आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौ : सांसद पुन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा आज (बिहीबार) दलीय आधारमा मन्तव्य राख्दै उनले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ’, सांसद पुनले भने, ‘गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशीतालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौँ।’

उनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए। तत्कालीन नेकपा (माओवादी)ले २०६४ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७४ सालमा प्राप्त गरेको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको उल्लेख गर्दै उनले माओवादी र नेकपाको कमीकमजोरीबाट पाठ सिकेर आगामी यात्रा तय गर्न सुझाव दिए।

प्रदेश खारेज गर्न सहयोग गर्छौं – ज्ञानेन्द्र शाही

राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।

‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्‌बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ चाहिन्छ १८७ हामी पुर्‍याउँछौं,’ उनले भने ।

‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । बिहीबार (चैत १९) बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

“जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरे । २५ सयभन्दा बढी युवाहरू घाइते भए । अपांग भए । राष्ट्रसेवक प्रहरीको घाँटी रेटीरेटी क्रूरतापूर्वक हत्या भयो । निष्पक्ष छानबिन भएर कारबाही होस्, म यो सरकारलाई यो अपिल गर्न चाहन्छु,” शाहीले थपे ।

तत्कालीन सरकारको घमण्डले देश नै अशान्तिको ज्वालामा होमिएको उनले टिप्पणी गरे । “अघिल्लो सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो । सिंहदरबार जले, भौतिक संरचनाहरू ढले । संसद् भवन समेत जल्यो,” उनले भने ।

उनले अगाडि भने, “आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गरेका छौँ । यो अहिलेको सरकारलाई हेक्का रहोस् ।”

एमसीसी खारेजीको प्रस्तावसहित हर्क साम्पाङले राखेका धारणा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी खारेजीको प्रस्ताव गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले राखेका धारणा बुँदागत रुपमा

-मनको विचारभन्दा पनि जनताले के का लागि यहाँ पठाएका हुन् भनेर बुँदागत रुपमा बाचन गरेर सुनाउन चाहन्छु ।

-हामी सबै देश बनाउन भनेर आएका हौँ । सबैभन्दा पहिला आफैँले आफैँलाई बदलौँ

-पहिलो बैठक १२ मिनेट ४६ सेकेन्ड र आजको बैठक १६ मिनेट ५५ सेकेन्ड ढिला भयो । प्रत्येक मिनेटको महत्व सदनले बुझोस् र हामी सबैले बुझौँ ।

-विभेदको अन्त्य गर्ने भन्ने सत्तापक्ष र प्रतिपक्षलाई समयमै विभेद गरिएको छ ।

-हामीलाई आफ्ना क्षेत्रका माग राख्न प्रशस्तै समय दिनुपर्छ ।

-म आफ्नो मनको कथा गाउन चाहन्न ।

-पृथ्वी रहुन्जेल देश रहनुपर्छ । स्वाधिनता, भूराजनीतिक सन्तुलन बचाइराख्न, एमसीसी खारेज गर्नुपर्छ ।

-छिमेकीले गरेका गतिविधिमा सरकारले निगरानी राख्नुपर्छ । सिमानाको रक्षामा नेपाल सेना खटाउनुपर्छ ।

– प्रत्यक्ष निर्वाचित हुनेगरी नीति तथा कार्यक्रम अघि बढोस्

– डिस्कोर्ड चलाएर स्कुल ड्रेसमा बालबालिका बोलाउने, २३ गतेको घटना घटाउने, भदौ २४ गते सरकारी भवन जलाउने मान्छेलाई पनि कारबाहीमा ल्याउन आयोग गठन गर्नका लागि हामी माग गर्दछौँ ।

-सबैभन्दा पहिला अघिल्लो सरकारमा रहेका सबै मन्त्री र सांसदको सम्पत्ति छानबिन हुनुपर्छ । हामीबाट सुरु हुनुपर्छ । हामीले नियम बनाउने हो भने हामीबाटै सुरु गर्नुपर्छ ।

-शिक्षालाई उत्पादन र आविष्कारसँग जोड्नुपर्छ । त्यसतर्फ सरकारले ध्यान दिओस् । हप्तामा तीन दिन थ्योरी पढ्ने बाँकी उत्पादनसँग जोडिने शिक्षा हुनुपर्छ

-खेतीको समस्या हल नगरी अन्य समस्या हल गर्न सक्दैनौँ ।

-एक पालिकामा एउटा उद्योग र एक घरमा एक रोजगार हुनुपर्छ । बन्द गरिएका उद्योग खोल्ने र नयाँ खोल्ने नीति हुनुपर्छ ।

-प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्न पाउनेगरी नियम कानुन बनाउनुपर्छ ।

