‘ग्रे लिस्ट’बाट बाहिर निस्कन संघर्षरत नेपाललाई एपीजीको कडा चेतावनी

द एभरेष्ट पोष्ट
५ जेठ २०८३ ६:४७
‘ग्रे लिस्ट’बाट बाहिर निस्कन संघर्षरत नेपाललाई एपीजीको कडा चेतावनी

काठमाडौँ — सम्पत्ति शुद्धीकरणविरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक समूह (एपीजी) ले नेपालले पर्याप्त प्रगति नदेखाए कालोसूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ । ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो ।

यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन । एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर २०२६ मा हुने निर्णायक एपी–जेजी समीक्षाअघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ । अर्थात् नेपालसँग अब चार महिनाभन्दा कम समय बाँकी छ ।

एपीजीको ४–६ जेठको ‘सपोर्ट बैठक’ काठमाडौंमा जारी छ । आइतबार काठमाडौं आइपुगेको एपीजीको उच्चस्तरीय प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति शुद्धीकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीसँग छलफल गरेको थियो ।

त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यस पटक आफ्ना उपकार्यकारी सचिव डेभिड स्यान्नन नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको हो । सन् २००२ देखि एपीजी सचिवालयमा कार्यरत स्यान्नन हाल आफ्नो २४औं पारस्परिक मूल्यांकनको नेतृत्व गरिरहेका छन् । र, विश्वका सबैभन्दा अनुभवी एफएटीएफ मूल्यांकनकर्तामध्ये एक मानिन्छन् । एक वरिष्ठ अधिकारीको प्रत्यक्ष उपस्थिति नै नेपालको अवस्थाको गम्भीरताको संकेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस