नदी उत्खननका कारण सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा

कैलाली । तीव्र रूपमा भइरहेको नदी उत्खननका कारण बर्दिया राजापुरका सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा परेको छ । प्रेमनगरकी आशा सोनाहाका अनुसार कर्णाली नदीमा जताततै उत्खनन बढेपछि यो पेसा सङ्कटमा परेको हो ।

उक्त बस्तीका अन्य सोनाहाहरूको दैनिकी पनि नदीमा सुन खोज्ने र माछा मारेर नै बित्ने गर्छ । कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा मात्र बसोबास रहेको र लोपोन्मुख जातिभित्र पर्ने यो सानो तथा सीमान्तकृत आदिवासी समुदायको मुख्य आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिने सुन र माछा हो ।

आफ्नो पीडा पोख्दै आशाले भनिन्, ‘हाम्रो पेसा नदी किनारमा सुन खोज्ने, माछा मार्ने हो । बस्ती पनि नदी किनारमै हुन्छन् । पुर्खाले सुन खोजेर माछा मारेर जीवनयापन गर्नुभयो । हामीले पनि यही काम गरेका छौँ । नदीको उत्खननले पेसा सङ्कटमा पर्न थालेपछि आजभोलि ज्यालादारी काम गर्न बाध्य छौँ । पुर्खाले गरेको काम नदी उत्खननका कारण लोप हुने त होइन भन्ने चिन्ता छ ।’

कर्णाली नदीमा समूहमा सुन खोज्न व्यस्त रहने सुनिता सोनाहाका अनुसार अन्यत्र ज्यालादारी गरेरभन्दा नदीमा सुन खोजेर बढी आम्दानी हुने गरेको थियो । प्रेमनगरमा मात्रै अहिले १० परिवार यही पुर्ख्यौली पेसामा आबद्ध छन् ।

जताततै नदी उत्खनन बढेपछि नयाँ र युवा पुस्ता पुरानो पेसा छोड्न बाध्य भएको सङ्गीता सोनाहाले बताइन् । पहिलेपहिले एउटै समूहले दिनकै २० लालसम्म सुन भेटाउने गरेको स्मरण गर्दै सङ्गीताले भनिन्, ‘नदी उत्खननले गर्दा अहिले नदीमा सुन भेटाउन निकै मुस्किल पर्ने गरेको छ ।’ रासस

सभामुखलाई ‘कान सुन्नुहुन्छ कि हुन्न’ भनेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएपछि उत्पन्न विवादका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आफ्नो भनाइ राख्ने क्रममा सांसद राईले मर्यादा नाघेर बोलेपछि संसद्‌मा केही बेर तनावको स्थिति सिर्जना भएको थियो। उनले सभामुखलाई सिधै सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै तिखो प्रश्न गरेपछि विवाद सुरु भएको थियो।

सांसद राईको उक्त गैरमर्यादित अभिव्यक्तिप्रति तत्कालै कडा आपत्ति जनाउँदै सभामुख डोलप्रसाद अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्न आग्रह गरे। सभामुखले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्ना कुराहरू संसद्को स्थापित मर्यादाभित्रै रहेर राख्न सचेत गराएका थिए। सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न पटक-पटक आग्रह गरे पनि उनले अटेर गरेपछि उनलाई बोल्न रोक लगाउँदै माइक काटिएको थियो।

त्यसपछि सभामुखले विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङलाई बोल्ने अनुमति दिए, तर संसद्‌मा जारी तनावका बीच उनले बोल्न चाहेनन्। लगत्तै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका सङ्ग्रौलाले सभामुखमाथि अपमान हुने गरी अभिव्यक्ति दिइएको भन्दै बैठकमा नियमापत्ति जनाइन्।

तनाव बढ्दै गएपछि सभामुख अर्यालले उक्त अभद्र अभिव्यक्तिका लागि माफी माग्ने सर्तसहित एमाले सांसद राईलाई पुनः बोल्नका लागि समय दिए। तर सांसद राईले माफी माग्नुको साटो आफ्नो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको आरोप लगाए। उनले थप आक्रोशित हुँदै ‘सभामुख अर्यालले ५ वर्षसम्म संसद् चलाउने ढाँचा नल्याएको’ भन्दै फेरि कडा आलोचना गरेपछि संसद्‌मा हंगामा मच्चिएको थियो। सांसद राईले लगातार संसद्को मर्यादा विपरीत सभामुखको आलोचना गरेपछि तत्कालै सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरे।

 

सुकुम्वासीको हकमा हामी ‘सिरियस’ छाैं, छुटपुट कमजोरी सुधार्छौं: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी व्यवस्थापनमा रहेका कमीकमजोरीलाई सुधारेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री गुरुङले यस्तो प्रतिबद्धता जनाएका हुन्।

सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले सुकुम्वासी समस्या समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिपरेको बताए। उनले भने, ‘सुकुम्वासीको हकमा पनि हामी एकदम सिरियसली लाग्नेछौं, लागि पनि रहेका छौं। कति कुराहरू हाम्रो छुटपुट भएको छ, कमीकमजोरी भएको छ भने त्यसलाई पनि हामी सुधार्दै अगाडि बढ्नेछौं।’

यसैगरी, महिलासँग जोडिएका सवालहरूमा गृह मन्त्रालय सदैव जिम्मेवार भएर प्रस्तुत भएको उनले स्पष्ट पारे। महिला हिंसा तथा सुरक्षाको विषयमा मन्त्रालयले संवेदनशीलता अपनाएको उनको भनाइ थियो।

गृहमन्त्री गुरुङले न्याय र सुरक्षा खोज्ने हरेक महिलाका लागि गृह मन्त्रालयको ढोका सधैँ खुला रहने समेत सदनलाई जानकारी गराए।

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

काठमाडौं- संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।

राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए ।

उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ ।

यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो  ।

बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि पेश गरे ।

सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउँछाैं: पूर्वाधारमन्त्री

काठ्माण्डौ। सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्न देशभरका प्रमुख राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ निर्माण गर्ने भएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सडक सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

उनले सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि खोला-खोल्सी र जोखिमयुक्त स्थानमा पुल निर्माणलाई तीव्रता दिइने जानकारी दिँदै देशभर तीन हजार पुल निर्माण गर्ने लक्ष्य राखिएको बताए।

कर्णाली राजमार्गको दयनीय अवस्था, सडक दुर्घटना तथा उद्धारमा हुने ढिलाइबारे सांसद दुर्गाकुमारी गुरुङले उठाएको प्रश्नको जवाफमा मन्त्री लम्सालले कर्णालीका सडकको अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गरे। उनले कर्णाली राजमार्ग सुधारका लागि पर्याप्त बजेट विनियोजन गरिएको र आगामी दिनमा एक लेनका सडकलाई क्रमशः दुई लेनमा स्तरोन्नति गरिने बताए।

“यस्तो अवस्था दोहोरिन नदिन एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यक्रम ल्याएका छौँ। चालु आर्थिक वर्षभित्र सबै एक लेन सडक विस्तारका लागि ठेक्का प्रक्रिया सुरु गर्ने लक्ष्य छ”, मन्त्री लम्सालले भने।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइने र पर्यटकीय राजमार्गहरूको स्तरोन्नति गरी सुरक्षित यातायात सुनिश्चित गरिने उनको भनाइ छ। मन्त्री लम्सालले कालीगण्डकी करिडोरका बाँकी सडकखण्ड सम्पन्न गर्न पहिरो तथा मनसुनी फेरबदल चुनौती बने पनि पहिरो व्यवस्थापनका लागि विशेष योजना अघि बढाइएको बताए। देशभर पहिचान भएका पहिरो जोखिमयुक्त क्षेत्रको दिगो व्यवस्थापनका लागि पनि बजेट व्यवस्था गरिएको उनको भनाइ छ।

मन्त्री लम्सालले सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्न १८ देखि २१ महिना लाग्ने प्रक्रिया घटाएर छ-सात महिनामा सम्पन्न गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

त्यसैगरी, मन्त्री लम्सालले निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र परेका आयोजनाबारे मन्त्री लम्सालले पटकपटक म्याद थप्दा पनि काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गरिएको बताए।

“अझै केही आयोजनामा रद्द गर्ने प्रक्रिया अघि बढाएका छौँ। केही निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न अन्तिम चेतावनी दिइएको र कतिपयलाई कालोसूचीमा समेत राखिएको छ”, उनले भने।

खरिद ऐन संशोधनको प्रक्रिया अघि बढिसकेको र संशोधनपछि अत्यन्त न्यून मूल्यमा ठेक्का लिएर आयोजना अलपत्र पार्ने प्रवृत्ति नियन्त्रण हुने मन्त्री लम्सालले विश्वास व्यक्त गरे।

मन्त्री लम्सालले जोखिमयुक्त तुइन विस्थापनका लागि झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिँदै निजी तुइन सञ्चालन भएका स्थान नजिकै झोलुङ्गे पुल निर्माण गरेर सुरक्षित र वैकल्पिक आवागमनको व्यवस्था गरिने बताए।

वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत विदेशी ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको हो ।

विदेशी मुद्रा खरिद मार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

साथै मौद्रिक नीतिले तरलता व्यवस्थापन गर्नका लागि नयाँ औजार प्रयोगमा ल्याउन लागेको छ । केन्द्रीय बैंकले विदेशी मुद्रा खरिदकै बखत ‘स्टेरलाइज्ड इन्टरभेन्सन’ गर्ने नीति व्यवस्था गर्ने भएको छ ।

स्टेरिलाइज्ड इन्टरभेन्सन भनेको के हो ?

मुद्राको मूल्य धेरै बढ्ने वा घट्ने गर्दा केन्द्रीय बैंकले हस्तक्षेप गर्छ । केन्द्रीय बैंकले हस्तक्षेप गर्दा मुद्रा आपूर्तिमा असर पर्न सक्छ । जसले मुद्रास्फीति बढ्ने जोखिम पनि रहन्छ । मुद्रा आपूर्तिलाई स्थिर राख्दै विनिमय दर मिलाउन ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ गरिन्छ ।

स्वदेशी मुद्रा बलियो भयो भने केन्द्रीय बैंकले स्वदेशी मुद्रा छापेर विदेशी मुद्रा बजारबाट किन्छ । यसले बजारमा स्वदेशी मुद्राको आपूर्ति बढाउँछ । त्यसले बजारमा पैसा धेरै भएर महँगी बढ्ने डर भने रहन्छ । यस्तै केन्द्रीय बैंकले बजारबाट त्यो थुप्रिएको पैसा फिर्ता तान्नका लागि सरकारी ऋणपत्र बिक्री गर्छ ।

हालको अवस्थामा केन्द्रीय बैंकसँग विदेशी विनियम सञ्चिति पर्याप्त भएकाले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्नका लागि विदेशी मुद्रामै भुक्तानी दिने व्यवस्था गरेर रुपैयाँको आपूर्ति कम गर्न सक्छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च सम्मान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाले सर्वोच्च सम्मान प्रदान गरेको छ ।  इन्डोनेसिया भ्रमणका क्रममा राष्ट्रपति प्रबोवो सुबियान्तोले प्रधानमन्त्री मोदीलाई “इन्डोनेसिया गणराज्यको बिनताङ आदिपूर्णा” पदक प्रदान गरेका हुन् । यो इन्डोनेसियाको सर्वोच्च नागरिक पुरस्कार हो।

सो सम्मान ग्रहण गर्दै मोदीले खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आज बिहान, धेरै माया र सम्मानका साथ, मलाई इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान गरियो। यो सम्मान लाखौँ भारतीयहरूको हो। यसले इन्डोनेसियाली जनताको भावना र हाम्रा दुई देशहरू बीचको ऐतिहासिक, गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ। म राष्ट्रपति प्रबोवो, इन्डोनेसियाली सरकार र जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

उनले छलफलका क्रममासमेत दुई देशबीचको व्यापारक साझेदारी उचाइमा पुगेको बताएका छन् । उनले भने, ‘पछिल्ला वर्षहरूमा भारत-इन्डोनेसियाली सम्बन्धले नयाँ ऊर्जा, विश्वास र गहिराइ प्राप्त गरेको छ । २०१८ मा शुरू गरिएको हाम्रो ‘व्यापक रणनीतिक साझेदारी’ अब नयाँ उचाइमा पुगिरहेको छ। हामी सबै क्षेत्रहरूमा महत्त्वपूर्ण कदम चालिरहेका छौँ ।’

