फाप्ला रंगशाला प्रदेश सरकारको प्राथमिकतामा: मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण प्रदेश सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् ।

शनिबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण समितिका अध्यक्ष सुवास शाहीसँग भएको भेटमा मुख्यमन्त्री शाहले परियोजनाको हालसम्मको प्रगति र तयारीबारे जानकारी लिँदै प्रदेश सरकार निर्माण कार्यमा सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

मुख्यमन्त्री शाहले फाप्लालाई सुदूरपश्चिमको ‘गेम चेन्जर’ परियोजनाका रूपमा उल्लेख गर्दै यसको निर्माणलाई उच्च प्राथमिकतामा राखिएको र आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्ने बताए । साथै, संघीय सरकारसँग पनि आवश्यक समन्वय र पहल गरिने उनले बताए ।

भेटका क्रममा अध्यक्ष शाहीले परियोजनाको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै आगामी बजेटमा प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताए । धनगढीमा निर्माणाधीन खेलग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) सम्पन्न भइसकेको छ ।

परियोजनाको पहिलो चरणका लागि करिब ११ अर्ब रुपैयाा बजेट आवश्यक पर्ने अध्यक्ष शाहीले जानकारी दिए। उनले यस्ता ठूला पूर्वाधार आयोजनामा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै खेलकुद क्षेक्रमा विगतजस्तो टुक्रे बजेट विनियोजन नगरी दीर्घकालीन प्रभाव पार्ने परियोजनामा लगानी गर्नुपर्ने धारणा राखे । देशकै हित हुने गरी फाप्लाजस्ता ठूला परियोजनामा तीनै तहका सरकारको लगानी आवश्यक रहेको उनको भनाइ छ ।

हिमनदी पग्लिने दर थप तीव्र

काठमाण्डौ- अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडको अध्ययनले हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू खतराजनक गतिमा पग्लिरहेका देखाएको छ । इसीमोडले विश्व हिमनदी दिवसको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०११ देखि २०२० को अवधिमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा झन्डै ६५ प्रतिशतले बढेको छ ।

जलवायु परिवर्तनका कारण तापक्रम निरन्तर बढ्दै जाँदा हिमनदी र हिमआवरण दुवै तीव्र रूपमा घटिरहेका छन् । सन् १९९० देखि २०२० को बीचमा हिन्दुकुश हिमालयका हिमनदीले कूल क्षेत्रफलको १२ प्रतिशत र हिउँ भण्डारको ९ प्रतिशत हिस्सा गुमाइसकेका छन् ।

यो क्षेत्रका ६३ हजार ७ सय भन्दा बढी हिमनदी एशियाका कम्तीमा १० प्रमुख नदी प्रणालीका स्रोत हुन् र तिनमा निर्भर १ अर्ब ९० करोडभन्दा बढी मानिसको खाद्य, पानी र ऊर्जा सुरक्षा प्रत्यक्ष जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ ।

तीव्र गतिमा हिमनदी पग्लिँदा बाढी, पहिरो र हिमताल फुट्ने जोखिम पनि बढ्दै जाने चेतावनी दिइएको छ, जसले पहाडी समुदायको जीवन, पूर्वाधार र जीविकोपार्जनमा गम्भीर असर पारिरहेको छ ।

अहिलेकै उत्सर्जन दर कायम रहे सन् २१०० सम्म हिमनदीको झन्डै ८० प्रतिशत बरफ हराउन सक्ने चेतावनी दिँदै प्रतिवेदनले तत्काल नीतिगत सुधार, अन्तर्राष्ट्रिय सहकार्य र स्थानीय अनुकूलन कार्यक्रमको आवश्यकता औँल्याएको छ ।

 

वर्षाले कैलालीको टीकापुरमा मुसुरो र केराउ बाली नोक्सान

टीकापुर- चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न ठिक्क भएको मुसुरो र केराउ बालीलाई क्षति पुर्‍याएको हो ।

“उखेलेको मुसुरो खेतमै थियो, अचानक पानी आइहाल्यो । पालले छोप्दा पनि पूरै ढाक्न सकिएन र सबै भिज्यो,” टीकापुर नगरपालिका–२ राजीपुरका अर्जुन ठकुल्लाले भने, “सबैको मुसुरो पाकेको थियो, पानी परेपछि गाउँका किसानको मुसुरो खेती गलेको छ ।”

राजीपुरकै चुलुवा चौधरीले पनि ३० कठ्ठा खेतमा लगाएको मुसुरो र केराउ पाकेर सड्न थालेपछि उखेल्न थालेको बताउनुभयो । यस्तै, राजकुमारी चौधरीले २० कठ्ठा जमिनमा उखेलेर राखेको मुसुरो भिजेर बिग्रिएको र बाँकी रहेको मुसुरो पनि हतार–हतार उखेल्न थालेको जानकारी दिए । वर्षासँगै चलेको हावाहुरीले भर्खरै बाला लाग्दै गरेको गहुँ बाली समेत ढालेको छ ।

टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख मोतीसिंह विकले बेमौसमी वर्षाले वसन्ते मकै, लहरे तरकारी र अरहरलगायतका बालीलाई फाइदा पुगे पनि पाकेको मुसुरो र केराउलाई भने नोक्सानी गरेको बताए । कैलाली मुसुरो र केराउ राम्रो उत्पादन हुने क्षेत्र हो ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार टीकापुर क्षेत्रमा बिहीबार बिहानदेखि शनिबार बिहानसम्म १२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य चुनावमा बालअधिकार उल्लङ्घनका साढे ३ सय घटना दर्ता

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले चुनावअघि र चुनावपछि साढे ३ सय उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सीजप)ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को अनुगमनका आधारमा चुनावअघि बालबालिकासम्बन्धी २ सय ८६ घटना दर्ता भएका जनाएको छ । चुनावपछि १९ घटना भएका प्रतिवेदनमा उल्लेख छ ।

चुनाव प्रचारका क्रममा रौतहटको ईशनाथ नगरपालिका–४ मठियाटोलमा गएको माघ २२ गते एकजना ४ वर्षीय बालिकाको गाडी ठक्करबाट ज्यान गएको थियो । धनुषा जिल्ला मिथिला नगरपालिका–९ मा २०८२ साल फागुन १९ गते पुलमाथि राखिएको शङ्कास्पद वस्तु विस्फोट हुँदा १५ वर्षीया बालिका आशा भुजेल र ८ वर्षीय बालक सुशील माझी घाइते भएका थिए । पाँचथरको फिदिम र कास्कीको अन्नपूर्ण गाउँपालिकाको विद्यालयमा चुनावअघि सुरक्षा निकायले हतियारसहित प्रवेश गरेको घटना पनि दर्ता भएको थियो ।

अध्ययनले चुनावपूर्व राजनीतिक प्रचारप्रसारमा बालबालिकालाई झण्डा र चिह्न बोकेर जुलुस तथा आमसभामा सहभागी गराउने, राजनीतिक नाराहरू लगाउने, प्रचार सामग्री वितरण गर्ने, राजनीतिक पोशाक लगाउने, गीत तथा नृत्य कार्यक्रममा भाग लिन लगाउने जस्ता गतिविधिहरू गरिएको थियो । कतिपय घटनामा बालबालिकामार्फत प्रचार भिडियो र सामाजिक सञ्जाल सामग्री निर्माण गरी मत माग्ने वा विशेष दलको समर्थन गर्ने सन्देश सम्प्रेषण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

विद्यालय पोशाकमै विद्यार्थीहरूलाई जुलुसमा सहभागी गराउने, राजनीतिक नेताहरूले विद्यालय भ्रमण गर्ने, विद्यालय नजिक चुनावी कार्यक्रम सञ्चालन हुने र बस प्रयोग हुने जस्ता गतिविधिले विद्यालयलाई बालमैत्री र राजनीतिक रूपमा तटस्थ स्थान बनाउन चुनौती पुर्‍याएको अध्ययनले देखाएको छ । अभियानका अध्यक्ष तिलोत्तम पौडेलका अनुसार यस्ता क्रियाकलापले निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लङ्घन गरेका छन् ।

अभिभावकले बालबालिकामार्फत मत माग्ने भिडियो बनाउने, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूले बालबालिकालाई राजनीतिक सामग्रीमा प्रयोग गर्ने, बालबालिकाले राजनीतिक सन्देश दोहोर्‍याउने वा प्रतिस्पर्धी दलको आलोचना गर्ने र भिडियो सामग्रीबाट आर्थिक लाभ उठाउने जस्ता गतिविधिले बालबालिकालाई जोखिममा राखेको प्रतिवेदनले औँल्याएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसेले चुनावमा मतदान अधिकृत रूपमा भूमिका निभाउँदै गर्दा बालबालिकाको दुरुपयोगको अवस्था कम गर्न सकिएको बताउँदै सरोकारवाला निकायको सहकार्य र खबरदारीका कारण यो सम्भव भएको बताए । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम संयोजक श्रीराम अधिकारीले बालबालिकाको दुरुपयोग रोक्न कानूनी रूपमा नै कडा व्यवस्था ल्याउनुपर्ने बताए।

राष्ट्रिय माव अधिकार आयोगका खिमानन्द बस्यालले विगतको चुनावको तुलनामा यसपालीको चुनावको समयमा बालबालिकाको दुरुपयोग केही कम भए पनि सुधारका धेरै काम बाँकी रहेको बताए ।

निर्वाचन आयोगले केही उल्लङ्घनको सम्बन्धमा कारबाही गरेको थियो । श्रम संस्कृति पार्टीलाई दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लङ्घन गरेकोमा २५ हजार रुपैयाँ जरिवाना गरेको छ । जाजरकोट क्षेत्र नं १ का उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि समान प्रावधान उल्लङ्घन गरेकोमा २५ हजार रुपैयाँ जरिवाना गरिएको आयोगले जनाएको छ । चुनावअघिको  तुलनामा मतदानको दिन बालबालिकासम्बन्धी प्रत्यक्ष उल्लङ्घनका घटना न्यून देखिएका थिए । मतदान केन्द्रको रूपमा विद्यालय भवनको व्यापक प्रयोगसम्बन्धी संरचनात्मक चुनौती देखा परेको छ । देशभरका १० हजार ९ सय ६७ मतदानस्थलमध्ये झन्डै ९ हजार ४ सय ५० विद्यालयमा स्थापना गरिएको थियो ।

