अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी- अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

भूकम्पको झड्का काबुल प्रान्तमा पनि महसुस गरिएको थियो । यहाँ एक घर पूर्ण रूपमा भत्किएको थियो, जसमा आठ बासिन्दा मृत्यु भएका थिए भने एक बच्चा घाइते भएको थियो । कम्पनको तीव्रता शहरमा पनि महसुस गरिएकोले स्थानीय बासिन्दा ठूलो डरमा परेका थिए ।

भूकम्पको केन्द्रबिन्दु १८६.४ किलोमिटर गहिराइमा रहेको पाइएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार एपिसेण्टर ३६.५५ डिग्री उत्तर अक्षांश र ७०.८५ डिग्री पूर्व देशान्तरमा रहेको थियो । गहिरो केन्द्रबिन्दुका कारण सतहमा व्यापक क्षति सीमित रहन सक्छ भन्ने अनुमान गरिएको भए पनि घर भत्किनु र मानिसहरूको मृत्यु हुनुले घटनाको गम्भीरता देखाउँछ ।

यो भूकम्पले स्थानीय बासिन्दाको जीवनमा ठूलो असर पुर्‍याएको छ । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तत्काल सुरु गरिएको छ । स्थानिय अधिकारीहरूले भूकम्पपीडितलाई सुरक्षित स्थानमा सार्ने र घाइतेलाई उपचारको व्यवस्था गर्ने कामलाई प्राथमिकता दिइरहेका छन् ।विशेषगरी काबुल र उत्तरी प्रान्तहरूमा भूकम्पको प्रभाव अझ बढी देखिएकोले थप सुरक्षा र सावधानी अपनाउन स्थानीय प्रशासनले जनतालाई सचेत गराएको छ ।

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले पायो १०८ रनको सामान्य लक्ष्य

वीरगन्ज-  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जनकपुरधामस्थित रामजानकी मैदानमा शनिबार टस जितेर सुरुवाती ब्याटिङ गरेको कर्णालीले ३६ ओभरमा सबै विकेट गुमाएर १०७ रन जोडेको हो ।

कर्णालीका लागि विकेट किपर ब्याट्सम्यान अर्जुन घर्तीले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए । ७३ बल खेलेका अर्जुनले तीन चौका प्रहार गरे । दीपेन्द्र रावतले २५, ओपनर रवीन्द्र शाहीले १८ र सुनिल धमलाले १७ रन बनाउँदा अरु ब्याटर चलेनन् । निश्चल रावल र विपिन रावल शून्यमै पेभेलियन फर्किए भने बिपिन शाहीले एक रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा एपीएफका कमल ऐरी र अभिषेक गौतमले समान चार÷चार विकेट लिए । कप्तान रोहित पौडेलले एक विकेट हात पारे ।

कर्णालीले दिएको लक्ष्य पछ्याउन एपीएफ केहीबेरपछि मैदानमा उत्रनेछ । जारी प्रतियोगितामा एपीएफ सातौं स्थानमा र कर्णाली आठौं स्थानमा छ । दुवै टोलीको समान तीन अंक छ ।

वृद्धाश्रम सुधारमा पहल गर्ने मन्त्री बादीको प्रतिबद्धता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले पशुपति वृद्धाश्रम पुगेर त्यहाँको अवस्था अवलोकन गरेकी छन्। मन्त्रीको हैसियतमा वृद्धाश्रमको अवस्था बुझ्ने अवसर पाउँदा खुसी लागेको उनले बताइन्।

उनले विगतमा अध्ययनका क्रममा पनि सोही स्थानमा सेवा गरेको स्मरण गर्दै लामो समयपछि पुनः त्यहाँ पुग्न पाउँदा विशेष अनुभूति भएको उल्लेख गरिन्।

करिब नौ वर्षअघि पुष्पलाल मेमोरियल कलेज, चावहिलमा अध्ययनरत रहँदा कलेजमार्फत समाज कल्याण केन्द्रअन्तर्गत पशुपति वृद्धाश्रममा तीन महिनासम्म सेवा गर्ने अवसर पाएको  बताउँदै त्यहाँका ज्येष्ठ नागरिकका जीवनका कथा, पीडा, संघर्ष र मायाले आफूमा गहिरो प्रभाव पारेको उनको भनाइ छ। ‘त्यही अनुभवले मानवताको साँचो अर्थ सिकायो—सेवा केवल कर्तव्य मात्र होइन, आत्मसन्तुष्टिको माध्यम पनि हो,’ उनले भनिन्।

मन्त्रीका रूपमा वृद्धाश्रममा पुग्दा विगतका अनुभव सम्झिएको बताउँदै उनले पहिले गरेको सेवा अहिले ठूलो जिम्मेवारीमा रूपान्तरण कारण पद ठूलो नभई सेवा ठूलो रहेको बताएकी छिन्।

उनले आफ्नो जिम्मेवारीलाई पदभन्दा पनि सेवा र समर्पणको अवसरका रूपमा लिएको बताउँदै विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा असहाय वर्गका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता गरेकी छिन्।

शैक्षिक सत्र अगावै बाजुरामा पाठ्यपुस्तक

बाजुरा- शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्।

करुण पुस्तक पसल, मार्तडीका प्रोपर्टाइटर नृपबहादुर खातीले भने, “मैले चैत १६ गते धनगढीबाट किताब उठाएर चैत १७ गते बाजुरामा पु¥याइसकेको छु। अहिले ती किताब धमाधम विद्यालयहरूमा वितरण गरिरहेको छु।”

गत वर्ष झैं यस वर्ष पनि उनले २१ हजार ८२५ थान किताब बाजुरामा ल्याएर वितरण गरिरहनुभएको छ। विगतका केही वर्षमा यहाँ किताब ढिला पुग्ने गरेको भए पनि, गत वर्षदेखि शैक्षिक सत्र सुरु हुन अघि नै किताब वितरण हुने गरेको छ। यसका कारण यहाँका बालबालिकाहरू समेत खुसी भएका छन्।

यस वर्ष बाजुराका आठ वटा पुस्तक विक्रेतामार्फत किताब वितरण गरिएको छ। यसमा प्रविन एण्ड ललित स्टेशनरी पसलले २४ हजार ४१०, करुण पुस्तक पसलले २१ हजार ८२५, सृजना स्टेशनरीले छ हजार ६०, आरके स्टेशनरीले पाँच हजार ४१४, मष्टा मल्टी स्टेशनरीले चार हजार ४७, बैष्णवीले आठ हजार २३७, रारा पुस्तक पसलले १३ हजार ९२१ र निशान्त जनरल स्टोरले ८ हजार ४७६ थान किताब वितरण गरेका छन्।

जनकशिक्षा सामाग्री केन्द्र, धनगढीका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार यस वर्ष बाजुरामा जम्मा ९२ हजार ३९० थान किताब वितरण गरिएको छ। चौधरीले भने, “गत शैक्षिक सत्र ०८२ मा सबैभन्दा पहिलो बाजुरालाई किताब वितरणको पालो परेको थियो। सत्र ०८३ मा पनि बाजुरा र दार्चुलालाई पहिलो चरणमा किताब वितरण गरिएको छ।”

चौधरीले थपे, “चैत १६–१८ गते बाजुरा र दार्चुला, १९–२१ गते बझाङ र अछाम, २२–२४ गते बैतडी–डोटी, २५ गते डडेल्धुरा, २६–२७ गते कञ्चनपुर, र २८–३० गते कैलालीलाई क्रमशः वितरण गरिएको छ।”

गत वर्ष सुदूरपश्चिममा २१ करोड ९२ लाख ७३ हजार ४९४ रुपैयाँको लागतमा १६ लाख २९ हजार २६३ थान किताब वितरण गरिएको थियो। यस वर्ष भने कक्षा ४ बाहेक अन्य सबै कक्षाका किताब वितरण भइरहेको जनकशिक्षा केन्द्रले जनाएको छ।

कलाकार सागर लम्साल पक्राउ

काठमाडौँ- कलाकार सागर लम्साल ‘बले’पक्राउ परेका छन् । उनी पक्राउ परेको जिल्ल्ला प्रहरी परिसर काठमाण्डौले पुष्टि गरेको छ ।

उनी आज बिहान काठमाण्डौको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् ।

 

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामाथि छलफल

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिएको छ।

प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आज कञ्चनपुरमा जिल्ला समन्वय समिति, स्थानीय तह र विज्ञहरूसँग छलफल गरिएको हो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाको अध्यक्षतामा भएको छलफलमा मस्यौदामाथि समूहगत रूपमा छलफल भएको थियो। छलफलमा कञ्चनपुरका नौ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो।

मस्यौदा निर्माणका विज्ञ सदस्य डा हेमराज लामिछानेले प्रदेशको हालको अवस्था, दीर्घकालीन समृद्धि, समावेशी विकास, सुशासन र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहितको अवधारणा पत्र प्रस्तुत गरेका थिए। “सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेको छ उक्त गरिबी घटाउने गरी पञ्चवर्षीय योजना तयार गरिएको छ”, विज्ञ सदस्य लामिछानेले भने, “यो योजनामा आत्मनिर्भर समुन्नत सुन्दर सुदूरपश्चिम दीर्घकालीन सोचका साथ योजना तयार पारिएको छ।”

उनले उक्त मस्यौदामा स्थानीय तहबाट आएका सुझावहरूलाई समेटेर योजनालाई अन्तिम रूप दिइने बताए। छलफलका सहभागीले सुदूरपश्चिम प्रदेश सरकारले नीतिअनुसार काम गर्नुपर्नेमा जोड दिए । यसअघि प्रदेशको नीतिअनुसार बजेट कार्यान्वयन नहुँदा प्रदेशको विकासले गति लिन नसकेको कारण यस पटक नीति कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरूको जोड थियो।

“प्रदेश सरकारका यसअघिका नीतिहरू कार्यान्वयन भएका छैनन्”, छलफलमा सहभागी शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले भने, “प्रदेश गौरवका थुप्रै योजना वर्षौँदेखि अलपत्र परेका छन्, ती योजनाहरू सम्पन्न गर्नुको साटो अन्यत्र बजेट विनियोजन हुने गरेको छ।” सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा हीरा चन्दले स्थानीय तहबाट आएका सुझावहरूलाई सम्बोधन गरेर पञ्चवर्षे योजना तयार गरिने बताए।

“छलफलमा आएका विषयवस्तुलाई पनि योजना आयोगले सम्बोधन गर्छ”, उनले भने, “स्थानीय तहहरूले थप छलफल गरेर पठाएका सुझाव पञ्चवर्षे योजनामा समावेश गर्छौँ।” जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले पनि प्रदेशको विकासका लागि जनता लक्षित कार्यक्रम लागू गर्नेपर्ने सुझाव दिए।

प्रदेश नीति तथा योजना आयोगले कृषि, पर्यटन, उद्योग र ऊर्जा केन्द्रित मूल्य शृङ्खला विकास, लगानी प्रवद्र्धन र उद्यमशीलता विकासमार्फत रोजगारी सृजना गरी दिगो आर्थिक वृद्धि हासिल गर्ने, भौगोलिक सन्तुलनसहित यातायात, ऊर्जा, सिँचाइ, खानेपानी, डिजिटल तथा सहरी–ग्रामीण पूर्वाधार विकास गर्दै हरित र विपद् उत्थानशील विकासलाई प्राथमिकता दिने रणनीति अघि सारेको छ।

