प्रधानमन्त्री बालेन र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

सांसद साम्पाङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच भेटवार्ता भएको थियो ।

हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

सरकारले भोलि (सोमबार)देखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि नै लागू हुनेगरि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए।

राष्ट्रियसभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं- राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ ।

राष्ट्रियसभाको आइतबार (चैत २२) बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेस गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार, सो आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्नुपर्ने हुन्छ ।

राष्ट्रियसभाको अर्को बैठक चैत २३ गते मध्याह्न सवा १२ बजे बस्नेछ । –न्युज एजेन्सी नेपाल

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट लिला भण्डारीलाई अगाडि बढाउने निर्णय

काठ्माण्डौ- राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट राष्ट्रिय सभा सदस्य लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ।

दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो।

राष्ट्रिय सभा बैठक भोलि बस्ने

राष्ट्रिय सभाको बैठक भोलि (चैत २३ गते सोमबार) बस्ने तय भएको छ।

आजको बैठकमा अध्यक्षले विषयगत समितिमा सदस्यहरुलाई मनोनयन तथा हेरफेर गरेका छन्।

बैठकमा प्रत्रानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोेविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेश गरेकी थिइन्।

मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक भर्खरै सुरु भएको हो।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री बालेनको नेतृत्वमा नयाँ सरकार बनेपछि आज तेस्रो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।

व्यवसायी सुलभ अग्रवाल प’क्राउ

काठमाडौँ । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएको हो ।

बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले रातोपाटीलाई बताए ।

अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् । उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रवार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री कप: सुदूरपश्चिमले दियो वागमतीलाई २१० रनको लक्ष्य

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले वागमती प्रदेशलाई २१० रनको लक्ष्य दिएको छ ।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४२.१ ओभरमा २०९ रनमा अलआउट भएको हो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले अर्धशतकीय पारी खेले । उनले ६८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ७५ रन बनाए ।

दिपक बोहराले ४०, अभिषेक पालले ३९ र अशोक धामीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

वागमतीका लागि सन्दीप लामिछाने र प्रतिस जिसीले ४–४ विकेट लिए । सोनु देवकोटा र रिजन ढकालले १–१ विकेट लिए ।

टस जितेर वागमतीले पहिले फिल्डिङ रोजेको हो ।

आइपीएलमा आज दुई खेल हुँदै

इन्डियन प्रिमियर लिग (आइपीएल)मा आज दुई खेल हुँदैछन्।

आइतबारको पहिलो खेलमा सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्ट प्रतिस्पर्धा गर्दैछन्। राजीव गान्धी क्रिकेट रंगशालामा हुन लागेको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेदेखि सुरु हुनेछ।

जारी प्रतियोगितामा सनराइजर्स हैदरावादले २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ। सनराइजर्सले पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा कोलकोतालाई पराजित गरेको थियो। त्यस्तै लखनउले आफ्नो पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।

त्यस्तै, आज हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किङसबीच खेल हुदैछ। बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।

रोयल च्यालेन्जर्स बैंगलुरुले पहिलो खेलमा सनराइजर्सलाई पराजित गरेको थियो। त्यस्तै चेन्नईले दुवै खेलमा हार बेहोरेको छ।

सुख्खा पहिरोले बाजुराको रौदीगाड लघुजलविद्युत पावर हाउसमा क्षति

बाजुरा। आइतबार बिहान बाजुराको गौमुल–३ मा आएको सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा क्षति पुर्याएको छ।

बिहान ६ः३० बजे पावर हाउसको माथिबाट आएको पहिरोले पावर हाउस र भित्र रहेका जेनेरेटर, एल्टिभोल्ड लगायतका सबै उपकरण पूर्णरूपमा नष्ट गरेको रौदीगाड लघुजलविद्युत आयोजनाका अध्यक्ष लालबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार पानी नपरेकै बेलामा पनि सुख्खा पहिरोले पावर हाउस पूर्णरूपमा क्षति पुऱ्यायो। यसले आयोजनाबाट लाभान्वित झण्डै तीन सय घरधुरी फेरि अन्धकारमा परेको छ।

यो आयोजना वैकल्पिक उर्जा प्रद्दन केन्द्रको आर्थिक सहयोगमा २०७७ सालदेखि निर्माण सुरु गरी २०७८ चैत २५ गते सम्पन्न भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार, “सुख्खा पहिरोले पावर हाउस पूर्णरूपमा क्षति पुऱ्याएको भए पनि मानवीय क्षति भने भएको छैन। अहिले क्षतिको ठ्याक्कै विवरणका लागि प्रहरी टोली जाँदैछ।”

सभामुख अर्यालको शपथ आजै हुने

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी)को शपथ आजै हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार, आज (चैत २२) दिउँसो २:३० बजे सभामुखको शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई शपथ खुवाउने छन् । अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित

काठमाडौं- प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन ।
उनी शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछानेले प्रस्तावक गरेका थिए । प्रताव गर्दै लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवादसमेत दिए । साथै सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए ।

समर्थक समेत रहेका रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले अर्याललाई शुभकामना दिँदै कार्यपालिका र व्यवस्थापिकाको भूमिकामा अर्याल अनुभवी रहेको विश्वास व्यक्त गरे । अर्याललमा शालिन समन्वयकारी भूमिका रहेकाले अगामी संसद लाभान्वित हुने उनको भनाई छ ।

शुभकामना दिँदै उनले भने-  ‘कार्यपालिका र व्यवस्थापिकाको जुन भूमिका हुन्छ त्यसमा उहाँ अनुभवी हुनुहुन्छ । उहाँले यो गरिमायय पद, संसदको अभिभावको रुपमा बडो जिम्मेवारी पूर्वक भूमिका निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं । शालिन समन्वयकारी भूमिका छ उहाँमा । आगामी संसद लाभान्वित हुनेछ ।’

अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्न लागेको हो ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ ।

शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

ओलीले सम्मानजनक बहिर्गमन नलिए विशेष महाधिवेशन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठुलो धक्का खाएको एमालेभित्र संस्थापनइतर पक्षले अध्यक्ष केपी ओलीको सम्मानजनक बहिर्गमन गराउने पहल सुरु गरेको छ । यो समूहले पार्टीलाई पुनर्जीवित गर्दै पूर्वावस्थामा फर्काउन अध्यक्षको राजीनामा र केन्द्रीय कमिटीदेखि तल्ला तहसम्मको पुनर्गठन आवश्यक ठानेको छ । अध्यक्ष ओलीले राजीनामा नदिए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको विकल्प अघि बढाउने तयारी छ । यसका लागि प्रतिनिधिहरूको हस्ताक्षर संकलन गर्न मागपत्रको मस्यौदासमेत तयार पारिएको छ ।

पार्टीले चुनावमा भोगेको पराजयको औपचारिक समीक्षाअगावै उपाध्यक्ष विष्णु पौडेलसहित अन्य नेताहरूको सहयोगमा पुनर्गठनको तयारी अघि बढाइएको हो । पौडेलको यो पहललाई एमालेभित्र अर्थपूर्ण मानिएको छ । अध्यक्ष ओलीले पार्टी पुनर्गठनको बाटो नखुलाए बहुमत प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन बोलाउने दबाब सिर्जना गर्ने रणनीति छ । पराजयको मूल जिम्मेवारी लिएर अध्यक्ष ओलीले पार्टी पुनर्गठनको बाटो नखुलाए विकल्पमा विशेष महाधिवेशन बोलाउनका लागि बहुमत प्रतिनिधिहरूको हस्ताक्षर बुझाउनेसम्मको तयारी छ ।

इतर समूहका नेता पार्टीलाई पुनर्जागृत गर्दै पूर्वावस्थामै फर्काउन अध्यक्ष ओलीको राजीनामासँगै केन्द्रीय कमिटी हुँदै तलैसम्म पुनर्गठन गर्नुपर्ने निष्कर्षमा छन् । उपाध्यक्ष पौडेलसहित इतर पक्षका पदाधिकारी गोकर्ण विष्ट, योगेश भट्टराई, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलगायत केन्द्रीय कमिटीमा रहेका अधिकांश नेता ओलीसहितको उपस्थितिमा आयोजना हुने केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकसम्म पर्खिएर सम्मानजनक बहिर्गमन सुनिश्चित गर्ने पक्षमा छन् । जेन–जी आन्दोलनमा भएको दमन आरोपमा ओली अहिले प्रहरी नियन्त्रणमा छन् । यद्यपि, स्वास्थ्य समस्याका कारण उनलाई अस्पताल राखिएको छ ।

पार्टीले व्यहोरेको अकल्पनीय पराजयको औपचारिक समीक्षाअगावै पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट रहेको इतर पक्षले संस्थापनमा रहेका उपाध्यक्ष विष्णु पौडेलसहित उनीनिकट अधिकांश नेतालाई समेत साथ लिएर पुनर्गठनका लागि तयारी सुरु गरेको हो । यस क्रममा युवा र जनसंगठनका नेताहरूले पनि अप्रत्यक्ष दबाब सिर्जना गर्दै हस्ताक्षर अभियानको प्रारम्भिक तयारी गरिरहेका छन् । पार्टी पुनर्गठनको मुद्दामा महासचिव शंकर पोखरेलले अन्ततः समर्थन दिन सक्ने र सचिवालय तथा केन्द्रीय कमिटीमार्फत निर्णय प्रक्रिया अघि बढाउन सकिने इतर पक्षको विश्वास छ ।

२१ फागुनको आमनिर्वाचनमा एमालेले पराजयको औपचारिक समीक्षा गरेको छैन । चुनावलगत्तै बसेको सचिवालय बैठकले परिणाम स्विकार्दै प्रदेश र जिल्लाहरूलाई समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । तर, अध्यक्ष ओलीको पिताको निधन र त्यसपछिको शोकपछि उनलाई सरकारले हिरासतमा राखेपछि एमालेले १२ वैशाखसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ओलीको गिरफ्तारीका कारण केन्द्रीय कमिटी बैठक बोलाउने भनिए पनि मिति तोकिएको छैन ।

आर्टिमिस–२ ले आधा बाटो पार गर्‍याे : पृथ्वीका सुन्दर तस्वीर सार्वजनिक

झन्डै साढे ५ दशकपछि मानिस लिएर चन्द्रमातर्फ गइरहेको अन्तरिक्षयान आर्टिमिस–२ ले चन्द्रमासम्मको आधा बाटो पार गरेको छ । आज नेपाली समयानुसार बिहान पौने १२ बजेतिर नासाको ड्यासबोर्डमा ओरिअन अन्तरिक्षयान पृथ्वीबाट २ लाख २८ हजार ५ सय किलोमिटर पर पुगेको देखिएको छ ।

त्यहाँबाट चन्द्रमा २ लाख १२ हजार ४ सय किलोमिटरको दूरीमा रहेको देखिन्छ । अन्तरिक्षयात्री क्रिस्टिना कोखले पृथ्वीबाट गएको २ दिन, ५ घण्टा र २४ मिनेटपछि आधा बाटो पुगेको जानकारी पाएपछि यानमा सवार सबैले खुशी अभिव्यक्त गरेको बताउनुभएको नासाले उल्लेख गरेको छ ।

नासाले आधा बाटोमा पुगेपछि अन्तरिक्षयात्रीले खिचेको पृथ्वीको उच्च गुणस्तरको तस्वीर पनि सार्वजनिक गरेको छ । नासाका अनुसार त्यो तस्वीर पृथ्वीको सबभन्दा नजिकको खगोलीय छिमेकीतर्फको मार्गमा पुगेपछि यानका कमान्डर रिड वाइजमनले खिचेका हुन् ।

हेलो, वर्ल्ड नाम दिइएको पहिलो फोटोमा विशाल नीलो भाग देखिन्छ जुन आन्ध्र महासागर हो । त्यसमा पृथ्वीले सूर्यलाई छेकिदिँदा वायुमण्डलको तेज र दुई ध्रुवतिर हरिया अरोरा देखिन्छन् ।

फोटोमा पृथ्वी उल्टो जस्तो देखिन्छ, जसमा पश्चिम सहारा र आइबेरियन प्रायद्वीप बायाँपट्टि देखिन्छ भने दक्षिण अमेरिकाको पूर्वी भाग दायाँपट्टि देखिन्छ । दायाँपट्टि तलतिर देखिने चम्किलो ग्रह बुध भएको नासाले जनाएको छ । अन्तरिक्षयात्रीहरूले शुक्रवार ट्रान्स–लुनार इन्जेक्सन बर्न प्रक्रिया सफलतापूर्वक गरेपपछि फोटो खिचेका हुन् ।

अब आर्टिमिस २ ले यात्रीहरूलाई चन्द्रमाको टाढाको भागमा पुर्‍याएर पृथ्वीमै फिर्ता ल्याउनेछ । यो अभियानअन्तर्गत सन् १९७२ पछि पहिलोपटक मानिसले पृथ्वीको कक्षभन्दा पर यात्रा गर्न लागेका छन् । अन्तरिक्षयात्रीहरू अप्रिल ६ मा चन्द्रमाको टाढाको भाग भएर घुम्दै अप्रिल १० मा प्रशान्त महासागरमा अवतरण गर्ने छन् ।

नासाले सन् १९७२ मा अपोलो १७ अभियानका टोलीले खिचेको र अहिले सन् २०२६ मा खिचिएको पृथ्वीको फोटो सँगसँगै राखेर तुलना गरेको छ । नासाले लेखेको छ, ‘५४ वर्षको अन्तरालमा हामीले लामो यात्रा गरेका छौँ तर एउटा चीज चाहिँ बदलिएको छैन : अन्तरिक्षबाट हेर्दा हाम्रो घर सुन्दर देखिन्छ ।’

-एजेन्सी

गण्डकीले कोशीलाई हरायो

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ ।

वीरगंजस्थित नारायणी क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा २२८ रनको लक्ष्य पछ्याएको कोशीले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १८८ रन बनाएको हो । जारी प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो ।

कोशीका लागि दिपेश कंडेलले अर्धशतकीय पारी खेले । ७३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै दिपेश ५२ रनमा नटआउट रहे । तथापि, जितका लागि पर्याप्त हुन सकेन ।

गण्डकीका लागि सिब्रिन श्रेष्ठले ३ विकेट लिए । अप्रजित पौडेल र सुवास भण्डारीले २–२ तथा विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले पूरै ५० ओभरमा ७ विकेटको क्षतिमा २२७ रन बनाएको हो ।

गण्डकीका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनले १४१ बलमा ८ चौका प्रहार गर्दै १०२ रन बनाए । अर्धशतकीय पारी खेलेका विपिन खत्री ७६ रनमा नटआउट रहे । उनले ८६ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

कोशीका लागि दिपेश कंडेलले ४ विकेट लिए । राकेश शाह र सुजन थपलियाले १–१ विकेट लिए ।

जुम्लामा बन्दैछ विश्वकै सातौं ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’

जुम्लाको पातारासीमा निर्माण हुने भनिएको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको बाटो अन्ततः नौ वर्षपछि खुलेको छ।

जग्गा अभावका कारण वर्षौंदेखि कागजमै अल्झिएको परियोजनालाई स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएर गति दिएका हुन्।

परियोजनाका लागि पातारासी गाउँपालिका-३ लोठचौरका लाउरो बोहोरा, गोरबहादुर बोहोरा र कुम्भ बोहोराले ६ हजार १ सय २० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले उक्त जग्गाको लालपुर्जा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालाई हस्तान्तरण गरिसकेका छन्।

