मुख्यमन्त्री शाह र स्विस राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेट

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेट भएको छ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई पक्षबीच आपसी सहकार्य र विकास साझेदारीका विषयमा छलफल भएको हो।

भेटका क्रममा मुख्यमन्त्री शाहले स्वीस सरकारले नेपालमा संघीय शासन प्रणाली सुदृढीकरण, रोजगारी सिर्जना, सीप विकास, सुरक्षित वैदेशिक रोजगार, कृषि विकास, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनजस्ता क्षेत्रमा पुर्‍याउँदै आएको प्राविधिक सहयोगको प्रशंसा गरे।

त्यस्तै, नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डेनिएल मेउलीले नेपाल र स्विट्जरल्याण्डबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा भइरहेका कार्यक्रमबारे जानकारी गराइन्। उनले नेपालको दीगो विकासका लागि स्विट्जरल्याण्डको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।

 

सातवटै प्रदेशका सरकार फेर्ने कसरतमा कांग्रेस–एमाले, उच्चस्तरीय संवादको तयारी

कैलाली । बजेट निर्माणमा लाग्नुपर्ने बेला सातै प्रदेशमा सरकार हेरफेर गर्ने गरी कांग्रेस-एमाले गठबन्धनले तयारी गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजोको सचिवालय बैठकमा पनि यस विषयमा नेताहरूलाई जानकारी गराएका थिए ।

‘हिजोको सचिवालय बैठकमा पनि अध्यक्ष कमरेडले अन्य दलसँग भइरहेको छलफलहरूबारे जानकारी गराउनु भएको थियो । आज कांग्रेससँग यस विषयमा निर्णायक संवाद गर्ने तयारी छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘कांग्रेससँगको संवादपछि सातै प्रदेशको सरकार हेरफेर हुन सक्छ ।’

एमालेका एक पदाधिकारीका अनुसार अहिले पार्टीभित्र पनि सरकार परिवर्तनको गहन बहस सुरू भइरहेको छ । तर, बजेट तयार गरेर परिवर्तन गर्ने वा त्योभन्दा पहिल्यै गर्ने भन्ने विषयमा ठोस निष्कर्ष आइसकेको छैन । कांग्रेस सभापति गगन थापासँगको संवादपछि यो विषयको पनि टुंगो लाग्ने छ ।

अहिले सात प्रदेशमध्ये कांग्रेसले ४ र एमालेले ३ प्रदेशको नेतृत्व गरिरहेको छ । नयाँ समीकरण बन्ने अवस्थामा पनि चार प्रदेशको नेतृत्व गर्नुपर्ने कांग्रेसको माग छ । नेकपाले पनि सुदूरपश्चिम प्रदेशको नेतृत्वसहित तीनदलीय सरकार बनाउन सकिने जनाइसकेको छ । एमालेले पनि तीनै दलसँग सहकार्यको बाटो खुला गरेको बताएको छ । तर, तीन दलको विषयमा कांग्रेसले भने ठोस निर्णय सुनाइसकेको छैन ।

‘सडक, सरकार र सदनमा सँगै’ भन्दै नेकपाले पनि सरकारमा सहकार्यको प्रस्ताव अघि बढाइसकेको छ । सबैभन्दा ठूलो दल सुदूरपश्चिम प्रदेशमा रहेको भन्दै नेकपाले त्यहाँ मुख्यमन्त्रीको दाबी गरेको छ । कांग्रेसको माग ४ प्रदेशको नेतृत्व हो,’ एमाले उच्च स्रोतले भन्यो, ‘अब अध्यक्ष कमरेडले कांग्रेससँगको छलफलपछि यो विषयमा टुंगो लगाउनु हुन्छ ।’

कांग्रेससँग बसेर टुंगो लागेपछि मात्रै नेपालाई सहभागी गराउने वा नगराउने भन्ने विषय टुंगो लाग्ने अर्का एक पदाधिकारीले बताए ।

‘पहिले कांग्रेससँग बसेर नेकपालाई पनि सँगै लिएर जाने भन्ने विषयमा टुंगो लागेपछि मात्रै नेकपाको सहयात्रा तय हुन्छ,’ ती पदाधिकारीले भने ।

कांग्रेस-एमाले सहकार्य सुरु हुँदा कांग्रेसका सभापति शेरबहादुर देउवा थिए । त्यो बेला सुदूरपश्चिम र कोशी प्रदेश सरकारलाई निरन्तरता दिने र पाँच प्रदेशमा हेरफेर गर्ने सहमति भएको थियो । अहिले पूर्वसमझदारीअनुसार हेरफेरको समय पनि भएको छ ।

तर, कांग्रेस सभापति अहिले गगन थापा छन् । उनी नेतृत्वको कांग्रेसले कोशीमा एमालेले नै गर्ने नेतृत्वमा पूर्णविराम लगाउँदै कांग्रेसले कोशीको दाबी समेत गरेको छ । यता कर्णालीमा पनि कांग्रेसले दाबी गरिरहेको छ । यही सन्दर्भमा कांग्रेस सभापति र एमाले अध्यक्षबीचको छलफलपछि टुंगो लाग्ने बताइएको छ ।

‘हिजो कांग्रेस सभापतिसँग दुई प्रदेशबाहेक अन्यमा हेरफेर गर्ने सहमति भएको थियो । अहिले कांग्रेसको नेतृत्व फेरिएको छ, उहाँहरूको प्राथमिकता पनि फेरिएको छ । त्यसैले अब हेरफेर हुँदा सबै प्रदेशमा हेरफेर हुन्छ होला,’ एमाले स्रोतले भन्यो ।

यसअघि अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई पनि तीनदलीय सरकारको सम्भावनाबारे बताएका थिए । मुख्यमन्त्री शाहले ओलीको प्रस्तावलाई पार्टी सभापति थापालाई पनि सुनाएका थिए । अन्य नेताहरूबीच छलफल भइरहे पनि दुई दलका नेताहरूले यस विषयमा आज-भोलिमै टुंगो लाग्ने बताएका छन् ।

‘कांग्रेससँग निरन्तरता दिनुपर्ने एमालेको पहिलो प्राथमिकताको विषय हो । तर, कांग्रेससँगको समन्वयमा नेकपालाई पनि सत्ता सहकार्यमा भित्र्याउने कुरा हुन सक्छ । लोकतन्त्रको रक्षाका लागि कांग्रेस, एमाले र नेकपाबीचको बलियो सहकार्यबारे पनि बहस जारी छ,’ एमाले नेताहरूले बताएका छन् ।

अघिल्लो शनिबार कांग्रेस सभापति  गगनकुमार थापाले एमालेसँगको सहकार्य तत्काल टुट्ने सम्भावना नरहेको बताएका थिए । स्रोतका अनुसार कांग्रेस सभापतिमा निर्वाचित भएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश आउनुभन्दा पहिले  थापाले  एमाले अध्यक्ष  केपी शर्मा ओलीलाई भेटेका थिए ।

उनले धनगढीमा तत्काल कांग्रेस र एमालेको सहकार्य कायम रहने तथा बजेटपछि तीन दलबीचको सहकार्य पनि हुनसक्ने संकेत गरे । सभापति थापाको सन्देश र आगामी कार्ययोजना बोकेर मंगलबार कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री  उदयशमशेर राणा पुनः एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे । गुण्डुमा मंगलबार साँझ कांग्रेस–एमाले सहकार्य निरन्तर राख्ने, तर केही प्रदेशमा सरकार हेरफेर गर्नेबारे छलफल भएको थियो । छलफलमा

कांग्रेसका दुई पदाधिकारीले पूर्वसहमतिअनुसार प्रदेश सरकारहरूको आलोपालो गर्ने बेला भएकोबारे जानकारी गराएका थिए ।

२७२४ विन्दुमा नेप्से, ३ अर्ब बढीको सेयर किनबेच

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ। नेप्से ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

सोमबार २ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ८ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३४६ वटा धितोपत्रको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।

यसदिन कर्पोरेट डेभलपमेन्टको मूल्य सर्वाधिक १४.२६ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ३०० रूपैयाँ पुगेको छ।

यस्तै, एनआरएमको मूल्य ६.४१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३७३ रूपैयाँ ५० पैसा कायम भएको छ।

सर्वाधिक मूल्य घट्नेमा सिटी होटल रहेको छ।

उक्त कम्पनीको मूल्य ६.८४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३६८ रूपैयाँमा झरेको छ

यसैगरी, थ्री स्टार हाइड्रोपावरको मूल्य ५.८२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५५० रूपैयाँमा सीमित भएको छ।

मंगलबार सिटी होटलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको ३६८ रूपैयाँमा २३ करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको ६५३ रूपैयाँमा ९ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ।

यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले घटेको छ।

कान्सको रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति

काठमाडौँ । केही दिनदेखि फ्रान्समा जारी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति बुढाथोकी सहभागी भएकी छन् । उनले सोमबार फेस्टिभलको रेड कार्पेटमा हिँडेका तस्बिरहरू इन्स्टाग्राममा सेयर गरेकी छन् । शिवांगी प्रधानले तयार पारेको गाउनमा सजिएर उनी रेड कार्पेटमा प्रस्तुत भएकी थिइन् । उनी बीएमडब्लु गाडीको भारतीय प्रतिनिधिको रूपमा फेस्टिभलमा सहभागी भएकी हुन् ।

कान्सको रेड कार्पेटमा हिँडेका आकर्षक तस्बिरहरू सेयर गर्दै उनले लेखेकी छन्, ‘पहिलो पटक कान्सको रेड कार्पेटमा हिँड्नु मेरा लागि अविश्वसनीय अनुभूति रह्यो । सुन्दर अनुभवको लागि बीएमडब्लु इन्डियालाई धन्यवाद ।’