अध्ययनले राजनीतिक दल, राज्य निकाय, समुदाय र परिवार सबैको जिम्मेवार भूमिका आवश्यक रहेको सुझाएको छ । राजनीतिक दललाई चुनावी अभियान, जुलुस, प्रचार सामग्री तथा डिजिटल सामग्रीमा बालबालिकालाई प्रयोग नगर्न, बालअधिकारको सम्मान गर्दै बालमैत्री चुनावी अभ्यास अपनाउन र विद्यालय तथा बालबालिका केन्द्रित स्थानमा चुनावी गतिविधि नगर्न सिफारिस गरिएको छ ।

प्रतिवेदनले निर्वाचन आयोगलाई बालबालिकाको प्रयोग निषेध गर्ने आचारसंहिताको प्रभावकारी अनुगमन, मतदाता शिक्षा कार्यक्रममा बालअधिकार सचेतना समावेश, सरकार र नीति निर्मातालाई कानूनी प्रावधान सुदृढ गर्ने, डिजिटल माध्यममा बालबालिकाको राजनीतिक प्रयोग रोक्न निर्देशिका बनाउन सुझाव दिएको छ । अभियानले सुरक्षा निकाय, परिवार, विद्यालय र समुदायलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

 

सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक

धनगढी- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ ।

टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले शनिबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरे ।

राष्ट्रिय टोलीका सदस्य समेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरको टोलीलाई यसै सिजन देखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको थियो । एसपीए कलेजले यसै सिजनदेखि ३ वर्षका लागि प्रदेशको महिला र पुरुष दुवै टोलीको मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउँने लक्ष्यसहित अघि बढ्नुपर्ने धारणा राखे ।

साथै शाहीले प्रदेशको टोलीलाई व्यवसायिक रुपमा अघि बढाउन आफूहरुले गरेको सुरुवातलाई अन्य कर्पोरेट संस्थाहरुसँग पनि जोड्ने प्रयत्न भइरहेको बताए ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले एसपीए कलेजको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै एपीएको विश्वासलाई मैदानमा राम्रो खेल्दै प्रमाणित गर्ने प्रतिबद्धता जनाए ।

अनुभवी र युवा खेलाडीहरु सहित टोली सन्तुलित रहेका बताउँदै शीर्ष चारमा रहने लक्ष्यसहित टोली काठमाडौं जान लागेको कप्तान मल्लले बताए । उनले एसपीए कलेजको सहयोगले टोलीको मानसिक अवस्था पनि सुदृढ भएको बताए ।

टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी समावेश छन् ।

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं :  भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

युवाहरुको समूहले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।उनीहरुले जेनजी आन्दोलन खोलामा प्रतिवेदन बन्द झोलामा, कुन भ्रष्टलाई बेचिस ? कार्की आयोगको प्रतिवेदन, कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर, जेनजीहरु नारामा आमा उता रारामा लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरुलाई अन्याय गर्न नपाइने उनीहरुले जनाएका छन् । साथै युवाहरुले जेनजी आन्दोलनको ढाडमा टेकेर नेताहरु सांसद बनेपनि जेनजी आन्दोलनको उदेश्य अझै पुरा हुन नसकेको जनाएका छन् ।

उनीहरूले सरकारी संरचना जलाउने र प्रहरीमाथि कुटपिट गर्ने जेनजी आफूहरू नभएको भन्दै भाद्र २३ र २४ का घटनामा दोषि देखिएकालाई कारवाही गर्नुपर्ने माग राखेका छन् । जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपनि अझै सार्वजनिक हुन नसकेपछि युवाहरुले आशंका व्यक्त गरेका छन् ।

वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाण्डौ – अहिले देशभर सबैजसो ठाउँमा बादल लागेको छ । लुम्बिनी र गण्डकी प्रदेशको धेरै ठाउँहरुमा तथा कर्णाली र बागमती  प्रदेशको केही ठाउँका साथै मधेश प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ ।

यो प्रणाली पूर्वतिर सर्दै गइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पछिल्लो एक घण्टामा पानी पार्ने प्रणाली मध्य नेपालमा केन्द्रित छ । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरू, लुम्बिनी र कर्णाली प्रदेशको केही तथा सुदुरपश्चिम प्रदेशको  थोरै  ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार दिउँसोपछि मध्य र पूर्व क्षेत्रमा हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ । हिजो दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

आज रातिदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ । हावाहुरीका बेला रुख ढल्ने, कमजोर संरचना र छाना उडाउने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात समेत प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हावाहुरी र चट्याङ परेको बेला सकेसम्म घरभित्रै बस्न र घरबाहिर भएमा पनि सुरक्षित ठाउँमा बस्न मौसमविदले आग्रह गर्दै आएका छन् ।

 

प्रधानमन्त्री कप क्रिकेट : कर्णाली र लुम्बिनीको खेल वर्षाले अवरुद्ध

वीरगञ्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । वीरगञ्जको नारायणी रंगशालामा शनिबार सुरु भएको एक दिवसीय खेल पानी परेपछि रोकिएको हो ।

वर्षा सुरु हुनुअघि कर्णालीले ब्याटिङ गर्दै सात ओभरमा २० रन जोडेको छ । कर्णालीका ओपनर रवीन्द्र शाहीले ९ र सुनिल धमलाले ७ रन बनाएका छन् । लुम्बिनीका बलर सन्देश थापाले चार ओभर बलिङ गर्दै १२ रन खर्चिएका छन् भने राजेन्द्र बमले तीन ओभर बलिङ गर्दै एक मेडनसहित आठ रन दिएका छन् ।

यसअघि लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । खेल सुरु भएको केही समयमै वर्षा सुरु भएपछि खेल रोकिएको नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए ।

वर्षाकै कारण जनकपुरको रामजानकी रंगशालामा हुन लागेको कोशी र मधेस प्रदेशको खेल पनि वर्षाले प्रभावित बनेको छ । रामजानकी रंगशालामा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वर्षाले उद्घाटन समारोह समेत प्रभावित भएको कोषाध्यक्ष जयसवालले बताए ।

यस पटकको प्रधानमन्त्री कप मधेस प्रदेशका दुई र काठमाडौंको तल्लो र माथिल्लो मुलपानी गरि चार रंगशालामा हुँदैछ । प्रतियोगिताको फाइनलसहित १९ वटा खेल वीरगन्जमा र उद्घाटनसहित १७ वटा खेल जनकपुरमा हुनेछन् भने बाँकी १० वटा खेल तल्लो र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

आईसीसी विश्वकप लिग २ को तयारीका लागि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा प्रधानमन्त्री कपको कुनै पनि खेल हुने छैन । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि रंगशालामा तय भएका सबै खेल मुलपानी रंगशालामा सारेको छ ।

झण्डै एक महिनासम्म आयोजना हुने प्रतियोगितामा तीन विभागीय र सात वटा प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता टोली हो ।

मध्यपूर्व सङ्कटको असर विश्वभरः तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई, चैत ७ गते । मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उनको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका  छन् । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो ।

यसैबिच, इजरायलले  इरानले शनिबार बिहान पुनः मिसाइल आक्रमण जारी राखेको छ भने साउदी अरेबियाले केही घण्टाभित्रै २० ड्रोन निश्क्रिय पारिएको जनाएको छ । त्यस क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेका छन्। कुनै मानव क्षति वा संरचनागत हानि भने भएको छैन।

इरानले आक्रमणलाई बढाउँदै आफ्नो खाडी छिमेकीमा असर पुर्‍याइरहेको छ, जबकि हर्मुज जलमार्गमा व्यापार नियन्त्रण जारी राखेको छ । यो मार्ग विश्वको तेल र अन्य महत्वपूर्ण वस्तुहरूको लगभग पाँचौं हिस्सा बोक्ने मार्ग हो ।

इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले नवरोज पर्वको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमणहरू असफल भएको बताए । उनले इरानी जनताको दृढतामा प्रशंसा गरे ।

इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू’ देशका शत्रुका लागि सुरक्षित नहुने चेतावनी दिएका छन् । यसले इरानले मध्यपूर्व बाहिर पनि आक्रमण गर्ने सम्भावना कायम राखेको देखाउँछ ।

अमेरिकाले इरानी तेलमा केही प्रतिबन्ध हटाउने घोषणा पनि गरेको छ, जसले मूल्य नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । तर उत्पादनमा वृद्धि नभएपछि तेलको आपूर्ति र मूल्यमा ठुलो असर नपर्ने देखिन्छ ।

युद्धमा हालसम्म इरानमा एक हजार तीन सयभन्दा बढी, इजरायलमा १५ र पश्चिम बैङ्कमा चार नागरिकको मृत्यु भएको छ । अमेरिकी सेनाका कम्तीमा १३ सदस्यको पनि मृत्यु भएको छ । रासस/एपी 

इरान तनावबिच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

लन्डन ।  बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमार्फत जानकारी दिएको हो ।

वक्तव्यअनुसार हर्मुज क्षेत्रमा जहाजहरूलाई लक्षित गरी भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल स्थल र क्षमताहरू कमजोर बनाउन यस्तो कदम चालिएको हो । साथै बेलायतले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात सुरक्षित गर्ने योजना बनाइरहेको जनाएको छ ।

यद्यपि, बेलायतले आफू ‘ठूलो द्वन्द्वमा तानिन नचाहेको’ स्पष्ट पारेको छ । यसैबिच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रबार बेलायती समकक्षीलाई चेतावनी दिँदै अमेरिका र इजरायलको इरानविरुद्धको आक्रमणमा सहयोग नगर्न आग्रह गरेका छन् । उनले यस्तो सहयोगले क्षेत्रीय तनाव थप चर्काउने बताएका छन् ।

गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरान सहित इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा अली खामेनेईसहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो ।

त्यसपछि इरानले जवाफस्वरूप इजरायल र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणहरू गरेको जनाएको छ ।  एजेन्सी

गैरआवासीय नेपालीको पुँजीलाई आर्थिक विकाससँग जोड्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीको पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न आग्रह गरेका छन् ।

हिजो गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई महासङ्घ सचिवालय, टेकुमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरूको पुँजी, सीप र अनुभवलाई नेपालको विकासमा लगाउनुपर्ने बताए । उनले महासङ्घको पहलमा धेरै नीतिगत सुधार भएकाले अब लगानीको लागि पनि सहज वातावरण बन्दै गएको बताए ।

महासङ्घले नीतिगत तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्ने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्ने तथा अन्य प्रक्रियागत सरलीकरणका विषयमा नेपाल सरकारसँग धेरै ठूलो लबिङ गरेर थुप्रै नीतिगत सुधार गरेको उनको भनाइ थियो । त्यस अवसरमा एनआरएनएका अध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नेपालीहरू पनि नेपालको विकासमा साझेदार बन्न चाहेको बताए ।

 

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

सिन्धुली : शुक्रबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार अवरुद्ध राजमार्गमा पहिरो पन्छाएपछि नेपालथोक-भकुण्डेबेसी खण्ड एकतर्फी सञ्चालनमा आएको हो ।

शनिबार बिहान साँढे तीन बजेदेखि नेपालथोक-भकुण्डेबेसी खण्ड अन्तर्गत काभ्रेको रोशी गाउँपालिका – ११ कालढुंगा र दाउन्नेमा रोशीमा आएको बाढीले क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध थियो ।

बिहानैदेखि अवरोध पन्छाएर राजमार्ग एकतर्फी सञ्चालनमा आएसंगै सिन्धुलीमाढी, दुम्जा र नेपालथोकमा होल्ड गरिएको सवारी साधन बिस्तारै गन्तव्यतर्फ पठाउन थालिएको छ। अवरुद्ध राजमार्गको अस्थायी डाईभर्सन निर्माण कार्य जारी छ ।

म इरानसँग युद्धविराम चाहन्नँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा कुनै पनि प्रकारको युद्धविराम नचाहेको बताएका छन्।

मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘अर्को पक्षलाई पूर्ण रूपमा ध्वस्त पार्दा युद्धविराम हुँदैन।’ ट्रम्पले अमेरिकाले यस युद्धमा नेतृत्व प्राप्त गरिसकेको र त्यसैले अहिले युद्ध रोक्ने कुनै मनसाय नभएको भनाइ राखे।

ट्रम्पले नेटो देशहरूमाथि पनि कडा टिप्पणी गरे। उनले नेटो सहयोगीहरूलाई सहयोगको अभावका लागि कायर र अमेरिका बिना सैन्य गठबन्धन कागजी बाघ जस्तै भएको भने।

रिपोर्टहरूका अनुसार ट्रम्पले इरान विरुद्धको जारी अभियानमा विशेष गरी होर्मुज स्ट्रेट खोल्न नेटो देशहरूबाट समर्थन चाहेका थिए, तर धेरै देशहरूले प्रत्यक्ष रूपमा संलग्न हुन अस्वीकार गरे।

यो बयानपछि अमेरिका र उसका सहयोगीहरूबीच तनाव अझ बढेको छ।

बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

वाशुलिङ बैतडी, चैत ७ गते । बैतडीको झ्याउलेक मोडस्थित जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।

नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सु।प।प्र। ०१००१ ख २८०९ नम्बरको करिब २० टन सिमेन्ट बोकेको ट्रक शुक्रबार राति करिब २ः१५ बजे दुर्घटनामा परेको हो । दुर्घटनापछि ट्रक सडकबाट करिब २०–२५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चारै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २५ वर्षीया निर्मला बिष्टको टाउकोमा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको छ । साथै उनका सात वर्षीय छोरा अविषेक बिष्टको टाउको र पाखुरामा चोट लागेको छ भने चार वर्षीय प्रियान्स बिष्टको अवस्था सामान्य रहेको छ । यस्तै, चालक ३६ वर्षीय कृष्ण बिष्ट सामान्य घाइते भएका छन् ।

दुर्घटनाका कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी खोडपेका प्रहरी नायब निरीक्षक उदय खडायतले जानकारी दिए ।

 

नेविसंघको चेतावनी- विद्यार्थी संगठन खारेज गरेर आगोको गोलामा हात नहाल्नू

काठमाडौं । नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरू खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताए ।

‘बालेन शाहजीलाई र्‍याप हान्न त्यो अधिकार नेपाल विद्यार्थी संघले दिएको हो । रवि लामिछानेजीलाई हिजो टिभी कार्यक्रम संचालन गर्न दिने, खुला मञ्चमा गएर भ्रष्टाचारीहरुको नाकको डाँडी भाच्ने भनेर बोल्ने त्यो अधिकार नेपाल विद्यार्थी संघले दिएको हो,’ उनले चेतावनीयुक्त शब्द प्रयोग गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतले समेत नेपाल विद्यार्थी संघ चाहिन्ख्छ उसले विद्यार्थीको अधिकारका लागि बोल्छ भनेर हामीलाई सर्वोच्चले पनि मान्यता दिएको छ । त्यसैकारणले म भन्न चाहन्छु, आगोको गोलामा हात हाल्ने काम नगर्नुहोला । त्यो आगोको ज्वालाले तपाईंहरू भष्म हुनुहुन्छ ।’

अध्यक्ष शेर्पाले कांग्रेसभित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको जिकिर समेत गरे ।

एक साताको मौसम पूर्वानुमान : हावाहुरी, असिनापानी कहाँ कहिले ?

