मधेस प्रदेशमा ४१ अर्ब १३ करोड बजेट विनियोजन

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ।

प्रदेश सभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गर्नुभएको हो।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ४६ अर्ब ५८ करोडको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट गत वर्षको तुलनामा करिब १३ प्रतिशतले कम रहेको छ। स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइएको सरकारको भनाइ छ।

कूल बजेटमध्ये चालुतर्फ रु १४ अर्ब ६६ करोड अर्थात् ३५ दशमलव ६४ प्रतिशत र पुँजीगततर्फ रु २६ अर्ब ४७ करोड अर्थात् ६४ दशमलव ३६ प्रतिशत विनियोजन गरिएको छ। प्रदेश सरकारले विकास निर्माण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चको हिस्सा बढाएको जनाएको छ।

अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वबाट रु ११ अर्ब २२ करोड ७५ लाख सङ्कलन हुने अनुमान गरिएको छ।

त्यस्तै राजस्व बाँडफाँटबाट रु १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट रु नौ अर्ब ४९ करोड ५९ लाख तथा गत आवको नगद मौज्दातबाट रु छ अर्ब आठ करोड ५२ लाख परिचालन गरिनेछ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, स्वास्थ्य सेवाको विस्तार तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

प्रस्तुत बजेटबाट आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास सरकारले लिएको छ।

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत

चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च रु एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख भएको छ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आवको ११ महिनामा कूल लक्ष्यको ३२ दशमलव ५३ प्रतिशत पुँजीगत खर्च भएको हो।

सरकारले चालु आवमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रकम पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ।

चालु आव सकिन एक महिना मात्रै बाँकी रहेको अवस्थामा पुँजीगत खर्च भने पर्याप्त हुन सकिरहेको छैन।

चालु आवमा चालु खर्चतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड खर्च गर्ने लक्ष्य राखेकामा ११ महिनामा ७६ दशमलव ९१ प्रतिशत खर्च भएको छ।

वित्तीय व्यवस्थापनतर्फ वर्षभरिमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु तीन खर्ब पाँच अर्ब ७१ करोड ८१ लाख खर्च भएको छ।

रास्वपा सुदूरपश्चिम सभापतिको आक्रोश- सांसदले पार्टीभित्र गुट उपगुट बनाए

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्टले सांसदहरूले पार्टीभित्र गुटउपगुट चलाएको भन्दै आक्रोश पोखेका छन् । सोमबार प्रदेश महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पार्टीको राजनीति गर्ने भए सांसद पदबाट राजीनामा दिएर आउन चेतावनी दिए ।

‘तपाईँहरूले माननीय ज्यु के गर्न पठाउनुभएको हो ? पार्टीभित्र राजनीति गर्न पठाउनुभएको हो कि विकास गर्न पठाउनुभएको हो ?,’ विष्टले भने, ‘यदि माननीय ज्युलाई राजनीति गर्नु छ भने पद त्यागेर आऊ मसँग लड्नका लागि ।’

सांसदको जिम्मेवारी पूरा गर्न नसकिरहेकाले पार्टीभित्र पद खोजिरहेको उनले टिप्पणी गरे । ‘माननीयको जिम्मेवारी पूरा गर्न सकेको छैन, अर्को पद चाहिसक्यो,’ उनले भने ।

यो निर्णय गर्ने जिम्मा नेताकार्यकर्ताको हातमा आएको उनले बताए ।

‘तपाईँहरूले निर्णय गर्नुपर्छ, माननीयलाई माननीयको मात्रै काम गर्न दिने हो कि, जनताका गुनासामा काम गर्न दिने हो कि, विधि र नीति निर्माण गर्न दिने हो कि, या हामीसँग आएर गुटउपगुट बनाएर हामीलाई परास्त गर्ने हो ?’ उनले प्रश्न गरे ।

नभए सांसद पदबाट राजीनामा दिएर आउन र त्यो ठाउँमा आफू लडेर नियम कानुन बनाउन जाने उनले बताए ।

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : प्रेमप्रसाद दंगाल

काठमाडौं । राष्ट्रियसभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

संसद्‌मा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदीय छानबिन समिति गठन गरी अर्थमन्त्रीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।

सरकारले ल्याएको बजेटले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको भन्दै उनले असन्तुष्टि जनाए ।

“संसद्‌मा राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक प्रस्तुत भइसकेपछि करका दरहरू हेरफेर गरियो । यो घटनाको सत्यतथ्य तत्काल छानबिन गर्न जरुरी छ । र, दोषउपर कडा कारबाही गर्न जरुरी छ,” उनले भने, “यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन । त्यसो हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ । संसदीय छानबिन समिति गठन गर्नुपर्दछ ।” न्युज एजेन्सी नेपाल

फिफा विश्वकप : डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिशहोमले नेपाली दर्शकहरूलाई मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराइरहेको छ ।

फुटबल समर्थकहरूको फरक–फरक आवश्यकता र हेर्ने शैलीलाई ध्यानमा राख्दै डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म ‘डिगो एप’ तथा डीटीएच र आईपी टीभी सेवामार्फत विभिन्न विश्वकप पासहरू उपलब्ध गराएको छ । घरमै ठूलो स्क्रिनमा विश्वकपको मज्जा लिन चाहनेदेखि मोबाइलमार्फत जहाँसुकै खेल हेर्न चाहने दर्शकसम्मका लागि उपयुक्त विकल्पहरू रहेका छन् ।

डिगो एपमार्फत नेपालभित्र जहाँसुकै विश्वकप
डिगो एप नेपालभित्र मात्र उपलब्ध इन्टरनेटमा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्म हो, जसमार्फत दर्शकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् ।

मोबाइल पास– ५४९ रुपैयाँ
मोबाइल वा ट्याब्लेटमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि यो सबैभन्दा किफायती विकल्प हो । यो पासमार्फत एउटै खाताबाट मोबाइल र ट्याब्लेट दुवैमा लगइन गर्न सकिने भए पनि एकपटकमा एउटा उपकरणमा मात्र प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

सिजन पास– ९९९ रुपैयाँ
अझ बढी सुविधा र बहुउपकरण पहुँच चाहने दर्शकहरूका लागि ९९९ रुपैयाँको सिजन पास उपलब्ध छ । यस पासमार्फत दुईवटा उपकरणमा एकैसाथ स्ट्रिमिङ गर्न सकिनेछ । मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमध्ये कुनै पनि दुई उपकरणमा विश्वकपको रोमाञ्चकता अनुभव गर्न सकिनेछ ।

टेलिभिजनमा फुल एचडी अनुभव
परिवार तथा साथीभाइसँग बसेर ठूलो स्क्रिनमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि डिशहोमले ९९९ रुपैयाँमा टेलिभिजन सिजन पास उपलब्ध गराएको छ । यसमार्फत ग्राहकहरूले डिशहोम डीटीएच एचडी सेट–टप बक्स तथा आईपी टीभी सेट–टप बक्समा फुल एचडी गुणस्तरमा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । यस सुविधाको लाभ लिन सक्रिय नियमित सदस्यता अनिवार्य हुनेछ ।

आफ्नो आवश्यकताअनुसार सही पास छनोट गर्नुहोस्
डिशहोमले डिगो सिजन पास र टेलिभिजन सिजन पास फरक–फरक सेवा भएको स्पष्ट पारेको छ । ९९९ रुपैयाँको डिगो सिजन पासमार्फत ग्राहकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू हेर्न सक्नेछन् । त्यसैले एन्ड्रोइड टेलिभिजन प्रयोगकर्ताले डिगो एपमार्फत सिधै टेलिभिजनमै खेलको मज्जा लिन सक्नेछन् ।

तर, डिशहोम डीटीएच सेट–टप बक्स वा डिशहोम आईपी टीभी सेट–टप बक्समार्फत विश्वकप हेर्न चाहने ग्राहकहरूले टेलिभिजन सिजन पास खरिद गर्नुपर्नेछ । डिगो सिजन पासले डिशहोम डीटीएच वा आईपी टिभी सेवामा पहुँच प्रदान गर्दैन ।

यदि कुनै ग्राहकले डिशहोमको डीटीएच वा आईपी टीभी सेट–टप बक्समार्फत घरको टेलिभिजनमा तथा बाहिर रहँदा डिगो एपमार्फत मोबाइल वा अन्य डिजिटल उपकरणमा विश्वकप हेर्न चाहनुहुन्छ भने डिगो सिजन पास र टेलिभिजन सिजन पास दुवै छुट्टाछुट्टै खरिद गर्नुपर्नेछ ।

सजिलै खरिद र तत्काल सक्रियता
विश्वकपका कुनै पनि महत्त्वपूर्ण खेल नछुटाउन ग्राहकहरूले आफ्नो आवश्यकताअनुसारको सेवा छनोट गरी सहज रूपमा पास खरिद गर्न सक्नेछन् ।

डिशहोम डीटीएच तथा आईपी टीभीका लागि विश्वकप सिजन पास डिशहोमका आधिकारिक डिलरदाइ, खल्ती, ईसेवा, कनेक्ट आईपीएस तथा अन्य उपलब्ध डिजिटल भुक्तानी माध्यममार्फत खरिद गर्न सकिनेछ ।

डिगो विश्वकप पास भने खल्ती, ईसेवा, ग्लोबल आइएमई मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत मात्र खरिद गर्न सकिनेछ ।

सेयर बजारमा १२.२६ अङ्कको गिरावट

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक १२.२६ अङ्कले घटेर २ हजार ७११.७६ विन्दुमा कायम भएको हो । आज बजारमा कूल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री भएका छन्। आज कूल ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ७३ वटाको मूल्य बढेको छ भने १८८ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

आजको बजारमा सोपान फर्मास्युटिकल्स र अपोलफ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यी दुवै कम्पनीको सेयर मूल्यमा १४.९९ प्रतिशतको उछाल आएको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीको ३८ करोड ८५ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

दोस्रो स्थानमा नेपाल बैंक डिबेन्चर २०८५ को २७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंक २२ करोड ८८ लाखको कारोबारसहित तेस्रो स्थानमा छ।

समूहगत रूपमा आज सबै समूहका सूचक घटेका छन् । आज फाइनान्स, अन्य र ट्रेडिङ क्षेत्र एक प्रतिशत भन्दा धेरैले घटेको छ।

अपि हिमालको काखमा क्रिकेट : ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’

सुदूरपश्चिमको सबैभन्दा उचाइको सात हजार १३२ मिटर अग्लो अपी हिमाल वरिपरि सेताम्मे हिमशृङ्खला छन्। तल हरियो घाँसेमैदान। भेडाबाख्राको बथानसँगै चरिरहेका देखिन्छन्। वरिपरि यार्सागुम्बा सङ्कलन गर्न पुगेका युवाहरूको चहलपहल।

अपि हिमालको काखमा रहेको अपि बेसक्याम्प, त्यहाँको स्थानीय भाषामा ‘पिलकन्द पैदान’ भनेर चिनिने मैदानमा युवाहरू क्रिकेट खेलिरहेका छन्। त्यहीँ हिमालको काखमा गुन्जिने क्रिकेटको ब्याट र बलको आवाज अहिले दार्चुलाको अपि हिमाललाई नयाँ पहिचान दिने माध्यम बनेको छ।

गत शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा अपि बेसक्याम्पमा क्रिकेट खेलिरहेको भिडियो भिडियो पोष्ट गरेपछि त्यो देशभर फैलियो।

दार्चुलाका फोटोग्राफर हिमालय भट्टले खिचेको भिडियोमा युवाहरू हिमाली मैदानमा क्रिकेट खेलिरहेका देखिन्छन्। प्रधानमन्त्री शाहले आफ्नै र्याप शैली मिसाएर भिडियो पोस्ट गरेपछि अपि हिमालको चर्चा सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ। यो स्टाटससँगै अपिहिमालको क्रिकेट र पर्यटनको चर्चा सामाजिक सञ्जालमा चुलिएको छ।

फोटोग्राफर हिमालय भट्टले गत जेठ १२ गते यो भिडियो खिचेका थिए। फेसबुक पेज र इन्स्टाग्राममा राखेपछि यो भिडियोले निकै चर्चा पाएको फोटोग्राफर भट्ट बताउछन्।

इन्स्टाग्राममा भिडियो राम्रो ‘भ्यूज’ पाएपछि प्रधानमन्त्री कार्यालयले आफूसँग भिडियो माग गरेको उनले बताए। उनी भन्छन्, ‘‘प्रधानमन्त्रीज्यूले पोष्ट गरेपछि यो भिडियो निकै ‘भाइरल’ भइरहेको छ।’

तर, अपि हिमालमा क्रिकेटको सुरु भएको र चर्चा पाएको आज मात्रै भने होइन। यसको इतिहास दुई दशकभन्दा पुरानो भइसकेको छ।

भारतको पिथौरागढ हुँदै गाउँसम्म आइपुगेको क्रिकेट

२०५९ सालतिर अपि हिमाल गाउँपालिकामा क्रिकेट भित्रिएको हो। त्यतिबेला गाउँका केही विद्यार्थी भारतको पिथौरागढमा अध्ययन गर्थे। जिल्लामा क्याम्पस नहुँदा युवाहरू भारतमा अध्ययन गर्न जाने गर्दछन्।

विद्यालयमा क्रिकेट खेल्ने र हेर्ने क्रममा उनीहरू खेलसँग परिचित भए। घर फर्किएपछि उनीहरूले तत्कालीन खण्डेश्वरीको खात्तीस्थित ‘सम्तेली’ चौड मैदानमा क्रिकेट खेल्न सुरु गरे।

सुरुआती पुस्तामा झलकसिंह धामी, दमनसिह रोकाया, दीपक लोथ्याल, मदन कार्कीलगायतका युवाहरू क्रिकेटप्रति रुचि राख्नेमा थिए। उनीहरू भारतमा क्रिकेटसँग सामान्य रूपमा परिचित भएका थिए।

गाउँमा फर्किएपछि कसरी खेल्ने भन्ने अन्योलबीच मदनसिह कार्कीलगायतको समूहले ‘समाज सुधार समाज युवा क्लब’ गठन गरिसकेका थिए। सोही क्लबमार्फत २०५९ सालको दशैंमा पहिलोपटक ‘सेस क्रिकेट’ बाट खेल सुरु गरिएको थियो।

धामीका अनुसार सुरुमा गाउँमा ब्याट र बल उपलब्ध थिएन। कपडाको बल बनाएर र काठको ब्याट प्रयोग गरेर समेत क्रिकेट खेलिन्थ्यो। अम्पायरिङसम्बन्धी ज्ञानको समेत अभाव थियो । भारतबाट ल्याइएका किताबका आधारमा क्रिकेटका नियम सिक्ने र सिकाउने काम हुन्थ्यो। समग्रमा यो क्षेत्रको लागि क्रिकेट नयाँ खेल थियो।

‘त्यो बेला युवाहरूमा उत्साह धेरै थियो,’ धामी भन्छन्, ‘पाँच–सात वर्षसम्म क्रिकेटले निकै राम्रो विकास पनि गर्यो । केही खेलाडी क्षेत्रीयदेखि राष्ट्रियस्तरसम्म पुगे।’ तर पछिल्लो समय क्रिकेट रमाइलोमै सीमित बन्दै गएकोमा उनी दुःखी छन्।

‘त्यो अवस्थालाई हेर्ने हो भने अपि हिमालका खेलाडीले अहिले राष्ट्रियस्तरमै प्रभाव जमाउन सक्थे,’ उनी भन्छन्, ‘तर सरकारी लगानी भएन। खेल क्षेत्रले आवश्यक प्राथमिकता पाएन।’

उनका अनुसार विद्यालय तहदेखि नै खेलकुदमा लगानी गर्नसके मात्रै दीर्घकालीन उपलब्धि सम्भव हुन्छ। उनीहरूले गाउँका युवाहरूलाई क्रिकेट सिकाए, स्थानीय प्रतियोगिता आयोजना गरे।

दशैं–तिहारका बेला खेलिने रमाइलो खेलको रुपमा विकास भयो। त्यसयता क्रिकेट अपि हिमालको चाडपर्वसँग जोडिएको परम्पराका रूपमा विकसित भइरहेको छ। यहाँ उत्पादन जनशक्तिलाई माथिल्लो निकायसम्म जोड्न सकिएको छैन्।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी खडकसिंह लोथ्याल स्थानीय सरकार आएपछि गाउँमै खेलाडी उत्पादनभन्दा पूर्वाधार विकासमा मात्र जोड दिइएको बताउछन्। ‘खेल क्षेत्रका लागि स्थानीय सरकारको स्पष्ट नीति छैन। लगानी पनि योजनामै सीमित छ,’ उनी भन्छन्, ‘खेल नबुझेका व्यक्तिलाई खेलकुद क्षेत्रको जिम्मेवारी दिँदा विकास सम्भव हुँदैन।’

खेलाडीलाई प्रोत्साहत नहुनु र क्लबहरूसँग समन्वयको अभावले गर्दा गाउँमा खेलकुदको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ छ। ‘राज्यले खेल क्षेत्रलाई अपनत्व ग्रहण गर्न सके लगानीको सही प्रतिफल आउँथ्यो,’ उनले भने।

यार्सागुम्बा टिप्ने मैदानमा क्रिकेट

क्रिकेटको विस्तार गाउँदेखि हिमालतिर उक्लियो। यार्सागुम्बा सङ्कलनका लागि युवाहरू अपी बेसक्याम्प पुग्न थालेपछि त्यहाँ पनि क्रिकेट सुरु भयो। अपि हिमालको फेदमै पिलकन्द मैदान छ।

अहिले चर्चा गरिएको त्यही ठाउँ अपि हिमालको वेश क्याम्पस छेउमा पर्छ। यो स्थानीयको पशुचौपाया, भेडाबाख्रा चरिचरन क्षेत्र पनि हो। यार्सागुम्बा सङ्कलन गरेपछि फुर्सदको समयमा मैदानमा क्रिकेट, भलिवललगायतका खेलको विकास हुन थालेको छ।

पूर्वक्रिकेटर दीपक लोथ्यालका अनुसार अपि क्षेत्रमा दुई दशकदेखि क्रिकेट खेलिँदै आएको छ  ‘२०६२ सालमा लालीगुराँस युवा क्लब पाटुले पहिलो क्रिकेट प्रतियोगिता आयोजना पिलकन्द मैदान (हालको अपि वेसक्याम्प)मा आयोजना गरेको थियो,’ उनी सम्झन्छन्, ‘त्यतिबेला थ्रीएल लिथीले सितीको टोलीलाई हराएको थियो। म त्यही टोलीको कप्तान थिएँ।’

उनका अनुसार अहिले सामाजिक सञ्जालमार्फत अपि हिमाल विश्वसामु पुग्नु गर्वको विषय बनेको छ। ‘यो भर्जिन रुटका रूपमा रहेको अपि हिमाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अवसर हो,’ उनी भन्छन्।

अपि हिमालको साविकको खण्डेश्वरी गाविसको खात्ती मैदानमा २०५९ सालमै क्रिकेट सञ्चालन गर्नुभएका संस्थापक मदन कार्की विगत सम्झँदै भन्छन्, ‘बीस वर्षअघि त्यो मैदानमा क्रिकेट खेल्दा एक दिन अहिलेको जस्तो माहोल होला भन्ने कल्पना थिएन। अब क्रिकेटलाई पर्यटनसँग जोड्ने समय आएको छ।’

खेलसँगै पर्यटन ढोका खुल्दै

अपि हिमाल गाउँपालिकाले अहिले क्रिकेटलाई खेलका रूपमा मात्र होइन, पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा पनि हेर्न थालेको छ। गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बोहराका अनुसार चार वर्षदेखि अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित विभिन्न योजना अघि बढाएको बताए।

गाउँपालिकाले स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शिक्षा पर्यटन र खेल पर्यटनलाई प्राथमिकतामा राखेको छ। विशेषज्ञ स्वास्थ्य शिविर, योग–ध्यान कार्यक्रम, रैथाने बाली तथा अर्गानिक खानाको प्रवद्र्धन, स्वयंसेवी शिक्षक कार्यक्रमदेखि उच्च हिमाली खेलकुद रङ्गशाला निर्माणसम्मका योजना बनाइएका छन्।

गाउँपालिकाको दीर्घकालीन लक्ष्य भनेको अपी बेसक्याम्पमै राष्ट्रियस्तरको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्नु हो। भलिबल, फुटबल र अल्ट्रा म्याराथन प्रतियोगितासमेत सञ्चालन गर्ने योजना गाउँपालिकासँग रहेको उनले बताए। ‘पर्यटनलाई आर्थिक विकाससँग जोड्ने हाम्रो लक्ष्य हो,’ अध्यक्ष बोहरा भन्छन्, ‘सुन्दर, समृद्ध र विकसित अपिहिमाल निर्माण गर्ने सपना छ।’

प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार भिडियो पोस्ट गरेपछि अपि हिमाल एकाएक राष्ट्रिय चर्चामा आएको छ। हिमालको फेदीमा क्रिकेट खेलिरहेको दृश्यले धेरैलाई आकर्षित गरेको छ। एउटा सामाजिक सञ्जालमा पोष्ट भएको यो भिडियोले अहिले विश्वको ध्यान अपि हिमालमा खिचेको छ।

अध्यक्ष बोहराले प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गर्दै अपि भ्रमणको निम्तोसमेत दिए। ‘उहाँले अपिको प्रचार गरेर ठूलो गुन लगाउनुभएको छ,’ उनी भन्छन्, ‘हामी अपिवासी उहाँलाई यहाँ स्वागत गर्न आतुर छौँ।’

अहिले यो अपिहिमाल वेश क्याम्पमा आन्तरिक तथा बाह्य गरी वार्षिक पाँच हजार पर्यटकले भ्रमण गर्ने गरेका छन्। अझै यसलाई १० हजार पर्यटकले घुम्नेसक्ने गरी विकास गर्ने लक्ष्य रहेको अध्यक्ष बोहरा बताउछन्।

अपिहिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्य बनाउने योजना छ। पर्यटन प्रवद्र्धनको लागि होमस्टे बनाउने, पदयात्रा मार्ग अझै सुधार गर्दै लैजानेलगायतका गतिविधि गर्न बाँकी नै रहेको उनको भनाइ छ।

‘हाई अल्टिच्युड एडभेन्चर क्रिकेट रङ्गशाला’ निर्माण गरिँदै

अपि हिमाल गाउँपालिका–४ मा रहेको सम्तेली चौडमा ‘हाई अल्टिच्युड एडभेन्चर पर्यटन क्रिकेट रंगशाला’ निर्माण गरिरहेको छ। चालू आर्थिक वर्षमा कूल सात करोड रुपैयाँ लागतमा क्रिकेट मैदान निर्माण भइरहेको हो।

समुद्र सतहदेखि २४५० मिटर उचाइमा बन्ने यो खेल मैदान नेपालकै साहसिक एडभेन्चर र उच्च उचाइमा अवस्थित सम्भावनायुक्त क्रिकेट रङ्गशाला हुने अपेक्षा गाउँपालिकाल गरेको छ।

गाउँपालिकाका अध्यक्ष बोहरा यो परियोजनाले गाउँपालिकाको आर्थिक उत्थान, स्थानीय रोजगार सिर्जना, पर्यटन विकास र युवा खेलाडीहरूको क्षमता अभिवृद्धिमा प्रत्यक्ष योगदान पुग्ने बताए। ‘यो रङ्गशाला हाम्रो गौरवको परियोजना हो, अपि क्षेत्रलाई खेल पर्यटनको विश्व नक्सामा चिनाउने हाम्रो साझा सपना हो,’ उनले भने।

के छ सरकारी योजना ?

सरकारको शासकीय सुधारका सय कार्यसूचीमा सुदूरपश्चिमका हिमाल पनि समेटिएका छन्। ती स्थानमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योग्य खाका प्रस्तुत गर्ने कुरा उल्लेख छ।

अछामको रामारोशन, बाजुराको बडिमालिका र दार्चुलाको अपि हिमाल पदयात्रा मार्ग सरकारको उच्च प्राथमिकतामा छ। अपि हिमाल गाउँपालिका सँगको समन्वयमा नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजनाले अपि साइपाल पदयात्रा मार्गको विकासको लागि काम गरिरहेको छ।

भट्टलाई अपिहिमाल गाउँपालिकाले पर्यटनदूत नियुक्त समेत गरेको थियो। उनले दार्चुलाको साथै सुदूरपश्चिम र कर्णाली क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आएका छन्।

अपि र साइपाल आधार शिविरसम्म पुग्ने मार्गमा रहेका झरना, तालतलैया तथा नदीनाला, रङ्गीविरङ्गी फूलले ढाकेका पाटन र भौगोलिक तथा जैविक विविधताको संयोजनले यो क्षेत्र आरोहीका लागि मात्र नभएर पदयात्री र पर्यावरणमा चासो राख्नेका लागि समेत नौलो अनुभव दिलाउने खालको रहेको छ।

यस्तै अघिल्लो सरकारको साउन १२ को नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण गर्दा दुई वर्षसम्म सलामी दस्तुर नलाग्ने निर्णय गरेको छ।

सरकारको यो निर्णयले राजधानीबाट टाढा रहेकाले महंगो खर्चका कारण यहाँ आउन हिच्किचाउने पर्यटकलाई राहत हुने र पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अध्यक्ष बोहरा सरकारलाई तिर्नुपर्ने सलामी दस्तुरको खर्चले पर्यटकको आधा भन्दा बढी रकम सस्तो हुने बताउछन्। आरोहण वा पदयात्रा मार्गको विकासका लागि हिमालका आधार शिविरसम्म पुग्ने सुरक्षित पदमार्ग, क्याम्प साइट, बाटोमा खानबस्न मिल्ने ‘टी हाउस’को निर्माण, बाटोका बारेमा जानकारी दिने सङ्केत चिन्ह र शौचालयजस्ता पूर्वाधारहरू निर्माण गर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘हामीले थुप्रै संरचना निर्माण गर्दैछौं। ट्रेकिङ चिन्ह बनाएका छौँ। अझै धेरै गर्न बाँकी छ।’

कसरी पुग्ने अपि हिमाल ?

अपि हिमाल वेशक्याम्प पुग्न काठमाडौँबाट एक घण्टा हवाई दुरीमा धनगढी पुगिन्छ। धनगढी अतरियाबाट २६० किलोमिटर बस तथा जीपको यात्राबाट दार्चुलाको मार्मा गाउँपालिका लटिनाथसम्म पुग्न सकिन्छ। धनगढी अतरियाबाट दार्चुलाको मार्मा सम्म पुग्न सहजै बस तथा जीपहरू नियमित चल्नेगर्छ।

यो ठाउँको यात्रा १३ घण्टाको हुनेछ। बसहरू मार्मा गाउँपालिका लटिनाथसम्म जाने गर्छ भने जीप भेट्टाउनु भयो भने अपि हिमाल गाउँपालिकाको मकरीगाड हुँदै हाल अपिहिमाल गाउँपालिका–३ को काफलधारसम्म सहज रुपमा चल्छ।

मकरीगाडमा स्थापना गरिएको पर्यटकीय सूचना केन्द्रबाट कुन मार्ग भएर वेश क्याम्प पुग्ने, होमस्टेको बारेमा जानकारी लिन र घुम्नै परे गाइड र भरिया व्यवस्थापन गर्न सहज हुनेछ। सूचना केन्द्रमा अक्कलसिह ठगुन्नाले पर्यटकीय गन्तव्यको बारेमा विस्तृत जानकारी दिने गरेका छन्।

मकरीगाड पुगेपछि दुई वटा मार्ग छन्। एउटा मार्ग गाउँपालिका केन्द्र खण्डेश्वरी हुँदै वेसक्याम्प पुग्ने हो। खण्डेश्वरी जान मकरीगाडदेखि उकालो लाग्दा चार हजार पाँच सय सिढीं चढ्नुपर्छ।

चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको सिंढी निकै सुन्दर छ। गाउँपालिका नजिकै रहेको नौपाटा होमस्टेमा पर्यटकलाई स्वागत गर्न आमा समूह तथा स्थानीय क्लव छन्।

