विपद् व्यवस्थापनका लागि स्रोत, साधन छैन : प्राधिकरण

काठमाडौं- सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको पाइएको छ ।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी गराएको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले त्यस्ता खालको अभाव हुन नदिन आफूहरूले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको बताए ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकोप्टर, डुंगा, ड्रोनलगायत व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख भट्टले गत वर्षमा जस्तै यस वर्ष पनि विपद् व्यवस्थापनका लागि अभाव भएका स्रोत र साधनको थप व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको बताए । – न्युज एजेन्सी नेपाल

कांग्रेस संसदीय दलको विधान पारित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित गरिएको छ । बिहीबार (वैशाख १०) बसेको संसदीय दलको बैठकबाट विधान पारित गरिएको हो । विधान पारित भएसँगै अनुमोदनका निम्ति पार्टी कार्यालयमा पत्राचार गरिएको सांसद बासना थापाले जानकारी दिइन् ।

“अनुमोदनका लागि आज पत्राचार भएको छ । निर्वाचन प्रक्रिया त हामीले सुरु गरिसक्यौँ,” उनले भनिन्, “मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरिसक्यौँ, सर्वसम्मतिको प्रयास भइरहेको छ । कतिजना उमेदवार हुन्छन्, त्यसपछि कुरा हुन्छ ।”

कांग्रेस संसदीय दलको नेता चयनका निम्ति शुक्रबार (वैशाख ११) निर्वाचनको मिति तय छ ।

साइबर अपराध बढ्दाे, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की

काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा साइबर अपराध तीव्र गतिमा बढिरहेको बताएका छन् ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा आईजीपी कार्कीले इन्टरनेट र मोबाइलको बढ्दो प्रयोगसँगै यस्ता घटना वृद्धि भएको जानकारी दिए ।

विशेषगरी महिला र युवा धेरै प्रभावित भएका छन् । अहिलेसम्मको तथ्याङ्क अनुसार फेक एकाउन्टबाट घृणा फैलाउने ४ हजारभन्दा धेरै निवेदन, बुलिङ र उत्पीडनका ३ हजारभन्दा धेरै घटना र वित्तीय अपराधका १० हजारभन्दा धेरै उजुरी प्रहरीमा दर्ता भएका छन् ।

आईजीपी कार्कीका अनुसार सामाजिक सञ्जाल प्लेटफर्म विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले अनुसन्धानका लागि आवश्यक विवरण पाउन ठूलो चुनौती छ । फेसबुक, इन्स्टाग्राम लगायत मेटाका प्लेटफर्म नेपालमा दर्ता नभएकाले प्रयोगकर्ता विवरण आउन २०–२५ दिन लाग्ने र अनुसन्धानमा ढिलो हुँदा पीडितले न्याय नपाउने अवस्था सिर्जना भएको उनले बताए ।

अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र कपोकोलाइभ मात्र नेपालमा आधिकारिक रूपमा दर्ता भएका छन् । कार्कीले साइबर अपराध नियन्त्रणका लागि स्पष्ट कानूनी व्यवस्था गर्न र डिजिटल प्लेटफर्महरूलाई नेपालमा दर्ता गराउन माग गरे ।

१७.०१ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । यस कम्पनीको ३० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा पाल्पा सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा धेरैले घटेको छ ।

धनगढीमा दुई दिने विकास पत्रकारिता तालिम

धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले तालिमको आयोजना गरेको हो ।

दुई दिनसम्म आयोजना हुने तालिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीले उद्‌घाटन गरे। त्यस क्रममा उनले आम सञ्चार विधेयक नीति पास गरेर प्रदेश सरकारले आम सञ्चार विधेयकलाई अगाडि बढाएको बताए ।

उनले भने,“अस्तीको बैठकमा त्यसलाई विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । सदन चलेपछि त्यसमाथि छलफल गरेर अगाडि बढाइने छ ।”

यो विधेयक पास भएमा भोलिका दिनमा पत्रकारबाटै एक जना प्रेस रजिस्ट्रार राखिने मन्त्री सार्कीको भनाइ थियो ।उनले आगामी आर्थिक वर्षमा पत्रकारिताको विकासका लागि आवश्यक बजेट विनियोजन गरिने भन्दै पत्रकारिताको विकास पनि आवश्यक रहेको औंल्याए ।