यसअघि एक वर्षअघि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यसहितको टोली निर्माणस्थलमै पुगेर पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको नेतृत्वमा जग्गा व्यवस्थापन समिति बनाएको थियो।सोही पहलले अहिले जग्गा सुनिश्चित भएको हो।

२०७४ पुस ३ गते तत्कालीन खेलकुद मन्त्रालयका सचिव महेश दाहालको नेतृत्वमा यो परियोजनाको सम्भाव्यता अध्ययन भएको थियो। तर, जग्गा यकिन नहुँदा वर्षेनि बजेट विनियोजन हुने र खर्च नभएर फिर्ता जाने अवस्था थियो।

गत आर्थिक वर्षमा मात्रै पाँच करोड ६६ लाख रुपैयाँ फ्रिज भएको थियो। तत्कालीन खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले १० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए पनि जग्गा अभावकै कारण त्यो कार्यान्वयन हुन सकेको थिएन।

परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यसको कुल लागत एक अर्ब ५८ करोड रुपैयाँ अनुमान गरिएको छ। हालसम्म दुई करोड ५० लाख रुपैयाँ खर्च भएको छ भने चालू आर्थिक वर्षका लागि ६ करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ।

जग्गा प्राप्तिसँगै बजेट कार्यान्वयनको बाटो खुलेको भन्दै पातारासी-३ का वडाध्यक्ष गोविन्द रावतले अब पनि काममा ढिलाइ भए आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए।

समुन्द्र सतहबाट २ हजार ८ सय ५० मिटर उचाइमा बन्ने यो प्रशिक्षण केन्द्र निर्माणपछि विश्वकै सातौं हाइअल्टिच्युड ट्रेनिङ सेन्टर हुनेछ।

हालसम्म विश्वभर यस्ता केन्द्र ६ वटा मात्र रहेका छन्। यहाँ भलिबल, फुटबल, कराँते, बक्सिङ, तेक्वान्दो, बास्केटबल र एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढी खेलका लागि पूर्वाधार निर्माण हुनेछन्।

साथै, स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, पाहुनाघर र सुरक्षा संरचनासहितको पूर्ण ‘स्पोर्ट्स कम्प्लेक्स’ बनाउने लक्ष्य राखिएको छ।

यो पूर्वाधार बनेपछि पातारासीको पहिचान नै फेरिने दाबी स्थानीयले गरेका छन्। अहिलेसम्म विश्वको उच्च स्थानमा मार्सीधान फल्ने क्षेत्र (छुमचौर) र हिमशृङ्खलाका कारण चिनिएको पातारासी अब अन्तर्राष्ट्रिय खेलग्राम बन्नेछ।

यद्यपि, यति ठूलो संरचना सफल बनाउन पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन। यसको दिगोपनका लागि सडक पहुँच, स्वास्थ्य सेवा, सञ्चार सुविधा र नियमित हवाई उडान जस्ता बहुआयामिक विकास आवश्यक पर्ने सरोकारवालाहरूले औंल्याएका छन्।

युएइमा ‘ड्रोन’ खस्दा घाइते सबै नेपाली खतरामुक्त

अबुधाबी : युनाइटेड अरब इमिरेट्स (युएई) को अब्जान क्षेत्रमा ‘ड्रोन’ का अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ३ अप्रिल २०२६ मा भएको उक्त घटनामा घाइते भएका ७ जना नेपालीमध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । दूतावासका अनुसार बाँकी एक जना गम्भीर घाइते भने अझै अस्पतालमा उपचाररत छन् । यद्यपि उनको अवस्था पनि खतरामुक्त रहेको र छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको जनाइएको छ ।

दूतावासले सबै घाइतेसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै केहीसँग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएको जनाएको छ । घटनापछि आवश्यक सहयोग र समन्वयका लागि दूतावास निरन्तर सक्रिय रहेको उल्लेख गर्दै युएई सरकारले घाइतेहरूको उपचार व्यवस्थापन गरिरहेको जनाएको छ । साथै मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकलाई स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ ।

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरू उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले (एशोसिएशन आफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल अफिन), नेपाल मेडिकल तथा डेण्टल कलेज एशोसिएशनलाई हालै एक पत्र जारी गर्दै सरोकारवाला पक्षहरूसँग गत कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।

उक्त सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।

सम्झौताअनुसार निजी मेडिकल कलेजहरूले आफ्नो शिक्षण अस्पतालहरूमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारको कम्तीमा पाँचौँ तहको सुरु तलब स्केल हालको रु ३४ हजार ७३० कात्तिक महिनादेखि नै दिने र अन्य निजी तथा सामुदायिक अस्पतालहरू तथा डेण्टल कलेजहरुले हालको तलब ३४ हजार ७३० को ८०५ तलब उपलब्ध गराउनुपर्ने भनिएको थियो ।

पत्रमा सहमतिअनुसार पारिश्रमिक नदिइएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्बन्धित निकायहरूलाई अनुगमन गरी सहमति कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको छ ।

नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय कार्यसमितिको बैठक आज (चैत २१) बस्दै छ । बैठकमा छलफलका निम्ति २१ एजेन्डा तय गरिएको छ । बैठकमा थुप्रै महत्त्वपूर्ण विषयमा छलफल गरिने क्यानले जनाएको छ ।

एजेन्डाको पहिलो बुँदामा सन् २०२६ सालको क्यानको वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन छ । दोस्रो बुँदामा संघको विधान संशोधनसम्बन्धी विषय छ । संघको वार्षिक साधारणसभा र जिल्ला संघहरूको निर्वाचनको विषय पनि समेटिएको छ ।

पाँचौँ बुँदामा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो र दोस्रो संस्करणसम्बन्धी सम्पूर्ण जानकारी छ ।

यस्तै, आवश्यक कर्मचारीहरूको नियुक्ति, वार्षिक लेखापरीक्षण प्रतिवेदनको अनुमोदन, लेखापरीक्षकको नियुक्ति, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना, सहभागिता र अनुमोदन, खेलाडी अम्पायर र प्रशिक्षकहरूको ग्रेडिङ निर्धारण, संघको कार्यक्रम तथा रणनीतिक साझेदारीको सम्बन्धमा, अम्पायर, म्याच रेफ्री र स्कोररहरूको पारिश्रमिकको सम्बन्धमा, राखेपबाट मनोनीत सदस्यहरूको सम्बन्धमा, गौरीटार क्रिकेट मैदानको सम्बन्धमा, खेलाडी र कर्मचारीहरूको बिरामी तथा घाइते उपचारको सम्बन्धमा जस्ता विषयमा निर्णय गरिने क्यानले जनाएको छ ।

भाेलिदेखि मतदाता नामावली सङ्कलन गरिँदै

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ ।

प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ ।

प्रधानमन्त्री लाई अष्ट्रेलियाली विदेशमन्त्रीले दिइन् बधाई

काठमाडौं ।  नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेका बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले उनीप्रति बधाई ज्ञापन गरेको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए ।

कांग्रेस संसदीय दलको नेता चैत २४ गते चयन हुने

काठ्माण्डौ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो।

बैठकले सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ।

अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन्।

फेवाताल किनाराका संरचना हटाउन शुरू

काठमाण्डौ- पोखरा महानगरपालिकाले फेवातालको किनारामा रहेका अनाधिकृत संरचनाहरु हटाउन शुरू गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले ताल किनाराका अवैध संरचनाहरुमा डोजर चलाउन थालेको हो ।

महानगरपालिकाका मेयर धनराज आचार्यकाअनुसार संघीय सरकार, प्रदेश सरकार र पालिकाको संयुक्त सहजीकरणमा फेवा संरक्षणको कामलाई तिव्रता दिइएको हो । मेयर आचार्यले सर्वोच्च अदालतको फैसलालाई पूर्ण रूपमा कार्यान्वयन गर्न महानगर प्रतिबद्ध रहेको बताए।