अर्को मकरीगाडबाट खण्डेश्वरीको फेद काफलधारसम्म गाडी चढेर जाने हो। अपि हिमाल गाउँपालिका–२ को घुसा, नालीमा पर्यटक बस्न होमस्टे निर्माण गरिएको छ।

घुसा नालीबाट दुई घण्टा पदयात्रा गर्नेबित्तिकै अपि हिमाल गाउँपालिका–१ को सीति खायकोटमा रहेको होमस्टेमा खाना र बस्नको लागि व्यवस्था गरिएको छ।

खायकोटबाट सीमार छिरछिरे लगायतका क्षेत्रमा पर्यटक बस्ने आवास तथा होटल निर्माण गरिएको छ। सीमारबाट नौ किलोमिटर दुरीमा रहेको धौलीओडारमा पर्यटक बस्ने राम्रो सुविधा छ।

यहाँबाट अपि हिमाल वेसक्याम्प पुग्न तीन किलोमिटर हिंड्नुपर्छ। पुरै मैदानी फाँट रहेको पिलकन्दह पुग्ने बित्तिकै अपिहिमाल, नाम्पा हिमालको दर्शन गर्न सकिन्छ।

पिलकन्द दहबाट कालीढुङ्गा तालसम्म पुग्न अर्को दुई घण्टा समय लाग्छ। यो ताल निकै आकर्षक र सुन्दर छ। पिलकन्द अपि वेशक्याम्पमा बास बस्न होटलहरू छन्।

मैदानी घासेमैदान रहेको यो क्षेत्र वरिपरि वैशाख जेठ र असारमा यार्सागुम्बा सङ्कलकहरूको भीड लाग्ने गर्छ। यहाँ स्थानीयवासीले भेडा, बाख्रा पशुचौपाया चरिचरनको लागि लैजाने गर्छन्।

अपि नाम्पा संरक्षण क्षेत्र भएको कारण यो क्षेत्रमा वन्यजन्तु, चरालगायतको अवलोकन गर्न सकिन्छ। अपि नाम्पा संरक्षण क्षेत्रभित्र २५ प्रकारका स्तनधारी, २४३ प्रजातिका चराहरू र ७५ प्रकारका जडिबुटी पाइने गरेको छ।

विश्वमै दुर्लभ बन्दै गएको यो क्षेत्र हिमाली पारिस्थितिक प्रणाली संरक्षणका दृष्टिले पनि उतिकै संवेदनशील छ। संरक्षणको पाटोलाई पूर्ण बेवास्ता गरिएका कारण केही वर्षयता भइरहेको अस्वभाविक दोहनले अस्तित्व नै सङ्कटमा पर्नै चिन्ता बढाएको छ।

बढ्दो तापमान र अस्वाभाविक मौसमी परिवर्तनले हिमालहरू कालापहाडमा रूपान्तरण हुँदै गएका छन् भने अर्कोतिर जडीबुटी सङ्कलनका लागि वर्सेनि ठूलो संख्यामा हिमाली क्षेत्रमा पुग्ने मानिसले जथाभावी चोरीशिकार गर्ने, डढेलो लगाउने, फोहोर फाल्ने, वन फडानी गर्नेलगायतका गतिविधिले हिमाली क्षेत्रको जैविक विविधता सखाप हुने क्रममा छ।

यसको संवेदनशीलतालाई हेरेर अपि नाम्पा संरक्षण क्षेत्रले समेत पर्यटन प्रवद्र्धनको क्षेत्रमा लगानी गर्नुपर्ने सरोकारवालाको भनाइ छ। -रासस

राष्ट्रियसभामा बजेटमाथि छलफल

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

आकस्मिक समयअन्तर्गत सदस्यहरुले आफ्ना विचार प्रस्तुत गर्ने क्रम जारी छ ।

नेकपाले माग्यो दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएकोबारे सरकारको जवाफ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएकोबारे सरकारको जवाफ माग गरेको छ। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको विषयमा सरकारको ध्यानाकर्षण गराए।

उनले हेलिकोप्टरमा भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै उक्त घटनाबारे सरकारले संसदलाई स्पष्ट जानकारी गराउनुपर्ने माग गरेका हुन्।

उनले भने,’भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको एउटा भूमिमा अवतरण गरेको र त्यसमा भारतीय सुरक्षा निकायका कुनै प्रमुख व्यक्ति सवार रहेको भन्ने समाचार सुन्नमा आएको छ। यस विषयमा सरकारको जवाफ चाहन्छु।’

उनले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने आफ्नो पार्टीको अडान यथावत् रहेको बताए।

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज भेटवार्ता हुँदैछ।
बेइजिङमा स्थानीय समयानुसार आज अपराह्न ५:४५ बजे हुने द्विपक्षीय प्रतिनिधिमण्डलबीच भेटवार्ता हुन लागेको हो।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको भ्रमणमा नेपाल–चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण  हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले आजै चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ । मन्त्री खनालले भ्रमणकै क्रममा आयोजना हुने लगानी सम्मेलनमा सहभागिता जनाउनेछन्। सम्मेलनमा चिनियाँ लगानीकर्ता तथा व्यवसायी समुदायलाई नेपालका ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा रहेका सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम छ।

परराष्ट्र अधिकारीहरूका अनुसार नेपालले विदेशी लगानी, प्रविधि हस्तान्तरण तथा रोजगारी सिर्जनामा जोड दिँदै चीनसँगको आर्थिक सहकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ। यही उद्देश्यअनुसार मन्त्री खनालले विभिन्न व्यावसायिक तथा लगानीसम्बन्धी कार्यक्रममा सहभागी हुँदै चिनियाँ निजी क्षेत्रसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको हो।

मन्त्री खनाल भ्रमण सम्पन्न गरी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

भ्रमणको पहिलो दिन नै बेइजिङस्थित नेपाली दूतावासले उनको सम्मानमा विशेष स्वागत कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा मन्त्री खनालले चीनमा बसोबास गरिरहेका नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध नेपालीहरूसँग अन्तर्क्रिया गरेका थिए।

नेपाली जनताले प्रभावकारी सेवा प्रवाह, तीव्र विकास, शान्ति चाहेका छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति चाहेको बताएका छन् ।

सोमबार लोकसेवा आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लोकसेवा आयोगको साढे सात दशक लामो इतिहासमा कायम रहेको निष्पक्षता, योग्यता र स्वच्छताको सिद्धान्तलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

उनले आयोगप्रतिको अटुट जनविश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य सुशासन, प्रभावकारी सेवा प्रवाह र मुलुकको तीव्र विकास भएको बताए ।

जनताको यो आकांक्षा पूरा गर्न राज्य संयन्त्रलाई समय अनुकूल जनमुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले आयोगलाई आफ्नो कार्यसम्पादनमा आधुनिक प्रविधिको प्रयोग बढाउन र समयसापेक्ष परीक्षण विधि अवलम्वन गर्न सुझाव दिए ।

कार्यक्षेत्र विस्तारसँगै गुणस्तर कायम राख्नु र वैज्ञानिक एवं व्यवस्थित भावी योजना तय गर्नु आयोगका लागि मुख्य चुनौती रहेको उनले औंल्याए ।

संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरूप योग्यता प्रणालीको रक्षा गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले आयोगकै कारण मेहनती युवाहरूले लोकतान्त्रिक व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देखेको बताए ।

उनले भने, ‘राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले साढे सात दशक लामो अवधिमा योग्यता, निष्पक्षता र स्वच्छता जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्य सम्पादन गर्नु खुशीको विषय हो । विशेषतः निष्पक्षता र योग्यता कर्मचारी छनोटको उच्चतम कसी हो । मूल्यांकनको यही अन्तरायलाई अवलम्बन गरेकै कारण आयोगप्रतिको भरोसा आजसम्म अटुट छ । यो भरोसा र विश्वास नै आयोगको ठूलो सम्पत्ति हो । यसलाई अझ थप सुदृढ गर्दै आयोगलाई अझ सबल बनाउन तपाईंहरूको सत्प्रयास निरन्तर रहने मैले विश्वास लिएको छु ।’

उनले अगाडि भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताले चाहेको भनेकै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति नै हो । जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समय अनुकूल अझ जनमुखी, सेवामुखी, प्रविधि मैत्री र परिणाममुखी बनाउन जरुरी छ ।’

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरु बीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्वीस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।

स्वीटजरल्याण्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा लामो समयदेखि सहयोग गर्दै आइएको विकास साझेदार हो । विशेष गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभीटी) को क्षेत्रमासहयोग गर्दै आएको छ ।

नेपालमा स्वीस सरकारको सपोट एजेन्सी ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को अपरेसन’ (एसडिसी) को सहयोगमा सिटीइभिटीमार्फत तीन परियोजना ‘नेश्नल भोकेश्नल क्वालिफिकेस सिस्टम’, इन्ह्यान्सड स्किल फर सस्टेनेवल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र क्वालिटी टेक्निकल एन्ड भोकेश्नल एजुकेशन एन्ड ट्रेनिङ फर युथ’ सञ्चालनमा रहेका छन् ।

भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र स्वीटजरल्याण्डबीच सदैव सुखद् र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकास तथा शिक्षा क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।

उनले सिटीइभिटी सम्बन्धी ऐनको मस्यौदाको प्रक्रियामा रहेको र प्राविधिक शिक्षालाई समय सान्दर्भिक बनाउन विज्ञ समूहबाट राय परामर्श लिइरहेको यसलाई छिट्टै संसद्‌मा पेश गर्ने तयारी रहेको जानकारी गराए ।

मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा स्विस सरकारले उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा गरे ।

सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले स्वीटजरल्याण्ड सरकार कोतर्फबाट प्रविधि शिक्षामा मात्र नभएर आगामी दिनमा डिजिटाइजेशन, समावेशी शिक्षालगायत क्षेत्रमा पनि स्विस सरकारसँग सहकार्य गर्न सकिने धारणा राखे ।

मन्त्री पोखरेलले नेपाल सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीति अनुरूप काम अघि बढिरहेको तथा डिजिटाइजेसन, समावेशी शिक्षाको क्षेत्रमा सहयोग र सहकार्यको संभावना रहेको कुरा व्यक्त गरे ।

उनले विद्यालयतहदेखिनै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने र काठमाडौँ महानगरपालिकामा सञ्चालित ‘बुकफ्रि फ्राइडे’ कार्यक्रम प्रभावकारी रहेको र त्यसलाई पाठ्यक्रममै राखेर देशभर विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै, प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सरकार लागि परेको उल्लेख गरे ।

उक्त भेटमा राजदूत ड्यानिएल मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकारले लिएको अवधारणालाई जहिले पनि सहयोग तथा सहकार्य गर्न स्विस सरकार तयार रहेको बताए ।

राजदूत मेउलीले हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीन वटा परियोजनालाई एउटै बनाएर थप प्रभावकारी बनाउने गरी अघि बढ्ने शिक्षामन्त्रीसमक्ष जानकारी गराए ।

महामन्त्री भूपदेव शाहले उद्घाटन गर्ने रास्वपा सुदूरपश्चिम अधिवेशन

धनगढी, १ असार / धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशन आज आयोजना हुँदैछ। धनगढीस्थित रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान १० बजेदेखि सुरु हुने अधिवेशनमा प्रदेशभरका प्रतिनिधिहरू सहभागी हुन धनगढी आइसकेका छन्।

पार्टीका अनुसार उद्घाटन सत्र सम्पन्न भएपछि नयाँ प्रदेश नेतृत्व चयनको प्रक्रिया अघि बढाइनेछ। प्रदेश सभापति पदका लागि वर्तमान सभापति इन्जिनियर प्रकाश विष्ट र दार्चुलाका जनकराज पन्तको नाम चर्चामा रहे पनि विष्टको पक्षमा प्रतिनिधिहरूको समर्थन बढी देखिएको बताइन्छ।

रास्वपा सुदूरपश्चिमको संगठन विस्तारमा विष्टको भूमिका महत्वपूर्ण रहेको भन्दै धेरै प्रतिनिधिहरूले उनलाई अर्को कार्यकालका लागि पनि नेतृत्वमा निरन्तरता दिनुपर्ने धारणा राखेका छन्। पार्टी स्थापना कालदेखि सक्रिय रूपमा संगठन निर्माणमा लागेका कारण विष्टलाई पुनः अवसर दिनुपर्ने मत बलियो रहेको नेताहरूको भनाइ छ।

यद्यपि नेतृत्व परिवर्तनको पक्षमा रहेका केही समूहले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। अधिवेशनस्थलमा नेतृत्व चयनलाई लिएर विभिन्न तहमा छलफल र आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको देखिएको छ।

अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भूपदेव शाह ले गर्ने कार्यक्रम रहेको छ। शाह अधिवेशनमा सहभागी हुन धनगढी पुगिसकेका छन्।

सुदूरपश्चिम प्रदेशले आज बजेट सार्वजनिक गर्दै

धनगढी, १ असार / सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३ र ८४ को बजेट सार्वजनिक गर्दैछ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार वृद्धि गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८२ र ८३ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो।

प्रदेश सभामा आज अपराह्न बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरूमा अन्तिम तयारी तीव्र बनाइएको छ।

यसैबीच, केही दिनअघि मन्त्रिपरिषद् पुनर्गठन हुँदा आर्थिक मामिला मन्त्रालयसहित तीन मन्त्रालयमा मन्त्री परिवर्तन भएका थिए। आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका विक्रमसिंह धामीले बजेटका केही प्राथमिकता र कार्यक्रम पुनरावलोकन गरेका छन ।

आज प्रस्तुत हुने बजेटले प्रदेशको विकास प्राथमिकता, राजस्व व्यवस्थापन र पूर्वाधार निर्माणका योजनालाई स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।

कैलाली टेम्पो प्रकरण: प्रदेश सरकारद्वारा पाँच सदस्यीय छानबिन समिति गठन

धनगढी :  कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट पल्टाइएको भन्ने विषय सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सरकारले घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले असार १ मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई घटनासम्बन्धी सत्यतथ्य पत्ता लगाई सात दिनभित्र यथार्थपरक प्रतिवेदन पेश गर्न निर्देशन दिइएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिए।

डिभिजन वन कार्यालय कैलालीले विभिन्न क्षेत्रबाट अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको अवस्थामा जेठ २९ गते गोदावरी सामुदायिक वन क्षेत्रभित्र टेम्पो भिरबाट पल्टाइएको भनी सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा समाचार, फोटो र भिडियो सार्वजनिक भएका थिए। सोही विषयलाई लिएर मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो।

गठित समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।

प्रदेश सचिव दीर्धनारायण कोइरालाले ॐ समितिलाई घटनाका सबै पक्षको अध्ययन, आवश्यक प्रमाण संकलन तथा जिम्मेवार निकायसँग समन्वय गरी वस्तुनिष्ठ प्रतिवेदन बुझाउन समेत निर्देशन दिएका छन्।

उक्त घटनापछि सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा वन कार्यालयको कार्यशैलीबारे प्रश्न उठेका थिए। प्रदेश सरकारले भने छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय गरिने जनाएको छ।

यसअघि नै जेठ ३१ गते जिल्ला वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले पत्रकार सम्मेलन मार्फत टेम्पो नियत बस नखसाएको बताएका थिए। हाल उनी सहित अन्य संलग्न कर्मचारीहरू सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको निगरानीमा छन्।

बीडीए कोलोराडोको कार्यक्रममा २० जनाद्वारा रक्तदान

डेनभर (कोलोराडो),
ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा शनिवार कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्व रक्तदाता दिवस तथा ब्लड डोनर्स अफ अमेरिकाका संस्थापक अध्यक्ष स्व. अर्जुन मैनालीको स्मृतिमा कोलोराडोमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरे ।

नेपाली घरको सहकार्य तथा भाटाल्यान्टको प्राविधिक सहयोगमा नेपाली घरमा आयोजित कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका वरिष्ठ उपाध्यक्ष टीका पौडेलेले शनिवार ४३ औं पटक रक्तदान गरे ।

कार्यक्रममा नारायण पोख्रेल, फणेन्द्र क्षेत्री, लुना लुइटेल पौडेले, गुनराज घिमिरे, संझना पाण्डे, नुरहरी पोख्रेल, बिमला पौडेल, सुधा भण्डारी, दीलकुमारी श्रेष्ठ, विजयदेव अधिकारी, उपेन्द्र घिमिरे, बिष्णुराज घिमिरे, विकास त्रिपाठी, समीका डिस्कोल, सुरज लामिछाने, उषा लम्साल, लक्षुमन रिजाल, क्लारा शाय, नवराज मरासिनी र किसाम थापा लगायतले रक्तदान गरे ।

उक्त कार्यक्रममा रक्तदाता नारायण पोखरेल र विष्णु राज घिमिरेले रेड ब्लड सेल दान गरेका थिए ।

ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासिनीने कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने नेपाली घरका अध्यक्ष बसन्त लम्साल, वरिष्ठ उपाध्यक्ष गंगा चौलागाई, महासचिव भोला कटुवाल, पुष्करराज बस्नेत, बीडीएका केन्द्रीय सल्लाहकार भुषणलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष टीका पौडेल लगायत सबैप्रति आभार व्यक्त गरे ।

अमेरिकी स्वतन्त्रता दिवसका दिन इरानले खामेनीको अन्तिम संस्कार सुरू गर्ने

इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कारका कार्यक्रम जुलाई ४ देखि सुरू गर्ने भएको छ।

राजधानी तेहरानबाट खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम सुरू हुने भनिएको छ।

जुलाई ४ मा अमेरिकाले २५० औं स्वतन्त्रता दिवस मनाउँदैछ।

अमेरिकी स्वतन्त्रता दिवसकै दिन खामेनीको अन्तिम संस्कार सुरू गरिनु संयोग मात्रै नभई इरानले अरू सन्देश दिन खोजिएको आकलन गरिएको छ।

तेहरानबाट अन्तिम श्रद्धाञ्जली सुरू हुने र जुलाई ९ मा खामेनीको शव दफन गर्ने कार्यक्रम छ।

अन्तिम संस्कारको कार्यक्रम अनुसार कार्यक्रमअन्तर्गत जुलाई ७ मा तेहरानको दक्षिणमा रहेको पवित्र सहर कोममा विशेष श्रद्धाञ्जली समारोह आयोजना गरिनेछ।

अन्तिम संस्कारको अन्तिम चरण भने उत्तरपूर्वी सहर मशहदमा हुनेछ। मशहद खामेनीको गृहसहर हो। त्यहाँ उनको शव दफन गरेपछि अन्तिम संस्कारका कार्यक्रम सम्पन्न हुनेछ।

खामेनी फेब्रुअरी २८ मा अमेरिका र इसराइलले गरेको संयुक्त हमलामा मारिएका थिए।

८६ वर्षीय धर्मगुरुले ३६ वर्षसम्म इस्लामिक गणतन्त्र इरानको नेतृत्व गरेका थिए।

इस्लामिक कानुनअनुसार मृत व्यक्तिलाई सकेसम्म छिटो, आदर्श रूपमा २४ घण्टाभित्र दफन गर्नुपर्ने मान्यता छ।

