पश्चिम नेपालमा आज आँधी र वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण छ । यसले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन र अति आवश्यक नपरी घर बाहिर ननिस्किन मौसमविदहरुले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको एक सूचना अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी  प्रदेशमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपात भइरहेको छ ।

तर शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ । शुक्रबारदेखि नै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र पर्सि शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ ।

त्यसैले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गरेर मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ ।

पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसको मृत्यु तथा घाइते भएको भन्दै प्राधिकरणले जोखिम पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन भनेको हो ।

प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध समेत गरेको छ ।

हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन तथा जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

 

बालेन सरकार १३ चैतमा

काठमाडौ । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिटको जनादेश प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार १३ चैतमा बन्ने भएको छ । बिहीबार साँझ बसेको रास्वपा शीर्ष नेताहरूको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने तय गरेको हो ।

संसद् सचिवालयले १२ चैतको दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा नवनिर्वाचित सांसदहरूको शपथ राखेको छ । बिहान ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिने छन् । दिउँसो अन्य सदस्यहरूलाई केसीले शपथ गराउनेछन् । शपथको भोलिपल्ट १३ चैतमा वरिष्ठ नेता बालेनको नेतृत्वमा नयाँ सरकार गठन हुने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनी बिहीबार दिउँसो संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठकमा पनि सहभागी थिए ।

‘१२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथ हुन्छ । त्यही दिन हाम्रो पार्टीको केन्द्रीय समिति बैठक बसेर बालेनलाई संसदीय दलको नेता चुन्ने क्षेत्राधिकार संसदीय दललाई दिने निर्णय हुन्छ । संसदीय दलले नेता चुन्छ । उहाँ (बालेन)लाई नेता चुन्न विधान संशोधन गर्नुपर्दैन । राजनीतिक सहमतिले नै ओभररुल गर्छ,’ उनले भने, ‘त्यसपछि १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ । मन्त्रीहरूले पनि सँगै शपथ लिन्छन् । त्यतिखेरसम्म मन्त्रीहरू पनि छनोट गरिसकिन्छ ।’

सरकार गठनको निर्णायक ‘कोर्स’अन्तर्गत बिहीबार साँझ दरबारमार्गस्थित होटेल रोयल सिङ्गीमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबिच छलफल भएको थियो । यही छलफलले १३ चैतमा बालेनले प्रधानमन्त्रीको शपथ लिने निष्कर्ष निकालेको हो ।

रास्वपा नेताहरूले बालेन सरकारमा जाने मन्त्रीहरूबारे केही सार्वजनिक गरेको छैन । तर, सरकार गठनको दिनसम्म मन्त्रीहरूको पनि टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रम समापनमा सभापति लामिछानेले ‘सबै सांसदको क्षमता पार्टीलाई थाहा भएकाले, योग्य व्यक्तिलाई मन्त्री बनाउने भएकाले कतै नधाउन’ भनेका थिए ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम बिहीबारै राष्ट्रपतिलाई बुझाएको छ । अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउनुको अर्थ संसद्को ठुलो दललाई सरकार निर्माणका लागि प्रक्रिया सुरु गर्ने बाटो खुल्नु हो । रास्वपा नेता असिम शाहले निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम राष्ट्रपतिकहाँ गएपछि नयाँ सरकार गठनका लागि सभापति र वरिष्ठ नेताबिच औपचारिक छलफल सुरु भएको बताए ।

‘सरकार गठनका लागि छलफल सुरु भयो । अब निरन्तर छलफल हुन्छ । छलफलबाट निष्कर्ष निस्किहाल्छ । सबै सांसदको विज्ञता थाहा छ, मन्त्रीहरूको छनोट त्यही आधारमा हुन्छ । प्रधानमन्त्रीले आफ्नो टिम आफैँ बनाउने हो । आवश्यकताअनुसार सभापतिसँग छलफल गर्नुहुन्छ,’ उनले भने, ‘वरिष्ठ नेता अहिले आन्तरिक छलफल, भेटघाट र रेस्टमा हुनुहुन्छ । सरकारमा गएर गर्ने कामको आन्तरिक तयारीमा जुट्नुभएको छ ।’

बालेनलाई औपचारिक रूपमै ‘भावी प्रधानमन्त्री’मा प्रस्तुत गरेर रास्वपा निर्वाचनमा होमिएको थियो । पार्टीको देशव्यापी संगठन र रवि–बालेनको व्यक्तिगत क्रेजको मिश्रणमा रास्वपाले प्रतिनिधिसभाका २७५ सिटमध्ये १८२ मा जित निकाल्यो । यो अंक दुईतिहाइका लागि मात्र दुई सिट कम हो । यो अवस्थामा रास्वपाले सोचेजस्तो सरकार एक्लै बनाउन सक्नेछ ।

समानुपातिक सांसदले पाए प्रमाणपत्र
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो । बिहीबार आयोगपरिसरमा एक समारोहबिच ६ दलका सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो ।

१३ चैतमा बालेन्द्रले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने

काठमाडौँ,५ चैत ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १३ चैत प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीवार भएको छलफलपछि वरिष्ठ नेता बालेन्द्रले चैत १३ गते राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका हुन् ।

शीर्ष नेताहरुबीच भएको सहमती अनुसार १२ चैतमा सांसदले शपथ लिनेछन् । त्यसको भोलिपल्ट शाहले प्रधानमन्त्रीको शपथ लिनेछन् । १५ गते मन्त्रीमण्डल गठन हुनेछ ।

मन्त्रालयको संख्या १५ कायम गर्ने समेत नेताहरुबीच समझादारी कायम भएको छ ।

तीन दिन देशका विभिन्न भागमा ठूलाे वर्षा, हिमपात र तीव्र गतिकाे हावाहुरीको सम्भावना

