सहकारी पीडितको बचत फिर्ता सुरु
काठमाडाैं । समस्याग्रस्त सहकारीका पीडितले आफ्नो बचत फिर्ता पाउन थालेका छन् । सोमबारदेखि सरकारले समस्याग्रस्त २२ सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो चरणमा १० हजार रुपैयाँभन्दा मुनिका बचतकर्ताको रकम फिर्ता सुरु भएको छ । २३ सहकारीमा यस्ता बचतकर्ताको संख्या ६ हजारहाराहारी छ ।
सुरुको चरणमा तीन सहकारीका ३७८ बचतकर्ताको १३ लाख ९९ हजार रुपैयाँ फिर्ता गरिएको समितिका सदस्य सचिव रविन ढकालले बताए । उनका अनुसार रकम फिर्ता निरन्तर चल्नेछ । ‘पहिलो चरणमा १० हजारभन्दा मुनिका बचतकर्ताको रकम फिर्ता हुन्छ, त्यो सकिएपछि अन्यको थाल्छौँ,’ उनले भने ।
समितिका अनुसार पहिलो दिन कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारीका सात बचतकर्ताको रकम फिर्ता गरिएको छ । बाँकी एक हजार बचतकर्ताको सूची तयार भएको र उनीहरूको नामावली रकम फर्स्योटका लागि अघि बढिसकेको समितिको भनाइ छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले रकम फिर्ता स्थापित चक्रीय कोषको कार्यविधिअनुसार पीडितले रकम फिर्ता पाउन थालेको बताइन् । ‘समस्याग्रस्त सहकारीका पीडितलाई उनीहरूको बचत फिर्ता थालिएको छ । पहिलो चरणमा १० हजारमुनि बचत गरेकाले रकम पाएपछि क्रमशः अन्यले पाउनेछन्,’ उनले भनिन् ।
सरकारले चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ जारी गरेसँगै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पीडितलाई रकम फिर्ता दिन थालेको हो । कोषमा सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ निकासा गरेको छ । समितिले अन्य रकम भने ऋणीबाट ऋण असुल्दै पीडितलाई फिर्ता दिनेछ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांकअनुसार संघअन्तर्गत मुलुकभर २३ सहकारी समस्याग्रस्त घोषणा भएका छन् । त्यसमा आइडल यमुना हाम्रो बहुउद्देश्यीयबाहेक २२ सहकारीमा ५८ हजार २८८ बचतकर्ता पीडित छन् । उनीहरूको ३५ अर्ब ४५ करोड ३१ लाख ६० हजार ९०६ रुपैयाँ फिर्ता गर्न बाँकी छ ।