मोदीलाई अहिलेसम्म ३५ देशले सम्मान गरिसकेका छन् । विश्वका कुनै पनि नेताले हासिल गरेको यो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय सम्मान हो ।

यसअघि उनलाई यसै वर्ष स्वीडेन, नर्वे, स्लोभाकिया र सेशेल्सले उक्त देशको सर्वोच्च सम्मान प्रदान गरेका थिए ।

यसबाट पनि स्पष्ट हुन्छ कि मोदी विश्वमै थप शक्तिशाली बन्दै गएका छन् । अन्य देशका चर्चित नेताहरू कुनै न कुनै विवादमा अल्झिरहँदा मोदी भने थप शक्तिशाली बन्दै गएका हुन् ।

सन् २०१४ मा प्रधानमन्त्री बनेपछि निरन्तर पकड जमाइरहेका मोदी विश्वकै सबैभन्दा चर्चित नेताको सूचीमा लामो समयदेखि शीर्ष स्थानमा रहँदै आएका छन् ।

उनले पहिलो चरणमा सन् २०१६ देखि २०२० सम्म साउदी अरेबिया, अफगानिस्तान, प्यालेस्टाइन, संयुक्त राष्ट्र संघ, दक्षिण कोरिया, माल्दिभ्स, यूएई, बहराइन, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन र अमेरिका गरी १० देश तथा उच्च संस्थाहरूले सम्मान गरेका थिए ।

दोस्रो चरणमा सन् २०२१ देखि २०२३ सम्म उनी पपुवा न्यूगिनी, फिजी, इजिप्ट, फ्रान्स र इजिप्ट गरी पाँच देशबाट उच्च सम्मानसहित सम्मानित भए ।

तेस्रो चरणमा सन् २०२४ मा उनले भुटान, रूस, गुयाना, डोमिनिका, नाइजेरिया र कुवेत गरी ६ देशबाट सर्वोच्च सम्मान पाए ।

चौथो चरणमा मोदीले सन् २०२५ र २०२६ को शुरूआतमा बार्बाडोस, मौरिसस, साइप्रस, घाना, ट्रिनिडाड एन्ड टोबागो, ब्रजिल, अर्जेन्टिना, नामिबिया र ओमान गरी ९ देशबाट सम्मानित भए ।

त्यस्तै पाँचौँ चरणमा सन् २०२६ को हालैको युरोप भ्रमणका क्रममा मोदी स्वीडेन, नर्वे, स्लोभाकिया, सेशेल्स र इन्डोनेसियाबाट उच्च सम्मान हासिल गर्न सफल भएका छन् ।

राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्बको ऋणपत्र

काठमाडौं- नेपाल राष्ट्र बैंकले  २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकले मंगलबार जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’  अनलाइनमार्फत बोलकबोल गर्न सकिने उल्लेख  छ ।

ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने उल्लेख  छ ।

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।  राष्ट्र बैंकले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।

आह्वान गरिएको बोल रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ ।
ऋणपत्र निष्कासनको शर्त बमोजिमको अवधिमा निर्धारित ब्याज रकम तथा परिपक्व अवधिमा साँवा रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खातामा जम्मा गरिदिने राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीति सार्वजनिक : निजी क्षेत्रको कर्जा ११ प्रतिशत बढाउने लक्ष्य

 काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यस्तै मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ ।

मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बताए । बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना र समायोजन गर्न सहज व्यवस्था आगामी आवको मौद्रिक नीतिले गरेको पौडेलले बताए ।

बैंक तथा वित्तीय संस्थाको लागत घटाउन आवश्यक व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ । त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात हालकोलाई नै निरन्तरता दिएको गभर्नर पौडेलले बताए ।

२४.५७ अंकले बढ्यो सेयर बजार

काठमाडौं। साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेको छ।

यसअघि सोमबार नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ५५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ३५२ वटा स्क्रिप्सको ९५ लाख १९ हजार  ४५२ कित्ता सेयर ४ अर्ब ४० करोड ७ लाख ५२ हजार  ५४२ रुपैयाँमा खरिदबिक्री भए।

खालंगा हाइड्रो पावरको सेयर सर्वाधिक १४.९९ प्रतिशतले बढ्यो।  आरबीबीएस फोकस ४० को सेयर १३.८५ प्रतिशतले बढ्दा सानिगाढ हाइड्रोको सेयर १०.५७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा १० प्रतिशत केबीएल डिवेन्चर २०९० शीर्ष स्थानमा रह्यो। यसले २० अर्ब माथिको सेयर कारोबार गर्यो।

कारोबारमा आएकामध्ये २१० वटा स्टक्सको मूल्य बढ्दा ५७ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ,डेभलपमेन्ट र ट्रेडिङ समूहको उपसूचक १ प्रतिशत बढीले वृद्धि भए।

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडानको काम सुरु गरिएको छ । निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत बत्ती जडान अभियान सुरु गरिएको हो ।

प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री तथा प्रदेशसभा सदस्य बहादुरसिंह थापाले सोमबार स्वचालित बत्ती जडानका लागि आवश्यक सामग्री सम्बन्धित वडाध्यक्षलाई हस्तान्तरण गरे । ती सामग्री हस्तान्तरण गर्दै उनले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरणका लागि पूर्वाधारमा गरिएको लगानी दीर्घकालीन रूपमा प्रभावकारी हुने बताए ।

शुक्लाफाँटा नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७ र १२ मा गरी १०८ वटा स्वचालित बत्ती जडानको काम अगाडि बढाइएको छ । रासस

सदाचार नीति–२०८३ : नियुक्ति लिनेले अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

काठमाडौं । सरकारले राजनीतिक रुपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । यसअघि सम्बन्धित निकायमा बुझाए पनि हुने व्यवस्था थियो । तर सरकारले हालै जारी गरेको राष्ट्रिय सदाचार नीति, २०८३ ले भने सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको हो ।

यो प्रावधान राजनीतिक दलका तर्फबाट सार्वजनिक पदमा रहने सांसद मन्त्रीहरूदेखि सबै नियुक्ति लिनेहरूका हकमा आकर्षित हुन्छ ।

सार्वजनिक जीवनमा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई संस्थागत गर्ने उद्देश्यले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्थालाई प्रमुख प्राथमिकतामा राखेको हो।

नीतिअनुसार वित्तीय पारदर्शिता कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ।

निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व देखिएमा त्यसको अग्रिम लिखित खुलासा गर्नुपर्ने र स्वार्थ बाझिने बैठक वा निर्णय प्रक्रियाबाट अलग रहनुपर्ने व्यवस्था पनि नीतिमा छ ।

सरकारले सार्वजनिक क्षेत्रमा नैतिक आचरण सुदृढ बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

राष्ट्रिय सदाचार नीतिले सार्वजनिक क्षेत्र मात्र होइन, नागरिक, निजी क्षेत्र, सञ्चार माध्यम र कूटनीतिक नियोगका लागि समेत आचरणका स्पष्ट मापदण्ड तय गरेको छ।

नागरिकलाई संविधान र कानुनको पालना, सार्वजनिक जीवनमा सक्रिय सहभागिता तथा सामाजिक सद्भाव कायम गर्न प्रेरित गरिएको छ । निजी क्षेत्रलाई कालाबजारी, कार्टेलिङ, गुणस्तरहीन वस्तुको बिक्री तथा अस्वाभाविक नाफाखोरीबाट टाढा रहनुपर्ने उल्लेख छ ।

त्यसैगरी सञ्चार माध्यमलाई तथ्यमा आधारित, निष्पक्ष र सत्य समाचार सम्प्रेषण गर्न तथा गलत सूचना प्रकाशित वा प्रसारित भए तत्काल सच्याउनुपर्ने दायित्व तोकिएको छ। भ्रमपूर्ण सूचना, सूचनाको हेरफेर र स्वार्थप्रेरित प्रचारप्रसारलाई निषेध गरिएको छ।

नीतिले कूटनीतिक आचारसंहितालाई पनि कडा बनाउँदै विदेशी कूटनीतिज्ञसँगको औपचारिक भेटघाट तथा पत्राचार परराष्ट्र मन्त्रालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुन सक्ने गतिविधि, गोप्य सूचना चुहावट तथा मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने कार्य नगर्न स्पष्ट निर्देशन दिइएको छ।

नीतिले सार्वजनिक पदाधिकारी र विधायकलाई सार्वजनिक स्रोत–साधन व्यक्तिगत हितमा प्रयोग गर्न रोक लगाइएको छ।

राजनीतिक दल र गैरसरकारी संस्थालाई हिंसात्मक गतिविधि, निर्वाचन पर्यवेक्षणमा हस्तक्षेप तथा सामाजिक द्वेष फैलाउने गतिविधिबाट टाढा रहन भनिएको छ।

यस्तै, निजी तथा वित्तीय क्षेत्रलाई कार्टेलिङ, कालाबजारी, गुणस्तरहीन वस्तु तथा सेवाको उत्पादन वा बिक्री, अस्वाभाविक नाफा असुली तथा स्वार्थको द्वन्द्व हुने कारोबार गर्न नपाइने व्यवस्था गरिएको छ।

धानबालीका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुन्छ : कृषिमन्त्री चौधरी

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् । मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भई विगतको मौज्दात समेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री–वितरण भइसकेका जानकारी दिइन् ।

हाल ९५ हजार मेट्रिक टन मल मौज्दात रहेको र जीटुजी प्रक्रियामार्फत थप ५० हजार मेट्रिक टन मल चाँडै आपूर्ति हुने क्रममा रहेकाले धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने उनले दावी गरिन् । उनले मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको बताइन् ।

मन्त्री चौधरीले कुल १५६ वटा स्थानीय तहमा साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि करिब १६ करोड बजेट विनियोजन गरिएको,  संघीय निकायतर्फ साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि ४ करोड १७ लाख बजेटको व्यवस्था गरिएको जानकारी दिइन् ।

सिँचाइ मन्त्रालयमार्फत निर्माण भइरहेका ठूला प्रकृतिका सिँचाइ आयोजनाहरूबाट आगामी दिनमा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेतीयोग्य जमिनमा सहज रूपमा सिँचाइ सुविधा उपलब्ध हुने देखिएको समेत उनले बताइन् । मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र सहअस्तित्वका लागि विभिन्न प्रत्यक्ष परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्न गर्ने उल्लेख गरिन् ।

मौद्रिक नीति आजै सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्ताएको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै चालु आर्थिक वर्ष २०८२/८३ मा मौद्रिक नीतिमार्फत लचिलो र आक्रामक रणनीति स्वरुप ल्याएको थियो ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज (असार २३ गते) सार्वजनिक गर्दैछ ।  यसअघि चालु आवको मौद्रिक नीतिको वार्षिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले चालु आवको १० महिनासम्मको तथ्यांकमा रहेर अर्थतन्त्रको सूचकको विश्लेषण गरेको छ ।

यतिबेला बाह्य क्षेत्र अत्यन्तै बलियो भए पनि आन्तरिक मागमा आएको गिरावट र निजी क्षेत्रको मनोबल खस्किएको राष्ट्र बैंकले स्विकार्दै आएको छ ।  यसर्थ यसबीच निजी क्षेत्रको खस्किएको मनोवल उकास्न केन्द्रिय बैंकले नीतिगत दरमा कटौती र कर्जा प्रवाहका सीमाहरूमा हेरफेर गर्‍यो ।

यो समिक्षा तथ्याङ्कीय प्रतिवेदन मात्र नभई आर्थिक पुनरुत्थानको मार्गचित्र भएको राष्ट्र बैंकको दाबी छ ।

समीक्षा अवधिमा नेपालले विश्वव्यापी भू–राजनीतिक तनाव, विशेष गरी इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वका कारण सिर्जित आपूर्ति शृङखलाको अवरोध र इन्धनको मूल्य वृद्धिको सामना गर्नुपरेको छ ।

आन्तरिक रूपमा, ढिला गरी भित्रिएको मनसुन र असोजको बाढीका कारण कृषि उत्पादनमा आएको कमीले अर्थतन्त्रमा थप चुनौती थपेको थियो ।

निजी क्षेत्रको मनोबल कमजोर हुँदा र निर्माण क्षेत्रमा सुस्तता आउँदा बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) भए पनि कर्जाको माग बढ्न सकेको थिएन । यही पृष्ठभूमिमा राष्ट्र बैंकले ‘सजगतापूर्वक लचिलो’ मौद्रिक कार्यदिशा अपनाएको थियो ।