तालिममा सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाबाट पत्रकारको सहभागिता रहेको छ । तालिमको सहजीकरण महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले गरीरहेका छन् ।

महासङ्घका प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षतामा उद्‌घाटन कार्यक्रम भएको थियो ।

यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बिहीबारको मन्त्रिपरिषद् बैठक सकिएको छ।

बैठकले विभिन्न तीन वटा निर्णयहरू गरेको छ। बैठकले इन्टिग्रेटेड वाटर सप्लाई एण्ड सिउरेज म्यानेजमेन्ट सेक्टर प्रोजेक्टका लागि एसीयाली विकास विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली पनि गठन गरेको छ।

साथै, सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ।

सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै, नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ भदौ १ गतेको निर्णयबमोजिम महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा (एक सय चौध रोपनी तीन आना) राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको छ।

कानुनमन्त्री गौतम र जापानका राजदूतबीच भेट

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि जापानका राजदूत माइदा तारुबीच शिष्टाचार भेट भएको छ ।

राजदूत तारुले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना दिए ।

भेटका क्रममा मन्त्री गौतम र जापानी राजदूतबीच कानुन सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने छलफल भएको छ ।

साथ, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्सलगायतको प्रयोग बढिरहँदा तिनलाई नियमन गर्न उपयुक्त कानुन आवश्यक रहेको विषयलाई जोड दिइएको थियो ।

साथै, सहकार्यका थप क्षेत्र पहिचान गर्ने, साथै जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिनेलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।

सरकारी सफ्टवेयर अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । सरकारले सरकारी निकायमा रहेका सफ्टवयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन सुरु

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेता चयनका निम्ति निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन प्रक्रिया अनुसार, बिहीबार (वैशाख ९) मतदाता नामावली सार्वजनिक गर्ने कार्यसूची छ ।

निर्वाचन समितिले मतदाता अन्तिम नामावली प्रकाशन आज दिउँसो २ बजे गर्ने र शुक्रबार बिहान ११ देखि १२ बजेसम्म उमेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

यस्तै, शुक्रबार दिउँसो १ देखि ३ बजेसम्म उमेदवारले नाम फिर्ता लिने, साढे ३ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेसमेत कार्यतालिका छ ।

मतदान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुने समिति संयोजक प्रकाश स्नेहीले बताए ।

संसदीय दलको नेतामा नयाँ, पुराना दुवै खालका नेताले आकांक्षा राखेकाले निर्वाचन प्रक्रिया अपनाइएको उनको भनाइ छ ।

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निस्कल राई र बासना थापाको नाम चर्चामा छ ।

प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फ एपीएफको विजयी शुरुआत

काठमाण्डौ- दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपीएफ क्लबले विजयी शुरुआत गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा आज बिहान भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२३, तेस्रो र चौथो दुवै सेट २५–१९ ले जित्यो । आर्मीले दोस्रो सेट २५–१७ ले जित्यो । अहिले महिलातर्फकै अर्को खेलमा नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लबबीच खेल भइरहेको छ ।

नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा आजदेखि शुरू भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । एनभीए भलिबल लिगका उत्कृष्ट महिला र पुरुष टोलीले सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) ले आयोजना गर्ने काभा क्लब च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

 

चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु

काठमाडौं । गत चैतमा देशका विभिन्न भागमा विपद्का घटनामा परी ३० जनाको मृत्यु भएको छ ।

आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवीविपत्तिमा परी १६ पुरुष, १० महिला र चार बालबालिकाको मृत्यु भएको हो ।

दैवीविपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्‌बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ । ५२९ पशुचौपाया मरेका छन् ।

विपद्‌बाट ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

विपद्‌बाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोसीमा २७२, मधेसमा १३६, वाग्मतीमा ८५, काठमाडौं उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ । रासस

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

कैलाली। जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन् । जन्मजात दृष्टिविहीन उहाँले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे ।

विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सकेका छन् । उनका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो । उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिन्छन् ।

