यशोदा शर्मा, कैलाली ।
कैलालीको धनगढीकी बिमला चौधरी विगत १० वर्षदेखि सडक किनारमा उखु जुस बेच्दै छिन् । उनले छोराछोरीको पढाइदेखि दैनिक घर खर्च यसैबाट चलाउँदै आएकी छिन् ।
सुरुमा महिला समूहबाट ऋण लिएर उनले यो व्यवसाय सञ्चालन गरेकी हुन । अहिले परिवारको आधारभूत आवश्यकता पूरा गर्ने माध्यम यहीँ बनेको छ । जुस बेचेरै दैनिक ३ हजार सम्म आम्दानी हुने उनी बताउँछिन् ।
‘घरमा अन्य आयस्रोत छैन । खेती किसानी गरे पनि ठुलो परिवार भएकाले वर्षभरि खानलाई पुग्दैन । सम्पूर्ण खर्च धानेकी यसैले धानेको छ,’ उनले भनिन् ।
बिलमाका दुई छोरा र एक छोरी छन् । उनले छोराछोरीलाई जुस बेचेर नै पडाइरहेकी छन् । जेठा छोरा र छोरी स्नातक तहमा अध्ययनरत छन् भने कान्छो छोरा १२ कक्षामा पढिरहेको उनले बताइन् ।
सुरुमा अहिलेको जस्तो आम्दानी नभए पनि सानो आम्दानीबाटै यहाँ सम्म पुगेको उनी बताउँछिन् । भन्छिन्, ‘सुरुसुरुमा आम्दानी कमै हुन्थ्यो त्यो बेला एक गिलासको २० रुपैयाँ थियो अहिले ४० रुपैयाँ पुगेको छ ।त्यसैले पहिलाको भन्दा आम्दानी राम्रो हुन्छ ।
उनी बिहान ९ बजे देखि राति ९ बजेसम्मै जुस बेच्छिन् । बिहानै देखि अबेर रातिसम्म काम गर्न बिलमालाई सहज त पक्कै छैन । तर परिवारको लागि दुःख गरिरहेकी छिन् । गर्मीको सिजनमा चिसो जुस खुवाएर अरूलाई शीतल पार्न उनी आफू भने दिउँसोको टन्टलापुर घाममा पिरोली रहन्छिन् ।
उखु व्यवसाय मौसममा निर्भर हुन्छ । गर्मीको समयमा मात्रै उनको व्यवसाय चल्छ । चिसो सिजन सुरु हुने बित्तिकै काम ठप्प हुन्छ ।चिसोमा गुजारा चलाउनको लागि विभिन्न ठाउँमा बेलरीको काम गर्ने गरेको विमलाले सुनाइन् ।
महँगीको असर व्यवसायमा
पछिल्लो समय बजारमा बढेको महँगीको असर साना व्यवसायमा पनि परेको छ । अझ डिजेल र पेट«रोलको मूल्य वृद्धिले उखु पेल्ने मेसिन चलाउन निकै महँगो पर्छ । डिजेल, कागतीलगायतका आवश्यक सामानहरूको मूल्य वृद्धिका कारण लागत बढेको विमला बताउँछिन् ।
विमला जस्तै भारत घर भई धनगढीमा भाडामा बस्दै आएकी रेनु बर्माले पनि विगत ११ वर्षदेखि रेनु जुस सेन्टर सञ्चालन गरी रहेका छन् । गर्मी सिजनमा यसबाटै मनग्य आम्दानी हुने बर्माले बताइन् ।

उनी अहिले उखु जुस पसल चलाउँदै परिवारको जिम्मेवारी सम्हालिरहेकी छन् । बिहान ८ बजेदेखि राति अबेरसम्म पसलमै खटिने उनी दिनभरि जुस बेच्ने र, राति पसल बन्द भएपछि उखु धुनेदेखि सरसफाइसम्मको काम सबै आफैँ गर्छिन् ।
‘दिनभर काममै हुँदा बच्चालाई पनि समय दिन सकिरहेको छैन,’उनले भनिन् । सुरुमा यो पसल सञ्चालन गर्न करिब डेढ लाख रुपैयाँ जति लगानी लागेको उनले बताइन् । अहिले यही पसलबाट उनको घर खर्च चलिरहेको छ । चिसो महिनामा भने काम ठप्प हुने भएकाले उनी धनगढीको बोरा डाँडीमा सिरक–डसना को काम समेत गर्छिन् ।
उनले जुस मेसिन राखेको जमिनको भाडा ३ हजार रुपैयाँ तिर्छिन् ।त्यसबाहेक दिनको १ सय रुपैयाँ नगरपालिकालाई पनि बुझाउनुपर्छ ।
रेनुले दिनमा तीन देखि ३५ सय सम्मको जुस बिक्री गर्छिन् ।
श्रीमानबाट आर्थिक सहयोग नपाएकी उनी भन्छिन्, ‘सबै खर्च आफैँले काम गरेर चलाउँछु । भात खानलाई पुगेकै छ, श्रीमानको भर पर्नु परेको छैन ।’
पछिल्लो समय बढेको बजारको महँगीले उनको व्यवसायमा पनि प्रभाव पारेको छ । बढ्दो खर्चका कारण नाफा कम हुँदा बचत गर्न नसकेको उनको भनाइ छ ।
सुरुमा अरूको सिरक–डस्नाको पसलबाट काम सुरु गरेकी उनले पछि आफ्नै पसल खोलिन र सँगै उखु जुस पसल पनि सञ्चालनमा ल्याइन् । अहिले उनले छोरालाई पनि बोलाएर दुई ओटा उखु जुस पसल चलाइरहेकी छन् ।
उनले आफूजस्तै अन्य महिलालाई पनि अरूको मजदुरी गर्नु भन्दा आफै काम गरेर आत्मनिर्भर बन्न सुझाव दिइन् । भन्छिन्, ‘अरूको आस गर्नु बेकार हो, आफैँ कमाउने र आफैँ खाने हो,’
काम गर्न अप्ठ्यारो भए पनि आफ्नो मेहनतले परिवार चलाइरहेकोमा रेनु सन्तुष्ट छिन् ।