काठमाडौं । देशका धेरै स्थानमा शुक्रबार (चैत ६) वर्षा भएको छ । पश्चिमदेखि पूर्वी भूभागसम्मै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले यसअघि नै शुक्रबार र शनिबार (चैत ७) काठमाडौंसहित देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान गरेको थियो । केही स्थानमा ‘भारी’ वर्षाको पनि पूर्वानुमान छ ।

शुक्रबार विभागले चैत ६ देखि १२ गतेसम्मको मौसम पूर्वानुमान गरेको छ ।

“(तराई क्षेत्र) आज शुक्रबार र भोलि शनिबार देशका धेरै ठाउँहरूमा हावाहुरी, मेघगर्जन/चट्याङ र असिनासहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ,” विभागका मौसमविद् डेभिड ढकालले भने, “यी दुई दिनमा कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भने भारी पानी पर्ने सम्भावना रहेको छ ।”

पहाडी क्षेत्रको मौसम पूर्वानुमान
शुक्रबार र शनिबार देशको पहाडी भूभागका धेरै ठाउँमा हावाहुरी, मेघगर्जन/चट्याङ र असिनासहित ‘मध्यम’ पानी पर्ने सम्भावना छ । एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए ।

आउँदो आइतबारदेखि मंगलबार (चैत ८–१०)भित्र पहाडी क्षेत्रका थोरै ठाउँमा हावाहुरी, मेघगर्जन/चट्याङ र असिनासहित मध्यम पानी पर्ने सम्भावना छ । “बुधबार र बिहीबार (चैत ११–१२) भने कोसी र गण्डकी प्रदेशका थोरै ठाउँमा मात्रै यस्तो सम्भावना छ,” उनले भने ।

हिमाली क्षेत्रको मौसम पूर्वानुमान
दुई दिन (चैत ६–७) सबै प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँमा मध्यम हिउँ वा पानी पर्ने सम्भावना छ । एक–दुई ठाउँमा हावाहुरी, मेघगर्जन/चट्याङ र असिना पनि पर्ने सम्भावना रहेको मौसमविद् ढकालले बताए । उनले भने, “अनि, एक–दुई ठाउँमा भने भारी हिउँ वा पानी पर्ने सम्भावना छ ।”

आइतबारदेखि मंगलबारभित्र हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम हिउँ वा पानी पर्ने सम्भावना छ । बुधबार र बिहीबार कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मात्र यस्तो सम्भावना रहेको उनले बताए । “एक–दुई ठाउँमा हिउँ वा पानी पर्दा हावाहुरी, मेघगर्जन/चट्याङ र असिना पनि पर्ने देखिन्छ,” उनले भने ।

मौसम छिनछिनमै परिवर्तन भइरहेको हुन्छ । त्यसैले मौसमबारे विभागको आधिकारिक र पछिल्लो जानकारी लिन उनले आग्रह समेत गरेका छन् ।

कांग्रेस सभापति थापाकाे राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेश

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार केन्द्रीय कार्यसमितिमा पेश भएको छ । बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदनमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बुँदा राखेका हुन्।

उपसभापति शर्माले ‘राजनीतिमा ’हनिमुन पिरियड’ भन्ने गरिन्छ, खासगरी सरकारको नेतृत्व कसैले सम्हालेको सुरुवाती सय दिनलाई । त्यो ’वार्म अप’ को अवधिमा उसको कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परिक्षण र समग्र समिक्षा गर्न सकिन्न । त्यही कोणबाट समिक्षा गर्दा बिशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न, अनि प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पुर्‍याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुन्न । त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभुत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै, यो बैठक स्थिति सम्हाल्ने गहन दायित्व, सबैभन्दा प्रधान नैतिक दायित्व ठहर गर्दै सभापति गगन थापाले आफ्नो पदबाट दिनुभएको राजिनामा अस्विकृत गर्ने निर्णय गर्दछ सभापति थापाको राजीनामा अस्विकृत गर्ने प्रस्ताव’ शीर्षकमा उल्लेख गरेका छन् ।’

काठमाडौं असिनासहितको वर्षा, दिउँसै अन्धकार

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शुक्रबार अपरान्ह असिनासहितको वर्षा भएको छ। अपरान्हको समयमा नै साँझको जस्तो अँध्यारो बनेको छ । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले काठमाडौं उपत्यकामा असिनासहित वर्षा भए पनि हुरीको प्रभाव कम रहेको बताइन् ।

विशेष गरी तराईका जिल्लामा यसको प्रभाव बढी पर्ने तर आत्तिनुपर्ने अवस्था नरहेको उनले बताइन् । तर सतर्कता अपनाउन भने आवश्यक रहेको उनले बताइन् । प्रवक्ता पोखरेलले हुरी चलिरहेको समयमा घरबाहिर ननिस्कन सुझाव दिइन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन थालेर गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर/संरचना भएभित्र गइहाल्नुपर्छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारीसाधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे । साथै, कमजोर संरचना र बिजुलीका तारमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत उनको अनुरोध छ ।

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ।  भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड बढेको हो।

फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको हो। यहाँ बिहानैदेखि हजारौँ दर्शनार्थीको भीड बढेपछि मन्दिर र आसपासका क्षेत्रमा नेपाल प्रहरी र भीमदत्त नगरपालिकाको नगर प्रहरी त्यसको व्यवस्थापनमा जुटेको छ।

“पूर्णागिरिको दर्शनपछि सिद्धनाथ मन्दिरको दर्शन गर्नुपर्ने मान्यताका कारण हजारौँको सङ्ख्यामा दर्शनार्थी यहाँ आउने गर्छन्”, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भने, “भारतीय दर्शनार्थीको भोजनका लागि मन्दिर छेउमै भण्डारा लगाइएको छ।”

उनले दर्शनार्थीको भीडभाडसँगै महेन्द्रनगर, बह्मदेव, गड्डाचौकीलगायत क्षेत्रमा चहलपहल बढेको बताए। बजार क्षेत्रको पार्किङ व्यवस्थित गर्ने प्रयास गरिएको छ।

ब्रह्मदेवस्थित सिद्धनाथ मन्दीर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले नवरात्रा अवधिमा मात्रै दैनिक हजारौँ दर्शनार्थी सिद्धनाथ मन्दिर दर्शनका लागि आउने गरेको बताए। बर्सेनि फागूपूर्णिमादेखि असारसम्म पूर्णागिरि मेला लाग्ने गर्छ। तीन महिनामा सिद्धनाथ मन्दिर दर्शन गर्न एक लाखभन्दा बढी दर्शनार्थी आएको उनले बताए।

“दर्शनार्थीका कारण बजार क्षेत्रमा चहलपहल बढे पनि पहिलेको जस्तो व्यापार छैन”, अध्यक्ष नायकले भने, “होटल व्यवसाय, यातायात व्यवसाय भने योबेला राम्रो हुने गरेको छ ।”

यसैगरी, महेन्द्रनगरका अग्रज व्यवसायी प्रमोद जजोदियाले आफूहरू विगत एकदशकयता मिलेर नवरात्रिका बेला मन्दिरमा आउने दर्शनार्थीका लागि भण्डारा लगाउने गरेको बताए। “नवरात्रिका नौ दिन हामी निःशुल्क भोजन गराउँछौँ दैनिक दुई-तीन हजारदेखि आठ÷नौ हजारसम्म दर्शनार्थी भोजन गर्छन्”, उनले भने, “यहाँका ३०-४० जना व्यापारी मिलेर हरेक वर्ष पूर्णागिरि मेलाका बेला निःशुल्क भोजनको व्यवस्थापन सिद्धनाथ मन्दिर छेउमै हुन्छ ।”

पश्चियम एसिया युद्ध: ८२ हजार १ सय नेपालीले दर्ता गराए नाम

काठमाडौं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमार्फत हालसम्म पश्चिम एसियाबाट ८२ हजार १ सय नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ।

शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार दर्ता भएकामध्ये करिब ६ हजार जनाले सुरुमा आफूहरू असुरक्षित रहेको बताएका थिए। तर पछिल्ला दिनहरूमा असुरक्षित महसुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उनले बताए।

इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच पश्चिम एसियाका विभिन्न देशहरूबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा फोन कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको पनि उनले जानकारी दिए। सुरुका दिनहरूमा अधिकांशले सुरक्षासम्बन्धी जानकारी माग्ने गरेको भए पनि अहिले भने श्रम स्वीकृतिको विषयमा जिज्ञासा आउने क्रम बढेको उनले बताए।

मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिँदै आवश्यक समन्वय गरिरहेको क्षेत्रीले बताए। उनका अनुसार हाल कुनै पनि नेपाली नागरिक विदेशी ट्रान्जिटमा छैनन्। जेद्दामा रहेका ५२ जना हजयात्रीहरू पनि स्वदेश फर्किसकेको उनले जानकारी दिए।

सरकार पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति गम्भीर रहेको र आवश्यक परे उद्धारका लागि पनि तयारी अवस्थामा रहेको उनले बताए।

 

बैतडीमा युवकको शंकास्पद मृत्यु

धनगढी: बैतडीको पाटन नगरपालिका–३ का २६ वर्षीय नरेश कोलीको मृत्यु प्रकरणमा उनका परिवारजनले निष्पक्ष छानबिनको माग गरेका छन्। बुधबार बिहान पाटन–६ स्थित भिटा नजिक सुर्नया नदी किनारमा उनी मृत अवस्थामा फेला परेका थिए।

मंगलबार किनमेलका लागि पाटन बजार गएका नरेश राति अबेरसम्म घर नफर्किएपछि उनका दाइले प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि गरिएको खोजतलासका क्रममा बुधबार बिहान करिब ८ बजे उनी नदी किनारमा मृत भेटिएका हुन्।

परिवारजनले घटनालाई शंकास्पद भन्दै विस्तृत अनुसन्धान गर्न आग्रह गरेका छन्। नरेशका बुवा सेरी कोली भारतबाट बिहीबार मात्रै घर फर्किएका हुन्। जिल्ला अस्पताल पुगेका उनले नरेशसँगै रहेका व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

उनले भने, “घरमा नरेशकी श्रीमती र सानो छोरा छन्। मैले छोरा गुमाएको छु, यो पीडा सधैं रहनेछ। अब यस घटनामा प्रहरीले निष्पक्ष छानबिन गरोस्, हामी आग्रह गर्छौं।”

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार नरेशको शवको आज पोस्टमार्टम गरिने तयारी गरिएको छ।

चैत १३ मा नयाँ प्रधानमन्त्रीको शपथ, बालेन्द्र शाह नेतृत्वमा सरकार गठन हुने

काठमाडौँः नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम चैत १३ गतेका लागि तय भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेपछि सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

निर्वाचनअघि नै रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। सोही अनुसार अब शाहकै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएको छ।सरकार गठनसम्बन्धी छलफल राजधानीस्थित रोयल सिंगि होटलमा सम्पन्न भएको थियो। उक्त छलफलपछि सांसदहरूको शपथ लगत्तै प्रधानमन्त्रीको शपथ गराउने निर्णय गरिएको हो।

रास्वपाका एक शीर्ष नेताका अनुसार आउँदो चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्ने छन्। संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरेको छ। त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउँदै सरकार गठन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइनेछ।

सुदूरपश्चिममा कृषि प्रविधिबारे तीन दिने तालिम

धनगढी ।  सुदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यरत अधिकृतहरूका लागि आयोजना गरिएको नवीनतम कृषि प्रविधिसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा विकसित नयाँ प्रविधिहरूबारे जानकारी दिने उद्देश्यले ३ चैतदेखि धनगढीमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

तालिमको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाले कृषि विकासका लागि नार्कसँग सहकार्य गर्न प्रदेश सरकार सधैं तयार रहेको बताए ।

उनले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउने र किसानका समस्या समाधान गर्न अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । समापन कार्यक्रममा मन्त्रालयका सचिव शंकर साहले बीउबिजन र प्रविधिको उपलब्धताका लागि अनुसन्धान र प्रदेशबीच सहकार्य आवश्यक रहेको बताए । उनले यस्ता कार्यक्रमले कृषि प्राविधिकहरूलाई नयाँ प्रविधिबारे अद्यावधिक रहन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक विनेशमान साखःले परिषद्ले स्थानीय र प्रदेश स्तरका प्राविधिकहरूका लागि निरन्तर तालिम सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताए ।

तालिममा सहभागीहरूका तर्फबाट बोल्दै दिपकराज ओझाले किसानका समस्या समाधानका लागि अनुसन्धानबाट प्राप्त उपलब्धिहरू सिक्न पाउँदा खुसी लागेको बताए ।

तालिममा बालीनाली, बीउबिजन, कृषि यान्त्रिकीकरण, माटो व्यवस्थापन, रोगकीरा नियन्त्रण, फलफूल, तरकारी, खाद्य तथा उत्पादनपश्चात् हुने क्षति न्यूनीकरण, आलु, सामाजिक-आर्थिक तथा जलवायु-मैत्री कृषि प्रविधिजस्ता विषयमा परिषद्ले विकास गरेका नयाँ प्रविधिहरूबारे प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा विनेशमान साखः, डा. कालिकाप्रसाद उपाध्याय, डा. श्रीप्रसाद बिष्ट, डा. सुधा सापकोटा, डा. उमेश आचार्य, डा. घनश्याम भण्डारी, दिपक पाण्डे, रोमन कार्की, सागर महर्जन लगायतले प्रशिक्षण दिएका थिए ।

सुनको मूल्य ७ हजार ८०० रुपैयाँले घट्यो

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ७ हजार ८०० रुपैयाँ र चाँदी ११५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

हिजो (बिहीबार) एक तोला सुन ३ लाख २ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कञ्चनपुरबाट लागूऔषधसहित ६ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ७२० मिलिग्रामसहित २ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा डडेलधुराको अमरगढी नगरपालिका-१ मालुम बस्ने २५ वर्षीय यादब तमौली र सोही नगरपालिका-५ बागबजार बस्ने १८ वर्षीय किशोर रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ७ प २०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ।

यसैगरी, बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम १६० मिलिग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बस्ने २६ वर्षीय हिक्मत बोहरा (सहचालक), कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २४ वर्षीय दिपेन्द्र बिष्ट, कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती बस्ने २७ वर्षीय सुरेन्द्र साँउद (चालक) र दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानी बस्ने २८ वर्षीय जनक सिंह धामी रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको बिद्युतिय हाइसमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, हाइससहित चारै जनालाई पक्राउ गरेको जनाएको छ।

कञ्चनपुरबाट १० लाखको भन्सार छलीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट १० लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–६ ऐठपुर बैज्यनाथ टोल र बेलौरी नगरपालिका–१ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १० लाख ८५ हजार १५० बराबरको सामान बरामद गरेको हो।

उक्त मुल्य बराबरको २ ट्राली केरासहित, चुना, मोवाईल ग्लास लगायतका सामान विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।

धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण

कैलालीः धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्।  सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन्।

दुवै पुल  तीन करोड १५ लाखको लागतमा बनेका हुन्। पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा  तटबन्ध पनि गरिएको छ। निर्माण कम्पनीेले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको इन्जिनियर देवकोटाले जानकारी दिए।

महाकालीमा बेपत्ता बालकलाई खोज्दै गोताखोर

दार्चुलाः सोमवार महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ।

महाकालीमा पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६, पन्तोलीका १६ वर्षीय धीरजसिंह धामी बिहीबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए।

बेपत्ता भएकै दिनदेखि सुरक्षाकर्मी र स्थानीयले खोजी गर्दै आए पनि फेला नपरेपछि सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको जनाएको छ। बिहीवार बिहान सुदूरपश्चिम प्रदेश अत्तरिया बाहिनीबाट सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

जिल्ला सदरमुकाम खलङ्गामा कोठा गरी बस्ने धीरज धामी पौडी खेल्ने क्रममा सदरमुकामस्थित महाकाली नगरपालिका–५, बसपार्क क्षेत्रबाट बेपत्ता भएका थिए। साथीहरूसँग पौडी खेल्न गएका धीरज नदीमा डुबेर बेपत्ता भएका हुन्। उनीसँगै गएका उनका दुई जना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनी सदरमुकामस्थित महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत छन्।

खोज्नुहोस