उनले पढाएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा स्थापित छन् । गाउँबाट पढेका ती विद्यार्थीहरू सफल भएको देख्दा उनलाई आफ्नो सङ्घर्ष सार्थक भएको अनुभूति हुन्छ । उनी भन्छन्, “मैले दिएको सानो ज्ञानले पनि कसैको जीवन बदलिन्छ त्योभन्दा ठुलो खुसी अरू केही हुँदैन ।” तर, उनको जीवन यात्रा सहज भने थिएन । सानै उमेरमा बुबा–आमा गुमाउनु पर्‍यो । पारिवारिक सहारा कमजोर बन्दै गयो । दृष्टि कमजोर हुँदा दैनिक जीवन झन् कठिन बन्दै गयो । दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको सहारामा बाँच्नु परेको उनी बताउँछन् ।

बाल्यकालमा भोगेका अपमान र पीडा आज पनि उनका स्मृतिमा ताजा छन् । गाउँमा कतिपयले उनलाई ‘अन्धो’ भनेर बोलाउँथे, सँगै हिँड्न हिचकिचाउँथे । हिँडडुल गर्न, विद्यालय जान दैनिक जीवनयापन निर्वाह गर्नलगायत सबै कुरा चुनौतीपूर्ण थियो ।

यी कठिनाइले उनलाई कमजोर बनाउनुको साटो अझ बलियो बनायो । सुरुमा आफूले पढ्न सक्दिनँ भन्ने लागे पनि एक जना शिक्षकको साथ र प्रेरणाले उनको सोच बदलियो । शिक्षकले घरमै आएर पढाइमा सहयोग गरेपछि उनको आत्मविश्वास बढ्दै गयो । उनले बुझ्दै गए की शारीरिक क्षमतामा सीमितता भए पनि सिक्ने चाहना र मेहनत भए सम्भावना असीमित हुन्छ ।

एसएलसी उत्तीर्ण गरेपछि उनले शिक्षण पेसामा पाइला टेके । त्यो समय उनका लागि केवल जागिर सुरु गर्ने क्षण थिएन, जीवनलाई नयाँ अर्थ दिने मोड थियो । दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन । तर उनले कहिल्यै आफूलाई कमजोर ठान्नुभएन बरु कमजोरीलाई नै शक्ति बनाउँदै अघि बढे । अध्यापनसँगै उनले उच्च माध्यमिक तह उत्तीर्ण पनि गरे । कक्षामा उनी केवल पाठ्यपुस्तकका कुरा मात्र गर्नुहुन्न जीवनका अनुभव पनि साट्छन् ।

उनको पारिवारिक जीवन पनि सङ्घर्षपूर्ण छ । उनकी श्रीमती पनि दृष्टिविहीन छन् । १३ वर्षीय छोरी र दुई वर्षीय सानो छोराको जिम्मेवारी उनीहरूले मिलेर सम्हालिरहेका छन् । छोरीले सानो उमेरमै ठुलो जिम्मेवारी बोकेकी छन् । घरको कामकाजदेखि बाबुआमाको हेरचाहसम्ममा उनी सक्रिय छिन् ।

चौधरीको जीवनमा सङ्गीत र साहित्यले पनि विशेष स्थान ओगटेको छ । उनी कहिलेकाहीँ गीत गाउँछन् भने कविता पनि लेख्छन् । सानै कक्षामा पढ्दा लेखेको एउटा कविताले आज पनि उनको सोच झल्काउँछ, ‘आँखा बन्द भए पनि दिमाग बन्द हुँदैन’ यही विश्वासले उनलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ ।

समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण बिस्तारै बदलिँदै गएको छ । “पहिले हेप्नेहरू आज सम्मानका साथ बोलाउँछन्, सल्लाह माग्छन्,” उनी भन्छन् । गाउँमा कुनै कार्यक्रम हुँदा उनलाई विशेष रूपमा बोलाइन्छ । उनी अब केवल एउटा व्यक्ति मात्र होइन, अनुभव र प्रेरणाको स्रोत बनेका छन् ।

उनका विचारमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ । “हामीलाई कमजोर ठानेर पछाडि राख्नु हुँदैन, अवसर दिइयो भने हामी पनि काम गर्न सक्छौँ,” उनी भन्छन् । -रासस

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुर । टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् ।

कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम हुने भएकाले यसमा ध्यान दिन अनुरोध गरेका हुन् ।

