फेवाताल किनाराका संरचना हटाउन शुरू

द एभरेष्ट पोष्ट
२१ चैत २०८२ १४:०५
फेवाताल किनाराका संरचना हटाउन शुरू

काठमाण्डौ- पोखरा महानगरपालिकाले फेवातालको किनारामा रहेका अनाधिकृत संरचनाहरु हटाउन शुरू गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले ताल किनाराका अवैध संरचनाहरुमा डोजर चलाउन थालेको हो ।

महानगरपालिकाका मेयर धनराज आचार्यकाअनुसार संघीय सरकार, प्रदेश सरकार र पालिकाको संयुक्त सहजीकरणमा फेवा संरक्षणको कामलाई तिव्रता दिइएको हो । मेयर आचार्यले सर्वोच्च अदालतको फैसलालाई पूर्ण रूपमा कार्यान्वयन गर्न महानगर प्रतिबद्ध रहेको बताए।

मेयर आचार्यले विगत तीन वर्षदेखिको निरन्तर प्रयासपछि गएको असार मसान्तमा तालको सीमाङ्कनका लागि पोल गाड्ने काम सम्पन्न भएको जानकारी दिए । त्यसपछिको अर्को महत्त्वपूर्ण कदमका रूपमा ६५ मिटर मापदण्ड भित्रका संरचना हटाउन लागिएको हो । अदालतबाट कुनै स्टे अर्डर नआएपछि महानगरले आफ्नो योजनाअनुसार संरचना हटाउने काम अगाडि बढाएको उनले स्पष्ट पारे ।

संघीय सरकारको १०० दिने प्राथमिकताको कार्यक्रममा पनि फेवा संरक्षणको विषय परेकोले तीनै तहका सरकारको समन्वयमा यो अभियान थालिएको हो । पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर मापदण्डभित्र पर्ने संरचनाहरू भत्काउन शुरू गरेसँगै स्थानीय व्यवसायीहरूले भने बिना पूर्वसूचना र मुआब्जा बिना नै रातारात संरचना भत्काइएको भन्दै विरोध जनाएका छन् ।

व्यवसायीहरूले फेवाताल संरक्षणको अभियानमा आफूहरूको पूर्ण समर्थन रहेको तर प्रक्रिया पारदर्शी र न्यायपूर्ण हुनुपर्ने माग गरे । महानगरले भने मापदण्ड कार्यान्वयनमा कुनै सम्झौता नगर्ने अडान लिँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस