कांग्रेस संसदीय दलको चुनाव वैशाख ४ गते हुने

नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि वैशाख ४ गते निर्वाचन हुने भएको छ।

वैशाख ४ गते निर्वाचन गर्ने गरी कार्यतालिका ल्याउने तयारी छ।

सहमहामन्त्रीसमेत रहेका निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ ले वैशाख २ गते संसदीय दल नेता चयनबारे निर्वाचन कार्यतालिका ल्याइने बताए।

‘निर्वाचन समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका ल्याउँछ, ४ गते निर्वाचन हुन्छ,’ उनले भने, ‘सर्वसम्मत नभए प्रतिस्पर्धाद्वारा संसदीय दल नेता चयन हुन्छ।’

प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्।

कांग्रेसमा पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, सांसदहरू मोहन आचार्य, निश्कल राई, बासना थापालगायत संसदीय दल नेताका आकांक्षी छन्।

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

धादिङ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र जनताका लागि तटस्थ रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघले आइतबार धादिङमा आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए । संविधान संशोधनका साथै  नयाँ कानुन बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ छ ।

“विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु”, उनले भने ।

जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्र्याक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता उनले जनाए । बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनको भनाइ छ । रासस

भारतीय गायिका आशा भोसलेको निधन

मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।

केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।

उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् ।

उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।

भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय र अत्यन्तै सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो ।

सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् । त्यसपछिका तीन दशकसम्म उनी अधिकांश संगीतकारहरूको रोजाइकी गायिका बनिरहेकी थिइन् ।

सुरुआती समयमा उनलाई नृत्यप्रधान गीतमा मात्र सीमित गरिए पनि उनले आफ्नो दायरा फराकिलो बनाउँदै ‘उमराव जान’ जस्ता फिल्ममा गजल गायनमा पनि उत्कृष्टता देखाइन् ।

उनी फिल्मफेयर उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । साथै, ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन् ।

सन् २०२३ मा हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा आशा भोसलेले समकालीन संगीतबारे आफ्ना विचार व्यक्त गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘साँचो भन्नुपर्दा म आजकालका गीतहरू सुन्दै सुन्दिनँ । यदि गीत सुन्नैपर्छ भने म भिमसेन जोशीका गीत, शास्त्रीय संगीत र गजल सुन्छु । त्यसबाट सिक्ने मौका मिल्छ र आफ्नै गायनलाई अझ राम्रो बनाउने अभ्यास पनि हुन्छ । यसले मेरो गायन क्षमता झन् निखारिन्छ र म अझ राम्रोसँग गाउन सक्छु ।’

उनले अहिलेका गीतबारे थप्दै भनेकी थिइन्, ‘आजकल उत्कृष्ट शब्द भएका गीतहरू कमै पाइन्छन् जस्तो लाग्छ । कहिलेकाहीँ सुन्छु र केही राम्रो गीत पनि भेटिन्छन्, जस्तै राहत फतेह अली खान र सुनिधि चौहानका । तर म धेरैजसो संगीत सुन्दिनँ । यदि सुन्नै परे भने पुराना गीतहरू नै सुन्छु ।’

क्यानले गर्‍यो करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ ।

विभागीय टिम नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणलाई क्यानले आइतबार (चैत २९) एक खेलका निम्ति प्रतिबन्ध लगाएको हो ।

शनिबार (चैत २८) करणले सामाजिक सञ्जालमा यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला ? भनेर सामाजिक सञ्जाल ‘एक्स’मा कमेन्ट गरेका थिए । आइतबार संघले उनको यही कमेन्टप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही गरेको हो ।

संघले करणलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिबाना तिराउने निर्णय गरेको छ ।

“प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत खेलहरू सञ्चालन भइरहेका क्रममा नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,” क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हाल उनी आबद्ध पुलिस तालिकाको तेस्रो स्थानमा छ । सात खेल खेलेको पुलिसले चार जित र दुई हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पुलिसको एक खेल भने रद्द भएको थियो ।

जैविक विविधता र वनस्पति संरक्षणमा वनमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएकी छिन् ।

साथै, उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताएकी छिन् ।

वनस्पति दिवसका अवसरमा आज (चैत २९) यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने बताइन् ।

मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको बताउँदै समयमै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै जोखिममा पर्ने चेतावनी दिइन् ।

“नेपाल जैविक विविधतामा धनी राष्ट्र हो, विशेषगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका दृष्टिले हाम्रो देश महत्त्वपूर्ण स्थानमा छ,” मन्त्री चौधरीले भनिन्, “तर अझै पनि कच्चा पदार्थका रूपमा निर्यात गर्ने परम्परा तोड्न सकेका छैनौँ ।”

मन्त्री चौधरीले जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य भएको बताइन् ।

देशमा उपलब्ध जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी औषधि विकासलाई उन्नत चरणसम्म पुर्‍याउनुपर्ने बताइन् ।

बौद्धिक सम्पत्ति अधिकार, भौगोलिक संकेत, दर्ता तथा अनुसन्धान संस्थाको प्रभावकारिता मापनलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ ।

परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको मन्त्री चौधरीको भनाइ थियो । -रासस

बिसु पर्व मनाउन फर्किदैछन् स्थानीयहरु

कैलाली। सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाउन गाउँघरमा चहलपहल बढेको छ । चैतको सुरुआतदेखि बिसु मनाउन बाहिर रहेका आफन्तहरु घर फर्कन थालेका छन् ।

बिसुपर्वका लागि घर जाने तथा आउनेहरूको भारतीय सीमानाका र बसपार्क क्षेत्रमा दिनहुँ भिड लाग्ने गरेको छ । वर्षभरी भारतमा मजदुरी गरेर परिवारसँग नयाँ वर्ष मनाउन पाउँदा उनीहरूमा उत्साह देखिएको छ ।

रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाको समेत यतिबेला घर फर्कनेक्रम बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वका नामले धुमधाम साथ मनाउने प्रचलन रहेको छ ।

यस प्रदेशमा रहेका कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा दिनहुँ हजारौँको संख्यामा नेपाली घर फर्किरहेका छन् । गाउँघरमा समेत चहलपलह बढेको छ । गाउँघरमा लिपपोत गर्ने, मिठामसिना खानाका परिकार बनाउने गरिएको पाइन्छ ।

बिसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउने गरेका छन् । बिसुपर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको छ ।

मजदुरीका लागि भारत पसेका डोटीका हर्कबहादुर महरा नयाँ बर्ष र बिसु पर्व मनाउन तीन वर्षपछि घर आएको बताए । यतिबेला घर फर्किनु भएकाहरू धेरैजसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका छन् ।

त्यस्तै, कैलालीको त्रिनगर नाकामा घर फर्कदै गरेका अछाम साँफेबगरका किसन बिक पनि परिवारसँग बिसु पर्व मनाउन दुई बर्षपछि आएको बताए । उनले विशु पर्वसँगै हिउँदेबाली पनि भित्र्याउनु पर्ने भएकाले घर आएको बताए ।

बिसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दैआएका पहाडी समुदायमा एकआपसमा सिस्नु लगाएर रमाइलो गर्ने प्रचलन रहेको छ ।

बिनाभिसा आवत–जावत गर्न र सहजै रोजगारी प्राप्त हुने भएकाले पनि यस क्षेत्रका नेपालीको प्रमुख रोजगारीको गन्तव्य छिमेकी राष्ट्र भारत बन्न पुगेको हो । यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गरेका छन् ।

बैतडीमा २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण दिन निर्देशन

बैतडी। सडक डिभिजन कार्यालय बैतडीले सम्झौता अनुसार काम नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र निर्माण कार्य सम्पन्न नगरेको, भौतिक प्रगति अत्यन्त न्यून रहेको तथा पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि बेवास्ता गरिएको जनाएको छ ।

उक्त अवस्थालाई गम्भीर रूपमा लिँदै सम्बन्धित व्यवसायीलाई अन्तिम चेतावनी समेत दिइएको छ ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र ठेक्का सम्झौताका सर्तअनुसार ती ठेक्काहरू किन रद्द नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको कार्यालयले जनाएको छ ।

सूचनाअनुसार सम्बन्धित निर्माण व्यवसायीहरूले १५ दिनभित्र कार्यालयमा उपस्थित भई विश्वसनीय स्पष्टीकरण सहित तत्काल निर्माण कार्य सम्पन्न गर्ने ठोस कार्ययोजना पेश गर्नुपर्नेछ ।

तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरण नआएमा ठेक्का सम्झौता रद्द गरिने तथा सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राख्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ ।

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आइतबार शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराएका थिए ।

साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदायसमक्ष बहुपक्षीयता प्रति नेपालको प्रतिबद्धता

काठमाण्डौ- सरकारले बहुपक्षीयताप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको बताएको छ ।

न्युयोर्कमा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले बहुपक्षीयता र अन्तर्राष्ट्रिय ऐक्यबद्धताप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको हो । राष्ट्रसङ्घका लागि न्युयोर्कमा नेपालको स्थायी नियोगले आज विश्व संस्थाको  मुख्यालयमा २६३ औँ नेपाली सेना दिवस तथा राष्ट्रसङ्घीय शान्ति सेनामार्फत द्वन्द्वग्रस्त विश्वका विभिन्न देशमा शान्ति स्थापनामा ६८ वर्षदेखि निरन्तर योगदान गरेको सन्दर्भमा आयोजना गरेको  विशेष स्वागत समारोहमा नेपालले राष्ट्रसङ्घलाई केन्द्रमा राखेर वर्तमान विश्वले झेलेका चुनौती बहुपक्षीयताको प्रवर्द्धनबाट सामना गर्न सकिने बताएको हो ।

राष्ट्रसङ्घका लागि  नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली सेनाको गौरवशाली इतिहासबारे जानकारी दिएका नियोगले जनाएको छ । नेपाली सैनिकको सेवा, बलिदान र व्यावसायिकताबाट परिचित राष्ट्रिय संस्थाले राष्ट्रिय अखण्डताको रक्षा गर्नुका साथै विश्व शान्ति र सुरक्षाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राजदूत थापाले बताए ।

अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिकले विभिन्न राष्ट्रसङ्घीय ‘मिसन’मा सेवा गरिसकेको उल्लेख गर्दै नेपालले बहुपक्षीयता र अन्तर्राष्ट्रिय ऐक्यबद्धताप्रति आफ्नो दृढ प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आएको उनले बताए ।

राष्ट्रसङ्घका उपमहासचिव जिन पियर लाँक्रोले नेपाली शान्ति सैनिकको समर्पण र व्यावसायिकताको प्रशंसा गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरेका थिए ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, सैन्य तथा प्रहरी सल्लाहकार, राष्ट्रसङ्घका उच्चअधिकारी, नेपालका मित्र तथा पूर्वसैनिक अधिकारीहरूको उपस्थिति थियो ।

स्थायी बसोबास र रोजगारी पाउने आसमा कैलालीका मुक्त कमैया

कैलाली। कैलालीका विभिन्न पालिकामा बसोबास गर्ने मुक्त कमैयामध्ये धेरैको अझै बसोबासको ठेगान छैन । मुक्त भएको २५ वर्ष पुग्न लाग्दा उनीहरूले मुक्त कमैयाको परिचयपत्र त पाएका छन् तर आफ्नो नाममा जग्गाधनी पुर्जा भने पाएका छैनन् ।  कैलालीको घोडाघोडी नगरपालिका–८, आमफाँटा मुक्त कमैया बस्तीका रामलाल चौधरीले परिचयपत्र पाए पनि अहिलेसम्म आफ्नो भाइले जग्गा नपाएको बताए । आफूसँगै बसेका भाइ शिवप्रसाद अहिले रोजगारीका लागि भारतमा रहेको उनले जानकारी दिए ।

उनले राज्यसँग धेरै पटक आफ्ना समस्या राखे पनि मुक्त कमैयाको समस्या सुनुवाइ नभएको गुनासो गरे । उनले भने, “पहिला भाइले रातो परिचयपत्र पाउन छुट्यो । अहिले परिचयपत्र, छ बसोबासको व्यवस्था छैन ।” घोडाघोडी नगरपालिका–४, बाटुलीचौरमा २१ घर मुक्त कमैयाको अस्थायी शिविर छ । परिचयपत्र पाएका तर बसोबासको ठेगान नभएका उनीहरू २०६० सालमा बाटुलीचौरमा अस्थायी रूपमा बस्दै आएका छन् । शिविरका जुगराम चौधरीले सरकारबाट जग्गा पाउन छुटेका आफूहरूको अहिलेसम्म व्यवस्था हुन नसकेको गुनासो गरे । नयाँ सरकारले आफूहरूका लागि केही गर्छ कि भन्ने आस पलाएको उनले बताए ।

मुक्त कमैया बस्तीमा अर्को मुख्य समस्याका रूपमा बेरोजगारी रहेको छ । रामलाल र जुगरामका छोराबुहारी काम गर्न भारत गएका छन् । रामलालले १३ जना रहेको आफ्नो परिवारमा छ जना भारतमा काम गर्न गएको बताए । “यतै रोजगारी पाएको भए भारत जाने थिएनन् । नेपालमै उद्योग, कलकारखाना खुले त हामीले काम पाउने थियौँ, उनले भने । सरकारले दिएको पाँच कट्ठा जमिनमा घरबास बनाएका शिविरका अधिकांश कामको खोजीमा भारत जाने गर्छन् । आमफाँटा शिविरका टीकादेवी चौधरीले गाउँका अधिकांश युवा कामका लागि भारत जाने गरेको बताए । उनले भारतमा जोखिम मोलेर काम गर्दा कतिपयले उतै ज्यान गुमाउने गरेको दुःखेसो गरे ।

आमफाँटा शिविरमा दुई सय परिवार मुक्त कमैया छन् । घोडाघोडी नगरपालिकाका–१२ वटा वडामा मुक्त कमैया शिविर रहेका छन् । कैलालीमा सबैभन्दा बढी मुक्त कमैया शिविर रहेको घोडाघोडी नगरपालिकालाई मानिन्छ । मुक्त कमैयाले जग्गा पाउन छुटेकाका लागि लालपुर्जासहितको बसोबासको व्यवस्था र नेपालमै काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग मौरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

काठमाडौं । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मौरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मौरिसस र सिंगापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री खनालले मौरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री एचइ धनञ्जय रामफल र सिंगापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एचइ जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल गरेका थिए । -रासस

सामान्य बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत २९) सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघिको कारोबार दिन शुक्रबार (चैत २७) दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो ।

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा पाँचथरमा एक युट्युबर प’क्राउ

पाँचथर। युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

‘Hades’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।  -अनलाइनखबरबाट

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न कैलालीका निर्माण व्यवसायीको माग

धनगढी। कैलालीका निर्माण व्यवसायीले निर्माण उद्योगमा आपत्काल घोषणा गरी अविलम्ब व्यवसायीलाई राहत दिन नेपाल सरकारसँग माग गरेका छन् । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै व्यवसायीले आपत्काल घोषणा गरी राहत दिन माग गरेका हुन् । सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार दुई दिन बिदा दिए जस्तै इन्धनको कारण उत्पन्न असहज परिस्थितिमा निर्माण उद्योगमा पनि बिदा लागु गर्न उनीहरूको माग छ । अहिलेको अवस्थाले निर्माण उद्योग ठप्प हुने अवस्था रहेकाले आपत्काल घोषणा गरी व्यवसायीलाई अविलम्ब राहत दिनुपर्ने निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष टेकबहादुर मल्लले बताए । सङ्घद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मटितेललगायतका इन्धन र बिटमिन सामग्रीमा भइरहेको पटक पटक अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग सङ्कटमा परेको बताए ।

“हामीलाई थाहा छ, इन्धनको मूल्यवृद्धि हाम्रो मुलुकको मात्रै नभई विश्वव्यापी समस्या हो,” अध्यक्ष मल्लले भने, “तर, राज्य हाम्रो अभिभावक हो । अप्ठ्यारो परेको अवस्थामा हाम्रो आवाज राज्यले नसुने कसले सुनिदिने ?”

निर्माण कार्यको मूल्य समायोजन नेपाल राष्ट्र बैङ्कको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भए तापनि राष्ट्र बैङ्कको इन्डेक्समा उक्त सामग्रीको मूल्य घटेकोे देखाइने प्रचलनका कारण थप सङ्कट निम्तिएको जनाइएको छ । “निर्माण कार्य तीव्र रूपमा हुने समयमा इन्धनसहित निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धि एवं बजारमा भएको अभावले निर्माण व्यवसायीलाई ठुलो आर्थिक भार परिरहेको छ,” उनले भने ।

आयोजनामा मूल्यवृद्धि भए अनुरूप हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने भएकाले मूल्य समायोजनको मार्ग निर्देशन–२ तत्काल जारी गर्न सङ्घले माग गरेको छ । सबै अवधिका ठेक्काका हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीको समस्या तुरुन्त सम्बोधन गर्न सरकारलाई निर्माण व्यवसायीको आग्रह छ । निर्माण क्षेत्र विकास र जनताका लागि आवश्यक पूर्वाधार रहेको उल्लेख गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश सेठीले यसलाई नियालेर नहेरिए विकासका नाममा विनाश हुने बताए ।

बुधबारदेखि देशभर शुरू हुने आर्थिक गणनाको तयारी पूरा

काठमाण्डौ- दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ ।

आउँदो वैशाख २ गते बुधबारदेखि देशभर आर्थिक गणनाको काम शुरू हुँदैछ । कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आउँदो असार महिनाको पहिलो हप्ताभित्र सम्पन्न हुनेछ । गणनाका लागि झण्डै पाँच हजार जनशक्ति परिचालित भएका छन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दोस्रो आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै उद्योग प्रतिष्ठान, उद्योगी व्यवसाय तथा सरोकार भएकाहरूलाई आग्रह गरेका छन् । उनले देशको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलनको महत्वपूर्ण कार्यमा योगदान गर्न अनुरोध गरेका छन् ।

गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण सङ्कलनको उद्देश्य राखिएको छ ।

देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ ।

आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसमा सबैको सक्रिय सहभागिता जरुरी रहेको तथ्याङ्क कार्यालयले स्पष्ट पारेको छ । यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेका विवरण सार्वजनिक भएको थियो ।

 

अमेरिका–इरान प्रत्यक्ष वार्ता ४७ वर्षपछि

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबिच २८ फेब्रुअरीदेखि सुरु युद्ध अन्त्य गर्न पाकिस्तानको राजधानी इस्लामाबादमा प्रत्यक्ष वार्ता सुरु भएको छ । दुवै पक्षले पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफसँग छुट्टाछुट्टै द्विपक्षीय बैठक गरेपछि शनिबार साँझ प्रत्यक्ष वार्तामा बसेका हुन् । इस्लामाबादमा भइरहेको युद्धविराम वार्तामा विश्व समुदायको नजर छ । यो १९७९ को इस्लामिक क्रान्तिपछि वासिंटन र तेहरानबिच उच्चस्तरीय पहिलो प्रत्यक्ष प्रत्यक्ष वार्ता हो ।

वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । भान्ससँगै अमेरिकी टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जेरेड कुस्नर पनि समावेश छन् । इरानको ७० भन्दा बढी व्यक्तिको प्रतिनिधिमण्डलको नेतृत्व संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका उपराष्ट्रपति भान्सले वार्ताअघि पाकिस्तानी प्रधानमन्त्री सरिफलाई भेटेका थिए । इरानी संसद्का सभामुख गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीलगायत इरानी अधिकारीले पनि सरिफसँग भेट गरेका थिए । त्यसपछि अमेरिका र इरानका उच्च अधिकारी प्रत्यक्ष वार्तामा बसेका हुन् ।


मोदीको प्रधानमन्त्री शाहलाई निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । प्रधानमन्त्री शाहले पनि समकक्षी मोदीको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ पठाएका छन् । निमन्त्रणासँगै सरकारले प्रधानमन्त्री शाहको भ्रमणको तयारी थालेको छ ।

शाह प्रधानमन्त्री भएपछि मोदीले विदेश मन्त्रालयमार्फत पठाएको लिखित बधाई सन्देशमा उपयुक्त समयमा भारतमा स्वागतका लागि प्रतीक्षारत रहेको उल्लेख गरेको परराष्ट्रमन्त्री शिशिर खनालले पुष्टि गरेका छन् । साथै, शुक्रबार मौरिससमा भएको भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटमा सुरुमा काठमाडौंमा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय बैठक राख्ने र त्यसपछि उच्चस्तरीय भ्रमण तय गर्ने सहमति बनेको मन्त्री खनालले बताए ।

 

विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध गर्ने निर्णयको नेकपाद्वारा विरोध

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जुनसुकै प्रकारको छानविनका लागि पनि तयार रहेको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा नै गरिसकेको दाबी गरे ।

सबै प्रकारका छानबिका लागि आफू तयार रहेको बताउँदै उनले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गरे । उनले भने, ‘सम्पत्ति छानबिनको कुरा मेरै पालामा निर्णय गरेको हो । मैले धेरै चोटी भनिसकें ।

’प्रचण्डले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारबारे टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् । उनले भने, ‘हामी हेर्दैछौँ, अहिले नै टिप्पणी गर्ने बेला भएको छैन । सकेसम्म राम्रो गरोस् ।’ सरकारले पूर्व प्रधानमन्त्री प्रचण्डसहित शेरबहादुर देउवा, केपी ओलीसहित सबै शीर्ष तहका नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा प्रक्रियागत काम पूरा

काठमाण्डौ – प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रक्रियागत काम पूरा गरेर सम्पन्न भएको छ । अधिवेशनले डोलप्रसाद अर्याललाई सभामुख र रुवीकुमारी ठाकुरलाई उपसभामुखमा निर्वाचित गरेको छ ।

यस्तै राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्वाचित हुनुभएको छ । दुवै सदनका समितिहरूमा सदस्य मनोनयन भइसकेकाले आउँदो वैशाख ४ गते समितिका सभापतिहरूको चुनाव हुनेछ । ६ दिनमा ६ पटक बसेका प्रतिनिधिसभाका बैठकहरूबाट जम्मा १० घण्टा ५० मिनेट संसदीय कार्य सम्पन्न भएको छ ।

अन्तरिम सरकारको पालामा जारी भएका महत्त्वपूर्ण अध्यादेशहरु पारित गर्नुको साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पछिल्ला वार्षिक प्रतिवेदनहरू पनि सदनमा पेश गरिएका छन् ।

अधिवेशनको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरे । अधिवेशनबाट आउँदो बजेट अधिवेशनमा सरकारको नीति, कार्यक्रम, बजेट र विधेयक पेश गर्ने मार्ग प्रशस्त भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । संसदका प्रक्रियाका कामहरु पूरा भएकाले अब त्यसतर्फ नलागी सरकारको विजनेसमा केन्द्रित हुन पाइने उनको भनाइ छ ।  -रासस

 

अविस्मरणीय खप्तड यात्रा

खप्तडलाई पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ। सुदूरका चारवटा जिल्लाहरु बझाङ, बाजुरा, अछाम र डोटीको बिच भागमा अवस्थित यो क्षेत्र प्राकृतिक र जैविकरुपमा विविधतायुक्त तथा आध्यात्मिकरुपेण बढो महत्वपूर्ण छ। नितान्त उच्च पहाडी भूभागका फराकिला पाटनहरु, पाटनसंगै उभिएका गजुरे थुम्काहरु, घना बनजंगल, एकान्त र शान्त बाताबरण तथा तमाम प्राकृतिक र आध्यात्मिक सम्पदाहरुको सेरोफेरोमा कम्तिमा आधा सताब्दी भन्दा बढी समय स्वामी खप्तड बाबाले गरेको तपस्यालाई मध्यनजर गरी हजारौं स्वदेशी तथा बिदेशी तिर्थयात्रीरपर्यटकहरु प्रतिबर्ष त्यहाँ आउनेजाने गर्दछन्।

शैक्षिक भ्रमणको सिलशीलामा बझाङस्थित जयपृथ्वी बहुमुखी क्याम्पसका स्नातकतह आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुसहित हामी दुइजना प्राध्यापकहरुले पनि सम्वत २०८२ चैत्र २४ र २५ मा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रकै अवलोकन भ्रमण सम्पन्न गरी आफूलाई धन्य तुल्याएका छौं। जीवन्त साक्षात्कारमार्फत खप्तडलाई नजिकबाट नियाल्दै त्यसका अन्तरङ्गहरुलाई मैले गम्भीर समिक्षासहित सम्पादन गर्ने प्रयास गरेको छु। प्राकृतिक सुन्दरताको एक अदभूत नमुना कहलीएको खप्तड आफैमा कयौं सम्पन्नता र केही अभाव, उजाड र अभिभावकत्व बिहिन भएर बिराजमान रहेको कथाब्यथा प्रति बढो चाँसो पूर्वक चिन्तित भएर यो यात्रास्मरण लेख्दैछु।
चैत्रको पहिलो साताबाटै होला साहेद क्याम्पसमा अध्ययनरत स्नातकतह आठौं समेस्टरका विद्यार्थीहरु खप्तड क्षेत्रको शैक्षिक भ्रमण जाने तयारी गर्दै थिए। क्याम्पस प्रशासनलाई त्यसबारेमा उनीहरुले मौखिक जानकारी समेत गरिसकेका थिए।

चैत २२ गतेको बिहान हुँदो हो उनीहरू समुह बनाएर क्याम्पसको प्रशासनिक कक्ष भित्र प्रबेश गरे र भन्न थाले, “सर हामी यही २४ र २५ गते खप्तडको शैक्षिक भ्रमणमा जाने भयौं, सरहरूले गैदिनुपर्यो”। म अकमकाए र क्याम्पस प्रमुखको आसनतर्फ फर्केरसल्लाह गरे। उहाँले हामी मध्य कोही त जानैपर्यो भन्दै मलाई र देवराज भट्टराई जीलाईत्यसतर्फ जान  भन्नुभयो। म एकछिन घोत्लिए र विद्यार्थीतर्फ फर्कदै “ए साच्चै मौसम त गडबड छ नि, कतै असहज त हुन्न निरु” भने।

विद्यार्थीहरुले आफ्नो पूर्व तयारी सबै पूरा भैसकेकाले जानैपर्ने बताएपछि म र सहकर्मी भट्टराइजी त्यसकालागि तयारी भयौं। साँच्चै म कोभिड-१९ को संक्रमण पश्चात लामो बाटो हिडेर यात्रा गर्न प्रायः असमर्थ हुन्छुस तथापि विद्यार्थीहरुको आग्रहलाई मैले नकार्न सकिन र त्यसतर्फ जाने निधो गरे।
चैत्र २४ गतेको बिहान यता आकाशमा बादल मडारिएको थियो। उता खप्तडमा बुझ्दा सम्भवतः पानी अब पर्ला कि तब पर्ला भन्ने अवस्थामा मौसमको अनुमान हुँदै थियो।जे भए पनि चौध जना विद्यार्थीहरु सहित हामी दुईजना प्राध्यापकहरु त्यसतर्फ चैनपुरबाट बिहान झण्डै नौबजे गाडी समातेर हिँडि नै सक्यौं।

गाडी चैनपुर हुँदै तमैल र त्यहीबाट खप्तडछान्ना तिर हाँनियो। नभन्दै करिब डेढ घण्टा पश्चात हामी चैनपुरबाट खप्तडको तल्लो बेस क्याम्प मेल्तडीमा पुगिहाल्यौं। गाडीको यात्रा त्यहीसम्म मात्र हुने भएकाले हामीले गाडीलाई धन्यवादसहित त्यहाँबाट बिदाइ गर्यौं  र लगत्तै हामीसंग भएको क्यामराले एक पोज सामुहिक फोटो खिचेर बाँकि झण्डै चार घण्टे पैदल यात्राका लागि तयार भयौं। प्रत्यकले पिठ्युमा झोला बोक्दै हातमा लौरोको सहाराले हामीसबै मेल्तडीबाट खप्तडको दोस्रो बेस क्याम्प लोखडातर्फ लाग्यौं। आकाशमा हल्का बादल भएकाले मौसम अलि सितल थियो र त हामी सजिलै करिब डेढ घण्टा पछि लोखडा पुग्यौं।

लोखडास्थित होमस्टेका साहुजीले हामीलाई मार्सिधानको भात, गुरासको दाल, भाँगोको अचार, दही र घिउसहितको खानाको थालिले स्वागत गरे। त्यतिनै बेला बाहिर सिमसिमे पानी पर्न थाल्यो। तर हाम्रो अहोभाग्य पानी एकछिनमै बन्द भयो। हाम्रा विद्यार्थीहरु त खुशिले नाँच्न पो थाले। त्यसपछि हामीले लोखडास्थित खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारी मार्फत निकुञ्जका बारेमा छोटो जानकारीमुलक सन्देश लियौं र भ्रमण विवरण दर्ता गराएर अलि अगाडि रहेको आर्मीको चेक पोइन्टमा परिक्षणकालागि लामबद्ध भयौं।

समरजित गुल्मका जवानहरु निकै जनप्रेमी र संस्कारी रहेछन्। क्याम्पसको भ्रमण टोली भन्ने वित्तिकै उनीहरुले हामीलाई स(सम्मान चेकजाँच गरी भ्रमणको शुभकामनासहित अगाडि बढ्न अनुमति दिए। उहाँहरुलाई एकमुस्ट धन्यवाद दिदै हामी दिउसोको करिब डेढबजे तिर लोखडाबाट खप्तडतिर लाग्यौं।
त्यसपछि हामी करिब साढे चार बजेतिर खप्तड क्षेत्रको पहिलो गन्तव्य घोडादाउने पाटनमा पुग्यौं। लामो उकालो हिडाई पछि समथर पाटनमा पुग्दा विद्यार्थीहरु खुशिले गदगद भए। छेउमै रहेको सानो मन्दिर भित्र पसेर उनीहरुले पूजा गरे। केही समय मस्त आनन्दकासाथतस्बिर खिच्दै र गित गुन्जाउँदै रमाइलो समेत गरे। त्यही पाटनकै छेउमा एउटा काठले बनेको भ्युटावर ठिङ्ग उभिएको थियो।

सम्भवतः त्यो एकबर्ष अगाडि लाखौं रुपियाँको लगानिमा बनेको होला। विद्यार्थीहरु त्यसमा सबै संगै चढेर तस्बिर र भिडियो खिच्न चाँहन्थे। तर बिढम्बना, माथि चढ्यो कि आफै चचहुइ चचहुइ खेल्न थाल्यो। त्यस पछि हाम्रा विद्यार्थीहरु चिचाउँदै भँइ झरे। मलाई लाग्यो, पहिलो कुरा त त्यस खालका काठका संरचनाहरु हिमाली भेगमा बनाउँनै हुन्नथ्यो। बनाइहाले पनि ति सुरक्षित वा जोखिमपूर्ण के(कस्ता छन्रु सरोकारवाला निकायले रेखदेख गर्नुपर्थ्यो, तर गरेनन्। त्यसप्रति हाम्रा विद्यार्थीहरुले गम्भिर रुपमा चाँसो र चिन्ता गरे।
त्यस पछि ढिला नगरी हामी झण्डै एक किलोमिटर टाढा रहेको होटेल जहाँ हामीले बास बस्ने निधो गरेका थियौं त्यही पुग्यौं र सरसामाग्री व्यबस्थापन गरेर भ्रमण गर्नुपर्ने सम्भाव्य स्थलका बारेमा एकछिन् छलफल गर्यौं। झण्डै ३००० बढी मिटरको उचाइमा अवस्थित खप्तड क्षेत्र माथिको आकाश निकै अदलबदल हुँदै थ्यो। बादल लागेर बेलुकाको चाररपाँच बजे नै झण्डै अँध्यारो झैं लाग्दैथ्यो। दोस्रो दिनको सम्भाव्य मौसम बदलीलाई ध्यान दिदै त्यो साँझ नै हामीले खप्तड बाबा आश्रम र त्रीबेणी धामको अवलोकन गर्ने निधो गर्यौं। सोही बमोजिम हामी खप्तड बाबाको आश्रमतर्फ गयौं। निबासबाट झण्डै एक किलोमिटर टाढाको बाबा आश्रममा पुग्यौं।

एकतले आश्रम एकान्तको जंगलमा अवस्थित थ्यो। त्यही आश्रममा बसेर खप्तड बाबाले झण्डै पचास बर्ष बढी समय तपस्या गरेका थिए। आश्रमसंगै बाबाको एउटा सानो सालिक र काठले बनेका एकजोडी खराउ सिबाय अरु केही थिएनन्। ढोकाहरु बन्द थिए। कुटि भित्र के छन् भन्नेकुरा हामीले देख्न पाएनौं तथापि बाबासंग सम्बन्धित केही दस्ताबेज र पहिरनका सरसामाग्रीहरु राखेका होलान भन्नेबारेमा हामीले अनुमान गर्यौं र छन पनि। तर कुटीको ढोका खोलेर भित्रको अवस्था हेर्ने ब्यबस्था दिनमा समेत बिरलै भएको कुराले म खिन्न भए, हामी खिन्न भयौं।

त्यो ऐतिहाँसिक स्थलको इतिहाँस झल्कने गरी एउटा फ्लेक्स ब्यानरमा आवश्यक कुरा लेखेर टाँसेको भए पनि नवआगन्तुकहरु त्यसका बारेमा सामान्य जानकार हुन्थे होलान्, त्यति सम्म पनि व्यबस्था नगरेको देख्दा सरोकारवाला निकाय प्रति खेद छ। जे भए पनि हामी दुईरचार थान तस्बिर खिचेर त्यहाँबाट त्रिबेणी धामतर्फ लाग्यौं।

त्रिबेणी धाम बाबा आश्रमबाट झण्डै एक किलोमिटर टाढा हुँदो हो। झण्डै आधा घण्टाको पैदल हिडाई पश्चात हामी त्रिबेणी धाममा पुग्यौं। त्यो एतिहाँसिक स्थल देखेर विद्यार्थीहरु अत्यन्तै सम्मोहक भए। उनीहरुले त्यसको चारैतिर अवलोकन गरे। दुइटा अलि ठूला (गंगा र जमुना) र एउटा सानो ९शान्ति कुण्ड० गरी तीनवटा नदीको संगम भएर नै त्यसलाई त्रिबेणी भनिएको रहेछ भन्नेकुरा उनीहरुले थाहा पाए। गंगा र जुमुना नदीको बिचमा एउटा सानो मन्दिर रहेको छ।

खप्तड क्षेत्रमा लाग्ने सबैभन्दा ठूलो मेला “दशहरा मेला” त्यसै धामको सेरोफेरोमा लाग्ने गर्दछ। देशबिदेशबाट हजारौं दर्शनार्थीहरु त्यो मेला भर्न आउने गर्दछन्। तर त्यो धाम पनि जस्तो बर्षौं अगाडि थियो, उस्तै छ। त्यो धामको इतिहाँस झल्किने गरी नत केही सजिसजावट छ न त त्यस सम्बन्धीको जानकारीमुलक बोर्ड नैछ।

हाम्रा विद्यार्थीहरुले त्यति महत्वपूर्ण स्थलका बारेमा पनि खासै जानकारी पाउँने विवरण भेटाएनन्। अँझ यतिसम्म कि साना आँखिझ्याल झैं झुण्ड्याइएका मार्ग देखाउने चिन्हहरु पनि अनेकार्थी लाग्ने। कम्तिमा देशिबेदेशी पर्यटकहरुले प्रस्ट देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजीमा लेखीएका ठूलाठूला स्थायी बोर्डहरु त्यहाँ राख्नुपर्ने हैन ररु ती नदीहरु वारपार गर्नकालागि तीनवटा काठका पुलहरु बनाइएका थिए।

बाह्रै महिना कहिले हिमपात त प्रायः पानी परिरहने खप्तड जस्तो ठाउँमा त्यी काठे पुलहरु मात्र बनाउँनुको रहस्य के होलारु एक बर्ष बनाए अर्को बर्षकालागि त ती सम्पदाहरु कुहेर बेकामे होलान्। यी र यस्तै प्रसङ्गका बारेमा हाम्रा विद्यार्थीहरु केही समय मन्थनीय। यी दुइवटा स्थलको अवलोकनसंगै साँझ पर्नै लाग्यो र हामीहरु निवासस्थल तिर फर्कियौं।
भ्रमणको दोस्रो दिन अर्थात चैत्र २५ गते खप्तड क्षेत्रमा बिहानै देखि हिमपात सुरु भयो। बिहान छ नबज्दै सुरु भएको हिमपात साँझ पाँच बजे र मध्यरातीसम्मै अनबरत रह्यो। यतिसम्म कि एक थोपा पानी नपरी हिउँ नै हिउँको बर्षा भयो। एका बिहानै देखि बाइसवटा उजाड पाटनहरु, बाउन्नवटा थुम्काहरु तथा हरियाली बनस्पतीहरु पूर्णतयाः चाँदनीको लेपन झैं सेताम्य हुन थाले। हिमपातको सेरोफेरोमा बिहानैदेखि हामी उत्सुक र चिन्तित दुबै भयौं।

चैत्र महिनाको पूर्वार्धमा हिउँसंग खेल्न पाउँदा खुशि भयौं भने बाँकि भ्रमण तथा घर फिर्नको असहजता सम्झेर चिन्तित। त्यती मात्र हैन हिमपातका कारण दुरसंचार र इन्टरनेट सेवा पनि पूर्णतया अबरुद्ध भयो। त्यो अबरोध कहिले सम्म भन्ने पनि अत्तोपत्तो भएन। जे भएपनि भारि हिमपातकै बिच हाम्रा विद्यार्थीहरुले खप्तड दह लगायत बिभिन्न पाटनहरुको अवलोकन गरे। हिउँसंग लडिबुडी गर्दै तस्बिर खिचे, टिकटिक बनाए, भिडियो खिचे, देउडा खेले, आदि आदि।

दिउसोको तीनरचार बज्दासम्म खप्तडी पाटनहरुमा हिउँको सतह झण्डै एक फिट जती माँपन भइसकेको थियो। हामी त्यही दिन घर फर्किने वा त्यही बस्ने भन्ने दुबिधामा रह्यौं। साँच्चै त्यही बसौं हिमपातले सताउने हो, घर फिरौं निरन्तर हिमपात छ। बाहिर सम्पर्क कतै नहुँदा हाम्रा मनमा अनेकाथरी सोचाइहरु आउन थाले।

खप्तडमा त छँदै छ कतै घर फिर्ने बाटोभरी पनि हिमपात त भएन भन्ने आसंका हुन थाल्यो। विविध चिन्ता र चाँसोका बिच अन्तमा हामीले घर फर्किने निर्णय गर्यौं र साँझ पाँच बज्नै लाग्दा आ-आफूसंग भएका रेनकोट, पलास्टिक, न्यानो लुगाकपडा, छाता, आदिको ओभानोमा घोडादाउँना पाटन हुँदै खप्तडछान्नास्थित लोखडा र त्यहीबाट मेल्तडी सम्मको पैदल यात्रा गर्यौं। त्यसपछि मेल्तडीमा एउटा गाडी बुक गरी राती दशबजे चैनपुर पुग्यौं।
अन्तमा त्यो दुइदिने शैक्षिक भ्रमण हामी प्राध्यापक र विद्यार्थीहरुका लागि निकै अविस्मरणीय रह्यो। भ्रमण अवधिभर साक्षात्कार भएका र अनुभूत गरिएका घट्नाक्रमका बारेमा सबै विद्यार्थीहरुले डाइरी लेखन गरेका छन्। पक्कै पनि भ्रमणमा संलग्न विद्यार्थीहरुको त्यो सिकाइ, अनुभूती र साक्षात्कार क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीहरुकालागि साझा प्रेरणा बन्न सकोस भन्ने अभिप्रायले केही दिन पश्चात सिकाइ आदानप्रदानमूलक कार्यक्रम मार्फत सार्वजनीक गरिने छ।

अविस्मरणीय यात्रास्मरण २ खप्तड राष्ट्रिय निकुञ्जन  अविस्मरणीय खप्तड यात्रा
लालबहादुर बोहरा
उप-प्राध्यापक
जयपृथ्वी बहमुखी क्याम्पस, भोपुर, बझाङ