-देशभरि शान्ति सुव्यवस्था हुनुपर्छ । खानेपानी, स्वास्थ्य सेवामा ध्यान दिनुपर्छ ।

-सरकारले हतारमा निर्णय गर्नुहुँदैन । प्रतिपक्षलाई पनि विश्वासमा लिएर निर्णय गर्नुपर्छ । वृद्धभत्ता, विद्यार्थी संगठन सम्बन्धमा गरिएका निर्णय फिर्ता हुनुपर्छ । जनताको घर भत्काउने काम बन्द गरिनुपर्छ ।
उपत्यका बाहिर पनि नेपाल छ भन्ने बुझ्नुपर्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)ले व्यवसायी भट्टलाई काठमाडाै‍काे नक्साल गैरीधाराबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ। भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो। सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको थियो। ्भ

ट्टमाथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ।  नागरिकन्युज

सामान्य अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

नेप्से ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा बन्द भएको छ।

नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

बुधबार १२ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ८ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३२८ वटा धितोपत्रको दुई करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।

यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

रिलायन्स स्पिनिङ मिल्स, रिज लाइफ इनर्जी र सूर्यकुन्ड हाइड्रोपारको सेयर मूल्य १० प्रतिशत, भुजुङ हाइड्रोपावर र सुपर खुदी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशत र होटल फरेस्ट इनको ९.९८ प्रतिशतका दरले बढेको छ।

सर्वाधिक मूल्य घट्नेमा भूगोल इनर्जी रहेको छ।

उक्त कम्पनीको मूल्य ३.०६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४७८ रूपैयाँमा झरेको छ।

यसैगरी, एनएमबी हाइब्रिड फण्डको मूल्य २.७३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६३ पैसामा सीमित भएको छ।

बिहीबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको एक हजार ८४५ रूपैयाँमा ३५ करोड ७० लाख रूपैयाँको कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको ४६२ रूपैयाँमा ३० करोड ९२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको बढेको छ भने बाँकी ६ समूहको घटेको छ।

यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशतले बढेको छ।

राजनीतिक आस्था फरक भए पनि देश एउटै हो : भिष्मराज आङदेम्बे

काठमाडौं : नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले अहिलेको संसदले नागरिकमा नयाँ आशा जगाउन सक्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारबाट सुरु भएको वैठकलाई सम्बोधन गर्दै नेता आङदेम्बेले प्रतिनिधिसभामा सहभागी सदस्यहरुको आवद्धता र राजनीतिक आस्था फरक–फरक भए पनि देश एउटै भएको बताए ।

उनले भने, ‘त्यसैले देश डुबे सँगै डुब्छौं, उठे सँगै अगाडि बढ्छौं ।’ उनले अब विगतका गल्तीहरुबाट पाठ सिक्दै यो संसदले सबै एक भएर देश विकासका लागि अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताए ।  उनले कांग्रेसले नविनतामा निरन्तरताको मान्यता राख्ने भएकाले जेनजीको माग निष्कर्षमा पुर्‍याउन कांग्रेस खबरदारी गर्न प्रतिवद्ध रहेको बताए ।

देश जलाउने खलपात्रलाई नायक बनाइयो : एमाले सांसद थापा

नेकपा एमालेका सांसद रामबहादुर थापाले देश जलाउने खलपात्रलाई नायक बनाइएको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जादुमयी विजयजस्तो देखिए पनि रास्वपाको जित स्वाभाविक नभएको बताएका हुन् ।

‘जादुमयी विजयको लागि बाह्य पक्ष, टीओबी एआई, अल्गोरिदम धेरैले काम गरे । देश जलाउने खलपात्रलाई नायक बनाइयो । उनीहरूले उनीहरूले निर्णायक भूमिका खेले,’ उनले भने, ‘रास्वपाको चामत्कारिक विजयले असाधारण प्रश्न उठाएको छ ।’

उनले कुन उद्देश्यले सिंहदबार, संसद भवन, सर्वोच्च, नेताको घर सुनियोजित ढंगले जलाइयो भन्दै प्रश्न गरेका छन् । हतियारधारी टिओबी जेन–जी विद्रोहमा उपस्थित भएको कुरालाई पनि उनले पनि शंकास्पद रूपमा उठाए । साथै, पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई कुन उद्देश्यले पक्राउ गरियो भन्दै उनले प्रश्न उठाएका छन् ।

हामीलाई २४ सै घण्टा निगरानी गर्नुहोस्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले विपक्षी दललाई लक्षित गर्दै आफूहरुलाई निरन्तर खबरदारी गर्न आग्रह गरे ।

सम्बोधनका क्रममा उनले भने, ‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला ।’

सभापति लामिछानेले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए । उनले भने, ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौं भने हामी फेरि कलंकित हुनेछौं । हामीलाई त्यो मञ्जुर छैन । रास्वपाका साथीहरूलाई म यो सम्झाउँछु, हामी प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरियो होला । आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ ।’