मेयर आचार्यले विगत तीन वर्षदेखिको निरन्तर प्रयासपछि गएको असार मसान्तमा तालको सीमाङ्कनका लागि पोल गाड्ने काम सम्पन्न भएको जानकारी दिए । त्यसपछिको अर्को महत्त्वपूर्ण कदमका रूपमा ६५ मिटर मापदण्ड भित्रका संरचना हटाउन लागिएको हो । अदालतबाट कुनै स्टे अर्डर नआएपछि महानगरले आफ्नो योजनाअनुसार संरचना हटाउने काम अगाडि बढाएको उनले स्पष्ट पारे ।

संघीय सरकारको १०० दिने प्राथमिकताको कार्यक्रममा पनि फेवा संरक्षणको विषय परेकोले तीनै तहका सरकारको समन्वयमा यो अभियान थालिएको हो । पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर मापदण्डभित्र पर्ने संरचनाहरू भत्काउन शुरू गरेसँगै स्थानीय व्यवसायीहरूले भने बिना पूर्वसूचना र मुआब्जा बिना नै रातारात संरचना भत्काइएको भन्दै विरोध जनाएका छन् ।

व्यवसायीहरूले फेवाताल संरक्षणको अभियानमा आफूहरूको पूर्ण समर्थन रहेको तर प्रक्रिया पारदर्शी र न्यायपूर्ण हुनुपर्ने माग गरे । महानगरले भने मापदण्ड कार्यान्वयनमा कुनै सम्झौता नगर्ने अडान लिँदै आएको छ ।

 

प्रधानमन्त्री कप : आसिफ शेखको अर्धशतकमा कर्णालीमाथि एपीएफको जित

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ ।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा शनिबार भएको खेलमा १०८ रनको लक्ष्य एपीएफले कुनै विकेट नगुमाई १२ ओभरमा पूरा गरेको हो । एपीएफको यो दोस्रो जित हो ।

एपीएफका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । आसिफ ३८ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ६५ मा नटआउट रहे। दीपक बोहरा ४२ रनमा नटआउट रहे ।

पहिले ब्याटिङ गरेको रोजेको कर्णाली ३६ ओभरमा १०७ रनमा अलआउट भएको हो ।

कर्णालीका लागि अर्जुन घर्ती ३८ रनमा नटआउट रहे । दीपेन्द्र रावतले २५, रविनद्र शाहीले १८ र सुनिल धमलाले १७ रन बनाए ।

एपीएफका लागि कमल ऐरी रअभिषेक गौतमले ४–४ विकेट लिए । रोहित पौडेलले १ विकेट लिए ।

अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील छः मन्त्री खनाल

काठ्माण्डौ- परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा शनिबार आयोजना गरेको एक कार्यक्रममा उनले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने वर्तमान सरकारको नीति रहेको बताए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि समुदायसँग मिलेर प्रहरीले काम गरिरहेको बताए ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको खानेपानी समस्या समाधानका निम्ति नगरपालिकाले सरकारबाट सहयोग चाहेको बताए ।

नेपाली कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्माले जनताको इच्छा पूरा गर्न सरकार लाग्नुपर्ने सुझाउ दिए ।

रवि र ज्ञानेन्द्रबिच भेटवार्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच शनिबार भेटघाट भएको छ। लामिछानेको निजी निवासमा करिब एक घण्टा लामो संवाद भएको हो।

प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबिचको यो भेटलाई अर्थपूर्ण मानिएको छ। भेटघाटको मुख्य एजेन्डा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिमा केन्द्रित रहेको बुझिएको छ।

रास्वपाले यसअघि नै डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने बाध्यता छ। यही कारणले गर्दा रास्वपाले सत्ता पक्षभन्दा बाहिरका दलहरूसँग सहकार्य गर्नुपर्ने स्थिति छ।

खोज्नुहोस