तर युद्धजस्ता विशेष परिस्थितिमा अपवादको व्यवस्था हुने बताइएको छ।

सन् १९८९ देखि सत्तामा रहेका खामेनेईले इरानलाई अमेरिकाविरोधी शक्तिशाली राष्ट्रका रूपमा स्थापित गरेका थिए।

उनले लेबननमा इरान समर्थित समूह हिजबुल्लाह जस्ता प्रोक्सी समूहमार्फत मध्यपूर्वमा इरानको सैन्य प्रभाव विस्तार गरेका थिए भने देशभित्रको असन्तुष्टि कडाइका साथ दबाएका थिए।

आफ्नो शासनकालभर खामेनेई अमेरिकाको कडा आलोचक थिए।

यद्यपि अमेरिकी प्रशासनहरूले इरानको आणविक कार्यक्रमलाई लिएर जारी विवाद समाधान गर्ने प्रयास बारम्बार गरे पनि ठोस सफलता हासिल हुन सकेको थिएन।

खामेनी मारिएको हवाई आक्रमणले तेहरानस्थित उनको केन्द्रीय आवास पूर्ण रूपमा ध्वस्त बनाएको जनाइएको छ।

उक्त आक्रमणमा उनका ५६ वर्षीय छोरा मोज्तबा खामेनी घाइते भएका थिए भने उनकी पत्नीको मृत्यु भएको बताइएको छ।

त्यसपछि मोज्तबाले सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका छन्।

अर्थमन्त्रीले भने-‘अब युवाहरुले विदेशिनु पर्दैन, आगामी बजेटले जग बसाल्न सुरु गर्छ’

काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने बताए ।

‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता आइलागेको छ’, अर्थमन्त्री डा। वाग्लेले भने, ‘अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ । त्यो बुझ्न बजेट पढ्नुहोस् । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ ।’

देशभरका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री डा। वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी–व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई सङ्केत गर्ने बताए ।

करको दरहरू घटाएर एक लाख रुपियाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको पनि उनले बताए ।

यस्तै करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उनले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे । बजेट बनाउँदा युवाहरूको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रमहरू घोषणा भएको उनको भनाइ छ ।

केन्द्रले साढे दुई लाख घरमा स्वच्छ ऊर्जा प्रविधि विस्तार गर्ने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ मा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमका निम्ति दुई अर्ब ६२ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल बजेटमध्ये नेपाल सरकारका तर्फबाट एक अर्ब १९ करोड ७४ लाख र वैदेशिक सहायतामार्फत एक अर्ब ४३ करोड रुपैयाँ राखिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)मार्फत नवीकरणीय ऊर्जालगायत कार्यक्रम छन् । त्यसमा विद्युत् पहुँच विस्तार, खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको प्रवर्द्धन, उत्पादकत्व वृद्धि, फोहोरबाट ऊर्जा उत्पादन, लघु तथा मझौला व्यवसाय प्रवर्द्धन, ऊर्जा दक्षता, ग्रीन हाइड्रोजन, स्थानीय तह तथा प्रदेश सरकारको क्षमता अभिवृद्धि, वातावरणीय र सामाजिक सुरक्षणलगायत कार्यक्रम समेटिएको छ ।

सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय प्रसारणलाइन नपुगेका क्षेत्रमा अफग्रीड सौर्य, वायु तथा लघु जलविद्युत् प्रणाली विस्तार गर्ने नीति लिएको छ । सोही नीतिअनुसार केन्द्रले लघु तथा साना जलविद्युत् तथा सौर्य मिनिग्रीडमार्फत २.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रममार्फत दुर्गम तथा राष्ट्रिय ग्रीडको पहुँचबाहिर रहेका क्षेत्रमा विद्युत् सेवा विस्तार गरिने जनाइएको छ ।

खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको विस्तारलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको छ । आउँदो वर्ष करिब दुई लाख ५० हजार घरधुरीमा विद्युतीय चुलो, बायोग्यास तथा सुधारिएको चुलोलगायत स्वच्छ ऊर्जा प्रविधि जडान गर्ने लक्ष्य राखिएको छ । साथै, १० संस्थागत तथा व्यावसायिक बायोग्यास प्लान्ट र नौ ठूला क्षमताका फोहोरबाट ऊर्जा उत्पादन आयोजना निर्माण गरिने भएको छ ।

उत्पादकत्व वृद्धि, कृषि आधुनिकीकरण, डिकार्बोनाइजेसन तथा व्यवसाय प्रवर्द्धनका कार्यक्रमलाई समेत बजेटले प्राथमिकता दिएको छ । यसअन्तर्गत २७ मेगावाट क्षमताका सौर्य रुफटप प्रणाली जडान, १२० सौर्य खानेपानी तथा सिँचाइ आयोजना निर्माण, एक हजार व्यापारिक तथा संस्थागत क्षेत्रमा एलपीजीको सट्टा जैविक पेलेट चुलो प्रयोग विस्तार, १० सौर्य तापीय प्रणाली स्थापना तथा ५०० किलोवाट पिक क्षमताको एग्रोभोल्टाइक आधारित नमुना सौर्य आयोजना कार्यान्वयन गरिने लक्ष्य तय गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले ग्रीन हाइड्रोजन, हरित एमोनिया तथा रासायनिक मलजस्ता रणनीतिक हरित उद्योगलाई प्रवर्द्धन गर्न कर तथा भन्सार छुट, सहुलियतपूर्ण विद्युत् दर, पुँजी प्रोत्साहन तथा लागतमैत्री नीति लागु गर्ने घोषणा पनि गरेको छ । यातायात क्षेत्रमा व्यावसायिक प्रयोग विस्तार गर्न ग्रीन हाइड्रोजन पूर्वाधार विकासको प्रारम्भिक काम समेत अघि बढाइने जनाइएको छ ।

ऊर्जा दक्षता प्रवर्द्धनतर्फ ऊर्जा परीक्षण तथा त्यसका सिफारिस कार्यान्वयन, ऊर्जा दक्ष नमुना विद्यालय स्थापना, गुणस्तर तथा मापदण्ड निर्माण, जलवायु परिवर्तन न्यूनीकरण, कार्बन व्यापार प्रवर्द्धन, स्थानीय तथा प्रदेश सरकारको क्षमता विकास र नवीनतम ऊर्जा प्रविधिमा अध्ययन–अनुसन्धानका कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै, दिगो ऊर्जा च्यालेन्ज फन्डमार्फत नवीकरणीय ऊर्जा आयोजनामा भायबिलिटी ग्याप फन्डिङ, विपद्का कारण क्षति पुगेका आयोजनाको पुनर्निर्माण तथा मर्मतसम्भार र अफग्रीड आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्ने कार्यक्रमका निम्ति समेत बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ ।

सरकारको यो बजेट तथा कार्यक्रमले ग्रामीण विद्युतीकरण, स्वच्छ ऊर्जा प्रयोग, हरित औद्योगिकीकरण र ऊर्जा क्षेत्रको दिगो विकासलाई थप गति दिने अपेक्षा गरिएको छ ।

म बेइमान होइन, इमानदार मानिस हुँ : दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले देश निर्माणको जिम्मेवारी गम्भीर विषय भएको बताएका छन् । प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा उनले आफूहरूले सत्य कुरा उठाउँदा पनि विभिन्न आरोप र आलोचनाको सामना गर्नुपरेको उल्लेख गरे ।

उनले भने, ‘हामीलाई जहिले पनि अराजक भन्ने गरिन्छ । तर इमानदार मानिस कसैसँग डराउनु पर्दैन। म बेइमान होइन, इमानदार मानिस हुँ।’

आफूहरुसँग चाहिने सबै कुरा भएको बताउँदै प्रसाईंले भने, ‘झुट बोलेर घर बनाउनु छैन, गाडी चढ्नु छैन । हामीसँग आवश्यक सबै कुरा छ ।’

प्रसाईंले इमानदारी र सत्यनिष्ठाका आधारमा देश र समाज परिवर्तनको अभियान अघि बढाइने बताएका छन् ।

कांग्रेस इतरको टिप्पणी : पार्टी कमजोर बनाउने खलनायक गगन

विराटनगर– विराटनगरमा कांग्रेसको इतरपक्षको भेलालाई सम्बोधन गर्दै नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनपछि बनेको नेतृत्वका कारण नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको आरोप लगाएका छन् ।

उनले पार्टी नेतृत्वले नियतवश पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको दाबी गर्दै शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिजस्ता नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको बताए ।

बस्नेतले नयाँ सदस्य थप्ने नाममा अनियमितता भइरहेको आरोप लगाउँदै कांग्रेसलाई कमजोर बनाउने खेलको मुख्य पात्र गगन थापा भएको टिप्पणी गरे ।

साथै उनले पार्टीलाई जोगाउन र सुदृढ बनाउन नेता–कार्यकर्तालाई एकजुट भएर लाग्न आह्वान गरे ।

निसर्ग अस्पताल र प्रदेश प्रहरी कार्यालयबीच सम्झौता

धनगढी । कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

शनिवार सम्पन्न सम्झौताअनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत बहालवाला नेपाल प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर तथा वीरगति प्राप्त प्रहरीका आश्रित परिवारले निसर्ग अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौतामा बहालवाला प्रहरी कर्मचारीका आमा, बुवा, श्रीमती तथा छोरा–छोरी, अवकाश प्राप्त प्रहरीका आश्रित परिवार तथा अमर एवं वीरगति प्राप्त प्रहरीका आश्रित परिवारलाई लक्षित गरी स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराइने उल्लेख छ।