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति काठमाडौँका विभिन्न ठाउँमाबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ४ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौँको कलंकी ठमेल, दरबारमार्ग, सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा काभ्रेली समूहका सञ्जि लामा, सिन्धुपाल्चोकका अशोक गिरी, सुरेश गुरुङ, किमजोङ बोसलगायत छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका परिसरले पनि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । परिसरले श्याम लामा समूहका प्रविण गुरुङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउ गरेको जनाएको छ ।

दार्चुलाको दुम्लिङमा हर्कराज साम्पाङकाे टिमद्वारा श्रमदानबाट झोलुङ्गे पुल निर्माण शुरू

दार्चुलाः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको टिमले दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

 

गत ११ गते गरिएको स्थलगत अनुमगन निरीक्षण (नापजाँच) पछि काठा दुम्लिङको मल्लो दुम्लिङखोलामा झोलुङ्गे पुल निर्माण गरिने इन्जिनियर डम्मर लिम्बूले जानकारी दिए। यहाँका स्थानीयले विगतदेखि नै प्रयोग गर्दै आइरहेको तुइन हटाएर महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गर्न प्राविधिक अध्ययन टोली आए पनि अन्तर्राष्ट्रिय सीमानाकामा संरचना निर्माण गर्न दुई देशको सहमति चाहिने भएपछि सो टोलीले स्थानीय काठा दुम्लिङमा पुल निर्माण गर्ने भएको हो ।स्थानीयको मागका आधारमा तत्काल काठा दुम्लिङमा झोलुङ्गे पुल

निर्माण गर्न लागत इस्टिमेटसहितको विस्तृत अध्ययन प्रतिवेदन बनाइएको उनले बताए।  बर्सातको समयमा खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने गरेका कारण सो खोलामा पुल निर्माण गरिदिन प्राविधिक टोलीलाई आग्रह गरेको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले बताए।

काठा दुम्लिङमा पुल निर्माण गर्न प्रतिनिधि सभा सदस्य हर्कराज साम्पाङ नेतृत्वको टिम दार्चुला आएर चैत २४ गते पुलको शिलान्यास गर्ने योजना रहेको इन्जिनियर लिम्बूले बताए। पुल निर्माणका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गर्नुभएका प्रतिनिधि सभा सदस्य साम्पाङलाई देश तथा विदेशमा रहेका नेपालीले हालसम्म एक करोड १२ लाख रुपियाँ सहयोग गरेको टोलीमा रहेका महेन्द्र पुनले जानकारी दिए।

उनले १५ जना श्रमदातासहित प्रतिनिधि सभा सदस्य साम्पाङको टोली दार्चुला आउँदै गरेको बताए। उनले भने, ‘आउँदो असारसम्ममा पुल निर्माण गरिसक्ने लक्ष्य छ । पुलको लम्बाइ ८० मिटर रहेको छ ।’ राज्यको आँखा नपुगेको दुम्लिङमा प्रतिनिधि सभा सदस्य साम्पाङको अगुवाइमा पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुसी छन् । स्थानीय प्रभात बुढाथोकीका अनुसार विद्यार्थी हिँड्ने, यार्चागुम्बा टिप्न जाने मूलबाटो तथा काठा दुम्लिङ, गोठान र कल्जु गाउँ जोड्ने गरी झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पुल निर्माणमा आफूहरू श्रमदान गर्न तयार रहेको उनले बताए।

 

स्थानीय जानकी बुढाथोकीले गाउँमा विकासनिर्माणका काम हुनु सकारात्मक भएको बताइन्।  दुम्लिङगाउँमा भारतसँग जोड्ने पुल नहुँदा तुइनबाट खसेर हालसम्म ३६ जनाले ज्यान गुमाउनु परेको स्थानीय महेन्द्रसिंह बुढाथोकीले बताए।

(गाेरखापत्र)  

सभामुखको शपथ आइतबार

काठमाडौं : सभामुखमा निर्विरोध भएका डोलप्रसाद (डीपी) अर्यालले आइतबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । उनले आइतबार दिउँसो २ः३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिने भएका हुन्।

राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थले एक सूचना जारी गर्दै सभामुखको शपथ कार्यक्रममा उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु र संसद सचिवालयका सचिवहरुलाई आग्रह समेत गरेका छन् । अर्याल आज सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । अर्यालको एकल उम्मेदवारी परेपछि सभामुखमा निर्विरोध निर्वाचित भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

शुक्रबार अर्यालले सभामुख पदका लागि उम्मेदवारी दिएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए । अर्यालले राष्ट्र र जनताको हितमा नेपालको संविधान, कानुन र नेपाली अनुसार व्यवस्थापिकाले गर्ने काम न्यायसंगत रूपमा गर्ने बताए ।

संसदीय दल नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति

काठमाडौं ।   नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सभापति गगन थापाले बनाएको निर्वाचन समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल रहेका छन् ।

संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएकाले २४ चैतमा चुनाव गर्ने कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । संसदीय दलको नेतामा आकांक्षा देखाएका नेताहरूबीच सर्वसम्मत रुपमा नेता चयन गर्न छलफल भइरहेको उनले बताए ।

संसदीय दल नेताका लागि अनुभव भएका समानुपातिक तर्फबाट निर्वाचित सांसदहरु अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे आकांक्षी छन् ।