यसपटक फेस्टिभलमा थुप्रै नेपाली फिल्मकर्मीहरूले उपस्थिति जनाएका छन् । यही बिहीबार कान्समा वर्ल्ड प्रिमियर हुन लागेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’का निर्देशक अविनाश विक्रम शाह सोमबार फेस्टिभलको रेड कार्पेटमा सहभागी भएका थिए ।

काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता प्रदीप खड्का, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, ‘एक्लो’ फिल्मका निर्देशक प्रदीप शाही, निर्माता अनुप पौडेल पनि फेस्टिभलमा सहभागी छन् । त्यहाँ चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाली फिल्मको प्रवर्द्धन गर्न ‘स्टल’ समेत राखिएको छ । फेस्टिभलमा २४ मेसम्म आयोजना हुनेछ ।

साउदी र सपना (कविता)

साउदी अरब को दुई बर्से बसाइ का
तिता मिठा पल हरु
ती पलहरु संघर्षशिल र मुल्यवान
साच्चै अहो! जिन्दगी भेटको थिए ।

अरब को प्रचण्ड गर्मी
शरीर तापिरहेको थियो
ताप को ज्वलन्शिल रापमा
सपना जलिरहेक थिए।

साउदी अरब लाखौ नेपाली
लाखौं नेपाली को कर्म थलो
मेरो नि कर्म थलो बन्दा
प्रदेशी को पिडा
पिडा को दुखाइ
नजिकको आभास पाए।

मेरो बिपना र सपनाको दुरि
सयौं कोष टाढा हुदा
पसिनाका दानाहरु
मोतिका दानाझै टल्किदा
पानी का फोकाझै बिलिन हुदा
मैले मेरो मन लाई सोध्दा
त गन्तब्य को बाटोमा हिडिस कि हिडिनस
सपना पन्छ्याइरहेको मेरो मन
जवाफ बिहिन भयो।

मरुभुमी को बाक्लो बालुवा
रबिको तेजस्वी किरण
वृक्ष बिहिन जमिन
तेहि उजाड तेहि जमिन
भबिस्य खोज्ने
सपनाको सहर बन्दा
थकान मेटने चौतारी  खोजे
न चौतारी न छाँया ।

(लेखक : टेक परियार)

ठगी मुद्दामा पूर्वमन्त्री रामेश्वर चौधरी १० लाख धरौटीमा रिहा

धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्व कृषि मन्त्री रामेश्वर चौधरी १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। किसानलाई पावर टिलर उपलब्ध गराउने नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत बर्दिया ले उनीसँग १० लाख धरौटी माग गरेको थियो। अदालतले वैशाख ३० गते धरौटी आदेश दिए पनि चौधरीले वैशाख ३१ गते मात्रै धरौटी बुझाएर रिहा भएका हुन्।

चौधरी सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत भइसकेका हुन्। उनी नागरिक उन्मुक्ति पार्टी बाट निर्वाचित सांसद हुन्।

प्रकरणअनुसार ‘सुरो नेपाल’ नामक संस्थाले बर्दियाको बारबर्दिया गाउँपालिकामा अनुदानमा किसानलाई पावर टिलर ट्र्याक्टर उपलब्ध गराउने भन्दै रकम संकलन गरेको थियो। किसानहरूले संस्थाकी अध्यक्ष सुशीला खड्का को खातामा ५७ लाख रुपैयाँ जम्मा गरेको र पूर्वमन्त्री चौधरीलाई १७ लाख रुपैयाँ दिएको आरोप लगाएका छन्।

२०८२ भदौ १८ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दर्ता भएको थियो। आवश्यक अनुसन्धानपछि २०८३ वैशाख १८ गते पूर्वमन्त्री चौधरी, खड्कासहित अन्य दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले २० गते खड्कालाई र ३० गते चौधरीलाई १० लाख रुपैयाँ धरौटी माग गरेकोमा छुनछेक बहसपछि चौधरीले १० लाख धरौटी बुझाएर तारेखमा छोड्ने आदेश भएको जिल्ला अदालत बर्दियाका श्रेस्तेदार कमल घलेले जानकारी दिए।

प्रहरीका अनुसार धरौटी तिर्न नसकेकी खड्का हाल कारागारमै छन् भने पूर्वमन्त्री चौधरीले धरौटी बुझाएर रिहा भएका हुन्। खड्काविरुद्ध कैलाली र कञ्चनपुरमा समेत ठगीसम्बन्धी मुद्दा दर्ता रहेको जनाइएको छ।

स्थानीय किसानहरूले ५७ लाख रुपैयाँ खातामा पठाएको र १७ लाख रुपैयाँ मन्त्रीलाई दिएको आरोप लगाइरहेका छन्। प्रहरीका अनुसार केही रकम फिर्ता भए पनि बाँकी रकम फिर्तामा आनाकानी भएपछि विवाद बढेको हो। यद्यपि, पूर्वमन्त्री चौधरीले भने आफूले कसैसँग पैसा नलिएको दाबी गरेका छन्।

विपद्का बेला दीर्घरोगीलाई निरन्तर सेवा दिन ‘पेन डी प्याकेज’ लागू गरिँदै

टीकापुर (कैलाली): कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को  अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम (पेन डी)लाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन्।

रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास रोग पछिल्लो समय जनस्वास्थ्यको प्रमुख जोखिम देखिएकाले यसलाई नियन्त्रण गर्न ती पालिकाले आफ्ना नीति तथा कार्यक्रममा समावेश गरेर उपचारात्मक तथा सचेतनात्मक थालनी गर्ने प्रतिबद्धता जनाएका हुन्। यी रोग नेपालमा अकालमै हुने मृत्युदर र अपाङ्गताको प्रमुख कारक बन्दै गएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा ७१ प्रतिशत मृत्युको कारकका रूपमा देखिएको नसर्ने रोग सन् २०४० सम्ममा ७९ पुग्ने प्रक्षेपण छ

विपद्को सधैँ उच्च जोखिममा रहेका ती दुई पालिकामा पनि नसर्ने रोग वृद्धिको ‘ग्राफ’ बढ्दो छ। विशेष गरेर ती दुई पालिकामा हरेक वर्ष बाढी र कटानको जोखिम उच्च हुन्छ। नोभो निर्डिस्क फाउन्डेसनको आर्थिक एवं प्राविधिक सहयोगमा हाल ती दुई पालिकामा ‘रिजिलियन्स एनसिडी’ परियोजना कार्यान्वयनमा छ। यसलाई डेनिस, क्यानेडिन रेडक्रस, आरहुस विश्वविद्यालय र नेपाल रेडक्रस सोसाइटीले सहयोग गरिराखेका छन्।

प्राथमिक स्वास्थ्य सेवा तहमा नसर्ने रोगको व्यवस्थापन गर्न विश्व स्वास्थ्य सङ्गठनले ‘पेन डी’ कार्यान्वयनमा सहयोग गरिराखेको भए पनि विपद्का अवस्थामा यो प्रभावकारी छैनन्। यस्तो अवस्थामा उपचार रोकिने, सेवन गरिराखेका औषधि रोकिने र विस्थापितसमेत हुनुपर्ने अवस्था छ।

कैलालीको भजनी नगरप्रमुख केवल चौधरी र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘पेन डी प्याकेज’लाई समावेश गर्ने जानकारी दिए।

‘रिजिलियन्स एनसिडी’ परियोजना समीक्षा एवं कृत्रिम अभ्यास कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख चौधरीले भने, “आगामी वर्षको नीति तथा कार्यक्रममा ‘पेन डी प्याकेज’ समावेश हुन्छ। पछिल्लो समय मैले पनि नसर्ने रोगका बारेमा धेरै ज्ञान सिके, नसर्ने रोग रोकथाम विपद्मा मात्र होइन, अन्य समयमा पनि नियमित गर्नुपर्ने समस्या छ। समुदाय, जनप्रतिनिलिाई नसर्ने रोगको जोखिमबारेमा थप जानकारी दिन आवश्यक छ।”

उनका अनुसार नगरवासीलाई बाढीको उच्च जोखिमबाट जोगाउन सयभन्दा  बढी उच्च घर बनाउन पालिकाले सहयोग गरेको छ। विस्थापित नागरिक राख्नका लागि १८ उच्च घर बनाइएका छन्। “अब विस्थापित बस्ने सुरक्षित स्थानमा पनि नसर्ने रोगलाई ध्यानमा राखेर सेवा दिनेछौँ”, उनले भने, “ समुदायमा नसर्ने रोगका बिरामीको खोजपड्ताल गर्नेेक्रम जारी छ। पहिचानका लागि यस्ता रोगलाई कार्ड वितरण भैराखेको छ।”

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ‘पेन डी प्याकेज’ मार्फत रेडक्रसले नसर्ने रोगका जोखिम तथा बच्ने तौरतरिकाबारेमा सचेतना जगाउने काम गरेको बताए। उनले भने “परीक्षणका रुपमा ‘रिजिलियन्स एनसिडी’ परियोजना भए पनि यसलाई पालिकाले अपनत्व लिनेछ। हामीले यो कार्यक्रमलाई निरन्तरता दिनेछौँ। हामीले मात्र होइन देशैभरिका पालिकाले लागू गर्न सके राम्रो हुनेछ।”

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सहयोगमा तयार पारिएको ’पेन डी प्याकेज’लाई यी पालिकामा दुई वर्ष परीक्षण अभ्यास गरिएको छ। प्याकेजअन्तर्गत स्थानीय तहमा विभिन्न सचेतनामूलक कार्य भएका जनाइएको छ।

यस्ता थिए अभ्यास 

‘पेन डी प्याकेज’को अभ्यास गरिरहेका विशेषगरी बाढीजन्य विपद्को जोखिममा रहेका यी दुई पालिकामा वास्तविक विपद्को समयमा प्रयोग गर्न सहज होस् भनी दुई दिन कृत्रिम घटना अभ्याससमेत गरिएको छ।

आठवटा परिदृश्यमा गरिएको अभ्यासमा पालिकाको भूमिका, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र, विषयगत शाखा, विपद्का समयमा बढी सक्रिय रहने बडघर, भल्मन्सा, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, रेडक्रसलगायतका सङ्घसंस्था, स्थानीय समुदायमा रहेका विपद् व्यवस्थापन समिति, सञ्चारकर्मी वा सूचना संयन्त्रका नागरिक परिचालन गरिएको रेडक्रस सोसाइटीका ‘रिजिलियन्स एनसिडी’ परियोजनाकार्यक्रम संयोजक प्रमोद अधिकारीले जानकारी दिए।

कैलाली, कञ्चनपुरमा बग्ने मोहना, कान्द्रा, दोदा, पथरैयालगायतका नदीले हरेक वर्ष मनसुन सक्रिय रहेका समयमा जलमग्न हुने, डुबानको समस्या हुँदा नागरिक विस्थापित हुने गर्दछन्। उनले भने, “विपद्का अवस्थामा नसर्ने रोग लागेका व्यक्तिहरूमा नछुटाई स्वास्थ्य क्षेत्र र विपद् प्रतिकार्य प्रणालीबीचको अन्तरलाई कम गर्नु ‘रिजिलियन्स एनसिडी’ परियोजनाको मुख्य  ध्येय रहेको छ। विपद्मा नसर्ने रोगका बिरामीलाई प्राथमिकता दिन सकेमा आकस्मिक जटिलता र मृत्यु जोखिम कम हुन्छ, बिरामीको मानसिक तनाव कम हुन्छ। मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता रोग बिग्रनबाट मानिसलाई जोगाउन सकिन्छ। नीतिगत रूपमा काम गरेमा नियमित औषधि पाउन र उपचार निरन्तरतामा समेत सहयोग हुन्छ।”

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले प्रक्षेपण गर्ने मनसुनसम्बन्धी सूचनाअनुसार रेडक्रस र स्थानीय पालिकाहरूले पूर्व कार्ययोजनालाई अद्यावधिक गर्ने गरेका छन्।

कृत्रिम घटना अभ्यासमा बाढीजन्य विपद्का समयमा आधारभूत स्वास्थ्य सेवा तथा नसर्ने रोग लागेका बिरामीलाई दिइने सेवा निरन्तर गरिएको थियो।

यस क्रममा मुटु तथा रक्तचाप, मधुमेह, क्यान्सर, श्वासप्रश्सावका दीर्घरोगका बिरामीको सूचीसमेत अद्यावधिक गरिएको भजनी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेले जानकारी दिए।

“अभ्यासका क्रममा पालिकामा रहेका दीर्घरोगीको तथ्याङ्क तयार गरी उनीहरूलाई आवश्यक औषधि भण्डारण, बाढीमा स्वास्थ्यचौकी डुब्दा पनि सेवा निरन्तर कसरी गर्ने भनी अभ्यास गरियो”, उनले भने, “यसले राम्रो सिकाइ भएको छ। हामीले विपद्का समयमा नागरिक सुरक्षाका लागि स्थानीय भाषामा सूचना प्रवाह गर्ने, उद्धारमा खटिने जनशक्ति पालिकामा सूचीकृत गर्ने गरेका छौँ। बर्खा लाग्न थालेकाले हामी पूर्वतयारीमा जुटिसकेका छौँ। यो घटना अभ्यासले विपद्मा राहत दिँदा नसर्ने रोगका बिरामीको स्वास्थ्यलाई ख्याल गरेर खानेकुरा दिने, सेल्टरमा त्यही खालको बसोबास तथा उपचारको व्यवस्थाको प्रयास गर्नुपर्छ भनी सिक्यौँ, यो उपलब्धिमूलक रह्यो।”

रेडक्रसले ‘कन्ट्रोल टिम’ बनाएर दुई पालिकाका छ समूहमा विभाजन गरी क्रियात्मक कृत्रिम घटना अभ्यास गरेको हो।  भिडियो कलमार्फत अभ्यास गरिएको थियो। यसको अनुगमन परियोजनाका सहयोगी विभिन्न टोली राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय स्वास्थ्य आपतकालीकन कार्यसञ्चालन केन्द्र, डेनिस रेडक्रस, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जिल्ला विपद् व्यवस्थापन समितिले गरेका विपद् प्रतिकार्य परियोजना कैलालीका कार्यक्रम संयोजक मुकेशचन्द्र गौतमले जानकारी दिए।

अभ्यासका क्रममा प्रविधिको प्रयोग अधिकतम गरिएको थियो। सूचना संयन्त्रमा आबद्ध भएकाहरूको मोबाइलमा म्यासेज सन्देश, माइकिङ, साइरनमार्फत सूचना, रेडियो सन्देश, बडघर, भल्मन्सामार्फत सूचना प्रवाह, फेसबुकमार्फत सूचना प्रवाह गरिएको थियो।

लालझाडी गाउँपालिकाका विपद् शाखा प्रमुख हेमराज उपाध्यायले विशषेगरी नसर्ने रोगका बिरामीलाई नियमति औषधि सुरक्षित राख्न र स्थानान्तरणका लागि योजना बनाई सुरक्षितस्थलमा स्थानान्तरण गर्ने कार्यमा तयारी गर्नुपर्ने आवश्यकता महसुस भएकोे बताए। उनले भने, “पेन डि  महत्त्वपूर्ण रहेछ, नसर्ने रोग रोकथामसँगै मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्छ। समस्या भने धेरै छन्। हामीले सर्ने रोग नियन्त्रणमा समेत काम गर्न सकेको अवस्था छैन। नसर्ने रोग रोकथाममा तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ।”

लालझाडी गाउँपालिका, शङ्करपुर स्वास्थ्यचौकीका सिनियर अहेव यज्ञबहादुर धामी बाढीका समयमा स्वास्थ्यकर्मी आफैँ विपद्मा पर्ने भएकाले पूर्वतयारी आवश्यक रहेको बताए। “विपद्को आकलन गरी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्नुपर्छ। स्वास्थ्यमा पूर्वाधार र जनशक्ति अभाव छ”, उनले भने, “स्वास्थ्यमा सरकारको लगानी बढ्नुपर्छ। विकास भनेको मानिसको जीवन बचाउनु हो भन्ने बुझाइ विकास हुनुपर्छ।”

स्वास्थ्य मन्त्रालय हाल ‘पेनडी प्याकेज’ प्रमाणीकरणका लागि प्रक्रियामा रहेको छ। विपद्को समयमा नसर्ने रोग हेरचाह अवरुद्ध हुने भएकाले विपद्का समयमा नसर्ने रोगका बिरामीलाई सहज सेवा पाउनेगरी आवश्यक तयारी, पूर्वकार्य, प्रतिकार्यका कार्य गर्न पालिका तहमै रणनीति, समानतामा आधारित विभिन्न अभ्यास र स्वास्थ्य सेवाको सुनिश्चितता आवश्यक छ।

डेनिस रेडक्रसका प्रतिनिधि निरु प्रधानले नसर्ने रोगका क्षेत्रमा काम गर्दा पेन डी प्याकेजबारे पहिला जानकारी दिन आवश्यक रहेको बताए। उनले भने, “यो परियोजनाको अबधि समाप्त भए पनि नसर्ने रोगलाई प्राथमिकता दिएर अन्य परियोजनामा पनि काम गर्ने योजना छ।”

नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य विभागका स्वास्थ्य कार्यक्रम संयोजक अनिल महर्जनले स्वास्थ्यचौकीको विपद् योजना तयार गर्नुपर्ने सुझाव दिए। “पालिकाले बनाएको विपद् योजना, मनसुन योजना स्वास्थ्यकर्मी अधिकांशलाई जानकारी छैन, अधिकांशलाई पेन डी प्याकेजबारे जानकारी आवश्यक छ”, उनले भने, “विपद् शाखा र स्वास्थ्यकर्मीबीच समन्वय गर्नुपर्यो । पेन डी प्याकेज स्वास्थ्य संस्थामा पनि राख्नुपर्यो। सरकारले पेनडी प्याकेजलाई स्वास्थ्य पद्दतिमा लगेर नियमित सेवामा समावेश गर्नुपर्छ।”

आरुहुस विश्वविद्यालयका राजन श्रेष्ठले समुदायमा विपद् र स्वास्थ्यका धेरै समस्या भएकाले विपद् पूर्वतयारी र प्रतिकार्यमा स्थानीयको सहभागिता बढाउनुपर्ने सुझाव दिए। अवलोकनकर्ता सुदीप आलेमगरले विपद्मा नसर्ने रोगमैत्री खानेकुरा, औषधि आदिबारे विशेष ध्यान दिन आग्रह गरे। “विपद्का समयमा सञ्चार र विद्युत्को विकल्प पनि तयारी हुनुपर्छ”, उनले भने, “स्थानीय स्रोतसाधन सहयोगमा विपद् व्यवस्थापनको प्रयास गरिनुपर्छ।”

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सामुदायिक स्वास्थ्य डा सबिन पराजुलीले विपद्का समयमा सामान्य मानिसलाई पनि तनाव र दैनिकीमा परिवर्तनले गर्दा नसर्ने रोगको जोखिम बढ्ने भएकाले जनचेतनामा प्राथमिकता दिनुपर्ने बताए। “तीस वर्षमाथिका सबैले उच्च रक्तचाप नियमित जाँच गर्नुपर्छ। स्थानीय आपतकालीन केन्द्रले अझ बढी समन्वय बढाउनुपर्छ”, उनले भने, “हरेक प्रदेशमा रहेका प्रादेशिक स्वास्थ्य कार्यालयसँग समन्वय गरी चिकित्सक तथा औषधि सहयोगका लागि समन्वय बढाउनुहोला। विपद्का बेला थोरै समयमा धेरै सहयोग लिन सक्नुपर्छ।”

दिल्लीबाट धनगढी आउँदै गरेको बसबाट ठूलो परिमाणमा तस्करीका सामान बरामद

धनगढी : दिल्लीबाट धनगढी (नेपाल) तर्फ आउँदै गरेको नेपाली नम्बरको मौलाकालिका यातायात प्रालिको बसबाट भारतीय सीमा शुल्क विभागले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ।

बसबाट लुकाइछिपाइ ल्याइएका हार्डवेयरका सामग्री तथा मोटर पार्ट्स फेला परेपछि विभागले बससहित कुल १० लाख ८७ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो। भारतीय भन्सार विभागले दिल्ली-काठमाडौँ रुटमा चल्ने सुप्रप ०१ ००१ ख ३०६४ नम्बरको बसबाट तस्करीको सामान बरामद भएको जनाएको छ।

गौरीफन्टा सीमा शुल्क कार्यालयका अनुसार शुक्रबार बिहान बसलाई शंकाका आधारमा रोकी जाँच गरिएको थियो। जाँचका क्रममा बसको तल्लो भागमा रहेको गोप्य क्याबिन भेटिएको थियो, जहाँ भन्सार शुल्क नतिरी भित्र्याइएका हार्डवेयर सामग्री र मोटर पार्ट्स लुकाइराखिएको अवस्थामा फेला परेको हो।

बरामद गरिएको सामानको मूल्य करिब ६ लाख रुपैयाँ आँकलन गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको भारतीय सीमा शुल्क कार्यालयले जनाएको छ।

चुरे गाउँपालिकाको एसइईको नतिजामा सुधार

 धनगढी /चुरे गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा अघिल्लो वर्षको तुलनामा केही सुधार देखिएको छ। गाउँपालिकाभरबाट परीक्षामा सहभागी भएका २१६ जना विद्यार्थीमध्ये ६७ जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको करिब ३१ प्रतिशत हुन आउछ ।

गत वर्ष चुरे गाउँपालिकाबाट एसइईमा सहभागी विद्यार्थीमध्ये १८ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए। यस वर्ष उत्तीर्ण प्रतिशत बढेर ३१ पुगेपछि शैक्षिक नतिजामा केही सकारात्मक सुधार देखिएको हो ।

विद्यालयगत रूपमा हेर्दा केदारेश्वर माध्यमिक विद्यालयले सबैभन्दा राम्रो नतिजा ल्याएको छ । उक्त विद्यालयबाट परीक्षामा सहभागी १३ जना विद्यार्थीमध्ये १० जना उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत ७७ रहेको छ।

त्यस्तै शिव माध्यमिक विद्यालय बाट २४ जना सहभागी भएकामध्ये ११ जना उत्तीर्ण भएका छन् भने मेलकोटेश्वर माध्यमिक विद्यालय बाट २९ जना सहभागीमध्ये १० जना उत्तीर्ण भएका छन्।

भानु माध्यमिक विद्यालयबाट २८ जना सहभागीमध्ये नौ जना, मोहन्याल माध्यमिक विद्यालय बाट १५ जनामध्ये सात जना तथा जनता माध्यमिक विद्यालयबाट १२ जनामध्ये चार जना उत्तीर्ण भएका छन्। यसैगरी शुक्र माध्यमिक विद्यालयबाट ३८ जना सहभागी भएकामध्ये १० जना उत्तीर्ण भएका छन् भने भैरव माध्यमिक विद्यालय बाट २५ जना सहभागीमध्ये चार जना मात्रै उत्तीर्ण भएका छन्।

भगवती माध्यमिक विद्यालयबाट ११ जना सहभागी भएकामध्ये दुई जना उत्तीर्ण भएका छन्। यता जनता माध्यमिक विद्यालय र सिद्धबाबा माध्यमिक विद्यालयका कुनै पनि विद्यार्थी यस वर्षको एसइई परीक्षामा उत्तीर्ण भएका छैनन् ।

समग्रमा अघिल्लो वर्षको तुलनामा नतिजामा सुधार देखिए पनि अझै धेरै विद्यालयको नतिजा कमजोर रहेको देखिएको छ। दुई विद्यालयको नतिजा शून्य हुनु तथा अधिकांश विद्यालयमा आधाभन्दा कम विद्यार्थी मात्रै उत्तीर्ण हुनुले चुरे क्षेत्रको शैक्षिक अवस्था अझै रहेको देखाउछ ।

रास्वपा गोदावरी नगर समितिले दियो स्वैच्छिक सामूहिक राजीनामा

कैलाली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिले सामूहिक रूपमा राजीनामा दिएको छ। समितिको आज बसेको बैठकले संयुक्त राजीनामा गर्ने निर्णय गरेको हो।

नगर सभापति दिपक ओझाका अनुसार समितिले कुनै दबाब, प्रभाव वा आन्तरिक विवादका कारण नभई नयाँ नेतृत्वलाई काम गर्ने सहज वातावरण बनाउन मार्ग प्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको जनाएको छ।

समितिले जारी गरेको धारणा अनुसार संगठनलाई थप सक्रिय, प्रभावकारी र गतिशील बनाउन नयाँ टोलीलाई अवसर दिन आवश्यक ठानेर यस्तो निर्णय गरिएको हो। सामूहिक राजीनामापछि गोदावरी नगर क्षेत्रमा पार्टीको आगामी संगठनात्मक संरचना र नेतृत्व चयनलाई लिएर राजनीतिक चासो बढेको छ।

रास्वपाको स्थानीय तहमा भएको यो निर्णयलाई पार्टीभित्रको आन्तरिक पुनर्संरचना र नयाँ रणनीतिक तयारीका रूपमा समेत हेरिएको छ।

सहकारी पीडितको बचत फिर्ता सुरु

काठमाडाैं । समस्याग्रस्त सहकारीका पीडितले आफ्नो बचत फिर्ता पाउन थालेका छन् । सोमबारदेखि सरकारले समस्याग्रस्त २२ सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो चरणमा १० हजार रुपैयाँभन्दा मुनिका बचतकर्ताको रकम फिर्ता सुरु भएको छ । २३ सहकारीमा यस्ता बचतकर्ताको संख्या ६ हजारहाराहारी छ ।

सुरुको चरणमा तीन सहकारीका ३७८ बचतकर्ताको १३ लाख ९९ हजार रुपैयाँ फिर्ता गरिएको समितिका सदस्य सचिव रविन ढकालले बताए । उनका अनुसार रकम फिर्ता निरन्तर चल्नेछ । ‘पहिलो चरणमा १० हजारभन्दा मुनिका बचतकर्ताको रकम फिर्ता हुन्छ, त्यो सकिएपछि अन्यको थाल्छौँ,’ उनले भने ।

समितिका अनुसार पहिलो दिन कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारीका सात बचतकर्ताको रकम फिर्ता गरिएको छ । बाँकी एक हजार बचतकर्ताको सूची तयार भएको र उनीहरूको नामावली रकम फर्स्योटका लागि अघि बढिसकेको समितिको भनाइ छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले रकम फिर्ता स्थापित चक्रीय कोषको कार्यविधिअनुसार पीडितले रकम फिर्ता पाउन थालेको बताइन् । ‘समस्याग्रस्त सहकारीका पीडितलाई उनीहरूको बचत फिर्ता थालिएको छ । पहिलो चरणमा १० हजारमुनि बचत गरेकाले रकम पाएपछि क्रमशः अन्यले पाउनेछन्,’ उनले भनिन् ।

सरकारले चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ जारी गरेसँगै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पीडितलाई रकम फिर्ता दिन थालेको हो । कोषमा सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ निकासा गरेको छ । समितिले अन्य रकम भने ऋणीबाट ऋण असुल्दै पीडितलाई फिर्ता दिनेछ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांकअनुसार संघअन्तर्गत मुलुकभर २३ सहकारी समस्याग्रस्त घोषणा भएका छन् । त्यसमा आइडल यमुना हाम्रो बहुउद्देश्यीयबाहेक २२ सहकारीमा ५८ हजार २८८ बचतकर्ता पीडित छन् । उनीहरूको ३५ अर्ब ४५ करोड ३१ लाख ६० हजार ९०६ रुपैयाँ फिर्ता गर्न बाँकी छ ।

 

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन संघर्षरत नेपाललाई एपीजीको कडा चेतावनी

काठमाडौँ — सम्पत्ति शुद्धीकरणविरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक समूह (एपीजी) ले नेपालले पर्याप्त प्रगति नदेखाए कालोसूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ । ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो ।

यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन । एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर २०२६ मा हुने निर्णायक एपी–जेजी समीक्षाअघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ । अर्थात् नेपालसँग अब चार महिनाभन्दा कम समय बाँकी छ ।

एपीजीको ४–६ जेठको ‘सपोर्ट बैठक’ काठमाडौंमा जारी छ । आइतबार काठमाडौं आइपुगेको एपीजीको उच्चस्तरीय प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति शुद्धीकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीसँग छलफल गरेको थियो ।

त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यस पटक आफ्ना उपकार्यकारी सचिव डेभिड स्यान्नन नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको हो । सन् २००२ देखि एपीजी सचिवालयमा कार्यरत स्यान्नन हाल आफ्नो २४औं पारस्परिक मूल्यांकनको नेतृत्व गरिरहेका छन् । र, विश्वका सबैभन्दा अनुभवी एफएटीएफ मूल्यांकनकर्तामध्ये एक मानिन्छन् । एक वरिष्ठ अधिकारीको प्रत्यक्ष उपस्थिति नै नेपालको अवस्थाको गम्भीरताको संकेत हो ।