कर्णाली नदीले टीकापुर पार्कको माथिल्लो क्षेत्र र सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा कटान तीव्र बनाइरहेकाले तत्काल समाधान गर्नुपर्ने माग गरेका छन् । मङ्गलबार तिनै तहका जनप्रतिनिधिले नदी कटानले गरेको असरको स्थलगत अनुगमन समेत गरेका छन् ।

कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीको अध्यक्षतामा भएको संयुक्त छलफलमा सहभागी टीकापुर–५ का स्थानीय अनन्त खड्काले आफूहरुले वर्षौंदेखि नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना, बर्दियामा रहेको कर्णाली नदी नियन्त्रण कार्यालय, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुर लगायत प्रदेश र सङ्घमा धाउँदा पनि समस्या समाधान हुन नसकेको बताए ।

“जलस्रोत व्यवस्थापन आयोजनाका कर्मचारी ल्याएर देखाउँदा कर्णालीमा रानी जमराले काम गरिरहेको छ यहाँ भन्दा मोहनामा काम गर्छौ भन्नुभयो र मोहनामा रु चार करोडको काम भयो”, उनले भने, “सिँचाइ आयोजनाले पर्याप्त काम गर्न नसक्ने, अन्य कार्यालयले लगानी नगर्दा समस्या भएको छ । अब नदी सिञ्चित क्षेत्र बचाउभन्दा पनि तटबन्धकै लागि बजेट सुनिश्चित भएर काम हुनुपर्छ, अनि मात्र यहाँको जमीन र बस्ती जोगिन्छ ।”

टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला नदीजन्य कानुनले पनि समस्या भएको बताए । उनले नदीभित्र थुप्रिएका नदीजन्य पदार्थ उत्खनन गर्न पनि सहज नभएको, नदी कैलालीतर्फ बगिरहेकाले जोखिम बढेको बताए । उनले सङ्घीय सांसदलाई नदी नियन्त्रण पहिलो प्राथमिकता दिएर बजेट व्यवस्था गरिदिन अनुरोध गरे । “पहिलोमा कर्णाली नदी नियन्त्रण, दोस्रोमा भूमिहीन समस्या समाधान, तेस्रोमा टीकापुर उद्यान विकासमा ध्यान दिनुहोला”, उनले भने, “यति गरेमा विकास, शिक्षा अन्य कुरा विस्तारै सहकार्य गरेर विकास गरौँला ।”

कार्यवहाक नगर प्रमुख नगार्जीले टीकापुरका नागरिकलाई बाढीको समस्याबाट बचाइदिन अनुरोध गरे । “पहिलोपटक तिनै तहका सरकारका प्रतिनिधिबीच यहाँका समस्या र पीडाबारे छलफल भएको छ”, उनले भने, “सबैको समस्या नदी कटानका कारण हुने कटान र डुबान भएकाले सबै मिलेर नागरिकलाई सुरक्षित बनाउनुपर्ने छ । हामीसँग स्रोत छैन, प्रदेश र सङ्घले यहाँ नदी नियन्त्रणमा प्राथमिता दिएर काम गर्नुपर्छ ।”

कार्यक्रममा रानीजमरा कुलरिया सिँचाइ आयोजना टीकापुरका कार्यालय प्रमुख प्रेमराज घिमिरेले यतिबेला कर्णाली नदीका केही ठाउँमा भइरहेको तटबन्ध पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायीले ठप्प पारेको बताए । “निर्माण व्यवसायी हात खडा गरेर बसेका छन्, पहिलेको हिसाबमा लागत भएको, अहिलेको महँगीमा काम गर्न नसकिने भन्दै रोकेका छन्, हामीले ताकेता गरिरहेका छौँ”, उनले भने, “अहिले सिँचाइ आयोजनाको इन्केट, पार्क पछाडिको क्षेत्र, सनकट्टी नजिकको क्षेत्रमा ठूला ढुङ्गा (बिग बोल्डर) हालेर तटबन्ध भइरहेको छ ।”

कार्यालय प्रमुख घिमिरेले आयोजनाले सिञ्चित क्षेत्र बचाउका लागि मात्र काम गरिरहेकाले अहिले तत्काल सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा भइरहेको कटान रोक्न बजेट नभएको बताए । सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले नदी नियन्त्रण सङ्घीय सरकारले गर्नुपर्ने जिम्मेवारी रहेको बताए । “प्रदेशमा रहेको सिँचाइ कार्यालयले पनि कर्णालीमा सिँचाइ आयोजना छ भनेर लगानी गर्न मानेको छैन”, उनी भन्छन्, “प्रदेशले मोहनामा मात्र काम गरिरहेको अवस्था छ । अब नदी नियन्त्रण तथा यहाँका समस्या समाधानका लागि तिनै तहका सरकार मिलेर काम गर्नुपर्छ ।”

कैलाली–१ का प्रतिनिधिसभा सदस्य ज्ञवालीले नदी कटान गम्भीर समस्याका रुपमा लिएर संसद्मा समेत आवाज उठाएको, प्रधानमन्त्रीलाई समेत जानकारी दिएको बताउँदै अब बजेट सुनिश्चितताका लागि पहल गर्ने बताए । “विपद् व्यवस्थापनका लागि स्थानीय सरकार र प्रदेश सरकारका प्रतिनिधिसँग छलफल गरेको छु, नदी कटान भइरहेका क्षेत्रमा स्थलगत हेरेँ”, उनले भने, “अब बर्खा लाग्न थाल्यो, पूर्वतयारीमा सबै मिलेर जुटौँ, अहिले तत्काल गर्न सकिने कुरामा पनि जुटौँ । केन्द्रबाट गर्ने कुरामा दीर्घकालिन समाधानका लागि म प्राथमिकता दिएर काम गर्नेछु ।” -रासस

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा बिहीबार (वैशाख १०) मध्याह्न बैठक बसेको हो ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बैठक बसेको छ । बैठकबाट विभिन्न निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साफ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल भुटानसँग

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ।

भारतको गोवास्थित फातोर्दा रंगशालामा आयोजना हुने सो च्याम्पिनसिपका खेलहरू मे २५ देखि जुन ७ सम्म हुनेछ। नेपालले मे २५ मा भुटान तथा मे ३१ मा श्रीलंकासँग खेल्ने छ।

समूह ‘ए’ मा रहेका टोलीमा नेपाल, भुटान र श्रीलंका परेका छन्। सिंगल राउन्ड रोविनमा हुने सो च्याम्पियनसिपमा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।

त्यस्तै, समूह ‘बी’ मा भने आयोजक राष्ट्र भारतसहित साविक विजेता बांगलादेश र माल्दिभ्स रहेका छन्। च्याम्पियनसिपमा कुल ६ टोलीको सहभागिता रहनेछ।

साफ महिला च्याम्पिनसिपको भारत सर्वाधिक पाँच पटकको च्याम्पियन टोली हो। त्यस्तै, बांगलादेश साविक विजेता हो।

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते बसेको थियो ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधान सभाका सदस्य एवं डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही, राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट लगायत सदस्य छन् ।

दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

नवौँ एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपबाट छनोट भएका शीर्ष टोलीहरुले दशौँ एनभीएल लिग खेल्न लागेका हुन् ।

नवौँ एनभीएल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमण्डले जितेको थियो ।

लिगका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । एनभीए लिगमा महिला र पुरुषतर्फ गरी कूल ४५ खेल हुनेछ । जसमा लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

एनभीएल लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सन् २०२६ मा आयोजना गर्ने काभा क्लब च्याम्पियनसिप (महिला र पुरुष) मा छनोट हुने प्रावधान रहेकोले सहभागि सबै टोलीका लागि एनभीएल भलिबल लिग महत्वपूर्ण हुनेछ ।

अप्रत्याशित आगमन, आक्रामक कदम, विवादित बहिर्गमन

काठमाडौं । बिचौलिया समूहसँग कारोबारमा जोडिएको आरोप लागेपछि गृहमन्त्री सुधन गुरुङले २८ दिनमै पदबाट राजीनामा दिएका छन् । बुधबार राजीनामा दिँदै उनले आफूमाथि लागेका आरोपमाथि छानबिनका लागि मार्गप्रशस्त गरेको बताएका छन् । रास्वपा सरकारको एक महिना नपुग्दै राजीनामा दिने गुरुङ दोस्रो मन्त्री हुन् ।

यसअघि श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यतामा निरन्तरता दिने विवादित निर्णयका कारण श्रममन्त्री दीपककुमार साहको मन्त्री पद गुमेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई नियुक्त भएको १३ दिनमै २६ चैतमा पदमुक्त गरेका थिए ।