चालु आवमा केन्द्रीय बैंकले ‘खुकुलो’ मौद्रिक नीति ल्याएर निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरेको थियो ।

तथापी घरजग्गा, सेयर र साना उद्यमीलाई दिएको सहुलियतले आगामी दिनमा बजारमा पैसाको चहलपहल बढ्ने र आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न मद्दत पुग्ने केन्द्रिय बैंकको विश्वास छ ।

सूचक सन्तोषजनक तर चुनौती कायम

केन्द्रीय बैंकले समीक्षा गर्दै अर्थतन्त्रका केही सूचकहरू उत्साहजनक रहे पनि अझै वाह्य र आन्तरीक चुनौती देखिएको बताउको छ ।

किनभने मुद्रास्फीति नियन्त्रणमा ५ प्रतिशतको लक्ष्य राखिएकोमा औसत मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित छ । जस्लाई राष्ट्र बैंकले ठूलो उपलब्धिको रुपमा लिएको छ ।

मुलुकसँग बलियो विदेशी विनिमय सञ्चिति छ । यतिबेला नेपालसँग १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ । जुन इतिहासकै बलियो स्थिति मध्ये एक भएको राष्ट्र बैंकको दाबी छ ।

तर, बैंक तथा वित्तिय संस्थामा कर्जा लगेर नतिर्ने अधिक हुदा निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । अर्कोतर्फ निर्माण क्षेत्रको सुस्तता अझै पनि बैंकका लागि चुनौतीका रूपमा रहेको छ ।

आन्तरिक माग नबढेसम्म तरलता (लगानीयोग्य पूँजी) पर्याप्त भएर मात्र कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्ने जोखिम रहेको बारे केन्द्रिय बैंकले मौद्रिक नीति समिक्षा प्रतिवेदनमा औंल्याएको छ ।

मौद्रिक नीतिले चालेकोे मुख्य कदमले के–के भए ?

अर्थतन्त्रका मुख्य संवाहक मानिने क्षेत्रहरूलाई चलायमान बनाउन बैंकले महत्वपूर्ण घोषणाहरू गर्‍यो । यसबीच पहिलो पटक घर किन्ने वा बनाउनेहरूका लागि मात्र नभई सामान्य आवासीय घर कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याइयो । पहिलो घर खरिदकर्ताका लागि घरको मूल्यको ८० प्रतिशतसम्म बैंकले कर्जा दिन सक्ने व्यवस्था गरियो ।

यसबीच सेयर बजारलाई राहत दिने प्रयास भए । सेयर धितो राखेर लिइने मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहक सीमा १५ करोड रुपैयाँबाट ह्वात्तै बढाएर २५ करोड पुर्‍यायो । यसले पुँजी बजारमा ठूला लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा गरिएको थियो ।

यस्तै, व्यक्तिगत ओभरड्राफ्टमा वृद्धि गरियो । व्यक्तिगत प्रयोजनका लागि लिइने अधिविकर्ष कर्जाको सीमा ५० लाख रुपैयाँबाट बढाएर १ करोड  रूपैयाँ पुर्‍याइयो ।

यसबीच ब्याजदर घटाउने नीतिगत हस्तक्षेप गरियो । केन्द्रिय बैंकले बजारमा ब्याजदर घटाउनका लागि नीतिगत दरहरूमा पनि कटौती गर्‍यो । नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम भयो । बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाइयो । यसले बैंकहरूलाई सस्तो दरमा पैसा उपलब्ध गराउने र अन्ततः सर्वसाधारण तथा उद्यमीले तिर्ने ब्याजदर पनि सस्तो बनाउने लक्ष्य राखिएको थियो ।

राष्ट्रिय अर्थतन्त्रको जग मानिने कृषि र साना व्यवसायलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले व्यावहारिक सहजता ल्यायो । जस्मा स्व–मूल्याङ्कनको सुविधा भए । यसबाट कृषि र साना उद्योगका लागि १० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा बैंककै कर्मचारीले धितोको मूल्याङ्कन गर्न सक्ने वयवस्था भए । जसले गर्दा उद्यमीको लागत घट्न सहयोग पुग्यो ।

यसबचि राजमार्ग लक्षित सहुलियत दिईयो । जसअनतर्गत हुलाकी राजमार्ग र मध्य–पहाडी लोकमार्ग आसपासका होटल, रेस्टुरेन्ट र उद्योगहरूलाई ३ करोड रुपैयाँसम्मको कर्जा आधार दरमा बढीमा २ प्रतिशत मात्र प्रिमियम थपेर दिने व्यवस्था गरियो ।

यस्तै, भूकम्प पीडितलाई साथ दिन जाजरकोट र रुकुमका भूकम्प प्रभावित क्षेत्रका ऋणीहरूले १० प्रतिशत ब्याज बुझाएमा कर्जा पुनरतालिकीकरण गर्न पाउने व्यवस्थालाई निरन्तरता दिइयो ।

बैंकले प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै डिजिटल बैंकिङमार्फत १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सक्ने नीतिगत व्यवस्था गर्‍यो । त्यसैगरी, नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे–लिस्टबाट जोगाउन सम्पत्ति शुद्धीकरण निवारणका रणनीतिहरूलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता पनि दोहोर्‍याइयो ।

यस्तै, विदेशी लगानीकर्ताहरूलाई मुनाफा फिर्ता लैजान (च्भउबतचष्बतष्यल) र लगानी भित्र्याउन सहज हुने गरी विदेशी विनिमय नियमावलीमा पनि संशोधन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित विधेयक टेबल गरेको छ। आज ११ बजे बसेको बैठकमा विधेयक टेबल भएको हो ।

बैठकको सुरुमा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेशसभा नियमावली, २०८० बमोजिम राजस्व र व्ययको वार्षिक अनुमान, अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक तथा विनियोजन विधेयक सभा समक्ष टेबल गरे।

त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्कीले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन, थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन, मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन र मधेसी आयोगको सातौँ वार्षिक प्रतिवेदन सभामा पेस गरे।

प्रतिवेदनहरू पेस भएपछि सभामुख भीमबहादुर भण्डारीले महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक लेखा समितिमा तथा अन्य आयोगका प्रतिवेदन सम्बन्धित समितिमा अध्ययन र छलफलका लागि पठाउन निर्देशन दिए।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी विधेयक टेबल भएसँगै बजेटमाथिको छलफल र पारित गर्ने प्रक्रिया अघि बढ्ने जनाइएको छ।

कार्यसूची सकिएपछि सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरे। यसअघि बजेट प्रस्तुत भएपछि सत्तारुढ दलहरूबीच देखिएको आन्तरिक विवादका बैठक प्रभावित हुँदै आएको थियो ।

बालपोषण भत्ता एक हजार पुग्ने

काठ्माण्डौ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बालबालिकाको पोषण अवस्थामा सुधार तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यका साथ मानव विकास सूचकाङ्कमा पछाडि परेका २५ जिल्लाका सबै बालबालिका तथा देशभरका दलित बालबालिकालाई प्रदान गर्दै आएको मासिक रु. ५ सय ३२ बालपोषण भत्ता आगामी आर्थिक वर्षदेखि वृद्धि गरी रु. १ हजार पुर्‍याउने व्यवस्था मिलाएको छ।

बालपोषण भत्तामा गरिएको यस वृद्धिबाट बालबालिकाको पोषण अवस्थामा सुधार आउनुका साथै कुपोषण न्यूनीकरण, बालअधिकारको संरक्षण तथा बालमैत्री सामाजिक सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, मातृ–शिशु स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरू स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत सञ्चालन हुँदै आएका छन्। आगामी दिनमा मातृ–शिशु स्वास्थ्य तथा बालपोषण कार्यक्रमलाई थप प्रभावकारी, समन्वयात्मक तथा परिणाममुखी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालन हुने महिला तथा बालबालिका लक्षित सामाजिक संरक्षण तथा सामाजिक सुरक्षा कार्यक्रमहरूले मातृ–शिशु स्वास्थ्य, बालपोषण तथा बालकल्याण प्रवर्द्धनमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा सो धारणा राखे।

त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्द्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउनेबारे पनि अध्यक्ष कान्डालाई जानकारी गराएका थिए।

उनले स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको विश्वास समेत व्यक्त गरे।

उक्त भेटवार्तामा एडिबी साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए।

सो अवसरमा नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेको उल्लेख गर्दै एडिबीको ऊर्जा रणनीतिअन्तर्गत स्वच्छ ऊर्जा उत्पादनमा साझेदारलाई जोड दिइएको थियो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले एडिबीको सहयोगमा निर्माणाधीन दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना नेपाल सरकारको प्राथमिकता प्राप्त आयोजना भएको र दीर्घकालीन ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। यसको वित्तीय व्यवस्थापन प्रक्रिया यथाशीघ्र सुरु गरिदिन पनि प्रधानमन्त्रीले जोड दिए।

भेटवार्ताका क्रममा एडिबीको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी’अन्तर्गत विशेषगरी ऊर्जा, कनेक्टिभिटी, सहरी विकास तथा डिजिटल पूर्वाधारका क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट विगत पाँच दशकभन्दा बढी समयदेखि नेपालको विकास यात्रामा एडिबीले निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सहयोगको अपेक्षा गरेका थिए।

मुलुकको ठूलो विकास साझेदार रहेको एडिबीको हाल नेपालमा सक्रिय खुद ‘पोर्टफोलियो’ करिब चार अर्ब २० करोड अमेरिकी डलर बराबरको रहेको छ। यसबाट ३१ वटा परियोजना सञ्चालनमा रहेका छन्।

एडिबीबाट ‘पोलिसी बेस्ड लेन्डिङ’ अन्तर्गत सन् २०२६ मा १५ करोड अमेरिकी डलरको सहायता कार्यक्रम रहेको छ।

यसअन्तर्गत मुख्यतया खानेपानी, सरसफाइ, सहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्द्धन, विपद् जोखिम व्यवस्थापन, डिजिटल सुशासन र सहकार्यको प्राथमिकताका क्षेत्रमा पनि त्यस अवसरमा छलफल केन्द्रित रहेको थियो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार भेटवार्ताका अवसरमा नेपालको डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि र रोजगारीको नयाँ आधारका रूपमा विकास भइरहेकामा सन्तोष व्यक्त गर्दै डिजिटल पूर्वाधार तथा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा एडिबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठ्माण्डौ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ।

बोर्डले मंगलबार  ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको हो।

ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना परीक्षार्थी सहभागी भएकामा ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् ।

बोर्डको अनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्।

१६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० र १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्।

बोर्डले नतिजा प्रकाशनमा केही प्राविधिक त्रुटि देखिए पुनः सच्याउने व्यवस्था गरेको छ। जसको लागि असार २५ गतेदेखि असार ३१ गतेसम्म समय छुट्टाइएको छ।

जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।

विभागका कर्मचारीले सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थितिका लागि पत्र टाँस गरेका हुन्। पत्रमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तोकिएको अवधिभित्र विभागमा उपस्थित भई बयान दिन भनिएको उल्लेख छ।

यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाका नाममा पनि अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो।

स्रोतका अनुसार जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का तथा राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत निकायमा उजुरी परेको छ।

उक्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र सोही क्रममा जयवीर देउवालाई बयानका लागि बोलाइएको स्रोतले जनाएको छ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

काठ्माण्डौ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरेका छन्।

यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा अञ्जनी कुमार झा लगायतका पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो।

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए ।

कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो ।

सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।

आज अर्जेन्टिना र इजिप्ट खेल्दै, सबैको नजर मेसी

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अफ्रिकन जायन्ट इजिप्टसँग खेल्दैछ ।

यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहसलो पटक आमने सामने हुन लागेका हुन् ।

दुवै टोलीले अन्तिम ३२ मा संघर्षपूर्ण जित निकालेका थिए । राउण्ड अफ ३२ मा अफ्रिकाको नवप्रवेशी केप भर्डेलाई ३-२ ले पराजित गर्दै अघि बढेको दक्षिण अमेरिकि जायन्ट अर्जेन्टिनाले अन्तिम १६ मा अर्को अफ्रिकी टिमसँग खेल्न लागेको हो ।

इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टीसुटआउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट खेल जिथेको थियो ।

विश्व फुटबलकै सुपर स्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना अहिले लयमा देखिएको छ र ३ पटकको विश्व विजेता अर्जेन्टिना ६४ वर्षपछि विश्वकपमा उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा छ ।