काठमाण्डाै – गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदाे तीन दिन देशका विभिन्न भागमा ठूलाे वर्षा, हिमपात र तीव्र गतिकाे हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेकाे मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भाेलि शुक्रवारदेखि मौसममा उल्लेख्य परिवर्तन आउने जानकारी दिएको हो । प्राधिकरणले आउँदाे तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष सतर्कता अपनाउन अपील गरेको छ ।

कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

प्राधिकरणकाअनुसार भाेलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा ठूलाे वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन प्राधिकरणकाे आग्रह छ ।

लुम्बिनी र पूर्वी नेपालमा तीव्र हावाहुरीको चेतावनी

भाेलि लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम रहेकाे छ । पर्सि शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।

प्राधिकरणको विशेष सुझाव

प्राधिकरणले जोखिमबाट बच्न नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू (चुल्हो, ग्यास आदि) बन्द राख्न, गाडी चलाइरहेको भए सुरक्षित ठाउँमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउनसमेत सबैमा अनुरोध गरेको छ ।

– न्यूज एजेन्सी नेपाल

 

राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित

काठमाण्डाै- राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित भएको छ । पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक कारण देखाउँदै राष्ट्रिय लिग स्थगित गरेको हो ।

लिगमा सहभागी १७ वटा क्लबलाई पत्राचार गर्दै एन्फाले अर्काे सूचना प्रकाशन नभएसम्मका लागि ३८ वटा खेल स्थगित गरेको जानकारी गराएको छ । एन्फाको आयोजनामा राष्ट्रिय लिग गएको पुस ३० गतेदेखि सञ्चालन भएको थियो ।

यसअघि अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन एनफालाई पत्राचार गरेको थियो । पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई नियम विपरीत खेलाइएको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

पर्यटकीय भिसामा रहेका खेलाडीहरू एन्फाले सञ्चालन गरिरहेको राष्ट्रिय महिला तथा पुरुष लिग खेलेको भन्ने उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई पत्राचार गरेको हो ।

null

आर्मीलाई हराउँदै पुलिसले लगातार दोस्रो पटक जय ट्रफी क्रिकेटको उपाधि जित्यो

काठमाण्डाै-  त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ ।

आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले खेलको तेस्रो तथा अन्तिम दिन ६ विकेट गुमाएर भेटायो । पुलिसका रशिद खानले ८१, कुशल भुर्तेलले ५१ रन बनाए । आर्मीका शाहब आलम र पवन कार्कीले २/२ विकेट लिए ।

दोस्रो पारीमा आर्मीले २२६ रन बनाएको थियो । आर्मीका आकाश चन्दले ३७, कुशल मल्लले ३६, शाहब आलमले ३३, भीम सार्कीले ३२ रन बनाएका थिए । पुलिसका सागर ढकालले ४ तथा करण केसी र ललित राजवंशीले ३/३ विकेट लिएका थिए ।

यसअघि मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा २२१ रन बनाएको थियो । आर्मीका इमरान शेखले ५० रन बनाएका थिए । पुलिसका रशिद खानले ४ तथा करण केसी र ललित राजवंशीले ३/३ विकेट लिएका थिए ।

पुलिसले पनि पहिलो पारीमा २२१ रन बनाएको थियो । पुलिसका करण केसीले नटआउट ७२ रन बनाएका थिए । आर्मीका सोमपाल कामीले ५ विकेट लिएका थिएका थिए ।

चार वटा टोली सहभागी प्रतियोगितामा सिङ्गल राउन्ड रोबिनको खेलपछि आर्मी र पुलिस शीर्ष दुईमा रहँदै फाइनलमा पुगेका थिए । लिग चरणको खेल दुई दिनको भएको थियो ।

अघिल्लो संस्करणको फाइनलमा पनि पुलिसले आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।

 

१३ वर्षमा १३ हजारभन्दा धेरै वन डढेलोका घटना

काठमाण्डाै- चैत १ देखि ७ गतेसम्म देशभर वन डढेलो सप्ताह चलिरहेको छ । यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा देशमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्याङ्कअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ ।

विभागको तथ्याङ्कमा विसं २०७० देखि २०८२ सम्म देशभर १३ हजार ६२२ वटा वन डढेलो घटना अभिलेख भएका छन् । वन डढेलो गम्भीर वातावरणीय चुनौतीका रूपमा देखिएको छ । प्रतिवेदनअनुसार नेपालमा वन डढेलो मौसमी प्रकृतिको देखिन्छ । कुल घटनामध्ये झन्डै ८९ प्रतिशत वन डढेलो फागुनदेखि वैशाखसम्म भएका छन् । त्यस अवधिमा लामो सुक्खा, न्यून आद्रता, उच्च तापक्रम,  हावाको तीव्रता,  कृषि अवशेष जलाउने प्रचलन, वन क्षेत्रमा मानव गतिविधि वृद्धिका कारण वन डढेलोको जोखिम बढी हुने उल्लेख छ ।

वैशाख महिनामा कुल घटनाको झन्डै ५७ दशमलव ७ प्रतिशत वन डढेलो भएको उल्लेख छ । विसं २०७३ लाई सबैभन्दा गम्भीर वन डढेलो वर्षका रूपमा देखाइएको छ । विसं २०७८ र २०८१ मा उल्लेख्य सङ्ख्यामा डढेलोका घटना अभिलेख गरिएका छन् ।

विभागको विश्लेषणात्मक प्रतिवेदनअनुसार विसं २०८२ वैशाख १ देखि फागुन २९ सम्म देशभर कम्तीमा २८२ वटा डढेलोका घटना अभिलेख भएका छन् । प्रतिवेदनअनुसार गएकाे वैशाख १ देखि फागुन २९ सम्म वन डढेलो देशका सातै प्रदेशमा फैलिएको भए पनि सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । सुदूरपश्चिममा देशको कुल घटनाको झन्डै एकतिहाइ अर्थात् ३३ दशमलव ३ प्रतिशत वन डढेलोकाे घटना अभिलेख भएकाे छ । प्रदेशगत रूपमा बागमतीमा १९ दशमलव १ र कर्णालीमा १६ दशमलव ७, गण्डकीमा ९ दशमलव ६, लुम्बिनीमा ८ दशमलव ९, कोशीमा ८ दशमलव २ र मधेशमा ४ दशमलव ३ प्रतिशत वन डढेलोका घटना भएका छन् ।

यही अवधिमा जिल्लागत रूपमा कञ्चनपुर सबैभन्दा धेरै प्रभावित बनेको छ । कञ्चनपुरमा ४१ वटा डढेलोका घटना अभिलेख भएका छन् । चितवनमा २७, कैलालीमा १९ र सुर्खेतमा १८ वटा घटना देखिएका छन् । वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले डढेलोको बढ्दो जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सङ्घ, प्रदेश र पालिकाका निकाय, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा स्थानीय समुदायबीच समन्वय अनिवार्य रहेको बताए ।

‘वन डढेलो व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो’, उनले भने । महानिर्देशक प्रधानले डढेलो रोकथाम, शीघ्र सूचना आदानप्रदान, समयमै नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकामा जोड दिए ।

जैविक विविधतामाथि खतरा

देशका विभिन्न संरक्षित क्षेत्रमा पछिल्लो समय डढेलोका घटना बढ्दै गएको छ । विभागको प्रतिवेदनअनुसार गएकाे वैशाख १ देखि फागुन २९ सम्म संरक्षित क्षेत्रमा कुल ८२ वटा डढेलोका घटना दर्ता भएका छन् । सबैभन्दा धेरै डढेलोका घटना चितवन राष्ट्रिय निकुञ्जमा देखिएको छ । त्यहाँ मात्र २७ वटा डढेलोका घटना भएको उल्लेख छ । त्यसपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २४ र कोशी टप्पु वन्यजन्तु आरक्षमा १२ डढेलोका घटना दर्ता भएका छन् । यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ६, अन्नपूर्ण संरक्षण क्षेत्रमा ५, बाँके राष्ट्रिय निकुञ्जमा ३, मनास्लु संरक्षण क्षेत्रमा ३ र ढोरपाटन शिकार आरक्षमा २ वटा डढेलोका घटना भएका थिए । संरक्षित क्षेत्रमा डढेलो पुग्नु जैविक विविधता संरक्षणका दृष्टिले गम्भीर मानिन्छ । वन्यजन्तुको वासस्थान, वनस्पति तथा समग्र पारिस्थितिक प्रणालीमा यसको प्रत्यक्ष असर पर्ने गर्छ ।

वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले पछिल्लो समय संरक्षित क्षेत्र आसपासका वन क्षेत्रमा देखिएका डढेलोका घटनाले वन्यजन्तु र प्राकृतिक स्रोत साधनमा गम्भीर असर पार्न सक्ने बताए । उनले यसलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेकामा जोड दिए ।

‘वनमा आगलागी हुँदा मानवीय क्षति कम गर्ने उपायलाई प्राथमिकतामा राख्नुपर्छ । साथै डढेलो नियन्त्रणका लागि व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने, वन क्षेत्रमा ‘फायर लाइन’ विस्तार गर्नुपर्ने र स्थानीयस्तरमा तालिम तथा तयारी बढाउनुपर्ने आवश्यकता छ’, गुरुङले भने, ‘पानीका स्रोतहरूको संरक्षण, आगलागी नियन्त्रणका लागि आवश्यक साधन स्रोतको व्यवस्था तथा प्रभावकारी प्रचारप्रसारमार्फत समुदायलाई सचेत बनाउनु अत्यन्त महत्त्वपूर्ण छ ।’

विभागको तथ्याङ्कअनुसार यस वर्ष पुसमा ३६, माघमा ३५ र फागुनमा ५० वटा डढेलोका घटना अभिलेख भएका छन् । वन डढेलोका झन्डै ९० प्रतिशतभन्दा धेरै घटना वैशाख, पुस, माघ र फागुन महिनामा केन्द्रित रहेको प्रतिवेदनले देखाएको छ ।

तराई–चुरे र मध्यपहाडी क्षेत्र उच्च जोखिममा

स्थानगत विश्लेषणले तराई–चुरे क्षेत्र तथा मध्यपहाडी वन क्षेत्र वन डढेलोको दृष्टिले सबैभन्दा संवेदनशील देखाएको छ । विशेषगरी सुदूरपश्चिमको तराई–चुरे क्षेत्र, चितवन–मकवानपुर वन क्षेत्र, सुर्खेत आसपासका वन क्षेत्र तथा बर्दिया–बाँके तराई क्षेत्रमा डढेलो बढी केन्द्रित भएको पाइएको छ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका सदस्य कमला ओली सिवाकोटीले चुरे क्षेत्रमा सञ्चित सुक्खा इन्धन पदार्थ, लामो सुक्खा अवधि, न्यून आद्रता र मानव गतिविधिको वृद्धि वन डढेलो बढ्नुका प्रमुख कारण भएको बताए ।

उनले भने, ‘हामी सरोकारवालासँग र सम्बन्धित इकाइहरूसँग समन्वय गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौँ, ताकि समुदायस्तरमै डढेलो रोकथामका उपायहरू बुझ्न र लागू गर्न सकाैँ ।’ तर चुरेमा प्रभावकारी डढेलो नियन्त्रण कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट नहुनु मुख्य चुनौती रहेको उनले औँल्याए ।

पूर्वतयारी र समुदायको भूमिका आवश्यक

नेपालमा धेरैजसाे वन क्षेत्र सामुदायिक व्यवस्थापनअन्तर्गत रहेकाले वन डढेलो नियन्त्रणमा स्थानीय समुदाय र वन उपभोक्ता समूहको भूमिका महत्त्वपूर्ण मानिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का अध्यक्ष ठाकुरप्रसाद भण्डारीले डढेलो नियन्त्रणका लागि पूर्वतयारी र व्यापक सचेतना आवश्यक रहेको बताए । उनकाअनुसार वन क्षेत्रमा इन्धन व्यवस्थापन, प्रारम्भिक चेतावनी प्रणालीको विकास तथा समुदायको सक्रिय सहभागिताविना  डढेलो नियन्त्रण प्रभावकारी हुन सक्दैन ।

गर्मी मौसम शुरू भएसँगै सम्भावित डढेलोको जोखिमलाई ध्यानमा राख्दै समुदायस्तरमा पूर्वतयारी र सूचना प्रवाहका अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। ‘डढेलो लाग्न सक्छ भन्ने पूर्वसूचना र खबरदारीका लागि अभियान चलाइएको छ’, भण्डारीले भने ।

आगलागी नियन्त्रणका क्रममा जोखिमपूर्ण दुर्घटना हुन सक्ने, आगो नियन्त्रणबारे पर्याप्त जनचेतना अभाव रहेको र आवश्यक उपकरणको कमी प्रमुख समस्या रहेको उनले औँल्याए ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए) का अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका लागि प्रभावकारी वन व्यवस्थापन अपरिहार्य रहेको बताएका छन् । उनकाअनुसार जहाँ वन व्यवस्थापन गरिएको छ, त्यहाँ डढेलोका घटना न्यून देखिएका छन्, तर व्यवस्थापन नभएका क्षेत्रमा समस्या जटिल बन्दै गएको छ ।

‘वन व्यवस्थापन भएको ठाउँमा डढेलो कम हुन्छ, संरक्षण पनि राम्रो हुन्छ र स्थानीयस्तरमा रोजगारी तथा आम्दानीका अवसर पनि बढ्छन्’, उनले भने, ‘तर, वन व्यवस्थापन अझै पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन ।’ -रासस

 

सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (चैत ५) सेयर बजार उच्च अंकले बढेको छ ।

यस दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्बभन्दा बढीको कारोबार भएकामा आज २१ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको मूल्य बढ्यो, २२ को घट्यो भने दुईवटाको स्थिर रह्यो ।

१३ वटै उपसूचकको परिसूचक बढेको छ । सबभन्दा बढी उत्पादन तथा प्रशोधन १८३.६० अंकले बढ्यो ।

यता, कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावरको ६७ करोड र सेयर संख्याका आधारमा अपर तामाकोसीको २५ लाखभन्दा बढी कित्ता कारोबार भएको छ ।

आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनको मूल्य सर्वाधिक बढ्यो ।

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

अछाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजेश हमाल अभिनित ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि बजेट विनियोजन नै नगरी सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गाउँपालिकाका अध्यक्ष साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्यूजका अध्यक्ष रामबहादुर लम्सालले मिलेमतोमा सरकारी सम्पत्ति हिनामिना गरेको अनुन्धानबाट खुलेको छ ।

सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रतिकुल हुने गरी बिना प्रतिस्पर्धा १५ लाख ५ हजार रुपियाँको सम्झौता गरी कानुनले तोकेको सीमाभन्दा बढी ५८ प्रतिशत पेस्की रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको छ ।

आरजे ट्वान्टी फोर न्यूजसँग सम्झौता गरी भुक्तानी नव इन्द्रेणी फाउन्डेसनलाई दिएको र चलचित्र निर्माणका नाममा नक्कली बिल पेस गरेर खर्च देखाएको खुलेको छ ।

आयोगले प्रतिवादीहरूबाट जनही १२ लाख ७७ हजार २५० रुपियाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।अध्यक्ष साउदलाई निर्वाचित पदाधिकारीका रूपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ ।

थारु गाउँमा भजहर पूजा: रोग नलागोस् भन्ने कामनासहित सांस्कृतिक एकताको प्रदर्शन

धनगढी- प्रकृतिपूजक थारू समुदायमा रोगव्याधि नलागोस् भन्ने कामनासहित भजहर पूजा गर्ने परम्परा अझै पनि जीवित र प्रचलित रहेको छ। गाउँभन्दा केही टाढा, प्रकृतिको काखमा पुगेर गरिने यो पूजालाई बर्का भजहर वा चिरै भजहर भन्ने गरिन्छ। भजहरको दिन बिहानै गाउँका गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ। त्यसपछि दिनभर महिलाहरू जंगल छेउमा भेला भएर सामूहिक रूपमा खानपिन गर्ने, रमाइलो गर्ने तथा आपसी कुराकानी गर्ने चलन छ। साँझपख मात्र सबैजना घर फर्किने परम्परा रहिआएको छ।

खेतीपातीको कामबाट केही फुर्सद मिल्ने गर्मीयाममा रुखको छहारीमुनि बसेर भजहर मनाउने चलन कैलालीसहित विभिन्न जिल्लामा देखिन्छ। यस क्रममा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस्, बालबालिका सुखी रहून्, गाई, गोरु, भैँसीजस्ता पशुचौपायामा रोग नलागोस् तथा खेतीपातीमा किराको प्रकोप नहोस् भनी पूजा गर्ने परम्परा छ। विशेषगरी बालबालिका र घरपालुवा पशुहरूलाई रोगबाट जोगाउने विश्वासले यो पूजा गर्ने गरिएको हो।

धनगढी उपमहानगरपालिका–६ जाली गाउँमा पनि भजहर पूजा उल्लासका साथ मनाइएको छ। जंगल छेउमा भेला भएर पूजा मनाइरहेका स्थानीय भलमन्सा दसिराम चौधरीका अनुसार प्रायः गहुँ, मसुरोलगायत बाली भित्र्याइसकेपछि गाउँभन्दा टाढा वनजंगल, बगैचा वा खुला स्थानमा महिलाहरू सामूहिक रूपमा भजहर मनाउने चलन छ। उनले भने, “भजहर पर्वले गाउँबस्तीबाट रोगव्याधि हट्ने, बालीनालीमा किराफट्याङ्ग्रा नलाग्ने र पशुचौपायाको सुरक्षाका लागि पूजा गरिने विश्वास रहिआएको छ।” उनका अनुसार भजहर मनाउने विधि र प्रक्रिया भने गाउँपिच्छे फरक–फरक हुने गरेको छ।

भजहरलाई पौराणिक कथासँग पनि जोडेर हेर्ने गरिन्छ। रामायणकालीन कथाअनुसार रावणको कब्जाबाट अयोध्या फर्किएपछि श्रीरामले गर्भवती सीतालाई पुनः वनवास पठाउँदा अयोध्यावासीले उनलाई घरबाहिर नै भोजन गराएका थिए। सोही घटनाको स्मरणस्वरूप थारू समुदायमा भजहर मनाउने परम्परा विकसित भएको अग्रजहरू बताउँछन्। समयसँगै यसमा दुर्गा पूजाको परम्परा पनि थपिँदै गएको छ। गर्मीयाममा रोग र महामारीको जोखिम बढ्ने भएकाले माता सीता र दुर्गाको आराधना गर्दै भजहर मनाउने गरिन्छ। थारु अगुवा कालिराम चौधरीका अनुसार भजहर केवल धार्मिक मात्र नभई सामाजिक महत्व बोकेको पर्व पनि हो। “यो पर्वले समुदायमा एकता, सद्भाव र परम्पराको संरक्षणमा ठूलो भूमिका खेल्छ,” उनले बताए।

भजहरमा विशेषगरी महिलाहरूको सक्रिय सहभागिता रहन्छ। स्थानीय कान्छी थारुका अनुसार दैनिक घरधन्दा र खेतीपातीमा व्यस्त महिलाहरूलाई स्वतन्त्र रूपमा भेला हुने, रमाउने र दुःख–सुख साट्ने अवसर भजहरले प्रदान गर्छ। “महिलालाई खुशी राख्न सके परिवार र समाज नै सुखी हुन्छ भन्ने विश्वास पनि यससँग जोडिएको छ,” उनले भनिन्।

परम्परा, विश्वास र सामूहिकताको सुन्दर संगमका रूपमा रहेको भजहर पूजा थारू समुदायको मौलिक सांस्कृतिक पहिचान हो। रोगव्याधिबाट बच्ने कामनासँगै सामाजिक एकता, आपसी सद्भाव र महिलाहरूको सशक्त सहभागितालाई बलियो बनाउने यो परम्परा आधुनिक समयमै पनि उत्तिकै सान्दर्भिक र जीवन्त रूपमा अघि बढिरहेको छ।

कैलालीमा सशस्त्रको गुल्मभित्र छिरेर डीएसपीमाथि हातपात

धनगढी । कैलालीमा गुल्ममा छिरेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरिएको छ । जिल्लाको खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा बुधबार भिड पसेको हो ।

सो क्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरिएको छ । डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको बताइएको छ ।

स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागीतामा छलफल भइरहेको थियो । छलफल सकिएपछि स्थानीय युवाहरु गुल्ममै छिरेर हातपातमा उत्रिएका हुन् ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले डीएसपी पालबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ ।

डीएसपीमाथि हातपात हुँदासमेत नियन्त्रणमा कमजोरी भएको भन्दै ३१ जनालाई जिल्ला तानिएको बताइएको छ । घटनाकाे छानबिन गर्न समिति पनि बनाइएको बताइएको छ ।

 

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अन्योलबीच पनि स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन गराउन सफल भएको बताएका छन्।

फागुन २० गतेसम्म पनि निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्योलको वातावरण रहेकाकामा त्यसलाई चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको उनले बताए।

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण नै सम्भव भएको र यसका लागि सबै राजनीतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तित्वबाट सहयोग प्राप्त भएको बताए।

‘विदेशमा बस्ने नेपालीले मतदान गर्न पाउनुपर्छ, मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर रहेकाले मतदान गर्न पाउनुपर्छ जस्ता मागका बीच निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो, अध्यादेशबाट मतदाता नामावली सङ्कलन गरेर करिब १० लाख युवा मतदाता थप भए, युवा मतदाताले पनि यस पटक उत्साहपूर्ण रुपमा मतदान गरे,’ उनले भने।

निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले पनि नआत्तीकन र नमात्तीकन भाग लिएकाले पनि निर्वाचन सम्पन्न हुन सकेको उनको भनाइ छ।

नवनिर्वाचित सांसदहरुलाई निर्वाचन प्रणाली फेर्न हुने गरेका मागलाई सम्बोधन गर्ने गरी अब बस्ने संसद्को अधिवेशनबाटै निर्वाचन कानुन बनाउन माग गरे। आयोगले अढाई वर्षअघि मस्यौदा गरेर पठाएको निर्वाचन कानुन गृह मन्त्रालयमा अलपत्र अवस्थामा रहेकाले अब बस्ने संसद्को अधिवेशनबाटै त्यसलाई पारित गर्ने गरी काम गर्न पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले नवनिर्वाचित सांसदहरुको ध्यानाकर्षण गराए।

‘फेरि १४ महिनापछि स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ, त्यसैले अब बस्ने अधिवेशनबाटै निर्वाचन कानुन पारित गरिनुपर्छ, निर्वाचनसम्बन्धी १० वटा कानुन छ, ती सबैलाई एउटै बनाउने गरी तयार भएको मस्यौदालाई अघि बढाइनुपर्छ, १४ महिनापछि स्थानीय तहको निर्वाचन हुँदा त्यसको छ महिनापछि गर्नुपर्ने प्रदेशसभा सदस्य निर्वाचनलाई पनि एकैपटक गरे मितव्ययी निर्वाचन हुन्छ,’ उनले भने।

लामिछानेको मुद्दा संशोधन विवादमा सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन निर्णयविरूद्ध दायर रिटमाथिको सुनुवाइ सकिएको छ ।

सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा इजलासमा सुनुवाइ सकिएको हो । बिहीबार (चैत ५) निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिने त्रिपाठी र टीकाराम भट्टराईले जवाफ दिएपछि सुनुवाइ सकिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालको मुद्दा संशोधन निर्णयविरूद्ध सर्वोच्चमा भिन्नाभिन्नै तीनवटा रिट दायर भएका थिए । महान्यायाधिवक्ता भण्डारीबाट लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो ।

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् ।

कैलालीको गोदावरीमा श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

कैलाली- कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् ।

गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, ‘गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन ।’ मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ ।

बैतडीमा पनि आर्थिक गणना कार्यालय स्थापना

बैतडी- बैतडीमा आर्थिक गणना कार्यालयको स्थापना गरिएकोे छ । दोस्रो आर्थिक गणनाका लागि जिल्ला सदरमुकाम गोठालापानीमा कार्यालय स्थापना गरिएको हो ।

हिजो कार्यालय स्थापना गरि काम अघि बढाइएको जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जानकारी दिए। कार्यालय स्थापना भइसकेको र यो महिनाभित्र आन्तरिक तयारी पूरा गरिसक्ने उनले बताए।

कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने आर्थिक गणना अधिकारी गिरीले जानकारी दिए ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुँदैछ । यसका लागि बैतडीमा १६ गणक र ३ सुपरिवेक्षक खटिने उनले बताए।

आर्थिक गणनाको समयमा गणकहरुले वस्तु तथा सेवा उत्पादन क्षेत्र, आर्थिक क्षेत्रमा संलग्न सबै क्षेत्रको गणना गर्ने कार्यालयले जनाएको छ । आर्थिक क्रियाकलाप, बजार व्यवसाय लगायतका क्षेत्रमा आर्थिक गणना केन्द्रित हुने गिरीले जानकारी दिए।

गर्मी लागेसँगै पाहुना चरा आउन थाले

धनगढी । गर्मी बढ्न थालेसँगै नेपालमा गर्मी पाहुना चरा आउन थालेका छन् । बच्चा कोरल्नका लागि कोइली, स्वर्गचरीलगायतका विभिन्न प्रजातिका चरा नेपाल आउन थालेका हुन् । हिउँदे आगन्तुक चरा उत्तरी ध्रुवबाट नेपाल आउने गरे पनि गर्मीयामका आगन्तुक चरा भने दक्षिणतर्फबाट नेपालमा आएर रमाउने, बच्चा कोरल्ने र हुर्काउने गर्छन् ।

गर्मी आगन्तुक चराको चहलपहल बढ्न थालेसँगै कोइलीको कुहुँ कुहँु सुनिन थालेको छ । यसै गरी काफल पाक्यो आवाजले वसन्त ऋृतुमा मोहकता थपिरहेको छ । हिउँदे आगन्तुक चरा उत्तरी ध्रुवतर्फ फर्किरहेका बेला कोइलीलगायत चरा नेपाल आउन थालेको संरक्षणकर्मीसमेत रहेका कैलालीको टीकापुर नगरपालिका–७ का भोजराज ढुङ्गानाले बताए । उनी भन्छन्, “कतिपय चराका प्रजाति आइसकेका छन् । अब केही दिनभित्रै स्वर्गचरी पनि देखा पर्न थाल्छन् ।”

हिउँदे आगन्तुक चरा सिमसारमा रमाउँदा गर्मी सिजनमा आउने पाहुना चरा भने गाउँघर र वनक्षेत्रमा रमाउने गर्छन् । दक्षिणतिरबाट नेपाल आउने चरामध्ये निकै आकर्षक स्वर्गचरीले गाउँघरमै पुगेर बच्चा कोरल्ने र हुर्काउने गरेको चराविज्ञ बताउँछन् । यसै गरी कोइली प्रजातिका कोहो कोइली, जुरे कोइली, ठुलोजुरे कोइली, बिउकुहियो, पपिहा कोइली, काफल पाक्यो, कुक्कु कोइली, पूर्वी कोइली, सानो कोइली, फुस्रो सानो कोइली र हरित कोइलीले वनक्षेत्रमा बच्चा कोरल्ने गरेका चराविद् हिरूलाल डङ्गौराले जानकारी दिए । उनका अनुसार मार्चमा नेपाल आएका चरा छ महिनासम्म नेपालमा रमाउने र बच्चा हुर्काएर फर्कने गरेका छन् । उनी भन्छन्, “अगस्ततिर यस्ता चरा बच्चा हुर्काएर फर्कने गर्छन् ।” उनका अनुसार ती चरा दक्षिण भारत, म्यान्मार, थाइल्यान्ड, श्रीलङ्का, दक्षिण अफ्रिकालगायतबाट नेपाल आइपुग्छन् । यतिबेला यी देशमा गर्मी अत्यधिक बढ्छ भने उनीहरूका लागि नेपालको वातावरण निकै अनुकूल रहने गर्छ ।

माधव नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ- पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

उक्त मुद्दामा सुनुवाइका लागि उक्त मुद्दामा न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा पेसी तोकिएको थियो । उक्त मुद्दामा नेपालका कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ स्थगित गराएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो ।  नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोगपत्रमा दाबी गरिएको छ ।

३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको थियो ।

आयोगले दियो ११० समानुपातिक सांसदलाई प्रमाणपत्र

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ।

बिहीबार आयोगमा आयोजित कार्यक्रममा समानुपातिकतर्फका ११० सांसदहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन्।

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए।
समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन्। यसैगरी नेपाली कांग्रेसबाट २०, एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ।

प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जना सांसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै सम्बन्धित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाणपत्र दिइएको थियो।

गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णयविरुद्ध रिट

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता मनिषकुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । अधिवक्ता श्रेष्ठले दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । उक्त रिटको सुनुवाइ आउँदो चैत २५ गतेका लागि पेसी तोकिएको छ ।

रिटमा सदस्यताको योग्यताबारे नेपालको संविधानको धारा ८७ को उपधारा १ (ङ) मा सङ्घीय संसद्को सदस्य हुन कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्थाविरुद्ध सिफारिस गरिएको, विगतमा नियुक्तिका निम्ति ‘कुलिङ अफ पिरियड’का अभियन्ता रहेका अर्याल आफ्नो सिफारिसको निर्णयमा आफैँ संलग्न भएका कारण निर्णयमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ र नैतिकताको प्रश्न रहेको जिकिर रिटमा छ । रातोपाटीबाट

अमेरिकी रक्षा विभागद्वारा इरान युद्धका लागि २ सय अर्ब डलर माग

अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग इरान युद्धका लागि २०० अर्ब अमेरिकी डलरभन्दा धेरै रकमको स्वीकृति माग गरेको छ ।

द वाशिङ्टन पोस्टका अनुसार यो रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागतभन्दा धेरै माथि रहेको छ । यसको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तुरुन्त बढाउनु हो ।

ट्रम्प प्रशासनका काउन्टर–टेररिज्म सेन्टरका पूर्वनिर्देशक जो केन्टले इरानका सर्वेच्च नेता आयताेल्लाह अली खामेनीलाई मार्ने निर्णय गलत भएको बताएका छन् ।

यसैबीच दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जना लेबनानी सैनिकसहित १६ जनाको ज्यान गएको छ । सिडोन जिल्लाको अरब अल–जाल शहरमा आवासीय भवनमा पूर्णरूपमा क्षति पुगेकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

लेबनानी आधिकारिक स्रोतहरूका अनुसार यस आक्रमणले अन्य धेरैलाई घाइते बनाएको छ र दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा पनि आक्रमण भइरहेका छन् ।

 

कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार

काठमाण्डौ- कम्बोडियामा विभिन्न समस्यामा परेका २० जना नेपालीको उद्धार गरिएको छ ।

थाईल्याण्डको बैंककमा रहेको नेपाली दूतावासका अनुसार अवैध काममा लगाइएका र ठगीमा परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फर्काइएको हो । अनलाइन ठगी तथा अवैध काममा संलग्न गराइएका र बिना भिसा अलपत्र परेका २० जनालाई स्वदेश फर्काइएको र समस्या परेका अरु पनि उद्धार गरी फर्काउने पहल भैरहेको दूतावासले जनाएको छ  ।

समस्यामा परेका नेपालीलाई तुरुन्त सम्पर्कमा आउन र सुरक्षित रूपमा नेपाल फर्किन आवश्यक सहजीकरण गरिने दूतावासको भनाइ छ । कम्बोडियामा अवैध रूपमा काममा नलाग्न र प्रलोभनमा नपर्न पनि दूतावासले सबै नेपालीलाई सचेत गराएको छ । आवश्यक परेमा एकतर्फी यात्रा अनुमति (वन–वे ट्राभल डकुमेन्ट) मार्फत स्वदेश फर्किन सहयोग गर्ने पनि दूतावासले जनाएको छ ।

कैलालमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली- कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार ना. ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा ती दम्पती गम्भीर घाइते भएका थिए । घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकामा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकले ठक्कर दिँदा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको प्रनाउ तिमिल्सिनाले बताए । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घट्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ। आज सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घट्दा चाँदी १४० रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार हुँदै छ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै गत मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ र चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन र चाँदीको मूल्य घट्दो क्रममा रहेको छ।

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं,५ चैत ।

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

विशेष महाधिवेशन मार्फत सभापति भएका थापाले गत फागुन २१ सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले पराजय भोगेपछि बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

काँग्रेस पार्टी प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट सहित दोस्रो भएपछि मौनता साँध्दै आएका थापाले बुधवार पदबाट राजिनामा दिएका हुन् ।

तीन पटक काठमाण्डौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहसंग पराजित भएका थिए।

शुक्रबार बोलाइएको केन्द्रीय समितिको बैठकले थापाको राजिनामा बारे निर्णय गर्ने बताईएको छ ।

सभापति लामिछानेको सांसदहरूलाई कडा निर्देशन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिम्मेवारीबोधका साथ काम गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टीले नवनिर्वाचित सांसदहरूलाई आयोजना गरेको दुईदिने अभिमुखीकरणको समापन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास आफूहरूमाथि गरेकाले जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्न निर्देशन दिएका हुन् ।

‘नेतृत्व र जनतासँग ठुलो पर्खाल छ । कैयौँ नेताहरू जनतासँग नजिक हुनै चाहँदैनन् । किनकि उनीहरूलाई आफ्नो मान्छे हो भन्ने नै लाग्दैन । आज हामी घरघर नमस्कार गरेर पुगेका छौँ । भोलि तिनले गरेको नमस्कार नफर्काउने ठाउँमा हामी पुग्छ सक्छौँ, होसियार, त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्,’ उनले भने ।

लामिछानेले अबको पाँच वर्षमा प्रत्येक दिन जनताले खुसियाली मनाउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘यो पाँच वर्षलाई अन्य सामान्य चुनावमा चुनिएजस्तो सोच्नुभयो भने त्यसले अप्ठेरो परिस्थिति सिर्जना गर्छ । राजनीति यस्तै हिसाबले चल्नेवाला छैन । सर्लक्कै काँचुली फेर्ने हो । यसैका लागि जनताले अभिमत दिएका हुन् । हामी कानुन बनाउन आएका हौँ । कानुन बनाउने प्रमुख जिम्मेवारी जनताले दिएका हुन् । कुन दफाले कहाँ अड्काएको छ, थाहा हुनुपर्छ । अध्ययन हुनुपर्छ,’ उनले भने ।

लामिछानेले शक्तिको दौड बन्द गर्न पनि निर्देशन दिए । ‘यसपटक शक्तिको दौड, यताउता, यसलाई भनेर हुन्छ कि, उसलाई भनेर हुन्छ कि, यसो भेटेर फोटो खिचेर हुन्छ कि, यो पसल बन्द गर्नुहोला । यसरी चल्दैन साथीहरू । कानुन निर्माताका रूपमा हाम्रो जिम्मेवारी अत्यन्त गहन छ,’ उनले भने । संविधान निर्माणको लामो समयपछि थुप्रै कानुन बन्न नसकेको, विभिन्न बाधा–अड्चन भएको भन्दै अब नेपाली जनताले कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट लगभग दुईतिहाइ बहुमत दिएकाले काम गर्नुपर्ने उनले बताए ।

लामिछानेले नागरिक सचेत भइसकेकाले आफूहरूलाई विश्वास गरेको बताए । ‘हरेक गतिविधि जनताले हेरेका हुन्छन् । कसैकसैले जनताको चेतनास्तरमा चुनौती दिन्छन्, जनता नै खराब भए भन्छन्, होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लोपटक हामीलाई २०–२१ सिट होइन, एकैपटक दुईतिहाइ दिन सक्थे । तर, जनताले यी नयाँलाई एकपटक हेरौँ, यिनीहरू नमात्तिऊन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी निमिट्यान्न नपारौँ भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे । तर, नागरिकको त्यो विवेकलाई दुईतिहाइ पाएको सरकारले चुनौती दियो । शक्ति प्राप्त गरिसकेपछि आँखामा आउने पट्टी हामीले खोल्न सक्नुपर्छ । होइन भने पुराना दललाई नागरिकले ३६ वर्ष कुरे । तपाई–हामीलाई ३६ महिना ३६ दिन पनि कुर्नेवाला छैन । यो कुरामा निर्धक्क हुनुहोला । किनकि जनता अब्बल चेतनामा आएको छ,’ उनले भने ।

भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र दिइने

काठमाडौं- निर्वाचन आयोगले भोलि प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ ।

भोलि बिहान आयोगले १ सय १० जना समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिन लागेको हो । बिहान साढे ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइने आयोगले जनाएको छ ।

आायोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् । ६दलबाट ११० जना सांसदहरु निर्वाचित भएका छन् ।

नवनिर्वाचित सांसदहरुको सपथ भने चैत १२ गते हुने भएको छ । संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरुको शपथ गराउने तयारी गरेको छ ।

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडाैं महानगर

काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ । महानगरले १ मंसिर २०७४ मा मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसरी उद्धार गरिएकामध्ये ३१५ जनाको मृत्यु भएको छ । सात सय १३ जनालाई पारिवारिक पुनर्मिलन र ३३६ जनालाई सामुदायिक पुनर्मिलन गराइएको जनाउँदै उनले उद्धार गरिएकामध्ये अहिले आश्रमको संरक्षणमा २६८ जना रहेका बताए ।

महाननरगले भौगोलिक क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारीस्वरुप उक्त कार्य गरेको महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले जानकारी दिइन् । उनले भनिन्, ‘घोषणाको तयारी थाल्दा घोषणा गर्ने मात्र नभई त्यसलाई दिगो बनाउने कानुनी, प्रशासनिक तथा व्यावहारिक पक्ष सक्रिय बनाउन लागेका छौँ । यसका लागि समन्वय र सहजीकरणको विषय सुनिश्चित गर्नुपर्छ ।’

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले सडकमा आश्रित सहयोगापेक्षीलाई उद्धार गरेर आश्रममा लैजाने क्रम अहिले पनि जारी रहेको उल्लेख गरे ।

महानगरले आश्रमलाई दुई करोड ८४ लाख ७३ हजार २३७ प्रदान गरिसकेको छ । उद्धार कार्यका लागि आवश्यक पर्ने एउटा सवारीसाधन उपलब्ध गराएको उनले जानकारी दिए ।

सहयोगापेक्षीको पहिचान, सिफारिस र व्यवस्थापनमा समन्वय गर्ने काम पनि भइरहेको आश्रमका अध्यक्ष अधिकारीले बताए । सडक सेवा, पञ्जीकरण र उद्धार कार्यमा जनप्रतिनिधि, प्रशासनिक कर्मचारी, महानगर प्रहरी बलको नियमित सक्रियता छ ।

अनुशासन उल्लङ्घन गर्ने सांसदलाई फिर्ता बोलाउने सभापति लामिछानेको चेतावनी

काठमाण्डाै- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लङ्घन गरेमा फिर्ता बोलाउने चेतावनी दिएका छन् ।

पार्टीका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले सांसदहरूले अनुशासन उल्लङ्घन गरेमा पदबाट फिर्ता बोलाउने बताएका हुन्। पार्टी ठूलो बनेको र सरकार सञ्चालन गर्ने जिम्मेवारीमा रहेको बताउँदै उनले हरेक सांसद अनुशासनमा बस्नुपर्ने उल्लेख गरे ।

रास्वपा विधानमा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था रहेको छ । सांसदहरूको स्वतन्त्रता हुने तर अनुशासन कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ छ ।

जथाभाबी अभिव्यक्ति दिने र हल्का मनोरञ्जन गर्ने छुट कसैलाई नभएको उनले बताए । शक्ति प्राप्त भएपछि आँखामा आउने पट्टी हटाउनुपर्ने उनकाे भनाइ छ ।

अहिले नागरिकमा अब्बल चेतना बढेको र आफूहरूले गलत कदम उठाए नागरिकले केही महिना पनि नकुर्ने भन्दै सभापति लामिछानेले आफूहरूको पूरा ध्यान नागरिकको आवश्यकता परिपूर्तिमा लाग्नुपर्ने बताए । सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै उनले आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको उल्लेख गरे ।

आफूहरू मिल्न नसकेमा र स्वार्थको बन्दी बनेमा मात्रै समस्या हुने भन्दै सभापति लामिछानेले यसबारेमा आफूहरू संवेदनशील रहेको बताए । यस्तै अहिलेसम्म मन्त्रिमण्डलमा को को हुने भन्ने टुङ्गो नलागेको भन्दै उनले नेताकोमा वा सञ्चारमाध्यममा गएर मन्त्री पद चाहिन्छ नभन्न सचेत गराए ।

 

खोज्नुहोस