बालेन सरकारमा गृहमन्त्रीका रूपमा गुरुङको आगमनलाई अप्रत्याशित ठानिएको थियो । गृहमन्त्री बनेलगत्तै निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई जेन–जी आन्दोलनमा युवाहरूको ज्यान लिएको कसुरमा पक्राउ गरेर हिरासतमा पुर्‍याएका गुरुङ एकपछि अर्को आक्रामक कदम चाल्दै थिए । उनी गृहमन्त्री बनेपछि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विगतमा पुराना दलभित्र खेलेर सरकार बनाउनेदेखि गिराउनेसम्मको शक्तिशाली बिचौलिया दीपक भट्टलाई पक्राउ गर्‍यो । तर, गृहमन्त्री गुरुङ नै भट्टसँग सेयरलगायत कारोबारमा जोडिएको आरोप लागेपछि उनी प्रश्नको घेरामा परेका थिए । यही वेला धितोपत्र बोर्डको जाँचबुझ समितिको अनुसन्धानमा भट्टले ब्रोकरसँग मिलेमतो गरी परिवार र आफूआबद्ध संस्थामार्फत कृत्रिम रूपमा सेयर मूल्य उचाल्न चलखेल गरेको भेटिएपछि गुरुङमाथि पनि थप संकट थपिएको थियो ।

विपक्षी दलहरू र जनस्तरबाट समेत उनको राजीनामाको माग आउन थालेपछि दबाबमा परेका प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेले अन्ततः मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । बालेन र लामिछानेसँगको पटक–पटकको छलफलपछि उनले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्रीलाई राजीनामा बुझाएका गुरुङले त्यसबारे सामाजिक सञ्जाल फेसबुकमै आफ्नो धारणा राखेका छन् । ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्, ‘मैले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु ।’

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालको दोस्रो जीत

काठमाण्डाै- आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ ।

रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४८ रन बनाइन् । रुवान्डाकी जियोभानिस उवासेले ३ विकेट लिइन् ।

यसअघि रुवान्डा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९ ओभर ४ बलमा ८८ रन बनाउँदा सबै विकेट गुमायो । रुवान्डाकी एलिस इक्वुजेले १७ रन बनाइन् । नेपालकी रचनाकुमारी चौधरीले ३ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो भने दोस्रो खेला इटालीलाई ५० रनले हराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । प्रतियोगिता यही वैशाख १८ गतेसम्म चल्नेछ ।

 

दिउँसोको टन्टलापुर घाममा आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

कञ्चनपुर। बुधबार दिउँसो १२ बजे टन्टलापुर गर्मीमा पुनर्स्थापनाको मागसहित आरक्ष पीडितहरूले अर्धनग्न रूपमा प्रदर्शन सुरु गरेका छन् ।

चर्को गर्मीका कारण दिउँसो बाहिर निस्कनै मुस्किल पर्दे गएको अवस्थामा आरक्ष पीडितहरू भने अर्धनग्न भएर पुनर्स्थापनाको मागसहित जिल्ला प्रशासन कार्यालय अगाडि शान्ति पूर्ण आन्दोलनमा उत्रिएका छन् ।

गत साताको शुक्रबार देखि पुनर्स्थापनाको मागसहित प्रशासन मूल गेट अगाडि धर्ना दिन सुरु गरेका आरक्ष पीडितहरूले बुधबार देखि भने आन्दोलनको स्वरूप परिवर्तन गर्दे चर्को गर्मीमा अर्धनग्न भएर प्रदर्शन थालेका हुन् ।

७० वर्षीय आरक्ष अमरजङ्ग साहीले आफूहरूबाट जमिन खासेको २४ वर्ष बितिसक्दा समेत सरकारले पुनस्थापना नगरेको भन्दै चर्को गर्मीमा अर्धनग्न भएर शान्ति पूर्ण आन्दोलनमा उत्रिएको बताए ।

“रातिको समयमा बिच्छी, सर्प, मच्छरको परवाह नगरेर सडक छेउमा पाल मुनि सुत्दै आएका छौँ”, उनले भने, “आरक्ष पीडितहरूको स्वास्थ्य, खानपिन आधारभूत आवश्यकताबाट वञ्चित गर्दे आएको सरकारको विरुद्धमा उत्रिन बाध्य छौँ ।”