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू सिंहदरबार चलाउन नभई बदल्न आएको बताएका छन्।

बिहीबार संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई प्राप्त झन्डै दुई तिहाइको मतादेशको ऋण काम गरेरै तिर्ने दाबी गरेका छन्।

आफूहरूभन्दा पनि आफ्नो काम बोल्ने र त्यसको सुरुवात भइसकेको उनले सुनाए। अब देशको विकासले रफ्तार लिने उनको भनाइ छ।

प्राप्त विशाल जनमत खेर जान नदिने अठोट व्यक्त गर्दै उनले भने, ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास यो पनि फेरि गुमेको अवसर भनेर लेखियो भने हामी कलंकित हुनेछौं। हामीलाई त्यो मन्जुर छैन।’ आफूहरूलाई समस्या देखाउन मात्र नभई त्यसको समाधान गर्न पनि आउने उनले बताए।

कामबाटै आफूलाई प्रमाणित गर्छौं : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको जनमत सरकार चलाउनका लागि मात्र नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको प्रतिविम्ब भएको बताए। उनले जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने र जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेकाले उक्त मतादेशको कदर गर्दै गुण तिर्ने प्रतिज्ञा समेत गरे।

सम्बोधनका क्रममा लामिछानेले पार्टी र सरकारले अब बोलेर भन्दा पनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको बताए। उनले भने, “हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो र हामीले त्यो बदल्न सुरु गरिसकेका छौँ।”

रास्वपाका हरेक सांसदले आफ्नो कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्नेमा जोड दिँदै उनले अब सरकारका कामहरूले नै जनताका पक्षमा बोल्ने विश्वास व्यक्त गरे। सुशासनको सवालमा कुनै पनि किसिमको सम्झौता नगर्ने दृढता व्यक्त गर्दै उनले जनताको भरोसालाई टुट्न नदिने प्रतिबद्धता जनाए।

 

पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न एमालेको माग

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेको छ।

प्रतिनिधि सभाको आजबाट सुरू भएलगत्तै बोल्दै एमाले सांसद गुरू बरालले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरेका हुन्।

‘आज देशमा संविधानको बर्खिलाप गतिविधि भइरहेका छन्। फौजदारी अपराध संहिताको धारा ८१ र ८२ को गलत प्रयोग गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ,’ बरालले संसदमा भने, ‘उहाँहरूलाई अविलम्ब रिहा गरियोस्।’

उनले गौरिबहादुर कार्की आयोगको प्रतिवेदनले भदौ २३ बारे बोलेको तर २४ गतेको कुनै कुरा नउठाएको भन्दै अहिले सरकारले समिति बनाएर छानबिन गर्ने कुराप्रति पनि प्रश्न उठाए।

‘एउटै घटना दुईवटा आयोग बनाएर छानबिन गर्ने कुरा कति उचित हो?,’ उनको भनाइ थियो।

अध्यक्ष ओली पक्राउबारे एमालेले देशव्यापी शान्तिपूर्ण आन्दोलन गरेको तर सरकारले दमन गरेको बताए। प्रतिनिधि सभा सदस्य शाजिदा सिद्धिकि, विष्णुमाया विकलगायत एमालेका नेता–कार्यकर्तालाई घाइते बनाइएको भन्दै सरकारी दमनको पनि छानबिन गर्न गृहमन्त्री सुधन गुरूङ समक्ष माग गरे।

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरू उपस्थित

काठमाडौं – प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरू उपस्थित भएका छन्। बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको समेत उल्लेखनीय उपस्थिति देखिएको छ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिक्षामन्त्री सस्मित पोखरेल, परराष्ट्रमन्त्री शिशिर खनाल, उद्योगमन्त्री विराजभक्त श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुनमन्त्री सोविता गौतम लगायत मन्त्रीहरू बैठकमा सहभागी भएका हुन्।

पहिलो बैठक भएकाले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सक्रिय सहभागिता देखिएको छ।

प्रतिनिधि सभा बैठक सुरु

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित पुतली बगैचामा निर्माणाधिन संसद् भवनको बहुउद्देश्यीय हलमा बैठक सुरु भएको हो ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद् अजुननरसिंह केसीले बैठक सञ्चालन गरिरहेका छन् ।

पहिलो बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो २ बजे बैठक आह्वान गरेका थिए ।

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

बैतडी- महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ।

मङ्गलबार बिहान ११ः३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता चन्दको खोजी जारी रहे पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए।

उनको खोजीका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि खटिएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जङ्गबहादुर कुँवरले बताए। -रासस

गण्डकीले सुदूरपश्मिलाई दियो १९१ रनको लक्ष्य

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी खेलमा गण्डकी प्रदेशले सुदूरपश्मिलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नारायणी मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको हो ।

