किसानलाई गहुँबाली भित्र्याउने चटारो
कैलाली । कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त देखिन्छन् ।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका कृषक करमदास चौधरी पनि अरू किसानजस्तै गहुँबाली भित्र्याउन व्यस्त छन् । “घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ,” उनले भने, “अचेल बिहान सबेरै उठेर खेतमा जाने र झिसमिसेमै फर्किने दिनचर्या नै बनेको छ ।”
केही दिनदेखि गर्मी बढ्दै गएको र मौसम एकनास नरहेकाले वर्षा हुन सक्ने भन्दै गहुँबाली भित्र्याउनका लागि आफूजस्तै किसानको अधिकांश समय खेतबारी मै बित्ने गरेको चौधरीको भनाइ छ ।
स्थानीय कृषक हरिराम चौधरीले गहुँ काटेर अब दाइँ गर्ने तयारीमा रहेको बताए । “केही दिनदेखि मौसम फेरबदल भइरहेको छ, कतिबेला बादल लाग्छ त कतिबेला हावाहुरी चलेर पानी आउलाझैँ हुन्छ । त्यसैले पनि गहुँबाली छिटो भित्र्याउने चटारो छ,” उनले भने ।
पछिल्लो समय कृषिमा आधुनिकीकरणसँगै आधुनिक उपकरणहरू प्रयोग गर्दा गहुँ दाइँ गर्न केही सहज भइरहेको किसानले बताउने गरेका छन् । कतिपय किसानले भने एकअर्कासँग पालोपैँचो तथा पर्म गर्दै गहुँ काट्ने र ‘थ्रिसेर’ लगाएर भित्र्याउने गरेका छन् ।
वर्षभरिको अन्न मात्रै होइन, बाँकी रहेको गहुँ तथा दलहन बेचेर घर खर्चको जोहो गर्ने समय पनि भएकाले किसानहरू त्यसैमा लागिरहेका छन् । यसवर्ष यहाँका किसानहरूले विजय, गौतम, धौलागिरिलगायत विभिन्न जातका गहुँ लगाएका छन् । रासस
