थारु गाउँमा भजहर पूजा: रोग नलागोस् भन्ने कामनासहित सांस्कृतिक एकताको प्रदर्शन
धनगढी- प्रकृतिपूजक थारू समुदायमा रोगव्याधि नलागोस् भन्ने कामनासहित भजहर पूजा गर्ने परम्परा अझै पनि जीवित र प्रचलित रहेको छ। गाउँभन्दा केही टाढा, प्रकृतिको काखमा पुगेर गरिने यो पूजालाई बर्का भजहर वा चिरै भजहर भन्ने गरिन्छ। भजहरको दिन बिहानै गाउँका गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ। त्यसपछि दिनभर महिलाहरू जंगल छेउमा भेला भएर सामूहिक रूपमा खानपिन गर्ने, रमाइलो गर्ने तथा आपसी कुराकानी गर्ने चलन छ। साँझपख मात्र सबैजना घर फर्किने परम्परा रहिआएको छ।
खेतीपातीको कामबाट केही फुर्सद मिल्ने गर्मीयाममा रुखको छहारीमुनि बसेर भजहर मनाउने चलन कैलालीसहित विभिन्न जिल्लामा देखिन्छ। यस क्रममा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस्, बालबालिका सुखी रहून्, गाई, गोरु, भैँसीजस्ता पशुचौपायामा रोग नलागोस् तथा खेतीपातीमा किराको प्रकोप नहोस् भनी पूजा गर्ने परम्परा छ। विशेषगरी बालबालिका र घरपालुवा पशुहरूलाई रोगबाट जोगाउने विश्वासले यो पूजा गर्ने गरिएको हो।
धनगढी उपमहानगरपालिका–६ जाली गाउँमा पनि भजहर पूजा उल्लासका साथ मनाइएको छ। जंगल छेउमा भेला भएर पूजा मनाइरहेका स्थानीय भलमन्सा दसिराम चौधरीका अनुसार प्रायः गहुँ, मसुरोलगायत बाली भित्र्याइसकेपछि गाउँभन्दा टाढा वनजंगल, बगैचा वा खुला स्थानमा महिलाहरू सामूहिक रूपमा भजहर मनाउने चलन छ। उनले भने, “भजहर पर्वले गाउँबस्तीबाट रोगव्याधि हट्ने, बालीनालीमा किराफट्याङ्ग्रा नलाग्ने र पशुचौपायाको सुरक्षाका लागि पूजा गरिने विश्वास रहिआएको छ।” उनका अनुसार भजहर मनाउने विधि र प्रक्रिया भने गाउँपिच्छे फरक–फरक हुने गरेको छ।
भजहरलाई पौराणिक कथासँग पनि जोडेर हेर्ने गरिन्छ। रामायणकालीन कथाअनुसार रावणको कब्जाबाट अयोध्या फर्किएपछि श्रीरामले गर्भवती सीतालाई पुनः वनवास पठाउँदा अयोध्यावासीले उनलाई घरबाहिर नै भोजन गराएका थिए। सोही घटनाको स्मरणस्वरूप थारू समुदायमा भजहर मनाउने परम्परा विकसित भएको अग्रजहरू बताउँछन्। समयसँगै यसमा दुर्गा पूजाको परम्परा पनि थपिँदै गएको छ। गर्मीयाममा रोग र महामारीको जोखिम बढ्ने भएकाले माता सीता र दुर्गाको आराधना गर्दै भजहर मनाउने गरिन्छ। थारु अगुवा कालिराम चौधरीका अनुसार भजहर केवल धार्मिक मात्र नभई सामाजिक महत्व बोकेको पर्व पनि हो। “यो पर्वले समुदायमा एकता, सद्भाव र परम्पराको संरक्षणमा ठूलो भूमिका खेल्छ,” उनले बताए।
भजहरमा विशेषगरी महिलाहरूको सक्रिय सहभागिता रहन्छ। स्थानीय कान्छी थारुका अनुसार दैनिक घरधन्दा र खेतीपातीमा व्यस्त महिलाहरूलाई स्वतन्त्र रूपमा भेला हुने, रमाउने र दुःख–सुख साट्ने अवसर भजहरले प्रदान गर्छ। “महिलालाई खुशी राख्न सके परिवार र समाज नै सुखी हुन्छ भन्ने विश्वास पनि यससँग जोडिएको छ,” उनले भनिन्।
परम्परा, विश्वास र सामूहिकताको सुन्दर संगमका रूपमा रहेको भजहर पूजा थारू समुदायको मौलिक सांस्कृतिक पहिचान हो। रोगव्याधिबाट बच्ने कामनासँगै सामाजिक एकता, आपसी सद्भाव र महिलाहरूको सशक्त सहभागितालाई बलियो बनाउने यो परम्परा आधुनिक समयमै पनि उत्तिकै सान्दर्भिक र जीवन्त रूपमा अघि बढिरहेको छ।