फिफा वरियतामा नम्बर १ पोजिसनमा रहेको दक्षिण अमेरिकी महारथी अर्जेन्टिना १९औं पटक विश्वकप खेलिरहेको छ । यसअघि १८ संस्करण खेल्दा अर्जेन्टिनाले ३ पटक उपाधि जितेको थियो भने ३ पटक उपविजेता बनेको थियो ।

सन् १९३४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा सिधै अन्तिम १६ मा खेलेको इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरण खेलेको हो र नकआउटमा पहिलो जित समेत हात पारिसकेको छ । हाल इजिप्ट फिफा वरियतामा २९औं स्थानमा छ ।

अहिले विश्वकपमा अर्जेन्टिनाले कुनै पनि खेल्दा वा जित्दा जहिले पनि लियोनल मेसीकै चर्चा हुन्छ । विपक्षी टिम मेसीलाई कसरी रोक्ने भन्ने तयारी गरिरहेका हुन्छन् भने अर्जेन्टिनाको टिम मेसीबाट कसरी बढी फाइदा लिने भन्नेमा हुन्छ । हरेक खेलमा केही न केही कीर्तिमान बनाइरहेका मेसीले ३९ वर्षको उमेर पनि विश्वकपमा जादुयी प्रदर्शन गरिरहेका छन् ।

अहिलेसम्मको यात्रा

साविक विजेता तथा तीन पटकको च्याम्पियन अर्जेन्टिनाले जारी विश्वकपमा खेलेको सबै चार खेल जितेको छ । समूह चरणमा अल्जेरियाला२ ३-० ले, अस्ट्रियालाई २-० ले र जोर्डनलाई ३-१ ले पराजित गरेको थियो ।

समूह चरणमा तीनै खेलमा सहज जित हात पारेको अर्जेन्टिनाले राउण्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको हो । ,

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलेका चारवटै खेलमा गोल गर्दै संयुक्त रुपमा सर्वाधिक ७ गोल गरिसकेका छन् ।

अर्कोतर्फ ७ पटकको अफ्रिकन च्याम्पियन इजिप्टको पनि अहिलेसम्म अपराजित छ ।

समूह चरणमा बेल्जियमसँग १-१ को बराबरी खेलेका इजिप्टले न्युजिल्यान्डलाई ३-१ ले पराजित गरेको थियो भने इरानसँग १-१ को बराबरी खेलेको थियो ।

समूह जी को उपविजेताको रुपमा नकआउट चरणमा पुगेको इजिप्टले अस्ट्रेलियालाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गरेको थियो ।

इजिप्टका इमाम असौरले समूह चरणमा दुई गोल गरेका थिए ।

हेड टु हेड

अर्जेन्टिना र इजिप्ट विश्वकपमा अहिलेसम्म भिडेका छैनन् र यो पहिलो भेट हुनेछ । यस्तै समग्रमा भने यी दुई टोली तेस्रो पटक खेल्न लागेका हुन् ।

यसअघि भएको दुई खेल खर्जेन्टिनाले जितेको थियो ।

सन् १९२८ मा भएको ओलम्पिक फुटबलमा अर्जेन्टिनाले इजिप्टलाई ६-० ले पराजित गरेको थियो । पछिल्लो पटक सन् २००८ मा इजिप्टकै कायरोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २-० ले विजयी भएको थियो ।

टिम न्युज

अर्जेन्टिनाको टिममा कुनै ठूलो समस्या नभएपनि खेलाडीहरुले लगातार खेल्दा थकानको समस्या देखिएको छ । कप्तान मेसी र रोड्रिगो डे पउलले अन्तिम ३२ मा पूरा १२० मिनेट मैदानमा बिताएका थिए ।

लगातार खेल्दा खेलाडीहरुलाई रिकरभरी र समय व्यस्थापनको लागि केही चुनौती देखिएको छ ।

फुल ब्याक्स नाहुएल मोलिना र फकुन्डो मेडिनालाई पछिल्लो खेलमा केही समस्या देखिएपनि उनीहरु अर्को खेलका लागि तयार हुने अपेक्षा छ ।

यस्तै इजिप्टको टिममा पनि कुनै समस्या छैन । मोहम्मद लासिन पहेँलो कार्डको ल्मबनपछि टिममा उपलब्ध छन् । लेफ्ट ब्याक मोहमद अब्देलमोलेम र सेन्टर ब्याक अहमेद फातोह अन्तिम १६ मा खेल्ने सम्भावना कम रहेको टिम डिरेक्टर इब्राहिम हसनले जानकारी दिएका छन् ।

मोहमद सालाह पनि ह्याम्सट्रिङको समस्यासँग जुधिरहेका छन् ।

विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले दिए पदबाट राजीनामा

काठ्माण्डौ- फिफा विश्वकप २०२६ बाट बाहिरिएिछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्।

विश्वकपको अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका हुन्।

साथै, उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिँदै क्रिस्टियानो रोनाल्डोको प्रशंसा समेत गरेका छन्। उनले भने, ‘यस विश्वकपमा उनको प्रयासको लागि हामीले उनलाई धन्यवाद दिनुपर्छ।’

रोनाल्डोले विश्वकप जित्नका लागि उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। ‘उनको सपना विश्वकप जित्नु थियो र त्यो हासिल गर्न उनले उत्कृष्ट उदाहरण प्रस्तुत गरे,’ मार्टिनेजले भने।

रोनाल्डो फुटबलका एक आइकन भएको बताउँदै उनले भने, ‘उनी फुटबलका एक आइकन हुन् र यस महान खेलाडीको पछाडि रहेको मानवताको एक उत्कृष्ट उदाहरण हुन्।’

अन्तिम १६ बाट ३ वटै आयोजक राष्ट्र बाहिरिए

काठमाडौं । तीनवटै आयोजक राष्ट्र फिफा विश्वकप २०२६ बाट बाहिरिएका छन् ।

जारी विश्वकपमा आयोजक राष्ट्रको रुपमा रहेका अमेरिका, क्यानडा र मेक्सिको अन्तिम १६ बाट बाहिरिएका हुन् ।

मंगलबार बिहान भएको खेलमा बेल्जियमसँग ४-१ ले पराजित हुँदै अमेरिका प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणमा अष्ट्रेलिया र पाराग्वेलाई पराजित गरेको अमेरिका टर्कीएसँग पराजित भएको थियो । समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको अमेरिकाले बोस्निया तथा हर्जगोभिनालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो ।

