सभामुखलाई ‘कान सुन्नुहुन्छ कि हुन्न’ भनेपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएपछि उत्पन्न विवादका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आफ्नो भनाइ राख्ने क्रममा सांसद राईले मर्यादा नाघेर बोलेपछि संसद्मा केही बेर तनावको स्थिति सिर्जना भएको थियो। उनले सभामुखलाई सिधै सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै तिखो प्रश्न गरेपछि विवाद सुरु भएको थियो।
सांसद राईको उक्त गैरमर्यादित अभिव्यक्तिप्रति तत्कालै कडा आपत्ति जनाउँदै सभामुख डोलप्रसाद अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्न आग्रह गरे। सभामुखले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्ना कुराहरू संसद्को स्थापित मर्यादाभित्रै रहेर राख्न सचेत गराएका थिए। सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न पटक-पटक आग्रह गरे पनि उनले अटेर गरेपछि उनलाई बोल्न रोक लगाउँदै माइक काटिएको थियो।
त्यसपछि सभामुखले विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङलाई बोल्ने अनुमति दिए, तर संसद्मा जारी तनावका बीच उनले बोल्न चाहेनन्। लगत्तै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका सङ्ग्रौलाले सभामुखमाथि अपमान हुने गरी अभिव्यक्ति दिइएको भन्दै बैठकमा नियमापत्ति जनाइन्।
तनाव बढ्दै गएपछि सभामुख अर्यालले उक्त अभद्र अभिव्यक्तिका लागि माफी माग्ने सर्तसहित एमाले सांसद राईलाई पुनः बोल्नका लागि समय दिए। तर सांसद राईले माफी माग्नुको साटो आफ्नो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको आरोप लगाए। उनले थप आक्रोशित हुँदै ‘सभामुख अर्यालले ५ वर्षसम्म संसद् चलाउने ढाँचा नल्याएको’ भन्दै फेरि कडा आलोचना गरेपछि संसद्मा हंगामा मच्चिएको थियो। सांसद राईले लगातार संसद्को मर्यादा विपरीत सभामुखको आलोचना गरेपछि तत्कालै सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरे।