जनस्वास्थ्य प्रमुख र स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको सदस्य नियुक्तिका विषयमा प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले स्पष्टीकरण तीन दिनभित्र बुझाउन समयसीमा दिएको छ । बिमा बोर्डको सदस्य नियुक्ति र बैठकमा उपस्थितिबारे वास्तविकता के हो स्पष्टीकरण दिन भनेको छ ।

“हालै स्वास्थ्य बिमा बोर्डको सदस्यको नियुक्ति तथा सदस्यको बैठकमा उपस्थितिलगायत विषयमा सार्वजनिक सञ्चारमाध्यममा आएका माइन्युटका विषयहरू, निर्णय र उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीहरूकै भूमिका रहेको भनी उल्लेख भएको सम्बन्धमा तपाईंको संलग्नता र भूमिका रहे/नरहेको, के कति कारणले यस्तो भएको हो,” प्रमुख जनस्वास्थ्य प्रशासक सापकोटालाई सोधेको स्पष्टीकरणमा मन्त्रालयले भनेको छ, “सत्य तथ्य स्पष्ट खुलाई तीन दिनभित्र जवाफ मन्त्रालयमा पेस गर्नू ।”

मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक पौडेललाई पनि आफ्नो भूमिका रहे अथवा नरहेको र माइन्युटको विषयका बारेमा प्रस्ट पार्न भनेको छ ।

“स्वास्थ्य बीमा बोर्डको सदस्यको नियुक्ति तथा सदस्यको बैठकमा उपस्थितिलगायत विषयमा सार्वजनिक सञ्चार माध्यममा आएका माइन्युटका विषय, निर्णय र उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीहरूकै भूमिका रहेको भनी उल्लेख भएको सम्बन्धमा तपाईंको संलग्नता र भूमिका रहे/नरहेको, र के कति कारणले यस्तो भएको हो,” मन्त्रालयले सोधेको स्वष्टीकरणमा भनिएको छ, “सत्य तथ्य स्पष्ट खुलाई तीन दिनभित्र जवाफ मन्त्रालयमा पेस गर्नू ।”

निस्क्रिय भइसकेको बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुनः बैठकमा सहभागी गराएको भन्दै विवाद भएपछि मन्त्रालयले सरोकारवालापक्षलाई स्पष्टीकरण सोधेको हो ।

यही विषयलाई लिएर श्रेष्ठका श्रीमान् तत्कालीन श्रममन्त्री दीपक साहलाई सरकारले पदमुक्त गरिसकेको छ ।

शिक्षा, स्वास्थ्य समितिमा गुरु बराल, जगदीश खरेलदेखि महावीर पुनसम्म

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गठन गरिएको छ । शुक्रबार (चैत २७) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले समिति गठनको प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सभाबाट स्वीकृत गरिएको हो ।

प्रतिनिधिसभाको विषयगत समिति हो यो । यो समितिमा रहने २७ सदस्यका नाम प्रतिनिधिसभाबाट मनोनयन गरिएको हो ।

यो समितिमा अचुत्तम लामिछाने, ओजश्वी शेरचन, कामिनी कुमारी, कुशुम महर्जन, खुसबु सरकार श्रेष्ठ, गणेश पौडेल, गुरुप्रसाद बराल, चन्द्रमोहन यादव, जगतप्रसाद जोशी, जगदीश खरेल (दोलखा) सदस्य छन् ।

यस्तै, झविलाल डुम्रे, तोसिमा कार्की, पुकार बम, प्रभा ढकाल, प्रमिलाकुमारी गच्छदार, भीमकुमारी बुढामगर, महावीर पुन, रबिन महतो, रमेशकुमार मल्ललाई समिति सदस्यमा मनोनयन गरिएको छ ।

रहवर अंसारी, राजन गौतम, राधिका रम्तेल, रिंगला यादव, डा. लेखजंग थापा, विष्णुबहादुर खड्का, शम्भुकुमार यादव, र सीता थपलिया पनि यो समितिका सदस्य हुन् ।

विषयगत समितिका सभापतिको निर्वाचन आउँदो वैशाख ४ गते हुने गरी मिति निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अनुष्का श्रेष्ठदेखि बब्लु गुप्तासम्म

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति गठन गरिएको छ । शुक्रबार (चैत २७) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले समिति गठनको प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सभाबाट स्वीकृत गरिएको हो ।

प्रतिनिधिसभाको विषयगत समिति हो यो । यो समितिमा रहने २६ सदस्यका नाम प्रतिनिधिसभाबाट मनोनयन गरिएको हो ।

यो समितिमा अनुष्का श्रेष्ठ, अभिषेकप्रताप शाह, अम्बिकादेवी संग्रौला, अर्जुनकुमार कार्की, उज्ज्वलकुमार झा, अंकिता ठाकुर, गणेशबहादुर विश्वकर्मा, गंगा छन्त्याल, तौफिक अहमद खान सदस्य छन् ।

यस्तै, दिपकराज बोहरा, धनन्जय रेग्मी, प्रमेशकुमार हमाल, प्रशान्त उप्रेती, बब्लु गुप्ता, बिना गुरुङ, भूमिका लिम्बू सुब्बा, मिङमा ग्याबु शेर्पा, रेनुका काउचालाई समिति सदस्यमा मनोनयन गरिएको छ ।

रुक्मिणीदेवी कोइराला, शिवशंकर यादव, श्रीधर पोख्रेल, सन्तोष राजवंशी, सन्दीप राना, सुम्निमा उदास, सुरेन्द्र चौधरी र हरिप्रसाद भुसाल पनि यो समितिका सदस्य हुन् ।

विषयगत समितिका सभापतिको निर्वाचन आउँदो वैशाख ४ गते हुने गरी मिति निर्धारण गरिएको छ ।

अस्पताल सेवा सुधार कार्यविधि जारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ।

अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो। मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुरुप कार्यविधि जारी गरेको हो।

कार्यविधिअनुसार अस्पतालले प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा सहज रुपमा उपलब्ध गराउनुपर्ने छ। बिरामीको उपचार अभिलेख र ‘फलोअप’ व्यवस्थित गर्न एकीकृत विद्युतीय अभिलेख प्रणालीको विकास, प्रयोगशाला प्रतिवेदन २४ सै घण्टा उपलब्ध गराउने, अस्पतालको फार्मेसीमा पाइने औषधि मात्र चिकित्सकले सिफारिस गर्नुपर्ने छ।

यसैगरी, बिरामीलाई ‘रिफर’ गर्नुपर्ने भएमा ‘रिफर स्लिप’सहित सरकारी अस्पतालमा पठाउनुपर्ने, अस्पतालमा दैनिक आवश्यक पर्ने औषधि फार्मेसीमा मौज्दात हुनुपर्ने, कार्यालय समयभित्र र सेवा प्रवाहका बेला औषधि बिक्री प्रवर्द्धक (एमआर)लाई प्रवेश दिन पाइने छैन।

कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्रले थप्यो जनशक्ति

धनगढी- सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा बीओपीलाई सुरक्षार्थ मद्दत गर्न एवंम् उनीहरुमाथि निगरानी समेत गर्नेगरि जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले सीमा क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन दुवै जिल्लामा जनशक्ति थपिएको बताए ।

उनकाअनुसार दुवै जिल्लामा ९०/९० जनाका हिसाबले थप १८० जना सशस्त्र प्रहरी परिचालन गरिएका छन् । उनीहरुलाई ३०/३० जनाको समूहमा बाँडेर तीन वटा छुुट्टाछुुट्टै टोली तयार पारिएको एसएसपी सुवेदीले बताए ।

पहिलो ३० जनाको टोली दिनमा र दोस्रो टोली रातिको समयमा सीमा क्षेत्रमा खटिनेछ भने अर्को टोलीले थप मद्दतका ३० जनाको अर्को टोली दैनिक तयारी अवस्थामा राखिनेछ ।

कैलालीमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेटक्वाटर धनगढी र कञ्चनपुरमा नं. ३५ गण हेटक्वाटर झलारीबाट टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति एसएसपी सुवेदीले सीमा क्षेत्रमा रहेका सीमा सुरक्षा गुल्म, बीओपी तथा अन्य युनिटहरूको कामकारबाहीको अनुगमनलाई थप प्रभावकारी बनाउन, अवैध रुपमा हुने चोरी–तस्करी नियन्त्रण गर्न र समग्र सीमा सुरक्षालाई मजबुत बनाउन अतिरिक्त जनशक्ति खटाइएको बताए ।

उनकाअनुसार सीमा क्षेत्रको अनुगमनका क्रममा सम्भावित विपद् जोखिमयुक्त स्थानहरूको अध्ययन तथा विश्लेषण समेत गरिनेछ ।

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षणका क्रममा सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि कैलालीका सीमा क्षेत्रको स्थलगत अवलोकन गर्दै कडाइका साथ नतिजामुखी कार्य गर्न मातहतलाई निर्देशन दिएका थिए ।

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम शाहको अध्यक्षतामा बैठक बसिरहेको हो ।

बैठकमा उठेका विषयहरू र राजनीतिक दलहरूको लिखित धारणा संकलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने तथा कार्यदलको आगामी कार्ययोजना तयार गर्नेबारे छलफल भइरहेको छ ।

कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई वृहत रूपमा अघि बढाउने लक्ष्य राखेको संयोजक शाहले जानकारी दिए । उनले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताए ।

नेपालको संविधानको धारा २७४ ले संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै उनले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे ।

निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा व्यापक छलफल गरी अघि बढ्ने उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल

चिकित्सक संघले भन्यो : आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिँदैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रिपरिषद्को बैठकद्वारा हप्ताको दुई दिन (शनिबार र आइतबार) सरकारी बिदा दिने निर्णय गरिएको भए पनि अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालहरूमा जनशक्ति नथपिएकाले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ९-५ ड्युटी बाहेक अनकलl, राउन्ड, इमर्जेन्सीलगायतका सेवा चौबिसै घण्टा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको संघको ठहर छ। नेपाल सरकारद्वारा स्वास्थ्य संस्थामा रहेका जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त अनुरोध कार्यान्वयन गर्न नसकिने र वर्कलोडका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या देखापर्ने सम्भावना रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

अस्पतालका कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने भनिएकोमा विगतमा विभिन्न कानुनी कारण देखाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बदा उपयोग गर्नबाट वन्चित गरिएको संघले जनाएको छ। ‘साथै विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरुपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरू अन्योलमा पर्नुका साथै अनावश्यक झन्झट व्यहोर्नुपर्ने हुनाले यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने देखिन्छ,’ संघले भनेको छ।

इन्धन अभावका कारण हप्ताको २ दिन बिदा दिने निर्णय गरिएकोमा स्वास्थ्य संस्थाको हकमा ओपिडी समय थप बढाई इन्धनको थप अपव्यय गरिनु अत्यन्त अव्यावहारिक रहेको र मन्त्रिपरिषद्ले निर्णय गरी राजपत्रमा उल्लेख गरिएको अवस्थामा शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय कार्यान्वयन नहुनुले स्वास्थ्य संस्थाहरूमा थप अन्योल सिर्जना हुने हुनाले स्वास्थ्य मन्त्रालयको उक्त अनुरोध फिर्ता लिई उचित निर्णय गर्न नेपाल चिकित्सक संघ जोडदार माग गरेको छ।

‘ज्यादै न्यून सेवा सुविधा दिई जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संघर्षमा उत्रिन बाध्य हुने र सो को जिम्मेवार मन्त्रालय स्वयं हुने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं,’ संघका महासचिव डा. सन्जिब तिवारीले भने।

कानुन निर्माण र संशोधनको काम फाष्ट ट्रयाकमा हुन्छ : सभामुख अर्याल

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र संशाेधनको काम फाष्ट ट्रयाकमा गरिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संशोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताए ।

उनले भने,‘नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संशोधन गर्न बाँकी छ । कानुन ,ऐन ,नियमावली र कार्यविधि कुनै पनि ठाउँमा संशोधन गर्नुपर्ने छ भने ,कसैको अहितमा कुनै पनि कानुन छ भने त्यो कानुनलाई फाष्ट ट्रयाकमा संसोधन गरेर नयाँ बनाउँछौं । यो राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा एक इन्च पनि दायाँ–बायाँ नभई इमान्दार र निष्पक्ष भएर भूमिका निर्वाह गर्ने छु । जति ढिला भयो उति समस्या बढ्न सक्छ । त्यसैले मेरो काम फाष्ट ट्रयाकमा काम हुने छ ।’

त्यस्तै उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा धेरै राम्रो काम गरे पनि त्यसको समाचार मिडियामा पर्याप्त रूपमा नआएको टिप्पणी गरे । सञ्चारमाध्यमको ध्यान यतातर्फ कम गएको हो कि, वा स्पोन्सर÷खर्चको अभावका कारण हो भन्दै उनले प्रश्न गरे ।

उनले भने,‘लायन्स क्लबले यति धेरै राम्रो कामहरु गरेको छ । तर यसको कामको कुरा मिडियामा त्यति धेरै देख्न पाएको छैन् । सञ्चारमाध्यमको किन आँखा जाँदैन यतातिर ? सञ्चारमाध्यलाई स्पोन्सरको कमि भएको हो कि ?खर्च दिन नपुगेको हो कि ?नत्र देशभरी यत्रो काम हुन्छ । लायन्स क्लबले काम नगरेको कुनै क्षेत्र नै छैन् । तर किन कुनै लेखहरु आएनन ? एकजना मन्त्रीले गरेको कार्यक्रममा चाँही सबै जना जाने । यस्तो कार्यक्रममा किन नजाने ?’

 

खोज्नुहोस