निर्वाचन पूर्व जमिनको मालिक बनाउने बाचा गरेको वर्तमान सरकारले कुनै कार्य नगरेपछि आफूहरू शान्तिपूर्ण रूपमा आन्दोलित हुनुपरेको आरक्ष पीडित सङ्घर्ष समितिका सचिव कृष्ण भट्टले बताए ।

सरकारले माग पूरा नगरुन्जेल निरन्तर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन उनले सरकारसँग माग गरे ।

आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले बहुमतको सरकार बनेको अवस्थामा समेत आरक्ष पीडितहरूको पुनर्स्थापनाका लागी वर्तमान सरकारले वास्ता नगरेपछि आन्दोलित हुनुपरेको बताए ।

सरकारले माग पुरा नगरुन्जेल निरन्तर आन्दोलनमा उत्रिने उनले बताए । गत शुक्रबार देखि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना बसेर आरक्ष पीडितहरूले १० कट्ठा जमिन नघटाई उपलब्ध गराउनुपर्ने, आधारभूत कुराहरूको निःशुल्क र ग्यारेन्टी गरिनुपर्ने, आरक्ष पीडितहरूको एउटै वडा घोषणा गरिनुपर्ने, आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरिनुपर्ने लगायतका मागहरू राख्दै आएका छन् ।

निरन्तर आन्दोलनका स्वरूप परिवर्तन गर्दे आरक्ष पीडितहरूले शान्तिपूर्ण रूपमा पर्दशन गरिरहेका छन् ।  विसं २०५८ सालमा निकुञ्ज विस्तारका क्रममा विस्थापित पारिएका दुई हजार ४७३ आरक्ष पीडित परिवारहरू हाल महेन्द्रनगर स्थित जडिबुटीको सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर कष्टकर जीवन बिताउन बाध्य छन् ।

 

प्रदेश र स्थानीय तह पनि नयाँ जनादेशमा जानुपर्छ : मुख्यमन्त्री कमलबहादुर शाह

धनगढी। प्रदेश र स्थानीय तह पनि छिटोभन्दा छिटो नयाँ जनादेशमा जानु पर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज पत्रकारहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । जेनजी आन्दोेलनको मर्म र भावनानुरूप निर्वाचन भई सङ्घीय सरकार नयाँ जनादेशको साथ अगाडि बढिसकेको अवस्थामा प्रदेश र स्थानीय तह पनि अब नयाँ जनादेशकै साथ अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ छ ।

“भदौ २३ र २४ गतेको नव युवाको आन्दोलनको भावना अनुसार सङ्घ सरकार निर्माण भए जसरी नै स्थानीय र प्रदेश सरकारको निर्वाचन चाँडोभन्दा चाँडो हुनुपर्छ”, उनले थपे, “त्यसका लागि सङ्घ सरकारले वातावरण निर्माण गर्नुपर्‍यो ।”

अर्को प्रसङ्गमा मुख्यमन्त्री शाहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रदेश सरकार दृढ रहेको बताएका छन् ।

दीपक भट्ट र सुलभ अग्रवाल सात दिन थुनामै रहने

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा रहेका व्यापारीद्वय दीपक भट्ट र सुलभ अग्रवालको सात दिन म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले दुवैजनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

“अनुसन्धान गर्ने निकायको तर्फबाट उपस्थित अनुसन्धान अधिकृतले प्रस्तुत मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको, सम्पत्ति शुद्धीकरणको कसुर मा जोडिएको बिमा ऐन र धितोपत्र ऐन अन्तर्गतको सम्बद्ध कसुरको अनुसन्धान गर्न, राय प्रतिवेदन तयार गर्नको लागि म्याद थप आवश्यक परेको भनी माग गरेको देखिँदा बाँकी अनुसन्धान कार्य पुरा गरी, राय प्रतिवेदन तयार गरी अभियोगपत्र समेत दायर गर्ने प्रयोजनका लागि आरोपीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई मिति २०८३/१/९ गते देखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण  निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) समेतका आधारमा दिन ७ (सात) म्याद थप गरिदिएको छ ।”

भट्ट  र  अग्रवालका तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, लभकुमार मैनाली, सुरेन्द्रकुमार महतो र अधिवक्ताहरू रमणकुमार कर्ण, समिरकुमार शर्मा र भावेश गौतमले बहस गरेका थिए ।

उनीहरूमाथि बिमा ऐन र धितोपत्र ऐन अनुसारको अनुसन्धान मात्र बाँकी रहेको जानकारी अदालतमा गराइएको छ ।

सरकारले राम्रो गरे समर्थन र नराम्रो गरे विरोध गर्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गरेका राम्रा काममा पार्टीले समर्थन गर्ने बताएका छन् । विराटनगरमा पार्टीको समीक्षा कार्यक्रममा थापाले सरकारले गरेका खराब कामहरूको भने विरोध गर्ने बताए ।

निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भए पनि हारेको भनेर मन साँघुरो बनाउनुपर्ने अवस्था नरहेको बताए । फेरि संगठित भएर आउने भन्दै थापाले लडेर आएको पार्टी जय वा पराजयबाट नखुम्चने उल्लेख गरे ।

बाहिर रहेकाहरूले पनि पार्टीमा सदस्यता जहाँ छ त्यहीँबाट नवीकरण गर्न पाइने उनको भनाइ छ । “क्रियाशील भएकाहरू आफैँ जानुहोस् भनेर गर्न खोजेको । डिजिटल्ली स्मार्ट बनाउन खोजेको हो,” उनले भने ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएर केन्द्रीय महाधिवेशनमा लाग्ने उनको भनाइ छ । पार्टी सबैको हो भन्ने बनाउने जिम्मेवारी आफ्नो भएको उनको भनाइ छ । रिसाएका १० लाख मतदातालाई फिर्ता गरेर ल्याउन भरोसा दिलाएर अगाडि बढ्नुपर्ने उनले बताए । “नयाँ पुस्तालाई सँगै लिएर हिँड्नुपरेको छ । चार पुस्तासँगै लिएर अघि बढ्नुपर्नेछ,” उनले भने ।

गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमपश्चात् पत्रकारको जिज्ञासामा गृहमन्त्री गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन् ।

गृहमन्त्रीको राजीनामालगत्तै सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीले बोलाए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामालगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुरक्षा संठगन प्रमुखहरूलाई सिंहदबार बोलाएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् ।

मन्त्रीपदबाट राजीनामा दिनुअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सुधन गुरुङबीच पनि भेट भएको थियो ।

राजीनामालगत्तै प्रधानमन्त्री बालेनले पनि सुरक्षा संगठन प्रमुखहरूलाई भेटका लागि सिंहदबार बोलाएका हुन् ।

सामान्य अङ्कले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको छ ।

आज ३४२ कम्पनीको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १३, वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बीमा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् शून्य दशमलव ०६, जीवन बीमा शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४०, व्यापार एक दशमलव १० र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाडौं- तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि उनी पनि विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् ।

अहिलेको सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका हुन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा लगरेको अर्को लागनीको विवरण पनि बाहिर आयो ।

उनले सञ्चालन गरेको सामाजिक संस्था हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबमा बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

नेपाललाई रुवान्डाले दियो ८९ रनको लक्ष्य

काठमाडौं । रुवान्डाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला च्यालेन्ज ट्रफीमा नेपाललाई ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार घरेलु मैदान गाहांगा ‘बी’ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको रुवान्डा पाहुना टोलीविरुद्ध १९.४ ओभरमा ८८ रनमै समेटियो ।

रुवान्डाको निम्ति एलिक इकुज्वीले १७ रन बनाइन् । मेरी डीआने बिमेन्यीमानाले १५, क्लारिस उमोटोनिवासेले १३ र रोजिनी आईरेराले १२ रन बनाए । यसबोहक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी रुविना क्षेत्रीले सर्वाधिक तीन विकेट लिइन् । कविता कुँवर र पूजा महतोले समान दुई विकेट लिँदा मनिषा उपाध्याय र रिया शर्माले समान एक विकेट लिए ।

खेलमा रुवान्डा लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । तालिकाको शीर्ष स्थानमा रहेको रुवान्डाले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । अन्तिम खेल खेलिरहेको यो टोलीले तालिकामा चार अंक जोडेको छ ।

नेपाल भने लगातार दोस्रो जितको खोजिमा छ । तालिकाको चौथो स्थानमा रहेको नेपालले दुई खेल खेल्दा समान एक जित र हार व्यहोरेको छ ।

खोज्नुहोस