प्रधानमन्त्री कप: मधेसले आर्मीलाई दियो १८५ रनको लक्ष्य
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत जारी खेलमा मधेस प्रदेशले त्रिभुवन आर्मीलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जनकपुरधामस्थित रामजानकी रंगशालामा टस हारेर ब्याटिङ गरेको मधेसले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८४ रन जोडेको हो । मधेसका लागि विशाल सुस्लिङले अर्धशतक बनाए ।
विशालले ७३ बलमा ५१ रन जोडे । यसैगरी कप्तान अनिल साहले ४२, पवन सर्राफले २२ र विशाल पटेलले १६ रन बनाए । मधेसका अन्य ब्याटर चल्न सकेनन् । मधेसलाई मध्यम योगफलमा रोक्न आर्मीले सात बलरको प्रयोग गर्यो । जसमध्ये बशिर अहमदले तीन विकेट चट्काउँदा साहब आलम र नरेन साउदले दुई-दुई विकेट लिए ।
यसैगरी आकाश चन्द, कुशल मल्ल र पवन कार्कीले एक/एक विकेट हात पारे । जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । चार खेलेका दुबै टोलीले समान ७-७ अंक बटुलेका छन् । नेट रनरेटका आधारमा मधेस दोस्रो र आर्मी तेस्रो स्थानमा छ । पाँच खेल खेलेको पुलिस समान सात अंकसहित पहिलो स्थानमा छ ।
पहिलो खेल वर्षा बाधक भएपछि कोशीसँग अंक बाँडेको मधेसले सुदूरपश्चिमलाई पाँच विकेट, लुम्बिनीलाई २५ रन र कर्णालीलाई पाँच विकेटले पराजित गरेको थियो । यसैगरी आर्मीले पहिलो खेलमा पुलिसलाई २२, गण्डकीलाई सात विकेट र बागमतीलाई तीन विकेटले पराजित गरेको थियो । आर्मी र एपीएफ क्लबबीचको खेल बर्षाले रद्द हुँदा दुवै टोलीले अंक बाँडेका थिए ।