सुदूरपश्चिम सरकारले बनायो आयोजना छान्ने मापदण्ड

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले आयोजना छनोटका लागि मापदण्ड बनाएको छ । ‘सुदूरपश्चिम प्रदेश आयोजना छनोटसम्बन्धी मापदण्ड २०८३’ तयार गर्दै प्रदेश राजपत्रमा प्रकाशन गरिएको हो ।

आगामी वर्षको बजेटको तयारीमा रहेको प्रदेश सरकारले नीति तथा योजना आयोगलाई मापदण्ड बनाउने जिम्मेवारी दिएको थियो । आयोगले तयार गरेको उक्त मापदण्ड आर्थिक मामिला मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । मन्त्रिपरिषद् बैठकले पारित गरेर उक्त मापदण्ड कार्यान्वयनमा ल्याइएको योजना आयोगका सदस्य नृपबहादुर सुनारले जानकारी दिए ।

‘जनचाहना र आवश्यकताबमोजिम प्रदेश सरकारले सञ्चालन गर्ने विकास तथा अन्य आयोजनाहरूलाई वर्गीकरण र प्राथमिकीकरण गरी स्रोत सुनिश्चिततासहित कार्यान्वयनयोग्य बनाउन मापदण्ड तयार गरेका छौँ,’ उनले भने, ‘यसले समावेशी र समानुपातिक रूपमा बजेट बाँडफाँट गरी सन्तुलित विकासका आयोजना छनोट गर्न सहज हुन्छ ।’

योजना आयोगका सदस्य सुनारका अनुसार मापदण्डमा आयोजनाको न्यूनतम लागत सीमा पनि तोकिएको छ, जसअनुसार प्रदेश सरकारले कार्यान्वयन गर्ने आयोजना कम्तीमा पनि २५ लाखको हुनुपर्नेछ । प्रदेश लोकमार्गका लागि ३ करोड तथा प्रदेश सहायक सडक, तराईका सिँचाइ र २० मेगावाटसम्मका ऊर्जा पूर्वाधार आयोजना कार्यान्वयनका लागि १ करोड न्यूनतम लागत हुनुपर्ने आयोजना छनोटसम्बन्धी मापदण्डमा भनिएको छ ।

यस्तै, खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि र धार्मिक पूर्वाधारतर्फ ५० लाख, शिक्षातर्फ ३२ लाख, खानेपानीतर्फ ३० लाख न्यूनतम लागत भएका आयोजना मात्रै छनोट गर्न मिल्ने मापदण्ड बनाइएको सदस्य सुनारले बताए । भूमिगत सिँचाइ र पहाडी जिल्लाको सिँचाइ आयोजनाका लागि भने २५ लाख मापदण्ड तोकिएको छ ।

यस्तै, १ करोडभन्दा बढी लागतका आयोजना छनोट गर्दा अनिवार्य रूपमा प्रदेश आयोजना बैंकमा प्रविष्ट भएको हुनुपर्ने पनि मापदण्ड बनाइएको छ ।  दिगो र रोजगारमूलक आर्थिक वृद्धिमा योगदान पुर्‍याउने तथा दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन सक्ने आयोजना मात्रै छनोट गर्न मिल्ने मापदण्डमा उल्लेख छ ।

काँग्रेस देउवा समूहको सुदूरपश्चिममा प्रदेशस्तरीय भेला जेठ १० गते धनगढीमा

काठमाडौं, ४ जेठ  /  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला तय गरेको छ । उक्त समूहले देउवाको गृहजिल्ला सुदूरपश्चिममा १० जेठमा प्रदेशस्तरीय भेला गर्ने भएको हो ।

भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार गरेको प्रचार सामग्रीमा उल्लेख छ ।

उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।

फेसबुकमा लामो स्टाटस लेखेका दार्चुलाको सम्पाल माविका प्रधानाध्यापक धामी विद्यालयमै मृत फेला

धनगढी: दार्चुलाको ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीले आत्महत्या अघि सामाजिक सञ्जाल फेसबुकमा लामो भावुक स्टाटस लेख्दै विभिन्न व्यक्ति र समूहविरुद्ध गम्भीर आरोप लगाएका छन्।

धामीले आफूलाई योजनाबद्ध रूपमा चरित्रहत्या, मानसिक तनाव र सामाजिक अपमानमा पारिएको दाबी गर्दै त्यसकै कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनले आफ्ना परिवार, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा विद्यालयलाई नमुना बनाउने अभियानमा लाग्दा “दुष्मनहरूको षड्यन्त्र” को सिकार भएको दाबी गरेका छन् ।

स्टाटसमा उनले विद्यालयमा आफूले गरेको कामहरूको लामो विवरण सार्वजनिक गरेका छन् । १८ कोठे पक्की भवन निर्माण, पुस्तकालय, आईसीटी प्रयोगशाला, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, हरित विद्यालय निर्माणदेखि विद्यार्थीलाई निःशुल्क पोशाक वितरणसम्मका काम आफ्नो नेतृत्वमा सम्पन्न भएको उनको दाबी छ ।

धामीले केही शिक्षक, स्थानीय राजनीतिक व्यक्तित्व र निर्माण व्यवसायीमाथि आफूलाई झुटो बलात्कार आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले केही व्यक्तिको नाम र फोन नम्बरसमेत सार्वजनिक गर्दै उनीहरूविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् ।

उनले लेखेका छन्, “मेरो शैक्षिक इतिहास समाप्त पार्ने र स्वाभिमानमाथि गम्भीर चोट पुर्‍याउने काम भयो । मानसिक तनाव र डिप्रेसनका कारण आत्महत्या गर्न बाध्य भएँ ।” आफ्ना दुई छोरा र श्रीमतीलाई सम्बोधन गर्दै धामीले भावुक सन्देश पनि छोडेका छन् । उनले आफ्ना छोराहरूलाई “मुटु दरो बनाउन” आग्रह गर्दै श्रीमतीलाई छोराहरूको विशेष ख्याल गर्न अनुरोध गरेका छन् ।

त्यस्तै उनले आफ्नो मृत्युपछि डीएनए परीक्षण गर्नसमेत माग गरेका छन् । आफूविरुद्ध लगाइएको आरोप झुटो सावित गर्न डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्न परिवारलाई आग्रह गरेका छन् ।
धामीले प्रधानमन्त्री, राजनीतिक दलका नेताहरू तथा सरकारलाई समेत सम्बोधन गर्दै “ठालुहरूको दबदबामा समाज परिवर्तन हुन नसक्ने” टिप्पणी गरेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । धामीको मृत्युको वास्तविक कारण र उनले लगाएका आरोपबारे अनुसन्धान हुने दार्चुला प्रहरी प्रमुख डिएसपी गौरव महतले बताए। प्रधानाध्यापक धामी सोमबार बिहान विद्यालयको निवासमा मृत फेला परेका हुन्। घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन भएको डिएसपी महतले बताए ।

कञ्चनपुरका स्थानीय तह विपद् पूर्वतयारीमा जुटे

कञ्चनपुरः कञ्चनपुरका स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका छन् । मनसुनजन्य विपत्को उच्च जोखिममा रहेका क्षेत्रमा पूर्वसावधानी अपनाउनका लागि पूर्वतयारी थालिएको यहाँका नौ वटै स्थानीय तहले जनाएका छन् ।

जेनजी आन्दोलनका क्रममा खोज तथा उद्धार सामग्री नष्ट भएपछि विभिन्न सङ्घ संस्थाको सहयोगमा आवश्यक सामग्री खरिदको कार्य अगाडि बढाइएको पुनर्वास नगरपालिकाका विपत् सम्पर्क व्यक्ति ओमनाथ ढकालले बताए।

पुनर्वास वडा नम्बर १० स्थित विकास बस्ती, वडा नम्बर ५ मा रातो ताल, सिमरी तथा वडा नम्बर २ स्थित दशरथ बस्तीका दुई सयभन्दा बढी घरधुरी मनसुनजन्य विपत्को उच्च जोखिममा छन् ।
विपत्मा परेकालाई सुरक्षित स्थानमा राख्नका लागि यस वर्ष वडा नम्बर ५ को रातोतालमा सुरक्षित आवास निर्माणको काम गरिएको विपत् सम्पर्क व्यक्ति ढकालले बताए।

सामुदायिक विपत् व्यवस्थापन समितिलाई तालिम प्रदान गर्नुका साथै उद्धारमा खटिन तथा पूर्वतयारीमा रहन सतर्क गराइएको उनले बताए। उनका अनुसार दुई स्थानमा साइरनको व्यवस्था गरिएको छ भने विपत्मा परेकाको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय तथा आवश्यक राहत सामग्रीको व्यवस्थापन गरिएको छ । विपत्बाट महामारी फैलिन नदिन स्वास्थ्य शाखामार्फत आवश्यक औषधी उपचारको व्यवस्था पनि मिलाइएको उनल बताए।

बेलौरी नगरपालिकाले पनि मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि वडाहरूसँग छलफल तथा खोज उद्धारमा खटिने सामुदायिक विपत् व्यवस्थापन समितिलाई आवश्यक तालिम प्रदान गरिरहेको जनाएको छ ।
खहरेखोला तथा नदीका कारण डुबानमा पर्दे आएका नौ वटै वडामा मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका काम अगाडि बढाइएको कृष्णपुर नगरपालिकाले जनाएको छ। यसका साथै डुबान प्रभावित क्षेत्रमा तटबन्ध, नाला सफाइका काम अगाडि बढाइएको उनले बताए।