त्यस्तै, रसुवाबाट चुनाव जितेका मोहन आचार्य, इलामबाट चुनाव जितेका निश्कल राई, बाजुराबाट चुनाव जितेका जनकराज गिरी, डोटीबाट जितेका भरतबहादुर खड्का, पाँचथरबाट जितेका नरेन्द्रकुमार केरूङ, दैलेख १ बाट निर्वाचित सांसद बासना थापा दलको नेता बन्न आकांक्षा देखाइरहेका छन् ।

किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली । कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त देखिन्छन् ।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका कृषक करमदास चौधरी पनि अरू किसानजस्तै गहुँबाली भित्र्याउन व्यस्त छन् । “घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ,” उनले भने, “अचेल बिहान सबेरै उठेर खेतमा जाने र झिसमिसेमै फर्किने दिनचर्या नै बनेको छ ।”

केही दिनदेखि गर्मी बढ्दै गएको र मौसम एकनास नरहेकाले वर्षा हुन सक्ने भन्दै गहुँबाली भित्र्याउनका लागि आफूजस्तै किसानको अधिकांश समय खेतबारी मै बित्ने गरेको चौधरीको भनाइ छ ।

स्थानीय कृषक हरिराम चौधरीले गहुँ काटेर अब दाइँ गर्ने तयारीमा रहेको बताए । “केही दिनदेखि मौसम फेरबदल भइरहेको छ, कतिबेला बादल लाग्छ त कतिबेला हावाहुरी चलेर पानी आउलाझैँ हुन्छ । त्यसैले पनि गहुँबाली छिटो भित्र्याउने चटारो छ,” उनले भने ।

पछिल्लो समय कृषिमा आधुनिकीकरणसँगै आधुनिक उपकरणहरू प्रयोग गर्दा गहुँ दाइँ गर्न केही सहज भइरहेको किसानले बताउने गरेका छन् । कतिपय किसानले भने एकअर्कासँग पालोपैँचो तथा पर्म गर्दै गहुँ काट्ने र ‘थ्रिसेर’ लगाएर भित्र्याउने गरेका छन् ।

वर्षभरिको अन्न मात्रै होइन, बाँकी रहेको गहुँ तथा दलहन बेचेर घर खर्चको जोहो गर्ने समय पनि भएकाले किसानहरू त्यसैमा लागिरहेका छन् । यसवर्ष यहाँका किसानहरूले विजय, गौतम, धौलागिरिलगायत विभिन्न जातका गहुँ लगाएका छन् । रासस

सगरमाथामा आरोहण अनुमति दिन सुरु

काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अनुमति दिन सुरु गरिएको छ ।

पर्यटन विभागका अनुसार शुक्रबारसम्म ४ समूहका ३३ जनाले सगरमाथा चढ्न अनुमति लिइसकेका छन् । सगरमाथामा सबैभन्दा धेरै आरोही यसै सिजनमा चढ्ने गर्छन् ।

 

सगरमाथा चढ्न अहिलेसम्म ३ महिला र ३० पुरुष आरोहीले अनुमति लिएका हुन् । यस सिजनका लागि शुक्रबारसम्म कुल २४ समूहका १ सय ७० जनाले विभिन्न एक दर्जन हिमाल चढ्न अनुमति लिएका छन् ।

जसमा सबैभन्दा धेरै अमादब्लम हिमालमा छन् । यो हिमालमा ३ समूहका ३४ जनाले अनुमति लिएको पाइएको छ । अन्नपूर्ण प्रथममा ४ समूहका २७ जनाले अनुमति लिएको समेत तथ्यांक छ ।

 

धौलागिरिमा २ समूहका १७ जनाले अनुमति लिएका छन् । शुक्रबारसम्म जारी अनुमतिबाट १० करोड ८७ लाख ३० हजार रोयल्टी संकलन भएको छ । जसमध्ये सगरमाथाबाट मात्र ७ करोड ३७ लाख रोयल्टी संकलन भएको छ ।

बर्दगोेरिया गाउँपालिकाद्वारा स्थानीय उपभोक्तालाई निःशुल्क सुधारिएको चुलो वितरण

कैलालीः कैलालीको बर्दगोेरिया गाउँपालिकाले स्थानीय उपभोक्तालाई सुधारिएको चुलो वितरण गरेको छ । एकता समाज काठमाडौँको सहयोग र गाउँपालिकाको समन्वयमा निःशुल्क रूपमा चुलो वितरण गरिएको हो ।

थोरै दाउराको प्रयोग गरी धुवाँ कम आउने चार हजार सात सय ९८ वटा चुलो वितरण गरिएको छ । वडा नम्बर १ देखि ६ सम्मको उपभोक्तालाई चैत २१ गतेसम्म चुलो वितरण गर्ने कार्यक्रम रहेको छ ।

ग्यासको मूल्य बढेको अवस्थामा गाउँपालिकाले निःशुल्क चुलो उपलब्ध गराएपछि उपभोक्ताहरू खुसी भएका छन् । केही फारम भर्न छुटेका उपभोक्ता निराश भए पनि गाउँपालिकाले छुटेकाहरूलाई पछि व्यवस्था गर्ने जनाएको छ ।

सुधारिएको चुलोले घरमित्रको धुँवा कम गरी स्वास प्रश्वाससम्बन्धी रोगबाट बचाउन र दाउराकाको खपत घटाउन मद्दत पुग्ने अपेक्षा लिइएको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले ग्यासको मूल्य बढेको अवस्थामा उपभोक्तालाई राहत पुगोस् भनी थोरै दाउराबाट खाना पकाउन सकिने सुधारिएको चुलो वितरण गरिएको बताए।

उनले निःशुल्क चुलो पाउने भएपछि स्थानीय उपभोक्ता उत्साहका साथ चुलो लिन आएको जानकारी दिए। ‘वातावरण संरक्षण र दिगो ऊर्जा प्रवर्धन गर्ने उद्देश्यले चुलो वितरण गरेका छौं ।’ उनले भने, ‘गाउँपालिकाले चुलोका लागि आवेदन फारम माग गरेको थियो । फारम भरेकालाई पहिलो चरणमा वितरण गरेका छौं । छुट्न गएकाहरूलाई फेरि व्यवस्था मिलाउने छौं ।’

एसईई परीक्षा: मोबाइलबाट चिट चोर्ने तीन परीक्षार्थी पक्राउ

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेका बेला परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गोडैता नगरपालिका – ५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ( शुक्रबार ) बिहान करिब ८ः४० बजेतिर परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बलरा नगरपालिका – ८ गडहिया डुमरियास्थित श्री नमुना माध्यमिक विद्यालयका पृतम यादव र आलोक यादव तथा गोडैता – ५ रामवनस्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । परीक्षा चलिरहेकै समयमा केही परीक्षार्थीले मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाउने तथा उत्तर प्राप्त गर्ने प्रयास गरेको देखिएपछि केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर त्यहाँ खटिएको प्रहरी टोलीलाई जिम्मा लगाएका थिए।

त्यसपछि उनीहरुले वाटसपमा ग्रुप बनाएर चिट चोर्ने गरेको पाईएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए।

परीक्षाको मर्यादाविपरीत कार्यमा संलग्न तीनै जना परीक्षार्थीको शुक्रबार दोस्रो दिन भएको अनिवार्य नेपाली विषयको परीक्षा रद्द गरिएको छ । यस्तै, परीक्षाको पहिलो दिन हिँजो जिल्लाको कविलासी नगरपालिका– २, पिपरियास्थित श्री बाल गोबिन्द जनता माध्यमिक बिद्यालय परिक्षा केन्द्र बाहिरबाट प्रश्नपत्र आउट गर्ने एक जनालाई पक्राउ गरिएको थियो।

 

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जनाको शव फिर्ता ल्याउन समस्या भएको जनाएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उडान अवरुद्ध भएका कारण बिभिन्न कारणले मृत्यु भएका करिब ३८ जना नेपालीको शव फिर्ता समस्या भएकोप्रति गम्भीर रहेको बताए ।

उहाले चैत्र १८ गते कुवेत एयरलाइन्सबाट ९ वटा शव ल्याइसकिएको र अरु शवहरू पनि ल्याउने कार्य अघि बढिसकेको जानकारी दिए  । प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा युद्ध सुरुभएयता करिब साढे ८६ हजार नेपालीले उद्धारको लागि नाम टिपाएकोमा हाल असुरक्षित रहेको छु भन्ने नेपालीहरूको संख्या क्रमशः घट्दै गएको उल्लेख गरे  ।

त्यसैगरि युद्धको समयमा अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा नराख्न गरिएको निर्देशन नेपालीहरूले पालना गरिरहेको भन्दै उनले नियम उलंघन गर्ने केही नेपालीहरू पक्राउ परेको जानकारी दिए ।

यस्ता घटनामा हालसम्म एघार जना नेपालीहरू पक्राउ परेको खबर प्राप्त भएको उनले बताए । उनले इरानमा रहेका ११ जना नेपालीहरू सुरक्षित अवस्थामा रहेको र दोहास्थित नियोग सम्पर्कमा रहेको जानकारी दिए ।

प्रवक्ता क्षेत्रीले ठुलो समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीहरूलाई सम्बन्धित दूतावासमा सम्पर्क गर्न भनेको र आवश्यक सहजीकरण गर्ने काम अघि बढाइएको बताए । पश्चिम एसियाको युद्धका कारण ठुलो संख्यामा रोजगारी गुम्न सक्ने अवस्था नदेखिएको उनको भनाइ छ ।

वैशाख लागेपछि मात्र विद्यार्थी भर्नाको सुचना निकाल्न सर्वोच्चको आदेश

काठमाडौँ-  सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले शुक्रबार वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्नाका लागि सूचना र कार्यक्रम प्रकाशन गर्न, गराउन भनेर अन्तरिम आदेश दिएको हो।

वार्षिक परीक्षा नसकिँदै विद्यालयहरूले भर्नाका लागि कार्यक्रमहरू राखेको र सूचना समेत प्रकाशन गरेको भन्दै अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।

गत चैत ५ गते शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले वार्षिक सञ्चालन गरी नतिजा प्रकाशन पश्चात् नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि भर्ना कार्यक्रम सञ्चालन गर्न भनेर निर्देशन समेत दिइसकेको भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ, ‘विभिन्न विद्यालयले प्रकाशित गरेका विद्यार्थी भर्ना सम्बन्धी सूचनाहरू शिक्षा नियमावली अनुकूल रहेको नदेखिएकाले प्रमाणपत्र प्राप्त भएपछि तथा शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्नु, गराउनु र सो अनुरूप एकरूपता कायम गर्नु भनी अन्तरिम आदेश जारी गरिदिएको छ।’

अर्थले तोक्यो बजेट लेखनको टिम, को-को छन् समितिमा?