अपराजित रहँदै नकआउटमा पुगेको मेक्सिको इंग्ल्यान्डसँग पराजित हुँदा अन्तिम १६ मा रोकिन पुग्यो । समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गरेको मेक्सिकोल अन्तिम ३२ मा इक्वेडरलाई हराएको थियो । अन्तिम १६ मा इंग्ल्यान्डसँग हार्दा मेक्सिकोको सपना पनि पूरा हुन सकेन ।

समूह चरणमा एक जित, एक हार र एक बराबरी खेलेको क्यानडाले अन्तिम ३२ मा सहज प्रतिस्पर्धी पायो । घरेलु मैदानमा दक्षिण अफ्रिकालाई हराउँदै क्यानडाले पहिलोपटक नकआउट चरणमा जित दर्ता गर्‍यो । तर, अन्तिम १६ मा मोरक्कोसँग पराजित हुँदा क्यानडाको विश्वकप यात्रा टुंगिन पुग्यो ।

हतारमा कुनै पनि निर्णय लिने छैन : सन्यासबारे रोनाल्डो

काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले सन्तुष्ट भावका साथ विश्वकपबाट बिदा भएको बताएका छन् ।

स्पेनसँगको हारपछि उनले विश्वकपबाट बाहिरिनु पर्दा आफु दुःखी भएको बताए ।

‘यसरी विश्वकपबाट बाहिरिनु पर्दा म दुःखी छु । मैले आफ्नो सबैथोक सुम्पिएँ । मैले आफ्नो उत्कृष्ट प्रदर्शन दिएँ र म सफा मन (सन्तुष्ट भाव) का साथ बिदा हुँदैछु,’ उनले भने ।

सन्यासबारे रोनाल्डोले हतारमा कुनै पनि निर्णय नलिने स्पष्ट पारे । उनले भने, ‘हो यो मेरो अन्तिम विश्वकप थियो, तर अब मसँग विचार गर्न र परिवारसँग समय बिताउने मौका हुनेछ । म हतारमा कुनै पनि निर्णय लिने छैन ।’

विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षक भन्छन्ः आज भाग्य हाम्रो पक्षमा थिएन

काठमाडौं ।  स्पेनसँगको हारपछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टाे मार्टिनेजले आज भाग्य आफ्नो पक्षमा नरहेको बताएका छन् ।

स्पेनसँग पराजित हुँदै फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले भाग्यको मात्र साथ नमिलेको बताएका हुन् ।

‘हामी विश्वकप जित्ने बलिया दावेदारमध्ये एक टोलीविरुद्ध खेलिरहेका थियौँ । सायद हामीलाई अलिकति भाग्यको मात्र साथ नमिलेको हो । आज भाग्य हाम्रो पक्षमा थिएन । तर यो एकदमै प्रतिस्पर्धात्मक खेल थियो,’ उनले भने ।

स्पेनविरुद्ध राम्रो रक्षात्मक खेल खेलको प्रशिक्षक मार्टिनेजले उल्लेख गरे ।

‘पोर्चुगिज जनताले यो टोली र यी खेलाडीहरूमाथि गर्व गर्न सक्छन् । यो वास्तवमै ठूलो दुर्भाग्य हो । हाम्रो प्रहार पनि क्रसबारमा ठोकिएको थियो । मलाई लाग्छ हामी खेललाई एक्स्ट्रा टाइममा लैजान योग्य थियौँ । हामीले राम्रो रक्षात्मक खेल खेल्यौं ।

स्पेनसँग पोर्चुगल १-० ले पराजित हुँदा रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम

फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको डलास रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। तर, खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए।

यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यसअघि सन् २०१० मा च्याम्पियन बनेपछि स्पेनले क्वाटरफाइनलको यात्रा तय गर्न सकेको थिएन। अर्कोतर्फ, यस हारसँगै पोर्चुगलको विश्वकप यात्रा राउन्ड अफ-१६ मै समाप्त भएको छ।

४१ वर्षीय सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि यो छैटौं तथा अन्तिम विश्वकप थियो। खेलपछि मैदानबाट बाहिर निस्कँदा उनी निकै भावुक देखिएका थिए। खेलको पूर्वसन्ध्यामा पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘मेरो अन्तिम विश्वकपको पूर्ण आनन्द लिन चाहन्छु।’ यस खेलसँगै फुटबलको सबैभन्दा ठूलो मञ्चमा रोनाल्डोको यात्रा टुंगिएको छ। उनले विश्वकपमा कुल ११ गोल गरेका छन्।

खेलको अतिरिक्त समयमा फेरान टोरेसको थ्रु बलमा मेरिनोले गोलकिपर डियोगो कोस्टालाई बिट गर्दै गोल गरेका थिए। स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले मेरिनोको प्रशंसा गर्दै भने, ‘मिकेल मेरिनोले कहिल्यै निराश पार्दैनन्। उनी पक्का छन्। उनले हामीलाई युरो जिताएका छन्। उनी एक विशाल खेलाडी हुन्।’

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीको प्रदर्शनप्रति गर्व महसुस भएको बताए। मार्टिनेजले भने, ‘हामीले धेरै गर्व गर्न सक्छौँ। खेलाडीहरूले आफ्नो हृदय र आत्मा दिएका छन्। हामीले बलियो टोलीको सामना गर्यौँ र आफ्नो अडान कायम राख्यौँ।’

यस विश्वकपमा स्पेनको यो लगातार छैटौँ ‘क्लिन सिट’ हो, जुन प्रतियोगिताको रेकर्ड हो। गोलकिपर उनाई सिमोनले आफ्नो गोलरहित समयलाई ६०९ मिनेटसम्म पुर्‍याएका छन्। स्पेनले अब क्वाटरफाइनलमा बेल्जियम र अमेरिकाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुईबिच अहिले ५:४५ बजेदेखि खेल हुँदैछ।

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची रहेको उनले जानकारी दिए ।

यही असार १ गते आर्थिक वर्ष २०८३ / ८४ को बजेट प्रस्तुत भएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो । यहाँ सरकारले प्रस्तुत गरेको बजेटका सम्बन्धमा सत्तासाझेदार दलहरुबीच नै मतभेद भएपछि बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

खोज्नुहोस