त्यसै गरी यहाँको वेदकोट नगरपालिकाले विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना परिमार्जनको कार्य भइरहेको जनाएको छ । विपत् जोखिम न्यूनीकरणका लागि विभिन्न सङ्घ संस्थाको सहकार्यमा पूर्वतयारी थालिएको नगरपालिकाका विपत् सम्पर्क व्यक्ति सुनील चन्दले बताए।  विपत्मा परेकाको खोज तथा उद्धारका लागि नगर प्रहरीलाई पाँच दिनको तालिम पनि प्रदान गरिएको विपत् सम्पर्क व्यक्ति चन्दले बताए।

वेदकोट नगरपालिकाका–४ स्थित सार्कीपार्की टोल, वडा नम्बर १० स्थित चतहरी क्षेत्र तथा वडा नम्बर ९ स्थित बैजनाथ टोलका गरेर चार सयभन्दा बढी घरधुरी डुबानको उच्च जोखिममा रहेका छन् । बेलडाँडी गाउँपालिकाले पनि मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पाँच वटा वडामा १० वटा सामुदायिक स्तरीय विपत् व्यवस्थापन समिति गठन गरी पूर्वतयारी थालिएको जनाएको छ ।

गाउँपालिकाका विपत् सम्पर्क व्यक्ति पुरुषोत्तम जोशीले पूर्वतयारीका लागि समितिहरूलाई आवश्यक तालिम प्रदान गरेर सूचना प्रवाह, खोज तथा उद्धारमा खटिन सक्रिय तुल्याइएको बताए। बेलडाँडीमा नदीको बाँध भत्किँदा गत वर्ष अत्यधिक क्षति पुग्न गएपछि यस वर्ष मर्मतको काम गरिएकाले यस वर्ष जोखिम कम हुने आकलन गरिएको उनले बताए।

त्यसै गरेर यहाँको लालझाँडी गाउँपालिकाले पनि मनसुनजन्य विपतबाट उद्धारका लागि १४ वटा सामुदायिक विपत् व्यवस्थापन समितिलाई तालिम प्रदान गरिएको जनाएको छ । लालझाँडीका वडा नम्बर २, ३ र ४ बाढीजन्य विपत्को उच्च जोखिममा रहेका छन् । भीमदत्त, शुक्लाफाँटा र दोधाराचाँदनी नगरपालिकाले पनि मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पूर्वअभ्यास तथा सामुदायिक विपत् व्यवस्थापन समितिलाई पूर्वतालिम प्रदान गरिनुका साथै आवश्यक सामग्री व्यवस्थापनको कार्य गरिरहेको जनाएका छन् ।

भीमदत्तका महाकाली नदी तटीय क्षेत्रमा मात्रै एक हजारभन्दा बढी परिवार बाढीको उच्च जोखिममा छन् । दोधारा चाँदनी नगरपालिकाका विपत् सम्पर्क व्यक्ति अमृत विकले पनि विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालिएको बताए।

स्कटल्याण्डमाथि नेपालको सहज जित

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि ६ विकेटको जित हात पारेको हो।

१९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। कप्तान रोहित पौडेल र डा. ईशान पाण्डेको उत्कृष्ट साझेदारीमा नेपालले सहजै खेल आफ्नो पोल्टामा पार्यो।

दुई ब्याट्सम्यानबीच १०४ रनको साझेदारी भयो। दुवैले अर्धशतकीय पारी खेले। रोहित ७४ रनमा अविजित रहे भने ईशानले ५५ रनको योगदान दिए।

यस्तै, आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रन जोडे। बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले दुई तथा ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो।

ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल इंग्लिसले पनि अर्धशतक बनाए। उनले ५१ रन जोडे। यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक सफलता हात पारे।

यसै खेलमा लामिछानेले एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान राखे। उनले २ विकेट लिने बित्तिकै यो कोसेढुंगा पार गरेका हुन्।

सन्दीपले ७३ म्याचमा १५० लिए। यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो। स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए।

यसअघिको खेलमा २ रनले पराजित भएको नेपालले आजको खेलमा जित निकाल्दै स्कटल्याण्डमाथि बदला लिएको छ।

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर : कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकीकी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो।

माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका छन्। उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

वडाध्यक्ष नवलसिंह रानाका अनुसार घाइते सुन्दरीयालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ।

घटनाका समयमा माटो खन्न गएका अन्य दुई जना भने सकुशल रहेका छन्।

राष्ट्रिय सभामा अध्यादेशबारे दलहरू विभाजित

काठमाडाैं ।  सरकारले ल्याएका आठवटा अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन् । कांग्रेस र नेकपाले चार–चार अध्यादेशमा असहमति जनाएका छन् भने एमाले आठवटै अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ । जनता समाजवादी पार्टी (जसपा) मौन छ भने राष्ट्रिय जनमोर्चाले एक अध्यादेशमा असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ मतसहित सरकार सञ्चालन गरिरहेको रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन ।

सुरुमा एमाले र कांग्रेसबिच सबै अध्यादेश निष्क्रिय गराउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रवाहसँग जोडिएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन् । त्यसपछि दलहरूले आ–आफ्नै ढंगले ‘अध्यादेश अस्वीकार गरियोस्’ भन्ने सूचना दिएका छन् ।

सरकारले २८ वैशाखमा सहकारी (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्थासहितको अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश दुवै सदनमा पेस गरेको छ ।

संसद् सचिवालयका अनुसार १० सांसद रहेको एमालेले आठवटै अध्यादेश अस्वीकृत गर्न सूचना दिएको छ । २४ सिट भएको कांग्रेसले संवैधानिक परिषद्, केही नेपाल ऐन संशोधन, विश्वविद्यालयसम्बन्धी र सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी अध्यादेश अस्वीकृत गर्न सूचना दिएको छ । त्यस्तै, १७ सांसद रहेको नेकपाले संवैधानिक परिषद्, केही नेपाल ऐन संशोधन, विश्वविद्यालयसम्बन्धी र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश निष्क्रिय गराउन सूचना दिएको छ । एक सिट भएको जनमोर्चाले संवैधानिक परिषद् अध्यादेश अस्वीकृत गर्न खोजेको छ । ७ जेठमा अध्यादेशलाई छलफलको प्रक्रियामा लैजाने राष्ट्रिय सभाको सम्भावित कार्यसूची छ ।

नेपालले स्कटल्याण्डसँग आज खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु  हुनेछ ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले दुवै खेल जितेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस (डीएलएस) नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहन आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहसः लगानी भित्र्याउन जोड

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। धनगढीमा जारी ‘सुदूरपश्चिम कचहरी-२०८३’ अन्तर्गत आज दोस्रो दिनको कार्यक्रममा संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने भन्दै लगानी भित्र्याउन प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिइएको हो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिम प्रदेशमा थुप्रै पर्यटन, कृषि, सम्पदालगायत क्षेत्रको प्रवर्द्धन गरी आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै पनि लगानीका लागि भने उपेक्षामा परेको बताए।

“एकदमै धेरै सम्भावना भएको क्षेत्र सुदूरपश्चिम हो”, उनले भने, “पर्यटन र जडीबुटीको क्षेत्रमा बढी सम्भावना छ। यहाँ सम्भावना देखेर हामीले चिसापानीमा अहिलेसम्मकै ठूलो केबुलकारसहितको आयोजना सञ्चालन गर्ने अन्तिम तयारी गरेका छौँ।”

नेपाल उद्योग परिसङ्घ अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारको नीति र प्रतिफल हेरेर निजी क्षेत्रको लगानी आउने बताए। “सुदूरपश्चिममा सम्भावना धेरै छ”, उनले भने, “सरकारीस्तरबाट लगानीकर्तालाई सुविधा दिन आवश्यक छ। सम्भावना देखाउन नसक्दा पनि लगानी भित्र्याउन समस्या भइरहेको हो।”

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमका सदस्य नृपबहादुर सुनारले यो प्रदेश पर्यटन, कृषि, सम्पदा, प्राकृतिक स्रोत सबै हिसाबले सम्भावना भएको क्षेत्रका रूपमा रहेको बताउँदै सम्भावनालाई नीति तथा कार्यक्रम र बजेटमा समेट्न आवश्यक रहेकामा जोड दिए।

सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजनामा धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ भइरहेको हो। आजको पहिलो सत्रमा, ‘प्रदेशसभा सदस्यसँग विशेष संवाद’ शीर्षकमा आयोजित छलफलमा सुदूरपश्चिमको विकास, दीर्घकालीन एजेण्डा तथा नीतिनिर्माणका विषयमा छलफल गरिएको छ।

छलफलमा सहभागीले राजनीतिक नेतृत्व सही ढङ्गले नचल्दा सुदूरपश्चिम अपेक्षाकृत रूपमा विकास हुन नसकेको औँल्याएका थिए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्ट, सामाजिक विकास समितिका सभापति धर्मराज पाठक र नेपाली कांग्रेसका सांसद रक्षा महाराले सुदूरपश्चिमको विकास र समृद्धिका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको टिप्पणी गरे।

यसअघि पहिलो दिन शनिबारको कार्यक्रममा सुदूरपश्चिम प्रदेशको विकासका लागि तीनै तहका सरकारबीच सहकार्यसँगै निजी क्षेत्र र अन्तरराष्ट्रिय लगानीकर्तालाई सहभागी गराउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

प्रदेश सरकारका प्रमुख सचिव वैकुण्ठ अर्यालले प्रदेशका विकास आयोजना निर्माणमा प्रदेश, स्थानीय र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड दिए। प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा जीवन रानाले रामारोशन, खप्तड र बडिमालिकालाई पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले गड्डाचौकी-अत्तरिया-चिसापानी सडक खण्डलाई चार लेनमा विस्तार गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जानकारी दिए।

दार्चुलामा जिप दुर्घटना : पाँच जना घाइते

दार्चुला: दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

मार्माको भित्री सडक अन्तर्गत ताकुबाट घोल्जरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज ००७६ नम्बरको जिप शनिबार राति करिब ८ बजे पातिहाल्ला भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा मार्मा गाउँपालिका–१ घोल्जर निवासी २६ वर्षीय चालक हरिश महरा, २७ वर्षीया मनिषा ठगुन्ना, १७ वर्षीया स्मृती ठगुन्ना, १३ वर्षीया सारिका ठगुन्ना तथा १६ वर्षीय विवेक महरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारीका अनुसार घाइतेमध्ये चालक महरा र स्मृती ठगुन्नाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आफ्नै कीर्तिमान तोड्दै ३२औँ पटक सगरमाथामा सफल आरोहण

काठमाडौं । नेपाली पर्वतारोहणका जीवित किंवदन्ती मानिने कामी रीता शेर्पाले विश्व कीर्तिमानलाई फेरि एक पटक विस्तार गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण गरेका छन् ।

आज बिहान १०ः१२ बजे उनले सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । यो उपलब्धिसँगै उनले आफैंले बनाएको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई थप मजबुत बनाएका छन् । सन् १९९४ बाट सगरमाथा आरोहण यात्रा सुरु गरेका कामी रीता शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा हिमाल आरोहणमा सक्रिय छन् । कठिन मौसम, जोखिमपूर्ण मार्ग र उच्च हिमाली चुनौतीका बीच पनि उनले देखाएको निरन्तरता र धैर्यले उनलाई विश्वकै अग्रणी उच्च हिमाल आरोहीमध्ये एक बनाएको छ ।

उनलाई नेपाली मात्र होइन, विश्वभरका पर्वतारोहण समुदायले सगरमाथाको प्रतीक र प्रेरणाको स्रोतका रूपमा सम्मान गर्दै आएका छन् । यस वर्षको सफल आरोहणपछि उनी सुरक्षित रूपमा आधार शिविर (बेस क्याम्प) तर्फ फर्किँदै गरेको जनाइएको छ । आरोहण अभियानमा संलग्न कम्पनी सेभेन समिट ट्रेकले उनको सफलताको पुष्टि गर्दै सुरक्षित अवतरणको कामना गरेको छ ।

कामी रीता शेर्पाको यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ । सगरमाथा आरोहणलाई जीवनको निरन्तर अभियान बनाएका उनले फेरि एक पटक विश्वलाई देखाएका छन् । साहस, अनुशासन र समर्पणले असम्भवलाई सम्भव बनाउन सकिन्छ । उनको यो कीर्तिमानी आरोहणले नेपाली हिमाल पर्यटन र पर्वतारोहण क्षेत्रमा नयाँ ऊर्जा थपेको छ र विश्वभर नेपाललाई अझ उज्यालो रूपमा प्रस्तुत गरेको छ ।

कांग्रेसमा दिन थालियो ३० वर्ष मुनिकालाई सिधै क्रियाशील सदस्यता

काठमाडौं ।  नेपाली कांग्रेसले ३० वर्षमुनि उमेर भएकालाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता दिने सुरू गरेको छ।

सदस्यता व्यवस्थापन समितिका अनुसार ३० वर्ष उमेर मुनिकालाई सिधै क्रियाशील सदस्यता दिन सुरू गरिएको हो।

सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका महामन्त्री प्रदीप पौडेलले युवाहरूलाई सिधै क्रियाशील सदस्यता दिन सुरू गरेको बताए।

‘३० वर्षमुनिका युवाहरूलाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता दिन सुरू गरेका छौं, पार्टीमा युवाहरूलाई उचित अवसर र ठाउँ दिन पनि यो आवश्यक छ,’ उनले सेतोपाटीसँग भने।

कांग्रेसले प्राय: साधारण सदस्यता लिएको वर्षदिन पुगेपछि क्रियाशील सदस्यता दिने गरेको छ। तर अब युवाहरूलाई केन्द्रित गरेर सिधै क्रियाशील सदस्यता दिन सुरू गरिएको हो।

कांग्रेसले वैशाखदेखि नै जरा अभियानअन्तर्गत पार्टी संगठन सुदृढीकरणका काम गरिरहेको छ।

महामन्त्री पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिले पनि प्रदेशहरूमा पुगेर जरा अभियानसँगै क्रियाशील अद्यावधिक अभियान पनि साथसाथै अघि बढाइरहेको छ।

क्रियाशील सदस्यहरूको विवरणलाई डिजिटल गर्न अद्यावधिक गर्न लागिएको महामन्त्री पौडेलले बताए।

‘पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले यो डिजिटल अभियानलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरीय भेला तथा प्रशिक्षणको आयोजना गरिरहेको छ,’ पौडेलले भने, ‘हरेक प्रदेशका पार्टीका विभिन्न तहका सभापति तथा प्राविधिकहरुलाई डिजिटल अद्यावधिकको अपरिहार्यता एवं प्राविधिक प्रक्रियाबारे प्रशिक्षण जारी छ।’

उनकाअनुसार कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशमा प्रशिक्षण सकिएको छ।

कोशीको भेडेटारमा सदस्यता व्यवस्थापन समितिका केन्द्रीय संयोजक पौडेलकै उपस्थितिमा प्रशिक्षण र अन्तर्क्रिया शनिबार भएको थियो।

WhatsApp-Image-2026-05-16-at-5.07.15-PM-1778994170.jpeg
महामन्त्री पौडेलका अनुसार जेठ २१ गतेभित्र नयाँ क्रियाशील वितरण, छुटेका पुराना सदस्यहरूको नवीकरण र सम्पूर्ण क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्नेछ।

यो विवरण अद्यावधिकपछि कांग्रेस आफ्ना सदस्यहरूको डिजिटल डाटाबेस भएको व्यवस्थित र पूर्ण रूपमा डिजिटल स्वरूपमा रूपान्तरित भएको पार्टी बन्ने उनले बताए।

नेता पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले भने क्रियाशील अद्यावधिकमा प्रश्न उठाउँदै आएका छन्। १५ औं महाधिवेशनका लागि भनेर यसअघि नै ६ लाख क्रियाशील नवीकरण र ३ लाख नयाँ वितरण गरिएकोले अद्यावधिकको आवश्यकता नरहने उनीहरूको तर्क छ।

तर संस्थापन पक्षले भने करिब ९ लाख क्रियाशील रहेको कांग्रेसमा ८० हजार सदस्यको मात्रै मोबाइल नम्बरलगायत विवरण रहेको भन्दै सदस्यको आवश्यक विवरण संकलनका लागि पनि अद्यावधिकको आवश्यकता रहेको बताउने गरेको छ।

अमेरिकाको कोलोराडोमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न

कोलोराडो, अमेरिका अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको ‘नेपाल डे परेड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ ।

सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३ औँ संस्करण शनिबार भव्य रुपमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि बोल्डर सहरका मेयर ब्रकेटले काठमाडौँ महानगर र बोल्डर सहरबीच भगिनी सम्बन्ध कायम रहेको भन्दै नेपाल–अमेरिका सम्बन्धमा दुई सहरको भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्बन्ध विशेष रहेको बताए ।

सुरुदेखि अहिलेसम्म आफूले हरेक वर्ष नेपाल डे परेड कार्यक्रम नजिकबाट नियालेको तथा सहभागी भएको भन्दै उनले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिन र दुई देशबीचको आपसी सांस्कृतिक सम्बन्ध बलियो बनाइराख्नुपर्नेमा जोड दिए ।

उनले हालै मात्र काठमाडौँ उपत्यकाको भ्रमण गरेको सम्झना गर्दै बोल्डर सहरमा धेरै नेपालीहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको पनि बताए ।

नेपाल डे परेडका संस्थापक तथा विशेष अतिथि नारायण श्रेष्ठले सन् २००४ देखि सुरु गरेको नेपाल डे परेड यस वर्ष पनि निरन्तरता दिन पाउँदा खुशी लागेको बताए ।

श्रेष्ठले नेपाली पोशाक, नेपालको झण्डा र नेपालका विभिन्न जातजातिको भेषभुषामा नेपाली मौलिक बाजा बजाउँदै बोल्डर सहर परिक्रमा गर्दा अमेरिकामा नेपाल चिनाउन पाउँदा हर्षित भएको टिप्पणी गरे ।

नेपालीहरुले नेपालको झण्डासहित बोल्डर सहर परिक्रमा गर्दा मानिसहरुले मोबाइलमा फोटो भिडियो खिचेर राख्नु गर्वको क्षण भएको भन्दै यसलाई आगामी वर्ष पनि निरन्तरता दिनुपर्ने बताए ।

‘हामीले नेपाली झण्डा फहराउँदै नेपाली पोशाकमा अझ विभिन्न जातजातिले नेपाली मौलिक भेषभुषा लगाएर बाजा बजाउँदै सहर परिक्रमा गर्दा बोल्डरका स्थानीय तथा पर्यटकले मोबाइलमा नेपाल डे परेडको फोटो भिडियो खिचिरहेका थिए’ उनले भने, ‘यो हाम्रा लागि सबैभन्दा गर्वको क्षण हो । यो एक दिन भए पनि हामीले २३ वर्षदेखि अमेरिकामा नेपाल चिनाइरहेका छौँ । अहिले अमेरिकाका न्युयोर्क, क्योलिफोर्नियासँगै युरोप, एसिया र अष्ट्रेलियामा पनि नेपाल डे परेडमार्फत नेपालको प्रवर्द्धन गरिरहेका छौँ । हरेक वर्ष यसलाई निरन्तरता दिनुपर्छ र दिन्छौँ पनि ।’