काठमाडौं ।  आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि अर्थमन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी जेठ १५ गते प्र्स्तुत गर्ने बजेट भाषण लेखन समितिको संय‍ोजक रमजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचसव उत्तर खत्रीलाई तोकिएको छ।

समितिले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने, आयोजना तथा कार्यक्रमको प्राथमिकता निर्धारणमा सहयोग गर्ने र संसदमा पेस गरिने विनियोजन विधेयकको मस्यौदा तयार गर्ने काम सम्हाल्नेछ।

यसैगरी, समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटको सम्पूर्ण मस्यौदा तयार गरी पेस गर्ने जिम्मेवारी पनि पाउनेछ।

समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरू सदस्य रहेका छन्।

समितिका सदस्यहरूमा सहसचिवहरू सुमन दाहाल, धानिराम शर्मा, महेश भट्टाराई र शिवनन्द पोखरेल रहेका छन्।

 

राष्ट्रिय योजना आयोगले आगामी वर्षको लागि १८ खर्ब ९० अर्बको बजेट सिलिङ तोकेको छ।

सभामुखमा डीपी अर्याल निर्विराेध हुने, एमालेले दिएन उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध चयन भएका छन् । नेकपा एमालेले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विरोध हुने देखिएको हो ।

शुक्रबार उनले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो ।

संसदमा रास्वपाको एकल बहुमत रहेको हुँदा अर्याल सभामुख बन्ने निश्चित छ । मनोनयन दर्तापछि अर्याललाई सभापति लामिछानेले अंकमाल गरेर बधाई दिएका थिए ।

सुदूरपश्चिमका आधा बढी उद्योग नवीकरण छैनन्

कैलाली : सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा १२.३० प्रतिशत योगदान उद्योग क्षेत्रको छ । तर सरकारी तथ्यांकले प्रदेशको औद्योगिक क्षेत्र संक्रमणकालबाट गुज्रिरहेको देखिएको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको तथ्यांक अनुसार प्रदेशभर दर्ता भएका आधा भन्दा बढी उद्योग नवीकरण नै हुँदैनन् ।

आर्थिक वर्ष २०८१/८२ सम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा ५४ हजार ४८१ उद्योग दर्ता भएका छन् । यसले प्रदेशमा उद्योग खुल्ने लहर उत्साहजनक देखिन्छ । तर दर्ता भएकामध्ये २८ हजार ४५४ उद्योग नवीकरण नै भएनन् । बाँकी २६ हजार २७ उद्योग मात्रै नवीकरण भएको देखिन्छ ।

यी उद्योगहरुमा २ लाख ८ हजार ८४४ जनाले रोजगारी पाएका छन् । तर आधा उद्योग नवीकरण नहुँदा त्यहाँबाट सृजना भएका रोजगारीको अवस्था के छ भन्नेबारे सरकारी निकाय नै बेखबर देखिन्छन् । प्रदेशभर पूर्णरुपमा खारेज हुने उद्योगको संख्या पनि ठूलो छ ।

पहाडी जिल्ला मात्र होइन, उद्योग दर्ता भएर नवीकरण नहुने दर तराईका दुई जिल्लामा पनि उस्तै छ । प्रदेश राजधानी, आर्थिक, प्रशासन केन्द्र तथा आद्योगिक हबका रुपमा चिनिने कैलालीमा सबैभन्दा बढी उद्योग दर्ता छन् । निर्देशनालयको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार यहाँ १६ हजार ५६७ उद्योग दर्ता छन् । जसबाट ८१ हजार ४४६ जनाले रोजगारी पाएका छन् । तर जिल्लाभर दर्ता भएकामध्ये ८ हजार ५६६ उद्योग मात्रै नवीकरण भएको तथ्यांक छ । यो अवधिमा १ हजार ३ सय ५३ उद्योग खारेज भएका छन् ।

कैलालीपछि बढी उद्योग दर्ता हुने जिल्ला कञ्चनपुर हो । जहाँ १२ हजार ८२ उद्योग दर्ता छन् । जसमा ५१ हजार ३६ जनाले रोजगार छन् । तर यहाँ पनि दर्ता भएकामध्ये ७ हजार ३ सय ६८ उद्योग मात्रै नवीकरण भएको देखिन्छ ।

सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लामा हालसम्म २५ हजार ८३२ उद्योग दर्ता भएका छन् । जसबाट ७६ हजार ३६२ जनाले रोजगारी पाएको सरकारी तथ्यांक छ । तर, दर्ताको तुलनामा नवीकरणको अवस्था भने निकै दयनीय देखिन्छ । यी जिल्लाहरूमा जम्मा १० हजार ९३ उद्योग मात्रै नवीकरण भएका छन् भने ८ सय ६० उद्योग आधिकारिक रूपमा खारेज भइसकेका छन् ।

पहाडी जिल्लामध्ये सबैभन्दा बढी उद्योग दर्ता बैतडीमा छन् । जहाँ ४ हजार ९४६ उद्योग दर्ता भई ९ हजार ३२५ जनाले रोजगारी पाएका छन् । तर, यहाँ पनि दर्ता भएकामध्ये जम्मा १ हजार ६७३ उद्योग मात्रै नवीकरण भएका छन् भने १५५ उद्योगको दर्ता खारेज भएको छ ।

सबैभन्दा कम उद्योग दर्ता भएको अछाममा २ हजार ६७४ उद्योग दर्ता भई ८ हजार १४२ जनाले रोजगारी पाएका छन् । यहाँ पनि दर्ता भएकामध्ये जम्मा १ हजार १२० उद्योग मात्रै नवीकरण भएका छन् । ७० वटा उद्योगको दर्ता खारेज भएको तथ्यांकमा देखिन्छ ।