गण्डकीका लागि ओपनर अर्जुन कुमालले ४४, कप्तान विपिन खत्रीले ३०, सुवास भण्डारीले २४, दीपक डुम्रेले २२, कृष्ण पौडेलले १५, गौरव विकले १४ र किब्रिन श्रेष्ठले १३ रन बनाए । सुदूरपश्चिमका कप्तान शेर मल्लले पाँच विकेट लिए । मल्लले १० ओभरमा ४२ रन खर्चिएर पाँच विकेट लिएका हुन् । यसैगरी हेमन्त धामी र अशोक धामीले समान दुई-दुई विकेट लिए भने मिलन बोहोराले एक विकेट हात पारे ।

जारी प्रतियोगितामा सुदूरपश्चिम चौंथो स्थानमा छ भने गण्डकी नवौं स्थानमा छ । चार खेल खेलेको सुदूरपश्चिमले तीन जित र एक हारसहित ६ अंक जोडेको छ भने गण्डकीले दुई हार, एक जित र एक खेल अनिर्णित बन्दा तीन अंक जोडेको छ । पहिलो खेलमा कर्णालीलाई चार विकेटले पराजित गरेको सुदूरपश्चिम दोस्रो खेलमा मधेससँग पाँच विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा कोशीलाई सात विकेटले हराएको सुदूरपश्चिमले चौथो खेलमा लुम्बिनीविरुद्ध १२ रनको जित निकालेको थियो । यता प्रतियोगितामा खराब प्रदर्शन गर्दै आएको गण्डकीले पहिलो खेलमा बागमतीसंग एक सय ७० र दोस्रो खेलमा आर्मीसंग सात विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा वर्षा बाधक हुँदा पुलिससँग अंक बाँडेको गण्डकीले चौथो खेलमा भने एपीएफ क्लबलाई ४३ रनले पराजित गरेको थियो ।

प्रतिनिधि सभा बैठक : प्रचण्डले सम्बोधन नगर्ने

प्रतिनिधि सभाको आज (बिहीबार) बस्ने बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन नगर्ने भएका छन्।

पार्टीको तर्फबाट नेता वर्षमान पुनले मन्तब्य राख्न नाम टिपाएका संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीले नेकपाको तर्फबाट पुनले मन्तब्य राख्न नाम टिपाएका  जानकारी दिए। उनका अनुसार आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे एमालेबाट रामबहादुर थापा बादलले मन्तब्यको लागि नाम टिपाएका छन्। नागरिकन्युज

बजेटको तयारीमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको तयारीमा जुटेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनका आधारमा मुलुकमै प्रथम यस प्रदेशले आर्थिक वर्ष २०८३-८४ को लागि बजेट निर्माणको तयारी गर्न थालेको हो ।

प्रदेशको लागि संघीय सरकारबाट प्राप्त हुने नौ अर्ब रुपियाँ समानीकरण अनुदान सुनिश्चित भइसकेको जनाउँदै आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी अर्जुन खड्काले बजेट निर्माणको तयारी भइरहेको जानकारी दिए । उनले स्रोत अनुमान समितिले आगामी बजेटका लागि कार्य गरिरहेको उल्लेख गरे ।

कार्य सम्पादन मूल्याङ्कनमा कुल ४५.७० अङ्कसहित पहिलो भएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि थप १३ करोड ७० लाख रुपियाँ समानीकरण अनुदान पाइरहेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले आठ अर्ब ९२ करोड ५६ लाख रुपियाँ समानीकरण अनुदान पाएको थियो ।

आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदान नौ अर्ब सुनिश्चित भएको खड्काले जानकारी दिए ।

यसैबिच, प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्च प्रगति घट्ने भएको छ । जेनजी आन्दोलनको असर र फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कारण सरकारले चालु आवमा उत्साहजनक बजेट कार्यान्वयन गर्न नसक्ने भएको हो ।

दोस्रो चौमासिकसम्म प्रदेश सरकारले पुँजीगत बजेट जम्मा एक अर्ब ९७ करोड ९७ लाख रुपियाँ ९९।९९ प्रतिशत० मात्रै खर्च गरेको छ । सरकारले पुँजीगततर्फ १३ अर्ब ६० करोड दुई लाख रुपियाँ बजेट छुट्टयाएको छ । चालु आर्थिक वर्षका लागि कुल ३३ अर्ब ४३ करोड २५ लाख रुपियाँ बजेट ल्याएको प्रदेश सरकारले हालसम्म कुल पाँच अर्ब ६७ करोड ४४ लाख रुपियाँ ९१६।९७ प्रतिशत० बजेट खर्च गरेको छ ।

