण रूपमा भत्किएको हो।

घटना भएको समयमा भवनभित्र कोही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक केसीले जानकारी दिए ।

भवन भत्किएपछि विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। भवन भत्किएसँगै पठनपाठन सञ्चालनमा समेत समस्या उत्पन्न हुने देखिएको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनले क्षतिको मूल्यांकन गरी भवन पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग आवश्यक सहयोगको अपेक्षा गरेको छ।

खोज्नुहोस