सम्झौताअनुसार ओपीडी सेवा, एक्स–रे, यूएसजी, सिटी स्क्यान, ईसीजी, इको, टीएमटी, एबीपी, होल्टर, प्रयोगशाला सेवा, फिजियोथेरापी, शल्यक्रिया सेवा, बेड तथा भेन्टिलेटर सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। यस्तै औषधि खरिदमा ७ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

सहुलियत सुविधा प्राप्त गर्न सेवाग्राहीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सिफारिस पत्र वा आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताको साक्षीका रूपमा निसर्ग अस्पतालका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश विक्रम शाही रहेका छन् भने प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले रहोबरमा हस्ताक्षर गरेका छन्।

दुवै पक्षबीच भएको उक्त सम्झौता प्रत्येक आर्थिक वर्षमा नवीकरण गरिने तथा आवश्यकताअनुसार आपसी सहमतिमा संशोधन गर्न सकिने जनाइएको छ।

निसर्ग अस्पतालले उक्त सम्झौताले राष्ट्रसेवामा समर्पित प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

नेपालमा बस्ने विदेशीले बसोबासको विवरण दर्ता गर्नु पर्ने

काठमाडौं । नेपालमा बस्ने विदेशीले बसोबासको विवरण दर्ता गर्नु पर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने भएको छ ।

यस निम्ति गृह मन्त्रालयले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन गर्दैछ ।

गृह मन्त्रालयले तयार पारेको नयाँ विधेयकको दफा १० मा विदेशीको बसोबासको विवरण दर्ता गर्नु पर्ने प्रावधान छ । जसको उपदफा १ मा भनिएको छ, ‘नेपालमा प्रवेश गर्ने विदेशीले नेपालमा निजको बसोबास गर्ने स्थान, सम्पर्क नम्बर वा सम्पर्क व्यक्ति सम्बन्धी विवरण अध्यागमन जाँच बिन्दुमा दर्ता गर्नु पर्नेछ ।’

नेपाल भित्रको कुनै आवासमा विदेशी बसोबास गरेमा आवास सञ्चालक वा धनीले विवरण संकलन गरेर अध्यागमन कार्यालय, प्रहरी कार्यालय, मन्त्रालय अन्तर्गतको कुनै कार्यालय वा स्थानीय तहको वडा कार्यालयमा वा विभागले सञ्चालनमा ल्याएको अध्यागमन सम्बन्धी सूचना प्रणालीमा नेपालमा बसोबास गर्ने विदेशीको तोकिएको विवरण उपलब्ध गराउनु पर्ने हुन्छ ।

नेपाल भित्रको कुनै विश्वविद्यालय र शैक्षिक संस्था वा अन्य कुनै संस्थामा विदेशीले प्रवेश पाई त्यस्तो विदेशीको लागि आवास तथा सुत्ने सुविधा प्रदान गरिएकोमा त्यस्तो निकाय वा संस्थाले पनि विवरण दर्तँ गराउनुपर्ने हुन्छ ।

नेपाल भित्रको कुनै अस्पताल, नर्सिङ होम वा अन्य कुनै चिकित्सा सेवा प्रदान गर्ने संस्थाले आफ्नो परिसर भित्र चिकित्सा उपचार लिइरहेका कुनै पनि विदेशी वा उनीहरूको विदेशी सहयोगीका लागि आवास वा सुत्ने सुविधा प्रदान गरिएकोमा त्यस्तो अस्पताल, नर्सिङ होम वा चिकित्सा सेवा प्रदान गर्ने संस्थाले यो काम गर्नुपर्छ ।

यहाँ स्पष्टीकरण खण्ड राखेर आवास भन्नाले बसोबास वा सुत्नको लागि बनेका होटल, होमस्टे, मोटेल, गेस्ट हाउस, धर्मशाला, ध्यानकेन्द्र, योगकेन्द्र, होस्टेल, अपार्टमेन्ट वा घर सम्झनु पर्ने भनिएको छ ।

यी लगायतका प्रावधानसहितको विधेयक गृह मन्त्रालयले तयार पारेको हो ।  गृह मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेर यसउपर सर्वसाधारणसँग राय माग गरेको छ ।

गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागिएको हो ।

जसअनुसार कुनै विदेशीलाई नेपालमा प्रवेश वा उपस्थिति हुन दिने वा नदिने वा नेपालबाट प्रस्थान गर्न दिने वा नदिने सम्बन्धी सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित रहनेछ ।

कुनै विदेशी नेपालभित्र प्रवेश गर्न वा नेपालमा बस्न सम्बन्धित मुलुकको राहदानी र नेपालको भिसा लिएको हुनु पर्नेछ ।

नेपाल सरकारले कुनै मुलुकका नागरिकलाई नेपाल सरकार र त्यस्तो मुलुकबीच भएको सम्झौताका आधारमा नेपालभित्र प्रवेश गर्न वा बस्न दिन सक्नेछ र त्यसरी नेपालभित्र प्रवेश गर्दा वा बस्दा तोकिए बमोजिमका कागजात पेस गर्नु पर्नेछ ।

गैर आवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा दिने तयारी

काठमाडौं । सरकारले गैर आवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा दिने तयारी गरेको छ । यसका निम्ति अध्यागमनसम्बन्धी कानुनलाई संशोधन गरिँदैछ ।

गृह मन्त्रालयले तयार पारेको अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा ४ मा अध्यागमन अधिकृतले भिसा जारी गर्न सक्ने प्रावधान छ ।

जसअन्तर्गत गैरआवासीय नेपाली भिसा जारी गर्ने विषय समावेश छ । प्रस्ताविक विधेयकअनुसार सरकारले १७ प्रकारका भिसा जारी गर्नेछ ।

यी हुन् १७ प्रकारका भिसा

(क) कूटनीतिक भिसा,

(ख) औपचारिक (अफिसियल) भिसा,

(ग) पर्यटक भिसा,

(घ) अन्तरिम (ट्रान्जिट) भिसा,

(ङ) अध्ययन, अध्यापन, अनुसन्धान तथा वैज्ञानिक भिसा,

(च) कार्य भिसा,

(छ) व्यावसायिक भिसा,

(ज) पारिवारिक भिसा,

(झ) प्रेस भिसा,

(ञ) अस्थायी भिसा,

(ट) आवासीय भिसा,

(ठ) गैर आवासीय नेपाली भिसा,

(ड) पर्वतारोहण भिसा,

(ढ) चलचित्र भिसा,

(ण) खेलकुद भिसा,

(त) मेडिकल भिसा,

(थ) तोकिए बमोजिमका अन्य भिसा ।

यसमै गैर आवासीय नेपाली भिसाबारे थप प्रावधान राखिएको छ । विधेयकको दफा ४ को उपदफा २ मा भनिएको छ, ‘नेपालमा बसोबास गर्न आउने देहायका व्यक्ति र निजको परिवारलाई दश वर्षसम्मको निःशुल्क गैर आवासीय नेपाली भिसा उपलब्ध हुनेछ ।’

प्रस्तावित प्रावधान अनुसार गैर आवासीय नेपाली नागरिकता प्राप्त वा गैरआवासीय परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिकले गैर आवासीय नेपाली भिसा प्राप्त गर्न सक्नेछन् ।

यहाँनेर स्पष्टीकरण छ । गैर आवासीय नेपाली नागरिकको सन्दर्भमा स्पष्टीकरण खण्डमा भनिएको छ, ‘यस उपदफाको प्रयोजनको लागि परिवार भन्नाले पति, पत्नी, बुबा, आमा, छोरा छोरी, बाजे बज्यै र सासू वा ससुरा सम्झनु पर्छ ।’

यी लगायतका प्रावधानसहितको विधेयक गृहमन्त्रालयले तयार पारेको हो । गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार पारेर यसउपर सर्वसाधारणसँग राय माग गरेको छ ।

गृहमन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागिएको हो ।

जसअनुसार कुनै विदेशीलाई नेपालमा प्रवेश वा उपस्थिति हुन दिने वा नदिने वा नेपालबाट प्रस्थान गर्न दिने वा नदिने सम्बन्धी सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित रहनेछ ।

कुनै विदेशी नेपालभित्र प्रवेश गर्न वा नेपालमा बस्न सम्बन्धित मुलुकको राहदानी र नेपालको भिसा लिएको हुनु पर्नेछ ।

नेपाल सरकारले कुनै मुलुकका नागरिकलाई नेपाल सरकार र त्यस्तो मुलुकबीच भएको सम्झौताका आधारमा नेपालभित्र प्रवेश गर्न वा बस्न दिन सक्नेछ र त्यसरी नेपालभित्र प्रवेश गर्दा वा बस्दा तोकिए बमोजिमका कागजात पेस गर्नु पर्नेछ ।

साथै, कुनै विदेशीलाई अध्यागमन अधिकृतले नेपालको भिसा दिन वा नेपालभित्र प्रवेश गर्न नेपालको अध्यागमन जाँच बिन्दुमा नै इन्कार गर्न पनि सक्नेछ ।

राहदानी, भिसा वा यात्रासम्बन्धी कागजात शंकास्पद देखिएको वा वैध नरहेको अवस्थामा यस्तो कार्य गर्न सक्ने प्रावधान राखिएको छ ।

४ पटककाे विजेता जर्मनीसँग खेलेर कुराकाओले विश्वकपमा डेब्यु गर्दै

काठमाण्डाै – फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन् । समूह ‘ई’ को यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ ।

विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो । जर्मनीले अहिलेसम्म सन् १९५४, १९७४, १९९० र २०१४ मा गरी ४ पटक उपाधि जितेको छ । विश्वकपमा जर्मनीको यो २१औँ सहभागिता हो ।

कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो । कुराकाओ क्षेत्रफल र जनसङ्ख्या दुवैकाे हिसाबले प्रतियोगिताका लागि छनोट हुने सबैभन्दा सानो देश हाे ।

कुराकाओकाे क्षेत्रफल ४४४ वर्गकिलाेमिटर र जनसङ्ख्या झन्डै १ लाख  ५८ हजार रहेकाे छ ।

फिफा वरीयतामा जर्मनी १०औँ र कुराकाओ ८२औँ स्थानमा छ ।

यस्तै आज राति समूह ‘एफ’ का नेदरल्यान्ड्स र जापान खेल्दैछन् । यो खेल राति पौने २ बजे अमेरिकाको डलास रङ्गशालामा शुरू हुनेछ ।

विश्वकप फुटबलमा भोलि बिहान ३ वटा खेल हुँदैछन् । बिहान पौने ५ बजे फिलाडेल्फिया रङ्गशालामा समूह ‘ई’ का आइभरी कोस्ट र इक्वेडर खेल्दैछन् । यस्तै बिहान पौने ८ बजे मेक्सिकोको मोन्टेरी रङ्गशालामा समूह ‘एफ’ का स्वीडेन र ट्युनिशिया खेल्दैछन् ।

सुदनको पुनर्नियुक्तिप्रति जनमोर्चाको आपत्ति

काठमाडौं – राष्ट्रिय जनमोर्चाले सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले उक्त कदमले सरकारको नियत र छानबिन प्रक्रियामाथि प्रश्न उठाएको जनाएको छ।

शनिबार जारी प्रेस वक्तव्य मार्फत जनमोर्चाले सम्पत्ति तथा आर्थिक कारोबारसम्बन्धी विवादमा मुछिएपछि जनताको विरोध र दबाबका कारण गुरुङ गृहमन्त्री पदबाट हटाइएको स्मरण गराएको छ। तर पदबाट हटाइएपछि पनि उनको कार्यकालमा निर्माण गरिएको गृहमन्त्रालयको सचिवालयलाई यथावत राखिएको र रिक्त गृहमन्त्री पदमा अर्को व्यक्तिलाई नियुक्त नगरी प्रधानमन्त्री स्वयंले जिम्मेवारी सम्हालेको तथ्यले उनलाई पुनः नियुक्त गर्ने तयारी पहिलेदेखि नै रहेको स्पष्ट भएको जनाइएको छ।

वक्तव्यमा गुरुङको आचरण र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेपछि सरकारले आफूअनुकूलको छानबिन समिति गठन गरेको आरोप लगाइएको छ। उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्काउनु सरकारको निर्णय गलत  भएको पार्टीको भनाइ छ।

पार्टीले यस घटनाले छानबिन समिति स्वतन्त्र र निष्पक्ष नभएको संकेत गरेको दाबी गरेको छ। साथै, मानवअधिकार आयोगको छानबिन प्रतिवेदनले ‘फ्रि तिब्बत’ अभियानको पक्षमा नेपालमा टीओबी समूहमा गुरुङको संलग्नता रहेको देखाएको अवस्थामा उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्नु आपत्तिजनक भएको जनमोर्चाले जनाएको छ।

जनमोर्चाले सरकारको उक्त कदमको कडा शब्दमा विरोध गर्दै पारदर्शी र निष्पक्ष ढंगले तथ्य सार्वजनिक गर्न माग गरेको छ।

यस्तो छ जनमोर्चाको प्रेस वक्तव्य :

राष्ट्रिय जनमोर्चा
National People’s Front, Central Office
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ नगरपालिका – १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : [email protected]
प्रेस वक्तव्य
  सम्पत्ति र आर्थिक कारोबार समेतका विवादमा मुछिएपछि जनताको विरोध र दबाबका कारण गृहमन्त्रीबाट हटाइएका सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । उनलाई गृहमन्त्रीबाट हटाइसकेपछि पनि उनको समयमा निर्माण गरिएको गृहमन्त्रालयको सचिवालयलाई यथावत कायम राखिएको थियो । रिक्त गृहमन्त्रीको पदमा अर्को व्यक्तिलाई नियुक्ति नगरी प्रधानमन्त्री स्वयंले आफूमा निहित गरिनु उक्त पदमा पुनः सुदन गुरुङलाई नियुक्त गर्ने उद्देश्य रहेको स्पष्ट थियो र अहिले त्यही उद्देश्यअनुसार उनलाई गृहमन्त्रीमा फर्काउने काम भएको पनि छ । गुरुङको आचरण र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेपछि सरकारले आफू अनुकूलकोे छानविन समिति बनाएकोमा हाल उक्त समितिको प्रतिवेदन समेत सार्वजनिक नै नगरिकन उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्काउने सरकारको उक्त कार्यलाई हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । यसका साथै सरकारको उक्त कार्यले छानवीन समिति स्वतन्त्र र निष्पक्ष नभएको कुरालाई पनि स्पष्ट गरेको छ । मानवधिकार आयोगको छानवीन प्रतिवेदनले फ्रि तिब्बतको पक्षमा नेपालमा टीओबी समूहमा गुरुङको संलग्नता रहेको सार्वजनिक गरेको परिप्रेक्ष्यमा उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सरकारको कदमलाई समेत हामीले कडा शब्दमा विरोध गर्दछौँ ।
२०८३ जेठ ३१ गते
Rasmi.jpg
रश्मीराज नेपाली

    कार्यवाहक अध्यक्ष

 

कैलालीको अधिवेशन केन्द्रीय निर्वाचन आयोगद्धारा चार कारण देखाउँदै रद्द

कैलाली- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्लाका अधिवेशन रद्द गरेको छ। गत जेठ २३ गते जिल्लाको अधिवेशन भएको थियो।

एउटा पक्षको बहिष्कारकाबीच कविन्द्र ठकुल्ला ३३५ मतसहित विजयी भएको घोषणा गरिएको थियो। तर निर्वाचन प्रक्रिया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेदवारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण उजुरी दर्ता गराएको निर्वाचन आयोग प्रमुख भुवन केसीले बताएका छन्।

‘उक्त निर्वाचन प्रक्रियाप्रति कैलाली जिल्लाका सांसदहरूको असहमति र सल्लाहको बाबजुद अवैधानिक ढंगले विधान तथा कार्यविधि विपरीत निर्वाचन गराइएको पाइएको छ। प्राप्त प्रारम्भिक उजुरी तथा सँगै संलग्न प्रमाणहरूको आधारमा आयोगले अध्ययन गर्दा, उक्त अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरू पालना नभएको प्राथमिक रूपमै पुष्टि हुन आएको छ,’ केसीले भनेका छन्।

निर्वाचन आयोगले देखाएका रद्दका आधारहरू

१. प्रक्रियागत त्रुटि– प्राप्त तथ्याङ्क र सप्रमाण उजुरीका आधारमा निर्वाचनको न्यूनतम आधारभूत प्रक्रिया पालना नभएको देखिएको ।

२. कार्यविधिको उल्लंघन– मतदान र मतगणनाको स्थापित नियम तथा निर्वाचन कार्यविधिको उल्लंघन भएको पाइएको ।

३. सर्वस्वीकार्यताको अभाव– विभिन्न पदका अधिकांश मुख्य उम्मेदवारहरूले उक्त प्रक्रियाप्रति लिखित असहमति जनाउँदै प्रक्रिया बहिस्कार गरेको पाइएको ।

४. समावेशी प्रतिनिधित्वमा अवरोध– स्थापित नामावली बमोजिमका कतिपय योग्य सदस्य तथा प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको देखिएको ।

यसकारण पार्टीको विधान, निर्वाचन कार्यविधि र आन्तरिक लोकतन्त्रको रक्षार्थ, केन्द्रीय निर्वाचन आयोगको आइतबार बसेको बैठकले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित भएका सम्पूर्ण परिणामहरूलाई पूर्ण रूपमा बदर ÷ रद्द गर्ने निर्णय गरेको उनले बताएका छन्।

बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत

बैतडी । मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद् तथा त्यसबाट हुने क्षति न्यूनीकरणलाई लक्षित गर्दै बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले समितिद्वारा तयार पारिएको उक्त योजना अनुमोदन गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईका अनुसार योजनामा विपद् आउनुअघि अपनाउनुपर्ने पूर्वतयारी, विपद्को समयमा सञ्चालन गरिने प्रतिकार्य तथा विपद्पश्चात्‌ गरिने उद्धार, राहत र पुनःस्थापना सम्बन्धी कार्यलाई समेटिएको छ ।

बैठकमा मनसुनका बेला उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ ।

सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तह र सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ ।त्यसैगरी, वर्षायाममा अवरुद्ध हुन सक्ने प्रमुख राजमार्ग तथा सडक सञ्जाललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयलाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

विपद्को अवस्थामा सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थालाई आवश्यक स्थानमा तत्काल परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको बैतडीमा सम्भावित प्रभावित समुदायको पहिचान गरी आवश्यक पूर्वतयारी र सुरक्षाका उपाय अवलम्बन गर्न स्थानीय तहलाई विशेष आग्रह गरिएको जनाइएको छ ।

मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्ने उद्देश्यले योजना कार्यान्वयनमा सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

खोज्नुहोस