जेनजी आन्दोलनपछि मङ्सिरसम्म काम नहुनु र चुनावी आचारसंहिताका कारण काम हुन नसक्दा बजेट खर्च प्रगति न्यून रहेको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए। उनले टेन्डरमार्फत हुने कामको टेन्डर भइसकेका र उपभोक्ता समितिले गर्ने कामका लागि पनि निर्देशन गइसकेका कारण अब बजेट कार्यान्वयन कार्यले गति लिने विश्वास व्यक्त गरे ।

“जेनजी आन्दोलनको क्रममा मन्त्रालयदेखि कार्यालय जलाइए । कागजपत्र सबै जल्यो । मङ्सिरसम्म कामै भएन”, राज्यमन्त्री बमले भने,“त्यसपछि चुनाव आएका कारण आचारसंहिताले काम हुन सकेन ।”

गत आर्थिक वर्षमा प्रदेश सरकारले ७४ प्रतिशत बजेट खर्च गरेको थियो । यसवर्ष त्यतिसम्म खर्च गर्न नसकिने भए पनि ६० प्रतिशतभन्दा बढी खर्च हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

दोस्रो चौमासिकसम्म बजेट कम खर्चेको प्रदेश सरकार अबको चार महिनामा धेरैभन्दा धेरै प्रगति हासिल गर्ने गरी काम गर्ने दबाबमा परेको छ । बाँकी रहेको समयमा के कसरी धेरैभन्दा धेरै बजेट सदुपयोग गर्न सकिन्छ भन्नेतर्फ प्रदेश सरकारको ध्यान रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले बताए । “चुनावमा कर्मचारी खटिएपछि कामै हुन सकेन”, उनले भने,“तर, अब बाँकी बजेटलाई बढीभन्दा बढी कसरी सदुपयोग गर्ने भन्ने तर्फ हाम्रो ध्यान छ ।”

खर्च गर्न बाँकी रहेको बजेटलाई के कसरी सदुपयोग गर्न सकिने भन्ने विषयमा मन्त्रीपरिषद्मा नियमित छलफल भइरहेको मन्त्री सार्कीले जानकारी दिए ।

प्रधानमन्त्री कप: मधेसले आर्मीलाई दियो १८५ रनको लक्ष्य

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत जारी खेलमा मधेस प्रदेशले त्रिभुवन आर्मीलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जनकपुरधामस्थित रामजानकी रंगशालामा टस हारेर ब्याटिङ गरेको मधेसले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८४ रन जोडेको हो । मधेसका लागि विशाल सुस्लिङले अर्धशतक बनाए ।

विशालले ७३ बलमा ५१ रन जोडे । यसैगरी कप्तान अनिल साहले ४२, पवन सर्राफले २२ र विशाल पटेलले १६ रन बनाए । मधेसका अन्य ब्याटर चल्न सकेनन् । मधेसलाई मध्यम योगफलमा रोक्न आर्मीले सात बलरको प्रयोग गर्‍यो । जसमध्ये बशिर अहमदले तीन विकेट चट्काउँदा साहब आलम र नरेन साउदले दुई-दुई विकेट लिए ।

यसैगरी आकाश चन्द, कुशल मल्ल र पवन कार्कीले एक/एक विकेट हात पारे । जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । चार खेलेका दुबै टोलीले समान ७-७ अंक बटुलेका छन् । नेट रनरेटका आधारमा मधेस दोस्रो र आर्मी तेस्रो स्थानमा छ । पाँच खेल खेलेको पुलिस समान सात अंकसहित पहिलो स्थानमा छ ।

पहिलो खेल वर्षा बाधक भएपछि कोशीसँग अंक बाँडेको मधेसले सुदूरपश्चिमलाई पाँच विकेट, लुम्बिनीलाई २५ रन र कर्णालीलाई पाँच विकेटले पराजित गरेको थियो । यसैगरी आर्मीले पहिलो खेलमा पुलिसलाई २२, गण्डकीलाई सात विकेट र बागमतीलाई तीन विकेटले पराजित गरेको थियो । आर्मी र एपीएफ क्लबबीचको खेल बर्षाले रद्द हुँदा दुवै टोलीले अंक बाँडेका थिए ।

प्रतिनिधिसभा बैठक : ६ मध्ये ४ दलका नेताद्वारा मन्तव्य राख्न समय माग

आज (बिहीबार)का लागि तय भएको प्रतिनिधिसभा बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने ६ मध्ये ४ दलका नेताहरूले मन्तव्य राख्न समय माग गरेका छन्।

सरकारको नेतृत्व गरिरहेको मुख्य दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले आजको बैठकमा मन्तव्य राख्ने तय भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट वर्षामान पुन मगरले मन्तव्य राख्ने तय भएको छ।

अहिलेसम्म श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कसैको पनि नाम नआएको उनले नागरिकन्युजलाई जानकारी दिए। यद्यपी नाम आएको खण्डमा यी दुई दलका नेतालाई पनि आफ्नो मन्तव्य राख्न दिइने उनले बताए।

सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो २ बजे संसद् बैठक बस्न लागेको हो।

फागुन २१ गतेको निर्वाचनपछिको नयाँ जनादेश अनुसार आज पहिलो पटक प्रतिनिधिसभा बैठक बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने छन्।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधि सभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिए। सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन्।

बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

मानवसहितको यान ‘आर्टिमिस २’ सफलतापूर्वक प्रक्षेपण

काठमाण्डौ- अमेरिकी अन्तरिक्ष निकाय नासाले ‘आर्टिमिस-२’ नामक चन्द्र अभियान सफलतापूर्वक प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडा केप क्यानावेरलमा रहेको केनेडी स्पेस सेन्टरबाट उडेको यो अन्तरिक्षयानले अहिले पृथ्वीको फन्को मारिरहेको छ ।

यो अन्तरिक्ष मिसनमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइजमन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरेमी ह्यान्सन हुनुहुन्छ । अभियानमा संलग्न चालक दल सुरक्षित तथा ठूलो उत्साहमा रहेको नासाले जनाएको छ । कुल १० दिन यो यानमा बिताउने अन्तरिक्षयात्रीले चन्द्रमामा पाइला नटेक्ने तर चन्द्रमाको फन्को मार्ने योजना बनाएका छन् ।

यो मिशन मानिसलाई पुनः चन्द्रमातर्फ लैजाने ऐतिहासिक योजनाको महत्त्वपूर्ण चरण हो । यस अभियानमा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको वरिपरि परिक्रमा गर्नेछन् र पृथ्वीमा फर्कनेछन् । चालक दलले अन्तरिक्षबाट पृथ्वी र चन्द्रमाको अद्भूत दृश्यहरूको अनुभव गरिरहेका छन् । नासाका अन्तरिक्षयात्री रिड वाइजमनले भव्य दृश्य र गजबको चन्द्रोदय देखेको बनाएका छन् ।

यो मिशनले भविष्यमा मानवलाई चन्द्रमामा अवतरण गराउने र त्यसपछि मंगल ग्रहसम्मको यात्राको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको नासालाई उद्धृत गरी बीबीसीले जनाएको छ । सन् १९६० र ७० को दशकमा प्रसिद्ध ‘अपोलो’ मिसनमा मानिसले चन्द्रमामा पाइला टेकेका थिए ।

इरानमा चलिरहेको सैन्य कारवाही सफलता नजिक : ट्रम्प

काठमाण्डौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन् । ह्वाइट हाउसबाट देशका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्य पूरा हुने क्रममा रहेको र निकट भविष्यमा पूर्णता दिने बताए ।

ट्रम्पले अबको २र३ हप्ता अमेरिकाले इरानमाथी कडा आक्रमण गर्ने र लक्ष्य पूरा गर्ने चेतावनी दिएका छन् । उनले इरानी नौसेना समाप्त भएको, वायुसेना भग्नावशेषमा परिणत भएको, आणविक कार्यक्रम ध्वस्त पारेको दाबी गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पका अनुसार इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता अहिले व्यापक रूपमा कटौती भएको छ । क्षेत्रीय सुरक्षाका विषयमा ट्रम्पले इजरायल र खाडी देशहरुलाई अमेरिकाले कहिल्यै असफल हुन नदिने आश्वासन पनि दिएका छन् ।

साथै, उनले सहयोगी देशहरुलाई हर्मुज जलसन्धिको सुरक्षाका लागि आफैँ अघि बढ्न आग्रह गरेका छन्  । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण शुरू गरेका थिए । जसमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको हो ।

डडेलधुरा अस्पतालमा विशेषज्ञ सेवा

डडेलधुरा, चैत १९ गते । सरकारले काजमा बसेका चिकित्सकलाई दरबन्दी रहेको कार्यालयमा पठाउँदा डडेलधुरा अस्पतालले चार जना विशेषज्ञ चिकित्सक पाएको छ । पहुँचका भरमा सुगम क्षेत्रमा काजमा बसेका विशेषज्ञ चिकित्सकलाई दरबन्दी रहेको कार्यस्थलमा फर्काउने सरकारी अभियान अन्तर्गत डडेलधुरा अस्पतालका चार जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरिएपछि अस्पतालले पुनः चिकित्सक पाएको हो । सङ्घीय सरकारमातहत रहेको सुदूरपश्चिमको एक मात्रै डडेलधुरा अस्पतालमा विषय विशेषज्ञ चिकित्सक नबस्दा पहाडी ग्रामीण भेगका गरिब, निमुखा जनता खर्चिलो उपचार गर्न बाध्य थिए  ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको निर्णयपछि स्वास्थ्य सेवामा सन्तुलन कायम गर्ने उद्देश्यसहित पहिलो चरणमा १४ जना नवौँ र १० औँ तहका विशेषज्ञ चिकित्सकलाई मूल कार्यस्थलमा फिर्ता पठाइएको छ । सो निर्णयानुसार डडेलधुरा अस्पतालमा दरबन्दी रहेका चार विशेषज्ञ चिकित्सकलाई पनि काजबाट फिर्ता बोलाइएको छ ।

काज फिर्ता हुने चिकित्सकमा नवौँ तहका डा. सन्तोषकुमार गुप्ता, कन्सल्टेन्ट डर्माटोलोजिस्ट, डा. मिसन्ता शर्मा, कन्सल्टेन्ट सर्जन डा. नवीनचन्द्र भट्ट र वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सुयोग्य वाग्ले रहेका छन् । उनीहरू हाल विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय तथा स्वास्थ्य संस्थामा काजमा कार्यरत थिए । मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव हटाउने, लामो समयदेखि सुगम रोज्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने र स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको हो ।

सो निर्णयपछि डडेलधुरा अस्पतालमा विशेषज्ञ सेवामा सुधार आउने र स्थानीय नागरिकले आफ्नै जिल्लामा सहज रूपमा उपचार सेवा पाउने अपेक्षा गरिएको छ । यसका लागि आफूहरू र आफ्नो पार्टीले विशेष पहल थालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेलधुराका सभापति सुरेन्द्र अवस्थीले प्रतिक्रिया दिएका छन् । उनले एक दिनअघि मात्रै डडेलधुराका समानुपातिक प्रतिनिधि सभा सदस्य आकृति अवस्थीलगायत आफूहरूले स्वास्थ्यमन्त्रीलाई भेटेर समस्याबारे जानकारी गराएको बताए । प्रतिनिधि सभा सदस्य अवस्थीले अस्पतालका सवाल र समस्याबारे स्वास्थ्यमन्त्रीलाई जानकारी गराएपछि चिकित्सकको काज फिर्ता भएको प्रतिक्रिया दिए।

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् छलफल

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्तालाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् ।

बिहीबार (चैत १९) देखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राख्न थालेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेको उनीहरूको भनाइ छ।

छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । “पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,” उनले भनिन् ।

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्तालाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ।

उक्त छलफलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ ।

संसद्‌मा आज रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

आजबाट प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।

रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए ।

रास्वपा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो । २१ फागुनमा सम्पन्न निर्वाचनबाट २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सहित सबैभन्दा ठूलो दलको रुपमा आएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्यसुनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

विघटित प्रतिनिधिसभामा रास्वपा २१ सिटसहित चौथो दलको रुपमा रहेको थियो । चौथो दलबाट रास्वपा पहिलो दल बनेको हो । दुई तिहाइ नजिकको शक्तिशाली सरकार रास्वपा एक्लैले बनाएको छ ।

अन्य दलबाट भने संसदीय दलका नेताहरूले सम्बोधन गर्दैछन् ।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बोल्दैछन् । श्रम संस्कृति पार्टीका हर्क साम्पाङ बोल्दैछन् ।

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । तर कांग्रेसको तर्फबाट भिष्मराज आङदाम्बेले सम्बोधन गर्दैछन् ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद मोहन आचार्यले जानकारी दिए ।

‘बिहान ११ बजे दलको बैठक आह्वान भएको छ,’ सांसद आचार्यले रातोपाटीसँग भने, ‘पहिलो बैठकमा कसरी प्रस्तुत हुने ? भन्नेबारे छलफल गर्न बोलाइएको हो ।’

फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधि सभाको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने बैठकमा पार्टीबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकमा छलफल हुनेछ ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

५ पार्टीका संसदीय दल नेता टुंगो, कांग्रेसमा ढिला

काठमाडौँ — संसद्मा भएका रास्वपा, एमाले, नेकपा र राप्रपाले संसदीय दलको नेता चयन गरिसक्दा अन्तरकलहका कारण कांग्रेसको दल नेता चयनमा ढिलाइ भएको छ । श्रम संस्कृतिबाट पार्टी अध्यक्ष हर्कराज राई (साम्पाङ) दल नेता हुने निश्चित भए पनि निर्णय हुन बाँकी छ । बिहीबारदेखि संसद् सुरु हुँदै छ ।

संसद्मा दल नेता र सचेतकको महत्त्वपूर्ण भूमिका हुने भएकाले वरिष्ठ नेता र सांसदहरूको दाबी रहने गरेको छ । रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह दलको नेता चयन भई प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका छन् । रास्वपा दल उपनेता, मुख्य सचेतक र सचेतक चयनको गृहकार्यमा लागेको छ । सुरुमा सभामुख र उपसभामुख टुंग्याएपछि अरू विषयमा अघि बढ्ने रास्वपाले जनाएको छ । रास्वपाबाट सभामुख भएपछि उपसभामुख अन्य दललाई दिनुपर्नेछ ।

‘प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ,’ संविधानमा उल्लेख छ । रास्वपाले उपसभामुखका लागि संसद्मा रहेका कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति वा राप्रपाका उम्मेदवारलाई समर्थन गर्नुपर्नेछ । रास्वपाको उपनेतामा समीक्षा बाँस्कोटा, प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी, सचेतक निशा डाँगीको चर्चा भए पनि टुंगो लागेको छैन । ‘सभामुख र उपसभामुखको टुंगो लागेपछि संसद्का अरू पद चयन प्रक्रिया अघि बढ्छ,’ रास्वपाका एक पदाधिकारीले भने ।

कांग्रेसमा आन्तरिक विवाद लम्बिँदा पार्टीको संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । कांग्रेसले संसदीय दलको नेता चयन नगरेकाले दलीय हैसियतमा बिहीबारकै बैठकमा कसले बोल्ने भन्नेसमेत सांसदहरूबीच अन्योल खडा भएको छ । निर्वाचनलगत्तैदेखि सुरु भएको कांग्रेसको आन्तरिक विवाद अझै मत्थर भएको छैन । तत्कालीन सभापति शेरबहादुर देउवाको समूहबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको समानान्तर गतिविधि चलाउँदै आएका छन् । नेता शेखर कोइराला र उनीपक्षीय नेताहरू पनि अहिले त्यही समूहमा छन् ।

विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको अस्तित्व पुरानो संस्थापन पक्षले स्वीकार नगर्दा कांग्रेसभित्र द्वन्द्व बढ्दो छ । यसै कारण पनि संसदीय दलको नेता चयन प्रभावित भएको कांग्रेस नेताहरूको बुझाइ छ । महामन्त्री गुरुराज घिमिरे भने पार्टीको सांगठनिक कामका अन्य व्यस्तताका कारण दल नेता चयनमा केही ढिलाइ हुन गएको बताउँछन् । दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउनकै लागि आगामी शनिबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको उनले बताए ।

‘बैठकले निर्वाचन समिति बनाउनेछ, त्यसपछि दलको नेता चयनको प्रक्रिया अघि बढ्छ,’ घिमिरेले भने । संस्थापन पक्षले पार्टी कमजोर बनेको अवस्थामा दलको नेता चयन सर्वसम्मतिबाट होस् भन्ने चाहना राखेको छ । तर, देउवा पक्ष भने आफ्नो समूहबाट दलको नेता उठाउन सकिने संकेत दिइरहेको छ । यसो गर्दा देउवा पक्षबाट तत्कालीन सहमहामन्त्री भीष्म आङ्दम्बेको नाम चर्चामा छ । पार्टीभित्रको विवादमा आङ्दम्बे मध्यमार्गी भूमिका देखिन चाहेका छन् । यही भूमिकाले उनको नाममा सर्वसम्मति हुन सक्ने अर्का एक पदाधिकारीले बताए ।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूमा अर्जुननरसिंह केसी, भरतबहादुर खड्का र मोहन आचार्यको नामसमेत दल नेतामा चर्चामा छ । कांग्रेसमा मात्रै नभई संसद्कै ज्येष्ठ सदस्य छन्, केसी । ज्येष्ठ सदस्य भएकाले सभामुखको निर्वाचनसम्म उनैले संसद्को अध्यक्षता गर्नेछन् । केसीले दलको नेताका लागि केही समयअघि नै चाहना राखेका थिए ।

उनले संसद्को अध्यक्षता गर्ने भूमिकामा रहेकाले पार्टीभित्रको कुरा नगर्ने बताए । ‘मैले संसद्को जिम्मेवारी सकेर फर्केपछि त्यतिबेलै दलको नेतामा के गर्ने भन्नेबारेमा कुरा गर्छु, अहिले फरक जिम्मेवारीमा भएका बेला भन्न मिलेन,’ उनले भने । संसद्मा युवाको बाहुल्य भएकाले पुराना नेताहरूलाई नभएर युवा सांसद निश्कल राईलाई दलको नेता बनाउन पनि कांग्रेसमा लबिइङ भइरहेको छ ।

एमालेले बुधबार उपाध्यक्ष रामबहादुर थापालाई निर्विरोध दलको नेता चयन गरेको छ । संसदीय दलको बैठकले थापालाई दलको नेता चयन गरेको हो । तर यसले एमालेमा विवाद सिर्जना भएको छ । सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए । ‘पार्टीभित्रको यो निराशा र हतासालाई अन्त्य गर्न मैले विष पिएर भए पनि दलको नेता दाबी गर्ने आँट गरेको छु,’ उनले भनेका थिए ।

आजदेखि एसइई परीक्षा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ ।

यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् ।

परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ ।

परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।


खोज्नुहोस