सुदूरपश्चिममा उद्योग दर्ता भए पनि नवीकरणको संख्या खुम्चिनुको मुख्य कारण नियममा हुने परिवर्तन मुख्य कारण भएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय धनगढीका निर्देशक हेमन्तबहादुर सिंह बताउाछन् । ‘पहिले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भएकोमा पछि दुई–दुई वर्ष र तीन वर्ष हुादै अहिले उद्योग दर्ता भएको ५ वर्षपछि मात्र नवीकरण गर्नुपर्ने नियम छ,’ निर्देशक सिंह भन्छन्, ‘अहिले नवीकरण भइरहेका उद्योगहरू विगतका सालमा दर्ता भएका हुन्, जसले गर्दा दर्ता र नवीकरणको संख्यामा एकरुपता नदेखिएको हो ।’ नवीकरणको समय नपुगेका कारण धेरै उद्योगहरू नवीकरण प्रक्रियामा नआएको हुन सक्ने उनको भनाइ छ ।

‘कागजी’ उद्योग धेरै 
उद्योग खारेजीको बढ्दो क्रमबारे निर्देशक सिंह धेरै उद्योग वास्तवमै नभएर कागजी प्रक्रियाका लागि मात्र दर्ता हुने गरेको बताउँछन् । ‘धेरैजसो उद्योग वास्तवमै सञ्चालन गर्न भन्दा पनि विदेश जाने ‘भिसा प्रयोजन’ का लागि कागजमा मात्रै दर्ता हुने गरेका छन् । आम्दानी र सम्पत्ति देखाउने उद्देश्य पूरा भएपछि वा भिसा लागेपछि त्यस्ता उद्योगहरू खारेजी गर्न आउछन्,’ उनले भने ।

यद्यपि, प्रदेश सरकारले उद्योगीहरूलाई प्रोत्साहन गर्न विशेष सहुलियत दिएको छ । ५ वर्षभन्दा बढी समय नवीकरण नगरेका उद्योगहरूलाई ९० प्रतिशत जरिवाना मिनाहा गरी १० प्रतिशत मात्रै दस्तुर लिएर नवीकरण गर्ने सरकारको नीतिले धेरैलाई राहत दिएको छ ।

महिला उद्यमशीलताको सन्दर्भमा भने सुदूरपश्चिममा सकारात्मक संकेत देखिएको छ । महिलाको नाममा उद्योग दर्ता गर्दा पाइने २५ प्रतिशत छुटका कारण कैलालीमा मात्रै ६ हजारभन्दा बढी उद्योग महिलाको नाममा दर्ता छन् ।

यद्यपि स्वामित्व कागजमा महिलाको भए पनि मुख्य भूमिकामा पुरुष नै रहने प्रवृत्ति बढेको घरेलु तथा साना उद्योग कार्यालय कैलालीकी प्रमुख तथा उद्योग अधिकृत पार्वती भट्ट बताउँछिन् । ‘कागजमा महिला मालिक हुन्छन्, तर उद्योगको कारोवार, आय–व्यय र सञ्चालनबारे उनीहरूलाई पत्तो हुँदैन,’ भट्ट भन्छिन्, ‘सहुलियत पाउनकै लागि महिलाको नाममा व्यवसाय दर्ता गर्ने क्रम उत्साहजनक छ ।’

सुदूरपश्चिमका साउँद निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा विजयी

काठमाडौँः काठमाडौँमा सम्पन्न नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा सुदूरपश्चिमका लक्ष्मण साउँद विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा उनले लोकप्रिय मतसहित जित हासिल गरेका हुन्।

साउँद हाल सुदूरपश्चिम प्रदेशका उपाध्यक्षसमेत हुन् र लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका युवा व्यवसायीका रूपमा परिचित छन्। यसैगरी, उनको प्यानलबाट अध्यक्ष पदमा निकोलस पाण्डे पनि निर्वाचित भएका छन्।

गृहमन्त्रीको एक साता : समातिए ७ उच्च पदस्थ

काठमाडौं । सुधन गुरुङले गृह मन्त्रालयको जिम्मोवारी सम्हालेको एक साता पूरा भएको छ । गत शुक्रबार गृहमन्त्रीमा नियुक्त भएका गुरुङ पहिलो एक साता निकै सक्रिय देखियो । एक साताको अवधिमा ७ उच्चपदस्थ व्यक्ति पक्राउ परेका छन् ।

गृह मन्त्रीको जिम्मेवारी सम्हालेकै भोलिपल्ट शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परे । उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको २३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।

उक्त आयोगको प्रतिवेदन कार्यान्वय गर्ने निर्णय सरकारले गरेलगत्तै ओली, लेखक पक्राउ परे ।

त्यसै दिन अर्का उच्च पदस्थ व्यक्ति पक्राउ परे । नेकपा एमालेका कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परे । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय बलात्कार आरोपमा समातिए ।

पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । तर मल्ल पक्राउ नपरेको भन्दै ती महिला माइतीघरमा अनसन बस्दै आएकी थिइन् ।

उनीहरु तीन जना पक्राउ परेको भोलिपल्ट १५ चैतमा कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का पक्राउ परे । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेको बताएका थिए ।

पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री खड्का धुम्बाराहीस्थित आफू बसेको अपार्टमेन्टबाट समातिएका थिए । उनलाई पनि सीआईबीले नै पक्राउ गरेको हो ।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएको थियो ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । अहिले भने सीआईबीलाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको छ ।

१५ चैतकै राति एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ परिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई पक्राउ गर्‍यो ।

उनले एक बालिकालाई घरमा राखेर बालश्रम शोषण गराएको आरोप लागेका थियो । ६ वर्षदेखि सांसद शर्माको घरमा काम गरेकी बालिकाले आफूमाथि कुटपिट हुने गरेके बताएकी थिइन् । त्यसपछि उनको उद्दार भएको थियो । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।

नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो । तर सांसद शर्मा विरुद्ध भने मुद्दा चलेको थिएन । अहिले भने उनी पक्राउ परेकी छिन् ।

१७ चैतमा जेनजी आन्दोलन हुँदाका काठमाडौंका सीडीओ छविलाल रिजाल पक्राउ परे । उनलाई पनि कार्की आयोगले करबाही सिफारिस गरेको थियो ।जेनजी आन्दोलनमा दमन गरेपछि उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन भएका थिए ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा काठमाडौंका तत्कालीन सीडीओ रिजालले आफूले घुँडाभन्दा तललक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् । रिजाल भने सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा रिहा भएका छन् ।

हिजो १९ चैतमा मात्रै व्यवसायी दीपक भट्ट पक्राउ परे । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा उनी तानिएका हुन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानअघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

काठमाडौं ।  सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । घुसरकमसहित धनुषाको लालगढबाट प्रहरी निरीक्षक ओकिल अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पक्राउ गरेको हो ।

स्रोतका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

सभामुखमा डोलप्रसादको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

सभामुखका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिनेछ ।  निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको दर्ता क्रमानुसार आजै दिउँसो २ः३० बजे सार्वजनिक गरिने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

अब आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

नेपालीको उद्धार गर्न आजदेखि विशेष उडान

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको हो ।

ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्‍याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।

चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बैठक बसेको थियो । उक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि नेपाल वायुसेवा निगमले तीन दिनसम्म विशेष उडान सञ्चालन गर्न लागेको हो ।

पश्चिम एसियामा विद्यमान तनाव तथा असुरक्षा अवस्थाका कारण ती क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित रहेको छ ।

उडानका दौरान आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पश्चिम एसियामा विद्यमान तनावको अवस्थामा समेत विशेष उडान सञ्चालन गर्न योगदान र समन्वय गर्ने अन्य सरोकारवाला निकायलाई परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको छ ।

 

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ ।

यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ, भने डिजेल/मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कामय भएको छ ।

यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । यस्तै त्यहाँ डिजेल/मट्टितेलको मूल्य पहिले प्रतिलिटर १६६ रुपैयाँ रहेकामा अब बढेर १८१ रुपैयाँ पुगेको छ ।

आयल निगमले यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाएको छ ।

इनिशा विकको २७ दिनपछि अन्त्येष्टि

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि दाहसंस्कार गरिएको छ ।

शव बुझ्दै इनिशाको परिवारले बिहीबार भेरी नदीमा अन्त्येष्टि गरेका हुन् । गत फागुन २३ गते विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४, जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। घटनालगत्तै पुगेको प्रहरीले कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो । तर चिकित्सकले इनिशालाई मृत घोषणा गरेका थिए।

मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको आशंकामा चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दर्ता गरेका थिए । मंगलबार जिल्ला अदालतले चारै जनालाई अनुसन्धान पूरा नभएसम्म पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेसँगै परिवारले शव बुझ्नेका हुन् । उनका बुवा इन्द्रबहादुर विकले भने, ’शव जलाइयो, न्याय पाउने आशमा छु।’

चारै अभियुक्त १६ देखि १७ वर्षका छन्। ‘वीरेन्द्रनगर–४’ बाहेक अन्य तीन जना इनिशाका सहपाठी हुन्। जिल्ला सरकारी वकिल कार्यालयले चारै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सामूहिक बलात्कार र हत्याको मुद्दा सुर्खेत जिल्ला अदालतमा दर्ता गरेको छ ।

प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले ४१ पृष्ठ लामो अभियोगपत्र अदालतमा पेस गरेको थियो । अभियोगपत्रमा चार अभियुक्तसहित ३३ जनाको बयान समावेश गरिएको छ ।

सदनमा मेरो भूमिका पक्ष–विपक्ष नभई निष्पक्ष हुनेछ : महाबीर पुन

काठमाडौं : प्रतिनिधिसभाका स्वतन्त्र सांसद महाबीर पुनले सदनमा आफ्नो भूमिका पक्ष–विपक्षमा नभई निष्पक्ष हुने बताएका छन् । बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो वैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पुनले आफू अचम्मको सांसद सदनमा आइपुगेको बताएका छन् ।

उनले आफ्नो बोल्ने, काम गर्ने तरिका नै फरक भएकाले सबैसँग मिल्न नसक्ने बताए । उनले आफू आउनै नपर्ने मान्छे सदनमा आइपुगेको पनि बताएका छन् । उनले आफू अमेरिकामा पढेर २०४९ साल भदौं महिनामा आएको बताउँदै त्यसयता एउटा झोला बोकेर स्वयमसेवाको रुपमा काम गरिरहेको बताए।

उनले आफू राजनीतिकर्मी नभएकाले सदनमा पनि समाजसेवीकै रुपमा भूमिका निर्वाह गर्ने बताए । समाजसेवी भएकै कारण प्रतिनिधिसभामा उम्मेदवार हुने रहर नभएको बताउँदै भदौ २३, २४ को आन्दोलनपछि जेनजी युवाहरुले नै बोलाएर शिक्षा तथा विज्ञानमन्त्री बनाई दिएको पनि बताए । सो बेला आफू ताप्लेजुङको गाउँ गाउँमा किताव बेचिरहेको समेत बताए । उनले चार महिना मन्त्री हुँदा शिक्षा क्षेत्रको राजनीतिकरण, विकृतिहरु देखेर ती हटाएर विद्यालय र विश्वविद्यालयहरुमा विशुद्ध अध्ययनको वातावरण बनाउन प्रयास गरेको बताए ।

प्रतिनिधिसभामा तीनवटा अध्यादेश पेश

काठमाडौं : प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेश भएको छ।

मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेश भएको हो।

गृहमन्त्री सुधन गुरुङले तीनवटै अध्यादेश संसदमा पेस गरे।

खोज्नुहोस