आरएमएफएनकी अध्यक्ष आकृति राईले वर्षौदेखि अमेरिकामा नेपाल चिनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिन सफल भएकोमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

परेडमा सहभागीमध्ये नेवार, राई, लिम्बु, मगर, गुरुङ र शेर्पा समुदायले आफ्नो जातजातिको भेषभुषा लगाएर मौलिक बाजा बजाउँदै सांस्कृतिक नृत्यसमेत प्रदर्शन गरेका थिए ।

नेपाली नयाँ वर्षको अवसर तथा सन्दर्भ पारेर अमेरिकामा नेपाल चिनाउने नेपाल डे परेड सबैभन्दा पहिले कोलोराडोको बोल्डर सहरमा सन् २००४ मा सुरु भएको थियो । पछिल्लो समय अमेरिकाका अन्य सहर, युरोपका विभिन्न देश तथा अष्ट्रेलियाका विभिन्न सहरमा पनि नेपाल डे परेड फेस्टिभलहरु हुँदै आएका छन् ।

रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजना तथा एनआरएनए अमेरिका र हेल्पिङ ह्यान्ड्स हेल्थ एण्ड एजुकेसनको सहयोगमा आयोजित नेपाल परेडमा सहभागीहरुले नेपाल र अमेरिकाको झण्डा फहराउँदै नेपाली पोशाकसहित विभिन्न जातजातीका भेषभुषामा मौलिक नेपाली बाजा बजाएर बोल्डर सहर परिक्रमा गरेका संस्थाका युवा संयोजक तथा कार्यक्रम सञ्चालक विष्णु विवेकले जानकारी दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्मा लगायत कोलोराडोमा रहेका नेपाली समुदाय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

100%x

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

कैलाली : कैलालीकाे घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएकाे छ । नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बमकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

प्रहरीले डुबेकै स्थानबाट उद्दार गरेर उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

भारी संख्यामा कर्मचारी दरबन्दी कटौती हुने

काठमाडौं । सरकारले ४ वटा मन्त्रालय खारेज तथा एकआपसमा गाभ्दै २१ बाट १७ मन्त्रालय बनाएसँगै तीनवटै सरकारमा रहेका कर्मचारी दरबन्दीमा समेत भारी संख्यामा कटौती गर्ने गृहकार्य अघि बढाएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा झण्डै २० प्रतिशतजति कर्मचारी दरबन्दी अनावश्यक रहेको विश्लेषण गर्दै सरकारले भारी संख्यामा कर्मचारी कटौतीको गृहकार्य अघि बढाएको हो । सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्दै केही मन्त्रालयलाई गाभ्दै केहीलाई खारेज गरेको छ भने एउटा नयाँ मन्त्रालय थप गरेको छ । कार्यविभाजन नियमावली नयाँ आएसँगै कर्मचारी दरबन्दीमा स्वतः पुनरावलोकन हुने भएको हो ।

नयाँ कार्यविभाजन नियमावली अनुसार मन्त्रालयहरूको पुनःसंरचना गर्न तथा दरबन्दी पुनरावलोकन गर्न मुख्य सचिव सुमनराज अर्यालको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको छ । समिति गठन भएसँगै प्रधानमन्त्री कार्यालय दरबन्दी पुनरावलोकनमा जुटेको हो । साथै सो समितिले हाल खारेज भएका मन्त्रालयहरूमा रहेका सचिवहरूको समेत आवश्यक व्यवस्थापन गर्ने छ ।

यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारले चैत्र १३ गते स्वीकृत गरेको सरकारको सयदिने कार्यसूचीमा संघ, प्रदेश तथा स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गने निर्णय गरेको थियो । सरकारको सो निर्णयअनुसार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड स्वीकृत गरी प्रदेश र स्थानीय तहमा पठाइसकेको छ ।

सो मापदण्डअनुसार स्थानीय तह र प्रदेशले आ–आफ्नो निकायमा रहेका अनावश्यक दरबन्दी कटौतीको प्रस्ताव गर्नेछन् । संघीय सरकारले पनि संघमा रहेका अनावश्यक दरबन्दीको कटौती प्रस्ताव गर्ने जनाइएको छ । यस हिसाबले तीनै तहमा गरी २० देखि २५ हजार दरबन्दी कटौती हुने सम्भावना देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए ।

राष्ट्रिय किताबखाना(निजामती) का अनुसार अहिले संघमा ६१ हजार ८ सय ३७, प्रदेशमा ५ हजार ३ सय ४१ र स्थानीय तहमा ६५ हजार ५ सय ५६ दरबन्दि गरी देशभर कुल १ लाख ३२ हजार ७ सय ३४ स्वीकृत दरबन्दी रहेको छ । केन्द्रीय सरकारको दरबन्दी कटौतीको गृहकार्य हेर्दा कुल १ लााख ३२ हजारको २० प्रतिशतले कटौती हुने सम्भावना देखिएको हो । जुन २५ हजार भन्दा बढी हुन आउँछ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सरकारी निकायमा अनावश्यक खर्च कटौती गर्न कडा निर्देशनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अधिकारीहरू सो कार्यमा जुटेका छन् । अहिले दरबन्दी पुनरावलोकनका लागि समेत प्रधानमन्त्री कार्यालयकै अधिकारीहरूले सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित मन्त्रालयका अधिकारीहरूसँग समन्वय गरी आवश्यक गृहकार्य अघि बढाइरहेको स्रोतले जानकारी दिएको छ । हाल विभागको संख्या पनि धेरै भएकाले केही विभागहरूसमेत कटौतीमा पर्ने जनाइएको छ ।

कर्मचारी दरबन्दीको अवस्था यस्तो छ
जम्मा दरबन्दी ः १ लाख ३२ हजार ७ सय ३४
संघ ः ६१ हजार ८ सय ३७
प्रदेश ः ५ हजार ३ सय ४१
स्थानीय तह ः प्रदेशमा ५ हजार ३ सय ४१

 

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पुरा

कोलोराडो, १६ मे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गईरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

नेपाल सहित विश्वका बिभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरुको सहभागिता रहने छ, उनले भने, त्यसबाहेक कोलोराडो राज्यका ५० भन्दा बढि स्रष्टा र साहित्यप्रेमीको उपस्थिति रहने छ ।

बीओटी सभापति विश्वकर्माले सम्मेलनमा मदन पुरस्कार बिजेता डा. नवराज लम्साल, नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, होमनाथ सुवेदी, राधेश्याम लेकाली, गोबद्र्धन पूजा, पुरु सुवेदी, मोहन सिटौला, भुटानी साहित्य परिषदका अध्यक्ष खेम रिजाल उर्जा, पत्रकार तथा लेखक सुधीर शर्मा, बबिता बस्नेत, बसन्त बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ, प्रेम बाँनिया, सुरज भण्डारी लगायत १७५ जनाभन्दा बढिको सहभागिता रहने बताए ।

उनले चारदिनसम्म सञ्चालन हुने सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिने जानकारी दिए

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनका लागि कोलाराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी ईनमा ५० भन्दा बढि कोठा बुक गरिएको जानकारी दिए ।

२२ मेमा अतिथिहरुको स्वागतमा रात्रीभोज आयोजना गरिने जानकारी दिएका महासचिव सिटौलाले सम्मेलनको औपचारिक उद्घाटन २३ मेमा गरिने बताए ।

उनले २३ र २४ मेमा बिभिन्न सत्रहरुमा ख्यातिप्राप्त  साहित्यकार तथा लेखकहरुका बीचमा साहित्यका विभिन्न विधामा बहस गरिने समेत जानकारी दिए ।

सिटौलाले सम्मेलनका दुई दिन विहान योगा र साँझ काव्य उत्सव आयोजना गरिने बताए ।

उनले सम्मेलनको पहिलो दिन ‘ईतिहासमा आख्यान र आख्यानमा ईतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता निलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतका बीचमा हुने बहसको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्ने जानकारी दिए ।

उनले चौथो तथा अन्तिम दिन अतिथिहरुलाई कोलाराडोको ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरुको भ्रमण गराउने कार्यक्रम रहेको बताए ।

अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले सम्मेलनमा ५३ हजार डलर खर्च हुने अनुमान गरिएकोमा ३५ हजार डलर संकलन भईसकेको र बाँकी रकम पनि चाँडै संकलन हुने बताईन् ।

सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न स्वस्फूर्त ढंगले मनकारी व्यक्ति तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भईरहेको अधिकारीले जानकारी दिईन् ।

उनले सहयोग गर्ने सम्पूर्ण दाता तथा संघसंस्थाहरुलाई धन्यवाद दिईन् ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा सम्मेलनका संयोजक किरण अधिकारीले सम्मेलनका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिए ।

उनले सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न कोलोराडोका विभिन्न संघसंस्था र व्यक्तिहरुबाट उत्साहजनक रुपमा सहयोग प्राप्त भएको बताए ।

सम्मेलन संयोजक अधिकारीले अतिथिहरुका लागि आवास, भोजन र भ्रमणको उचित प्रबन्ध मिलाईएको बताए ।

उनले विश्वका विभिन्न मुलुकबाट आउने अतिथिहरुलाई कलरफुल कोलोराडोमा स्वागत गर्न आतुर रहेको सुनाए ।

सम्मेलनमा फुड पार्टनरका रुपमा जोडिएका कोलोराडोस्थित नेपाली रेष्टुरेष्टहरुले अतिथिहरुलाई स्वादिष्ट नेपाली परिकारको प्रबन्ध गर्ने अधिकारीले जानकारी दिए ।

सांस्कृतिक समितिका संयोजक बिजयदेव अधिकारीले सम्मेलनमा विभिन्न जातजाती र समुदायका झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने बताए ।

खोज्नुहोस